19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीता बजगाईंको 'गीताञ्जली' हेर्दा

कृति/समीक्षा प्रा.डा. देवी नेपाल March 21, 2026, 5:07 pm
प्रा.डा. देवी नेपाल
प्रा.डा. देवी नेपाल

साहित्यका हरेक विधा, उपविधा वा सिर्जनात्मक सामग्रीको एउटा युग आउँदो रहेछ । सिर्जनात्मक म्याराथुनमा कुनै समय कविताले, कुनै समय गीतले, कुनै समय गजलले, कुनै समय आख्यानले र कुनै समय मुक्तकले अग्रता लिएको देखिन्छ । अहिलेको समयमा चाहिँ मुक्तकले अग्रता लिइरहेको छ । आज नेपाली काव्यजगत्मा लामा लामा कविता, खण्डकाव्य र महाकाव्यको पनि आआफ्ना ठाउँमा उत्तिकै सम्मान देखिन्छ भने भावगत रूपमा विन्दुमा सिन्धु खिच्न सक्ने क्षमता भएको, स्रष्टा वा भावकले धेरै समय खर्च गर्नु नपर्ने र आस्वादनमा पनि अलौकिक चमत्कार प्रदान गर्ने हुनाले मुक्तक कविताका अन्य स्वरूपहरूभन्दा अग्रपङ्क्तिमा देखिएको हो । आजका कविहरूले आफ्नो कविता, गीत वा गजलको प्रस्तुतिभन्दा अगाडि एउटा मुक्तक सुनाएर श्रोताको ध्यानाकर्षण गराउने गरेको देखिन्छ । त्यसैले वर्तमान नेपाली साहित्यजगत्मा मुक्तक सर्वाधिक लोकप्रिय काव्यविधाका रूपमा स्थापित भएको छ । कविताका विविध रूपमध्येमा लघुतम रूपअन्तर्गत पर्ने मुक्तकमा थोरैमा धेरै कुरा भन्न सकिने क्षमता भएका कारण यो लोकप्रिय बन्न पुगेको हो । सधैँ कविताको लोकप्रियता कायम रहे पनि नेपाली साहित्यको पछिल्लो तीन दशकदेखि गजलले र पछिल्लो डेढ दशकदेखि मुक्तकले सर्वोच्च उपलब्धि हासिल गरेको देखिन्छ । यही कारण अहिले केही वर्षअगाडि नै साहित्यका विभिन्न विधाहरूका माध्यमबाट स्थापित भइसकेका स्रष्टाहरू पनि मुक्तकतिर पूर्णरूपमा आकर्षित भएको देखिन्छ ।

मुक्तक कविताको लघुतम रूपअन्तर्गत पर्दछ । संरचनात्मक स्वरूपमा फरक भए पनि नेपाली मुक्तक नेपाली कविताजत्तिकै पुरानो छ । नेपाली कविताको इतिहासलाई हेर्दा हालसम्मको खोजीअनुसार कवि सुवानन्द दासलाई पहिलो नेपाली कवि र वि.सं. १८२६ मा लिखित उनको ‘पृथ्वीनारायण’ कवितालाई पहिलो नेपाली कविता मानिँदै आएको छ । यसका आधारमा हामीले नेपाली कविताको ऐतिहासिक चर्चा गर्दा २५० वर्षको यात्राको चर्चा गर्ने गरेका थियौँ तर प्रा. मोहनप्रसाद खनालको खोजीबाट प्राप्त सुवानन्द दासभन्दा चार वर्ष अगाडिको महाकाव्य नै प्रकाशनमा आएको छ । पर्वतका राजा मलय बमका छोरा कवि रमेश मल्लद्वारा लिखित ‘मदनदीपिका’ महाकाव्य वि.सं. १८२२ मा लेखिएको कुराको स्पष्ट उल्लेख कवि स्वयम्ले गरेको र त्यसभन्दा अगाडि नै १८१८ तिर उनैले मुक्तकीय स्वरूपमा फुटकर कविता लेखिसकेको तथ्य फेला परेको हुनाले नेपाली कविताको इतिहास अझै एक दशक पुरानो बन्न पुगेको देखिन्छ । यसका आधारमा हेर्दा नेपाली कविताले वर्तमानसम्ममा आइपुग्दा २६० वर्षको यात्रा पूरा गरिसकेको छ ।

नेपाली कवितामा पहिलो मानिएको सुवानन्द दासको उल्लिखित कविता आकारगत दृष्टिले फुटकर स्वरूपमा रहेको हुनाले १८३९ तिर लेखिएको शक्तिवल्लभ अज्र्यालको ‘तनहुँ भकुन्डो’ कवितालाई नेपाली मुक्तकको पहिलो रचना मान्दै आइएको थियो तर उक्त कविताभन्दा दुई दशकअगाडि नै वि.सं. १८१८ मा लेखिएको कवि रमेश मल्लको शार्दूलविक्रीडित छन्दको निम्नलिखित एक श्लोक कविता प्राप्त भइसकेको हुनाले नेपाली मुक्तकको र छन्दकविताको पहिलो स्वरूप यही बन्न पुगेको देखिन्छ र यही नै आजसम्म प्राप्त समग्र नेपाली कविताको पहिलो सिर्जना हो । उक्त पहिलो नेपाली मुक्तकीय सिर्जना यस प्रकारको रहेको छ—
तैले चावल भाव मान घतनु पाध्या रिशानी भयो
सारा द्रोहि दरेण मासु कतिला भादो महा छारि जा
कांक्षी जेठमहा म्यरा ग्वथ गया भैठी बसौला भला
भोली लाज परेन यत्न गरदा स्वास्नी कुरा हो ह्यर ।
शार्दूलविक्रीडित छन्दमा लेखिएको यस रचनामा वर्तमान नेपाली मुक्तकमा जस्तो ‘ए, ए, बी, ए’को संरचना त देखिँदैन तापनि तत्कालीन परिवेशको सूत्रात्मक चित्रण भने पाइन्छ । यसमा चारओटै पाउमा अनुप्रासको प्रयोग पाइँदैन । यसले एकातिर नेपाली कविता लेखनको ऐतिहासिक प्रारम्भ गरेको छ भने अर्कातिर मुक्तक लेखनको पहिलो स्वरूपगत प्रतिनिधित्व पनि गरेको छ ।

