19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

अनुसुन्धाता, प्रतिष्ठित स्रष्टाद्रष्टा सदानन्द अभागीप्रति एक विवेचना

व्यक्तित्व / कृतित्व रोहित प्रसाद ज्ञवाली March 8, 2026, 5:41 pm

बरिष्ठ साहित्यकार समालोचक सदानन्द रिजाल अभागीले आफ्नो जीवनमा प्रसस्तै साहित्यिक सुकर्म गर्नु भएको छ । यसको ज्वलन्त उदाहरण उहाँका प्रकाशन कृतिहरू हुन् । सदानन्द अभागी पर्वत जिल्ला स्थित शंकरपोखरी गाउँ विकास समिति वार्ड नंबर ४ (हालको फलेवास नगर पालिका वार्ड नं ३), जन्मथलो भई हाल कावासोती नगरपालिका वार्ड नं –७ शान्तिचोक, नवलपरासी जिल्ला (ब.सु.पू.)मा बसोबास गर्र्दै आउनु भएको छ । उहाँ कृषि मन्त्रालय, कृषि विभाग, माटो व्यवस्थापन निर्देशनालय, हरिहरभवनको प्रमुख माटोविज्ञ पदबाट सेवानिवृत्त हुनु भएको हो । आफ्नो कार्यक्षेत्र कृषिको माटो व्यवस्थापन सेवा भएरको र दुईतिहाई संख्यामा देशवासी कृषिमा आधारित भएका कारण पनि कृषि व्यवसायमा टेवा पुगोस भनेर थुप्रै अनुसन्धान मूलक लेखको साथै उहाँले सेवामा रहँदा किसान र कृषिमा आधारित ती कृषिकर्ममा टेवा ,पु¥याउने हेतुले एकीकृत खाद्यतत्व व्यवस्था पन कार्यपुस्तिका, माटो र बिरुवाले भोका लाग्यो भन्छन् जस्ता कृतिको साथै माटो विज्ञान सम्बन्धी थुप्रै एकल तथा संयुक्त कृतिहरू लेखेका छन् । नेपाली साहित्यमा पनि उहाँका थुप्रै कृतिहरू प्रकाशन भएका छन् । नेपाली साहित्यका सबै जसो विद्यामा उनको कलम चालेको देखिन्छ । हालसम्म उहाँका नेपाली साहित्य तर्फ प्रकाशित कृति यस प्रकार छन्– आफ्नैव्यथा (कवितासंग्रह,२०५७), बुढो जवानी (कवितासंग्रह, २०५८), पश्चतापको आँसु (कथासंग्रह, २०५८), .जीवनलीला (खण्डकाव्य, २०५८), कोपिला (लघुकाव्य, (२०५९), काठमाडौदेखि देहरादूून (यात्रा विवरण, २०६०),म र मेराहरू (जीवनी (२०६०), अग्निज्वाला (महाकाव्य, २०६१), नियति (उपन्यास), २०६१ , तन्नेरी हजूर बा उपन्यास २०६१ , माटो र बिरूवाले भोक लाग्यो भन्छन् (कृुषि काव्य, २०६१), मोहनीको मीठोम्वाई कवितासङ्ग्रह (२०६२), परिवर्तन (कथासङ्ग्र,्र २०६३), भुटानी शरणार्थीको कथा व्यथा (२०६३), समभोग समाधि (गजलसङ्ग्रह, २०६४) गजलगुटिका (गजलसङ्ग्रह,२०६५) बुढौतीका रहरहरू (गजलसङ्ग्रह), २०६५, संयुक्त रा. ग. गजलयात्रा –२ ,(२०६५), अभागकिा गजलहरू (गजलसङ्ग्रह, २०६६), गंगाजल गजलसङ्ग्रह (सं लेखन, २०६६), अभागीका मुक्तकहरू (मुक्तकसङ्ग्रह, (२०६८), यात्री (उपन्यास, २०६८), गजल परिकार (गजलसङ्ग्रह, २०६८), .सृष्टिमा अभागीको दृष्टि (समालोचना, २०६८), समकालिन नेपालीगजल (गजलसङ्ग्रह संयुक्त,२०६८) बालुवाको घर (कथासङ्ग्रह, २०६९), अभागीको प्रेमविहारको षष्ठामृत, (गजलसङ्ग्रह, २०७०), ईप्रतिनिधि नेपालीगजल (संयुक्त लेखन, २०७०), सिंहवाहिनी (समीक्षात्मक पौराणिक महाकाव्य, २०७३), शब्दशिविर (गजलसङ्ग्रह संयुक्त लेख, २०७४), सृष्टिमा अभागीको दृष्टि (समालोचन दोस्रो सङ्ग्रह, २०७४), कसैका सृष्टिमा अभागीको दृष्टि (समालोचना तेस्रो सङ्ग्रह २०७४), केही सृष्टिहरूमा अभागीको सिंहावलोकन (समालोचना सङ्ग्रह, २०७४),.अभागिका मुक्तकहरू (मुक्तक सङ्ग्रह, २०७४), गंगालिगल सृष्टि दृष्टि (समालोचनासङ्ग्रह, २०७७) , पाल्पालीका गजलमा दृष्टि ( २०७७), अमेरिका यात्रा (२०८२) । अभागीले केही कृषि सम्बन्धि, किताव, बुकलेट, पम्पलेट, फुटकर लेखहरू लेख्नु भएको छ । उहाँका एकीकृत खाद्यतत्व व्यवस्थापन कार्यपुस्तिका र माटोले भोकलाग्यो भन्छन् कृषिकाव्य कृषले निकै रुचायका कृति हुन् । सदानन्द अभागी साहित्यका स्थापित, सबै जसो विधा प्रविधामा सशक्त,अविराम कलम चलाउनु भएको देखिन्छ । सदानन्द अभागीका कृतिहरू माथि उल्लेख भएका छन् । सङ्छेपमा महाकाव्य ३, उपन्यास ४, कथासङ्ग्रह ४, नियात्रा १, जीवनी १, मुक्तकसङ्ग्रह १, कवितासङ्ग्रह ३, लघुकाव्य १, खण्डकाव्य १, कृषिकाव्य १ , एकल र संयुक्त गजल सङ्ग्रहहरू ९, एकल र संयुक्त कृषिका पुस्तक र प्रतिवेदन आदि ३४ भएको देखिन्छन् ।
समीक्षाका केही कृतिहरू छोटो परिचय –
केही सृष्टिहरूमा अभागीको सिंहावलोकन – यो सदानन्द अभागीले लेखेको समालोचनासङ्ग्रह हो । यसमा बृहद वृहत्तरका विविध काव्वीक विधामा २१ ओटा समालोचना समावेश गरिएका छन् । यी मध्ये, तपसिलका तीन कृतिको संक्षिप्त परिचय राख्ने जमर्को गरेको छु –
