आधुनिक नेपाली उपन्यास लेखन परम्परामा डा० ध्रुवचन्द्र गौतम नितान्त प्रयोगवादी उपन्यासकार हुन् । सन् १६६७ सालमा प्रकाशित 'अन्त्यपछि' उपन्यासबाट उनको औपन्यासिक लेखनयात्रा शुरू भएर आजपर्यन्त अविरल रूपमा प्रकाशित हुँदैछन् । उनले जति जति उपन्यास संख्या बढ़ाउँदै लगे उति उति नवीन शैली, परिपाटी, पद्धति र प्रविधिहरू प्रयोगको रूपमा अनाउँदै लगेका छन्। वास्तवमा भन्नुपर्दा नेपाली उपन्यास क्षेत्रमा डा० गौतम एक महान् उपलब्धि हुन्। उनीजस्ता सिद्धहस्त उपन्यासकार पाएर आज नेपाली साहित्यको विकास द्रुत गतिमा भइरहेको छ।
सन् १९६४ मा रूपरेखा पत्रिकामा प्रकाशित भएका दुइवटा कविता 'तटस्थता-असफलता' र 'एक यात्रा अनुभूति' बाट साहित्यिक-लेखन प्रारम्भगरेका डा० गौतमका जम्मा तीनवटा कथा सङ्ग्रह, तीनवटा पूर्णाङ्की नाटक, गीतिनाटक, नृत्यनाटक, अनुवादन, सम्पादन, निबन्ध-संस्मरण आदि गरेर धेरै पुस्तकाकार कृतिहरू प्रकाशित भएका छन् । अपितु, उनी मूल रूपमा एक सफल उपन्यासकार हुन् भनेर मान्न सकिन्छ। उनका आफ्ना (एकल) र सह-लेखनका उपन्यासहरूको संख्या अहिलेसम्ममा जम्मा अठाह्रवटा पुगेका छन् । उनका प्रकाशित उपन्यासहरू हुन्- अन्त्यपछि, बालुवामाथि, डापी, कट्टेल सरको चोटपटक, अलिखित, निमित्त नायक, स्वर्गीय हीरादेवीको खोज, एक शहरमा एउटा कोठा, उपसंहार अर्थात चौथो अन्त्य, दुविधा, अग्निदत्त अग्निदत्त, फूलको आतंक, सहस्त्राब्दीको अन्तिम प्रेमकथा, बाढी, सहस्राब्दीको अन्तिम प्रेमकथा, तथाकथित, जेलिएको, घुर्मी, दुबिधा, एक असफल आख्यानको, आरम्भ, अप्रिय, सातौँ ऋतु, एक पुनर्निर्मित प्रेमाख्यान, वञ्चक, एक आनाको जमाना, चकमन्नमा एकान्त, सातो गरी जम्मा उनका एकतीसवटा उपन्यास प्रकाशित गरिसकेका छन्। यी बाहेक आकाश विभाजित छः अवतार विघटन, ज्यागा र देहमुक्त सह-लेखनका हुन् । यसरी हेर्दा ध्रुवचन्द्र गौतमको उपन्यास लेखनको यात्रा आजसम्म गरी लगभग अन्ठाउन वर्षको देखिदैछ।
सन् १९८३ को मदन पुरस्कार प्राप्त उपन्यास 'अलिखित' नेपाली साहित्यको एउटा गतिलो उपलब्धि हो। यस उपन्यासमा एकातर्फ परम्परागत औपन्यासिक परिपाटीलाई लत्याएर नूतन प्रविधि र पद्धति अप्नाइएको छ भने अर्कातर्फ विश्व साहित्यमा विद्यमान नौला-नौला प्रयोगबाट परीक्षण गरिएको छ। यस उपन्यासमा हामी मुख्य रूपमा निम्न प्रयोग पाउन सक्छौं –
