डा. शोभा लिम्बु हालैमा हिन्दी भाषामा “शुकमाया हाङमा” उपन्यास प्रकाशित गरेर चर्चामा आएकी छन्। यो पुस्तकको प्रकाशन नया दिल्लीको राजकमल प्रकाशनले प्रकाशित गरेको छ। उनको जन्म १९६७ सनमा भएको हो। उनले विश्वभारती, शान्तिनिकेतनबाट हिन्दी साहित्यमा स्नातकोत्तर गरेकी छन् र पटना विश्वविद्यालयबाट विद्यावारिधीको उपाधि हासिल गरेकी हुन्। उनी हिन्दी, नेपाली, लिम्बु र अंग्रेजीमा सुदक्ष छिन्। उनले नेपाली र लिम्बुबाट हिन्दीमा अनुवाद पनि गरेकी छन्। उनका प्रमुख प्रकाशित पुस्तकहरू हुन्- लिम्बु भाषा का स्वरूप और विकास, थाक्थुङः मुक खेदा, प्रसाद की कहानियों का शाश्त्रीय अध्ययन। उनलाई भारतीय दलित साहित्य अकादेमी, नई दिल्ली के वीरांगना सावित्री बाई फूले राष्ट्रीय सम्मान, और अन्तर्राष्ट्रीय तथागत विशिष्ट सम्मानले सम्मानित भएकी छन्। उनी दार्जिलिङ्ग हिन्दी भाषी मञ्च की अध्यक्ष छन्। वर्तमान उनी कालिम्पोंग कॉलेज, कालिम्पोंग पश्चिम बंगालमा हिन्दी का अध्यापकका रूपमा कार्यरत छिन्। प्रस्तुत छ उनीसँग गरिएको साहित्यिक कुराकानीको सम्पादित अंश-
वैद्यनाथ उपाध्यायः तपाईं मूलतः नेपाली भाषिक परिवेशबाट आएर हिन्दी साहित्यमा सक्रिय हुनुहुन्छ। यो भाषिक यात्राको प्रेरणा र चुनौतीहरू के–के रहे?
शोभा लिम्बुः मेरो प्राथमिक शिक्षा एवं उच्च शिक्षा सबै समतल क्षेत्रमा भएको हो। मेरो जन्म एवं प्राथमिक शिक्षा दुर्गापुर स्टिल टाऊनशिप एरिया मा भएको हो र उच्च शिक्षा विश्वभारती विश्वविद्यालय, शांतिनिकेतन (पश्चिम बंगाल) बाट प्राप्त गरिएको हो। राज्यका विविध भाषिक मानिस बिच हुर्किए को हुनाले हिंदी एवं अन्य भाषा बोल्न र पठन-पाठन गर्न को मूल प्रेरणा को स्त्रोत थियो ।
वैद्यनाथ उपाध्यायः कालिम्पोंगजस्तो बहुभाषिक र बहुसांस्कृतिक क्षेत्रमा अध्यापन गर्दै साहित्य सृजना गर्दा कस्तो अनुभव हुन्छ?
शोभा लिम्बुः कालिम्पोंग जस्तो बहुभाषिक र बहुसांस्कृतिक क्षेत्रमा अध्यापन गर्दा एउटा सारै गर्व महसूस हुन्छ र विशेषगरि अहिन्दी क्षेत्रमा आफ्नै ठाउ को विद्यार्थीहरुलाई हिंदी साहित्य पढ़ाउन पाउंदा खुशी लाग्छ। हाम्रो समुदाय को विविध साहित्यिक, सांस्कृतिक, ऐतिहासिक, क्षेत्रीय भाषा, लिपि जो हाम्रो धरोहर हो अनि हाम्रो क्षेत्रीय विषयवस्तुलाई लिएर साहित्य सृजना गर्दा आफ्नो इतिहासको पनि खोज गर्ने एउटा रुचिकर विषय हुन्छ र हाम्रो साहित्यलाई अरु को माझ प्रकाशमा ल्याउनु पनि मेरो मुख्य उद्देश्य हुन्छ । संक्षेपमा, यस क्षेत्र मा साहित्य सृजना गर्दा एउटा नया खोजको सुखद अनुभव हुन्छ र अनुसंधानकर्ताको रुपमा अझै अनगिनत खोजहरु बाकी नै छ जस्तो लाग्छ ।
वैद्यनाथ उपाध्यायः तपाईंको हिन्दी उपन्यास ‘शुकमाया हाङमा’ लेखनको मूल प्रेरणा के थियो? यस कृतिमा तपाईं के सन्देश दिन चाहनुहुन्थ्यो?
