पुनः बस खचक्क रोकियो । सबै यात्रुहरूको आँखा एकैचोटि अगाडितर्फ तानिए । अगाडि गाडीहरूको लामै लाम देखिन्थ्यो। केही क्षण गाडीहरू सलल बग्थे, फेरि रोकिन्थे । यही क्रम दोहोरिरहन्थ्यो । चालक र परिचालकको अनुमति पाएपछि केही यात्रुहरू तल झरे । जेठको घाम टाउकोमाथि आगोझैँ दन्किरहेको थियो, गर्मी क्रमशः बढ्दै थियो । निर्माणाधीन मुग्लिन–नारायणघाट सडकखण्ड बेलुकी चार बजेपछि मात्र खुल्ने रहेछ । त्यतिन्जेल गाडीहरूको जाम लागिरहने निश्चित थियो ।
यसैबीच करिब बाह्र–तेह्र वर्षको एक किशोर बसको ढोकाबाट फुर्तिसाथ तलमाथि गरिरहेको देखियो । गोरो अनुहार, रातो जुरेली काटिएको कपाल र सानो तर फुर्तिलो शरीर । उसलाई देखेपछि नजर अन्यत्र फर्काउन गाह्रो पर्थ्यो ।
बसबाट झरेका परिचालक र केही यात्रुहरू हातमा आइसक्रिम लिएर फेरि बसभित्र पसे । आइसक्रिम बेच्ने मान्छे हाम्रो बसभन्दा अलि अगाडि पुगिसकेको थियो। “दस रुपैयाँ दिनुहोस् न, मलाई पनि आइसक्रिम खान,” किशोरले परिचालकतर्फ हात पसार्दै भन्यो। परिचालकले हातमा च्यापेका नोटहरूबाट एउटा दस रुपैयाँको नोट निकालेर उसको हातमा राखिदिए ।
किशोरले आइसक्रिमवालालाई रोक्न चोर औँला मुखमा राखेर तेज सिटी बजायो । ट्राफिक प्रहरीले जस्तै हात उठाएर पर्खन इसारा गर्यो र आइसक्रिम झिक्न भन्यो । बस फेरि अलि पर सर्यो । उसले दस रुपैयाँ थमायो, आइसक्रिम लियो र अनुहार उज्यालो पार्दै अरू यात्रुहरूजस्तै मज्जाले चाट्न थाल्यो ।
ढोकातर्फको पहिलो सिटमा बसेको म उसका गतिविधि ध्यानपूर्वक हेरिरहेको थिएँ । गफगर्ने शैलीमा मैले सोधेँ,
“तिमी पनि स्टाफ हो?”
उसले हल्का मुस्कानसहित टाउको हल्लायो ।
“कन्ट्याक्टर हो कि सहयोगी?”
“म खलासी,” उसले गर्व मिश्रित स्वरमा भन्यो ।
उसले ‘खलासी’ शब्दलाई घृणाको रूपमा होइन, बरु आफूले पाएको जिम्मेवारीको रूपमा स्वीकारेको देखिन्थ्यो।
मैले नाम र घर सोधेँ। उसले भन्यो, “मेरो नाम किङ हो ।”
अनि आफैँ थप्यो, “बाबुआमाले राखिदिएको नाम आशिष हो, तर मैले आफैँ किङ राखेको हुँ ।”
उ बाह्र–तेह्र वर्षको जस्तो देखिए पनि आफू चौध वर्षको भएको बतायो । म शिक्षा क्षेत्रमा काम गर्ने भएकाले कुरा स्वाभाविक रूपमा पढाइतर्फ मोडियो । नुवाकोटको त्रिशूली घर भएको किङ कक्षा ६ पढ्दापढ्दै विद्यालय छाडेर हिँडेको रहेछ । त्यसको आफ्नै कथा रहेछ ।
एक दिन विद्यालयमा एकजना शिक्षकले निकै कुटेछन् । कुटाइले हातखुट्टामा सुम्ला उठेछन्, कुहिनोको हाडसमेत खुस्किएको रहेछ । प्रमाणस्वरूप उसले कमिजको बाहुला माथि सारेर कुहिनो देखायो । हात अलि बाङ्गिएको थियो । गर्व मिश्रित स्वरमा उसले भन्यो, “मैले पनि शिक्षकलाई हिर्काइदिएँ ।”
त्यस दिनपछि उसका लागि विद्यालयको ढोका सधैंका लागि बन्द भयो ।
त्रिशूलीबाट काठमाडौँ जाने बसको पछाडिको सिटमा लुकेर उ बस्यो । बस काठमाडौँ आइपुग्यो । अपरिचित शहरका सडकहरूमा भौतारिँदै गर्दा एक जना चिनेजानेका व्यक्तिले उसलाई भेटे । उनले होटलमा भाँडा माझ्ने र भुइँ सफा गर्ने काममा लगाइदिए ।
उसको निजी जीवनबारे धेरै सोध्दा रिसाउने हो कि भन्ने डर लाग्थ्यो । तर मेरो जिज्ञासा भने मेटिएको थिएन—पढ्नुपर्ने उमेरको बालक कसरी बसको खलासी बन्न पुग्यो?
त्यही बेला बस अगाडि बढ्न थाल्यो । सिटीको आवाज आयो—
“सुइँ... काठमाडौँ, काठमाडौँ!”
