19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

‘कला,स्रष्टा र साहित्य' मा विहङ्गावलोकन

कृति/समीक्षा चिरञ्जीवी दाहाल March 14, 2026, 9:08 am
चिरञ्जीवी दाहाल
चिरञ्जीवी दाहाल

साहित्य शब्दहरूको जमघट मात्र होइन,जीवनको सुगन्ध हो । मानव आत्माको अन्तरतम कुण्डद्वारा बगिरहने भावनाको झरना हो । भूगोल, इतिहास र संस्कृतिको अदृश्य तन्तुमा गाँसिएर जन्मिएको साहित्य कुनै पनि समाजको जीवित परिचय हो । दूर्भाग्यको कुरा अहोरात्र साहित्य साधनारत कतिपय साधकहरू गुमनाम छन् । त्यसरी लामो समयदेखि ओझेलमा परेका र वर्तमान समयमा पनि पूर्व चितवनमा रहेर क्रियाशील रही साहित्य कर्म गरिरहेका, गीत सङ्गीत र अभिनयको क्षेत्रमा लागिपरेका सर्जकहरूको यथासम्भव विवरण सङ्कलन गरी तिनका सुन्दर कला , साधना र कृतिहरूको लघु आकार-प्रकारमै चिनारी दिइने प्रयास गरिएको साहित्यकार केशवराज आमोदीको प्रस्तुत कृति, रत्ननगर वाङ्मय प्रतिष्ठान चितवनले प्रकाशन गरेकोमा अत्यन्त खुशी लागेको छ । यस कृतिमार्फत पूर्वी चितवनमा रहेर साहित्य कर्म गरिरहेका तिनै कला र साहित्यका प्रतिभाहरूको विषयमा छोटो-मीठो समीक्षात्मक टिप्पणी प्रस्तुत गरिएको छ ।

पूर्वी चितवनलाई बुझ्न र अनुभव गर्न चाहनेले यहाँको कला, स्रष्टा र साहित्यसँग साक्षत्कार गर्नु अपरिहार्य हुन्छ । यसरी हरेक सर्जकसँग साक्षत्कार गर्ने कुरा त्यति सहज छैन, यसका लागि लामो र घुमाउरो बाटोको यात्रा तय गर्नुपर्छ तर यो कृतिले कठिन र घुमाउरो बाटो छोट्याइ दिएको छ । अब पूर्वी चितवनका साहित्यकार तथा कलाकारहरूको परिचय एउटै पुस्तकमा उपलब्ध हुने भएको छ । यस कार्यलाई अत्यन्त सहज बनाइदिएका छन् कृतिकार केशवराज आमोदीले ।

मा निषाद प्रतिष्ठा त्वमगम: शाश्वती: समा:
यत्क्रौञ्चमिथुनादेकमवधी: काममोहितम् ।।

भनिन्छ ,आदिकवि वाल्मीकिद्वारा संरचित सृष्टिकै पहिलो कविता, चितवनमा अवस्थित वाल्मीकि आश्रमको पवित्र भूमिमा रचना गरिएको थियो । त्यसैले पनि काव्य र साहित्यको फाँटमा चितवन निकै उर्वर छ । यहाँ अनगिन्ती सर्जकहरू सिर्जना कार्यमा तल्लीन देखिन्छन् ।

वर्षेनी संसारका हजारौँ पर्यटक आएर प्राकृतिक सौन्दर्यको आस्वादन गर्ने गरिएको लोकविख्यात वनवाटिका “चितवन राष्ट्रिय निकुञ्ज" पूर्वी चितवनमा नै पर्छ । जहाँ विराट हरियालीको काखमा अवस्थित उर्बरभूमिमा तपतप पसिना चुहाएर यहाँको फाँटमा धान झुलाउने र सुन फलाउने किसानहरू वसोवास गर्छन् । जहाँ सहिष्णुताका कथाहरू पढ्न पाइन्छ । पहाड र तराईबीचको पुलझैं उभिएको चितवनमा विविध जातजातिको रङ,संस्कृतिको स्वाद,बोलीचालीको मिठास र जीवनदर्शनको घनत्व भेटिन्छ । यति मात्र होइन यहाँको साहित्यले हरेक मान्छेको आत्मा छोइरहेको पाइन्छ । लाग्छ, मुलुकको राजधानी हुने सौभाग्य प्राप्त नगरे पनि चितवनले साहित्यको राजधानी बन्न सक्ने सम्भावना भने अझै बोकिरहेको छ । यहाँ अनगिन्ती साहित्यकार र साहित्यकारका अनमोल सिर्जनाहरूले अनेकौँ सुगन्ध छरिसकेका छन् अझै छर्ने क्रममा छन् ।