१. विसङ्गतिको चित्रण, २. प्रकृतपरक चित्रण, ३. अस्तित्ववादी प्रयोग, ४. आञ्चलिकता, ५. मिथकीय प्रयोग, ६. स्वैरकल्पनाको प्रयोग, ७. चेतनाप्रवाह पद्धति, ८. श्याम-व्यङ्ग्यगत प्रस्तुति, ६. सन्त्रासमय वातावरणको प्रस्तुति, १०. प्रतीकात्मक एवं विम्बात्मक प्रस्तुति, ११. भाषिक प्रयोगमा रोचकता, १२. नवीन औपन्यासिक ढाँचा। उपर्युक्त प्रत्येक प्रयोगबारेमा चर्चा गर्न सकिन्छ :-
१. विसङ्गतिको चित्रण : दुइवटा विश्वयुद्धले ल्याएका अराजकता, सन्त्रास, अस्त-व्यस्त संसारलाई केही पाश्चात्य विद्वान्ले एउटा नौलो दर्शनको प्रतिपादन गरेका छन्। मान्छेको जीवन निस्सार, असंगत र शून्य छ तथा जीवन जन्म र मृत्युमाझको एउटा विसंगत अस्तित्व मात्र हो भनेर व्याख्या गरिएको विसङ्गतिवादलाई डा० ध्रुवचन्द्र गौतमले अन्नाएका देखिन्छन् । आफ्नो लेखनको प्रारम्भदेखि नै यस वादलाई अङ्गीकार गर्दै आएका गौतमले अलिखित उपन्यासमा पराकाष्ठामा पुऱ्याएका छन् ।
उपन्यासको केन्द्रस्थल विरहिनपुर बरेवा श्रापित गाउँ हो, जहाँका वासिन्दाले कहिल्यै पनि सुख-शान्ति पाएनन्। यसले नेपालको प्रशासनिक कर्मचारीको हेल्चेक्र्याइँ र विसंगत कार्वाहीद्वारा देशको मानचित्रमा नपरेको नियति भोगेको छ भने अशिक्षा, अन्धविश्वास, गरीबीले पीड़ित बनेको छ। छिमेकी गाउँ धरमपुर जो अत्यन्त अधर्मी छ, त्यसले विरहिनपुरलाई निर्धक्क रूपमा लुट्ने-पिट्ने गर्छ। विरहिनपुरमा प्रशासन छैन, कानून छैन, खाली जिम्दारको औलीमा गाउँ चल्नु पर्दछ। ग्रीष्म ऋतुको प्रचण्ड गर्मी र विरक्तलाग्दो सुखौरो तथा बर्खाको कहाली लाग्दो बाढ़ीले खाएको गाउँ विरहिनपुरका जनताले जीवन जिउन विसंगत प्रचेष्ठा चलाएका छन्। उपन्यासको हरेक पृष्ठमा विसङ्गतितत्त्व स्पष्ट रूपमा पाइन्छन् ।
प्राचीन सभ्यताको उत्खनन् गर्ने एघारजनाको टोलीमा कोही पनि पुरातात्विक विशेषज्ञ छैनन। उनीहरूमा जोश जाँगर पनि रहेको छैन। नागा बाबाको प्रसङ्ग ल्याएर पनि विसङ्गति झल्काइएको छ। उसको चरित्र कुनै वैरागी नभएर अत्यन्त कामुक, भोगी र गॅजेडी छ तथा उसको व्यभिचार र गाँजाको अखड़ा मात्र बढ़ेको छ। विरहिनपुर-बरेवावासीहरू रातो-दिन छाक टार्नकै समस्याले ग्रस्त छन् त्यहीमाथि जिम्दारको ऋण, चाड़-बाड़ मनाउने संस्कार, बदा वसूली र लुट्पाटले झन् जर्जरित छन् । गाउँमा जिम्दारबाहेक अरू कोही पनि सम्पन्न छैनन् । एक मुठा बिँड़ी र घाँससित तरुणीको यौनभोग