19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

कोलम्बो : पिक भी, टुकटुक र कोतुरोटी

नियात्रा ईश्वर पोखरेल March 8, 2026, 5:43 pm
ईश्वर पोखरेल
ईश्वर पोखरेल

अहिले लगभग दिनको पाँच बजेको छ र हामी बाबु र छोरा (म र सार्थक) श्रीलंकाको कोलम्बोस्थित बन्दरनायक कोलम्बो इन्टरनेसनल एयरपोर्टमा आइपुगेका छौँ । आज ४ फागुन २०८१ अर्थात् १६ फेब्रुअरी २०२५ हो । यहाँको मौसमका बारेमा म पनि सामान्य जानकार छु तर सार्थकसँग सटिक जानकारी छ । हामी हिँड्ने तरखर गर्दा काठमाडौंमा जाडोजाडै थियो । मैले दैनिक बन्दोबस्तीका सामान च्यान्टे ब्यागमा मिलाउँदै गर्दा यही मौसमलाई संकेत गरेर सार्थकले भनेको थियो, "ज्याकेट हामीलाई अहिले घरबाट एयरपोर्ट पुग्दासम्म र श्रीलंकाबाट फर्किएको दिन यहाँको एयरपोर्टमा उत्रिएपछि चाहिन्छ; त्यत्ति हो ।"

उसै पनि हामी यात्रामा अति आवश्यक सामान मात्र बोक्ने गर्छौं । बोझिलो ब्याग/सुटकेसले यात्रालाई दिक्कलाग्दो बनाउँछ भन्ने हामीलाई थाहा छ ।

समुद्री हावाको मध्यम प्रभावका कारण श्रीलंकाको मौसम उष्णकटिबंधीय र न्यानो छ । मध्य-उच्चभूभागहरूमा औसत तापक्रम १७ डिग्री सेल्सियससम्म पुग्छ; यहाँ जाडो सिजनमा अन्य क्षेत्रको दाँजोमा धेरै दिनसम्म चिसो रहन सक्छ । कम उचाइका क्षेत्रहरूमा अधिकतम ३३ डिग्री सेल्सियससम्म हुन्छ । अक्टुबरदेखि जनवरीसम्म उत्तर–पूर्व मनसुन र मेदेखि जुलाईसम्म दक्षिण–पश्चिम मनसुन सक्रिय रहने भएकाले श्रीलंकामा वर्षा हुने मुख्य समयावधि यिनै हुन् । उसो त श्रीलंकाको अघिकांश भागहरूमा जहिलेसुकै वर्षा हुने सम्भावना रहन्छ ।

बन्दरनायक कोलम्बो इन्टरनेसनल एयरपोर्टमा उत्रिएपछि हाम्रो पहिलो काम ज्याकेट खोलेर ब्यागमा थन्क्याउने नै हुन्छ जस्तो छ ।

आज हामीलाई बास बस्न कोलम्बोको विशाखा रोडस्थित 'विशाखा– सिक्स’मा पुग्नु छ । 'विशाखा– सिक्स’ हाम्रो लजको नाम हो । यसका लागि सबैभन्दा पहिले हामीले एटीएमबाट केही रकम निकाल्नुपर्छ; अनि श्रीलंकाको सिमकार्ड र मोबाइल डाटा लिनुपर्छ ।

एयरपोर्टमा भीडभाड छ । एटीएमअगाडि र दूरसंचार सेवाप्रदायक स्टलसामु गोरा पर्यटकहरूको लामै लाइन छ । हामीसँग यिनै लाइनको हिस्सा बन्नुको विकल्प छैन । लाइनमा उभिएर हामी दुवैले सिम र मोबाइल डाटा लियौँ र लगत्तै विश्वव्यापी सामाजिक सञ्जालमा गाँसियौँ ।

यी सबै काम गर्दा दिन घर्किन लागेझैँ भएको छ ।

अब हामीलाई चाहिएको छ– ट्याक्सी । एयरपोर्टबाट कोलम्बोको दूरी ३५ किलोमिटर । त्यहाँसम्म पुग्नका लागि ‘पिक मी’मार्फत ट्याक्सी बोलाउनुपर्छ– हामीले । तर, त्योभन्दा पहिले शौचालय जानु छ ।

हामीकहाँ सार्वजनिक शौचालय फोहोरले गर्दा पसिनसक्नु हुन्छ । पोहोर सिङ्गापुरको पर्यटकीय भ्रमणमा सार्वजनिक शौचालयको सरसफाइको एउटै स्तर देखेर म चकित भएको थिएँ । श्रीलंकाको एयरपोर्टमा सरसफाइको त्यो स्तर होला कि नहोला भन्ने झिनो जिज्ञासा पनि छ– मेरो मनमा ।

