नवीनतम विधाका रूपमा परिचित नियात्राका तत्वलाई मानक बनाएर जीवा लामिछानेको कृति अक्षत अन्टार्कटिकाको विश्लेषण गर्ने काम प्रस्तुत आलेखमा भएको छ । यस विश्लेषणमा आलेखको शीर्षक चयन गर्दा अन्य समस्याभन्दा विधागत तत्व छुट्टयाउन रुचिपूर्ण हुने ठानी सोही आधारलाई विश्लेषणीय मानक बनाइएको छ । विश्लेषणका क्रममा सर्वप्रथम नियात्रा तत्वका सम्बन्धमा विभिन्न विचारकहरूले व्यक्त गरेका प्रतिनिधिमूलक विचारहरूलाई मुखडा बनाइएको छ र तिनबाट प्रप्त निचोडमूलक प्रतिमानलाई आधार मनी कृतिविश्लेषण गरी निष्कर्ष स्थापना गर्ने काम पनि भएको छ । पठित कृति गुणात्मक छ भन्ने प्राक्पल्पना गरी त्यसको समग्र अध्ययन गरी व्याख्यात्मक विधिबाट नियालिएको छ । तत्वसम्बन्धी पूर्वअध्येताबाट प्रस्तुत विचारका सापेक्षताबाट गरिएको विश्लेषणले कृतिलाई एउटा मानक नियात्राका रूपमा परिभाषित गरेको छ भने कृतिको व्यवस्थापन कसिलो र प्रभावकारी रहेको निचोड प्रस्तुत गरिएको छ । नेपाली नियात्रा समालोचनामा तत्वका आधारमा गरिएको यो विश्लेषण नवीन र मौलिक प्रकृतिको रहेको निष्कर्ष निकाली विमर्शलाई अझै व्यापकता दिनुपर्ने अवधारणा प्रस्तुत गरिएको छ ।
परिचय
गैरआवासीय नेपाली सङ्घका पूर्वअध्यक्ष जीवा लामिछाने (२०२३) तथा संस्थापक सदस्य हुन् । मस्को स्टेट युनिभर्सिटी अफ सिभिल इन्जिलियरिङबाट सिभिल इन्जिनियर अध्ययन गरेका लामिछाने नियात्रा लेखनमा अभिरुचि राख्ने स्रष्टा हुन् । उनका सर्सर्ती संसार, देश देशावर र अक्षत अन्टार्कटिका (२०८१) जस्ता कृति प्रकाशित छन् । नेपाल सरकारबाट प्रबल जनसेवाश्री र कीर्तिमय रष्ट्रदीप पदक पाएका लामिछानेको अक्षत अन्टाकर्टिका कृतिले उत्तम शान्ति पुरस्कार (२०८१) प्राप्त गरेको छ । संसारका करिब १३० जति देश घुमिसकेका लामिछानेको अन्टार्कटिका यात्रानुभव अक्षत अन्टाकर्टिका कृतिका रूपमा प्रकाशित भएको छ । करिब १२ दिनको यात्रामा आफूले अनुभव गरेका, देखेका, भोगेका र इतिहासका किताबमा पढेका विषयहरूलाई समेटेर चिसो महादेश अन्टार्कटिकाको बृहद् परिवेशको आकर्षक व्याख्या गरेका छन् । यहाँ उक्त कृतिको नियात्रा तत्वका प्रतिमानका आधारमा विश्लेषण गर्ने काम भएको छ ।
विषय प्रवेश
अधुनातम विधा नियात्रा लेखनमा समसामयिक सर्जकहरूको चासो समसामयिक कालमा बढ्दै गएको देखिन्छ । नियात्रा लेखनमा आवासीय तथा गैरआवासीय नेपालीहरूको रुचिले यस विधामा योगदान थप्न टेवा दिएको छ । समसामयिक समयका स्रष्टाले स्वेदश यात्रा, विदेश यात्रा, तीर्थयात्रा र मन्द गतिको यात्रालाई आफ्नो विषय छन् । नियात्रा विधामा जिम्मेबारपूर्वक कलम चलाउने र महङ्गो यात्रीका नामले परिचित जीवा लामिछानेले नियात्रा विधाका तिनवटा कृतिहरू प्रकाशन गरेका छन् । उनीबाहेक मञ्जुल, श्रीओम श्रेष्ठ रोदन, ईल्या भट्टराई, तेजप्रकाश श्रेष्ठ, प्रतीक ढकाल, पवन आलोक, सलोन कार्थक, भवानी खतिवडा, विनोद नेपाल, सरिता अर्याल, देवीचन्द्र श्रेष्ठ, घनश्याम राजकर्णिकार, कृष्ण बजगार्इँ, युवराज नयाँघरे र जय छाङ्छा लगायतका स्रष्टाहरूले योगदान दिँदै आएका छन्् । उनीहरूले नियात्रालाई स्वानुभवसँगै मिश्रित गरी लेखनमा योगदाना दिने कर्ममासाधनारत देखिएका छन् । उल्लिखित स्रष्टाले नियात्राको व्यावहारिक लेखनमा योगदान दिएका छन् भने सैद्धान्तिक लेखनमा अन्य स्रष्टाहरूको योगदान रहेको पाउन सकिन्छ । सिद्धान्त लेखनमा योगदान दिने स्रष्टा र उनीहरूका सारभूत विचारहरू यहाँ संक्षेपमा राखिएको छ र सोहीअनुसार नियात्रातत्वको निरूपण गरी सोही आधारमा कृति विश्लेषणको काम भएको छ ।
नियात्रा भोक्ताको यात्रान्यास हो । यसमा सर्जक स्वयम् म पात्रको रूपमा कृतिमा उपस्थित भएको हुन्छ । उसले स्वात्मानुभव बोल्छ । यात्राको प्रत्यक्ष अवलोकल गर्छ र गतिशीलता पनि उसैले दिन्छ । पात्रगत दृष्टिकोणको स्थापना उसकै वैचारिक केद्रीयतामा निर्माण हुन्छ । त्यसकारण नियात्रा प्रथम पुरुष शैलीमा लेखिने ‘म’को आख्यानीकरण हो । यसको यस्तो विधागत विशिष्टताका विषयमा देवी नेपालले आफ्ना अवधारणा प्रस्तुत गरेका छन् । उनले नियात्रालाई बुझाउनका लागि यात्रासाहित्य, यात्रावृत्तान्त, यात्रावर्णन र यात्रासंस्मरण भनिने बताएका छन् । उनले निश्चित यात्रा, घटना र अनुभवको अन्तर्घुलन, यात्रागत गतिशीलता र दृष्टिकोण स्थापाना, यथार्थ घटनामा कल्पनाको मिश्रण, इमान्दार सूक्ष्म अवलोकन र सम्प्रेषणको प्रभावकारितालाई नियात्राका तत्वका रूपमा स्वीकार गरेका छन् (नेपाल, २०७८) । जय छाङ्छाले नियात्रालाई स्वयम् नायक, गतिशीलता, कल्पनाशीलता, व्यक्तिपरकता, चित्रात्मकता, आत्मस्तुति गान, सत्यता र विश्वसनीयता, परिवेशगत विशिष्टता र अन्तर्विधात्मकता नियात्राको विशेषता रहेको बताएका छन् (छाङ्छा, २०७६) । शशिधर खनालले स्थान, कार्य, दृश्य, वस्तु