भिजेका अक्षर खण्ड काव्य – यस कृतिको ‘भिजेका अक्षर खण्डकाव्य सरसर्ती पढ्दा’ शीर्षकमा गणेश कौडिल्यले लेखेको खण्डकाव्यको सदानन्दले विश्लेषण गर्नुभएको छ । यस खण्डकाव्य आठ सर्गमा विभाजित छ । यस काव्यले १२० वर्षे वियोगान्त पात्र खडा गरेर उसले बहन गर्न परेका कष्टदायी यातना, राणाशासनको अत्याचार, महेन्द्रले गरेको कु, वीरेन्द्रको वंशनासदेखि, ज्ञानेन्द्रको शासनकाल र गणतन्त्रसम्म आइपुग्दा सम्मका विकृतिलाई अभागीले सुन्दर विश्लेषण गरेका छन् ।
कालीगण्डकी महाकाव्य – केही सृष्टिहरूमा अभागीको सिंहावलोकनको दोस्रो समालोचना ‘‘कालीगण्डकी महाकाव्य सरसर्ती पढ्दा” शीर्षकलाई लिएको छुु । यो महाकाव्यका महाकाव्यकार हुन् नवराज पाण्डेय ‘‘ चातक” । यसमा १५ सर्ग र करिब २७ उपसर्ग र १०५३ श्लोक छन् । त्यसमा शालीकराम गर्भा गण्डकीको महत्व बुझाउने महात्म्यको रूपमा रहेको प्रसंग आएको छ । सदानन्द अभागीले सर्ग उपसर्गमा महाकविले गरेको कथालाई समाउँदै, कालीगण्डकीको उद्गम्स्थलदेखि त्रिवेणी धामसम्म घाट, ती घाटका तीर्थहरूको महत्व,ऋषि मुनिको तपस्या, तपस्या भङ्ग गराउन आएका अप्सराहरू, त्यसमा समाबेस भएका नदीहरूलाई विवरणात्मक रूपमा वर्णन गरी विवेचना गरेका छन् । अभागीले हरेक सर्गको भावसार,पस्केका छन् ।
जीवन यात्रा महाकाव्य – यो महाकाव्यको अभागीले चिरफार गरेका छन् । यो महाकाव्यका काव्यकार हुन् माधवप्रसाद चालिसे उनले यस महाकाव्यलाई २०७३मा लेखी प्रकाशनमा आएको हो । यसमा १५ सर्ग र १०९०श्लोक रहेका छन् । जसलाई सदानन्द अभागीले समालोचना गरेका हुन् । यो काव्य स्वयम् काव्यकारको भोगाइको नतिजा हो । अभागीले समालोचनामा भनेका छन् –‘‘नेपाली समाजमा पत्नी बितेको ३÷४ महिनामै दोस्रो विवाह गर्ने पुरुष वर्गको लागि कविको वैधुर्य जीवन ब्रजवाँण हो र स्त्रीहरूको लागि यो उच्च मूल्याङ्कन हो भन्ने ठान्दछु ।” अभागीका अनुसार यो महाकाव्य मुख्यरूपमा बाग्लुङको जैदी, चितवनको माडी, भारतका गोरखपुर, हरिद्वार, वाराणसी,दिल्ली र देशभित्रका रामेछाप,तनहूँ, जनकपुर र गैडाकोटको परिवेशमा लेखिएको देखिन्छ । अभागीले यस महाकाव्यको सारभाव, जीवन दर्शन, अध्यात्मिकता, समतावादी चिन्तन, परिवेश, भाषाशैली,पात्र चयनलाई आधार बनाएर विश्लेषण गरेका छन् ।
स्वप्नदृष्टि महाकाव्यको शैल्यक्रिया– यो महाकाव्य डा. रामप्रसाद ज्ञवालीको सिर्जना हो । यसको प्रकाशन २०७४ सालमा भएको थियो । यसमा १७ सर्ग रहेका छन् । यस काव्यमा ११४९ चारहरपे श्लोक ४५९६ वटा पङ्तिहरू छन् । यो यात्रा–महाकाव्य हो । यो महाकाव्यमा नेपालबाट चिन हुँदै उत्तर कोरिया पुग्दा देखिएको भौतिक प्रगतिको धारणा अभागीले निकै लामो विश्लेषण गरेका छन् –‘‘ कविले नेपालबाट चीन हुँदै उत्तरकोरिया पुग्दा त्रिदेशीय अवलोकनमा चीन र कोरियामा योजनाबद्ध भौतिक प्रगतिको जुन जानकारीहाँसिल गरेका छन् र उनले बारंबार महत्व दिएका छन् सोको मुख्य सार बस्तु मानिसमा दृढ संक्ल्प, हिम्मत, साहस र जाँगरको साथै श्रमप्रतिको निष्ठा,भएमा जीवन समुन्नत हुन्छ भन्ने जुन बोध गरेका छन् र कृतिमा पस्केका छन् त्यही नै विषय बस्तुगत कथ्य हो भन्न सकिन्छ ।” अतः अभागीले यस महाकाव्यको शैल्यक्रिया गर्दा कुनै कसर राखेका छैनन् ।
मन्दाकिनी भित्र डुबुल्की मार्दा –यो मुक्तक सङ्ग्रह हो । यो मुक्तक सङ्ग्रह सिर्जना शर्माको हो ।रुकुम मुसीकोट –२, रातामाटामा जन्मनु भएकी सिर्जनाले ३ वर्षको उमेरमा आमा गुमाउनु भएको पीडाले गर्दा उहाँलाई संघर्षमा उतारो र वि.एड.सम्मको अध्ययन गरायो ।उक्त मुक्तक सङ्ग्रहमा ३१५ मुक्तक छन् । यस कृतिको समालोचनामा सदानन्द अभागीले दिएका ,सिर्जनाको मुक्तक मलाई यहाँ प्रस्तुत गर्न मन लाग्यो –
विकृति र विसङ्गतिले छायो देशभित्र
अत्यचारले अत्यान्त ठाउँ पायो देशभित्र
युवाहरू बरालिई सडक–गल्ली हिड्दै छन्
बेरोजगारी महँगिले खायो देश भित्र
पृष्ठ २४५,
रातमा हेर जुनकिरीको आफ्नै ज्योति छ
दुनियाँ स्वार्थी छ यहाँ सबथोकमा आपत्ति छ
खाडीमा पैसाको बाढी आउँछ रे उतै दौड्दै छ
साँच्ँचै किन बुझ्दैन मान्छे हामीभित्रै हीरामोती छ ।
पृष्ठ २४५
यात्रा एक तरंग अनेक –मेरो यो कृति २०७४ सालमा प्रकाशन गरेको थिएँ । यस कृतिमा ‘‘ यात्रा एक तरंग अनेक विविध सङ्ग्रहमा पौडी खैल्दा”शर्षकमा विवरणात्मक समीक्षा गर्नु भएको छ ।
