यसपाली त शान्त विद्रोहको आँधी आएको छ
नारामा होइन, एकान्तको गोप्य कोठाबाटै
पुस्ताौँदेखि थुनिएको इतिहासको ढोका ढक्ढक्याएर
एउटा सानो छापले ठुलो फैसला सुनाइएको छ ।
हातमा पुल्ठो बोकेर सडक तताउनेहरू होइनन् यी
न त चोकमा टायर बालेर धूँवा उडाउनेहरू हुन्,
उनीहरूले ढुंगा हानेर कसैको टाउको फुटाएनन्
सामाजिक सञ्जालबाटै तीखो बहस गरिरहेका थिए ।
रङ्ग उडेका भित्ताहरूलाई साक्षी राखेर
युवा चेतले आज स्पष्ट भनिदिएको छ,
‘अब हाम्रो भविष्य कसैको निगाहमा होइन,
हाम्रै विवेकको तराजुमा जोखिनु पर्छ ।’
हल्ला नगरीकनै आएको यो सुनामीले
भोलिको बिहानीलाई एउटै सन्देश दिएको छ,
परिवर्तन अब भाषणको मञ्चमा होइन,
सचेत नागरिकको औँलाको टुप्पोमा मुस्कुराउनेछ ।
पुरानो विरासतको पर्खालमा दरार परिरहँदा
यी नयाँ पाइलाहरूले आफ्नै बाटो कोरेका छन्,
सपना बेच्नेहरूको बजारमा अचेल,
यिनले आफ्नै पसिनाको मूल्य रोजेका छन् ।
न यो कुनै पूर्वाग्रह थियो, न त प्रतिसोध नै
यो त वर्षौँदेखि गुम्सिएको चेतको आवेग हो,
यहाँ तराजुमा एउटा भोट मात्र खसेको छैन,
त्यहाँ त सिंगो देश बदल्ने एउटा विवेक खसेको छ ।
नहोस् यहाँ भोकमारी, अभावले गलाउने रात नहोस्,
दुःखीका ती झुपडीमा खाली हात र अभाव नहोस् ।
पसिनाको मूल्य खोज्दै खाडी भासिनु नपरोस् अब,
दक्ष जनशक्ति परदेशमै हराउने इतिहास नहोस् ।
युवाका ती काँधहरूमा देश धान्ने आधार चाहिन्छ,
विदेशिने लहर होइन, आफ्नै माटोमा सार चाहिन्छ ।
यहाँ खोजेको न्यायपूर्ण असल शासन हो,
अब निमुखाको आँगनमा खुसीको बहार भर्न सक्नुपर्छ ।
जर्जर विरासतका खण्डहरमा अब, नवीन इँटाहरू थपिएका छन्
यी तन्नेरी औँलाहरूले केबल मसी होइन, भविष्य लेखेका छन्,
चुनावी उत्सवको भिडमा हराउने पात्र मात्र होइनन् यिनीहरू,
यिनले त मौनताको गर्वबाटै एउटा जीवन्त विद्रोह हुर्काएका छन् ।
अबको मार्ग केवल सत्ताको आरोहण वा सिँढीमात्र हुनुहुँदैन
यो त उत्तरदायित्वको कडा अग्निपरीक्षा र संकल्प हुनुपर्छ,
जहाँ विवेकले संवेगलाई र सत्यले सत्तालाई सधैँ डोर्याओस्
अबको हरेक पाइला सुशासनको एउटा अटल विकल्प हुनुपर्छ । ।
दमक, झापा