र यातायात लगायतलाई समेटी अनुभूतिको निबन्धीकरण गरिएको रचना नियात्रा हो भनेका छन् (खनाल, २०६६) । मार्था राईले गतिशीलता, स्थानीयता, तथ्यात्मकता, निजात्मकता, अनुभूतिपरकता, स्वच्छन्दता, आत्मपरकता, कल्पनापरकता र चित्रात्मकता जस्ता विशेषतालाई नियात्राका तत्व बताएकी छिन् (राई, सन् २०१५) । त्यस्तै पञ्चम अधिकारीले नियात्राकारले तथ्यमा टेकेर कल्पानाशीलताका माध्यमबाट पाठकको मन खिच्ने गरी बहकिन जान्ने र सर्जक आत्मश्लाघामा रमाउन सक्दा हास्य रस पनि मिसाउन सक्यो भने नियात्रा प्रभावकारी बन्छ भन्ने विचार व्यक्त गरेका छन् (अधिकारी, २०८२) । यसरी यी सर्जकहरूका विचारमा नियात्रा कोरा यात्राको वर्णन मात्र नभएर कल्पनाको लेपले रङ्गिएको आत्मप्रकटीकरण हो । नियात्रा लेखनमा भोक्ताको यात्रा अनिवार्य रहेको हुन्छ । अन्तर्विधात्मकता र कल्पनापरकता नियात्राका थप विशिष्टता हुन् । यही विचारलाई संश्लेषण गरी नियात्राका निम्न तत्वहरू रहेको खुट्याउन सकिन्छः
१) स्वयात्राको वर्णन, स्वनायकत्व र स्तुतिगान
२) गतिशीलता (बाटो र यातायात), आख्यानीकरण र स्रष्टा दृष्टिकोण स्थापना
३) प्रत्यक्षदर्शी घटनामा कल्पनाको सम्मिश्रण
४) सूक्ष्म परिवेश चित्रणमा लेखकीय इमान्दारिता
५) आत्मपरक चित्रात्मक शैली
प्रस्तुत तत्वका आधारमा अक्षत अन्टार्कटिका कृतिको विश्लेषण गरी निष्कर्ष स्थापना गर्ने काम आगामी उपशीर्षकहरूमा भएको छ ।
स्वयात्राको वर्णन, स्वनायकत्व र स्तुतिगान
लमिछानेको अन्टार्कटिकाको यात्रा सन् २०२४ जनवरी १३ देखि २४ सम्म १२ दिनको अवधिमा सम्पन्न भएको हो । उनले सन् २०२३ को डिसेम्बर ९ मा स्वुप कम्पनीको क्रूज प्याकेज निश्चित गरेपछि यो यात्राले मूर्तरूप लिएको छ । पानामा स्थित स्वान हेलेनिक जाहाजबाट गरिने यस यात्राको नारा ‘अन्यले नदेखेको यात्रा’ रहेको छ । उनले उन्नाइसौँ शताब्दीसम्म पनि रहस्यको भण्डारका रूपमा रहेको अन्टार्कटिका महादेशका बारेको विवरण, खोजकर्ता र नामाकरणसँग सम्बन्धी रोमाञ्चक जानकारी ‘सलाम÷बहस’ शीर्षकमा रोचक तरिकाले दिएका छन् । उनले त्यहाँ निलो ह्वेल, पेन्गुइन र सिलको बथानको अवलोकन गर्नमात्र गरेनन् त्यहाँको कठ्याङ्ग्रिदो जाडोमा हिमतालमा नुहाएर (पोलरपञ्ज, ध्रुवीय स्नान) नौलो अनुभूति समेत सँगाले । त्यस चिसो महादेशका पुराना यात्री अर्नेस्ट स्याकल्टन, रबर्ट स्टक र राओल्ड एमण्डसनका आन्टार्कटिका खोजका रोमाञ्चक पठित कहानी पाठकसामु पस्किए । यात्राका क्रममा एक जना क्रूमेम्बर बिरामी हुँदा यात्रालाई थाति राखेर उपचारमा पठाइएको घटनाबाट मानवीय स्वास्थ्य संवेदनशीलताको उच्च अवस्थाको अनुभव गरे । जहाजमा कार्यरत कर्मचारीहरूको विनयशीलता, लगन र सेवाभावबाट प्रभावित भएका लामिछाने यात्राको समापनका समयमा भएको जाहाजको झण्डा र पेन्टिङ्को लिलामीबाट प्रशस्तै प्रभावित देखिएका छन् । यस्तै स्वात्मानुभवले उनलको यो यात्रालाई थप अविस्मरणीय बनाएको अनुभव छ । उनका यस्ता भोगाइ कृतिमा मन्द गतिमा विस्तारित भएर आएका छन् । कृति छिट्टै सिद्ध्याउने हतारो उनमा देखिएको छैन । यसबाट उनेले आफूलाई साहसी नायकको रूपमा स्थापना गर्न खोजेको देखिन्छ र त्यो कृतिमा स्वाभाविक रूपमा आएको छ ।
यात्राको एक अविष्मरणीय एवं केन्द्रीय कथ्य ४२ घण्टा लामो ‘ड्रेक प्यासेज यात्रा’को वृत्तान्त बनेको छ । यसले भोक्तालाई कष्टप्रद क्षणमा पु¥याएको छ । जसलाई यात्रीले ‘आर्यघाट’ (शवदाह गृह) सँग दाँजेको छ । यात्री स्वयम्ले भोगेको यस्तो कहालिलाग्दो प्यासेज यात्रामा बेलायती समुद्री डाँकु फ्रान्सिस ड्रेकको सङ्घर्षलाई स्मरण गरेको छ । तिनै डाँकुको मृत्यु भएको ठाउँलाई उनकै नामबाट यस मार्गको नाम राखिएको तथ्य कृतिमा राम्रैसँग उल्लेख गरिएको छ । ड्रेकको मृत्युसँग जोडिएको यो ऐतिहासिक मार्ग एक चिहानघारी पनि हो । यसमा हजारौँ यात्रीले आफ्नो चोला बिसाएका थिए । यही दोभानमा आएर प्रशान्त, एट्लान्टिक र दक्षिणी महासागर एकआपसमा लुकामारी खेल्छन् । यी तिन शक्तिशाली सागरको ठक्कराबाट सरदर ३० मिटर औसत उचाइका छालहरू आकाश चुम्न हतारिन्छन् । समुद्रको यस्तो चञ्चलपनलाई यात्रीले ‘समुद्र मन्थन’को मिथकसँग तुलना गरेका छन् । यहाँको यस्तो डरलाग्दो वातावरणले एकातर्फ यात्रीहरूलाई मर्माहत बनाएको छ भने अर्कातिर यात्राको अविष्मरणीय अवस्था पनि यसैले सिर्जना गरेको छ । यही साहसिक सामुद्रिक मार्गबाट यात्रा गरेर लेखकले आफूलाई नायक सावित गरेको छ र यात्राको प्रत्यक्ष लाभ वा हानी उसैले भोगेको छ । त्यसकारण म पात्रको आख्यानीकरणबाट समष्टिमा घटनाहरू सिलसिलेबार तरिकाले प्रकट भएका छन् । त्यस अवस्थामा यात्रीमा उत्साह, खुसी, तनाव र भ्रम जस्ता भावनाहरू एकैसाथ उत्पन्न भएर एक जटिल मानसिक अवस्था सिर्जना गरेको छ । हो यही रोमाञ्चकताले नियात्राको