राम ज्ञवाली र सदानन्द अभागी – सदानन्दको बारेमा मैले केही शब्द कोर्दा राम ज्ञवालीको एउटा छोटो परिचय दिन मन लाग्यो । राम ज्ञवाली २०३९ साल वैशाख १६ गते साविक रिब्दीकोट, नारायणचोक (भैरवस्थान) पाल्पा, लुम्बिनी प्रदेशमा जन्मेका ज्ञवाली पिता हिक्मतराज ज्ञवाली र माता मीना ज्ञवालीका पुत्ररत्न हुन् । उनी कवि, निबन्धकार तथा समालोचकका रूपमा आफ्नो पहिचान बनाएका व्यक्तित्व हुन् । एम.ए., एम.एड. (नेपाली) सम्मको शिक्षाप्राप्त ज्ञवाली पेसाले शिक्षक हुन् । उनको लेखन र पठनमा सक्रियता रहेको छ । उनमा साहित्य, पत्रकारिता र अनुसन्धानमा विशेष अभिरुचि रहेको छ । उनका जीवन सोच र समय (निबन्धसङ्ग्रह, २०७४), पाल्पामा लेखन र सिर्जना (अनुसन्धानात्मक समालोचना, २०७८), सदानन्दको जीवनक्रम र व्यक्तित्व’(२०७८)को साथै पाल्पाको भैरवस्थानको ऐतिहासिक खोज र अन्वेषणमा समर्पित रहेर बृहद दुई कृतिहरू प्रकाशमा आएका छन् । साहित्य, पत्रकारिता र शिक्षण पेसालाई एकसाथ अगाडि बढाउनुमा उनको कर्मशीलता र क्रियाशीलता रहेको छ । साहित्यकार सदानन्द अभागीको जीवनयात्रा अबिराम, अथक, अविश्रान्त, निशान्तरूपले साहित्यप्रति समर्पित, भै पु¥याएको योगदानको उच्च मूल्याङ्कन गर्दै रामज्ञालीले उहाँको जीवनीपरक कृति ‘सदानन्दको जीवन कर्म र व्यक्तित्व’ (अनुसन्धानान्त्मक समालोचना) सिर्जना गर्नु भएको छ । यस्तो अमूल्य कृति सिर्जना गर्न अभियन्ता, साहित्यकार, अन्तरवार्ताकार राम ज्ञवालीको निकै मेहनत परेको छ । यो कृति साँचिकै समालोचनाको क्षेत्रमा अतुलनीय छ किनकी यस कृतिभित्र सदानन्दको जीवनवृत्त, जीवन कर्म व्याक्तित्वका आयमहरू, साहित्य र समालोचकीय कृतिहको संक्षिप्त चिनारी, अभागीका कविता सङ्ग्रह, काव्य, महाकाव्य, कृषिकाव्य, लघुकाव्य, उपन्यास, नियात्रा,जीवनी, कथा, मुक्तक गजल कृतिहरू भित्रका सवै शीर्षकमा छोटो, मिठो, सटीक,विश्लेषण गरिएको छ । यस कृतिमा राम ज्ञवालीले कृतिभित्रका मननीय अभिव्यक्ति, सार, भाव र लेखकीय प्रवृत्ति,कृति नायकसँग स्म्वाद, नयाँ भावनाबाट साभारित, यस कृति लक्षित सम्वाद, विविध व्यक्तिको दृष्टिमा सदानन्द,( जागिरे जीवनका परिचित व्यक्तिको दृष्टिमा( ८ जना ), लेखक र समीक्षकको हेराईमा साहित्यकार (६१ जना), देश बहिरका सिक्किम (१जना), आसाम डिगबोई (१जना), तीनसुकिया (१), नर्वे (१) जना,अमेरिका (१), अफ्रिका १, पत्रकारहरूका दृष्टिमा (६जना), समाजसेवी व्यक्तिको दृष्टिमा (४ जना), कलाकारकोे दृष्टिमा (४ जना) क्षिमेकीको दृष्टिमा (४ जना), जे.टि.ए. भएर पाल्पामा काम गर्दा ४७ साल पहिलाका मदनपोखरा र मस्यामका प्रतिष्ठित कृषको दृष्टिमा (५ जना), नातेदार, इष्टमित्र,र आफन्तका हेराइमा (१७ जना) रिजाल परिवारको नजरमा ( १२ जना), समिक्षाहरू (९जनाका समीक्षाहरू)मा ऋषि आजाद –बुटवल, रुपन्देहीले कथा ‘‘बालुवाको घरमा सदानन्द अभागी”,कल्पना नेपाल आचार्य महाकाव्य –‘‘अग्निज्वाला महाकाव्यको विवेचना”, कृष्ण लामीछाने – ‘‘ मेरो छिमेकी एक वरिष्ठ कृषि वैज्ञानिक,” चन्द्रप्रसाद न्यौपाने –‘‘काव्यहरूमा भरपुर लोकलयको प्रयोग भएका छन् ”, तुलसी गौतम, पूर्व सहसचिव, कृषि विकास मन्त्रालय (कृषि विभाग)–‘‘ साहित्यिक विधामा डुवुल्की मार्ने कृषि विशेषज्ञः सदानन्द अभागी,” डा. दयाराम श्रेष्ठ (त्रि. वि.प्रमुख नेपाली केन्द्रिय विभाग,कीर्तिपुर)– उपन्यास जीवन लीला ‘‘ यस उपन्यासमा स्वच्छन्दवादी प्रवृत्ति झल्कन्छ ” नरेश अपाङी मगर –‘‘ जैसीले निर्जीव बस्तुको बोलीको भाषा पनि चालपाइ सक्नु भएको छ” , माधव धिमिरे (राष्ट्रकवि)– ‘‘भौतिक र मानसिक दुबैप्रकारको उर्जाको समायोजनबद्ध मानव”, सुदीप गड्तौला ‘‘नदारत”÷यमकुमार कार्की– कृषि कवि, –‘‘कृषि क्षेत्रका सम्पूर्ण विषयलाई साहित्यमा ढाल्नु सहासिक कदम ”, डा.षडानन्द पौडेल (कुस्मा न.पा. पाङ, सहप्रध्यापक), ‘‘उहाँको लेखन प्रगवतिवादी स्वच्छन्दवादी केन्द्रमा छ” । ज्योतिषीय हेराइमा सदानन्द र लेखन सिर्जनात्मक योगको अवस्था – प्रा. कपिल अज्ञात , चितवन ‘‘हरकोणबाट अभागी उपनाम सार्थक देखिन्न” र राम शर्मा चापागाईँ – वर्दघाट– १३, ‘‘जातक अध्ययनशील अन्वेषक र अनुसन्धान कर्ता हुन्छ ।,’ यति धेरै व्यक्तिलाई समेटेर करिब ४०० पृष्ठको कृति तयार गर्नु चानचुन कुरा हैन । यसकृतिमा ज्ञावालीजीले सदानन्दका २०७० साल सम्म प्रकाशित सबै कृतिको छोटो रूपमा कृतिले दिएको सन्देश, मननीय अभिव्यक्तिहरू आदिलाई समेटेका छन् । यो कृतिले अभागीको विविध क्षेत्रमा बहुआयमिक व्यक्तित्वको रूपमा परिचय गराउन सक्षम देखिन्छ । हुन त सदानन्द अभागी नेपाली साहित्य र माटो विज्ञानको क्षेत्रमा अपरिचित व्यक्ति हैनन् तर पनि भानुभक्तको योगदानलाई मोतीराम भट्टले जसरी उच्चाइमा पु¥याएका थिए त्यसरी नै राम ज्ञवालीले यस कृतिमार्फत अभागीको बहुआयमिक कामलाई एकीकृत रूपमा दर्शाउन सफल भएका छन् ।