यहाँ पनि शौचालय त्यही स्तरमा सफा रहेछ । मेरो जिज्ञासा अब सोझिएको छ– हामी बस्ने लज/होमस्टेका रुममा सफाइको त्यो स्तर होला कि नहोला भन्ने सवालमा ।

हामी पालोपालो शौचालयबाट निवृत्त भयौं र एयरपोर्टको सुरक्षा जाँचबाट बाहिर निस्किन्यौं । अब मुख्य काम भएको छ– ‘पिक मी’मा ट्याक्सी खोज्नु । सार्थक यसैमा लागेको छ । ट्याक्सी सम्पर्कमा आएपछि ऊ मलाई त्यसको नम्बर भन्छ । र, म हामीनजिक आएका ट्याक्सीको नम्बरका बारेमा चनाखो हुन्छु ।

तर हुन्छ के भने, ट्याक्सी सम्पर्कमा देखिन्छ । सम्पर्कमा आएको ट्याक्सी कति किलोमिटर पर छ भन्ने र आइपुग्न कति समय लाग्छ भन्ने कुरा र भाडा कति हो भन्नेबारेमा जानकारी हुन्छ । तर, ट्याक्सी हामीसम्म आइपुग्दैन; ट्याक्सीले अर्डर क्यान्सिल गरेको म्यासेज पो आउँछ ! यसरी अर्डर क्यान्सिल गर्दा यता कुनै हर्जाना नलाग्ने रहेछ कि कसो हो; पटकपटक यही क्रम दोहोरिन्छ । मनमा च्वास्स आशंका जन्मिन्छ– ‘पिक मी’को यस्तै चाला हो भने हाम्रो यो भ्रमण कुन हन्डरका साथ सम्पन्न हुने होला!

यो बिरानो मुलुकमा साँझ घनीभूत हुँदैछ र ट्याक्सी पाइएको छैन : आत्तेस नलागोस् ?

पछिल्लोपटक ‘पिक मी’मा एउटा ट्याक्सी अल्झिएको छ । यो ट्याक्सी भने हामी भएकै ठाउँमा साँच्चै आउँछ । गन्तव्य र भाडाको मोलतोलको कुरा छैन; त्यो ‘पिक मी’मा सम्पर्क गर्दै फिक्स भएकै छ । ड्राइभरको एउटा जिज्ञासा छ– ‘हाइवेबाट जाने कि अर्को बाटो ? हाइवेबाट जाँदा ट्याक्स लाग्छ तर छिटो हुन्छ ।’

हामीकहाँ निजगढमा एयरपोर्ट बनाउने र त्यसलाई काठमाडौंसँग फास्ट ट्र्याकले जोड्ने जुन चर्चा छ; सके त्यो पनि यहाँको हाइवेजस्तै ट्याक्स लाग्ने सडक हुने होला ।

हामी ट्याक्स सकार्छौं ।

अब हाम्रो ट्याक्सी हाइवेमा हुइँकिन्छ ।

यो पर्याप्त फराकिलो सडकमा वाहनको लेन–अनुशासन चुस्त छ । त्यसैले यहाँ प्रतिघन्टा १२० किलोमिटरसम्मको स्पिड सम्भव भएको छ ।

केही महत्त्वपूर्ण वस्तु सम्झेजस्तै गरी ड्राइभरले हाम्रो ध्यान डुब्न लागेको सूर्यतिर केन्द्रित गराइदिन्छ । हामीले बुझेका छौँ– ‘श्रीलंका सूर्यास्तको दृश्यावलीका लागि नामी छ ।’ ट्याक्सी ड्राइभर मनमनै भन्दो हो– ‘तिमीहरू पनि त्यति टाढाबाट त्यस्तैत्यस्तै हेर्न आएका त हौ ।’

हो; हामी श्रीलंका हेर्न/घुम्न आएका । हाम्रो ‘हेर्नु/घुम्नु’ पदावलीमा पर्यटकीय अर्थ छ । हाम्रा लागि प्राकृतिक दृश्य पनि महत्त्वपूर्ण छन्; यहाँको खानपान, वेशभूषा, रहनसहन, चालचलन, बसोबासको ढंग, ढाँचाजस्ता भौतिक संस्कृति पनि हाम्रा आकर्षणका विषय हुन् ।