अनुभवलाई जीवन्त तुल्याएको छ । यात्रामा भुक्त सामुद्री अवस्थाको वर्णनभित्र भौगोलिक जानकारीभन्दा बढी विकराल प्राकृतिक शक्तिको वर्णन लुकेको छ । यात्रीका मनमा एक्कासी उत्पन्न हुने अनेक मनोभावले मनोवैज्ञानिक परिवर्तनलाई राम्ररी खोतल्छ र “मलाई के भइरहेको छ” भन्ने थाह नपाएको भोक्तामा अनेक अनुभव र भावनाहरूको मिश्रण एकैसाथ हुन पुग्दा वास्तविकता र मतिभ्रम बिचको रेखालाई धमिलो पारेको छ । यस्तो अवस्था वर्णनातीत रहेको यात्रीको स्वीकारोक्ति रहेको छ । यस्तो भोगाइले मानवीय जीवनको क्षणिकता र प्राकृतिक शक्तिको अविजेयता प्रदर्शन गरेको छ । यसकिसिमको मतिभ्रमलाई भोक्ताको आध्यात्मिक आकाङ्क्षासँग पनि तुलना गरेर विश्लेषण गर्न सकिने ठाउँ रहेको छ ।
लेखकले यात्राको सफल समापनलाई आफ्नो ‘तीव्र इच्छाशक्ति’ को परिणाम मानेका छन् । उनले ‘पोलर प्लन्ज’लाई हिन्दू नियमअनुसार व्रतबन्धपछि गरिने हरेक दिनको ठिहिरिलोे पानीको स्नान, भारतमा हुने कुम्भ स्नान, नर्डिक देशहरू (समान सँस्कृति भएका देशहरू)मा हुने नर्डिक स्नान, ग्रीस र बुल्गेरियाजस्ता देशमा मनाइने इपिफेनी पर्व र चिनियाँ शाही स्नानजस्ता सांस्कृतिक परम्पराहरूसँग तुलना गरेका छन् । उनले बर्पिmलो पानीमा हाम फाल्दा ‘मृत्युसमेत निकट आएको’ अनुभव भएको कहानी सुनाएका छन् । यस्तो चरम अवस्थामा ‘मानवीय संवेदनशीलताहरू समान हुने’ कुरालाई उल्लेख गर्दै केही भावनाहरू ‘शब्दातीत, अनन्त र अपरिमेय’ हुने आध्यात्मिक भावमा थप जोड दिएका छन् ।
कृतिले वस्तुपरक रिपोर्टिङभन्दा व्यक्तिपरक अनुभव र भावनात्मक संज्ञानलाई प्राथमिकता दिइएको छ । म, मेरो, मेरा, मेरीजस्ता प्रथम पुरुषवाचक दृष्टिविन्दुको प्रयोगले कृतिलाई पत्यारिलो बनाएको छ र भोक्ता स्वयम् यात्री हो भन्ने पनि देखाएको छ । म पात्र यात्राको नायक हो र उसले स्वयम्को प्रतिनिधित्व गर्दछ । ऊ आफूले महङ्गो तर सुरक्षित यात्रा गर्न पाएकोमा गर्वबोध गर्दछ । यही ‘म’को आख्यानीकरण र नायकत्वको यात्रानुभव पाठमा रूपायित भएर आएको छ । निचोडमा प्रस्तुत कृति म पात्रको स्तुति गानमा केन्द्रित रहेको छ । यसको पाठले यात्रीलाई साहसी नायक बनाएको छ । अतः स्वयात्राको वर्णन पाठमा देखिएको हुनाले पहिलो तत्व औचित्यपूर्ण ढङ्गबाट रूपायित भएको छ ।
गतिशीलता (बाटो र यातायात), आख्यानीकरण र स्रष्टा दृष्टिकोण स्थापना
कृतिले अन्टार्कटिका पुग्ने बाटो र यातायातको व्यवस्था बारेमा विस्तृत चर्चा गरेको छ । हवाइ जाहाज एवं पानी जाहजलाई त्यहाँ पुग्न प्रयोग हुने मुख्य सवारी साधनका रूपमा परिचय दिएको छ भने नौका सहायक सामग्री हो भनेको छ । यहाँको यात्रा अङ्ग्रेजी महिना नोभेम्बरदेखि मार्चसम्म गर्न उचित हुने सूचना दिएको छ । यस समयलाई उजेली भनिने र योभन्दा इतर समयलाई अँधेरी भनिने गरिन्छ । यहाँ मानवको उपस्थिति कम रहेको भए पनि सन् २०२४ सम्ममा १० लाखभन्दा कम मानिसले यहाँको यात्रा सम्पन्न गरेको बताएको छ (पृ.४१) । अन्य महादेशका मानिसलाई यस्तो हिमयात्रा रोमाञ्चक हुने भए पनि नेपालीहरूका लागि सामान्य रहने अनुभव व्यक्ति गरिएको छ । कृतिले त्यहाँका जस्ता सुन्दर र रमणीय ठाउँ नेपालमा असङ्ख्य रहेको बताएको छ तर त्यहाँको प्रवेश नियम र वातावरणप्रतिको कनुन नेपाली नियमका तुलनामा बढी व्यवस्थित र कठोर रहेको अनुभव गर्दै नेपालले पनि वातावरणीय स्वच्छता कायम राख्नका लागि भएका नीतिनियम कडाइका साथ व्यवहारमा लागु गर्नुपर्ने अनुभवपूर्ण सुझाव दिएको छ ।
अन्टार्कटिका माहदेशमा मानवीय व्यवहारलाई नियन्त्रण गर्ने कडा वातावरणीय नियमहरू छन् । जसमा निश्चित जनसङ्ख्यामा मात्र प्रवेश गर्न पाउने, कुनै पनि बीउबिजन ल्याउन नपाउने, त्यहाँका जनावरलाई आहार दिन नपाइने, संरक्षणसँग सम्बन्धित नियम कडाइका साथ पालना गर्नुपर्ने र शौच गर्न नपाइने जस्ता कडा नियमहरू समावेश छन् । त्यहाँका यस्ता कडा नियमसँग गैरजिम्मेबारपूर्वक सगरमाथा आरोहण गर्ने आरोही र जागिरमुखी यहाँको सरकारी निकायको व्याङ्ग्यात्क रूपमा भत्र्सना गरेका छन् (पृ.७८) । सगरमाथामा थुप्रिदै गएको फोहोरमैलाको डङ्गुर र अन्टार्कटिका भ्रमण गर्नेहरूले पालना गर्नुपर्ने कडा नियमहरू बिच सशक्त तरिकाले तुलना गरी स्वदेशी प्राकृतिक गौरवप्रति गहिरो अनुराग प्रकट गरेका छन् । त्यहाँ प्रवेश गर्दा धुलोको कण पनि नझरोस् भनेर भ्याकुम क्लिनरले सफा गरिदिने र हाम्रो सगरमाथामा जतापच्छे फाहोर फाल्ने गरेका कारण चिन्ताले मन खिसिक्क भएको छ र यहाँको कानुन र नियमलाई पनि कडाइका साथ पालना गरी प्राकृतिक सम्पदाको संरक्षण गर्न आह्वान गरिएको छ । यसले पनि किताबमा पर्यावरणमैत्री लेखकीय विचारहरूले प्रचूर मात्रामा स्थान पाएका छन् भन्ने तथ्यलाई उजागर गरेको छ ।को छ । यसले देशको शासन व्यवस्थामा परिवर्तन आवश्यक रहेको तथ्यलाई समेत उजागर गरेको छ ।
