19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

जुनी काट्नु - एउटा बाजी

कविता पारिजात December 19, 2008, 8:14 pm

धमिरा लागेको धरतीमाथि उभिएर

माटोको माया ?

एउटा व्यङ्ग र अतिशयोक्ति हुन जान्छ आफैप्रति

म कसरी व्यक्त गरुँ ?

मैले जमिन नखोजेको विरोध

मैले परिभाषा लाउन नखोजेको आमाको माया

जब रमाइलो दिन र रंगीन भ्रमहरुको

जुवा फुकेको थियो

शायद म अनुपस्थित थिएँ

आफ्नै स्थितिहरुमा

आफ्नै समयहरुमा

कि मैले हारमाथि हार खाएको हुनुपर्छ

म बाजी मार्न बिर्सन्छु

म बाजीलाई अर्थ दिन बिर्सन्छु

मान्यता दिन बिर्सन्छु

मलाई नसोधे हुन्छ

जुनी काट्नु कुनै गाह्रो काम होइन

अप्ठ्यारो इतिहास होइन ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।