19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

सिँगौरी

कथा मधुरव March 2, 2026, 6:24 pm

श्रीकृष्ण गोविन्द हरे मुरारे ... टिङ् टिङ् ।

बुढीमाऊको पूजा समाप्तिको घन्टीको आवाजसँगै ८७ बर्से बुढा बिस्तारमा उठेर बसेका छन् । उनको अनुहारमा चिन्ताका रेखा दैडिरहेको देखेर मैले सहानुभूतिपूर्वक बुझ्ने प्रयत्न गर्छु । घरको भेद किन खोल्ने भनेर बुढाले टार्ने प्रयत्न गरे पनि मैले थप अनुनय गरेपछि उनको छातीको व्यथा सहज ढङ्गमा पोखिन थाल्छ । हिजो कोरियाबाट नातिको फोन आएको रहेछ ।

– हजुर बा । ढोगेँ । सञ्चै हुनुहुन्छ ?

– हामी डाँडाका घामको के हुनु बा, ठिकै छु । तिमीलार्इ कस्तो छ ? कहिले आउँछौ ? देखेर मर्ने मन थियो ।

– आउँछु हजुर बा, आउँछु । तर पढेको, आएको रिन तिर्न अझै सकेको छैन । के गर्ने देशमै बस्ने परिस्थिति रहेन । चुनाब आउँदै छ रे । अब त ती भ्रष्ट र हत्याराहरूलार्इ भोट हाल्ने होइन है हजुर बा ! हजुर आमालार्इ पनि भन्नुहोस् ।

– खै बाबु, मलार्इ त त्यति मेसो पनि हुन्न । तिम्रै बाबुले लान्छ र हाम्रो भोट पनि हालिदिन्छ । हजुर आमाले यसो नगर न बाबुभन्दा उल्टै झर्किन्छ । ल म बाबुलार्इ नै दिन्छु । उसैसँग भन भनेर बुढाले लाउड मोबाइल माहिला छोरालार्इ दिन्छन् ।

– बाबा, दर्शन । तपार्इँको पार्टीले त युवालार्इ देख्नै सकेन । अब त मत परिवर्तन गर्नुहोस् । छोराछोरीलार्इ आफ्नै जन्मभूमिमा आफन्तसँग बाँच्न दिनुहोस् ।

– के भन्छ यो ? ती अराजक र ठगहरूलार्इ हाम्रो भोट दिने ?

– तपार्इँले नदिए पनि घरका अरूलार्इ जबर्जस्ती नगर्नुहोस् । हजुर बा, हजुर आमा र आमालार्इ मतदान केन्द्रमा बालिक भाइबैनीले नै लान्छन् ।

– हैन, त को होस् ? खुकुरीभन्दा कर्द लाग्ने ? तँलार्इ रिन खोजीखोजी एम ए सम्म पढाएको यसैका लागि हो ? घर भाँड्न र मेरो कुरा काट्न ?

– हजुरको कुरा काटेको होइन । तर विगत ३५ वर्षदेखि तपार्इँ, ठुलो बुबा र अङ्कलकै पार्टीले त देश हाकेको हो । किन देश झन्झन् विपन्न, भ्रष्ट र सङ्कटग्रस्त बन्दै गएको छ ? नेपालीलार्इ २७ खरब रिनमा डुबाउनु भएको छ । देश ग्रे लिस्टमा त गइसक्यो । अब ब्ल्याक लिस्टमा लाँदै हुनुहुन्छ तर तपार्इँहरूका नेताको जीवन त मलार्इ काम दिने देशको शासकको भन्दा बढी शान र सौकतले भरिएको छ ।

अरूको के कुरा तपार्इँसँगै राजनीतिमा लागेका तपार्इका छट्टु साथीहरूका महल कसरी ठडिए सोच्नु भयो ? तिनका छोराछोरीका ऎसआराम देख्नु भयो ? अनि तपार्इलार्इ एउटा छोरोलार्इ पढाउँदा किन रिन लाग्यो ? के तपार्इँको त्याग ती नवसामन्त उत्पादनका लागि मात्रै थियो ?

अर्को कुरा पढाउँदा रिन लागेको । त्यो त तिर्नै भनेर आएको छु मजदुर बनेर । मलार्इ रिन लगार्इ लगार्इ एम ए त पढाउनु भयो । मैले अब्बल बनेर पढेँ पनि तर मलार्इ त्यहाँ बाँच्नसम्मको रोजगारी पनि देशले किन दिन सकेन ? छोरो पढाएँ भनेर अब के गर्व गर्नुहुन्छ ? मजस्तै एक तिहाइ नेपाली जो युवा छन् ती सबैलार्इ देश छाड्न बाध्य बनाउनु भएन ? बचेका नाबालिक किशोर र युवाले तिनै नवसामन्तहरूको विरोध गर्दा शत्रुराष्ट्रका सेनालार्इझैँ ड्याम ड्यामती राजधानीका सडकमा ढाल्नु भएन ? ती पनि तपार्इँकै जस्ता कसैका सन्तान होइनन् ? तिनको घर उजाडेको तपार्इँहरूकै पार्टीले होइन ?