हुन्छ। एकार्कामा बाझ्नु, अश्लील बोल्नु, दन्तेकथा भन्नु यस गाउँको वासिन्दाको दैनिक चर्या नै बनेको छ। मान्छे मर्नु, आत्महत्या हुनु सामान्य हुन्छ। फोहोर इनारबाट पानी खाएर सम्पूर्ण गाउँ नै रोगी छ। गाउँलाई अज्ञात रोगले सताउँछ। त्यहाँका वासिन्दा जिउने उपक्रम गर्दागर्दै पनि अन्त्यमा नामोनिशान मेटिएका छन्। गाउँ हराउँछ, गाउँले हराउँछन् । साँपको विषादि जाती पार्ने धरीछन् भन्ने पात्र साँपैको डसाईमा मर्दछ। दन्तेकथा भन्ने कथनी बुढ़िया अबोला बन्दछे। प्रायः प्रत्येक प्रसङ्गमा नै विसङ्गति पाइन्छ।
२. प्रकृतपरक चित्रण : अलिखित उपन्यासको यत्रतत्र नै प्रकृतपरक चित्रण पाउन सक्छौं। शुरूमा नै गाउँका लुतो र कुकुरझिंगाले सताएका कुकुरहरू झल्काउनु, एउटी मधिसिनी बॉस झ्याङ छेउमा दीर्घशंका गर्न बस्नु र उत्खनन् टोली सदस्य कर्णबहादुरले हेर्न खोज्नु, स्त्री-पुरुषहरू बाइदा अश्लील शब्द प्रयोग गर्नु र सोही बमोजिमको हातको मुद्रा बनाउनु, नागाबाबाको नग्नावस्थाको उल्लेख गर्नु, बाबा कुटीमा विधुवा र गँजड़ीहरूको आकर्षण बढ्नु, कर्णबहादुरले गाउँले सोझी युवतीलाई 'प्ले ब्वाय' पत्रिकाको अश्लील तस्वीर देखाउनु, फूलवा नाङ्गै भएर पोखरीमा नुहाउनु पस्दा कर्णबहादुरले चियाउनु र उसको धोती-चोलो हातमा लिएर नग्न दर्शन गर्ने इच्छा राख्नु इत्यादि जस्ता अनेक विकृत वा प्रकृतपरक वर्णनहरूको उल्लेख पाइन्छ। यस्तै गरी हावा चल्दा स्त्रीहरूलाई आ-आफ्नो अवयव ढाक्न मुश्किल पर्नु, मरेको गाईको छाला काढेर चमारहरूले लानु र रातो मासुले भरिएको वीभत्स दृश्य देखाउनु र त्यहींमाथि गिद्धले आँखा लुछेर लगेपछि आँखाको फ्रेमको खोबिल्टा बसु, त्यसैगरी आधा जलेको मुर्दा देखिनु, कथनी बुढ़ीको नानी पोखरीमा तर लाग्नु जस्ता कुराहरूले अलिखित उपन्यास प्रकृतवादी बनेको छ।
३. अस्तित्ववादी प्रयोग- मानवजीवन विसंगतपूर्ण हुँदाहुँदै पनि त्यसभित्र आफ्नो अस्तित्व कायम गर्नखोजे निस्सारता, निरर्थकता, निरूपाय तथा विवशताबाट उत्पन्न नैराश्यबाट पलायनतर्फ होइन बरू स्थितिसँग संघर्ष गर्न खोजे अभिप्रेरणा राख्ने अस्तित्व दर्शनलाई डा० गौतमले आफ्ना उपन्यासहरूमा अप्नाएका छन् । विरहिनपुर-बरेवाका मानिसहरू निरीह, निकृष्ट, निम्न स्वरका भए पनि आफ्नो अस्तित्विक संघर्षलाई अघि बढ़ाएका छन्। जिम्दारको अत्याचारको प्रतिशोध लिने जमर्को इनरा, सुनरा, शिवगुलाम, सलीमा