ठुलो विषय वा कुरामा मात्र होइन साना कुरामा पनि असाधारण शक्ति लुकेका हुन्छन् भन्ने जोकोहीलाई थाहा हुन–नहुन सक्छ । सानो प्रयास, सानो योगदान, सानो सोच र सानो वस्तुले ल्याउने परिणाम अकल्पनीय हुन सक्छ । सानोको नतिजा व्यक्ति, वस्तु, विचार काम वा प्रकृतिमा भर पर्दछ । कसैले भन्न सक्छन् सानोतिनो वा झिनोमसिनो कुरालाई त्यति साह्रो ध्यान दिनुहुन्न तर त्यही साना कुरामा ख्याल नगर्दा त्यसका परिणाम शक्तिशाली हुन्छ । जिन्दगी जिउने सन्दर्भमा ‘त्यै सानो कुरा त हो नि’ भनेर बेवास्ता गर्दा कत्राकत्रा घटना–दुर्घटना घटिदिन्छन् जुन असरले व्यक्तिगत जिन्दगी, संघसंस्थारकार्यालय, समाज, राष्ट्र र अन्तर्राष्ट्रलाई समेत हलचल पारिदिन्छन् । सानो कुरामा बेवास्ता र लापर्वाही गर्ने बानीले संसारभर ठूलाठूला नोक्सानी अथवा अपूरणीय क्षति बेहोर्नु परेका तथ्य हामीमाझ नै छन् । साना कुरामा पनि महान् शक्ति हुन्छन् भन्ने उदाहरण खोज्न साना जीव, साना चिजवीज÷पदार्थ, वाणी, व्यवहार लगायतका कुरा हेरे पुग्छ । शक्ति भन्ने कुरा विनाश र निर्माण दुवैखाले हुन्छन् । साना कुराका घटना, क्रियाकलापबाट विनास वा निर्माणका शक्ति देखिन्छन् । ससाना कुरा ख्याल गर्दा जीवन सार्थक हुन्छ । ससाना कुराका घटना सन्दर्भ आदिबाट समाज, राष्ट्रका परिवर्तनसमेत देखा पर्छन् ।
मानिसको जिब्रो कति ठूलो पो छ र ! त्यही जिब्रोबाट निस्कने तुच्छ बोलीका कारण मानिस–मानिसबीच आपसी सम्बन्ध टुट्छ, भयङ्कर शत्रुता थपिन्छ । त्यो जिब्रोले भन्दा कानहरूले धेरै मित्रहरू बनाउन सक्छ । फेरि त्यही कान जुन साना नै छन्, तिनै कानले राम्ररी नसुन्दा धोका, शत्रुता प्राप्त हुन्छ । आँखा पनि त्यति साहै ठूला त मानिन्नन् क्यारे ! आँखाले ल्याउने परिणाम सकारात्मक–नकारात्मक दुवै हुन्छन् । मानिसको अति सानो आम्दानी पनि थोपा–थोपा संग्रहको सिद्धान्तअनुसार चल्दै जाँदा राम्रो घरबार चल्न सक्छ । पैसा सानै हुन्छन् तर शक्ति भने ठूलै हुन्छ । एउटै साँचोको उदाहरण हेरौं न ः एउटा कोठामा ताल्चा लागेको छ तर खोल्ने साँचो हरायो वा छैन भने त्यसको असर कोठाभित्र रहेका महत्त्वपूर्ण तथा लाखौं, करोडौं, अरबौंको सामान थुनिन्छन् जसका कारण चीजवस्तु उपयोग गर्नबाट बञ्चित भइन्छ । त्यसै गरी मान्छेका सोच्ने कुरालाई हेरौं, सानो सोचले मानिसलाई कतिसम्म गिराइदिन्छ, उन्नतिप्रगतिका बाटोबाट कति पर पु¥याइदिन्छ । मान्छेले लेख्ने शब्द वा वाक्यको लेखाइप्रवाहले विचारशक्ति कति खल्बलाइदिन्छ । एउटा सानो कलम जसका सहायताले ग्रन्थ नै तयार पारिदिन्छ । कलमको निब सानै हुन्छ । कलम बिनाको लेखाइ सिकाइ हुन्न । संसार परिवर्तनमा कलमको भूमिका ठूलो छ । एउटा सानो पुस्तकमा पनि जीवन बदल्ने अमूल्य ज्ञान र रहन्छन् जुन जीवन परिवर्तनका सहयोगीसमेत बन्छन् । कैंयन् साना हातहतियार जसले निकै महत्त्वपूर्ण काम सम्पन्न गर्न सघाउँछन् ।
एउटा बच्चाको सानो मुस्कानले परिवारमा खुसी ल्याउछ । एउटा सानो बिउ रोप्दा पछि त्यही ठुलो वृक्ष हुन्छ । कैयन् साना अभ्यास, सानो सहयोग र सानै निर्णयले पनि व्यक्तिको भविष्य निर्धारण गर्दछ ।दैनिक सानो व्यायामले स्वास्थ्यमा ठुलो सुधार ल्याउछ । एउटा सानो नदी ठुलो नदीमा मिसिदा ठुलो शक्ति बन्छ । सामान्य वैज्ञानिक खोज वा सानै राजनीतिक कदमले विश्वको दिशा परिवर्तन गर्न सक्दछ ।
