नेपाली साहित्यको समकालीन परिवेशमा ‘अन्जुली’ मुक्तकसङ्ग्रह एउटा नवीन कृतिका रूपमा उदाएको छ । साहित्यमा कम शब्दमा गहन तथा असीमित अर्थयुक्त काव्य रचनालाई ‘मुक्तक’ भनिएको छ । ‘मुक्त’ शब्दमा ‘क’ प्रत्यय लागेर बनेको ‘मुक्तक’ शब्दले ‘शास्त्रीय अनि पद्यको कुनै किसिमको नियममा नबाँधिएको, बन्धनरहीत स्वतन्त्र’ भन्ने अर्थ बोकेको देखिन्छ । लघु आयामिक भए तापनि अर्थविन्यासका दृष्टिले आफैमा पूर्ण हुनु नै मुक्तकको प्रवृत्ति हो । साहित्यिक परम्परामा, खासगरी अग्नि पुराणमा नै ‘सहृदयलाई चमत्कृत पार्ने रचना’ भनेर मुक्तकलाई परिभाषित गरिएको पाइन्छ । अर्थात्, पाठकलाई शब्दको खेलबाट चमत्कार दिने खुबी मुक्तकमा हुन्छ ।
त्यस्तै, प्रज्ञा नेपाली बृहत् शब्दकोशले ‘कथासूत्रमा आबद्ध नभएको, मनका भावलाई प्रतिविम्बित गर्ने प्रभावकारी छोटो कविता’ भनेर मुक्तकलाई चिनाएको छ । यसैले, दोस्रो अर्थका रूपमा ‘पूर्वीय काव्यशास्त्रअनुसार समासरहित गद्य’ भनेको छ । अतः नेपाली साहित्यिक आकाशमा देखिएको ‘मुक्तक’ संस्कृत साहित्यकै देनको रूपमा आएको देखिन्छ । त्यसैले, मुक्तकमा परस्पर सन्दर्भनिरपेक्ष रहेका कविता, गीत, गजल जस्ता सबै लघुरूप पर्न सक्छन् तर, विशेष रूपले हेर्दा ‘सबैभन्दा सानो हुनाका साथै सूक्तिमय, साङ्केतिक तथा प्रतीकात्मक हुने अनि एक आवृत्तिमा भाव संप्रेषित गर्न सक्ने लोकप्रिय कवितामय अभिव्यक्ति’ मात्र मुक्तक मानिन्छ । वास्तवमा, चार हरफमा एउटा पूर्ण संसार अटाउन सक्ने यो विधा पछिल्लो समय निकै लोकप्रिय र प्रभावशाली बन्दै गएको देखिन्छ ।
नेपाली साहित्यमा प्रचलित ‘मुक्तक’ संस्कृत साहित्यको देन भए तापनि फारसी भाषाको ‘रुबाई’ को संचरनात्मक स्वरूपको जस्तो पनि देखिन्छ । फारसीको रूबाईमा चार पङ्क्तिका कविता हुन्छन्, जसलाई मिस्रा भनिन्छ । पहिलो, दोस्रो र चौथो पङ्क्ति एउटै ढाँचामा लेखिन्छ भने तेस्रो पङ्क्ति स्वतन्त्र रहन्छ । मुक्तकका सन्दर्भमा पनि ‘पहिलो, दोस्रो र चौथो हरफमा अनुप्रासयुक्त व्यञ्जन वा स्वर ध्वनि संयोजन अनि तेस्रो हरफ स्वतन्त्र रहनु मुक्तकको गुण हो’ भनिएको छ । कला साहित्यमा भने सूक्ष्म संवेगहरूलाई थोरै शब्दको मालामा उनेर लयात्मक चतुष्पदीय संरचनाको पद्यात्मक प्रस्तुतिलाई मुक्तक भनिन्छ । यसै परिवेशमा अञ्जु शर्माको मुक्तकसङ्ग्रह ‘अन्जुली’ एउटा विशेष उपहारका रूपमा नेपाली साहित्यजगतमा आएको छ । ‘अन्जुली’ शब्दहरूको सँगालो मात्र होइन, यो उनको हृदयको ढुकढुकी, समाजको ऐना र युग चेतनाको प्रतिध्वनिका रूपमा रहेको देखिन्छ । समकालीन साहित्य प्रतिष्ठान बेलायतद्वारा प्रकाशित यो कृतिले प्रवासको व्यस्त जीवनमा पनि आफ्नो माटो र भाषाप्रति शर्माको अगाध निष्ठालाई समेत प्रस्तुत गरेको छ ।
१. मुक्तककार अञ्जु शर्मा