जस्ता एकाध युवाहरूले गरेका छन्। आगलागी, सुखाग्रस्त, बाढीग्रस्त, लुटपाट, अत्याचार भए पनि त्यहाँका गाउँले बाँचे उपक्रम त जारी नै राख्छन्। बीनीको सौतेली छोरी जलेसरीले आफ्नो भोकको कारणले बीनी निदाएको मौका पारेर स्तनबाट दूध चोरेर, माड़ खाएर पनि आफ्नो क्षुधा मेटाउँछे। दन्तेकथाको भरपरी गाउँलेहरू आफ्नो गाउँ विरहिनपुर बरेवालाई अस्तित्वमा राख्ने कोशिश गरेका छन् । आफ्नो जीवनगत कर्त्तव्यलाई लत्याएका भने छैनन् ।
४. आञ्चलिकता : कुनै अञ्चल विशेषको जनजीवनका सामाजिक, आर्थिक, राजनैतिक, धार्मिक, भाषिक, भौगोलिक, सांस्कृतिक पक्षलाई समग्र रूपमा साङ्गोपाङ्गो चित्रण गर्नु आञ्चलिकता हो। अलिखित उपन्यासलाई नेपालीको तराईको महाभारत भने पनि हुन्छ। तराईका आर्थिक, सामाजिक, सांस्कृतिक पक्षको स्पष्ट रूपमा अङ्कन गर्दै स्थानीय भोजपुरी भाषा-लोकसंस्कृति, गीतादिको यथातथ्य रूपमा चित्रण पाइन्छ। त्यहाँको हरेक पक्षलाई धेरै नजिकबाट सूक्ष्मातिसूक्ष्म रूपमा चित्रण गरिएको छ।
५. मिथकीय प्रयोग : प्रख्यात प्राचीन कथा, पुराण, दन्त्यकथालाई वर्तमान सन्दर्भमा गाँसेर तिनलाई नयाँ अर्थ प्रदान गर्ने कला मिथकीय प्रयोग हो। यसमा आदिम मानव-सभ्यताको मानवीय चेतनाका प्रतीकात्मक अभिव्यक्तिको रूपमा प्रकट भएका अनुष्ठान, पुराण, गीत-गाथा, दन्त्यकथाहरूलाई कला र साहित्यमा नयाँ प्रस्तुति दिइन्छ। अलिखित उपन्यासमा जीवनका विसङ्गतिप्रति व्यंग्य गर्ने माध्यमका रूपमा समेत मिथकीय प्रयोग गरिएको छ। बिरहिनपुर बरेवा नै वास्तवमा एउटा मिथक मात्र हो जो पछि हराउन पुग्छ। विरहिनपुरलाई एउटा बिरहिनीको दन्त्यकथासँग सम्बद्ध देखाइएको छ, जो पतिको आगमनको प्रतीक्षा गरेकी विरहिनीलाई एक हूल गाउँलेले बलात्कार गर्दा उक्त गाउँलाई नै श्राप दिएकाले त्यहाँ सदैव अशान्ति, अपुग, सन्त्रासको किंवदन्तीको उल्लेख पाइन्छ । धरीछन कोइली, कथनी बुढिया, बाजेको प्रसङ्ग ल्याएर धेरै मिथक कथाको प्रयोग गरिएको छ। दोरहन्तल पोखरी बारेमा धेरै किंवदन्तीका उल्लेख पाइन्छन् ।
