19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

फूलको अर्चना

निबन्ध पुण्य कार्की March 19, 2026, 1:43 am
पुण्य कार्की
पुण्य कार्की

फूलका हज्जार दुःख छन्, काँढालाई त के छ र ! छालामा चस्स घोचिदिए हुन्छ । हुनपनि हो किराले काट्छ फूललाई । चराले ठुङ्छ फूललाई । असिनाले हिकाउँछ फूललाई । त्यतिमात्र होइन बतासले फूललाई नै लछार्छ । आँधीले फूललाई नै पछार्छ । हिमपातले यसैलाई कठ्याउँछ । चर्केनी घामले यसैलाई अत्याउँछ । जलप्रपातको मर्मर–चोटले यसैलाई थर्काउँछ । तुषार–वर्षाको व्याँधिप्रकोप यसैमाथि ओइरिन्छ ।
ब्याँधासरी बनेर आउँछ पूजारी, यसकै गला निमोठिदिन्छ । भँवरो–गवारोले यसकै नाभी चिमोटिदिन्छ । कुनै युवती केशपाश सजाउँन यसकै डाली भाँच्छिन् । कुनै महामहिम नेता, राजदूत, राष्ट्र«पति, मन्त्री, प्रधानमन्त्री र विशिष्ट पाहुनागण कतै झुल्किँदा तिनका हातमा टक्र्याएको बुके र पुष्पगुच्छामा फूलले नै बलिदान व्यहोर्नुपर्छ । लाशमापनि फूलकै तर्पण । नवयौवनाहरुको बिहे सहवासमा पनि फूलकै अर्पण । बच्चाले च्यात्छ फूलै । जोगीले टिप्छ फुलै । सहस्र मालामा यसैले सियोको चोट खपेर उनिनु पर्ने । मन्दिर–मठका पाषाण–प्रतिमा छेउ यसैले कुहिनु पर्ने । विचित्रको उफान र उत्पीडनमा छ फूल । सनातन कालदेखि नै मन्दिरमा फूलकै न्यौछावर चलिआएको छ । भक्त–भक्तिनीलाई फूलकै दरकार छ । धामी–झाँक्रीलाई फूलकै सरोकार छ । के फूलविना पाषाणमूर्ति प्रशन्न हुनसक्तैनन् ? के फूलविना मधौरुको आङको व्यथा ओराल्न सकिँदैन ?– पूजारी र धामी दाजैलाई सोध्न मन छ । धामीदेखि रामनामी ओढ्नेसम्मले अनादिकालदेखि फूललाई चिथोरेका छन् । पिण्ड खाने पण्डादेखि देशको झण्डा हल्लाउनेसम्मले फूलकै डाली लुछेका छन् । सुन्दरीदेखि हुण्डरीसम्मले फूललाई आहत पारेको इतिहास छ । असिनादेखि भुसुनासम्मले फूललाई आतङ्कित गरेको रामकहानी छ ।
फूलमा छ सौम्य सुन्दरता । फूलमा छ हँसिलो–रसिलो विभोरता । फूलमा छ चहकिलो–महकिलो मधुरता । न यसमा छ रुक्षता न यसमा छ शुष्कता । अनन्तकालदेखि अनवरत सुगन्धको सुरापान गराउने पारवार क्षमता छ भने फूलसितै छ । अनेकन् रङका इन्द्रधनुषी जादू रचना गर्ने सामथ्र्यपनि फूलमा नै छ । फूलका पङ्खुडीमा आउनु अघि कहाँ थियो; त्यो रातो हरियो पहेँलो वैजनी गुलावी हरियो सुन्तला आकाशे कालो रङ ? मालीले न पानीमा घोलेको हो यसलाई । न मलमा फिटेको हो यसलाई । न माटोमा मिसाएको थियो । न हावामा हुँडलेको थियो । कहाँबाट रच्यो फूलले यो अपूर्व रङको जादू ? मगमग वासनाको त्यो अप्रतिम सुगन्ध कहाँ थियो ? माटोमा थियो । हावामा थियो । या त वीजकणमै लुकिबसेको थियो । सायद विज्ञानले पनि यस विषयमा ठिकठिक खोजविन गर्न सकेको छैन । वीजकणमै पो छ कि त्यसलाई अणु–अणुमा विभक्त गरी अणुविक्षण यन्त्रमा हालेर हेरे; त्यहाँपनि प्रष्ट रङको चित्र देख्न सकेनन् रे । सुगन्धको सानो झिल्कोसम्म पनि ठम्याउन सकेनन् रे । प्रकृतिको विराट रहस्य एउटै फूलको थुँगोभित्र गुम्फित छ । फूलकै कालिन वहारले कवि–चेतना कम्पित छ । अस्तित्वको एक अनमोल आवाज यसैभित्र प्रकम्पित छ ।