यसरी रमेश मल्लबाट सुरु भएको नेपाली मुक्तक लेखनले दुई दशकपछि शक्तिवल्लभ अज्र्याललाई प्राप्त ग¥यो । त्यसपछि पनि प्राथमिक कालीन कविहरू गुमानी पन्त, रघुनाथ पोख¥याल, भानुभक्त आचार्य, अगम दिलदास आदि र माध्यमिक कालीन कविहरू मोतीराम भट्ट, शम्भुप्रसाद ढुङ्गेल, वैयाकरण नेपाल, रेवतीरमण न्यौपाने, पहलमानसिंह स्वाँर आदिले पनि सशक्त रूपमा मुक्तकहरूको रचना गरेका छन् तर प्राथमिक र माध्यमिक कालीन कविहरूले ‘मुक्तक’ भनेरै मुक्तकको रचना गरेको पाइँदैन, आकारगत रूपमा मात्र ती रचनाहरूलाई मुक्तक भन्न सकिन्छ ।

नेपाली साहित्यमा मुक्तक भनेरै मुक्तक लेख्ने पहिलो मुक्तककार भीमदर्शन रोका (१९८६–२०५९) हुन् । वि.सं. २०१० को ‘प्रगति’ (वर्ष–१, अङ्क–३) मा प्रकाशित रोकाका ‘केही मुक्तक’ नै नेपाली मुक्तक परम्परालाई आधुनिकतामा रूपान्तरण गर्ने कोसेढुङ्गा साबित भएका छन् । यसपछि टेकबहादुर नवीनको ‘केही चोइटा’ (२०१६) नेपाली मुक्तकहरूको पहिलो पुस्तकाकार कृति हो । भीमदर्शनले सुरु गरेको रुवाई शैलीको मुक्तक लेखनलाई टेकबहादुर नवीनले उचाइ थप्ने काम गरे । यसपछि भने मुक्तक लेखनमा एक प्रकारको लहर आउन थाल्यो र छोटो अवधिमा यसले निकै ठुलो सफलताका साथै अति नै लोकप्रियता हासिल ग¥यो । २०३० को दशकमा नेपाली मुक्तकले लोकप्रियताको शिखर नै चुम्यो । एकातिर २०३५÷०३६ बाट सुरु भएको ‘सडक कविता व्रmान्ति’मा मुक्तकको लोकप्रियता उल्लेखनीय रह्यो भने अर्कातिर त्यसै समयबाट पोखरेली युवा सांस्कृतिक परिवारले ‘टिकटमा मुक्तक’ वाचन र श्रवणको परम्पराको थालनी ग¥यो । यसरी विकास हुँदै आएको मुक्तकको वृक्ष २०५० को दशकपछि भने निकै मौलाउँदै गएर २०६० को उत्तरार्धदेखि त सर्वप्यापी नै हुन पुग्यो । अहिले नेपाली पद्य विधामा हाइकु, मुक्तक, गजल, गीत, कविता, खण्डकाव्य र महाकाव्य सबैको विकास उत्तरोत्तर गतिमा भइरहेको छ तापनि खण्डकाव्य र महाकाव्यलाई लेखन र पठन दुवैमा लामो समय दिनुपर्ने, फुटकर कविता, गीत र गजललाई केही समय दिएरै सुन्नु र बुझ्नुपर्ने तर मुक्तकलाई लेख्न, पढ्न, सुन्न र बुझ्न कत्ति पनि समय खर्चिनु नपर्ने हुनाले यो सबैका लागि रोचक, घोचक र मनोरञ्जक विधाका रूपमा नेपाली साहित्यमा स्थापित भएको देखिन्छ ।

नेपाली मुक्तकको यही लोकप्रिय परिवेशमा सशक्त नारी मुक्तककार गीता बजगाईं अधिकारीको आगमन भएको छ । वि.सं. २०३४ मङ्सिर ६ गते गोरखा जिल्लाको मसेलमा पिता थिरप्रसाद बजगाईं र माता धनकुमारी बजगाईंकी सुपुत्रीका रूपमा जन्मनुभएकी गीता बजगाईं शिक्षाशास्त्रमा स्नातक र मानविकी (नेपाली) मा स्नातकोत्तरसम्मको औपचारिक शिक्षा हासिल गरी शिक्षण र लेखन क्षेत्रमा प्रवेश गर्नुभएको हो । २०५१ देखि २०५३ सालसम्म चण्डेश्वरी प्राविमा शिक्षण गरी शैक्षिक सेवामा प्रवेश गरे पनि उहाँले सेभ द चिल्ड्रेन युएसए गोरखा, जिल्ला विकास समिति गोरखा आदि क्षेत्रमा सेवा गर्दै २०६२ देखि २०७१ सालसम्म विभिन्न शैक्षिक संस्थामा प्राध्यापन कार्यसमेत गर्नुभएको छ । सन् २०१२ बाट अमेरिका प्रवेश गरे पनि उहाँ सन् २०१६ बाट वेएरिया क्यालिफोर्नियामा नेपाली भाषा पाठशाला स्थापना गरी संस्थापक शिक्षकका रूपमा विदेशमा पनि नेपाली बालबालिकालाई नेपाली भाषा शिक्षण गराइरहनुभएको छ ।