६. स्वैरकल्पनाको प्रयोग :- अवास्तविक र अतिकाल्पनिक कुराको प्रस्तुतिगत माध्यमबाट वस्तु यथार्थको सूक्ष्म निरीक्षण गर्ने तथा त्यसबाट मान्छे र समाजका शाश्वत बिम्बको रूप लिने र सार्वभौम सत्यको गवेषणा हुने पद्धति स्वैरकल्पना हो। 'अलिखित' उपन्यासमा असम्भव र अयथार्थबाट सम्भव र यथार्थको धरातलमा सम्पूर्ण कुरालाई ओराल्ने काम गरिएको छ। बिरहिनपुर-बरेवा गाउँलाई प्रतीकात्मक रूपमा छनौट गरेर नेपालको तराई-जीवनका अन्याय, अत्याचार, शोषण, भ्रष्टाचार, उत्पीड़न, दरिद्र्य जस्ता कुरालाई स्पष्ट रूपमा अघि सारेर यी कुराहरूलाई स्वैरकल्पनामार्फत् युक्ति निकालिएको छ। दुइ दिनभित्रैमा गाउँको नामोनिशान मेटिनु, उत्खनन् समूहका दशजना सदस्यहरू फर्कन लाग्दा दोरहन्तल पोखरीले उनीहरूलाई घेर्दै लखेट्नु जस्ता कुराहरू स्वैरकल्पना हुन्। 'हामीले देख्यौं यसपटक पोखरीले केही मानिसहरूको आकृति धारण गरेको छ। शस्त्रहरूले सुसज्जित छन् तिनीहरू। हामीलाई चारैतिरबाट घेरेका छन्...' (अलिखित, पृष्ठ २५४)।
७. चेतनाप्रवाह पद्धति : कथकको विचार तरङ्गको अविरल बहाईद्वारा कालतत्त्वलाई समेत पर्वाह नगरी चित्रण गरिने पद्धति चेतनप्रवाह हो। यस शैलीको प्रयोग हुँदा कथानक शृंखला समेतमा विचलन आउने गर्छ। अलिखित उपन्यासमा भने विचार सोंचाईमा जे आयो त्यसलाई यथावत् अङ्कन र चित्रण गर्दै अघाड़ि बढ़ाइएको छ। उपन्यासको गतिक्रममा घरि स्थानीय स्थिति र पात्रहरूको उल्लेख पाइन्छ, कतै उत्खनन् टोलीका सदस्यहरूको चर्चा हुन्छ। घरि चालै नपाई किंवदन्तीको चर्चा पाइन्छ। त्यस गाउँको वर्णन गर्दागर्दै कथन-प्रक्रियामा कथक घरि अतीततिर दगुर्छ त घरि वर्तमानमा आइपुग्छ भने कहिले लेखकीय टिप्पणी समेत गरिएको पाइन्छ। यसर्थ यस शैलीको प्रयोगले गर्दा अलिखितमा कालक्रमिकता समेत विचलित बन्नपुगेको छ।
८. श्याम- व्यङ्ग्यगत प्रस्तुतिकरण : उपन्यासकारले प्रस्तुत उपन्यासमा बर्बरता र विनोदितालाई मिश्रण गरेर विकृति, विसङ्गतिलाई व्यङ्ग्यात्मक तवरले ढुङ् हान्दै पाठकलाई बड़ो मजाले रोचकता प्रदान गरेका छन् । प्रायः प्रत्येक घटना प्रसङ्ग र पात्रको चारित्रिक टिप्पणी गर्दा असीत व्यङ्ग्य वा श्यामव्यङ्ग्य (Black Humour)-को कुशल प्रयोग गरेका छन् । उपन्यासको कथक बनेको पात्र गौतमले व्यङ्ग्यात्मक भाषा बोल्ने गरेको छ। हरेक पात्रको खिल्ली उडाउने, शब्द चित्रणको कार्टन बनाउने काम भएको छ। मतियाकी आमाको प्रसङ्गमा उसको धोती च्यातिँदा गाँठो पार्दै लानु र गाँठ-गाँठो हुनाले छोटो हुँदै आनु, फुलवाको रूपलावण्यबाट कर्णबहादुरलाई वासनाको जागृति हुँदा कपाल दुखेको भन्नु इत्यादि हास्यास्पद स्थिति झल्काइएको छ। यस्तै गरी ब्यांकको हाकिमसाहेब र