पुस्तकले निलो ह्वेल र सिल जस्ता सामुद्रिक जन्तुहरूमाथि भइरहेको अनुसन्धान, तिनीहरूको बानी र दैनिकीको बारेमा अनुसन्धानरत देशको विवरण प्रस्तुत गरेको छ । साथै हम्पवाक ह्वेल क्षेत्रको भ्रमण गर्दा ह्वेलबारेका प्रचलित लोककथाहरूलाई पनि ठाउँ दिएको छ । ह्वेलको आनीबानी र तिनको निर्मम शिकार गर्दा जम्मा भएका कङ्कालहरूका दृश्यको कठोर वर्णन छ । ह्वेलिङ पनि भनिने सिल र ह्वेलको शिकारको बर्बरता सन् १९८२ देखि प्रतिबन्धित भएको उल्लेख गरिएको छ भने सन् १९५९ को अन्टार्कटिका सन्धिका माध्यमबाट करिब ३० देशहरूले त्याहाँ आफ्ना अनुसन्धान केन्द्रहरू स्थापन गरेको दृश्यात्मक वर्णन कृतिमा उल्लेख छ । यसबाट पर्यावरणको संरक्षणमा मनवीय चासो बढाउनु पर्ने र निर्दोष जीवमाथि हुने मानवीय दमन अन्त्य हुनु पर्ने स्रष्टाको दृष्टिकोण कृतिमा स्थापना भएको छ ।
कृतिअनुसार म पात्र १६ जनवरीमा आड्ले द्वीप र १८ जनवरीमा डमोय पोइन्ट पुगेको छ । उसले डामोयलाई पृथ्वीको तल्लो छेउको रूपमा व्याख्या गरेको छ । पृथ्वीको त्यही पुछारमा रहेको हुलाक र त्यसको रमाइलो कहानीले यात्रालाई थप अविस्मरणीय तुल्याएको अनुभव गरेको छ । १९ जनवरीमा पिटर आइल्याण्ड पुगेपछि २ घण्टा जति हिमयात्रा गरिएको छ । डोमोय र पिटरमा क्रमशः बेलायत र जर्मनीका शोधकेन्द्रहरू अनुसन्धानरत रहेको पाएको छ । खतरनाक ह्वेल शिकारी मिक्केल्सनको नामबाट राखिएको मक्केल्सन हार्बर एवं अर्नेस्ट स्याकल्टनका इतिवृत्तान्तले कृतिलाई इतिहासको समकक्षतामा उभ्याएका छन् तथापि यात्रालाई लेखकीय अनुभूतिभन्दा बाहिर बहकिन नदिई बाँधिएको छोटो प्रस्तुतिले कृतिको गुणवत्ता सुरक्षित गरेको छ । स्याकल्टनले साथीको सहयोगका लागि एलिफेन्ट आइल्याण्डबाट ह्वेलिङ कारखानासम्म गरेको साहसिक पदयात्रा, उसले बचाएका बिरामी साथी, ज्यान जोगाउन मारेर खाएका ३६ वटा कुकुर र मृत्यु कुरेर बसिरहेका साथीहरूलाई हप्तौँपछिको मिलनबाट उत्पन्न भएको हर्षाश्रुले भावनात्मकताभित्र कारुणशिक्त मनवीयता समेत आख्यानीकरण भएर आएको देखिन्छ । यस्तो ऐतिहासिक तथ्यलाई पठित सामग्रीका आधारमा इमान्दारपूर्वक वर्णन गरिएको छ । १७ जनवरीमा सिएर्भाकोभा भन्ने ठाउँमा निलो हिउँको स्वाद लिएपछि यात्रु २१ जनवरीमा ह्वेलर्स भनिने बाटोमा प्रवेश गरेको छ । त्यसपछि छली टापु पुगिएको छ । यो त्यस्तो टापु हो जहाँ पिँधमा ज्वालामुखिको रातो आगो छ भने माथि हिउँले ढाकिएको सेताम्मे कपाल छ । माथितिरबाट हेर्दा हिउँको गहिराइमा रातो आगोको दृश्य देखिन्छ जुन पर्यटकहरूका लागि आकर्षक दृश्य बनेको भेटिन्छ । आगो र पानी मिल्दैनन् भन्ने मान्यता यहाँ मेल खाएको छैन । त्यही भएर यसलाई मायिक टापु नामाकरण गरिएको ठानिन्छ । २३ जनवरीमा डिसेप्सन आइल्याण्डको भ्रमण र त्यसपछि २५ तारिखमा जर्मनी फिर्ता भएको यात्रावृत्तान्त कृतिमा विस्तारित शैलीमा वर्णित छ । जाडो छ भन्दैमा घाम ताप्न नहुने अन्टार्कटिका महादेशलाई रहस्यको भण्डारका रूपमा चित्रण गरिएको छ । यात्रीको यस महादेशको बाह्र दिनको अनवरत यात्राले पाठकको मनलाई समेत गतिशील बनाउन सक्षम भएको छ । यस्तो गतिशीलताबाट कृति रोचक बनेको छ । पाठक यात्रीसँगै सजीव रूपमा यात्रारत बन्न सक्छ । इतिहासको सुरम्य चित्रणमा भुल्न सक्छ, डाँकु र ह्वेलका कहानीमा हराउन सक्छ । यही आख्यानको गतिशीलताभित्र सयौँको सङ्ख्यामा रहेका सुन्दर नेपाली हिमालको संरक्षण, प्रवद्र्धन र व्यवस्थापनमा नेपाल शिशु अवस्थामा रहेको दर्पण देखाउन सक्षम छ । यही नै कृतिको दृष्टिकोणको चुरो अवधारणा हो । कृतिभित्रको यस्तो यात्रानुभव नितान्त नौलो र अविस्मरणीय बनेछ भन्ने पनि पाठकमा बोध हुन गएको छ । कृतिमा यात्रागत गतिशीलता र स्वदृष्टिको स्थापना अन्टार्कटिका महादेशका साझा नियमका कोणबाट नेपाली मौलिक सापेक्षतासँग तादात्म्य गरी स्थापना गरिएको छ ।
प्रत्यक्षदर्शी घटनामा कल्पनाको सम्मिश्रण
अक्षत अन्टार्कटिका कृतिमा कल्पना र प्रत्यक्ष अवलोकनको प्रभावकारी मिश्रण रहेको छ । कृतिमा वर्णित वृत्तान्तमध्ये असी प्रतिशत जति भोक्ताको भोगाइमा आधारित छ भने १० प्रतिशत कल्पना र १० प्रतिशत जति ऐतिहासिक तथ्यमा आधारित छ । प्रत्यक्ष घटनामा भारतको बाटो भएर अन्टार्कटिका पुगेका बागलुङे यात्री भुवनसिंह विश्वकर्माको पनि यात्रा वयान छ । उनको यात्रा वर्णनले लेखकलाई थप इमान्दार सवित गरेको छ । लेखकले आफ्नो समकालीन यात्रालाई स्याकल्टन, रोबर्ट स्कट र रोआल्ड एमन्डसन जस्ता अन्टार्कटिका अन्वेषणका प्रमुख व्यक्तित्वहरूको रोमाञ्चक कथाहरूसँग जोडेर हेरेका छन् । उनले दिवङ्गत मार्को पोलो र जेम्स कुकलाई कल्पनाको माध्यमबाट पाठमा उभ्याएर अनुभव सुनाउन लागाएका छन् । पोलो र कुकको यात्रापछि पश्चिमाहरूले साहसिक यात्रालाई गम्भीरतापूर्वक लिएको र जेम्स कुकलाई स्पष्ट रूपमा आधुनिक पर्यटन यात्राका आरम्भकर्ताको रूपमा परिभाषित गरिएको छ । कृतिमा मिक्केल्सनको आश्चर्यजनक काण्डको वर्णन छ जसमा उनले कुकुर खाएको किस्सा समावेश गरिएको छ (पृ.