19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

साहित्यकार इगम खालिङसँग कुराकानी

वार्ता बैद्यनाथ उपाध्याय March 8, 2026, 6:00 pm
बैद्यनाथ उपाध्याय
बैद्यनाथ उपाध्याय

समकालीन नेपाली साहित्यमा आफ्नो विशिष्ट पहिचान बनाउँदै आएका स्रष्टा हुन् इगम खालिङ। ४ नोभेम्बर १९७९ मा इन्द्रबहादुर खालिङ र देवकुमारी खालिङको सन्तानका रूपमा जन्मिएका खालिङ साहित्य, चिन्तन र शिक्षण क्षेत्रलाई समान रूपले अगाडि बढाइरहेका एक सक्रिय व्यक्तित्व हुन्। दार्जीलिङ जिल्लाको सोनादा अन्तर्गत रङमुक चियाबारी, चन्द्रमान धुरामा जन्मे-हुर्केका उनी आफ्नो मातृभूमिको सांस्कृतिक संवेदना र सामाजिक यथार्थलाई सिर्जनामा अभिव्यक्त गर्ने सर्जकका रूपमा परिचित छन्। शैक्षिक रूपमा पनि अत्यन्त सुदृढ पृष्ठभूमि भएका खालिङले दर्शनशास्त्र विषयमा पीएचडीसम्मको अध्ययन गरेका छन्। एमए, एमफिल र बीएड जस्ता उच्च अध्ययन पूरा गरेका उनी हाल कालेबुङ सरकारी उच्च विद्यालयमा सहायक शिक्षकका रूपमा कार्यरत छन्। शिक्षण पेशासँगै उनी निरन्तर अध्ययन-मनन र साहित्य सिर्जनामा संलग्न छन्। इगम खालिङको साहित्यिक यात्रा कविता लेखनबाट प्रारम्भ भएको हो। उनका कृतिहरूमा मानवीय अनुभूति, सामाजिक यथार्थ, जीवनदर्शन र समयको संवेदना सशक्त रूपमा अभिव्यक्त हुन्छ। उनका प्रकाशित कृतिहरूमा ‘अनुभूतिका लहरहरू’ (कविता सङ्ग्रह, २००१), ‘कथाइगम’ (कविता सङ्ग्रह, २०२४) र ‘भित्ता’ (लेख सङ्गालो, २०२५) उल्लेखनीय छन्। यी कृतिहरूले उनको गहिरो चिन्तनशीलता, जीवनप्रतिको संवेदनशील दृष्टि र भाषाप्रतिको सशक्त पकडलाई प्रमाणित गर्छन्। साहित्य, दर्शन र शिक्षणलाई समान रूपले अघि बढाइरहेका इगम खालिङ आजको नेपाली बौद्धिक र सिर्जनात्मक जगतमा एक प्रतिबद्ध, अध्ययनशील र विचारशील व्यक्तित्वका रूपमा स्थापित भइरहेका छन्। उनका सिर्जनाहरूले समाज, समय र मानवीय अनुभूतिका सूक्ष्म आयामहरूलाई उजागर गर्दै नेपाली साहित्यलाई समृद्ध बनाइरहेका छन्। प्रस्तुत छ उनीसँग गरिएको एक साहित्यिक कुराकानी-