अञ्जु शर्माको जन्म र हुर्काइ नेपालको पहाडी जिल्ला पर्वतको ठुलीपोखरीमा भयो र वैवाहिक सम्बन्ध गोरखासँग गाँसियो । नेपालका दुई ऐतिहासिक र सांस्कृतिक रूपमा धनी पहाडी जिल्लाहरूको प्रभाव उनको साहित्यिक व्यक्तित्वमा समेत परेको देखिन्छ । ‘पर्वतकी छोरी हुँ म, गोरखा मेरो घर, देश छाडी परदेश आएँ, यहाँ अर्को घर’ भन्ने उनका मुक्तकमा प्रयुक्त वाक्यहरूमार्फत उनले विस्थापनको कथा–व्यथा दुवैलाई व्यक्त गर्दै आफ्नो परिचय दिएकी छिन् । नेपाली मुक्तक जगतमा उदाएकी अञ्जु शर्माका मुक्तकहरूमा उनले टेकेका भौगोलिक, सामाजिक र सांस्कृतिक परिवेश सहजै भेट्न सकिन्छ । उनमा नेपाली पहाडको स्वच्छता र ग्रामीण समाजको पृष्ठभूमि मात्र रहेको छैन, आधुनिक विश्वको वास्तविकतामा बेलायत जस्तो विकसित मुलुकमा प्रवासी नेपालीका सपनाको प्रतिबिम्ब पनि रहेका छन् । बेलायतको युनिभर्सिटी अफ वेस्ट लन्डनबाट क्रिटिकल केयर स्पेसियालिटी र मिडिलसेक्स युनिभर्सिटी लन्डनबाट बी.एस्सी. नर्सिङ गरी चेल्सी र वेस्टमिनिस्टर ल्ज्क् ट्रस्ट, इङ्ल्यान्डमा क्रिटिकल केयर नर्सका रूपमा व्यस्त शर्माले समय निकालेर ‘अन्जुली’ तयार गरेकी छिन् । यसमा उनले आफ्ना भावना र भोगाइ मात्र समेटेकी छैनन्, समग्र नेपाली समाजको वास्तविकता र उतारचढावका साथै प्रवासी जीवनलाई पनि समेट्ने प्रयास गरेकी छिन् ।
२. ‘अन्जुली’ को वैचारिक धरातल
‘अन्जुली’ का एक सय छपन्न अंशहरूमा शर्माले एक किसिमका मात्र हैन अनेकौँ किसिमका वैचारिक धरातलहरू प्रस्तुत गरेकी छिन्, जसलाई विषयगत आधारमा छुट्याएर हेर्दा ः
क) प्रेम, मिलन र बिछोड
मानव जीवनको सबैभन्दा कोमल र जटिल अनुभूति हो माया–प्रेम । मानिसका भावना र छटपटीहरू जति माया र प्रेममा देखिन्छन्, सायद त्यति अरू अवस्थामा देखिँदैनन् । तसर्थ प्रेमको भावमा आएका मिलन, बिछोड, पीडा, छटपटी, रोदन आदि मुक्तकका विषय बन्दा पाठकका मनमा यसले सजिलै प्रवेश पाउन सक्छन् । ‘अन्जुली’ भित्र पाठकले प्रेमका यस्ता अनेक स्वरूपहरू पाउँछन् ।
“मनमा अपार शान्ति फैलिएको समय
साँच्चै नै मोहकताले सजिएको समय
खै कसरी बित्यो–बित्यो तिमीसँगको साथ
थियो मदहोसताले भरिएको समय ।”
यहाँ शर्माले कहिले प्रेमलाई ‘अपार शान्ति’ का रूपमा प्रस्तुत गरेकी छिन् भने कहिले ‘मदहोसताले भरिएको समय’ का रूपमा प्रस्तुत गरेकी छिन् । यी दुवै प्रेमका मनोरञ्जक पाटाहरू हुन् । उनले यिनै पाटाहरूलाई पनि आध्यात्मिक आनन्दका रूपमा प्रस्तुत गरेकी छिन् । प्रेमलाई मनमोहक रूपमा सम्झिएर रचेका रचनामा पाठक नतमस्तक भएर प्रेमालापभित्र पस्ने किसिमका मुक्तक यहाँ छन् । प्रेम सधैँ यति सजिलो र मिठो कहाँ हुन्छ र ! यसको अर्को भयानक पाटाका रूपमा प्रेममा पाइने धोका, भ्रमजाल र त्यसबाट पाइने मानसिक तडप पनि त हुन्छन् । त्यस्ता समयमा निस्किने भावलाई पनि उनले उठाएकी छिन् ।