गीता बजगाईं नेपाली भाषा शिक्षणका क्षेत्रमा जति सक्रिय हुनुहुन्छ, साहित्य सिर्जनामा पनि त्यत्ति नै सक्रिय हुनुहुन्छ । वि.सं. २०५४ असारमा गोर्खाबाट प्रकाशन हुने ‘दरौँदी’ पत्रिकामा ‘नारी’ शीर्षकको कविता प्रकाशन गरी नेपाली साहित्यमा प्रवेश गर्नुभएकी गीताको २०५६ मा संस्कृत मावि गोरखाबाट प्रकाशन हुने स्मारिकामा प्रकाशित ‘नेपाली भाषा शिक्षण र यसको महतव’ (विश्लेषणात्मक लेख) पहिलो समालोचनात्मक सामग्री हो । यसभन्दा अगाडि नै उहाँका ‘समुद्रपारिका सिर्जनाहरू’ (सहलेखन, सन् २०१७), ‘वर्णबगैँचा’ (बालसाहित्य, २०८०) जस्ता पुस्तकहरूका साथै ‘उठौँ अब त जुटौँ अब त’ (राष्ट्रिय गीत, सन् २०२१), ‘पत्थरको जिन्दगी’ (सन् २०२१), ‘कहिले रात कहिले दिन’ (सन् २०२३) र ‘सम्झना तीजको बेलैमा’ (सन् २०२४) जस्ता चारवटा गीतिएल्बमहरू प्रकाशन तथा प्रसारण भइसकेका छन् । यसका साथै नेपालका वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलद्वारा लिखित ‘कृषिक्रान्ति’ नामक पुस्तकको सहसम्पादकका रूपमा समेत काम गरिसक्नुभएकी गीताले नेपाली विषयको पाठ्यपुस्तक ‘रमाइलो नेपाली’ (कक्षा १ देखि ७ सम्म) मा सहलेखकका रूपमा भूमिका निर्वाह गरिसक्नुभएको छ । यसरी नै नेपाल प्रज्ञा–प्रतिष्ठानबाट प्रकाशन हुने ‘बालप्रज्ञा’ बालपत्रिकामा प्रवासी बालकविताको संयोजन, विभिन्न कृतिमा भूमिका लेखन, विभिन्न पत्रपत्रिकामा कविता, गीत, लेख आदि प्रकाशन आदि कार्यमा समेत सक्रियतापूर्वक जिम्मेवारी वहन गरिसक्नुभएको छ । अनेसास क्यालिफोर्निया च्याप्टर उपाध्यक्ष (सन् २०१६–२०१८), अनेसास च्याप्टर अध्यक्ष (सन् २०२२–२०२४), एनआरएनए क्यालिफोर्निया महिला संयोजक (२०२१–२०२३) एनआरएनए क्यालिफोर्निया महिला उपाध्यक्ष (सन् २०२३–२०२५), अनेसास केन्द्र बाल समिति सदस्य (सन् २०२१–२०२३ ), महिला समिति सदस्य (सन् २०२१–२०२३ तथा २०२३–२०२५) र एनआरएनए नेपाली भाषा साहित्य समिति सदस्य (सन् २०२१ देखि हालसम्म) जस्ता सङ्घसंस्थामा आबद्ध भएर नेपाली भाषा साहित्यको सेवामा निरन्तर लागिरहनुभएकी गीताले यस क्षेत्रमा पु¥याउनुभएको विशिष्ट योगदानको कदरस्वरूप दर्जनौँ पुरस्कार, पदक तथा सम्मान प्राप्त गरिसक्नुभएको छ । अमेरिका प्रवासको अत्यन्त व्यस्त जीवनमा पनि थोरै समय निकालेर रातदिन नभनी नेपाली भाषा साहित्यको उन्नयन कार्यमा समर्पित गीता बजगाईं पुरानो पुस्ताका लागि गर्व गर्नलायक स्रष्टा र नयाँ पुस्ताका लागि प्रेरणाकी स्रोत बन्नुभएको छ ।

नेपाली कविताका विभिन्न रूपमा सशक्त कलम चलाउनुहुने गीता बजगाईं यसपटक भने आफ्नो अत्यन्त मौलिक र एकल कृतिमा रूपमा ‘गीताञ्जली’ मुक्तकसङ्ग्रह लिएर आउनुभएको छ । समकालीन साहित्य प्रतिष्ठान, बेलायतबाट प्रकाशन हुने प्रस्तुत मुक्तकसङ्ग्रहमा ३०३ वटा अत्यन्त सशक्त मुक्तकहरू सङ्गृहीत छन् । मुक्तक कविताको लघुतम रूपअन्तर्गत पर्ने सङ्क्षिप्त तर प्रभावकारी काव्यविधा हो । कविता वा काव्यका सम्बन्धमा पूर्वीय काव्यशास्त्रहरूमा प्रशस्त चर्चा गरिएको पाइन्छ । मुक्तकलाई सबैभन्दा पहिले परिभाषित गर्ने काम ‘अग्निपुराण’ले गरेको छ । ‘अग्निपुराण’ले हृदयलाई चमत्कृत पार्ने रचनालाई मुक्तक भनेको छ भने अभिनव गुप्तले अन्य श्लोकसँग असम्बद्ध भएर पनि स्वतन्त्र रूपमा पाठकलाई रसास्वादन गराउने रचनालाई मुक्तक भनी चिनाएका छन् । यसरी नै आचार्य दण्डीले ‘मुक्तकं श्लोक एवैकश्चमत्कारः क्षमः सताम्’ (एउटै श्लोकमा पाठकका हृदयमा चमत्कार उत्पन्न गर्न सक्ने क्षमता भएको रचना नै मुक्तक हो) भनी स्पष्ट उल्लेख गरेका छन् । पूर्वीय काव्यशास्त्रहरूमा कविताको बाह्य स्वरूपका आधारमा विभिन्न नामकरण गरेको पाइन्छ । पूर्वीय जगत्मा एक श्लोकको रचनालाई ‘मुक्तक’, दुई श्लोकको रचनालाई ‘सान्दानिक वा युग्मक’, तीन श्लोकको रचनालाई ‘विशेषक वा निक्षेपक’, चार श्लोकको रचनालाई ‘कलापक’ र पाँच श्लोकको रचनालाई ‘कुलक’ भन्ने गरिन्छ । नेपाली कविता परम्परामा यो अत्यन्त लोकप्रिय र शक्तिशाली काव्यविधाका रूपमा परिचित छ । यो छोक (छोटो कविता) भन्दा केही ठुलो भए पनि सूत्रात्मक नै हुन्छ । वासुदेव त्रिपाठीले मुक्तकलाई सङ्क्षिप्त, मितव्ययी, चुड्किलो र सूत्रात्मक भावकथन हो, यसमा भावको विस्तार र फैलँदोपन अपेक्षित रहन्न भनी परिभाषित गरेका छन् भने रामप्रसाद ज्ञवालीले मुक्तक जो झड्का अनुभूतिको चुड्का अभिव्यक्तिका रूपमा कवितात्मक शिल्पमा प्रस्तुत गरिन्छ, यो टुव्रmा संवेदनाको उन्मुक्त अभिव्यञ्जना हो भनी चिनाएका छन् । यसका आधारमा हेर्दा मुक्तक बाह्य रूपमा एक श्लोकको रचना हो भने आन्तरिक रूपमा शक्तिशाली भाव र विद्युतीय झड्का दिन सक्ने क्षमता भएको रचना हो ।