अन्त्यमा सदानन्द अभागीको समालोचना गर्ने शैलीलाई उनले गरेको एउटा समालोचनाको पूर्णपाठ यहाँ प्रस्तुत गर्दै विदा चाहान्छु ।
जीवन सोच र समय –यो कृति रामज्ञवालीको हो । यसमा अभागीले गरेका समालोचना यस प्रकार छ ।
रिद्वीकोट गाउँपालिका –४ पाल्पामा जन्मेका पिता हिक्मतराज ज्ञवाली र माता मीना ज्ञवालीका पुत्ररत्न राम ज्ञवालीजीले साहित्यकार कृष्णादेवी शर्मा श्रेष्ठ मार्फत हार्दिकताको साथमा पठाउनु भएको जीवन सोच र समय(निवन्धसङ्ग्रह) हात लाग्यो। समय र स्थानलाई भूले पनि कार्यक्रममा साक्षात्कार भैसकेका एक होनहार युवा जस्ले नेपालीमा एम.ए. एम.एड शैक्षिक योग्यता हाँसिल गरेका छन् र शिक्षण पेशा अङ्गाली भावी देशका कर्णधार उत्पादनमा लाग्दै नेपाली साहित्य सेवामा समर्पित भएका छन् को यस्तो गहनकृति अध्ययन गर्ने मौका पाउँदा खुसी लाग्नु स्वभाविक हो। डा. नेत्रप्रसाद न्यौपानेको ’जीवन सोच र समय कृतिमाथि समीक्षात्मक दृष्टि’ को भूमिकाको अध्ययनबाट राम ज्ञवालीको साहित्यिक यात्रा २०६२ सालमा प्रकाशित ’रगत नबगाऊ’ गीति कविताबाट थालनी भएको देखिन्छ। डा. नेत्रजीले राम ज्ञवालीको साहित्यिक यात्राको बारेमा लेख्नुहुन्छ –’कलेज स्तरको पठनपाठनदेखि नै क्षेत्रीय र स्थानीय स्तरबाट प्रकाशित हुने विभिन्न पत्रपत्रिकाहरूमा यिनले दर्जनौ फुटकर लेख–रचना सृजनाहरू प्रकाशित गरिसकेका छन्।’ यसै समीक्षात्क लेखबाट जानकारी पाइन्छ कि राम ज्ञवाली एउटा कुशल स्तम्भकार, अन्तर्वाताकार, सम्पादक र पत्रकार पनि हुन् र उनको लेखन विभिन्न स्थानबाट प्रकाशित हुने पत्रपत्रिकामा पक्राशन हुँदै आएका छन् तापनि ’गाउँले देउराली’(साप्ताहिक), उत्तरदायित्व (त्रैमासिक), नयाँ भावना (सप्ताहिक) र परेवा (पाक्षिक)मा यिनको लेखन उपस्थिति निरन्तर देखिन्छ। जीवन, सोच र समय एउटा ओदानको रूपमा उभिएको यस कृतिले दिन चाहेको सन्देशतिर लाग्नु नै उचित ठान्दछु ।
कृतिको संरचना –गोविन्द भट्टराईबाट प्रकाशित यो कृतिमा लामा छोटा गरी १९ओटा निबन्धहरू समावेश गरिएका छन् । मूल्य १५५÷–रुपियाँ राखिएको छ । यसको प्रकाशक गोविन्दभट्टराई हुनुहुन्छ र उहाँबाटै प्रकाशकीय लेखिएको छ । डा. नेत्रप्रसाद न्यौपानेज्यूको ’जीवन सोच र समय कृतिमाथि समीक्षात्मक दृष्टि’ शीर्षकमा विवरणात्मक समीक्षा एवम् गहन भूमिका यस लेखले पाएको छ । यस समीक्षात्मक भूमिकाले राम ज्ञवालीको लेखन प्रतिभा लगायत कृतिले लिएको बाटो र दिएको सन्देशलाई तुलनात्मक रूपमा प्रष्ट्याउने काम भएको छ । अब म यस कृतिभित्र रहेका निबन्धमा प्रवेश गर्ने अनुमति चाहन्छु –
जीवन जिउनुको अर्थ– निबन्धकारको यो पहिलो निबन्ध हो । साधारण अर्थमा जीवनभन्दा प्राणीको जन्मदेखि मृत्युसम्मको समयलाई बुझाउँछ । निबन्धकारले मानव जीवनको परिभाषा अर्थपूर्ण रुपमा पस्केका छन् –‘जन्मदेखि नमरुञ्जेलसममको अर्थपूर्ण र सक्रियता हुञ्जेलसम्मको समयाधि नै मानव जीवन हो ।’ यस निबन्धमा निबन्धकारले जीवन के हो मात्र नभएर ’जीवन केही गर्नका लागि हो, सेवा, समर्पण त्याग देखाउनको लागि हो, जीवन समय हो अवसर हो, पुरुषार्थ हो । जस्ता गहन धारणा पोखेका छन् । जीव सबैको एकनासको हुँदैन, आशावादी र निराशावादीका जीवनमा फरक हुनु, जीवन सफल पार्न परिवारवाद, व्यक्तिवाद, पार्टीवादभन्दा माथि उठ्नु पर्ने, स्वावलम्वी हुनु पर्ने, कर्तव्यमा जुट्नु पर्ने, मृत्युपछि पनि जीवन रहनुपर्ने, धारणा निबन्धकारको छ । निबन्धकारले जीवनलाई मूहान ठान्छन्, जीवन जितिनु पर्छ हार्नको लागि हैन भन्छन्, उद्देश्य सहित बाँच्नु पर्छ, अमूल्य सम्पत्ति हो, यसलाई रक्षा गर्न सक्नुपर्छ, जीवनदेखि थाक्न हुँदैन र ’कुनै न कुनै क्षेत्रमा विशिष्ट स्थान हासिल गर्नसके त्यो नै जीवन जिउनुको अत्युत्तम पक्ष हो’ भन्ने सन्देश प्रवाह गरेको छ निबन्धले। यो निबन्ध सन्देश मूलक छ जीवन उपयोगी र यथार्थ धारणा पस्कन सफल देखिन्छ ।