ट्याक्सी ड्राइभर भन्दै छ- "कोतु रोटी कोलम्बोमा उपलब्ध हुन सक्ने श्रीलंकाको मौलिक खाना हो । भोलि बिहानको लन्चका लागि चैँ ‘पेटा मार्केट’ जानुभयो भने श्रीलंकाको खानपानको एउटा ढाँचामा रमाउन पाउनुहुनेछ । ख्याल गर्नुहोला, पेटा–मार्केट १२ बजेसम्म मात्र चालु रहन्छ ।"

हामीले ‘पेटा–मार्केट’लाई नोट गर्‍यौँ ।

आज बेलुका चैँ हामी कोतु रोटी खानुपर्ला । तर, पहिले त हामीलाई विशाखा रोडस्थित ‘विशाखा– सिक्स’मा पुग्नु छ । त्यहाँ रजिस्टर्ड हुनु छ; झोला थन्क्याउनु छ; अनि फ्रेस हुनु छ ।

गोधूली साँझमा हामी ‘विशाखा– सिक्स’मा दाखिला भयौँ ।

काउन्टरको झ्यालमा खटखट पारेपछि झ्यालसँगैको ढोका खोल्छ । ढोका एउटा पातलो र ६०– ६५ को पुरुषले खोलेको हुन्छ । कसोकसो उसको खुट्टामा आँखा पर्छ; त्यहाँ चप्पलधरि छैन ।

हामी घरभित्र पनि जुत्ता चप्पल लगाउन बानी परेका मान्छे । जुत्ताचप्पल नलगाई बाहिर निस्किँदै–ननिस्किने हाम्रो बानी । उसको खुट्टामा जुत्ता नदेख्दा मलाई पो असहज लाग्छ!

नेपालबाट बास बस्न कोही आउँदै छन् भन्ने जानकारी लजवालालाई छ र ती ‘कोही’ हामी नै हौँ भन्ने भएपछि ऊ केही निश्चिन्तजस्तै भएर गफगाफमा आउँछ ।

उसले १४ वर्ष दुबईमा बिताएको रहेछ । भन्दै थियो, "मैले काम गर्ने कम्पनीमा भारतीय पनि थिए ।" लगत्तै उसले सोधिहाल्यो– "तपाईंहरूलाई हिन्दी बोल्न आउँछ ?"

जवाफमा सार्थकले मतिर संकेत गर्‍यो ।

आफूले जानेको फरक भाषा जान्ने/बोल्ने मान्छे फेला पर्‍यो भने बोल्न सकसक लागिहाल्छ । हामीबीच हिन्दीमा संक्षिप्त कुराकानी भयो । अब ऊ हामीलाई रुममा लैजाने तयारीमा लाग्यो । आफ्नै भाषामा उसले रुमको साँचो माग्यो; भित्र बसेकी महिलाले हात मात्र निकालेर साँचो दिइन् ।

रुम/बेड सफा छ, ट्वाइलेट पनि । चप्पल भने छैन । पोहोर सिङ्गापुर र मलेसियाका लजमा पनि हामीले चप्पल पाएनौँ । यहाँ पनि त्यस्तै रहेछ । लाग्यो– यहाँ पनि चप्पल किन्नैपर्ने भयो ।

रुमबाट निस्केर हामी चोकमा आयौँ । हामीलाई ‘टुकटुक’ (यहाँ टेम्पोलाई टुकटुक भनिदोंरहेछ ।) चाहिएको छ र सार्थक ‘पिक मी’मा बिजी छ । केही समयपछि नै एउटा बुढो टुकटुकवाला हाम्रोसामु दाखिला भयो । उसले पहिचान गरेको कोतुका लागि नामी खाना बजारमा हामीलाई पुर्‍याइदिने जिम्मेबारी हामीले उसलाई दियौं ।

एउटा व्यस्त पुरानो बजारमा उतारेर उसले हामीलाई भन्यो, "यहाँ आफ्नो मोबाइल र पैसाका बारेमा चनाखो रहनुहोला ।"

हामी अब कोतु रोटीका लागि उचित होटलको खोजीमा लाग्यौँ ।

यहाँका होटल/खाजाघरमा पनि भारतीय मिठाईको अधिकता । जताततै त्यही नै देखिने । पिज्जा, बर्गर, कट्टीरोलजस्ता परिकार चैँ खाजा पसलका साइनबोर्डमा मुख्य आकर्षण झैँ देखापर्ने । मःमः, चाउमिनजस्ता परिकार पनि उति नदेखिने ।

हामीले एउटा रेस्टुरेन्टमा पसेर काउन्टरमा सोध्यौँ,- "‘कोतु’ पाइन्छ ?"