स्वतन्त्र अर्थ प्रदान गर्ने ‘मुच्’ धातुमा ‘त’ प्रत्यय जोडिएर बनेको ‘मुक्त’ शब्दमा पुनः ‘क’ प्रत्यय लाग्दा ‘मुक्तक’ शब्दको निर्माण हुन्छ । यसको शाब्दिक अर्थ नै स्वतन्त्र रचना भन्ने हो । विभिन्न सन्दर्भमा सामान्यतः मुक्तकहरू चार हरफदेखि आठ हरफसम्मका हुन्छन् भनी परिभाषित गरिए पनि मूलतः मुक्तकको संरचना चुतुष्पदी नै हो । प्रायः पहिलो र दोस्रो हरफका अन्त्य वा कुनै नियमित प्रव्रिmयामा आउने शब्द अनुप्रासमय हुनु, तेस्रो हरफ स्वतन्त्र हुनु र चौथो हरफ फेरि अगाडिजस्तै अनुप्रासबद्ध हुनु ‘मुक्तक’को संरचना मानिन्छ । त्यसैले नेपाली काव्य परम्परामा चतुष्पदी संरचना, अनुभूतिको एक झिल्का, भावनाको मितव्ययी अभिव्यक्ति, संवेदनाको खिरिलो प्रस्तुति र जीवनको विशिष्ट क्षणको खारिएको अभिव्यञ्जना नै मुक्तकको मुख्य चिनारी बन्दै आएको छ । चतुष्पदी संरचना भएका कारण मुक्तकलाई उर्दू वा फारसी साहित्यमा प्रचलित रुवाईसँग जोडेर पनि हेर्ने गरिन्छ । रुवाई फारसी साहित्यको मात्र नभएर विश्वसाहित्यकै चर्चित र अति लोकप्रिय विधा मानिन्छ । यसका जन्मदाता फारसी कवि उमर खैøयाम (सन् १०४४–११२३) हुन् । यिनका रुवाईहरू अङ्ग्रेजीलगायत विभिन्न भाषामा अनुवाद भएर विश्वप्रसिद्ध बनेका छन् । रुवाई चतुष्पदी छन्द वा बहरमा लेखिन्छ । यसका लागि बहरे हजज मुसम्मन मकबुज (मफाइलुन् १२१२×४) को प्रयोग अनिवार्य मानिन्छ तर मुक्तक त्यसरी निश्चित लयमा नबाँधिएर स्वतन्त्र र मौलिक लयमा पनि लेख्न सकिन्छ । यी दुवैको बनोट, बुनोट र आनुप्रासिक व्यवस्थापन आदिलाई हेर्दा उस्तै लागे पनि रुवाईका सबै पङ्क्तिमा अक्षरगत वा मात्रागत समानता हुनु अनिवार्य छ भने मुक्तकमा त्यस्तो अनिवार्य नियम पाइँदैन । यति हुँदाहुँदै पनि ‘ए, ए, बी, ए’को संरचना चाहिँ यी दुवै विधामा हुने गर्दछ । मुक्तकको न्यूनतम संरचना चतुष्पदी हो र त्यसमा ‘ए, ए, बी, ए’को व्यवस्थापन अनिवार्य मानिन्छ । उक्त संरचनालाई यसरी बुझ्न सकिन्छ—
ए = अनुप्रासयुक्त पहिलो हरफ
(यसले भावको थालनी गरी उत्सुकताको प्रारम्भ गर्छ ।)
ए = अनुप्रासयुक्त दोस्रो हरफ
(यसले भावलाई गति दिई उत्सुकता बढाउँछ ।)
बी = स्वतन्त्र तेस्रो हरफ
(यसले वैचारिक निष्कर्षका लागि परिवेश बनाउँछ ।)
ए = अनुप्रासयुक्त चौथो हरफ
(यसमा लेखकीय अभिमत वा विचारको तर्कपूर्ण स्थापना गरिन्छ ।)
यो ‘मुक्तक’को न्यूनतम संरचना हो । यसको पहिलो र दोस्रो हरफमा अनुप्रास अनिवार्य हुनुपर्छ, तेस्रो हरफ स्वतन्त्र हुन्छ तर चौथो हरफमा पुनः अनुप्रास अनिवार्य मानिन्छ । यसरी आएका अनुप्रासहरूमा ध्वन्यात्मक एकरूपता हुनै पर्छ तर शब्दको अक्षरशः पुनरावृत्ति हुनु हुँदैन । यिनको पूर्ण पालना भएमा मुक्तक सुन्दर बन्दछ भने आंशिक पालना भएमा शाब्दिक परम्पराको निर्वाह मात्र हुने गर्दछ । ‘ए, ए, बी, ए’को संरचना र भावगत उन्नयन कसरी हुन्छ भन्ने कुरालाई बुझ्न स्रष्टा गीता बजगाईंकै निम्नलिखित मुक्तकलाई आधार बनाएर हेर्दा अझै स्पष्ट हुन सकिन्छ—
ए = गाँस, बास, कपासको अभाव भैदियो
ए = जताततै मारामारको बहाव भैदियो
बी = खडेरीले सुकेको खेतबारीजस्तै
ए = हृदयको फूलबारी सखाप भैदियो ।
यहाँ आएको ‘अभाव’ शब्दकेन्द्रित पहिलो हरफले भावको थालनी गरी उत्सुकताको प्रारम्भ गरेको छ भने ‘बहाव’ शब्द (‘अभाव’को अनुप्रास) केन्द्रित दोस्रो हरफले भावलाई गति दिई उत्सुकता बढाउने काम गरेको छ । यहाँको स्वतन्त्र तेस्रो हरफले वैचारिक निष्कर्षका लागि परिवेश निर्माण गरेको छ भने ‘सखाप’ शब्द (‘अभाव’ र ‘बहाव’को अनुप्रास) केन्द्रित चौथो हरफले लेखकीय अभिमत वा विचारको तर्कपूर्ण स्थापना गरेको छ । ती अनुप्रासमूलक शब्दहरूभन्दा पछाडि आएको ‘भैदियो’ क्रियापदले चाहिँ अभिव्यक्तिलाई गेयात्मक बनाएको छ । मुक्तकका लागि उक्त पद अनिवार्य होइन, त्यसभन्दा अगाडिका अनुप्रासमूलक पदहरू चाहिँ अनिवार्य तत्व हुन्, जसको अभावमा मुक्तक, मुक्तक नै हुन सक्दैन । यस मुक्तकले रचनामा विषयवस्तुको व्यवस्थापन र भावको गति उत्तरोत्तर विकासको चरणमा हुनुपर्छ भन्ने स्पष्ट देखाएको छ । पहिलो हरफको उठान सामान्य रूपमा भए पनि पहिलोभन्दा दोस्रो हरफ, दोस्रोभन्दा तेस्रो हरफ र तेस्रो हरफभन्दा चौथो हरफ शक्तिशाली हुनुपर्छ । अर्थात् मुक्तकको चौथो हरफमा आउने विद्युतीय झड्काले पाठकको मनमा अद्भुत तरङ्ग सिर्जना गर्न सक्नुपर्छ । हत्केलामा ब्रह्माण्ड अटाउने शक्ति हुनाले एउटा मुक्तकमा एउटा महाकाव्यको भन्दा शक्तिशाली भाव अटाउन पनि सक्छ ।

