घर चलाउने आमाहरूले
देश चलाउन सक्दारहेछन्
लच्छिनको घर बनाउन सक्तारहेछन्
त्यही घरको बारी र कौशीमा
फेरी सुनाखरी र बाबरी फुलाउन सक्दारहेछन्
अब रिस साँधेर नबस साने र ठूलेहरू
भाँडामात्र माझेर नबस साहिली र माहिलीहरू
उठ सीता र सावित्रिहरू
अन्तरे र जन्तरेहरू कपास ल्याएर देउ
कोक्रा हल्लाउदै धागो कातेर
आफैं लुगा बुन्न सक्छन् आमाहरु ।
बुध्दि र विवेकमा कसैले नाकाबन्दी गर्न सक्दैन
बरु घरलाइ जोगाउन सबैतिरबाट घेराबन्दी गरौं
उठ!
मधेशमा फेरी सुन फलाउँनु पर्छ
पहाडमा फेरी ऊन फलाउँनु पर्छ
उराठ लाग्दा पाखा फेरी हराभरा बनाउन
माटोमा औंलाहरू चलाउनु पर्छ
साना नानीहरूहरूलाई असल बानीहरू सिकाउनु पर्नेछ
ठूला नानीहरूलाई देशका खानीहरू चिनाउनु पर्नेछ
शीपमूलक रोजगारीको विकास गर्नु पर्नेछ
खिया परेको कल कारखाना चलाउन
भुत्ते दिमागहरूमा धार लगाउन पर्नेछ
कुशासन मेटेर मनका भित्तामा
अलिकति शुशासन लेखिनु पर्नेछ
कहाली लाग्दो अध्यारो फाटेर
अलिकति उज्यालो देखिनु परेको छ।
उठ!
अब साच्चै परिवर्तन चाहिएको छ ।
अमेरिका