जीवन र मृत्यु –यो दोस्रो निवन्ध हो। यसले पनि सार्थक जीवनको धारणालाई लिएको छ। कर्मको निरन्तरता जीवन र गतिशुन्यतालाई मृतु ठान्ने निबन्धकारले मानिस यस पृथ्वीमा आए पछि मृत्युपछि बाँच्न सक्नु पर्छ मानव जीवन छ ऋतुसरह चल्छ । मानिस भएर जन्मेपछि हात पाखुरी र बुद्धिविवेक चलाउनु पर्छ र केही गरेर बाँच्दा बाँच्नुको अर्थ, औचित्य, भलाइ हुन्छ भन्ने सन्देश प्रवाह गरेको छ निबन्धले ।
जन्मभूमिको माया– यस निबन्धले जन्मभूमिप्रति केही न केही गरे जीवन सार्थक हुने, देशको अहित गर्ने जिउँदा लास हुन् । जन्म भूमिमा हरेकको इज्जत र प्रतिष्ठा गाँसिएको हुन्छ, ’जन्मभूमिप्रति माया ममता प्रेम वा सेवा भाव दर्शाउनु देशप्रेम भनिन्छ आदि धारणा आएका छन् । यसमा मातृभूमिको महिमालाई उच्चताको साथमा प्रस्तुत निबन्ध हो ।
राष्ट्रियता र आत्मनिर्भरता– यो निबन्धले पनि राष्ट्रियताको संरक्षण र सम्वर्धनप्रति गहन बहस गरेको छ । निबन्धकारको धारणा छ –’राष्ट्रियता भन्नाले राष्ट्रप्रतिको आस्था वा राष्ट्र हितको भावना, राष्ट्रप्रेम, राष्ट्रको स्थिति वा आफ्नोपन भन्ने बुझ्नुपर्छ।’ राष्ट्रियता र आत्मनिर्भरताको बीचमा गहन सम्बन्ध छ । यसमा निबन्धकार सचेत देखिन्छन् र भन्दछन् –’राष्ट्रियतालाई अटल, अडिग, र उच्च बनाउनको निम्ति महत्त्वपूर्ण तत्त्व बन्न पुग्दछ ।’ नेपाल प्राकृतिक सम्पदाले पूर्ण हुँदाहुँदै पनि नेपाल परनिर्भर रहेकाले नेपालको राष्ट्रियताको अस्तित्व समाप्त हुने खतरा बढेको, विदेश खास गरेर भारतको हस्तक्षेपकारी नीति सफल हुँदै गएको, भारतको अतिक्रमण, दुव्र्यवहार र नाकाबन्दी सहन परेको । यसप्रकारको हस्तक्षेपबाट मुक्त हुनको लागि निबन्धकारको यस्तो सुझाव छ –‘यसको मुख्य औषधी भनेकै राजनीतिक, प्रशासनिक, आर्थिक, सामाजिक, सास्कृतिक र सम्पूर्ण क्षेत्रमा आत्म निर्भर बन्नु हो ।’ यस निबन्धले राष्ट्र बलियो बन्न राष्ट्रियता बलियो हुनु पर्छ, राष्ट्रियता बलियो हुन आत्मनिर्भर बन्नु पर्छ र आफ्नो आर्थिक, राजनीतिक, सांस्कृतिक, शैक्षिक, वै्रचारिक लगायतका कुरामा देशले विशालताको मार्ग अवलम्बन गर्नु पर्छ साथै यसमा सचेत नेपाली जुट्नु पर्छ भन्ने धारणा आएको छ ।
श्रमको आवश्यक्ता –यस निबन्धमा निबन्धकारले ’श्रमलाई परिश्रम, पुरुषार्थ, उद्योग, इलम, पौरख पनि भनिन्छ’, जुनकाम आम्दानीका लागि गरिन्छ, त्यलाई नै श्रम भनिन्छ ’, भनेका छन् । मानव जीवन र श्रमको ’’ शरीर र आत्माको जस्तो’’ मानेका छन्, हरेक क्षेत्रमा सफलता हाँसिल गर्न श्रमको आवश्यक्ता ठानेका छन् । श्रमको उच्च प्राथमिता दिएर यस निबन्ध लेखिएको छ र निबन्धले सारगर्भित सन्देश दिएको छ ।
व्यक्तित्वको खाँचो र निर्माणका उपाय– साधारण अर्थमा व्यक्तित्व भनेको कुनै व्यक्तिको वैयक्तिक विशेषतालाई देखाउने गुण ÷ निजिपन ÷ व्यक्तिले अरुलाई प्रभावित पार्ने व्यक्तिविशेषमा रहेका निहित विशेषता भन्ने बुझाउँछ । यस निबन्धमा निबन्धकारले ‘मानिसको शारीरिक बनोट, काम गर्ने बानी, भित्री स्वभाव, उसले समाजलाई दिएको योगदानको आधार।मा उसको व्यक्तित्व जाँचिन्छ’ भनेका छन् । निजी व्यक्तित्वभन्दा सामाजिक व्यक्तित्वको महत्व बढी हुने, व्यक्तित्व निर्माणको लागि, उत्कृष्ट र चर्चित काम गर्नु पर्ने, व्यक्ति एक भए पनि उसको व्यक्तित्व अनेक हुनसक्छ र असलव्यक्तित्वले मानिसलाई मरेपछि पनि युगौं बचाउन सक्छ जस्ता धारणाको साथमा निबन्धकारले असल व्यक्तित्व निमार्णको लागि मार्गदर्शन पनि दर्शाएका छन् ।
नाम कमाउने रहर –यस निबनधमा निबन्धकारले रहर अनेक हुन सक्ने रहर गरे जति नपाउन सकिने, रहर बढेपछि महत्वकान्छा पनि बढ्न सक्ने, रहर नाम कमाउने र दाम कमाउने हुने दाम कमाउने रहर मृत्युपछि सकिने र नाम कमाउने रहर इतिहासमा सुरक्षित र अमर रहन्छ जस्ता धारणा राख्दै नाम कमाउने बाटाहरू अनेक भएका र तिनको अवलम्वन गर्न सके नाम कमिने, नाम कमाएर बाँचियो भनेमात्र जीवन जिउनुको अर्थ भेटिने । जति सक्यो त्यति कमाऔं कुनै सीमा बन्देज छैन भन्ने सन्देश दिएका छन् निबनधकारले ।