यही पूर्वी चितवनको सुगन्धित माटोमा फुलिरहेका साहित्यका मगमगाउँदा एउटा फूल बनेर सुगन्ध छरिरहेका सुपरिचित साहित्य साधक हुन् केशवराज भट्टराई । कवितात्मक अनुभूतिको लघुतम यात्रादेखि वृहत्तर यात्रासम्म उनको प्रस्तुति रोचक र रमणीय मात्र नभई उत्तिकै स्तरीय समेत रहेको छ । आफ्नो माटोलाई सुगन्धित तुल्याउनुको साथै उनले साहित्यको गौरव बढाइरहेका छन् । विक्रमसंवत् २०१३ साल जेष्ठ २० गते तनहुँ जिल्लाकाे केशवटार सुखौरामा जन्मिएका यिनै भट्टराई, साहित्य आकाशमा केशवराज आमोदीको नामले सुप्रसिद्ध छन् । हाल रत्ननगर नगरपालिका वार्ड नं- १३, माधवपुर चितवनलाई आफ्नो स्थायी बसोबास बनाएर साहित्य साधनामा तल्लीन महाकवि आमोदीका दर्जनौं कृतिहरू प्रकाशित भइसकेका छन् ।

विभिन्न साहित्यिक संस्थासँग आवद्ध आमोदी दर्जनौं साहित्यिक संस्थाबाट पुरस्कृत र सम्मानित भइसकेका व्यक्तित्व हुन् । विद्यार्थी अवस्थादेखि साहित्य साधनामा क्रियाशील आमोदीले विभिन्न साहित्यिक पत्रिकाहरूको सम्पादनसहित दर्जनौं सुन्दर र ऐतिहासिक साहित्यिक कृतिहरूलाई जन्म दिएका छन् ।

मेरो जानकारीमा आएअनुसार, आमोदीको सिरानी मुनि करिब एक दर्जन जति पाण्डुलिपि प्रकाशनको प्रतीक्षामा रहेका छन् । आशा छ कुनैदिन तिनको समेत रसपान गर्ने अवसर प्राप्त हुने नै छ । साहित्यको जुनसुकै विधामा पनि कलम चलाउने क्षमता भएका आमोदीको पुनः एउटा खोजमूलक समालोचनात्मक कृति ‘ कला स्रष्टा र साहित्य ' प्रकाशनको पूर्ण तयारीमा छ ।

चितवनमा “गजल गुरु"को नामले चर्चित आमोदी बहर-बद्ध गजलका कतै प्रशिक्षण र कतै समीक्षमा व्यस्त देखिन्छन् । त्यसो त आमोदीका गजलसम्बन्धी सिद्धान्त र प्रयोगमा आथारित तीन थान कृतिहरूसहित फुटकर रूपमा प्रशस्त बहरसित सम्बन्धित समीक्षाहरू पनि प्रकाशित भइसकेका छन् । गजल र मुक्तक विधामा मात्र होइन उनले श्रीमद्भागवत महापुराणमा आधारित उत्कृष्ट महाकाव्य “उषा अनिरुद्ध (२०७४) प्रकाशनसँगै महाभारतको , कथा कोशबाट झिकेर “ मत्यगन्धा महाकाव्य"(२०८१) प्रकाशित गरेपछि उनी चर्चाको शिखरमा छन् । उक्त महाकाव्यमा १५६ वटा छन्द समावेश गरिएको छ भने दशवटा बन्धचित्रहरू पनि समाविष्ट छन् । सायद यति धेरै छन्द र बन्धचित्रहरू समावेश भएको यो पहिलो नेपाली महाकाव्य हुनसक्छ ।

यसैगरी गद्य विधातर्फ पनि आमोदी समालोचना, लघुकथा, कथा र निबन्ध लेखन कार्यमा उत्तिकै कुशल मानिन्छन् । समाजसेवामा रुचि राख्ने आमोदी निश्छल, निष्कलङ्क, इमान्दार र भद्र स्वभावका साथै मिलनसार बहुमुखी प्रतिभा सम्पन्न साहित्य साधक हुन् । छन्द कवितामा चिठी लेखेर सवाल जवाफ गरिरहने अद्वितीय प्रतिभा भएका दुईजोडी केशवराज आमोदी र आशुकवि कविवर गोविन्दराज विनोदीद्वारा किशोर कालदेखि नै छन्दकवितामा पत्रोत्तर विनिमयको क्रममा मीत लगाएको प्रसङ्ग सन्तकवि विनोदी गुरुका मुखकमलबाट मैले प्रत्यक्ष सुनेको छु ।