हरेक दिनको सानो अध्ययनले पनि ठुलो ज्ञान निर्माण गर्दछ । अरू उदाहरण पनि प्रशस्तै छन् जस्तै ःफूलको थुगो सानै हुन्छ तर त्यसको सौन्दर्य अतुलनीय हुन्छ । महको छिटो सानै नै हुन्छ तर त्यसको औषधीय गुण कति प्रभावकारी हुन्छ ? मानिसको मुटु खासै ठूलो त हुन्न तर त्यसमा केही तलवितल परे जीवनगति नै बन्द भइदिन्छ । चन्द्रमा सानै देखिन्छ तर त्यसले दिने शीतलता–प्रकाश हेरौं न । मानिस वा जुनसुकै प्राणी मार्ने विषको थोपा कत्रो ठूलो पो हुन्छ र ? जसले क्षणभरमै जिन्दगी सिध्याइदिन्छ । विश्वभ्रमण गर्ने यी हाम्रा पाउ पनि सानै छन् । सूर्य पनि सानै देखिन्छ जसले विश्वलाई प्रकाश दिन्छ भने समुद्र नै सुकाउने सामथ्र्य पनि त्यसैभित्र नै छ । सुन, चाँदी, मुगा, मोती जस्ता विविध रत्न साना छन् तर ती अमूल्य छन् । गाउँका साना झुप्राले पनि महलको काम गर्न सक्छन् । जलका थोपा सानै देखिन्छन् तर सारा धर्ती भिजाउँने र प्राणीका तिर्खाएका आत्मा शान्त पार्ने शक्ति तिनैमा छ । मौरी÷कमिला साना छन् । मौरीले मह (अमृत रस÷सुधा) तयार पार्छन् । कमिला हजारौं कोशको यात्रा गर्न सक्छन् । तिनै कमिलाले अजंग हात्तीको सुडभित्र पसेर टोके भने हात्ती मार्न सक्छन् । कमिलारमौरीले आफ्नो बास आफै बनाउछन् । यी विविध उदाहरणले सानोको पनि अर्थपूर्ण अस्तित्व रहन्छ भन्ने प्रमाणित गर्दछ । जेहोस् गुण–विशेषता सानोमा पनि उल्लेखनीय रुपमा रहन्छन् । हामीले साना मानेका बोटविरुवा, वनस्पतिहरुले जीवन र धर्तीका लागि निकै महत्त्वपूर्ण योगदान गरेका हुन्छन् । साना साना मानिने गरेका बालबालिकाका अद्भूत चमत्कार देखाउने क्षमता, निकै महत्त्वपूर्ण ज्ञान, कला, सीप भएका हुन सक्छन् । तर तिनै बालबालिकालाई हामीले साना भनेर होच्याएका पनि हुन सक्छौ ।
सलाइको काँटी त सानै हुन्छ जसले वन डढाउन र बस्ती सिध्याउन सक्छ । करोडौं धनमाल क्षणभरमै स्वाहा पारिदिन सक्छ । परमाणुबाटै परमाणु बम बन्छ । ५० वटा परमाणु (सानासाना संग्रह गरी) एकैसाथ विष्फोट गराए पृथ्वी ध्वस्त नै हुन्छ । हिरोसिमा र नागासाकी यसैको चपेटामा परेर ध्वस्त भएका थिए । पोटासियम साइनाइडको थोपो जिब्रामा परे मानिस मर्छ धेरै खानु पर्दैन । पवित्र मानिने जल, गहुँत, दुध, मह, चिनी, घ्यू, आदिका थोपा÷छिटाले प्रयोजनअनुसार पूजा कार्यमा शुद्धिको कार्य गर्दछन् । तिनलाई माना लिटरकै परिणामअनुसार प्रयोग गर्नु पर्दैन । मानिसको कत्रो पीडा समस्या वा छटपटीमा परेका बेला पनि त्यही सानो औषधिको गोलीले सञ्चो गराउँछ । साना भित्रका तागत सामर्थ्य पाइन/शक्तिलाई कम आँक्ने अवस्था देखिन्न । जिन्दगीमा समयका साना रूपहरू (सेकेण्ड, मिनेट) उपयोग गर्दा कहाँबाट कहाँ पुगिन्छ त्यो कुरा चानचुन मान्न सकिन्न । सानाका शक्ति, गुण, विशेषता भएका उदाहरण अनगिन्ती छन् । कुनै विषयका विशिष्टिकृत ज्ञान साना साना विषय सन्दर्भबाट सिकिन्छ । साना कुरा हामीलाई सरल लाग्न सक्छन् तर यिनै सरल कुराका ज्ञानबाटै जटिल जटिल लाग्ने विषयका समस्या पनि सुल्झन्छन् । प्रविधि पक्षका कुरा गरौँ हामीले प्रयोग गर्ने मोबाइल, ल्यापटप, टेलिभिजन, प्रोजेक्टर लगायतका कुरा साना साना चीजबस्तुको संयोगबाट निर्माण भएका हुन् । ती साना वस्तुको तलवितल परे संसारलाई नै कोठामा पाइने कुराबाटै बञ्चित भइन्छ ।