सोचको अर्थ शक्ति र प्रभाव– यस निबन्धमा निबन्धकारले सोचलाई प्रष्ट्याउने प्रयास गरेका छन् । सोचको अर्थ धेरै भए पनि यस निबन्धमा भने सोचको अर्थ चिन्तन÷विचारमा केन्द्रित छ । ’सोच निश्चित विषयको गम्भिर चिन्तन हो । हरेक मनमस्तिष्कमा यसले डेरा जमाएर बसेको हुन्छ । यो हरेक मानिसमा फरक हुन्छ । यो सकरात्मक र नकरात्मक दुई किसिमको हुन्छ । सकरात्मक सोचले सिर्जना(प्रगति)लाई अघि बढाउँछ र नकरात्मक सोचले परिवार, ससमाज र राष्ट्रको समेत बाधक बन्छ, , सोचउद्देश्य÷ लक्षमा पुग्ने सोपान हो, सोच मनोवृत्ति हो, दृष्टिकोण हो, संसारको सिर्जना र विनास सोचकै उपज हुन्, सोच, सर्वमान्य र सदासर्वदा सत्य नै भै रहिरहन्छ भन्ने हुँदैन जस्ता गहन अभिव्यक्तिहरू यस निबन्धले समेटेको छ ।

सोचका परिणामका कर्महरू–यस निबन्धमा निबन्धकारले मनन् चिन्तन हुने व्यक्तिहरू र सोच नहुनेहरूमा भिन्नता, सोचमा नभर्एकाहरू कुनै काम सफल नभएमा भाग्यलाई दोषारोपण गर्ने खालका, जीवनमा अमिट छाप छोड्ने खालका नहुनु, आफ्नो दायित्वलाई पन्छाउने खालका हुने र यिनीहरूलाई ढिलो चाँडो पश्चताप आउने बाहेक केही उपलब्धी हुँदैन तर सुसोचाइका मानिसहरूले शिखर चुम्दछन्। उनीहरूको व्यक्तित्व सधैं उच्चा भइरने, चर्चा भइरहने धारणा यस निबन्धले राखेको छ । निबन्धकार भन्दछन्–’’मानिस पैसा नभएर गरिब भएको होइन विशेष गरी सोच नभएरै गरिब भएको हो।’’ यसले सुकर्म र कुकर्मको निर्धारण गर्छ,। सोचकै कारणा संसारमा सुसोचले सुकार्य र कुसोचले दुष्कार्य हुँदै आएका, सोचकै कारणबाट सामान्य व्यक्तिबाट विशिष्ट व्यक्तित्व बन्ने भन्दै मानिसको मासु खाने क्रुर तानाशाह इदि अमिनदेखि लिएर संसारलाई शान्तिको सन्देश दिने गौतम बुद्धजस्ता विभिन्न क्षेत्रमा उच्चाईलाई चुमेको मानिसको उहारण दिएका छन् र यिनीहरूले यो उच्चाई चुम्नुमा सबैमा उच्च÷विशिष्ट÷महान÷ सुसोचका कारणबाट भएको हो भन्दछन् ।
सोचको शक्ति र बीचलन– ‘‘सार्थक सोचमा व्यक्ति परिवार राष्ट्र र अन्तराष्ट्र बदल्ने सोच हुन्छ ।’’ यो भनाई हो निबन्धकार राम ज्ञवालीको । ज्ञवालीजीले् यस निबन्धमा सोचमा भएको शक्ति अमूल्य हुने, सीमा नहुने, परिधि कति हुने सोच्न नसकिने, सोचबाटै मानिस करोडपतिबाट रोडपति अनि रोडपतिबाट करोड पति भइने, राजाबाट साधारण जनता भइने, अर्थात ‘‘सोचका परिणामले विचित्रका कार्य हुने।’’ यस निबन्धमा राष्ट्र टुक्र्रुयाउने लहर चल्नु, नेताले जनतालाई नीति पढाउने तर आफूले भने कुनीति अपनाउने, शिक्षाक्षेत्रको अस्तव्यस्तता, संस्कार, संस्कृति, रीतिरिवाज, जीवनशैली, प्रस्तुति शैली, कार्यशैलीमा मौलिकताको ह्रास कृतिमता हावी, वेथिति भ्रष्टचार, सुशासनको अभाव, राजनीतिक कुसंस्कार, आर्थिक राजनीतिक क्षेत्रमा भारतको ९० प्रतिशतभन्दा बढी हस्तछेप आदि हरेक क्षेत्रमा देखिएक विकृति विसङ्गतिको प्रष्ट पार्ने प्रयास गरिएको छ । यी सबै खाले कार्यको कारकतत्त्व भनेको सोच र सोचको विचल हो भन्ने निबन्धकारको धारणा आएको छ ।
सोचको शक्ति र विचलन कारण र प्रभाव –सोचको शक्ति अथाह हुन्छ भन्ने कुरा हामीले माथि उल्लेखित निबनधमा पनि जानकारी पाइसकेका छ म । सोच सम्बन्धमा निबन्धकारले ’कुनै भवितव्य घटना ÷ कार्यबाहेक अरू सबै मानव चिन्तनका उपज हुने गरेका छन्’, भनेका छन् । भारतमा गान्धीको अहिंसावादी सोचको कारण भारत सोतन्त्र भएको, गान्धी र नेहरूको सोचबाटै इन्दिरा गान्धी प्रधानमन्त्री भएको, अमेरीकाका अब््रााहम लिङ्कनको सोचले रङ्ग भेद अन्त्य मण्डेलो गरेको लगायत माओ, नेल्सनमन्डढेला आदिको सोचले ल्याएका परिवर्तनका धारणाहरू यहाँ दर्शाइएका छन् । सोचमा विचलन पनि आउने र ती विचलन आउनुका पराजय, निरन्तर असफलता, गरिबी जस्ता थुपै का्ररणहरू भएका, कुसोचकै कारणबा विभिन्न नराम्रा घटना घट्ने, सोच सार्थक पार्न सकिने, सोच पारदर्शी हुनु पर्ने, सोच नभएकाहरू बाटो हराएका बटुवा जस्ता हुने, सोचले आँशुलाई शक्तिमा बदल्न सक्ब्ने, शान्ति ल्याउने सोच, क्रान्ति ल्याउने सोच, जस्ता गहन धारणा राख्दै निबन्धकारले सोचबारे लेख्छन् – ’’युग र संसार हल्लाउने सर्वोच्च मानसिक शक्ति हो भन्नुमा अत्युक्ति नहोला’’ ।
