कुखुरोलाई ‘घडी चरो’ पनि भनिन्छ तर मेरो विचारमा कुखुरोलाई घडी चरो भन्नु भन्दा 'विकासे चरो' भन्नु उचित हुन्छ । समय नाप्ने काम घडीले हतारमा गर्छ भन्ने खालको दृष्टिकोण बनिसकेका हामी नेपालीहरूका सन्दर्भमा विचरो घडी स्वयम् विवादास्पद छ भने कुखुराले घडी चरोको उपाधि कसरी थाम्न सक्छ ?
समयलाई नाप्ने हाम्रो आफ्नै किसिमको प्रविधि छ (भलै हाम्रो प्रविधिले घडीको रूप लिन सकेको छैन ।) अरुले दश वर्षमा गरेको काम हामी एक वर्षमा गर्ने सगर्व घोषणा गर्छौं र त्यो काम बीस वर्षमा पनि पुरा गर्दैनौं भने हामीले आफूलाई लोसे भनेर खुम्चिनुभन्दा हाम्रो समयको नापो अरुसँग मिल्दैन भनेर उफ्रिनु नै वुद्धिमानी होइन र ? बाह्र बजे कार्यालय पुगेको कर्मचारीलाई दश बजे नै उपस्थित भएको देखाउन अभ्यस्त हाम्रा कार्यालयहरू र विदा लिनुभन्दा कार्यालय पुगेर ‘चिया खान हिँडेको’ जनाउ दिई दिनभरि अनुपस्थित रही पाँच बजाउन बानी परेका हामी, चार बजे ट्याक्र्याक्कै आइपुग्छु भन्ने मान्छेलाई आठ बजेदेखि पर्खिनु र आउने बाह्र बजे आइपुग्नु हाम्रो सन्दर्भमा स्वाभाविक हो । यसरी घडी नै हाम्रो सन्दर्भमा घडी होइन भने जाबो कुखुरो कसरी घडी चरो ?
कुखुरो राति नबास्ने हुनाले यस्तो मान्यता बनाइएको हो भने समाज सुधार ऐनलाई समाज सुधारकहरूले जस्तै राति नबास्ने नियमलाई कुखुराले उलङ्घन गरी सक्यो । अरु ठाउँमा कुखुरो राति बास्छ कि बास्दैन, त्यो थाहा छैन; नेपालमा नियम पालना गर्न होइन, उलङ्घन गर्न बनाइन्छ भन्ने बुझेर होला : यहाँ कुखुरो राति पनि बास्छ; दिउँसो पनि बास्छ (पत्यार लाग्दैन भने टर्की जातको कुखुरो पाल्नु भए हुन्छ ।)
हो; एक समयमा राति कुखुरो बास्यो भने अलच्छिन लाग्छ भन्ने खालको मान्यता समाजमा व्याप्त थियो । प्रत्येकले जहान परिवारप्रति आफ्नोभन्दा बढी चासो राख्न पाउनु पर्छ । हामी राख्छौं । सत्य, न्याय र औचित्यभन्दा महत्वपूर्ण स्वास्नीको सारी ठान्ने हाम्रो परम्परा नै बनिसक्यो त्यसैले । बिहे गरेको भोलिपल्ट मुग्लान पस्न र मुग्लानबाट प्रत्येक साता श्रीमतीलाई तीनचारवटा पत्र लेख्नुहुन्छ भने रातको अत्यासलाग्दो अँध्यारोमा भालेले ‘कुखुरी काँ’ भनेर आफ्नी श्रीमतीको खोजखबर गर्नु कुन ठूलो अर्घेलो भयो ? (कुखुरो बास्दा हामी ‘कुखुरी काँ’ भनेको सुन्छौं; तर वास्तवमा ‘कुखुरी कहाँ छेस् ?’ भनेको हुनुपर्छ ।)
राति बास्ने बित्तिक्कै कुखुराको घाँटी निमोठ्न छाडिदैन भने म त भन्छु— कुखुराले राति दिउँसो नभनी जुनसुकै बेला पनि बास्नु भनेको वाक् तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्नु हो । सुनिदिने स्रोता र ताली ठोक्ने भक्तहरूको राम्रो अनुकूल मिल्छ भने जुनसुकै बेला भाषण गर्न अघि सर्ने हाम्रा नेताहरूको जुन प्रवृत्ति छ; कुखुराले त्यसैको अनुसरण गरेको हो । नेताहरूको सुर न सारको भाषणबाट प्रजातन्त्रको संस्थागत विकास हुने अपेक्षा राख्ने हामीले कुखुरो बास्दा चाहिँ घामको अवस्थिति हेरेर मृत्युदण्ड जस्तो जघन्य सजाय कुन ऐनको कुन दफाका आधारमा दिन्छौं ?