एउटा सानो/तुच्छ ठानिएको मानिसले कसैको सामान्य वा खेलवाड गरेर बोलेको जोक (उपहास) मय बोलीका कारण विचित्र कार्य गरेर देखाइदिन सक्छ । जस्तै कालिदास र बाल्मीकिको जीवनप्रसंग अथवा अर्को उदाहरण महाभारत युद्धको पनि छ । द्रौपदीले “अन्धाको छोरा अन्धा नै हुन्छ” भनेर दुर्योधनलाई वचनवाण प्रहार गर्दाको विषयले महाभारत युद्ध भयो । मामुली कुरा नै युद्धको कारण बन्न पुगेको थियो । सानो कुरा बोलें भनेर तुच्छ मूल्याङ्कन गरिंदा रुखो बोली विष बन्दो रहेछ । त्यही सामान्य मानिएको बोलीले अमृतको काम गर्छ जहाँ मित्रता, सद्भाव, शान्ति कायम हुन्छ । जिन्दगीका अप्रिय÷अपुरणीय क्षति गराउने घटना/दुर्घटना पनि साना लापर्वाहीले नै भएका हुन्छन् । जस्तै ः सवारी दुर्घटना हेरौं, त्यहाँ सानै कारणले पनि दर्जनौको ज्यान जान्छ । एक इन्च वर वा पर सडक छाडेर हिड्दा÷गुड्दाले भयानक दुर्गति निम्त्याउँछ । गाडीका साना साना पाटपुर्जाहरु कति महत्त्वपूर्ण छन् । तिनै मध्येका कुनै साना चिज नै बिग्रियो भने गाडी चल्नै बन्द हुन्छ, यात्रा गन्तव्यविहीन हुन्छ । एउटा कुनै रचना वा पुस्तक लेखनमा भएका साना साना त्रुटिले कति गम्भीर असर पार्दछन् ती कुरा लेखक साहित्यकारले भोगेकै छन् । त्यसकारण साना घटना साना चीजबीज सानो मान्छे, सानो पुस्तक आदि जस्ताको सयौँ उदाहरणहरु पेश गरी तिनलाई होच्याउन व्यर्थ छ । अनन्त उदाहरण छन् सानोको शक्ति र महत्त्वका । सियो कति ठूलो पो हुन्छ र ! सियोविना लुगा सिइन्नन्, हाम्रा लाज छोपिन्नन्; जाडो, गर्मी र धुलोमैलो पनि छेकिन्नन् । एउटा सानै काँडाले हामीलाई गाब्दा चस्स दुख्ने मात्र होइन पीडानुभूति नै गराउँछ । एउटा सानो ठानिएको लठ्ठी जसले ठूलाठूला पशुपंक्षीहरुलाई समेत ठेगानमा लगाउन सक्छ । धुलाका कणदेखि विश्व ब्रह्माण्डमा देखिने सारा साना कुराहरु पलपलमा महत्त्वपूर्ण हुन सक्छन् ।
ससाना गल्तीले नै जिन्दगीका महान् सपना तुहिन्छन् । ठूलो योजना, उद्देश्य वा लक्ष्यलाई बाधा पु¥याउने कारक तत्व सानासाना नै हुन्छन् । खोज अनुसन्धानका शीर्षक÷विषय पनि सानै हुन्छन् । त्यहाँबाट ठूलाठूला तथ्य पत्ता लगाइन्छन् । वैज्ञानिक उपलब्धि वा चमत्कार सानैसानै कुराका रहस्यमय जिज्ञासाले भएका छन् । अनेक अनेक उदाहरण छन् – साना कुरामा पनि महान् शक्ति हुन्छन भन्ने कुराका प्रामाणिक विवरण यहाँ लेखिसाध्य छैनन् । अन्त्यमा सबैले बुझ्नुपर्ने कुरा यो छ कि – साना कुरा भित्रका परिणाम सामान्य नै हुन्छन् भनी बेवास्तापूर्ण तरिकाले तिनलाई आकारप्रकारमा मात्र नजाचौँ । ती रहस्यमयी भित्री शक्तिले ठूला हलचल मच्चाउने सामथ्र्य राख्छन् । तसर्थ साना कुराको शक्ति बुझौं र मूल्य÷गुण बुझेर उपयोगमा लागौँ ।
राम मा.वि. राम्दी, पाल्पा