शोभा लिम्बुः मेरो हिंदी उपन्यास 'शुकमाया हाङमा' को मूल प्रेरणा मेरो बोज्यु हुनु हुन्थियो । हाम्रो परिवार को एउटा मूल खम्भाको रुपमा एउटा आदर्श, आत्मनिर्भर, अदम्य साहसी महिला उनी हुनुहुन्थो। बर्मा युद्धको पृष्ठभूमिलाई लिएर उपन्यासको सृजना गरिएको हो। यस कृतिबाट मुख्य संदेश यही हो कि प्रत्येक स्त्री को आफ्नो पहिचान स्वंयले नै निर्माण गर्नु पर्छ। जबसम्म हामी स्त्री स्वनिर्भर, आत्मविश्वासी, शिक्षित हुन्दैनौ तब सम्म हामी कुनै पनि क्षेत्रमा अघाडी बढ़न सक्षम हुन्दैनौ।
वैद्यनाथ उपाध्यायः ‘कैमेलिया’ कहानी सङ्ग्रहका कथाहरूले कुन सामाजिक–सांस्कृतिक यथार्थलाई प्रतिनिधित्व गर्छन्?
शोभा लिम्बुः 'कैमेलिया' कहानी संग्रहमा हाम्रो पहाड़ी भौगोलिक, सामाजिक, सांस्कृतिक, राजनैतिक परिस्थिती एवं हाम्रो गाँवको मेहनतकश कृषक, मजदूर, आम मानिसको दु:ख - सुखको यथार्थलाई विविध कथाको रुपमा अंकित गरिएको छ।
वैद्यनाथ उपाध्यायः ‘याक्थुम मुक खेदा’ जस्तो कृतिमा आदिवासी/जनजातीय चेतना कसरी अभिव्यक्त भएको छ?
शोभा लिम्बुः 'याकथुङ मुक खेदा' लोक कथा साहित्यमा विविध लोककथाको माध्यमद्वारा हाम्रो आदिवासी जनजातीय चेतनाको विविध पहलुहरु जस्ता आदिवासी समाजको इतिहास, लोक परम्परा, लोकदर्शन, लोकआस्था, प्रकृति पूजक, लोकगीत, मौखिक वाचन आदि दर्शाएको छ। 'मुन्धुम' लिम्बु समुदाय को मुख्य आधार ग्रंथ हो र यस समुदायका विविध सामाजिक, सांस्कृतिक, धार्मिक, दार्शनिक पक्षहरु मुन्धुम आधारित हो। यस कृतिमा विविध विषयवस्तु आधारित लोककथा प्रस्तुत छ।
वैद्यनाथ उपाध्यायःतपाईंका कृतिहरूमा स्त्री अनुभव र पहिचानको प्रश्न सशक्त रूपमा देखिन्छ। नारी चेतनाबारे तपाईंको दृष्टिकोण के हो?
शोभा लिम्बुः म एउटा महिला हुनको नाताले र अनुभवले पनि सिकाए अनुसार समाजमा व्यक्तिगत रुपमा नारीको एउटा आफ्नो छुट्टै पहिचान हुन एकदमै आवश्यक छ। आफ्नो पहिचान, उच्च शिक्षा, आफ्नो मेहनत, आत्मविश्वास, साहसी, आत्मनिर्भर, विवेकशील भई अग्रसर भएर मत्तै पहिचान हासिल गर्नु सक्छ। समाजमा नारीको पहिचान भन्नाले मेरो उद्देश्य चै पुरुषलाई हेय भनेको हैन, पुरुषको सहयोग बिना त एक्लै स्त्रीले सबै कुरा गर्नु सम्भव छैन, परिवारमा पुरुषको पनि एकदमै महत्व छ । स्त्री - पुरुष दुवैको परिवारमा आफ्नु आफ्नु समान महत्व र पहिचान हुन पर्छ।
वैद्यनाथ उपाध्यायः ‘प्रसाद की कहानियों का शास्त्रीय अध्ययन’ लेख्दा साहित्यिक अनुसन्धान र समालोचनाका कुन पक्षले तपाईंलाई सबैभन्दा बढी आकर्षित गर्यो?