११३) । यस काण्डले चिसो महादेशको प्रारम्भिक यात्रा अभियानहरू कति चरम चुनौती भोग्न बाध्य थिए र कति सिमित स्रोत र सुविधाहहरूमा त्यहाँको यात्रा तय गरेका थिए भन्ने तथ्यलाई पाठकसामु उजागर गरेको छ । सो यात्रामा ड्रेक प्यासेजलाई मृत्युमार्गका रूपमा चित्रण गर्नुले पनि अन्टार्कटिकाको यात्रा चुनौतीपूर्ण थियो र अद्यापि छ भन्ने तथ्यलाई छर्लङ्ग देखाएको छ । पोलर पञ्जको आख्यानमा यथार्थभित्र कल्पना पनि सम्मिलित छ । किताबलाई पात्रका रूपमा उपस्थित गराएर इतिहासको वर्णन गर्दा सुरम्य कल्पना मिश्रण भएर आएको छ (पृ.३४) । यस्ता काल्पनिक र भुक्त तथ्यले पाठलाई चित्ताकर्षक र स्वादिलो बनाएका छन् । यात्रीले व्यक्तिगत अनुभवलाई ऐतिहासिक कथाहरूसँग कुशलतापूर्वक तुलना गर्दा अनुभवसँगै आलोचनात्मक विचारहरू पनि मिसिन पुगेका छन् । यस दृष्टिकोणले लेखकको समकालीन यात्रालाई मानव अन्वेषणको लामो इतिवृत्तभित्र समावेश गरी समष्टिमा व्याख्या गर्दछ । विगतका प्रयासहरूका सापेक्षताबाट वर्तमान बुझाइलाई आकारीकृत गर्ने काममा टेवा दिन्छ । यसले साहसिक भावना र अज्ञात स्थलको खोजीलाई बढावा दिन्छ । साथै खर्चिलो आधुनिक पर्यटनलाई खोजीका माध्यमबाट पूर्ति गर्न आह्वान पनि गर्छ । यस्तै कल्पना, अध्ययन र यथार्थको सम्मिश्रण बनेर अक्षत अन्टार्कटिका कृति पाठकमाझ नयाँ स्वादको पाठ पस्किन हतारिएको छ ।
म पात्रले यात्राका क्रममा अन्टार्कटिकाको सुदूर दक्षिणी ध्रुवमा त्यहाँका उभयचर र जलचर प्राणीहरू प्रत्यक्ष रूपमा नियालेको छ । उसले त्यहीँबाट श्रीमती विन्दितालाई पत्र लेखेको छ । ऊ घर (जर्मनी) फर्केपछि सो पत्र आफैले घरको पत्रमञ्जुसामा प्राप्त गरेको छ अनि श्रीमतीले थाह नपाउने गरी ओछ्यानमा लगेर राखिदिएको छ । आफूले त्यहाँ भूगोल, संस्कृति र लोककल्याणकारी राजनैतिक विचारधारा समान भएका नर्डिक देशहरू (नर्वे, स्वीडेन, डेनमार्क, फिनल्याण्ड र आइसल्याण्ड)मा अधिक मात्रामा प्रचलित हिउँसँग सम्बन्धित मनोरञ्जक खेलको आनन्द लिएको अनुभव समेत पत्रात्मक शैलीमा विन्दितालाई सुनाएको छ । उसले त्यहाँ नजिकबाट ह्वेल, सिल, पेन्गुइन, क्रिल र नेमोडट जस्ता जीवहरूको अवलोकन गरेको छ । त्यहाँको ह्वेल क्षेत्रहरूको भ्रमण वर्तमानका लागि आकर्षक गन्तव्य बने पनि यस्तो सहज परिस्थिति आउनुपूर्व धेरै ह्वेल र सिलहरूको बर्बतापूर्वक हत्या गरिएको कथालाई पाठमा राम्ररी ठाउँ दिइएको छ । हिमाली वन्यजन्तु अवलोकनको यो आश्चर्यभित्र विगतमा निर्धा जीवहरूमाथि गरिएको दमनको कथा लुकेको छ । यसबाट मानवको लोभीपनको पराकाष्ठा देखिएको छ । मिक्कल्सन हार्बरमा देखिने ह्वेलका कङ्काल र त्यतिखेर निर्माण गरिएका प्रशोधन केन्द्रका भग्नावशेषहरूले भाषा जानेको र आफू शक्तिशाली ठानेको मानिसका कमजोरीहरूको विद्रूपता प्रदर्शन गरेका छन् । अन्टार्कटिका यात्रा गरेको र ड्रेक प्यासेज पार गरेको प्रमाणपत्र प्राप्त गर्नु एवं यात्राको सानो सम्पादित भिडियो क्लिप ट्राभल एजेन्सीबाट प्राप्त गर्नुले यात्राको प्रामाणिकता स्वाभाविक रूपमा पुष्टि गरेको छ । पानीजाहजको यात्राका क्रममा उपलब्ध स्वादिष्ठ खानाका परिकार, क्रुमेम्बरको हार्दिकता, अनेक मदिराको स्वाद, डाउरिसको पियानो वादनले यात्रालाई राजसी तुल्याएको छ । खानाको स्वाद पहिला नाँक, त्यसपछि आँखा र अनि जिब्रोले लिने लोकोक्तिलाई ठाउँ दिएर कृतिले इन्द्रियजन्य संज्ञानको समेत मसिनोसँग व्याख्या गरेको छ । यस्ता रमणीय घटनाहरूमा यात्रु आफै प्रत्यक्ष रूपमा संलग्न भएको छ जसले पाठकलाई विश्वस्त बनाउँदे आकर्षित गर्न सक्षम भएको छ । स्वादिष्ठ खानाको वर्णनमा मुखै रसाउने अभिव्यक्ति छ भने विन्दितालाई लेखेको चिठीमा प्रेमिल भाव व्यक्त भएको छ । जनावरहरू माथि गरिएको दमनमा इतिहासको वास्तविकता अभिव्यक्त भएको छ । कृतिका यिनै प्रत्यक्ष भुक्त अनुभवहरू केन्द्रीय विषय बनेर विस्तारित रूपमा आएका छन् ।
घुमफिरका क्रममा यात्रीले विविध सांस्कृतिक परिवेश, विभिन्न देशको आर्थिक अवस्था र तिनको भूराजनीतिक जटिलता समेत (अर्जेन्टिनी पेसोको अवमूल्यन, नर्डिक कल्याणकारी राज्यहरूका नीतिहरू, औपनिवेशिक विभाजनहरू) नियालेको छ । यसबाट उसमा बौद्धिकता र सचेत पढाकुपन संश्लिष्ट छ भन्ने देखिएको छ । यात्रीले यात्राको कोरा वर्णनभन्दा माथि उठेर आफ्ना पूर्व अनुभवहरूलाई समेट्दै यत्रागत मात्र नभई अनुभवजन्य विचारलाई विश्वव्यापी मुद्दाहरूसँग जोड्नसक्ने क्षमता प्रदर्शन गरेको छ । यसबाट नियात्रालाई सामाजिक परिपाटि नियाल्ने, मानवीय जीवनका मूल्यहरू अनुभव गर्ने वैश्विक वातावरणको छानविन गर्ने, घटनाको विश्वस्त रूपमा वर्णन गर्ने, भिन्न संस्कृतिहरूसँग परिचित हुने, पर्यावरण र जीवजन्तुहरूको अवस्था नियाल्ने विस्तृत विधाका रूपमा उभ्याएको पाउन सकिन्छ । कृतिले तात्कालिक भोगाइको अन्तर्तहबाट समग्र विश्वको सुगन्धलाई निजिकबाट नियाल्ने दृष्टि समेत प्रदान गरेको छ ।