यी मृदुभाषी स्वभावका कविद्वयमा काव्य सिर्जना गर्ने अद्वितीय प्रतिभा देख्न पाइन्छ । विनोदीले खण्डकाव्य वा महाकाव्यका लागि रामायणको कथालाई उपजीव्य बनाइएको पाइन्छ भने सोही प्रयोजनका लागि आमोदीले भने भागवत र महाभारतको कथालाई उपजीव्य बनाउन रुचाउँछन् । विनोदीको “कैकेयी महाकाव्य"(२०७४) अशोक वाटिका खण्डकाव्य (२०७७) र शूपर्णखा खण्डकाव्य (२०६९) एवं आमोदीको उषा अनिरुद्ध महाकाव्य (२०७४) तथा मत्स्यगन्धा महाकाव्य (२०८१) त्यसैको प्रमाण हो ।

आमोदी आफ्ना कृतिहरू मात्र लेखेर विश्राम गर्दैनन् । नेपालका विभिन्न जिल्लाका साहित्यकर्मीद्वारा प्रकाशित महाकाव्य, निबन्धसङ्ग्रह, कथासङ्ग्रह, हाइकु- गजलसङ्ग्रह, मुक्तकसङ्ग्रह र उपन्यास, समालोचना लगायत अन्य विविध विषयका कृतिहरूमा यिनले भूमिका लेखिदिने गरेका छन् ।साथीभाइको आग्रहलाई टार्न नसकी विभिन्न साहित्यकर्मीका सय डेढसय कृतिहरूमा यिनको भूमिका देख्न पाइन्छ । चितवनमा अस्तित्वमा रहेका धेरै साहित्य संस्थामा सल्लाहकारसमेत रहेका आमोदी आफ्नो अधिकांश समय साहित्य साधनामा खर्च गर्ने गर्छन् । जीवनमा अनगिन्ती सुख र दु:खका आरोह-अवरोह बेहोरी सकेका आमोदी अविश्रान्त साहित्यसाधक हुन् भन्दा अत्युक्ति नहोला ।

पूर्व चितवनमा त्यसो त रत्ननगर नगरपालिका, कालिका नगरपालिका, खैरहनी नगरपालिका र राप्ती नगरपालिका समेटिएको छ । चितवनको समथर फाँटहरूले मात्र पूर्व चितवनको परिचय पूर्ण हुँदैन । यो शक्तिखोर, सिद्धि र लोथर जस्ता पहाडी भेगहरू समेत मिलेर बनेको छ । यही सम्पूर्ण भूभागमा अनगिन्ती साहित्य शिल्पीहरूले बसोवास गर्छन् । यी सबैसँग प्रत्यक्ष रूपमा भेटघाट गरेर सबैको तीनपुस्ते विवरणसहितको जन्म-कुण्डलीसमेत समावेश गरी पूर्वी चितवनमा कार्यरत साहित्यकार र कलाकर्मीहरूबाट प्राप्त विवरण अद्यावधिक गर्नु चानचुने कुरा होइन । साहित्यिक आन्दोलनले साहित्यकार थाक्दैन भने जस्तै आमोदी साहित्य कर्ममा जब तल्लीन हुन्छन् सायद यिनको शब्दकोशमा थकाइ भन्ने शब्द नै हुँदैन । यिनका कतिजोर जुत्ताका तलुवा खिएर गए होलान् , यिनको होचो शारीरिक कद र पातलो शरीरबाट कति पसिनाका धारा छुटे होलान् तर आमोदीले पूर्वी चितवनका एकएक कलाकर्मी र साहित्यकर्मीसँग भेटघाट गरे, कतिलाई फोन सम्पर्क गरे, केही सर्जकलाई खोज्न महिनौँ लगाए,अनिमात्र यो ग्रन्थ तयार भयो । यिनको त्यही अविश्रान्त परिश्रमले यो सुन्दर र सर्वोपयोगी ग्रन्थ तयार भएको छ, ”पूर्वी-चितवन कला,स्रष्टा र साहित्य " ( २०८२ ) प्रस्तुत ग्रन्थ त्यही शक्ति, त्यही सुगन्ध र त्यही सिर्जनात्मक यात्राको अविस्मरणीय दस्तावेज हो ।