वैद्यनाथ उपाध्यायः अनुभूतिका लहरहरू र कथाइगम—यी दुई कविता सङ्ग्रहको भावभूमि फरक-फरक देखिन्छ। तपाईँका लागि कविता जन्मिने मूल क्षण के हो—अनुभूति, विद्रोह कि चिन्तन?
इगम खालिङः महाविद्यालयको विद्यार्थी रहँदा रचनात्मक लेखनप्रति रुचि जागेर आयो। सानो उमेरदेखि आफ्ना केही आन्तरिक भाव र विचारहरूबाट पिरोलिँदै आइरहेको मैले एकदिन आफैलाई भेटिपठाएँ। मैले सिर्जनात्मक लेखनमा मनोशान्ति मात्र होइन आफ्नो जीवनको अर्थ खोलिँदै गएको पाएँ। आफ्नै प्रकारले रमाउने संसार पाएको अनुभूतिमा जानी-नजानी कनीकुथी आफ्नै निम्ति भए तापनि अलिअलि लेख्न थालेँ। जीवनले दिएका अनुभूतिहरूलाई कविताका माध्यमद्वारा खुलासा गर्न थालेँ। आफैलाई मुक्त राख्न सिक्न थालेँ। त्यसरी सन् २००१ मा अनुभूतिका लहरहरू (कविता सङ्ग्रह) निकाल्न पुगेँ। त्यसपछि धेरै सालसम्म शिक्षार्जन, अध्ययन र पारिवारिक कुराहरूले व्यस्त बनाए। कवि, व्यक्ति, समाज र समयको प्रतिनिधि भएर उपस्थित भएको हुँदो रहेछ। प्रत्येक पाठकले कविका कविताहरूमा आफूलाई खोज्दो रहेछ। कविको अन्तर-बाह्य संसारभित्रका अनुभूति, भावना, चिन्तन, तनाव र विद्रोहका अभिव्यक्तिहरू नै उनका कविता सङ्ग्रहभित्रका कविताहरूमा विभिन्न रूपमा सम्प्रेषित भएका हुँदा रहेछन्। फेरि कविता बुझ्न र बुझाउनलाई कविताले मात्रै पुग्दैन रहेछ साथै कविता आइरहेको क्षण मात्रै कविताको वास्तविक क्षण हुँदो रहेछ भन्ने सोचले मेरो दोस्रो कविता सङ्ग्रहको शीर्षक कथाइगम (२०२४) राख्न पुगेँ। प्रारम्भिक स्तरमा कविताको अनुभूति अथवा बोधलाई नै कविता जन्मिने मूल क्षण मान्न सकिन्छ। अनुभूति (सहज अनुभूति, अन्तरानुभूति, बौद्धिक अनुभूति र अति बौद्धिक अनुभूति) को कारण नै चेतना हो। चेतना र सचेतनाबिना अनुभूति, बोध, चिन्तन, तनाव, विद्रोह, अभिव्यक्ति, सम्प्रेषण सम्भव हुँदैन। कविता जन्मने क्षण भनेको नै अवचेतनभित्र कविताको सचेत क्षण हो। त्यसरी नै कविताको सचेत क्षण भनेको नै ऊर्जामय क्षण हो।

वैद्यनाथ उपाध्यायः तपाईँका कवितामा ‘अनुभूति’ शब्द सशक्त रूपमा उपस्थित छ। अनुभूतिलाई शब्दमा रूपान्तरण गर्ने प्रक्रिया कति सहज वा कति पीडादायी हुन्छ?
इगम खालिङः कविका निम्ति कति बाहिरी घटनाहरू बाहिरी जगत्‌मा मात्रै घट्दैनन्, उनीभित्रको कविताको जगत्‌मा पनि घट्ने गर्दछन्। त्यसरी दुवै जगत्‌भित्र हुने अनुभूतिको कारणले गर्दा त्यसो भएको हुन सक्छ। अनुभूतिलाई शब्दमा रूपान्तरण गर्ने प्रक्रिया सोचेको जत्तिको सहज हुँदैन। कवितामा झन् गाह्रो हुन्छ। कवितामा गरिने अनुभूति अन्तर्बोधात्मक हुन्छ। जबसम्म कविताको जीवन जिउने साधना गरिँदैन तबसम्म कविता र शब्द रूपान्तरणको प्रक्रिया अपूर्ण नै रहिरहन्छ। कविले कविताको जगत् र व्यावहारिक जगत् माझमा साँगो बनाउने काम गरिरहनुपर्छ जस्तो लाग्छ। कहिलेकाहीँ कविताको मर्म र अर्थ शब्दहरूले बोक्न नसक्दा पनि कविताको शब्द रूपान्तरण कार्य आफैमा गाह्रो भएर जान्छ। एकार्थमा कविताको शब्द रूपान्तरण हुनु भनेको नै कविताको जन्म हुनु हो। त्यस्तो रूपान्तरण पीडा भनेको नै प्रसूति पीडाजस्तो हो। सुन्दर कुराचाहिँ के हो भने अघिसम्म अवस्थित नभएको कुरालाई शब्दमा अवस्थित बनाउनु भनेको एउटा अलौकिक सिर्जना शक्तिको अनुकरण गर्नु पनि हो। शून्यता (न कंचित) बाट केही सिर्जना गर्नु हो। त्यसमा एउटा छुट्टै आनन्द हुन्छ।

