19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

आमोदीकृत 'कला, स्रष्टा र साहित्य'को विचरण गर्दा

कृति/समीक्षा रामकृष्ण ढकाल March 21, 2026, 4:55 pm
रामकृष्ण ढकाल
रामकृष्ण ढकाल

भगवान बुद्धलाई विश्वको ज्योति भनिएजस्तै चितवनको ज्योति भन्दा अत्युक्ति नठहरिने समादरणीय बहुमुखी सर्जक गुरु केशवराज आमोदीले भर्खरैमात्र आफ्नो सोह्रौं साहित्यिक सन्तानको रुपमा 'कला स्रष्टा र साहित्य' ( समीक्षासङ्ग्रह २०८२ ) नामक खोजमूलक कृति प्रकाशन गर्नुभएको छ । कवि , गजलकार , निबन्धकार , समालोचक , उपन्यासकार , महाकाव्यकार आदि विविध विशेषणका धनी अथक साहित्यकार आमोदीले प्रकाशन गर्नुभएको कृति ११६ पृष्ठको मूलभाग सन्दर्भ सामग्रीहरूको १ पृष्ठ , व्यक्तिगत विवरणको २ पृष्ठ र १२ पृष्ठको प्रकाशकीय, लेखकीय , विहङ्गावलोकन आदिसहित कुल १३१ पृष्ठको कृतिको नामकरणसँग सुहाउँदो चिरञ्जीवी दाहालकृत सुन्दर अग्र आवरण र कृतिकारको तस्वीर सहित कृतिका बारेमा विद्वान् त्रयको टिप्पणी समेटिएको पश्चावरण पुस्तकको सामान्य हुलिया हो ।

संसारभरि नै नसुनिएका , दबाइएका , थिचिएका , मिचिएका, किचिएका, सुकेका, लुकेका, नफुकेका सुन्दर अनि सौन्दर्य विहीन हाँसो खुशी रोदन भेदन छेदन बिच्छेदन जस्ता अनेकौं दृश्य अदृश्य विषयवस्तुहरूको आवाज हो 'कला स्रष्टा र साहित्य' । साहित्यमा प्रयुक्त शब्दावलीले धर्तीले जस्तैगरी सुन्दर फूल, नदी झरना , हिमाल, पहाड , स्थावर जङ्गम भौतिक जैविक मनोसामाजिक आदि अनेक कुराका संयोग र वियोगका विजय र पराजयका उन्मुक्ति र विवशताका शृङ्गार र बिगारका अनेक आयामहरूलाई धारण गरेका हुन्छन् । त्यसकालागि सायद एक दुई मात्र साहित्यकार वा कलाकार पर्याप्त हुँदैनन् । सायद त्यसैले होला एउटा समाज र सभ्यतालाई हेर्न बुझ्न र त्यसको शाब्दिक उजागर गर्नका लागि अगणित कलाकार र साहित्यकारहरू उपस्थित भएका हुन्छन् । त्यसैक्रममा पूर्वी चितवनको सेरोफेरोमा मात्रै साहित्यकार केशवराज आमोदीको एक्लो प्रयासमा मात्रै पनि १२८ जना साहित्यकार , साहित्य अनुरागी , साहित्य साधक तथा ९ जना कलाकारहरू रहेका छन् । हुनत यो खोज अनि उपलब्धिको आकलन गर्ने यी अङ्कहरू आफैमा पूर्ण होइनन् । यस प्रकारका पुनीत कर्मका दौरानमा केही छुटपुटमा परेका पनि अवश्य होलान् ।

अंध्यारोले आफूमात्र देखिन्छ अरूलाई देखिन दिँदैन , उज्यालोले आफूचाहिँ देखिदैन तर अरूलाई छर्लङ्ग देखाउँछ । यो तथ्य 'कला स्रष्टा र साहित्य' नामक नवीनतम कृतिमार्फत आमोदी गुरुमा पनि सार्थक हुन्छ ।

रत्ननगर नगरपालिका क्षेत्रभित्रका ७६ जना , कालिका नगरपालिका क्षेत्रभित्रका १५ जना , खैरहनी र राप्ती नगरपालिका क्षेत्र भित्रका २६ जना साहित्यानुरागी, साहित्यसर्जकहरू तथा यी सबै क्षेत्रका ९ जना कलाकर्मीहरूसम्म आमोदीको यो कृतिको प्रकाश पुगेको छ । यसकासाथै रत्ननगर, कालिका, खैरहनी र राप्ती न. पा. क्षेत्रका गरी फुटकर रुपमा लेख्ने ३९ जना स्रष्टाहरूको छुट्टै नामावली प्रस्तुत कृतिले समेट्न भ्याएको छ भने यो कृतिमा नाम समावेश भएका स्रष्टाहरूका सिर्जनाका करिब ३०० जति कृतिहरूका नाम पनि सङ्कलित छन् । यसका साथै कला स्रष्टा र साहित्यलाई मूल विषयवस्तु बनाएर समयका विभिन्न कालखण्डमा प्रकाशित भएका वा भैरहेका करिब २९ वटा पत्रपत्रिकाहरूले पनि यो कृतिमा आफ्नो नाम लेखाउन सफल भएका छन् । केही सर्जकका रचनात्मक वैशिष्ट्यका उदाहरणहरूसमेत राख्न भ्याइएको यो एउटा ऐतिहासिक कृति हो । समग्र पूर्वी चितवनकै कला स्रष्टा र साहित्यको अनमोल खजाना हो । यसर्थ यो कृति तथा कृतिकार केशवराज आमोदी विशेष श्लाघनीय हुनुहुन्छ । वस्तुत: यो कृतिले समग्र पूर्वी चितवनको कला , स्रष्टा र साहित्यको बारेमा अधिकतम सुस्पष्टता प्रदान गरेको छ । पूर्वी चितवनको कला स्रष्टा र साहित्यका बारेमा बुझ्न जान्न चाहनेका लागि यो कृति भए अरूचाहिँ किन ? भन्ने बनाइदिएको छ ।

कला स्रष्टा र साहित्य पुस्तकको प्रकाशकमा रत्ननगर वाङ्मय प्रतिष्ठान भनेर लेखिएको भए पनि यो पङ्क्तिकारको जानकारीले भेटेसम्म यो लेख्नु कृतिकारप्रतिको अशोभनीय व्यवहार हो । वास्तवमा यो कृतिको लागि लगानीसहित सम्पूर्ण कार्य रत्ननगर वाङ्मय एक्लैले या कालिका, खैरहनी र राप्ती नगरपालिकाहरूसितको आपसी छलफल र सहकार्यमा हुनुपर्थ्यो तर केशवराज आमोदीको प्रयास र साधनाबाट निस्केको कृतिमा रत्ननगर वाङ्मयको नाम त्यो पनि प्रकाशक भनेर लेखिनु वाङ्मय प्रतिष्ठानको तर्फबाट आफ्नो प्रतिष्ठानलाई चम्काउने काम वा सर्जकप्रति न्याय भए झैं लाग्दछ तर यस्तो भए बेस हुन्थ्यो तैपनि यो पङ्क्तिकारको ज्ञानमा न आइपुगेको भित्री रहस्यहरू केही छन् भनेचाहिँ अलग कुरो । जे होस् आमोदी गुरुको गुरुत्वलाई उहाँका अन्य कृतिहरूले जस्तै यो कृतिले पनि गगनचुम्बी उचाइ प्रदान गरेको छ । कृति तथा कृतिकारलाई असीम सफलताको अगणित शुभकामना अनि धन्यवाद ।

चितवन ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।