हो; बरु कुखुरालाई ‘विकासे चरो’ भन्न मिल्छ । कुखुराको यो न्वारान कुखुराको नस्ल सुधारका आधारमा गरिएको होइन; देश विकासका सन्दर्भमा कुखुराले खेलेको अतुलनीय भूमिकाका आधारमा गरिएको हो । हाम्रो मुुलुकको विकासका लागि कुखुराको योगदान अद्वितीय छ । हाम्रो सन्दर्भमा विकास भनेको गाउँमा मोटर पुग्नु मात्र होइन; गाउँमा मोटरको कुरा पुग्नु पनि विकास हो । यस्तो खालको विकास पुर्याउन नेताले गाउँमा जानै पर्छ; गाउँबाट बल्लबल्ल उम्केर शहरबासी बनेको नेतालाई शहरबाट फेरि गाउँमै लैजान गाउँसँग प्रमुख आकर्षणका रूपमा यही कुखुरो नै त बाँकी छ । त्यसैले नेताहरूको गाउँतर्फको यात्राको सुभारम्भ भालेको वलीबाट हुन्छ । यति मात्र होइन; राष्ट्रिय महत्वका विभिन्न गोष्ठी, सेमिनार, सभा, सम्मेलन, महासम्मेलन, अन्तर्राष्ट्रिय सम्मेलन प्रत्येकमा जमघटको महत्व हेरी कुखुराले योगदान पुर्याएकै हुन्छ ।
नेपाललाई विश्वको गरिवतम् राष्ट्रका रूपमा गनिन्छ । नेपाले विश्वमा यो स्तर प्राप्त गर्नुमा पनि कुखुराको गहिरो भूमिका छ । नेपालको सौभाग्यशाली यस उपलब्धिको गहन विवेचना गर्न/सुन्नका लागि पनि कुखुराको जोरजाम हुनै पर्छ । आवश्यकताअनुसार आँसु झार्न गोही मात्र होइन; नेपालका चर्चित वुद्धिजीवीहरू पनि सक्षम छन् । आँसु पुछेर जब कुखुराको साँप्रासँग वुद्धिजीवीले कुस्ती खेल्नु पर्ने पालो आउँछ; त्यतिबेला सहभागीहरूको अन्तर्मनले नेपालको गरिवीलाई ‘धन्य’ भन्नु स्वाभाविक हो । विश्वमा नेपालको प्रतिव्यक्ति आय र भौतिक विकासको स्थितिको गम्भीर बहसपछि कुनै पाँचतारे होटलको क्षेत्रभित्र ‘कुखुराको साँप्रो— जिन्दावाद’, ‘नेपालको गरिवी— अमर रहोस्’ जस्ता नारा घन्कियो भने त्यो कुनै पनि अर्थमा अस्वाभाविक होइन ।
यति लामो गनथनपछि पनि तपाई कुखुरोलाई ‘विकासे चरो’ भन्न तयार हुनुहुन्न ? यदि तयार हुनुहुन्न भने कुखुराको विधवा पोथीसँग स्वर मिसाउँदै मैले पनि तपाईंलाई ‘कृतघ्न’ भन्नै पर्छ ।
बोझेपोखरी, ललितपुर, नेपाल