मुग्लिनबाट नारायणघाट जाने गाडीहरू रोकिए पनि काठमाडौँ जाने गाडीहरू अगाडि बढे । दिउँसोको खाजा खाने बेला भइसकेको थियो । हामी चढेको बस पनि पोखराबाट काठमाडौँ जाने अन्य बसहरूसँगै मलेखुमा खाजाको लागि रोकियो ।
होटलको काउन्टरमा मिलाएर राखिएका पुलाउ, तरकारी, अचार र माछाका परिकार सजीव देखिन्थे । एक किसिमको बुफे लगाइएको रहेछ । यात्रुहरू थाल र चम्चा लिएर मनपरेको खाना लिन थाले । चालक र परिचालक पनि अन्य यात्रुहरूजस्तै खाना लिएर टेबलमा बसे ।
किङ भने थाल लिन गएन । ऊ परिचालकको पछिपछि लागेर भन्यो,
“मलाई पनि भनिदिनु न ।”
परिचालकले भने, “जा, थाल लिई मनपरेको खाना खा ।”
त्यसपछि ऊ खाना राखिएको टेबलतर्फ गयो । खाना राख्ने महिलाले सोधिन्, “स्टाफ हो?”
उसले गर्वका साथ सहमतिको टाउको हल्लायो ।
“के खाने भाइ?”
“पुलाउ, माछा र अचार,” उसले भन्यो ।
थाल लिएर ऊ परिचालक बसेकै टेबलको अर्को कुर्सीमा गएर बस्यो।
खाजा सकेपछि बस फेरि अगाडि बढ्यो । तर मेरो ध्यान भने अझै किङमै अड्किएको थियो ।
यसबीच मनकामना दर्शन गरेर फर्केका एक दम्पती कुरिनटारबाट बसमा चढे । महिलाले किङलाई चिसो पेय र खानेकुरा दिइन् । सुरुमा उसले अस्वीकार गर्यो, तर महिलाले माया गर्दै भनिन्,
“मेरो छोराजस्तै लाग्यो तिमी।”
त्यसपछि उसले खान मान्यो ।
महिलाले फेरि भनिन्,
“मेरो घर जाउँ न, म तिमीलाई आफ्नै छोराजस्तै राख्छु, पढाउँछु।”
किङले भने टाउको हल्लाउँदै इन्कार गर्यो ।
महिलाले एक सय रुपैयाँ निकालेर उसको हातमा राखिन् । उसले केही क्षण नोट खेलायो, चुरोटजस्तो बेर्यो, अनि गोटा फालेझैँ महिलाको काखमा फ्याँकिदियो । धेरै आग्रह गर्दा पनि उसले लिन मानेन ।
अन्ततः परिचालक र चालकले समेत लिन भनेपछि मात्र उसले त्यो नोट खल्तीमा राख्यो।
पछि थाहा भयो—किङका बाबुआमा कामको खोजीमा भारत पुगेका रहेछन् र प्रायः उतै बस्दा रहेछन् । घरमा दिदीहरू मात्रै रहेछन् । उनीहरूले नीजि विद्यालयमा पढ्न र घरखर्च गर्न पुग्दो पैसा पठाउँदा रहेछन् । ऊ घरबाट भागेपछि खोजी गर्ने, फर्काउने र फेरि विद्यालय पठाउने कोही रहेनछन्।
त्यस क्षण मलाई विजय मल्लको कृति “कोही किन बरबाद होस्” को याद आयो ।
किङ जस्ता कति बालबालिका होलान्—शिक्षकको कुटाइ सहन नसकेर विद्यालय छाडेका, औपचारिक शिक्षाबाट टाढा धकेलिएका ।
असल विद्यालयहरूले बालबालिकाको समस्या बुझ्ने प्रयास गर्छन्, अभिभावकसँग संवाद गर्छन्, विद्यालय छाड्न लागेका बालबालिकालाई फर्काएर पढाइमा टिकाउने प्रयास गर्छन् । विद्यालय भनेको बालबालिकाले सम्मानपूर्वक सिक्ने, आत्मविश्वास आर्जन गर्ने स्थान हुनुपर्छ ।
तर कतिपय अवस्थामा विद्यालयकै कठोर व्यवहारले बालबालिकालाई सडकतर्फ धकेल्ने यथार्थ पनि लुकेको छैन ।
यदि आशिषका बाबुआमाले उसलाई समय दिएका भए, सायद आज ऊ बसको खलासी होइन, विद्यालया पढीरहेको हुन्थ्यो र भोली कलेजको विद्यार्थी हुन्थ्यो । भविश्य सुन्दर हुन्थ्यो । बाबुआमाले छोराछोरीलाई सम्पत्ति आर्जन गररीदिनुभन्दा महत्वपूर्ण कुरा भनेको समय, माया र सही मार्गदर्शन दिनु हो ।
आज पनि कति बालबालिका घरको न्यानो छायाँ छाडेर सडकका चिस गल्ली र कठोर जीवनतिर धकेलिएका छन् । बालबालिका केवल बाबुआमाका मात्र होइनन्—समाज र राज्यका पनि हुन् । परिवारको अभाव समाजले र समाजको अभाव समेत बिद्यालयलयले पुरा गर्दिनु पर्ने हो ।
किङ जस्ता सबै बालकहरू सडकमा होइन, विद्यालयको कक्षामा रमाइ रमाइ, उत्साह र सम्मानका सथा सिकिरहन पाउँनु नै हाम्रो समाजको साँचो प्रगति हुनु हो ।
चितवन