19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

मध्यपूर्वको आगोमा विश्वको छाँया

कविता तोमनाथ उप्रेती March 5, 2026, 2:15 pm
तोमनाथ उप्रेती
तोमनाथ उप्रेती

आकाशले आज
फेरि रातो वस्त्र लगायो
धुवाँले सूर्यलाई
कफन ओढायो,

पृथ्वीले आफ्नो छाती चिरेर भन्यो
“शान्ति त केवल भाषणको फूल थियो।”
इजरायल र इरान
दुई प्राचीन सभ्यताका नाम
तर
आज तिनीहरू
बारुदका शीर्षक बनेका छन्।
हेजबुल्लाह
आफ्नो रगतलाई नारा बनाएर
आकाशतर्फ रकेट उछाल्छ
जसरी क्रोधले विवेकलाई उछाल्छ।
बेरूत
थर्किन्छ

तेहरान
आफ्ना छोराहरूको नाम
धुवाँमा लेख्छ।
विस्फोट
मानौँ कविताको अन्तिम पूर्णविराम,
जहाँ प्रत्येक शब्द
एक जनाको मृत्यु हो।
खामेनीको छायाँ
अब शून्यमा टाँगिएको प्रश्नचिह्न,

बदला
नयाँ धर्मको मन्त्र जस्तो उच्चारित।
विडम्बना हेर
शान्तिका पुरस्कारहरू
बमको कारखानामा ढल्किरहेका छन्,
मानव अधिकारका भाषणहरू
ड्रोनको पखेटामा टाँसिएका छन्।
ट्रम्प
टेलिभिजनको पर्दाबाट
‘निश्चित मृत्यु’को वाक्य फाल्छन्,
जसरी बच्चाले खेलौनामा
सैनिक चलाउँछ।
युद्ध
राजनीतिकहरूको चेस खेल
जहाँ प्यादा सधैं
साधारण नागरिक हुन्छ।
स्ट्रेट अफ होर्मुज
तेलको नसाजस्तो थर्किन्छ

बजारहरू
रगतको मूल्य तोक्छन्
डलर मुस्कुराउँछ
मानवता रोइरहन्छ
यो नै आधुनिक सभ्यताको
सबैभन्दा ठूलो व्यंग्य हो।
मिसाइलहरू आकाशमा
आत्मगौरवका पताका जस्ता
तर
जब ती झर्छन्
घरहरू
कागजका सपनाजस्ता च्यातिन्छन्।
आमा आफ्नो छोरालाई भन्छे
“यो आतिशबाजी होइन
यो त राष्ट्रवादको वर्षा हो।”
बालक सोध्छ
“राष्ट्र भनेको के हो, आमा?”
उत्तर धुवाँमा हराउँछ।
हवाई क्षेत्र बन्द
मानौँ आकाशले
मानवको पागलपनबाट
आफ्नो ढोका थुनेको हो।
संसार हेर्छ
समाचारको कफी पिउँदै
जसरी आगोको नाटक
दूरबाट रमाइलो लाग्छ।
तर
आगो रमाइलो हुँदैन।
आगोले सधैं घर रोज्छ

घर सधैं
कसैको सपना हुन्छ।
युद्धको भाषा ठूलो हुन्छ
तर
सत्य सानो
शवयात्रामा मौन उभिएको।

जब धुवाँ बस्छ
जब नेताहरू हात मिलाउँछन्
तब पृथ्वी फेरि सोध्छ
“के तिमीहरूले जित्यौ?
वा म फेरि हारें?”
युद्ध
मानवताको ऐनामा देखिएको
सबैभन्दा कुरूप कविता।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।