सावित्रीको शारीरिक सम्बन्धलाई 'साहित्यचर्चा' भन्नु, टोली सदस्य भीम वाग्ले आफैं एक्लै बोल्दै हिँड्छ तथा धेरै कञ्जुस छ भन्ने कुरालाई व्यङ्ग्यात्मक प्रस्तुति प्रसङ्गमा, स्कूल प्रसङ्गमा, हत्या र डकैती प्रसङ्गमा, स्वास्थ्य सेवा प्रसङ्गमा, उत्खनन् प्रसङ्गमा मार्मिक रूपमा व्यङ्ग्यात्मक शैली अप्राइएको छ। यसका अतिरिक्त समसामयिक प्रजातन्त्र, न्यायपालिका विषयमा पनि तीव्र व्यङ्ग्य कसिएको छ।
६. सन्त्रासमय वातावरणको प्रस्तुति : 'अलिखित' मा आतङ्क, सन्त्रास र भयको पराकाष्ठा झल्काइएको छ। विरहिनपुर- बरेवावासीमाथि एकापट्टि गाउँका जिम्दारको कठोर शोषण र उत्पीड़न छ भने अर्कातिर छिमेकी गाउँ धरमपुरका मानिसहरूको खुल्लम-खुल्ला लुटपीट, हत्या, डकैती, आगलागी जस्ता कामहरूले सन्त्रास व्याप्त भएको छ भने अर्कापट्टि प्राकृतिक प्रकोपहरू जस्तै, महामारी, अज्ञात रोग, गरीबी, असुरक्षित स्त्रीहरू, बालकवर्गको कुपोषण इत्यादिका नियति बनेका छन्। 'गाउँमा पानी परेन भने डाका पर्ने धेरै सम्भावना हुन्थ्यो...' बरेवामा मानिस धरमपुरको अथवा कुनै पनि नयाँ मानिस यता आइरहेको देखियो कि सतर्क सशंकित र भयग्रस्त हुनथाल्थे (अलिखित, पृष्ठ १४१)। प्रस्तुत उपन्यास पढ्दै जाँदा पाठकको मनमा नै एक प्रकारले आतङ्कको सिर्जना गरिदिन्छ।
१०. प्रतीकात्मक एवं विम्बात्मक प्रस्तुति : गौतमले उपन्यासको कलात्मक सौन्दर्यको अभिवृद्धिका लागि ठाउँ-ठाउँमा नै प्रतीक एवं बिम्बको सकुशल प्रस्तुतिकरण गर्दै लगेका छन्। अलिखित उपन्यासमा स्वैरकल्पना, मिथकका सहायताले प्रतीकात्मक बनाइएको छ। वास्तवमा विरहिनपुर-बरेवा आफै नै नेपालको प्रतीक हो जहाँ देश छ, राष्ट्रीयता पनि छ, नागरिकता पनि छ, तर केही अस्तित्व नभएको जस्तो भएर बाँचेको छ, जनता बाँचेका छन्। दोरहन्तल पोखरी एकापट्टि रोग, भोक, शोक र आतङको यातनाबाट गाउँवासीहरूलाई मुक्ति दिने मृत्युको प्रतीक हो भने अर्कापट्टि मान्छेमा पाइने आशा र लोभलाई संकेत समेत गर्दछ। वास्तवमा मानव जीवन पोखरीको गहिराई नाप्दा-नाप्टे सकिन्छ भन्ने जीवन दृष्टि यसमा व्यक्त भएको पाइन्छ। कथनी बुढियाले सुनाउने लौंताभौंताको किंवदन्ती चाहिँ विरहिनपुर-बरेवावासीको अन्नाभाव र भोकको क्षतिपूर्तिगत प्रतीक हो। उत्खनन् नै मानवीय आदिमताको एउटा गम्भीर अनुसन्धान हो जसमा मध्ययुगीन मानव समाज र वर्तमान मानव समाजमा व्याप्त दृव्यपिशाची प्रवृत्तिको संकेत गरिएको छ। जिम्दार आफै वर्तमान भ्रष्टाचारी शासकवर्गको प्रतिनिधि वा प्रतीक हो। बाँध बाँध्नु र इनार बनाउनु खोज्नु नै भ्रष्टाचारका प्रतीक हुन् जो कहिल्यै पनि पूरा हुँदैन। यस्ता प्रतीकात्मक प्रस्तुतिकरण हामी उपन्यासभरि यत्रतत्र पाउन सक्छौं।