वैद्यनाथ उपाध्यायः हजुरको दैनिकी अर्थात् दिनचर्याका विषयमा प्रकाश पार्नुहोस्। लेखकहरूमा यसको कस्तो महत्त्व हुन्छ?
इगम खालिङः चाहेको जस्तो जीवन कसैको हुँदैन। दिनको सुरूवात घरका साधारण कामहरूबाट नै सुरु हुन्छ। त्यसमा पनि दिनको धेरै जसो समय विद्यालयमा नै बित्ने गर्दछ। छुट्टीको दिनमा पढ्न र लेख्न अलिक समय पाइन्छ। तर मनमा एउटा सङ्कल्प बनाई राख्ने गरेको छु कि जस्तै स्थितिमा पनि प्रत्येक दिन एकै अनुच्छेद मात्र भए पनि पढूँ, र एक वा दुई वाक्य मात्र भए पनि लेखूँ। त्यो मेरो पठन र अध्ययनप्रतिको श्रद्धा हो। जीवनको अर्थ खोजाइ पनि हो। एकजना लेखकका निम्ति अध्ययन, चिन्तन र लेखन प्राणवायुजस्तै हो। त्यसमा नै उनको अस्तित्व, सन्तुष्टि र महानता निहित हुन्छ।

वैद्यनाथ उपाध्यायः हजुरको पारिवारिक पृष्ठभूमि कस्तो थियो? हजुरको लेखन पारिवारिक स्थितिले कस्तो प्रभाव पारेको छ?
इगम खालिङः मेरो जन्म चियाबारीको एक साधारण परिवारमा भएको हो। आफ्नो अभिभावकले जिउनुभएको अपुग र आर्थिक सङ्घर्षको भागिदारी बनेर हुर्किएको व्यक्ति हुँ। संस्कार र मानव मूल्यहरूलाई शिरोपर राख्दै आउने मेरो परिवार जस्तासुकै स्थितिमा पनि मेरो शिक्षाका निम्ति अलिकति पनि पछि नहटी सधैँ समर्पित रहँदै आएको छ। मेहनत र सत्यमा अटल विश्वास राख्ने मेरो परिवारले मानवतालाई मात्र नभएर सर्वोदयलाई अवलम्बन गर्दै आइरहेको छ। त्यसको प्रभाव मेरो लेखनमा अवश्य परेको छ।

वैद्यनाथ उपाध्यायः कविता र लेख—यी दुई विधामा लेख्दा तपाईँको भाषा, दृष्टि र जिम्मेवारी कत्तिको फरक हुन्छ?
इगम खालिङः स्वत: आएको कविता मात्र लेख्न सहज हुन्छ। बाहिरी वा भित्री वस्तु र घटनाले छुनुपर्‍यो तब मात्र कविताको ऊर्जा उत्पन्न हुन सक्छ। कहिलेकाहीँ अति चिन्तनले पनि कविताको सिर्जनामा बाधा पुर्‍याउन सक्छ। हुन त, अध्ययन र चिन्तन जीवनसित चलिरहे तापनि अध्ययनले कविताको सिर्जनाभूमिलाई स्पर्श गर्न सक्छ र चिन्तनले लेखादिको सिर्जनाभूमिलाई। भाषा, दृष्टि आदिलाई दुवै कविता र लेखमा महत्त्व दिनुपर्छ, तर मेरो व्यक्तिगत विचार चाहिँ के छ भने कविताले सर्जकलाई अलिक फराकिलो स्पेस दिने गर्दछ किनकि कविता भनेको त्यो व्यक्तिगत स्मृति वा अनुभूतिको क्षण शब्दमा कैद गर्ने कार्य हो। कवितामा जत्तिको स्वतन्त्रता र स्वेच्छाको प्रयोग लेखमा गर्न नसकेको अनुभव हुन्छ। लेख लेख्दा भाषा, दृष्टि र जिम्मेवारी बोध भइरहन्छ। लेखलाई सबैले कवितालाई भन्दा ज्यादै गम्भीरताको साथमा लिने गरेको पाइन्छ। लेखक हुनु भनेको खतरनाक कुरा हो जस्तो लाग्छ। लेखकले भूल गर्‍यो भने पनि लेखेर नै गर्दछ।