स्रष्टा गीता बजगाईंका मुक्तकहरू आनुप्रासिक बाह्यसङ्गठनका कारण मात्र नभएर भावगम्भीर आन्तरिक सङ्गठनका कारण पनि उल्लेखनीय छन् । ‘गीताञ्जली’ मुक्तकसङ्ग्रहको शीर्षकीकरण अभिधा अर्थमा नभएर व्यञ्जना अर्थमा चयन गरिएको छ । यो शीर्षकीकरण कुनै एउटा मुक्तकको भावमा वा कुनै मुक्तकमा प्रयुक्त पद वा पदावलीमा आश्रित नभएर सिङ्गो सङ्ग्रहमा रहेका मुक्तकहरूको भावगत प्रतिनिधित्व हुने गरी चयन गरिएको छ । ‘गीताञ्जली’को कोशीय अर्थ प्रार्थना गर्दै जोडिएको अँजुली भन्ने हुन्छ । त्यस अर्थमा त यो स्वतः सार्थक छँदै छ । यो स्रष्टा गीताले आफ्ना भगवान्समान पाठकवर्गमा सिर्जनात्मक प्रार्थना गर्दै जोडेको अँजुली नै हो । यसका अतिरिक्त यहाँको गीता स्रष्टा गीता पनि हो र पूर्वीय जगत्को ज्ञानको निचोड श्रीमद् भगवद्गीता पनि हो । स्रष्टा गीताको अञ्जलीमा शालीनता छ, पाठकप्रतिको श्रद्धा छ, सद्भाव र स्नेह छ अनि हार्दिकतापूर्वक गरिएको समर्पण पनि छ । ध्वन्यात्मक रूपमा सङ्केतित श्रीमद् भगवद्गीताको अञ्जुलीमा ज्ञानको गहिराइ छ, जीवनबोध छ, युगबोध छ, चिन्तनको गाम्भीर्य छ, अध्यात्मको रश्मि छ र सिङ्गो ब्रह्माण्डलाई हेर्ने एउटा सूक्ष्म दृष्टिकोण पनि छ । यस कारण प्रस्तुत शीर्षकले नै यस मुक्तकसङ्ग्रहभित्रका मुक्तकहरूको विषयगत विविधता, भावगत व्यापकता, चिन्तनगत गहनता र दृष्टिकोणगत सूक्ष्मतालाई सङ्केत गरेको देखिन्छ । तसर्थ प्रस्तुत मुक्तकसङ्ग्रहको शीर्षक ‘गीताञ्जली’ ध्वन्यात्मक वा व्यञ्जनात्मक अर्थमा साँच्चै सार्थक बन्न पुगेको छ ।

उल्लिखित शीर्षकीय सार्थकताबाट नै यहाँका मुक्तकहरू कुनै एउटा विषय वा भावमा नियन्त्रित नभएर अनुभूतिको स्वच्छन्द उडान र चिन्तनको विशिष्ट परिधिबाट जन्मिएका छन् भन्ने कुरा थाहा पाइन्छ । यहाँका हरेक मुक्तकहरू स्रष्टाको वैयक्तिक अनुभूतिका उपज हुन् । चेतनप्रवाह शैलीमा स्रष्टाका मनमा जे कुरा उत्पन्न हुन्छ, त्यसैलाई कुनै तीनवटा अनुप्रासमूलक शब्दको छनोट गरी चतुष्पदी मुक्तकीय ढाँचामा पूर्णता दिनु नै यहाँका मुक्तकहरूको पहिलो चिनारी हो । यहाँका ३१८ ओटा मुक्तकहरूभित्र समेटिएको भावगत व्यापकता र सूत्रात्मक सूचनाभित्र लुकेको ध्वन्यार्थको विश्लेषण गर्न थाल्ने हो भने जति पनि अर्थहरू निस्कन सक्छन् । अभिव्यक्तिगत सूत्रात्मकता, विषयगत विविधता र भावगत व्यापकता गीता बजगाईंका मुक्तकका विशेषताहरू हुन् । यस सङ्ग्रहका मुक्तकमा गीता कतै भावुक स्रष्टा र कतै विचार प्रधान समाजद्रष्टाका रूपमा देखिनुभएको छ । स्रष्टा स्वयम् नारी भएका कारण उहाँका मुक्तकमा नारी संवेदना, करुणा, नैसर्गिक अधिकार र मातृत्वप्रति लक्षित स्वरहरू अलि बढी नै मुखरित हुनु स्वाभाविक हो । यस कारण उहाँको यस कृतिमा आमा र नारीसम्बन्धी मुक्तकहरूको बाहुल्य देखिन्छ । यसका साथै उहाँ कतै परदेशमा बस्नुपर्दाका पीडाहरू र स्वदेशका सम्झनाहरूमा भावुक बन्नुहुन्छ, कतै देश विकासको चिन्ता गर्दै नेतृत्ववर्गमा सुधारको अपेक्षा गर्नुहुन्छ, कतै मानवीय चरित्रका अनेक रूपको उद्घाटन गर्नुहुन्छ, कतै पितापुर्खाप्रति श्रद्धाभाव, परम्परागत संस्कार र संस्कृतिप्रति सम्मान भाव व्यक्त गर्नुहुन्छ, कतै सबै खाले विभेदप्रति असहमति राख्दै समतामूलक मानवतावादी समाज स्थापनाको सङ्कल्प गर्नुहुन्छ, कतै अध्यात्म र नैतिक मूल्यप्रतिको विश्वासलाई सम्प्रेषण गर्नुहुन्छ, कतै चाडपर्व, रोपाइँ, मेलापात, गाउँघर र प्राकृतिक जीवनको सम्झना गर्दै नोस्टाल्जिक बन्नुहुन्छ भने कतै गाउँ, कतै सहर, कतै देश, कतै अमेरिका र कतै चाहिँ विश्वचेतनाको शब्दचित्र बोकेर उपस्थित हुनुहुन्छ । यसरी गीता बजगाईंका मुक्तकहरू वर्तमान मानवीय जीवन र विश्वजगत्का मूर्त विम्बका रूपमा यस कृतिमा आएर उभिएका देखिन्छन् ।