उसले भन्यो– "बस्नोस् ।"

केही समयपछि प्लेटमा कोतु आयो; स्पाइसी अचार पनि । मलाई यो सिस्टम उचित लाग्छ । यसको अर्थ 'कसैलाई अतिरिक्त स्वादमा रुचि छ भने आफैँ थप र खाऊ’ हो । मलाई यस्ता स्पाइसीजस्ता चीजमा रुचि छैन । उसै पनि म कोतुको सही स्वाद परख गर्न चाहन्छु ।

सातदोबाटोस्थित ‘निरोग धाम’का उमेश श्रेष्ठले एक भेटमा भनेका थिए- "हामीले भातलाई हेला गरेका छौँ र निस्तो भात खानु हुँदैन भनेर भातको वास्तविक स्वाद लिन चुकेका छौँ । भात दाल, तरकारी र अचारसँग नमुछीकन खानै नसकिने खाद्य परिकार होइन; केही दिन निस्तै खाएर हेर्नोस्; भात मात्र पनि तपाईंलाई स्वादिलो लाग्छ । निस्तो भात खाँदा हुने अतिरिक्त लाभहरू त छँदै छन् ।"

यसरी मित्र उमेश श्रेष्ठले मलाई निस्तो भात खान सुझाएका थिए । म घरमा ब्राउन राइसको भात खान्छु र निस्तै खान्छु । अब यो बानीजस्तै भयो । भोजभाज, होटल र पाहुनाको अवस्थामा भने मैले निस्तो भात खाएको दृश्य धेरैका लागि रमिता बन्ने गरेको हुन्छ ।

उसै मीठो कोतु खानका लागि अब यहाँ मलाई ‘स्पाइसी’ अचार किन चाहियोस् ?

कोतु खासमा रोटीको नाम रहेछ । यसलाई पिसेर दाल, तरकारी र मसलामा मिसमास पारिँदो रहेछ । यो मिसमासको ढंगढाँचा चैँ उही हामीकहाँका रेस्टुरेन्टमा चाट बनाए जस्तैजस्तै ।

कोतु खाइसकेपछि हामी हिँड्दै समुद्रनिकटमा आयौँ ।

भूपरिवेष्टित देशका मान्छे हामी । हामीले महासागर भेट्न देशको सीमा नाघ्नुपर्छ । पोहोर हामी परिवारका चारै जना सिङ्गापुर र मलेसिया गएका थियौँ । त्यहाँ हामी समुद्रसँगको निकटसंसर्गले भन्दा अन्य आकर्षणले तानिएर गएका थियौँ । त्यहाँ सामुद्रिक ‘बिच’मा हामीले खासै समय बिताएनौँ पनि । कोलम्बोको यो झम्के साँझमा भने हामी समुद्रसँग आमनेसामने भएका थियौँ ।

समुद्रको यस किनारमा बस्नका लागि बेन्चहरू छन्; हिँड्नका लागि पर्याप्त फैलावटसहितको चौर छ; खानका लागि व्यवस्थित स्टलहरू छन् । ती स्टलहरूलाई परबाट हेर्दा देखिँदैन; नजिकै पुगेपछि मात्र देखिन्छ । तिनलाई जमिनमा छत मात्र आउने गरी व्यवस्थित गहिराइमा पंक्तिबद्ध गरिएको छ । फोहोर व्यवस्थापनको आफ्नै ढंगढाँचा छ । ठाउँठाउँमा सार्वजनिक शौचालयहरू छन् । नजिकै अग्लाअग्ला होटलहरू छन्; ती होटलका तरहतरहका झिलीमिली बत्तीले आफूलाई चिनाएका छन् र आफ्नो विशिष्टता देखाएका छन् । निर्माणाधीन ‘पोर्ट–सिटी’को लयबद्ध लाइट समुद्रमा प्रतिबिम्बित हुँदा अझ आकर्षक देखिएको छ । मानिसहरू उन्मुक्त भएर हिँडेका छन्; बसेका छन् र रमाएका छन् । समुद्रमा छाल ‘आयो, आयो’ जस्तै गरेर साँच्चै आउँछ र किनारमा आएर लिपपोत गरेर जान्छ । अब अर्को छाल आँउदै छ; अर्को छाल विकास हुँदै छ...

केही समय मन्द गतिमा हिँड्दै ओहोरदोहोर गरेपछि हामी एउटा स्टल अगाडि उभियौँ ।

यहाँ हामीले तारेको झिँगे माछा चाख्नु छ ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।