यात्रीले कृतिमा शारीर एवं आन्तर्मन दुबैको यात्रा गरेको छ । अन्तर्मनको यात्राका माध्यमबाट घुमफिरबाट प्राप्त हुने परमानन्द व्याख्यातीत रहेको बोध गरेको छ । उसले वैभवमा पनि आध्यात्मिक आस्था सम्भव छ भन्ने कुरा कृतिगत तथ्यबाट देखिएको छ । उसले ‘डरबाट आस्था जन्मन्छ’ भन्ने गहिरो दार्शनिक भाव व्यक्त गरेको छ । ऊ डरबाट उत्पन्न जैविक खतरालाई आध्यात्मिक आस्थाले हाँसी हाँसी निस्तेज गर्न सकिने निचोडमा पुगेको छ । यसकारण यो कृति यात्राको प्रत्यक्ष उपभोग गर्न र कल्पनाको सशक्त प्रस्तुति दिन सक्षम भएकोे छ ।
सूक्ष्म परिवेश चित्रणमा लेखकीय इमान्दारिता
बह्र दिन लामो यात्रामा पुस्तकले अन्टार्कटिको हिमालय, यात्राको साधन रहेको आधुनिक पानी जहाज र समुद्रिक वातावरणको विस्तृत चर्चा गरेको छ । त्यहाँको अनिर्धारित समय, साझा कानुन र अनागरिकताको बारेमा पनि उल्लेख छ । यसले स्थायी मनव बस्तीको अभावमा त्यहाँको मानक समय, पोषाक, खानपान, संस्कृति र भाषाजस्ता मानवका जातिगत चिन्हहरू साझा रहेको देखाउँछ भने सामुहिक रहनसहनको एकात्मकता समेत प्रदर्शन गर्दछ । त्यहाँसम्म पुग्नका लागि आधुनिक सुविधा भएका पानी जाहाज सवारीका रूपमा प्रयोग गरिएको छ । लगभग ५० देखि १५२ जना यात्रु बोक्न सक्ने सुदृढ क्रूज लाइनहरू यात्राका साधन बनेका छन् । त्यहाँको यात्राका लागि पुन्टा एरेनासदेखि किङ जर्ज टापुसम्म आधुनिक विमानहरू उपयोग गर्न सकिन्छ भने सुविधा र बजेटअनुसार पानी जाहजहरूको छनौट गर्न सकिने विकल्प रहेको छ । पानीजहाजभित्रका सुविधा आश्चर्यजनक छन् । ती जहाजहरू ‘तैरिरहेका होटल’ जस्ता छन् । तिनमा पौडी पोखरी, बास्पस्नान (साउना), व्यायामशाला, रेस्टुरेन्ट, भट्टी, बार्दली, पुस्तकालय, औषधालय र मसाज जस्ता व्यापक सुविधाहरू छन् । यात्राको रसद अनुभूतिसँगै जहाजमा उपलब्ध विलासी सुविधाहरूको विस्तृत वर्णनले अन्टार्कटिका यात्रा जोखिमपूर्ण गन्तव्यबाट अत्यधिक व्यावसायीकरण गरिएको पर्यटनमा परिणत भएको तथ्यलाई प्रत्यक्ष रूपमा देखाउँछ । यो परिवर्तनले कुनै समयको खतरनाक यात्रालाई धनी वर्गका लागि पहुँचयोग्य र गर्विलो यात्रा बनाउन टेवा दिएको छ । यसले वातावरणको प्रतिकूलतासँग पैँठाजोरी खेलेर मानिसले कसरी सुविधाको विस्तार गर्न सक्यो भन्ने साक्ष्य प्रस्तुत गर्दछ । यसले ऐतिहासिक अन्वेषणबाट प्राप्त गरिएको जोखिमपूर्ण यात्रा फेरिएर गुणस्तरीय पेसामा कसरी परिणत हुन सक्छ बन्न सक्छ भन्ने यथार्थ देखाउँछ । यात्रामा प्रयोग गरिएका आधुनिक सवारी साधनका सुविधाले सामुद्रिक परिवेश उजागर गरेको छ भने त्यहाँको भौगोलिक परिवेशले हिमाली भेगका कन्दरालाई प्रदर्शन गरेको छ ।
विशाल श्वेत महाद्वीपको यात्रा गर्ने म पात्र भोक्ता र समाख्याता आफै हो । उसले अन्टार्कटिकाको यात्राका क्रममा देखेको सुरम्य भूगोलको वर्णन गरेको छ । त्यहाँ जाडोमा माइनस ९० डिग्री र गर्मीमा १० डिग्रीसम्मको तापक्रम हुने तथ्य खोलेको छ । यात्रामा आइपर्ने ठूल्ठूला हिमचकटी र चट्टान बनेर बसेका हिमघाँटीहरू पार गर्नका लागि मजबुत क्रुलाइनर प्रयोग भएका छन् । तिनीहरू अग्लाअग्ला समुद्रका छालहरू छल्न सक्ने सेवारत छन् (पृ.५४) । जहाजमा हरेक दुई जना यात्रीलाई एउटा क्याविनको व्यवस्था गरिएको छ । जसमा म पात्रको क्याविन ६०३ नम्बरको रहेको छ । मानौँ त्यो जहाज पानीमा तैरिरहेको आलिसान बङ्गला हो । त्यसमा १५२ जना पर्यटकको सुविधाका लागि १६२ जना कर्मचारी कार्यरत छन् । त्यसमा यात्रारत म पात्रले यस्तो थप सुविधा भएको भए अझ राम्रो हुन्थ्यो भन्ने केही पाएको छैन । यस्तो वयानबाट जहाजको वैभव र सुविधा विलासपूर्ण छ भन्ने ठम्याउन कठिन पर्दैन । अन्टार्कटिकामा पुगेपछि भ्रमण गरिने ठाउँहरू प्याकेजअनुसार पहिले नै निश्चित गरिएको हुनाले यो व्यवस्थित राजसी यात्रा हो भन्ने देखाउँछ । अति जाडो ठाउँ हुने यहाँको मौसमले वातावरणीय जटिलता प्रदर्शन गर्दछ (पृ.७४) भने भ्रमण प्याकेजका सुविधाहरूले खर्चालु पर्यटको आम्दानी पनि भव्य हुनुपर्ने आँकलन सजिलै गराउँछ । यसर्थ जटिल वातावरणीय परिवेशमा अत्याधुनिक सुविधायुक्त पारवहनका माध्यमबाट गरिएको यो यात्राले भौगोलिक अवस्था विशिष्ट प्रकृतिको रहेको तथ्य कृतिगत साक्ष्यबाट प्रस्तुत गर्दछ ।
