19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

कहाँ गए ती इन्कलाबी नाराहरू?

विचार नवीन पौड्याल March 8, 2026, 5:46 pm
नवीन पौड्याल
नवीन पौड्याल

एक समय थियो भारतको पश्चिम बङ्गालभरि गाउँ घर बजार चारैतिर इन्कलाब जिन्दाबादका नाराहरू गुञ्जिरहन्थे। चारैतिर राता राता रङ्गका झण्डाहरू फरफरिन्थे, बजारका सबै देवालतिर बाममोर्चाहरू चिन्ह मात्र देख्न पाइन्थ्यो। ती राता झण्डाहरू पनि दुइचार अलग किसिमका हुन्थे। गरीबी मुक्ति, श्रमिक मुक्ति, शोषण मुक्ति आदिका नारा र भाषण हुन्थे। ‘हँसिया मार्तोल तारा गरीबको सहारा’ भन्ने नारा चल्थ्यो। बजारै थर्किने गरी ‘इन्कलाब जिन्दावाद’, ‘श्रमिक जति एक हौं’, ‘अन्याय अत्याचार बन्द गर’ भन्ने नारा चर्केका हुन्थे। हँसिया मार्तोल तारा मूल चिन्हलाई केन्द्रमा राखेर दुईचार बाममोर्चाका दलहरू स्थापना हुँदैजाने बिलाउँदै जाने क्रम चल्थ्यो। त्यतिबेलाको समय परिस्थितिमा साम्यवादी चिन्तन र समर्थनको आवश्यकता थियो। समाजमा वर्गीय, लिङ्गीय, आर्थिक, सामाजिक आदि विभेद थियो। त्यस्ता विभेदलाई निर्मूल पारी समाजमा चहुँदिश समानताको उद्देश्य लिएर आएको साम्यवाद लोकप्रिय थियो।

भारतको प्रसङ्गमा कम्युनिस्ट पार्टी अब इन्डिया मूल रूपमा थियो भए पछिबाट यसभित्र विद्रोह जन्मेर मार्क्सवादी शब्द थपिएर सिपिआइ (एम) भएकरो थियो। त्यसबाट अझै सिपिआइ एमएल, सिपिआइ (एमएल लिबरेसन) आदि टुक्रा फुटेका थिए। मूलमा एउटै कम्यनिस्ट पार्टी अफ इन्डिया बाट असन्तुष्टि, असहमति आदिबाट नयाँ नयाँ वामदल छुट्टिदै गएका हुन्। नेपालको प्रसङ्गमा पनि सोही कुरा लागु हुन्छ। त्यहाँ पनि पुष्पलाल श्रेष्ठको नेतृत्वमा विसं२००३ मा गठित कम्युनिष्ट पार्टी अफ नेपाल मूल हो भने अनेकौं हाँगा बिङ्गा जन्मे, हुर्किए, अस्ताए बिलाए।

समयको प्रवाहमा भारतका धेरै राजनैतिक दलहरू उदाए अस्ताए। आफ्नो आफ्नो सिद्धान्तहरू लिएर दलहरू आए तर समयमा ती सिद्धान्त र आदर्श पनि भुत्ते भए। जनताको निर्णय कता के हुन्छ, त्यो सबै जनताद्वारा नै निर्धारित हुन्छ। जनताको निर्णयको अघि काजी पाजी भए औ पाजी काजी हुन्छन्। कुनै दल बेसी सत्तामा बसे जनतामा जनविरोधी लहर उठ्नु स्वाभाविक कुरा हो। सत्ताको बेसी अहमत्याइँ लागे एकदिन विलुप्त भएर जाने सामान्य नियम हो, समयको खेल हो। समय बडो बलवान हुन्छ। उदाहरणका निम्ति एक समयमा पश्चिम बङ्गाल सरकारमा चौंतीस वर्ष राज गरेको बामफ्रन्ट अब विलुप्तिको सङ्घारमा छ। एक समयमा भारतभरिमा जम्मा त्रिचालिसजना माननीय लोकसभा सांसद भएको बाममोर्चाका सांसदहरू हालमा तीनजना मात्र रहेका छन्। अझ आउँदा दिनमा कति पुग्ने हुन्, के हुने हुन्, भविष्य कै गर्भमा छ।