आमा सिर्जनाकी मूल आधार हुन् । विश्वमा आमाका विषयमा कविता नलेख्ने कवि वा आमालाई कलामा नउतार्ने कलाकार एउटा पनि भेटिँदैन । आमा र देश हरेक सर्जकका सिर्जनाका लागि पहिलो र दोस्रो रोजाइ बन्ने गरेका छन्, त्यसपछि मात्र अन्य विषयहरू सिर्जनामा आउने गर्दछन् । स्रष्टा गीता बजगाईं एउटी आमाकी छोरी हुनुहुन्छ र स्वयम् तीन सन्तानकी आमासमेत हुनुहुन्छ । यस कारण उहाँमा आमाप्रतिको श्रद्धाभाव मात्र होइन, आमा बन्दाको गर्विलो अनुभूति पनि छ । नारी जातिमा माता त जो पनि हुन सक्छन् तर मातृत्व सबैमा हुँदैन । जसमा मातृत्व हुन्छ, ती माता साँच्चै महान् हुन् । आमा महासागर हुन्, जसमा ममताको गहिराइ हुन्छ र आमा सगरमाथा हुन्, जसमा त्यागको अगम्य उचाइ हुन्छ भन्ने कुरालाई स्रष्टा गीताले राम्ररी बुझ्नुभएको छ । त्यसैले उहाँ आफ्ना मुक्तकमा आमाको महिमालाई यसरी प्रस्तुत गर्दै घरदेशमा भन्दा बढी परदेशमा आमाको यादले सताउने र जन्मदाताको महतवबोध बढी हुने कुरालाई मुक्तकमार्फत सम्प्रेषण गर्नुहुन्छ—
छल, कपट, दुस्मनी र अन्तर्घात हँुदैन आमाबाट
कतै काखा कतै पाखाको पक्षपात हँुदैन आमाबाट
आमाको ममताभन्दा ठुलो के हुन सक्छ दुनियाँमा
जुनै वर्णको भए पनि विभाज्य जात हुँदैन आमाबाट ।

आमाको त्यो फाटेको धोती सम्झिरहन्छु परदेशमा
सङ्घर्ष गर्दा झरेको मोती सम्झिरहन्छु परदेशमा
लोभीपापी, जालीझेली बढेर आज आकाश छोएको छ
पसिना पुछ्ने बाबाको टोपी सम्झिरहन्छु परदेशमा ।

स्रष्टा स्वयम् नारी हुनाले उहाँका मुक्तकमा नारी संवेदनाले प्रवेश पाउनु स्वाभाविक हो । नारी करुणा वा मातृत्वलाई बुझ्न नसक्नेहरूले मात्र नारी वा मातृशक्तिलाई कम महत्व दिने गरेका हुन् तर मातृशक्ति नै त्याग, समर्पण, साथ, सहयोग, सद्भाव र उत्प्रेरणाको आधार हो भन्ने कुरालाई उहाँले यसरी आफ्ना मुक्तकमा प्रस्तुत गर्नुभएको छ—
नारी साँच्चै धरती नै हुन्, सबैलाई माथ दिन्छिन्
मातृत्वको आभा ठुलो वात्सल्यको हात दिन्छिन्
पुण्यकर्म त्यही हो आखिर असहायको उद्धार भयो
लपेटेर आफ्नो काखमा जीवनभरि साथ दिन्छिन् ।

एकातिर नारीशक्ति यस्तो त्यागको प्रतिमूर्ति मानिने गर्छ भने त्यही नारीशक्ति सामाजिक विकृति, आडम्बर र देखावटीपनको सिकार पनि बन्दै गएको छ । जुन दिन नारीशक्ति आफ्नो आन्तरिक सबलतालाई त्यागेर बाहिरी सजावटका पछि लाग्छ, त्यस दिन उसको शक्ति नै क्षीण हुन्छ भन्ने कुरालाई ध्वन्यात्मक रूपमा सङ्केत गर्दै नारी समाजमा प्रवेश गरेको विकृतिप्रति मुक्तककार गीताले यसरी विमति प्रकट गर्नुभएको छ—
हरिया चुरा लगाउँदैमा मान्छेको आयु बढ्छ कहाँ !
पहेँला पोतेले सजाउँदैमा काल आफैँ लड्छ कहाँ !
कस्तो कुसंस्कार भित्रिएको, केही बुझ्न सकिएन
ऋण गरेर गहना लाउँदा खुट्टा काँधमा चढ्छ कहाँ !