यस्तै गरी उपन्यासकारले वस्तुगत यथार्थता र परिवेशलाई जीवन्तता प्रदान गर्नका लागि बिम्बको सफल प्रयोग गरेका छन्, जसले गर्दा विरहिनपुर-बरेवाको तस्वीर पाठकको मनमा आउँछ। उपन्यासको कथन क्रममा कथानकको गति सँगसँगै परिस्थितिगत बिम्बको निर्माण गरिएको छ।
क) मतियाकी आमाको प्रसङ्गमा उसको धोतीको गाँठोको सम्बन्धमा यसरी बिम्ब उतारिएको छ- 'पिँडालुको गाँठो झैं धोतीमा ठाउँ-ठाउँ गाँठो उमेर आएको हुन्थ्यो।' (पृष्ठ १६)।
ख) 'हामीभित्रको एउटा अर्को आतङ्क बाँस जस्तै झाँगिएको थियो।'
ग) 'जोर्नी-जोर्नीमा हाड़े ओखर जस्तो कठिन भएर बसिदिएको थकाईले गर्दा पनि यस्तो लागेको हुनसक्छ।' (पृष्ठ ७)।
प्रायः उपन्यासभरि यस्ता किसिमका बिम्ब निर्माण गरेर उपन्यासकारले पाठकलाई रसास्वादन गराएका छन् ।
११. भाषिक प्रयोगमा रोचकता: उपन्यासलाई यथार्थ, स्वाभाविक, पत्यारिलो र प्रभावोत्पादक बनाउनका लागि डा० गौतमले भाषिक कुशलता देखाएका छन्। नेपालको तराई प्रदेशमा बोलिने देहाती भोजपुरी भाषालाई दुरूस्त उतारेका छन् । विरहिनपुर-बरेवाका वासिन्दाले बोलेका सम्पूर्ण संवाद भोजपुरीमा रहेको छ जसको प्रायः प्रत्येक पंक्तिको अनुवाद कथक आफैले गरेको छ। पात्रको हैसियत र स्तरअनुसारकै भाषिक प्रयोग गरिएको छ। उत्खनन् टोलीका सदस्यहरूको संवादचाहिँ धेरै शब्दहरू र कतै पूरा वाक्य नै अंग्रेजीमा बोलाइएको छ।
वास्तवमा भाषिक प्रयोगका दृष्टिले परम्परागत उपन्यास'भन्दा 'अलिखित' उपन्यास नितान्त बेग्लो छ। प्रायः प्रत्येक पंक्तिमा व्यंग्यात्मकता प्रदान गरिएकोले भाषा कवितात्मक बन्नपुगेको छ। प्रायः छोटा-छोटा वाक्य र छोटा-छोटा प्रकरणले उपन्यास साहै स्वादिलो, रोचक, चिटिक्क बन्नपुगेको छ। यसको साथै अति सरल शब्दावलीको प्रयोग गरिएको छ। कतै-कतै उपमा अलंकारको प्रयोग गरिएको छ-
'... त्यसकै छेउमा टाँसिएको गाउँ बरेवासँग विरहिन यस्तरी टाँसियो; जस्तो लस्सामाथि लस्सा। विरहिनपुर अब बरेवामाथि कुनै हेलमेट जस्तो चढ़ेको थियो...' (पृष्ठ २२२)। कतै कवितात्मक बिम्ब र कतै सुक्तिमय भाषाको माधुर्यले गर्दा उपन्यास धेरै मोहक र रोचक बन्नपुगेको छ।