बाममोर्चा सिपिएम, सिपिआइ (एम), फर्वर्ड ब्लक र आर एस पी गरी चारवटा संयुक्त मोर्चा बनेको थियो। त्यसमा पनि सि पिआइ (एम) मुख्य दह्रो पार्टी थियो। केन्द्रीय सत्तामा पनि यसको परोक्ष भागीदारी थियो। राज्य सत्ता त पेवाजत्तिकै थियो। जिल्लादेखि लिएर गाउँको प्रशाससनिक इकाइमा पनि यसको दबदबा र प्रभाव थियो। यो पिरामिड आकारमा संरचनाबद्ध (क्याडरबेस्ड) पार्टी थियो। यसको प्रत्येक गाउँमा सानो इकाई हुन्थ्यो। गाउँ गाउँको इकाई मिलाएर एउटा ग्राम पञ्चायत समिति अर्कै हुन्थ्यो। त्यसपछि आञ्चलिक तहमा एउटा समिति हुन्थ्यो। त्यसले नै अञ्चलभरिका राजनैतिक,सामाजिक र विकासका समस्या हेर्ने गर्थ्यो। त्यसपछि महकुमा समिति जिल्ला समिति हुँदै राज्य समितिको दह्रो प्रणाली बसाएको थियो। यसबाहेका यसका किसान, शिक्षक, विद्यार्थी, युवा, श्रमिक सङ्गठन, नारी सङ्गठन आदि जस्ता भातृ संगठनहरूका पनि बेग्ला बेग्लै इकाईहरू हुन्थे। यसको आफ्नै कार्यपद्धति, रणनीति, राजनिती, अनुशासन थियो।यसकारण साना साना गाउँले समस्यादेखि लिएर राष्ट्रीय समस्यासम्म हेर्ने यस मोर्चाको दायित्व थियो। दलको सभा भइरहन्थ्यो र पूरा विचार विमर्श गरी नीति निर्धारण हुन्थ्यो। दार्जिलिङ जिल्ला समिति अत्यन्तै प्रभावशाली थियो। के पहाड़ के मधेस सबै मिलाएर एउटा जिल्ला समिति गठित हुन्थ्यो। दलमा कड़ा अनुशासन थियो।पार्टीभित्रका कसैले पार्टीको आदर्श उल्लङ्घन गरेर दलविरूद्ध बोल्न पाउँदैन थिए। कार्यकर्ताले नै दलविरूद्ध काम गरे दलले कडा अनुशासनात्मक कार्वाही गर्थ्यो। नेपाली हिन्दी बाङ्ला आदि दैनिक खबरकागजभरि यस दलकै खबरहरूले ढाकिएका हुन्थे।

खै, अब त ती दिन सकिए। गरीबी उन्मूलन गर्ने उद्देश्य लिएको भारतको एउटा प्रभावशाली दल आफैं उन्मूलनको सङ्घारमा पुगेको छ। लाशलाई जुम्राले छोडेजस्तै अहिले यस दललाई कार्यकर्ताहरूले छाड्दै लागेका छन्। दलबाट फाइदा लुट्नुसम्म लुटेर छाडेका छन्। जीवनभरि यस दललाई मेवा र सेवा दुवैलिएर पनि यसलाई छाडेका छन्। ती जुलुसहरूमा हिँड्नेहरू कहाँ हराए? कार्ल मार्क्सका सिद्धान्तलाई कहाँ थन्क्याए? कसरी गरीब मुक्ति, समानता, भातृत्वको आदर्शलाई भुले? कसरी आफुलाई संरक्षण दिने आफ्नो प्यारो दललाई बिर्से? कसरी सत्ताबाट हट्नेबित्तिकै माछालाई पानीबाट निकाल्दा छटपटिएसरी छटपटाएर सत्तासित टाँसिन आइपुग्छन्।