यसरी नै परदेसिनुको पीडालाई स्रष्टा गीताले उच्च प्राथमिकताका साथ प्रस्तुत गर्नुभएको छ । यहाँका धेरै मुक्तकहरूमा परदेशप्रतिको सपना र यथार्थको उद्घाटन भएको पाइन्छ । यसका साथै भौतिक सम्पन्नता र आत्मिक सन्तुष्टिका बिचको दुरीलाई परदेशी जीवनले छर्लङ्ग पारिएको सन्दर्भलाई पनि मुक्तकमार्फत सम्प्रेषण गरिएको छ । जुन वस्तु समीपमा हुँदा त्यसको अर्थ रहँदैन, त्यही वस्तुले विदेशमा रहँदा हरेक व्यक्तिलाई नोस्टाल्जिक बनाइदिन्छ भन्ने कुराको सुन्दर उद्घाटन यस मुक्तकमार्फत भएको छ—
परदेशको आँगन प¥यो, केको दसैँ आउँथ्यो यता
घरदेशको यादले मा¥यो केको हर्ष छाउँथ्यो यता
आफ्नो देश, आफन्त, इष्टमित्र सबै टाढा भएपछि
मुटुभित्र गाँठो पारी कोइली किन गाउँथ्यो यता ।

यसै गरी वस्तुको महत्वलाई स्थानले निर्धारण गर्ने गर्छ । एउटा ढुङ्गो सिलौटोदेखि देवतासम्म बन्न सक्ने कुरालाई दृश्य रूपमा प्रस्तुत गरी व्यञ्जनात्मक रूपमा मानवीय विश्वास, अवसर र प्राप्तिलाई यस मुक्तकमा सुन्दर तरिकाले यसरी प्रस्तुत गरिएको छ—
टिपी राखे ढुङ्गोलाई, मन्दिरभित्र द्यौता बन्छ
उही ढुङ्गो अर्कोतिर चुलो अनि चौका बन्छ
विश्वासको कुरा न हो संसार जित्ने बाटो
सही ठाउँमा सही कुरा, हरदम मौका बन्छ ।

मानवीय द्वैध चरित्र नै समाज विकासको सबैभन्दा ठुलो बाधक हो । चिन्तन र चरित्र, नीति र व्यवहार अथवा भनाइ र गराइमा पाइने अन्तरले गर्दा आजको मानवले मानवबाट नै विश्वास गुमाउँदै गएको विषयलाई यस मुक्तकमा विम्बात्मक माध्यमबाट यसरी उद्घाटन गरिएको छ—
आलु खाएर पेडाको धाक दिन्छन्
तेल बेसार घसेर मिठो राग चिन्छन्
कुर्सीको महिमा निकै बढेपछि त
तस्कर समाती आफैँ खाग लिन्छन् ।
मानव हुनुको सार्थकता निष्क्रियता होइन, आलस्य, दिग्दारी र पलायन पनि होइन । परिस्थितिसँगको सङ्घर्षले मात्र जीवन सार्थक हुने गर्दछ । प्राप्तिमा हौसिनु र अभावमा निराश हुनु भनेको जीवनको गतिशीलतालाई नबुझ्नु हो । प्रकृतिमा देखिने उतारचढावजस्तै जीवनमा पनि आशा–निराशा, प्राप्ति–अभाव र सुख–दुःखको आरोह–अवरोह भइ नै रहन्छ । त्यसैले हरेक परिस्थितिसँग सङ्घर्ष गर्न सक्ने मान्छेले मात्र जीवनमा सफलता हासिल गर्न सक्छ भन्ने आशावादी एवम् जीवनवादी सन्देश निम्नलिखित मुक्तकमार्फत दिइएको छ—
दुई दिनको जिन्दगानी सङ्घर्षले चल्नुपर्छ
बेथितिका पहाडहरू हिम्मतले ढल्नुपर्छ
संसारमा आउने–जाने बाटो यौटै भएपछि
स्विकारेर दिनरात जीवनदीप बल्नुपर्छ ।

जीवनका हरेक पलहरू सामान्य गतिमा अगाडि बढे भने गन्तव्य प्राप्ति असम्भव होइन तर हामी जीवनमा अस्वाभाविक कल्पनाहरू गर्न थाल्छौँ, असामान्य आश्वासनहरू दिन थाल्छौँ र मानवीय क्षमताभन्दा धेरै माथिका स्वैरकाल्पनिक परिवेशमा रमाउन थाल्छौँ, जसका कारण उपलब्धि हासिल हुन सक्दैन र हामी तत्काल निराश पनि भइहाल्छौँ । चाहे प्रेममा होस्, चाहे जीवनबोधमा होस्, सम्भव हुने कुरालाई मात्र आत्मसात् गर्नुपर्छ भन्ने व्यावहारिक सन्देशको सम्प्रेषण निम्नलिखित मुक्तकले गरेको छ—
सूर्यलाई च्याप्प पारी हातमा साँच्न सक्ने भए
चाहे जसरी जीवन सबैले बाँच्न सक्ने भए
दिनरात कटाक्ष गर्दै किन हिँड्थ्यो होला मान्छे
प्रेमको नाममा जून उपहार दिई नाच्न सक्ने भए ।

इन्द्रेनीमय नेपाली समाज हाम्रो पहिलो चिनारी हो । बहुजाति, बहुभाषा र बहुसंस्कृतिको सप्तरङ्गी समाजका कारण विश्वमा हाम्रो छुट्टै अस्तित्व रहेको छ तर यसलाई भाँड्ने अनेकौँ नकारात्मक तत्वहरू पनि हामीसँगै छन् । एउटै हावा, पानी र अन्न खाएर, एउटै आकाश ओढेर अनि तिनै चन्द्र र सूर्यको शीतलता र न्यानोपन ग्रहण गरेर हुर्केका हामी मानव जातिमा अनेक प्रकारका विभेदका रेखाहरू किन कोरिएका होलान् ? यहाँ माथिल्लो र तल्लो भन्ने जातीय विभेद वा सानो र ठुलो भन्ने वर्गीय विभेदले कसरी प्रवेश पाएको होला ? भन्ने प्रश्न गर्दै समतामूलक मानवतावादी समाजको स्थापनाका लागि स्रष्टा गीताले आफ्नो धरा र आफ्नो जरालाई चिन्नुपर्ने सन्देश यसरी दिनुभएको छ—
सूर्य यौटै, चन्द्र यौटै, धरा यौटै मान्नुपर्छ
भिन्न धर्म भए पनि गरा यौटै मान्नुपर्छ
हातेमालो गर्न सके रम्ने आहा जिन्दगानी,
ठुलोसानो जे भए नि जरा यौटै मान्नुपर्छ ।