“सम्बन्धमा सलाई कोरेर गयो
प्रेमको दह्रो ताल्चा फोरेर गयो
विश्वास गरेकी थिएँ उसलाई
चौरास्तामा एक्लै छोडेर गयो ।”
जीवनको चौबाटामा पुगेर विश्वास गरेका पात्रले, प्रेमको गला रेटेर, एक्लै छोडी हिँड्ने अवस्थाको चित्रण गरिएको यस्तो मुक्तकमा प्रेमीको दोहोरो चरित्र खुलेका समयमा आउने धोकाको क्षण शर्माका मुक्तकमा सहज देखिए पनि सम्बन्धै टुक्रिने अवस्था त सहज अवश्यै हुँदैन । प्रेमलाई सम्बन्धको ताल्चा बनाउन चाहने प्रेमिकाले धोका पाउँदा उसको मनमा बसेको भाव यहाँ प्रकट भएको छ ।
शर्माले कतिपय मुक्तकहरूमा प्रेमलाई नै ‘विद्रोही’ भावका रूपमा प्रस्तुत गरेकी छिन्, जहाँ उनले समाजका बन्धन तोडेरै नाता जोड्ने तीव्र इच्छा समेत व्यक्त गरेकी छिन् । प्रेम सधैँ प्यारो मात्र कहाँ हुन्छ र भन्ने भाव राख्तै शर्माले आफ्ना अनेक मुक्तकमा प्रेमलाई रोमान्समा मात्र सीमित नगरी यसलाई जीवनको एउटा दार्शनिक पक्षको रूपमा समेत प्रस्तुत गरेकी छिन् । जे होस् प्रेमका अनेक उदाहरणमा उनले प्रेमलाई जोड्ने, बाधा अड्चन तोड्ने, अनि शत्रुले पनि बाटो मोड्ने पवित्र रसायनसमेत मुक्तकमा दिएकी छिन् ।
ख) राजनीतिक विकृति र जन्मभूमिको चिन्ता
साहित्यकारले समाजलाई मसिनोसँग निहाल्ने काम गरेको हुन्छ । समाजको एउटा महत्वपूर्ण पाटो हो, राजनीति । हुन त हाम्रो देशको राजनीति जताततैबाट च्यात्तिएको, बिग्रिएको, बिथोलिएको र लथालिङ्ग अवस्थामा रहेको छ । शर्माले आफ्नो कलमलाई समाजका त्यस्ता विकृति र विसङ्गतिविरुद्ध धारिलो हतियारका रूपमा प्रयोग गरेकी छिन् । उनका मुक्तकहरूले नेपालको वर्तमान राजनीतिक अवस्था, त्यसमा व्याप्त भ्रष्टाचार र सत्ताको लुछाचुँडी अनि सत्तासिनहरूका कुर्सी र अर्थप्रतिको अतृप्त मोहलाई खोतलेका छन्, र त्यस्ता मोहप्रति व्यङ्ग्यात्मक प्रहार यस सङ्ग्रहको मूल विशेषता हो ।
“काण्डैकाण्डले भरिएको देश छ
नेताजस्तै कार्यकर्ताको भेष छ
देश छाडेर अन्त त्यसै जाँदैनन्
उनीहरूलाई त यहीँ बेस छ ।”
राजनीतिकर्मीको सक्रियतामा भएका, नेता वा तिनका कार्यकर्ता मुछिएका, अनेक काण्डहरू (सुन काण्ड, नक्कली भुटानी शरणार्थी प्रकरण, आदि) लाई खोतलेर राजनीतिक बेथितिका साथमा राजनीतिकर्मीको व्यवहार पनि मुक्तकका विषय बनेका छन् । नेता देश छोडेर अन्त गए देशको भलो हुन्थ्यो भन्ने सोचमा जनता परे पनि नेतालाई भने हाम्रो देशमा जस्तो उपयुक्त स्थान अन्त छैन भन्ने सत्यले हाम्रो देशको वास्तविकता देखाएको छ । यस्ता समसामयिक विषयहरूलाई उनले अप्रत्यक्ष रूपमा उठाएकी छिन् । जसले यस सङ्ग्रहका पाठकको सिमानालाई फराकिलो बनाउने काम गर्छ ।
“महँगी र भ्रष्टाचारको मिठो सम्बन्ध
भाइचाराझैँ नेता–तस्करको सम्बन्ध
अदालतलाई पनि खै भनुँ र यहाँ
वकिल र न्यायाधीशको प्यारो सम्बन्ध ।”