मान्छे भन्थे हाम्रो रगत नै रातो हुन्छ भनेजस्तै हाम्रो दलको झण्डा नै रातो हो। अरूतिरको कुरा छाडेर हाम्रै सिलगड़ी शहरको कुरा गरौं। अस्सी, नब्बे र नयाँ शताब्दीको प्रथम दश शतकभरि शहरै रातै थियो। नारा-जुलुस, पथसभा, देवालभित्ता सर्वत्र रातै हुन्थ्यो। हँसिया मार्तोल ताराको चिन्हले चारैतिर ढाकेको हुन्थ्यो। जीवनभरि यस दलमा काम गरेका आदर्श व्यक्तिहरू पनि पुजित हुन्थे। ज्योति बसु सबैका पूज्य थिए। त्यसपछि बुद्धदेव भट्टाचार्य, विमान बोस्, सोमनाथ भट्टाचार्य आदि लोकप्रिय र आदर्श नेता थिए। कुन कारण, किन र कसरी यो दल सत्ताबाहिर गयो भन्नेबारे आ-आफ्नै मत, विचार र धारणा हुनसक्छ। त्रिपुरामा पनि उस्तै हालत छ।

अब केही थोरै निस्वार्थी र सिद्धान्तवादी व्यक्तिका कारणले यी पार्टीहरूले कता कता साससम्म फेर्दैछन्। गरीबका समानाधिकार, समानता आदिको सिद्धान्तलाई त्याग्न सकेका छैनन्। के गरीबी सम्पूर्ण रूपमा उन्मूलन भए त? के अझै समानाधिकारको अभियान पूरा भयो त? के चारैतिर समानता छायो र? के आर्थिक समानता छायो र? के मुक्तिको उद्देश्य पूरा भए?
साम्यवादी दलहरूको लोकप्रियता घट्दो छ। यद्यपि कतिजना यस्ता निष्ठावान छन् जो खोलै पल्टिए पनि, जस्तै आँधी आए पनि आफ्नो सिद्धान्तलाई छाडेका छैनन्, दल त्याग गरेका छैनन्, दलको आदर्श र सिद्धान्तलाई बिर्सेका छैनन्। जनताका समस्यालाई सम्बोधन गर्न छाडेका छैनन्, दलबदलु भएर अन्य पार्टीमा गएर अझै फाइदा लुटेका छैनन्। धन्य हुन् यी दुई चार कार्यकर्ता र नेतृत्ववर्ग, जसले थामिरहेका छन्, छेपाराका चेपारामा रहेर पनि अविचलित डटेर रहिरहेका छन्। प्रतिवादी साहित्य अध्ययन गर्न, लेख्न, प्रचार गर्न छाडेका छैनन्। जीवनलाई त्यसअनुसार ढाल्न छाडेका छैनन्।

अब कहाँ गए ती नाराहरू, राता राता भित्ताहरू, मुक्तिका कामनाहरू, शोषणका विरोधहरू? इतिहासको गर्भमा ती जम्मै बुलन्द आवाजहरू मन्द मन्द हुँदै बिलाएर जाने छन्। अहिले त कुच्चाको आकारजस्तो चुच्चिदै गएर सानो सानो बन्दै टुङ्गिनेतिर गएको देखिदैछ। किनकि समय बलवान छ। अरू दलहरूको अवस्था र स्थिति पनि यही हो.. यही नै परम सत्य हो, यही नै प्राकृतिक नियम हो। नयाँ पुस्ताका सुविधाभोगी युवापीँढीले यस सिद्धान्त र दलप्रति आसक्ति र समर्थन देखाउलान्? मुस्किल छ।