सोच किन र केका लागि – यस निबन्धमा निबन्धकारले सोचको आवश्यक्तालाई यसरी अर्थाथ्याएका छन् –’सोचले जीवनका उद्देश्य ÷लक्ष पुरा गर्न सघाउँछ । सार्थक सोचले संसारमै हलचल ल्याउँछ। यो व्यक्ति, परिवार, समाज र राष्ट्र एव म युग परिवर्तनका लागि आवश्यक विषय हो ।’ सार्थक जीवनको परिकल्पना गर्न, सर्वाङ्गीण विकशका लागि, यावत विकृति विसङ्गति मेटाउन हरक्षेत्रमा सही सोचको आवश्यक हुन्छ। सही सोचले अमृतको काम गर्छ भने खराब सोचले विषको काम गर्छ सही सोचबाट सर्वाङ््ग विकासको लागि अग्रसरता हुनुपर्ने धारणा आएको छ निबन्धमा ।
नमस्कार गर्नुको अर्थ औचित्य र परम्परा– ’नमस्कारले सम्बन्ध जोड्छ घारे हातले बिछोड’ यी उद्गार राम ज्ञवालीले यस निबन्धमा प्रयोग गरेका हुन् । साधारण अर्थमा नमस्कार भनेको निहुर्याएर मान्यजनलाई अधिवादन गर्ने काम, नम, सादर प्रणाम, नमस्ते र ढोग भन्ने जनाउँछ । यहाँ निबन्धकारले पनि यही रूपमा परिभाषित गरेको देखिन्छ । नमस्कार भनेको नमन हो, नमन भनेका नुहुने काम हो । नमस्कार खोजेर पाइने होइन नमस्कार खोज्नेले नमस्कार दिन पनि पर्छ । नमस्कार शब्द गरिमामय शब्द हो र यो विश्वका देशहरूमा आदर सत्कारको रूपमा प्रयोगमा आउँछ । नमस्कार सबैले सबैलाई गर्नु राम्रो हो तर अनिवार्यता छैन । नमस्कारलाई हलकारूपमा र स्वार्थकारूपमा पनि हेरिन्छ तर नमस्कार सभ्य पहिचानकै रुपमा हुनु पर्छ, भन्ने धारणा राख्दै निबन्धकारलेख्छन् – ’’... तसर्थ हरेकले नमस्कार स्वार्थ र बाध्यताले नगरौं, सुसंंस्कृत, सभ्य, नागरिकको पहिचानको, लागि असल संस्कार निर्माणका लागि आत्मीयता र हार्दिकता विकासका ं लागि गरौं । यसमा नै अर्थ ÷औचित्य देखिन्छ।’’
पैसाको चमत्कार – यो निबन्ध यस कृतिको सबैभन्दा लामो निबन्ध हो । यस निबन्धमा। मानिसको जीविकोपार्जनका लागि कतिपय प्रकृतिले प्रदान गरेको छ भने कतिपय मानिसले नै स्वनिर्मित गर्नु पर्छ, आदिम युगदेखि आजसम्म कतिपय चिज ग्रहण गर्ने र कतिपय चीज छाड ्दै आए पनि पैसा भने मानिसले जन्मेदेखि सास रहुन्जेल छाड्दैन । राम्रा नराम्रा सबै थरिका कामहरू पैसाबाटै हुनेगरेका, मानिसहरू पैसाका दास बनेका कुरा र ’सन्तोषम परम म सुखम्’ को मान्यता भुलेका कुरा जस्ता विभिन्न दृष्टिकोणबाट पैसा के हो यसले कस्ता काम गर्छ भन्ने दन्देश दिँर्दै निबन्धकार भन्छन् –’सही सदुपयोग गरी जीवन र जगतको भलोमा यसलाई उपयोग गरिनु श्रेयस्कर हुन्छ। ’

पैसाको बहुआयमिक कर्म – यस लेखमा निबन्धकारले पैसाबाट हुने, गराइने सबै प्रकारका सकरात्मक र नकरात्मक कामहरूलाई दर्शाउने प्रयासरत छन् । उनी भन्छन् –‘मानव मस्तिष्क घोत्ल्याई निर्मित भएको पैसाको शिखर महत्व छ भन्ने कुरा जोकोहीलाई थाहा छ ।’ पैसामा महाजादुगरी छ, यसले संसारलाई, प्रकृतिलाई नै हल्लाइरहेको र मानव मस्तिष्क खलबल्याइरहेको, भौतिकता र आधुनिकता यसैमा अडेको, किन्ने बेच्ने सबै यसैले गराउने, लालसी, विलासी बनाउने, संसार भुट्न र मानवीय अस्तित्व लुट्न खप्पिस्, कसैलाई नजिक्याउने, कसैलाई कट्टर दुस्मन बनाउने, , मानिसका भौतिक आवश्ह्यक्ता पुरा गर्न यो विना सम्भव नहुने, आत्मबल, आत्माविश्वास, यसैमा, मानिसक बहुरूचि र बहु आवश्यक्ता पूर्ति गर्ने आदि विविधताको जादुगरी भएको र्पैसाले आफैले केही गर्ने होइन यसलाई सदुपयोग र दुरूपयोग कर्ताले गर्ने र पैसाले धेरै थोक गरे पनि सबै थोक गर्न भने सक्दैन र यसको राम्रो काममा प्रयोगमा ल्याउनु पर्ने धारणाहरू आएका छन् निबन्धमा ।
धनपैसाले मात्र सुख पाइन्न – संसारमा धनलाई सर्वेसर्वा ठान्ने, धनबाट सुख शान्ति मिल्छ भन्नेहरूलाई धनपैसा भएर पनि सुखी हुइन्नभन्दा अचम्म लाग्नु स्वभाविक कुरा हो । निबन्धकारले यस सम्बन्धमा धनपैसाले मात्र सुखी भइदैन भन्ने यथार्थलाई पुष्टि गर्न अग्रसर देखिन्छन् । वास्तवमा धन कमाएर मानिस तृप्त हुँदैन । तिर्सना र मन बढेर जान्छ । पैसा कमाएर साँधसीमा नाघेपछि मानिसलाई सन्तुष्टि नभै विपत्ति आइलाग्छ । धनको धनीभन्दा मनको धनी धनी हुन्छ । धनबाटै परिवारमा फुट, मनोमालिन्य, द्वेषभावनाको बीऊ रोपिनु, कमाउने होडबाजी चल्नु, चोरिने डर हुनु, परिश्रम गर्ने बानी घट्दो, भूइँ विर्सेर फूइँ लगाउने प्रवृत्ति हावी हु्नु, धनबाट मात्रै सुखपाइन्छ भन्ने सोच मनोरोग हो जस्ता धारणा राख्दै निबन्धकार लैख्छन् –’... धनपैसालाई मात्र सबै थोक हो भन्ने नसोचौँ । धनपैसाले मात्र सुख पाइन्न भन्ने सबैले बुझे हुन्छ ।’