शर्माले राज्यमा देखिएका बेथितिलाई अनमेल प्रवृत्तिका तत्वहरूको तालमेल गर्दै राज्यमा कानुन समेत बिथोलिएको सत्यको झल्कोले मुक्तकलाई रोचक बनाएकी छिन् । राजनीतिकर्मीको कुव्यवहारले देशमा उब्जाएका डरलाग्दा र विरक्तलाग्दा परिस्थितिको चित्रण अनि त्यहाँभित्रको चलखेललाई शर्माले दुरुस्त उतारेर पाठकलाई रमाइलो तरिकाले साँधेर दिएकी छिन् । ‘चोरलाई चौतारो र साधुलाई शूली’ दिने न्याय प्रणालीमाथि प्रश्न उठाएर नेपालको तीतो राजनीतिक यथार्थलाई प्रस्तुत गरेकी छिन् ।
“शान्त आन्दोलनमा गोली चलायौ
जनताका सुन्दर सपना जलायौ
नेपालीको आस्थाको बगैँचामा
अमृत रोपेका थियौँ, विष फलायौ ।”
समसामायिक परिवेशमा अर्थात् पछिल्लो समयमा भएको अति निन्दनीय घटनालाई पनि शर्माले बढो मार्मिक तवरले मुक्तकमा उतारेकी छिन् । देशभक्ति उनका मुक्तकमा जताततै भेट्न सकिन्छ । शान्त आन्दोलन प्रजातन्त्रको परिचायक हो तर, त्यस्ता आन्दोलनमा गोली चलेपछिको बीभत्स रूपले मर्माहित नेपाली आमा–बाबुका पीडालाई हृदयस्पर्शी तवरले प्रस्तुत गर्दै शर्माले ‘आस्थामा आँच’ आउने काम भन्ने भाव राखेकी छिन् ।
“आस्था जति जलेर खरानी भएको छ
विश्वासमा बाढी र पहिरो खसेको छ
कसले उद्धार गर्ला देश र जनताको
आशा गरेको नै दुई जिब्रे बनेको छ ।”
यसरी जनताका आस्थालाई लत्याएर देशलाई खरानी बनाउने दुई जिब्रे नेताहरूको दोहोरो चरित्रलाई यहाँ औँल्याउने कामले देशप्रेमी पाठकलाई भावुक बनाएका छन् । देशको राजनीतिक अराजकतालाई उठाउँदै देशमा भएका अनेक अव्यवस्था अनि देशको शासन व्यवस्थाप्रति जनताको असन्तुष्टिका प्रतिनिधि भएर शर्माका मुक्तक उभिएका छन् । यस्ता अनेकौँ राजनीतिक बेथितिलाई संहार गरेर देश बचाउने र बनाउने व्यक्तिको खोजी ‘अन्जुली’ को एउटा प्रमुख पक्ष हो ।
ग) नारी संवेदना र अस्तित्वको खोजी
नारी हुनुका नाताले शर्माले नारी मनका सूक्ष्म तहहरूलाई निकै गहिराइबाट छामेकी छिन् । नेपाली समाजमा घर, परिवार, र समाजको दायित्व बोकेका नारीहरूका रहर, बाध्यता र पीडा बोकेका मुक्तक यहाँ छन् ।
“नारी हुँ, सारा मानभाउ राख्नुपरेको छ
भित्र रोए पनि बाहिर हाँस्नुपरेको छ
न देखाउन मिल्छ, न त सुनाउन मिल्छ
अरूलाई खुसी पार्न पो बाँच्नुपरेको छ ।”
पितृसत्तात्मक नेपाली समाजमा नारीले भोग्नुपर्ने दुःख, कष्ट अनि उनीहरूप्रति हुने विभेदसमेत शर्माका मुक्तकका विषय छन् । त्यस्ता विषयमा पनि इज्जत जोगाउनुपर्ने कर्तव्यबोधले थिचिएका नारीको ‘सभ्य भाषा’ मुक्तकमा प्रयुक्त छ । नारीका भागमा परेको कर्तव्यको भारी उनीहरूको वास्तविक परिस्थिति र देखावटी व्यवहारको यथार्थभित्रको बाध्यतालाई शर्माले मुक्तकको विषय बनाएकी छिन् ।
“मेरो पनि त दुख्ने मन–मुटु हुन्छ
चोट दिएपछि त्यही मन झन् रुन्छ
आफ्नैले दुखाउँछन्, अरू के भन्नु र !