वैद्यनाथ उपाध्यायः आजको समकालीन साहित्यले मान्छेको भित्री पीडालाई कत्तिको न्याय गरिरहेको जस्तो लाग्छ?
इगम खालिङः समकालीन साहित्यले मानिसको भित्री पीडालई व्यापक रूपमा अन्वेषण गर्दै आइरहेको पाइन्छ। मानिसको मानसिक, भावनात्मक, मौलिक र सामाजिक अस्तित्वको पीडालाई फिल्टर नगरी परीक्षण गर्नु रही आएको पाइन्छ। यस अर्थमा समकालीन साहित्यले मानिसको दर्दनाक यथार्थलाई प्रतिबिम्बित गर्ने ऐनाका रूपमा काम गर्दै आइरहेको छ। समकालीन साहित्यले व्यक्तिगत र सामाजिक आलोचनाका रूपमा कार्य गरिरहेको हुन्छ। डिजिटल अलगाव (आइसोलेसन), सामाजिक असमानता, र पर्यावरण चिन्ता जस्ता बाहिरी शक्तिहरूले (कारकहरूले) कसरी आन्तरिक पीडा उत्पन्न गर्दछ भन्ने विषयलाई पनि जाँच गरिरहेको हुन्छ। चिन्ता, अवसाद, विकार र उत्तर-आघातात्मक तनाव जस्ता विषयहरूलाई विशेष ध्यान दिँदै आइरहेको छ। समकालीन साहित्य मानिसको आन्तरिक पीडालाई न्यायसङ्गत गर्नमा व्यस्त देखिन्छ। पीडा (अमानवीयता) निम्त्याउने प्रणालीहरूलाई साहित्यको न्याय अदालतमा उभ्याउने प्रयास गरिरहेको पाइन्छ। यसले अर्थ सिर्जना गर्न, समानुभूति प्रवर्द्धन गर्न, र कलङ्क घटाउन मानिसहरूको आन्तरिक पीडा, हानि र निराशालाई प्राथमिकता दिन्छ। त्यसकारण, कृत्रिम बुद्धिमत्ता र डिजिटल संसारले सिर्जना गरेको एकाकीपन र चिन्तालाई ऐतिहासिक जागरूकताको साथ सम्बोधन गर्नु भनेको मानिसहरूलाई पीडा, अलगाव र पूर्वाग्रहसँग सामना गर्न सिकाउनु हो।

वैद्यनाथ उपाध्यायः तपाईँका रचनामा मौनता, खालीपन र असन्तोषको बिम्ब दोहोरिइरहन्छ। के यो व्यक्तिगत जीवनबाट आएको हो कि सामूहिक यथार्थको प्रभाव हो?
इगम खालिङः प्रविधि र प्राविधिक वस्तुहरूले मानिसलाई आफ्नो मौलिक जीवनदेखि टाढा लगिरहेका छन्। यस्तो स्थितिमा सत्यका स्वरूपको ज्ञान हुन थालेपछि मानिसमा असन्तुष्टि सिर्जना हुन थाल्छ र ऊ आफैसित विमुखतातिर लाग्न थाल्छ। मौनता असिकाइको (अनलर्निङको) एउटा पाटो पनि हो। मौनता आफैसितको आविष्कारको परिणाम पनि हो। यो सत्य होइन वा यो मौलिक होइन वा वास्तविक होइन भन्दा-भन्दै पनि त्यसमा नै जिउनुपर्ने बाध्यताको सचेतनाले गर्दा आफैसितको असन्तुष्टि पनि हो। आफूले बुझेको जस्तो नपाउनु साथै सांसारिक बेतुकापनको कारणले गर्दा पनि आफैमा मौनता, एकलोपन र असन्तुष्टि जन्माउने गर्दछ।