वर्तमान समाजका समस्याहरू – आजको संसारमा देखिएका विकराल समस्याहरू, राज्यसमेतको अस्तव्यस्तता, नीति कामकारवाही चुस्त दुरुस्त नहुनु जहाँतहीँ सोच विचारमा गिरावट आउनु समय फेरिएर नभै मानिसको सोच फेरिएर भएको धारणा निबन्धकारको छ । वेरोजगार, अनुशासनको कमी, चोरी, डकैती, हत्या हिंसा, लोभी पापी, बेइमानीपन, राज्यमा भ्रष्टचारी घुसखोरी बढेको र समाज समस्यैसमस्याको पहाड भएको, समाजमा मत्स्यन्याय, लुट्नेले लुट्नु, चुस्नेले चुस्नु, जनता वाक्क, दिक्क र आक्रान्त हुनु, जताततै विकृति विसंगतिको भण्डार, सुधारभन्दा विगार पक्षको हावी, आदि समाजमा देखिएका छन् र यी सबै आम प्रवृत्तिको कुरा हो त्यसो हुँदा सबै मिलेर समाज सुधारतिर लागौं भन्ने निबन्धकारको धारणा छ ।
नेपाली समाज उहिले र अहिले – यस निबन्धमा निबनधकारले ढुंगे युग, बर्बर युग र सभ्ययुगको तुलनात्मक सामाजिक स्थितिको विश्लेषण गरेका छन् । आजको समाज सकरात्मक र नकरात्मकरूपमा अगाडि बढेको पाइन्छ।पहिलेको नेपाली समाजमा हिन्दू धर्मको बर्चस्व कायम थियो भने अहिलेको नेपाली समाज बहुभाषी, बहुजाति, बहुधार्मिक, बहुसांस्कृतिक रूपमा अगाडि बढेको छ भन्ने धारणा सहित निबन्धकार भन्दछन् –’उहिले र अहिलेमा धर्ती र आकाश जस्तै फेर बदल छ ।’
समयको शक्ति महत्व र प्रभाव –यस निबन्धमा निबनधकारले समयको शक्ति, महत्व र प्रभावलाई प्रष्ट्याउने प्रयास गरेका छन् । समय बलवान हुन्छ । यो गतिशील हुन्छ। केवल अनुभूतिमात्र गरिने विषय हो। निबनधकारले भन्छन् –’समय अखण्ड छ, निराकार छ, प्रवाहमय छ ।’ ’संसार समय भित्र छ, प्रकृति समयभित्र छ ।’ महत्वको बारेमा निबन्धकारको भनाई यस्तो छ –’समय सुन, गुन, र नूनभन्दा पनि महत्वपूर्ण छ । ’समयको शक्तिको विषयमा निबन्धकारको भनाइ यस प्रकार छ –’समयलाई बुझ्न सक्नुपर्छ महानता यसैमा छ समयभन्दा ठूलो शक्तिशाली चिज दुनियामा अरू सायदै नहोलान्।’ यस्ता धारणाहरू निबन्धकारले यस लेखमा थुप्रै पस्केका छन् जस्तै ’समयभित्र समस्या छ त्यसभित्र समाधान पनि छ, ’जीवन क्रमहरूको संग्रह हो, ’ ’अर्थहीनहरू बाँचेर पनि मरेसरह हुन्छन् ’, उन्नप्रिगति त र परिवर्तनका लागि समय सबैका लागि ठूलो कुरा हो आदि ।
मैले यस निबनधमा भएका निबन्धमा रहेका सन्देशहरूलाई पस्कने प्रयास गरे ं। निबनधकारले दिन खोजेका सबै सन्देश भने यो सानो लेखले समेट्न भने सकेको छइन ।
माथिका सन्देशलाई मनन् गर्दा निबन्धले समसामयिकतालाई समाएका छन् । यी निबनधहरू सबै पाठकको लागि ग्राह्य छन् किनकि सरल र सुबोध शैलीमा लेखिएका छन् । निबज्ञन्धमा विषय प्रसङ्गानुकुल उखानहरूको प्रयोग भएका छन् । भावमा विविधता, प्रस्तुतिमा गहनता, अभिव्यक्तिमा प्रष्टता यी निबन्धहरूको वैशिष्ट्यता हो । यी निबन्धले जीवन जगतलाई समाएका छन् । सार्थक जीवन जिउन आग्रह गरेका छन् । मानिस जिउँदै मर्नु हुन्न मरेपछि पनि जिउनु पर्छ भन्ने धारणा राखेका छन् । मानवमा मानवता चाहिन्छ भन्ने भावनाले ओतप्रोत यस कृतिमा उच्चतम जीवनशैलीको कामना गरिएको छ र अध्ययनमा सत्यतामा आधारित रहेर दार्शनिक अभिव्यक्तिलाई समाएर लेखेको अनुभूति सहजै गर्न सकिन्छ । निबन्धले समाएका विषयबस्तु सारगर्भित छन् । राष्ट्र राष्ट्रियताप्रतिको निबन्धकारको धारणा प्रवल छ । राष्ट्रको सवलताको लागि परनिर्भरताबाट छुटकारा लिंदै आत्मनिर्भरको बाटो अवलम्वन गर्नु पर्छ भन्ने उनको धारणा छ । राजनेतामा देखिएको पथभ्रष्टतामा निबन्धकार चिन्तित छन् । डा. नेत्रप्रसाद न्यौपानेज्यूले ‘जीवन सोच र समय कृतिमाथि समीक्षात्मक दृष्टि’ शीर्षकमा यस कृतिप्रति व्यक्त गरेका यी शब्दलाई यहाँ उल्लेख गर्न चाहन्छु –’जीवन, सोच र समय ग्रन्थ निजात्मक, आत्मपरक, भावात्मक अनि वैचारिक प्रकृतिको निबनध–सङ्ग्रह हो । यसमा सङ्कलित अधिकांश विषय बस्तुहरूमा सर्जकको आत्मपरकता वा हार्दिकताको उच्छ्वलन भइरहेको छ ।’ डा. नेत्रप्रसाद न्यौपानेज्यूका यी सारगर्भित धारणा सहित, यस निबन्धका कृतिका निबनधकार राम ज्ञवालीको भावि लेखनमा तीब्रता, सुस्वास्थ्य जीवनको उच्च कामनाको साथमा यस लेखको बिट यही मार्छु ।
सन्दर्भ सामाग्री ,
अभागी सदानन्द– केही सृष्टिहरूमा अभागीको सिंहवलोकन समालोचना सङ्ग्रह वि.सं. २०७४ ।
ज्ञवाली राम –सदानन्दकोजीवन कर्म र व्यक्तित्व २०७८ ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।