– त्यत्रो डढेलो लाउनेहरूलार्इ नमारेर के गर्ने त ? देखिनस् सिंहदरबार जलेको ?

– देखेँ । मन रोयो । तर एक मिनेट कसैको दास नभर्इ सोच्नुहोस् त– तपार्इँकै अगाडि गाडीमा गुन्डाहरू आएर तपार्इँका भाइछोरालार्इ ड्याङ्ड्याङ्ती गोली ठोकेर मार्छन् भने तपार्इँले आवेशमा आएर तिनीहरूको गाडी तोडफोड वा आगजनी गर्नुभयो भने अपराध कसको ठुलो हो ?

– कहाँ पहिला संसद जल्यो अनि गोली चलेको हो । हाम्रा ठुला नेताले नजानी नबुझी त्यसै भन्छन् । बुझ्नुसुझ्नु छैन । विदेशमा बसेर लै लैमा गफ हाक्छस् ?

– तपार्इँहरूको यही भेडोपनको चरम दुरुपयोग तिनीहरूले गरेका छन् । भाइबैनीहरूसँग सोध्नुहोस् त, त्यतिखेरको लाइभ भिडियो नै तपार्इँलार्इ देखाइदिन्छन् । कसरी सडकका निहत्था नाबालिकमाथि एकोहोरो गोली बर्साएर मारेका थिए अनि भोलिपल्ट आगजनी सुरु भएको हो भन्ने ।

छोरानातिको म्यासेन्जरमा भएको यो चर्काचर्कीसँगै घरका सबै सदस्य त्यहाँ आउन थाले । जेठा र कान्छा छोराहरू अघि नै आएर दोहोरो संवाद सुनिरहेका थिए । जेठाले भाइबाट फोन खोस्दै भने–
बाबु विवेक, तिमीले भनेका कुरा धेरैजसो ठिकै लाग्यो । “लास र दास” पार्टीकाले त्यस्तो कुरा बुझ्दैनन् । अब हामी सच्चिएका छौँ । बाआमालार्इ यसपालि भोट हाल्न म लिएर जान्छु । तिमीले चिन्ता गर्नुपर्दैन ।

– ठुलो बुबा दर्शन । बिग्रिएका हजुरहरू सच्चिनु भएको कुरा सुन्दा खुसी लाग्यो । तर हजुरहरूलार्इ पनि धेरै वर्षदेखि हेरियो । भनेको पनि मानियो । तर अब देश धेरै व्यहोर्ने हामी युवाहरूले नै हो । त्यसैले असजिलो मान्नु हुन्न भने हामीले भनेकै बाटोमा हिँडिदिनुहोस् । नत्र कसैलार्इ जबर्जस्ती नगर्नुहोस् । हजुर बा, हजुर आमा, आमाहरूलार्इ उहाँले चाहेकै मानिससँग मतदान केन्द्रमा जान दिनुहोस् ।

– अलिकति कमाउन थालेपछि यो त कस्तो घमण्डी बनेछ ? तेरो बाको जस्तो अनैतिक, अहङ्कारी र यथास्थितिवादी पार्टी होइन मेरो । सुध्रियौ भनेसि पनि कस्तो अटेरी गरेको यसले ? थाहा छ तँ कोसँग बोल्दैछस् ?

– हजुर, थाहा छ । हरेक अनैतिक धन्दा गर्नेले जनता सामु नाङ्गिएपछि र राम धुलाइ भेटेपछि सुध्रिएकै अभिनय गर्छन् । कसैले चलाउँदै आएको कोठीलार्इ आश्रमको नाम दिँदैमा त्यो पवित्र स्थान प्रमाणित हुन्न । डाकूँ बाल्मीकि बन्न त सक्छन् तर आचरण र कर्म (रामायण लेखन) त्यस्तै देखिनुपर्छ । ठिकै छ, आचरण देखाउनुहोस् पाँच वर्ष अनि मानौँला ।

त्यसपछि कान्छो छोरोले आफ्नो दलको चरित्रवान् छवि विवेकलार्इ सुनाउन खोज्दै थियो तर रिसले चुर जेठोले मोबाइलै बाहिर हुत्याइदियो । रिसाहा कान्छोले पनि जेठालार्इ खाउँलाझैँ गरेर आँखा पल्टाएर हेरिरहेका बेला बुढीमाऊले प्वाक्व बोलिन् ।