शोभा लिम्बुः ‘प्रसाद की कहानियों का शास्त्रीय अध्ययन' कृति को रचना गर्दा अनुसंधान र समालोचना दुवै पक्षले मलाई आकर्षित गऱ्यो कारण एउटा रचनाकारलाई स्पष्ट रुपमा भन्दा दुवै पक्ष एकदमै. महत्वपूर्ण हुन्छ। साहित्यिक अनुसंधान एउटा रचना को मुख्य अंग हो, बिना अनुसंधान त्यो रचनाको विषय वस्तु खोखला हून्छ यानि प्रामाणिक, विश्वसनीय,प्राधिकृत हुन्दैन र समालोचना को एउटा विषय बनिएको हुन्छ। समालोचना गर्ने कार्य पाठकको हुन्छ र रचनाकरको लागी कृतिको समालोचना पक्षको विषयवस्तुलाई पनि ध्यान राख्नु एकदमै जरूरी हुन्छ। त्यसकारण एउटा रचनाकार को लागी अनुसंधान र समालोचना दुवै पक्ष महत्वपूर्ण हुन्छ।
वैद्यनाथ उपाध्यायः ‘समकालीन चर्चित नेपाली कहानियाँ’ जस्तो सम्पादकीय/अध्ययनात्मक कृतिले नेपाली साहित्यलाई कसरी मूल्याङ्कन गरेको छ?
शोभा लिम्बुः 'समकालीन चर्चित नेपाली कहानियां' नेपाली - हिंदी अनुदित कृति मा नेपाली साहित्यका मूर्धन्य कथाकारहरुको प्रमुख कथाहरुलाई हिन्दी पाठकको माझ साझा गर्नु मेरो मुख्य उद्देश्य हो। हाम्रो नेपाली समाजका यथार्थ चित्रण, हाम्रो मानिसको दैनिक पीड़ाहरु, हाम्रो माटोको लड़ाई, हाम्रो भावना, संवेदनालाई हाम्रो कथाकारहरुले मिठो कथाको रुप दिएर प्रस्तुति गरिएको केही चुनिएको कथाको हिंदी रुपान्तरण हो। प्रस्तुत अनुदित रचना जो राष्ट्रीय स्तरसम्म हाम्रो साहित्यलाई प्रकाशमा ल्याउनु मेरो मुख्य ध्येय हो।
वैद्यनाथ उपाध्यायः नेपाली र हिन्दी कथासाहित्यबीच तपाईं के–कस्ता समानता र भिन्नता देख्नुहुन्छ?
शोभा लिम्बुः नेपाली र हिंदी कथा साहित्य को बिच कथातत्व, भावना, पीड़ा,दुखाई, गरिबी संवेदनाहरुको समानता हुन्छ। कथाहरुमा भिन्नता भन्दा भौगोलिक,सामाजिक ढांचा, रंग रुप, वेश भूषा, खान. पान, भाषिक पक्ष, सांस्कृतिक, धार्मिक और परम्परा हरु को भिन्नता देखिन्छ।
वैद्यनाथ उपाध्यायः बहुभाषिक लेखनले लेखकको सृजनात्मक स्वतन्त्रतालाई विस्तार गर्छ कि सीमित बनाउँछ—तपाईंको अनुभवले के भन्छ?