कुनै कविले कतै उद्वोधन गरेको पंक्तिले दिल छुन्छ– फूलमै झर्छ असिना ! चट्टानको छातीमा जति पाथी असिना बर्सेपनि त्यसको अर्थ के हुन्छ र ? असिनाको चोट स्पर्श गर्नसक्ने क्षमता फूलसित छ । पत्थरको संवेदनाहीन छातीमा त्यो चोट अनुभूत गर्ने कुनै तन्तु हुँदैन । फूलमा छ कोमल करुणा । फूलमा छ नाजुक संवेदना । तर, छेउमै उभिएको काँढा यी सब तत्वबाट कोसौं टाढा छ । फूलका आँखा छन् । ती आँखाबाटै फूल रुनसक्छ । ती आँखाबाटै फूल हाँस्न सक्छ, मुस्कुराउन सक्छ । त्यसै कहाँ रचेका हुन् र कविले– फूलको आँखामा फूलै संसार, काँढाको आँखामा काँढै संसार । काँढालाई त्यति नकार विन्दुबाट पनि नहेरौँ । किनभने फूलको रक्षक हो काढाँ । फूलको पहरेदार हो काँढा । छेउमा काँढाको साथ फूलेको फूल जति सुरक्षित हुन्छ, विना काँढा फूल्ने फूलहरु त्यति नै असुरक्षित हुन्छन् । उनीहरु अरुबाट सजिलै लुटिइन्छन्, टिपिन्छन् । सयपत्री र गोदावरीका माला धेरै उनिनुको कारणपनि यही नै होला । यिनका आङमा जिङ्रिङ्ग्र काँढा फलेको भए त्यो स्थिति आउन्न थियो कि ?
फेरि अर्काेतिरबाट हेर्दा काँढा कठोरताको प्रतीकपनि हो । भनिन्छ काँढासित आँसु झार्ने आँखा छैनन् । बरु अरुलाई घोचेर, डसेर, रोपिएर, छेडेर, पेलेर रगत खसालीदिने सामथ्र्य हुन्छ यसमा । चोट र आहत पीडा दिनसक्ने क्रुरता छ यसमा । यसमा एक रुक्षता छ, रौद्रता छ । फूलको जस्तो भद्रता छैन काँढामा । अरुको दुःखमा रुँदैन काँढा । बरु अरुलाई रुने बनाउँछ । आँखाबाट आँसु चुहिने बनाउँछ । तर, फूलमा न दर्प छ, न द्वेष छ । न घृणा छ न क्लेष छ । न अहम् छ न ईष्र्या छ । न प्रतियोगिता न ऐँचाताना छ, केही छैन । छ त केवल सुकोमल भाव–सौन्दर्य छ । यसमा न कुनै कलुष वासना छ । न काहीँ पुग्ने उछलकुद शासना छ । छ त एक सौम्य–सन्तुलन । कस्तै अवस्थामा पनि नडग्मगाउने लोभ लाग्दो अविचलन । जगत्मा थोरै दिन बाँच्ने हाँसेर बाँच्ने । थोरै दिन बाँच्ने नाँचेरै बाँच्ने । दुईदिन बाँच्ने सुवास छरेर बाँच्ने । सौन्दर्यको सकल छटा धर्तीमा उतारेर बाँच्ने । फूलको बोटबाट निसृत आप्तवाणी हुन् यी ।
अथाह अगणित कष्ट–कसला किन फूलकै थाप्लामा ओइरिन्छन् ? प्रकृतिको बुझी नसक्नु पहेली बनेको छ । अतिशय दारुण दुःखका वीचपनि फूल हाँसिदिन्छ; मान्छे–जातले लिनुपर्ने यही हो ठूलो प्रेरणा । आपत आँउदापनि आह ! भन्नु, मृत्युले गला निमोठ्तापनि मृदुल मुस्कान छर्नु, फूलबाट सिक्नुपर्ने ज्ञान हो । यही पाठ भुलेर त हामी दिनदिनै दुःखी हुँदै गएका छौँ ।
फूलको आयु छोटो छ दुई दिनको । तर, यसका सामु विराट कर्तव्यका चाङ छन् । फूल त्यो आफ्नो पुनितः कर्म पूरा गरेर मात्र ओइली झर्छ । यसले जगत्लाई क्षण्भङ्गुरताको पाठपनि सिकाउनु छ । गुरु–गम्भीरताको सन्देशपनि फिँजाउनु छ । काँढाको जहरिलो सेपमा पनि मुस्कान छटा उतार्ने विधि बताउनुछ । जीवन एकरङ्गी छैन, यो बहुरङ्गी बेताज सौन्दर्यमा नृत्यमग्न छ भन्ने भावपनि देखाउनु छ । कोमल–करुणाको पाठपनि सिकाउनुछ यसले । मधु सुधारसको प्यालापनि पिलाउँनुछ यसले । आफ्नो नाभीमा अनन्त वीजकण उमारी वंशरक्षाको उद्वीजपनि उमार्नुछ यसले । मानिसका मलिन मुहारमा स्मीत परिहासको वहारपनि रच्नुछ यसले । अगणित कर्मविपाकमा बाँधिएको छ फूल । काँढाउपर त्यस्तो गतिलोसित देखिने दायित्व केही छैन ।
आफू दारुण दुःखमा दुखेर अरुलाई खुशी बाँड्छ फूल । आफू तप्प ! तप्प ! अश्रुधारमा पौडेर अरुलाई हाँसो बाँड्छ फूल ।
फूलको वेदना कही साध्यै छैन ।
फूलको अर्चना लेखी साध्यै छैन ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।