– थुक्क अपराधी, नाति विवेकले मलार्इ पठाइदिएको त्यो मोबाइलले तेरो के बिगार गरेको थियो र हुर्याइस् । त्यही विवेकले विदेशमा बगाएको रगत र पसिनाले यो घर चल्छ कि जस्तो छ । अझ उसैलार्इ टोक्छौँ ? तिमीहरू नाथेले के नापेका छौ ? हामीले रगत पसिना बगाएर जोडेभन्दा केही थपेका छौ, स्वास्नी छोराछोरीबाहेक ? कस्ता आँधा जन्माइछु । कुनै पौरख छैन । खालि स्वास्नीलार्इ दलाउने र छोराछोरीलार्इ सराप्नेबाहेक कुनै मति छ ? चौबिसै घन्टा मेरो नेता यस्तो, तेरो नेता यस्तो भन्यो, दिन बितायो, तिनैको कहिले काहिँ कलो खान पाए पुग्यो । हैन भतुवा ? यी नातिनातिनीको जत्ति पनि गतिमति रहेन यिनीहरूको ।

थाहा त तिमेर्लार्इ ? हाम्रा नातिजस्ता विदेश गएर पठाएको पैसा नहुने हो भने यो देशै चल्दैन रे ! तिनकै रगत पसिनाले तिम्रा नेताको ऎसआराम चलेको रहेछ । अन्न खान्छौ भने यी नातिनातिनासँग सोध्ने गर । कहिल्यै यिनीहरूसँग मायालु भावले बोलेका छौ । यिनीहरूले देख्ने सपना के हो, सोचेका छौ ? मलार्इ अस्ती कान्छी नातिनीले सम्झाउँदै थी । तिम्रा नेता भनाउँदाहरूले पैसा खाएर यो देशका नागरिकलार्इ शरणार्थी बनार्इ विदेशमा बेच्दा रचन् । नागरिक नै बेच्नेले अरू त के राखे होलान् ? त्यो सुनेपछि त म खङ्ग्रङ्ग भएँ । हरि हरि । कतिसम्म पातकी हुँदा रहेछन् त हाम्रा नेता ! तिनकै पछि लाग्ने भतुवा तिमीहरूले पनि हामीलार्इ तिनैका पक्षमा हाम्रो भोट हालिदिएर बेच्दै त आएका रहेछौ । होइन र ? धिक्कार छ तिमीहरूलार्इ !
अब हाम्रा आँखा यिनै नातिनातिना हुन् । हाम्रो मताधिकारमा हैकम जमाउने तिमी को हौ ?

८० वर्षे बुढीमाऊको गर्जनले छोराहरूको मनमा ठुलै भूकम्प गएछ । चिराचिरा परेको तिनको अनुहारले त्यस्तै भन्थ्यो । बाबुआमा र छोराछोरीसामु यसरी लज्जित हुनुपर्छ भन्ने तिनले कहिल्यै सोचेका थिएनन् । त्यसैले अँध्यारो र कुरूप थुतुनु लिएर ती लाखापाखा लागे । घरमा दिनभर अगाडिकै जस्तो दैनिकी त चलिरह्यो तर स्वचालित यन्त्रझैँ । अनौठो मौनता छाइरह्यो । बेलाबेलामा सबैका मनमा अगाडि गएको भूकम्पको पराकम्प गइरहेजस्तो लाग्थ्यो । वृद्धका मनमा भने चुनाबकै कारण मिलेर बसेको घर भाँडिने हो कि भन्ने डर रातभर मडारिइरहेको रहेछ । बिहान उठ्दा पनि उनको अनुहारका रेखाले त्यही बताइरहेका रहेछन् ।

वृद्धबाट सबै कुरा सुनेपछि मेरो मनमा पनि धमिरा सल्बलाउन थाले । जति सोच्दै जान्छु सचेत जेन जी नभएको घरैपिच्छे, अशिक्षित, विपन्न र पिछडा वर्गको समाजै पिच्छे “स्वतन्त्र र गोप्य मतदान” कति स्वतन्त्र र गोप्य छन् भन्ने प्रश्नले मलार्इ लखेटिरह्यो, लखेटिरह्यो । अझ सहरमा आफ्नो साख गुमाउँदै गएका पार्टीका नाइके नै त्यस्ता क्षेत्रमा किन आकर्षित हुन्छन् भन्ने कुराले त आस्थाको केन्द्रमै सिँगौरी खेल्न थाल्यो ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।