अन्टार्कटिकाको छोटो परिचय १५ वटा बुँदामा प्रस्तुत गरिएको छ । २० हजार यात्रीको मृत्यु भएको ठानिने ड्रेक प्यासेजमा उत्पन्न हुने छाल र पानीमुनि सयौँ फिट तलसम्म डुबी रहने हिम चकटीको सुन्दरतालाई ठूलो कराहीमा मालपुवा पकाएको अवस्थासँग तुलना गरिएको छ । पानी एकदमै सफा भएका कारण ३० मिटर गहिराइसम्म पनि सजिलै देख्न सकिन्छ । त्यहाँका स्थायी जीव पेन्गुइनको जीवनचक्र, सिलको आहार, आनिबानी र प्रजनन, ह्वेलको संरक्षणका लागि गरिएको प्रयास जस्ता विषयले कृतिमा राम्ररी ठाउँ पाएका छन् । त्यहाँको हुन्डरी र क्षण क्षणमा हुने मौसम परिवर्तनका बारेमा पनि सटिक वर्णन गरिएको छ ।
कृतिमा अन्टार्कटिकालाई १४.२ मिलियन वर्ग किलोमिटरमा फैलिएको विशाल महादेशका रूपमा चित्रण गरेको छ । त्यहाँ अर्जेन्टिनाको ब्युनर्स आयर्स, उस्वाया र ड्रेक प्यासेज जस्ता प्रचलित बाटो हुँदै पुग्न सकिन्छ । त्यसबाहेक चिली, अष्ट्रेलिया, न्यूजिल्याण्ड र अफ्रिकाको केप टाउन हुँदै जाने बाटो पनि रहेको छ । त्यहाँ जानका लागि न्यानो कमडा, मजबुत छडी, टोपी र चस्मा जस्ता सूर्यको विकिरणबाट बचाउने समग्री अत्यावश्यक ठानिन्छ । कृतिले आइले द्वीप, लेमेयर च्यानल र मिक्केल्सन हार्बर जस्ता सुरम्य भूगोलको वर्णन गरेको छ । लेमेयर च्यानललाई विशेष रूपमा आइसबर्गहरूको साँघुरो र रमणीय बाटो भनेर उल्लेख गरेको छ । सयौँ फिट पानीमुनि रहेका आइसबर्गहरूको अलौकिक सुन्दरतालाई पनि जीवन्त रूपमा वर्णन गरेको छ । अन्टार्कटिकाको विशालता, चोखो सुन्दरता र भौगर्भिक रहस्यमाथि प्रकाश पारेको छ । त्यहाँको कौमार्य भव्यताको चोखोपनलाई झल्काएको छ । लेखकले यस्तो चर्चित तर धेरै हदसम्म नदेखेको नसुनेको महादेशको बारेमा गरेको यात्रामा भोगेका स्थान, समय, दृश्य, यातायात, जीव र मार्गहरू चाखलाग्दा छन् । लेखकका यस्ता कैयौँ सजीव वर्णनले पाठकलाई काल्पनिक लेखाइ हो कि भन्ने भ्रममा पार्न सक्छ । हो यही परिवेशगत सूक्ष्मता र सत्यता कृतिको तागत बनेको छ । यसै सूक्ष्म आलोकनभित्र लेखकीय आख्यान अनुस्यूत भएर आएको छ ।
तीर्थ यात्रा र नयाँ ध्रुवको खोजीबाट आरम्भ भएको भ्रमणको सिलसिला पर्यटकीय यात्रामा रूपान्तरण हुन धेरै आरोह अवरोह पार गर्नु परेको छ । त्यसैको उदाहरण हो महिलाहरूको यात्रामाथि प्रतिबन्ध । त्यस्तो प्रतिबन्ध हाल हटेको छ । अहिले त त्यहाँको सुदूर ध्रुवमा महिला कर्मचारीहरू समेत कार्यरत छन् । अन्टार्कटिकाको हिउँमा पूर्वी देश नेपालमा जन्मिएका यात्री भुवनसिंह विश्वकर्मादेखि जीवा लामिछानेसम्मले पाइलाको डोब छोडेर आउन सफल भएका छन् । यात्रीले स्पेनिस भाषाको वृत्तचित्र स्याङचुरी हेरेपछि अफूलाई लागेका अनुभूतिहरू कृतिमा खुलाएका छन् । त्यहाँ आखेटोपहारमा प्रतिबन्ध छ । फ्रान्सिस ड्रेकमाथि लेखिएको किताबको सन्दर्भ र पौराणिक बिम्बहरूको प्रयोग पनि पुस्तकमा उल्लेख गरिएको छ । किताबको अन्त्यमा ५६ वटा सन्दर्भ सामग्रीसूची प्रस्तुत गरेर इमान्दारिता प्रदर्शन गरिएको छ । त्यस्ता पठित सामग्रीलाई पचाएर स्वात्मानुभवमा ढाल्ने कौशल कृतिकारमा देखिएको छ । यसबाट पढाकुपन देखिएको भने अन्टार्कटिका महादेशलाई नागरकिता, आधिकारिक समय, प्रशासन र कानुन नभएको, सुकोमल, एकान्त, शून्य र बर्फिलो महादेशका रूपमा परिभाषित गरिएको । कृतिमा वर्णित अनौँठा स्थान, दृश्य, समय, वातावरण, अत्याधुनिक सवारीसाधन, भौतिक सुविधा र मिलित संस्कृतिले परिवेशको सूक्ष्मता पहिल्याउन सफल भएका छन् ।
आत्मपरक चित्रात्मक शैली
अक्षत अन्टार्कटिका कृति लामिछाने आफैले भोगेका घटनाहरूको सूक्ष्म अवलोकनमा आधारित नियात्रा हो । यो अन्टार्कटिकाबारे नेपाली भाषामा लेखिएको पहिलो कृति हो त्यसकारण यस कृतिले नेपाली साहित्यमा एक महŒवपूर्ण स्थान ओगटेको छ । यसको प्राथमिक उद्देश्य लेखकका अन्टार्कटिका यात्राका स्मृतिहरू, अनुभवहरू र बुझाइहरूलाई पुस्तकाकार रूपमा सङ्कलन गर्नु हो भने द्वितीयक उद्देश्य चिसो महादेशका बारेमा लेखेर ऐतिहासिक रूपमा स्वनाम अङ्कित गर्नु हो । यस कृतिका लेखकले यात्रासाहित्य लेखनको क्षेत्रमा आफ्नो जिम्मेवारी पूरा गर्न खोजेको पनि देखिन्छ । यसका सर्जकले केवल एक व्यक्तिगत यात्रा वृत्तान्त प्रस्तुत गर्न मात्र नभई नेपाली साहित्यको श्रीबृद्धि र भौगोलिक जटिलताको परिचय दिनमा समेत महत्वपूर्ण भाषिक दस्तावेज खडा गर्न खोजेको भेटिन्छ । उनले यसै कृतिका माध्यमबाट अन्टार्कटिका जस्तो दुर्गम र रहस्यमय महादेशलाई नेपाली भाषी पाठकहरूका लागि सरल र बोधगम्य भाषाका माध्यमबाट यात्रा वर्णन गर्ने र आफूलाई मातृभाषाप्रेमी सर्जकका रूपमा स्थापना गर्ने स्पष्ट उद्देश्य बोकेकोे देखिन्छ ।
पुस्तकले आत्मपरक सम्प्रेषण शैली अपनाएको छ । यात्री स्वयं केन्द्रीय पात्र ‘म’का रूपमा उपस्थित हुनुले यसको प्रमाण प्रस्तुत गर्दछ । यस नियात्राको ८० प्रतिशत अंश ‘म’को प्रत्यक्ष अवलोकनमा आधारित छ भने बाँकी २० प्रतिशत कल्पना, इतिहास र अन्य पुस्तकहरूबाट प्राप्त विवरणहरूमा आधारित छ । यसकिसिमको इमान्दार मिश्रणले पाठलाई विश्वसनीय बनाउन र तथ्यपरक विवरणलाई आकर्षक मानवीय अनुभूतिमा रूपान्तरण गर्न सहयोग पु¥याएको छ । यस्तो कला प्रभावकारी यात्रा लेखनमा आवश्यक ठानिन्छ ।