शोभा लिम्बुः बहुभाषिक लेखनले लेखकको स्वतंत्रतालाई अवश्य विस्तार गर्छ। मेरो अनुभवले त म पांच भाषा पढ़नु र लेख्नु सक्छु। मलाई आफैमा आत्मविश्वास छ कि म पठन एवं लेखन कार्यमा सक्षम छु। अतः बहुभाषिक हुनाले व्यक्तिगत रुपले यति स्वतंत्रता त म पाएको छु।
वैद्यनाथ उपाध्यायः आजको समकालीन साहित्यमा आदिवासी, सीमान्तकृत र क्षेत्रीय आवाजको स्थानलाई तपाईं कसरी हेर्नुहुन्छ?
शोभा लिम्बुः वर्तमानमा समकालीन साहित्यमा आदिवासी सिमान्तकृत र क्षेत्रीय आवाजको स्थान साहित्यमा अब आउनु थालिएको छ तर जत्तिको सबै आवाज़ हरु आउनु पर्ने आएको छैन। संवैधानिक प्रावधान पाएको बहुल आदिवासी र क्षेत्रीय मानिसहरुले मतै साहित्य, समाजमा प्रवेश पाईरहेको छ । धेरै अन्य अल्पसंख्यक क्षेत्रीय आदिवासी भाषाहरु चुपचाप पड़ी रहेको छ। समकालीन साहित्यमा आदिवासी लेखनको साहित्यमा प्रवेश यो शुभ संकेत हो कारण साहित्य हाम्रो समाजको दर्पण हो र अब आशा छ कि आदिवासी युवा लेखक हरुले साहित्य रचनाको माध्यमले आफ्नो आवाज पाठक जनमानस सम्म पुराउनु सक्षम हुनु सक्छ। आज विश्वविद्यालय पाठ्यक्रममा आदिवासी लेखकको साहित्यले पनि मुख्य धाराको साहित्यहरुमा स्थान पाईरहेको छ र लोकभाषा साहित्यमा हाम्रो क्षेत्रीय आवाजहरुको साहित्यले पनि भविष्यमा अवश्य साहित्य को माध्यमद्वारा आफ्नो दबिएको आवाजहरु अब आफ्नो स्वरमा हकको कुरा हरु, आफ्नो संवेदना, भावनाहरु साहित्यको माध्यमद्वारा राख्नु सक्षम हुन्छ होलान्। आज आदिवासी युवाहरु शिक्षित हुन्दै छ र आफ्नो हक र अधिकारलाई बुझेर अघाडी अग्रसर हुन्दै छ र यो हुनु नै पर्ने हो ।
वैद्यनाथ उपाध्यायः अध्यापन पेशाले तपाईंको लेखन शैली र विषय चयनमा कस्तो प्रभाव पारेको छ?
शोभा लिम्बुः अध्यापन पेशाले अवश्य हाम्रो ज्ञानको परीधिमा निकै विस्तार दिन्छ। अध्यापन कार्यकालमा मलाई यो अनुभव भयो की हाम्रो समाजको कमी कमजोरी, आवश्यकता, साहित्यको कमी, इतिहासको लिखित दस्तावेजको अभाव आदि महसूस हुन्दै छ र यहीबाट नै विषय चयन गर्नु सहज हुन्छ। भाषा शैली को कुरा गर्दा हाम्रो भौगोलिक वातावरण, पात्र, कथावस्तु, कथोपकथन, चरित्र चित्रण, देशकाल वातावरण अनुसार नै भाषा शैली को प्रयोग हुन्छ।
वैद्यनाथ उपाध्यायः नयाँ पुस्ताका लेखक–लेखिकालाई तपाईं के सन्देश दिन चाहनुहुन्छ, विशेषतः बहुभाषिक सृजनामा रुचि राख्नेहरूलाई?