वैद्यनाथ उपाध्यायः साहित्य लेखनमा तपाईँ आत्मसन्तुष्टिलाई बढी महत्त्व दिनुहुन्छ कि पाठकको प्रतिक्रियालाई?
इगम खालिङः म पनि साहित्य लेखनमा पाठक प्रतिक्रियाभन्दा आत्मसन्तुष्टिलाई बढी महत्त्व दिने गर्दछु। तर यसमा आत्मसन्तुष्टि कहाँबाट आउँछ भन्ने कुराले विषयगत रूपमा अलिकति फरक पार्दछ। फेरि पाठक प्रतिक्रिया पाठकको अधिकारका विषय पनि हो। लेख्नु भनेको लेखकको आन्तरिक आवश्यकता मात्र नभएर आफैमा एउटा आवश्यकता पनि हो। उनी वर्ग, समाज, देश, विश्व, मानवीय मूल्य र संस्कृति जोगाउन मात्र होइन, आफूलाई बचाउन पनि लेखिरहेका हुन्छन्। लेखकको लेखनमा आत्मसन्तुष्टिको अभिप्राय लक्षित रूपमा रहे तापनि त्यो उनले चाहेको जस्तो सम्भव चाहिँ हुँदैन। त्यो सिर्जनाको नियति पनि हो किनभने चेतना आत्माको अन्तर्निहित गुण हो ।

वैद्यनाथ उपाध्यायः आजका युवा लेखकहरूका रचनामा तपाईँले देख्न चाहनुभएको सबैभन्दा ठुलो गुण के हो?
इगम खालिङः आजको जस्तो डिजिटल आवाज र कृत्रिम बुद्धिमताद्वारा उत्पादित सामग्रीबाट संतृप्त युगमा विश्वव्यापीकरण भएको (प्रतिबिम्बित) गोप्य आवाज नै मानव मूल्य हो। मौलिकता, इमान्दारिता, समानुभूति, सामाजिक चेतना, लचिलापन, अनुकूलन क्षमता, यथार्थमा आधारित, अटलता, समर्पणजस्ता गुणहरूका अपेक्षा राखिए तापनि भावनात्मक गहिराइ र इमान्दारितालाई विशेष प्राथमिकता दिइन्छ। आजका युवा लेखकहरूका कृतिमा मैले देख्न चाहेको सबैभन्दा ठुलो गुण भनेको इमान्दारिता एवं कृतिको मूल मुद्दा हो। अध्ययन, अभ्यास र ज्ञानले मात्र रचनालाई पुग्दैन त्यसमा इमान्दारिता र मुद्दा हुन अति आवश्यक छ त्यो जेसित पनि हुन सक्छ—व्यक्तिगत, विषयगत, जातिगत, समाजगत, राष्ट्रियगत, व्यवस्थागत, विश्वासगत, आस्थागत आदि। उद्देश्य र प्रयोजनबिनाको रचनाबाट वस्तुकरणको अपेक्षा राख्न सकिँदैन।