हाम्रो साहित्यमा प्रगतिवादी साहित्य पनि सक्रिय छ। एक तप्का लेककहरू प्रखर रूपमा प्रगतिवादी साहित्य लेखनमा सक्रिय छन्। प्रगतिवादी कविता, कथा, उपन्यास, समालोचना भनेर लेखिन्छन्, अध्ययन हुन्छन्। मुख्य गरी कार्ल मार्क्स र लेनिनका सिद्धान्तहरूलाई आधार बनाएर तिनलाई न्यायोचित ठहर्याउन यस्ता साहित्य पनि लेखिन्छन्। सर्वहाराको उन्मुक्ति, वर्गीय चेतना, आर्थिक समानता, राजनैतिक अधिकार, बुर्जुवावर्गलाई पेलेर सर्वहाराको राज्य स्थापना गर्ने परिकल्पना आदिलाई वरिपरी राखेर लक्ष्य बनाएर लेखिने चलन अहिले पनि यथावत् छ। यो लेखन पनि एकप्रकारले फर्मुलाबद्ध नै मान्न सकिन्छ। कथा र उपन्यासमा एउटा कुनै युवक वा युवतीले गरीबीमा पिसिएर पछि सामन्ती वा गाउँका ठुला ठालुका विरूद्ध पूरा संघर्ष गरेर सङ्गठित पारेर लडाइ गरेको कथावस्तु पाइन्छ। कविता र गीतादिमा पनि वर्गीय मुकित युद्ध, उठ किसान, उट युवक, नयाँ बिहानी ल्याउनु छ भन्ने भाव पाइन्छ। प्रगतिवादी समालोचनामा पनि कुनै पनि कृतिभित्र कतिको सङ्घर्ष गरिएको छ भन्ने परख परिएको हुन्छ।

एकपक्षबाट हेर्दा वर्गीय मुक्तिको नारा सकिएको छैन, सर्वहारा उठिसकेका छैनन्, अझै सर्वत्र समानता छाइसकेको छैन। यस्तो साहित्यिको अझै पनि आवश्यकता छ। अझै समाजका कुना कुनामा रहेका ज्ञात-अज्ञात शोषित-पीडितका आवाजलाई गति दिन अहिले पनि आवश्यकता छ। अझै पनि सर्वहारा र बुर्जुवा, शोषित र शोषकको बीचको अन्तराल घटेको छैन, धनी र गरीबको खाल्डो पुरिएको छैन। नयाँ नयाँ किसिमका विकसित पुँजीवादलाई ठेकान र तह लाउने साम्यवाद अझै चाहिन्छ। समाजलाई साम्यवादको पाठ सिकाइरहन प्रगतिवाद अझै लेखिनु पर्छ। अझै पनि वर्गीय मुक्तिको आन्दोलनलाई तताइराख्न पर्छ, अझै जनचेतनामा क्रान्तिको झिल्को फिलुङ्गो छरेर विद्रोह गर्नु छ। निर्विघ्न जागेको पुँजीवादलाई नियन्त्रण र रोकथाम गर्न साम्यवादी धारको पनि आवश्यकता पर्छ। अहिले पनि वर्गसङ्घर्षको आवश्यकता छ। नयाँ काँचुली फेरेको नवपुँजीवादलाई नव मार्क्सवादका नयाँ नयाँ धार र चिन्तनले लगाम कस्नु छ।