लेखन शैली कलात्मक अभिव्यक्तिले भरिपूर्ण छ । जसलाई नदी वा गङ्गाको प्रवाहसँग तुलना गरिएको छ । हतार नगरी सबै कुरालाई समेट्दै अगाडि बढ्ने शैलीले पाठकलाई विस्तारित हुने अवसर प्रदान गर्दछ । पुस्तकमा पत्रात्मक शैलीको पनि प्रयोग गरिएको छ । यसले रोचकता र प्रभावकारिता थपेको छ । लेखकले तुलनात्मक शैलीको प्रयोग गरी अन्टार्कटिकाको अनुभवलाई नेपाली हिमाली सभ्यतासँग जोडेका छन् । जसरी शङ्कर लामिछानेको एब्स्ट्रयाक चिन्तन प्याज निबन्धमा लुगाको तुलना प्याजको बोक्रासँग गरेका छन् त्यसरी नै जीवा लामिछानेले अन्टार्कटिकाको हिउँलाई नेपाली सगरमाथासँग तादात्म्य गरी अथ्र्याउने काम गरेका छन् । यसले लेखकको राष्ट्रप्रेमी साहित्यिक चेतनालाई प्रतिबिम्बित गरेको छ ।
यसमा विविध शैलीगत छनौटहरू प्रशस्त मात्रामा पाइन्छन् । कृतिमा रोचक आख्यान, पत्रात्मक संवाद, तुलनात्मक विश्लेषण र नवीन बिम्बहरू उल्लिखित छन् । यसबाट लेखकको परिष्कृत साहित्यिक शिल्प कौशल प्रदर्शन भएको छ । यस आधारमा यो कृति केवल एक यात्राको कहानी मात्र नभई पाठकलाई गहिरो अनुभूतिमा संलग्न गराउने, दार्शनिक गहिराइ प्रदान गर्ने र अन्टार्कटिकाको विचित्र अनुभवलाई नेपाली सन्दर्भहरूसँग जोड्ने सावधानपूर्वक निर्माण गरिएको उत्कृष्ट प्रयास हो । यसमा निहित आध्यात्मिक उद्बोधनले नियात्रालाई साहसिक कार्यभन्दा माथि उठाएर अभिधात्मक अर्थलाई अतिक्रमण गरी उच्च अनुभवयुक्त रहस्यको खोजीमा केन्द्रित गरेको देखाउँछ । लेखकको यस्तो कौशलबाट भौतिकताभित्र आध्यात्मिकता मिश्रण गर्न सकियो भने आत्मशान्तिसँगै आधुनिक वैभवले पूर्णता प्राप्त गर्छ भन्ने सन्देश प्राप्त भएको छ ।
निष्कर्ष
अक्षत अन्टार्कटिका नियात्रा तत्वको आधारमा उत्कृष्ठ देखिएको छ । उक्त विश्लेषित कृतिले पाठकहरूलाई नियात्रा विधातत्वको पाठगत रूपान्तरण कसरी भएर आएको छ भन्ने प्रश्नको उत्तर दिएको छ । त्यसबाहेक यस आलेखले विधातत्वको स्थिरीकणका लागि समेत योगदान दिएको छ । विधागत तत्वका आधारमा कृतिविश्लेषण नभएका सन्दर्भमा त्यसको अभाव पूर्ति गर्ने काम पनि यस आलेखले गरेको छ । यसका विधागत तत्वले पाठकका मष्तिकमा विधागत तत्वहरू यसरी रूपायित भएर आउन सक्दा रहेछन् भन्ने प्रभावकारी सोच विकास गर्न सक्षम भएको छ ।
विश्लेषित कृतिले विश्वको सबैभन्दा दक्षिणी महादेशको भ्रमण गराएको छ । यो नेपाली भाषामा लेखिएको अन्टार्कटिका सम्बन्धी पहिलो पुस्तक हो । यस आधारमा यसको ऐतिहासिक महत्वलाई स्थापित गरेको छ । पुस्तकले तथ्यपरक अवलोकनलाई कल्पनाशील कथाकथन, ऐतिहासिक सन्दर्भाङ्कन र दार्शनिक चिन्तनलाई कृतिमा कुशलतापूर्वक मिश्रण गरी बहु–स्तरीय यात्रा वृत्तान्तका रूपमा स्थापित गरेको छ । लेखकको इमान्दारिता र सूक्ष्म अवलोकनले यसलाई थप बल दिएको छ । पूर्ण रूपमा व्यक्त गर्न नसकिने अव्यक्त अनुभवहरूदेखि लिएर भौतिक यात्राको भोगशक्तिलाई उजागर गर्छ । पुस्तक स्वादिष्ठ साहित्यिक कृति, विस्तृत यात्रा मार्गदर्शक किताब, ऐतिहासिक अध्ययन सामग्री, वातावरणप्रेमी ग्रन्थ र पर्यटन प्रवर्धन गर्ने सामग्री बनेको छ । यसले नेपाली नियात्रा विधामा एक महŒवपूर्ण रिक्तता भर्नुका साथै वातावरणीय चेतना, सांस्कृतिक चिन्तन, र साहसिक कार्यको स्तुतिगान समेत प्रस्तुत गर्छ । साहसिक यात्रा गर्न चाहने धनाढ्य यात्रीलाई उत्प्रेरकको भूमिका पनि खेल्छ । भविष्यमा विश्वयात्री वा लेखकलाई पर्यटकीय संसारको अन्वेषण र दस्तावेजीकरण गर्न समेत प्रेरित गर्छ । प्रस्तुत कृतिलाई स्नातकोत्तर तहको अध्यापनमा समेत सन्दर्भ सामग्रीको रूपमा उपयोग गर्न सकिने देखिन्छ । कृतिमा नियात्राका पाँचवटा तत्व स्पष्ट रूपमा रूपायित भएर आएका छन् । यस्तो तथ्य विश्लेषणबाट सत्यापन गरिएको छ ।
सन्दर्भसामग्री सूची
अधिकारी, पञ्चम, (साहित्यपोस्ट, २०८२, वैशाख २१) नियात्रा, जात्रा र सहयात्राको चाखलाग्दो भेद, www.sahityapost.com
खनाल, शशिधर, (२०६६), ताना शर्माको निबन्धकारिता, अप्रकाशित विद्यावारिधि शोधप्रबन्ध, काठमाडौँः त्रिभुवन विश्वविद्यालय ।
छाङ्छा, जय, (गोरखापत्र, २०७६ माघ १५) नियात्रा लेखन, www.gorkhapatra.com
नेपाल, देवी, (साहित्यपोस्ट, २०७८ जेठ १५), ‘नियात्रा के हो र कसरी लेखिन्छ ?’, www.sahityapost.com
वानियाँ, कर्णबहादुर, (साहित्यपोस्ट, २०८२ असार ११), अक्षत अन्टार्कटिका अवलोकन, www.sahityapost.com
राई, मार्था, (सन् २०१५), सलोन कार्थकका नियात्राहरूको अध्ययन, अप्रकाशित दर्शनाचार्य शोधप्रबन्ध, सिक्किमः सिक्किम विश्वविद्यालय ।
लमिछाने, जीवा, (२०८१) अक्षत अन्टार्कटिका, काठमाडौँः फाइन प्रिन्ट ।