वैद्यनाथ उपाध्यायः सामाजिक सञ्जाल र डिजिटल माध्यमले साहित्यलाई सरल बनाएको छ कि सतही? तपाईँको दृष्टिकोण के छ?
इगम खालिङः एक अर्थमा सामाजिक सञ्जाल र डिजिटल माध्यमले साहित्यलाई सतही बनाएको छ। सहजै आउँछ, सहजै जान्छ भन्ने उखानजस्तो बनाएको छ। सिर्जनाको मानकीकरण, फिल्ट्रेसन, मौलिकताका समस्याहरू उत्पन्न भएर आएको छ। चलाकीपन, मनोरञ्जन र वितरणलाई विशेष ध्यान दिएको पाइन्छ। तर जे होस्, हामीले समयको परिवर्तन र मागलाई स्वीकृति दिनै पर्ने हुन्छ। यसका दुवै गुण र हानिलाई लिएर सचेतनापूर्वक अघि बढ्नुपर्ने बाध्यता हामीलाई आइलागेको छ। कुरा के पनि हो भने सामाजिक सञ्जाल र डिजिटल संसारले साहित्यलाई कुनै न कुनै रूपमा सतही बनाए तापनि यसले मूल रूपमा त्यस्तो बनाउन सक्दैन। यसले साहित्य सिर्जना संसार नै परिवर्तन गरिदिएको छ। यसको साथसाथै साहित्य र कलालाई सुलभ, लोकप्रिय र लोकतान्त्रिक बनाउने माध्यमलाई सरलीकृत गर्दै आइरहेको कुरालाई अस्वीकार पनि गर्न सकिँदैन।

वैद्यनाथ उपाध्यायः कविता तपाईँका लागि सौन्दर्यको साधना हो कि प्रतिरोधको स्वर?
इगम खालिङः कविता हामी मानवको नैसर्गिकतामा नै हुन्छ। त्यसमा पनि हामी प्रकट गर्ने विवेकशील प्राणी पर्‍यौँ। “हुनु र बन्नु” को परिणाम नै प्रकटीकरण हो। त्यसका स्वरूप र माध्यम भिन्ना-भिन्नै हुन सक्छ। त्यसैकारण म प्रतिरोध स्वरलाई कविताको आन्तरिक आवश्यकता मान्दछु।

वैद्यनाथ उपाध्यायः साहित्यले समाज परिवर्तन गर्न सक्छ भन्ने मान्यता तपाईँ कत्तिको विश्वास गर्नुहुन्छ?
इगम खालिङः परिवर्तनका कुरा गर्दा हाम्रो मनमा एउटा कुरा चाहिँ प्रष्ट हुनुपर्छ अनि त्यो हो ‘सकारात्मक परिवर्तन’। साहित्यले व्यक्तिमा विचार र कलाद्वारा सकारात्मक सुधार ल्याउँदछ। त्यसरी नै समाज र विश्वमा सकारात्मकता ल्याउँदछ। भौतिक विकास र परिवर्तन वैचारिक परिवर्तनबिना सम्भव हुन सक्दैन। वैचारिक परिवर्तन र समाधान साहित्यबाट नै सुरु हुन्छ।

वैद्यनाथ उपाध्यायः तपाईँको लेखन यात्रामा सबैभन्दा ठूलो मोड वा निर्णायक क्षण कुन थियो?
इगम खालिङः माफी चाहन्छु कि त्यस्तो ठुलो वा अविस्मरणीय मोड वा निर्णयक क्षण स्मरणमा आउनै सकेन।

वैद्यनाथ उपाध्यायः अहिले लेख्न बाँकी रहेको, तर मनमा गहिरो गरी बसिरहेको विषय के हो?
इगम खालिङः मेरो दोस्रो कविता सङ्ग्रह कथाइगम (२०२४) भित्रको एउटा कविता ‘जून र लुतो लागेको कुकुर’ (पृष्ठ ३०) बाट पुनरुत्थान (रेजरेक्ट) गरी ल्याएको कुकुरको आत्मकथालाई उपन्यासका रूपमा लेख्ने मन छ। समयले कत्तिको साथ दिने हो त्यो चाहिँ थाहा छैन।

वैद्यनाथ उपाध्यायः अन्त्यमा—डा. इगम खालिङ लेखक मात्र होइन, एक संवेदनात्मक चेतना पनि हुन्। भावी पुस्ताले तपाईँलाई कस्तो लेखकका रूपमा सम्झोस् भन्ने चाहना छ?
इगम खालिङः भावी पुस्ताले मलाई एकजना छुट्टै प्रकारको लेखकका रूपमा सम्झियोस् भन्ने चाहना छ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।