यद्यपि अर्को पक्षबाट हेर्दा यो अनन्त विषय हो, विषमता नसकिने र नसुक्ने धारा हो। गरीबी सकिदैन, समानता सम्भव छैन, सर्वहाराको मुक्ति छैन, बुर्जुवाको अन्त छैन। अहिले नयाँ नयाँ किसिमका सामन्तवाद हुर्किरहेका छन्, सामन्तीहरू विकसित भइरहेका छन्। पुँजीवादका नयाँ नयाँ अनुहार, स्वरूप, ढाँचा पद्धति प्रणाली लिएर देखा परिरहेका छन्। नयाँ नयाँ पुँजीपतिहरूको सङ्ख्या बढिरहेको छ। व्यापार व्यवसाय बढेर नयाँ नयाँ पुँजीपति हुर्किरहेका छन्। विज्ञान र प्रविधिले नयाँ नयाँ रूप धारण गरेको छ, इन्टरनेटका माध्यमबाट धन कमाउने र धन गुमाउने गरिन्छ। भारतमा नयाँ नयाँ टाटा, बिडला, अम्बानी, अडानीहरूको सङ्ख्या बढ्दो छ। अहिले झन पुँजीवादीको प्रभाव बढ्दो छ, साम्यवादी विचार घट्दो छ। समानता असम्भव कुरा हो। मान्छे मान्छेका बल, बुद्धि, चिन्तन, चेतना, समझदारी, कर्म केही पनि समान हुँदैन। एकेक व्यक्तिको आफ्नो चेतना हुन्छ। मान्छे भेँडाजस्तो एउटै पंक्तिमा हिँड्दैन। साम्यवादी चिन्तन लिएर समाज र विश्वलाई एक पारेर आर्थिक सामाजिक राजनैतिक समानता ल्याउनेछौं भन्नु दिवास्वप्न समान हो, जो असम्भव छ। समानताको नारा लाउने पनि पुँजीको स्वादमा फँसेपछि नारा बिर्सेर सत्तासीन भइरहेका छन्। यसको साध्य र साधन दुईको तालमेल मिलेको छैन। साम्यवादी साध्यलाई ताकेर हिँड्दा साधन भने मिलेको छैन। अन्याय अत्याचारको विरूद्धमा उठेको यस मुक्ति आन्दोलनको साधन भने अझ अन्यायी, अत्याचारी, दमनकारी अपनाएको लाग्छ। अब त क्रान्ति होइन प्रतिक्रान्तिको ज्वाला उठ्दो छ। मान्छेले शाश्वतताको अन्वेषण क्रममा सबै मान्छेलाई एकै ठाउँमा राख्नु, एकै ड्याउँमा मिलाउनु खोज्नु, एकै कितामा तौलेर हेर्नु पनि नसकिने समय छ।

पारिजातको पर्खालभित्र र बाहिर उपन्यासमा देखाएझैं क्रान्ति र विद्रोहले पार लागेको छैन, सङ्घर्ष अझै जारी छ भन्ने सङ्केत पाइन्छ। उपन्यासले त रामबहादुर फेरि जेल गएको छ. विद्रोह मच्चाउने ज्वाला र क्युरीहरू विफल भएका छन्, पहिलेका क्रान्ति मार्ग लागेकाहरू यसबाट पार नलाग्ने बुझेर सत्ताको वास्तविकतालाई अपनाइसकेका छन्। आदर्श र यथार्थबीच ठुलो खाडल देखिएको छ। त्यस उपन्यासमा त साम्यवाद विफल भएको देखाइएको छ। अन्य प्रगतिवादी कथा र उपन्यासमा एकदिन हामी अवश्य सफल हुन्छौं भन्ने आशावादी धारणा व्यक्त गरिएको हुन्छ तर वास्तविकता त्यस्तो हुँदैन।

साम्यवादमा भौतिकवादी द्वन्द्वलाई बढी महत्त्व दिन्छ। उच्च वर्ग र निम्न वर्ग, सम्भ्रान्त वर्ग र निमुख वर्ग, शोषक र शोषित आदिका बीचमा द्वन्द्व भएझैं अब यसकै औचित्य-अनौचित्य, आवश्यकता र अनावश्कता, अस्तित्व र अनस्तित्वका बीचमा द्वन्द्व सिर्जना भएको लाग्छ। व्यक्ति-व्यक्तिको चेतनालाई जसरी एउटा विचारको थुनामा राख्न सकिन्न त्यसरी नै साहित्य लेखन पनि एउटा प्रगतिवादभित्र समेटिन सक्दैन। समानताको सामुहिक चेतना अहिले अस्ताउँदो सूर्यसरह देखिएको छ। कतै नयाँ उदाउने सूर्यझैं फेरि उदाउने आशा छ कि?

कालिम्पोङ

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।