शोभा लिम्बुः मेरा नया पुस्ताको लेखक - लेखिका हरुलाई मेरो अनुभवबाट यही संदेश दिन चाहन्छु की लेखन कार्यको साथ साथै विभिन्न विश्वको साहित्यलाई पढ़नु आवश्यक छ र एउटा लेखकलाई लेख्न अघाडी गहन पठन को एकदमै जरूरी छ यसले हामीलाई दूरदर्शी सोच र विचारको अलावा सीमित ज्ञानलाई विस्तार दिन्छ। लेखनको लागी स्थान - स्थानको भ्रमण गर्नुको साथ - साथ अनुभव बटुल्नु एकदमै महत्वपूर्ण हो जस्तो लाग्छ र समाजलाई नजिकबाट हेर्नु र महसूस गर्नु आवश्यक छ। बहुभाषिक सृजनामा रुचि राख्नेहरुलाई धेरै विकल्प हरु छन्, अनुवादको क्षेत्रमा निकै काम गर्नु नै छ ।हाम्रो साहित्य र विश्वको साहित्यलाई अनुवाद गरी ज्ञानको विकासमा योगदान, साहित्यको साझा गरिने एउटा सफल माध्यम हुनु सक्छ।
वैद्यनाथ उपाध्यायः साहित्य र समाजबीचको सम्बन्धलाई तपाईं कसरी परिभाषित गर्नुहुन्छ? साहित्य सामाजिक परिवर्तनको माध्यम बन्न सक्छ?
शोभा लिम्बुः साहित्य र समाज बीच अन्योन्याश्रित सम्बंध छ र समाज बिना साहित्यको कल्पना पनि गर्नु सकिन्दैन, असम्भव छ । 'मानव मनको भावना हरु, संवेदनात्मक अनुभूति, अनुभव, विचारहरु को सृजनात्मक अभिव्यक्ति हो साहित्य..।' साहित्य सामाजिक परिवर्तनको माध्यम अवश्य बन्न सक्छ तर त्यो साहित्य उत्कृष्ट साहित्यको कोटिमा हुनु पर्छ जसले मानव मनलाई स्पर्श गर्ने र सोच्नलाई विवश गर्ने क्षमता हुनु पर्यो। कुनै पनि कालजयी उत्कृष्ट साहित्यको प्रभाव अझैपनि मानिसको मन, समाजदेखी मिटिएको देखिएको छैन र इतिहास मा हेऱ्यो भने हाम्रो जत्तिपनि समाजमा परिवर्तन ल्याउनुमा सफल हुने माध्यम साहित्य नै थियो चाहे त्यो धार्मिक साहित्य होस या लोकसाहित्य। साहित्य गद्य एवं पद्य, मौखिक र लिखित रुपमा समाजलाई प्रभावित गरी आई रहेको छ र मानवको अभिव्यक्तिको एकमात्र माध्यम साहित्य नै हो।
वैद्यनाथ उपाध्यायः आगामी दिनमा तपाईंका कुन–कुन साहित्यिक योजना र आकांक्षाहरू छन्? पाठकहरूले के अपेक्षा गर्न सक्छन्?
शोभा लिम्बुः आगामी दिनहरुमा आकांक्षाहरु त निकै छ तर अध्यापन कार्यमा व्यस्त हुनाले आफ्नो सृजनात्मक कार्यमा पूर्ण रुपले समय दिन सारै कठिन हुँदो रैछ। मेरो ठूलो आकांक्षा छ एउटा आफ्नो जीवनका अनुभवहरुलाई समेटेर, भोगेको तितो मिठो घटनाहरु, युग परिवर्तनको विविध रुपहरु, हाम्रो समाजको यथार्थताको चित्रलाई उपन्यासको रुपमा लेख्ने। लोकसाहित्यको विविध विषयमाथी कार्य गर्न इच्छा छ र अहिले सम्म जुन विषय माथी हाम्रो ध्यान गएको छैन त्यसता महत्वपूर्ण विषयमाथी खोज गर्न एकदमै इच्छुक छु। हाम्रो समुदायको विविध अमूल्य भाषिक रुपहरु एवं साहित्यिक, सांस्कृतिक परम्परागत विरासतहरु पुरखाहरुद्वारा हस्तांतरण भई आई रहेका छन् त्यसता विरासतलाई अवलोकन र खोज गर्नु आवश्यक छ। मेरो व्यक्तिगत सृजनात्मक लेखन कार्यमा खोज गर्ने प्रणाली चै एकदमै महत्वपूर्ण हो जस्तो लाग्छ र मनलाई सन्तुष्टि पनि दिन्छ। यसमा मलाई आनन्द पनि लाग्छ र नया कुरा जान्न पाउँदा मन नै प्रफुल्लित हुन्छ।