१२. नवीन औपन्यासिक ढाँचा: पारम्परिक उपन्यास लेखन प्रणालीभन्दा भिन्दै परिपाटी दिएर लेखिएको 'अलिखित' उपन्यासमा केही नौला-नौला प्रयोग गरिएका छन् । जम्मा २४६ पृष्ठहरूमा संरचित प्रस्तुत उपन्यासको खण्ड विभाजन परिपाटी नै अनौठो छ। यसमा ऋतु र पात्रको नाममा अध्याय राखिएको छ। एघारजना उत्खनन् टोलीका सदस्यको नाममा र एउटा जिम्दारको नाममा र एउटा चाहिँ प्रवेश र अनकण्टारका नाममा र अन्तिम अध्याय चाहिँ तेह्रौं महिना र विरहिनपुर-बरेवाको नाममा बाँड़िएको छ। यसमा तेह्रौं महिना बनाइएको छ। प्रत्येक प्रमुख पात्रलाई नायक जस्तो बनाइएको छ। अध्याय प्रमुख पात्रको दर्पणबाट अन्य पात्र र गाउँले पात्र-पात्राको समेत यथावत् र प्रत्यक्ष-परोक्ष चरित्र-चित्रण गरिएको छ। उत्खनन् टोलीको एकवर्षे अनुसन्धानको क्रममा घटेका घटना र टिप्पणी गरिएका कुराहरूबाट कथावस्तु सिर्जित भएका छन् ।
वास्तवमा 'अलिखित' उपन्यासमा विन्यस्त कथावस्तु छैन, बरू एक प्रकारले चित्रण-विवरण जस्तो मात्र छ। चित्रण क्रममा कथातत्त्व घुसाए जस्तो लागे तापनि समष्टिमा कथानक मन्द गतिमा भने बगेको छ। यस्तै गरी आदर्श नायक-नायिकालाई व्यङ्ग्य गर्दै अनायके (किन्नायक) को सृष्टि गरिएको छ। प्रमुख पात्र नै धेरै छन् भने सहायक रे गौण पात्र-पात्रा धेरै छन्। उपन्यासमा वर्तमानको चित्रण पनि छ, भूतको संस्मरण पनि छ।
यसरी प्रयोगको दृष्टिले हेर्दा डा० ध्रुवचन्द्र गौतम अद्वितीय रहेका छन् । विश्व साहित्यमा चलेका नयाँ-नयाँ वाद, प्रणाली र टेक्निकलाई आफ्नो नेपाली भाषामा परीक्षणको रूपमा अप्नाएका छन् । अलिखित उपन्यासमा यथार्थवाद, अतियथार्थवाद, विसङ्गतिवाद, अस्तित्ववाद, प्रकृतवाद जस्ता पाश्चात्य प्रणाली अप्नाएका छन् भने चेतनप्रवाह पद्धति, मिथक, स्वैरकल्पना, असीत व्यंग्य, प्रतीक र बिम्ब, आञ्चलिकता जस्ता शैलीलाई अप्राएका छन् । वास्तवमा उपन्यासमा वर्णित उत्खनन् मानवीय सभ्यता, संस्कृति, संस्कार, आचार, व्यवहारको उद्घाटन हो। उपन्यासमा प्राचीन सभ्यताको उत्खनन् गरिएको भनेको विलुप्त भएको काल्पनिक विरहिनपुर-बरेवाको सम्पूर्ण विवरण र विविध पक्षको उद्घाटन हो। परम्परागत लेखनशैलीको लीकबाट हटेर डा० गौतमले नयाँ ढंगमा उपन्यासलाई प्रस्तुत गरेर नेपाली साहित्यलाई अमूल्य योगदान दिएका छन् ।