नेपाली वाङ्मयका अथक साधक केशवराज आमोदीले बालुवाको स्थूल थुप्रोबाट सूक्ष्म आकारका सुनका टुक्रा टिपेर एउटा रङ्गीन स्वर्ण माला तयार गरेका छन् । उनले उड्दै गरेको पक्षीराजले आकाशबाट आहार देखेझैं साहित्यिक चेतनाको विस्तृत फलकलाई नियालेर आफ्नो अद्भुत क्षमता प्रस्तुत गरेका छन् । आशा छ, कृतिमा समेटिएका साहित्यकार, साहित्यकारका सिर्जनाहरू, कलाकार र तिनका सिर्जनाहरू कालजयी बनेर लिखित साक्ष्यको रूपमा युगौँयुगसम्म रहिरहनेछन् । प्रस्तुत कृतिका माध्यमबाट अनुसन्धाता, विद्यार्थी, शोधार्थी तथा अन्य जोसकुकै पनि लाभान्वित हुनेछन् ।

कला, स्रष्टा र साहित्यको यो समालोचनात्मक सामग्रीले पूर्वी चितवनका साहित्यकारहरूको निरन्तर सङ्घर्ष, कलममा भिजेका आँसु र पसिना तथा उनीहरूको सिर्जनामा फुलेका आशा र सपनालाई उजागर गरेको छ । कृतिका पानाहरूमा दर्जनौँ साहित्य सिर्जना गर्ने सर्जकदेखि लिएर एउटा मात्र कृतिका सर्जक र गायकदेखि चलचित्रका नायकसम्म अटाएका छन् । यस पुस्तकले पाठकलाई स्मरण गराउँनेछ, साहित्य कुनै बन्द कोठाको विलास मात्र होइन, यो खेतका आली-गह्रा, बारीका कान्ला-कुन्ली र खोल्सा-खोल्सीमा अविरल बगिरहेका पानीझैं युगौं मानिसको मुटुमा गुन्जिरहने स्वर हो ।

“साहित्य जीवनको दर्पण मात्र होइन, जीवनलाई रूपान्तरण गर्ने कर्म-शक्तिको सुन्दर मार्ग-निर्देशनको आलोक पनि हो ।” विश्वास छ, यो पूर्वी चितवनको साहित्यिक विहङ्गावलोकन वा इतिहासको सूची मात्र बन्ने छैन , बरु यसले नयाँ पुस्तालाई साहित्य सिर्जना गर्ने आत्मबल, सामाजिक चेतना जगाउन र साहित्यलाई जीवनसँगै जोड्ने ऊर्जा प्रदान गर्नेछ । प्रस्तुत कृतिले समग्र पूर्वी चितवनको साहित्य कला र गलालाई एउटै पुस्तकमा समेटेर उनका भावक -पाठकका निम्ति कला र साहित्यलाई नयाँ दृष्टिबाट नियाल्न सक्ने दर्पण बनाइदिएको छ । यो दृष्टि केवल आँखाको मात्र होइन, आत्माको हुनेछ ।

प्रस्तुत कृतिमा पूर्व चितवनमा सबैभन्दा पुराना साहित्यकार कलानाथ अधिकारी, चितवन शिखरबास र ईश्वरी ओझादेखि सबैभन्दा पछिल्लो पुस्ताका दर्जनौँ साहित्यकार, गायक र सिनेमाका कलाकारहरूको विवरण उल्लेख गरिएको छ । कृतिमा पूर्व चितवनलाई कर्मभूमि बनाएर पुस्तक प्रकाशन गर्न बाँकी रहेका तर फुटकर सिर्जना गरिरहेका साहित्यकार र कलासाधकहरू पनि समेटिएका छन् । प्रस्तुत 'कला, स्रष्टा र साहित्यका सर्जक आमोदी ' संस्कृत भाषाका समेत प्रकाण्ड विद्वान् भएका नाताले कृतिमा अत्यन्त सुन्दर शब्द चयन गरिएको छ । समग्रमा कृति उत्कृष्ट बनेको छ । अन्त्यमा साहित्यकार केशवराज आमोदीको सुख , शान्ति र समृद्धिको कामना गर्दछु । यो महत्त्वपूर्ण सुन्दर कृतिका लागि आमोदी गुरुप्रति हार्दिक नमन गर्दै लेखनी थाम्दछु ।

कालिका चितवन ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।