आज हामी अधिकांश नेपालीका लागि सहर रोजाइको दुःख र गाउँ चाहिँ सम्झनाको सुख बन्ने गरेको छ । यसमा प्राकृतिक जीवन र कृत्रिम जीवनबिचको द्वन्द्व पनि पाइन्छ । गाउँको सुन्दरता एउटा आदर्श हो भने सहरको भोगाइ यथार्थ हो । आज अधिकांश गाउँहरू कवितामा बाँचिरहेका छन् तर यथार्थमा टाक्सिरहेका छन् । अधिकांश सिर्जनामा गाउँका विशाल जुलुसहरू देख्न पाइन्छ तर साँच्चै गाउँमा पुग्दा चाहिँ ती एक्लाएक्लै बाँचिरहेका छन् । यति हुँदाहुँदै पनि निःस्वार्थता, निश्छलता, निष्कपटता र उदारता ग्रामीण जीवनका चिनारी हुन् भन्ने कुरालाई स्रष्टा गीताले आफ्ना मुक्तकमार्फत यसरी प्रस्तुत गर्नुभएको छ—
एकआपसको प्यार पाउन गाउँ जान्छु
नम्र बोली व्यवहार पाउन गाउँ जान्छु
सहरको स्वार्थी मान्छे बल्ल थाहा पाएँ
जीवन जिउने आधार पाउन गाउँ जान्छु ।

मुक्तक आफैँमा छोटो संरचना हो । त्यसमा पनि अझै थोरै शब्दविन्यासमा गहन भावलाई अभिव्यक्त गर्न सकियो भने त्यो अझै सशक्त मानिन्छ । यस सङ्ग्रहका मुक्तकमा स्रष्टा गीताले अत्यन्त छोटो संरचनामा गहन भाव बोकेका मुक्तकहरू पनि प्रशस्त समावेश गर्नुभएको छ । तीमध्येमा आत्मविश्वास, समर्पण र सङ्घर्षको सङ्कल्प बोकेको प्रस्तुत मुक्तक न्यून शब्दविन्यास र अधिक भावविन्यास भएको एउटा नमुना रचना बन्न सक्छ—
सपनाले साथ छोडेको छैन
मुटुले हिम्मत तोडेको छैन
नित्य सङ्घर्ष गरिरहन्छु म
सत्कर्मले बाटो मोडेको छैन ।

यसरी मुक्तककार गीता बजगाईंका मुक्तकहरू अनुभूति, विचार र यथार्थका त्रिवेणी बनेर देखिएका छन् । आधुनिक नेपाली मुक्तक परम्परामा यिनको विशिष्ट स्थान रहने छ भन्ने कुराका साक्ष्य उल्लिखित उदाहरणहरू हुन् । त्यसैले ‘गीताञ्जली’ मुक्तकसङ्ग्रह कल्पना, भावना, विचार र दर्शनको पनि अँजुली बनेर देखा परेको छ । एउटा सङ्ग्रहभित्र यति धेरै मनमोहक, सूक्तिपूर्ण र व्यञ्जनाधर्मी मुक्तकहरू कमै पाइने हुनाले यसलाई एउटा सबल र सफल मुक्तकसङ्ग्रहका रूपमा लिनुपर्छ । यहाँका धेरै मुक्तकहरू विषय, भाव, दर्शन र विचारमा सुन्दर र सशक्त हुँदाहुँदै पनि तिनमा संरचनागत रूपमा केही दोषहरू भेटिन्छन् । यहाँका धेरैजसो मुक्तकमा अनुप्रास वा समध्वन्यात्मक पद वा पदावलीको पूर्ण प्रयोग भएको पाइन्छ भने केहीमा चाहिँ आंशिक पालना भएको पाइन्छ । पूर्ण अनुप्रासको पालना मुक्तकका लागि सुन्दर पक्ष मानिन्छ । यसरी नै लयात्मक अनुशासनको पालना यहाँका मुक्तकहरूका ऋणात्मक पक्ष हुन् । यहाँका मुक्तकहरू केही लोकलयात्मक संरचनामा आबद्ध छन् भने केही मात्रागत एकरूपताविहीन मुक्त संरचनामा आबद्ध छन् । यिनलाई पनि उच्चारणगत आरोह अवरोहमा ठेस लाग्न नदिने गरी प्रस्तुत गर्ने र ठाउँ ठाउँमा पाइने अभिधामूलक सोझा अभिव्यक्तिहरूलाई पनि ध्वन्यात्मक बनाउने हो भने यो सङ्ग्रह नेपाली मुक्तक परम्पराकै एक उदाहरणीय कृतिका रूपमा स्थापित हुने कुरा निर्विवाद देखिन्छ ।

उल्लिखित पक्षहरू गहिरिएर खोज्नै थाल्दा मात्र भेटिने दोषहरू हुन् । तुलनात्मक रूपमा यहाँका मुक्तकहरू सफल, सबल र सुन्दर छन् । शब्दसौन्दर्य, लयमाधुर्य र भावगाम्भीर्य मुक्तकको सबैभन्दा ठुलो शक्ति हो । ती कुराहरू यहाँ प्रशस्त पाइने हुनाले यी मुक्तक बन्न पुगेका छन् । यति हुँदाहुँदै पनि सिर्जनात्मक सौन्दर्यको उच्चतम प्राप्तिको अपेक्षा सर्जक र भावक दुवैमा नरहने हो भने सिर्जनात्मक प्रगतिका पाइलाहरू त्यहीँ रोकिन्छन् । त्यसैले मुक्तककार गीताको साधनाको यात्रा अविरल रहनुपर्छ अनि संरचनागत आंशिक दोष, अभिधामूलक प्रस्तुति र लयविधानगत दोषबाट मुक्तकलाई बचाउँदै आदर्श सिर्जनामा आफूलाई समर्पित गर्नुपर्छ भन्ने मलाई लाग्छ ।

अन्त्यमा, निजी विचार र वैयक्तिक अनुभूतिलाई पनि साधारणीकरण गरी नेपाली पाठकका साझा अनुभूतिका रूपमा रूपान्तरण गरेर सबैका लागि एउटै अँजुलीमा ब्रह्माण्ड समेटिएको यति सुन्दर कृति प्रदान गर्नुहुने मुक्तककार गीता बजगाईं अधिकारीलाई सहर्ष बधाई ज्ञापन गर्दै र अझै सुन्दर, अझै सशक्त, अझै युगीन र अझै कालजयी सिर्जनशीलताका लागि हार्दिक शुभकामना व्यक्त गर्दै बिदा हुन्छु ।

साधनागृह, लोकन्थली, भक्तपुर

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।