तिनकै घमण्डले पो शिखर छुन्छ ।”
नारी भनेको केवल त्यागको प्रतिमा मात्र होइन, उनीभित्र पनि एउटा चेत हुन्छ भन्ने कुरालाई शर्माले “मेरो पनि त मनमुटु हुन्छ” भन्दै आफ्नो भावनात्मक अस्तित्वको आवाज उठाएकी छिन् । आफ्ना भनेर जीवन समर्पित गरेकाहरूले उनीहरूको भावनाको कदर नगर्ने समाजको वास्तविकता उनका मुक्तकमा छन् । उनका मुक्तकहरूले नारीलाई दयाको पात्रका रूपमा प्रस्तुत गरिएको भन्दा सहनशक्ति र साहसको प्रतिमूर्तिका रूपमा उभ्याएका छन् । यस्ता परिस्थितिमा उनी पुरुषप्रधान सोचलाई पनि चुनौती दिइरहेकी छिन् ।
घ) प्रवासी जीवनमा स्वदेशी सम्झना
नेपाली समाजका लाखौँ युवाहरू रोजगारी र उज्ज्वल भविष्यको खोजीमा विदेशिएका छन् । यो आजको युगकै कठोर वास्तविकता समाजमा व्याप्त छ । शर्मा स्वयम् पनि बेलायतमा बसोबास गर्छिन् । प्रवासमा बस्ने नेपालीको मन कति व्याकुल हुन्छ, र उसले आफ्नो माटोलाई कति सम्झना गर्छ, भन्ने कुरा उनले आफ्ना अनुभवबाट निकालेर ‘अन्जुली’ का पाना–पानामा समेटेकी छिन् ।
“पर्वतको ठुलीपोखरीको याद आउँछ
साँच्चै ती उकाली–ओरालीको याद आउँछ
आफ्नै जन्म ठाउँ परायाजस्तै लागे पनि
उबेलाको तिनै झुपडीको याद आउँछ ।”
बेलायतको आधुनिकता र सुख–सुविधाले पनि उनलाई आफ्नो गाउँको गोरेटो, पँधेरो र हिमालको मोह भुलाउन सकेको छैन । मन मुटुमा रहेको आफ्नै जन्मभूमि सम्झनाबाट पर जान नसक्ने अनेक कारण हुनसक्छ तर, गएका नेपालीहरूलाई आफ्नै जन्मभूमि आउँदा पराया लाग्नुपर्ने बाध्यात्मक परिस्थितिलाई उनले मार्मिक तरिकाले मुक्तकमा उठाएकी छिन् ।
“हातै थापी माग्नुप¥यो केही नभएपछि
परदेश लाग्नुप¥यो केही नभएपछि
नहिँडी त संसार कहाँ देखिने रैछ र !
पुर्खागाउँ त्याग्नुप¥यो केही नभएपछि ।”
यहाँ शर्माले देशमा केही आस नदेखेर प्रवास रोज्नुपर्ने बाध्यतालाई मुक्तकमा उतार्दै प्रवासी नेपालीका अनेक बाध्यताहरू–लाई शब्दमा कुँदेकी छिन् । “परदेश लाग्नुप¥यो केही नभएपछि” भन्ने उनका हरफले नेपाली युवाहरूको वैदेशिक रोजगारीको बाध्यतालाई प्रतिनिधित्व गरेका छन् ।
“पानी परेपछि म रोएको त्यो दिन
घरको सम्झनाले छोएको त्यो दिन
म निरीह बन्नु सिवाय केही थिएन
आँसुले नै मुहार धोएको त्यो दिन ।”
प्रवासी जीवनमा परेको पानीले ल्याएको घरको सम्झनासँगै सम्झना आउँदा निरीह बनेर बस्नुपर्ने बाध्यता अनि घरको सम्झनामा बगेका आँसुका धाराले शर्माले यस सङ्ग्रहका मुक्तकलाई भिजाएकी छिन् ।
ङ) मातृत्व
आमाप्रति समर्पित मुक्तकहरूले पाठकमा गहिरो भावनात्मक संवेदना जगाउँछन्। नेपाली संस्कृतिमा आमालाई ईश्वरतुल्य सम्मान गर्ने परम्परालाई शर्माले आफ्ना शब्दमार्फत सशक्त ढङ्गले अभिव्यक्त गरेकी छन्।
“माया र ममताकी खानी हुन् मेरी आमा
आशा–भरोसाकी सिरानी हुन् मेरी आमा
आमाभन्दा ठुलो पाठशाला केही हुन्न
दिव्यता सिकाउने ज्ञानी हुन् मेरी आमा ।”
नेपाली समाजमा आमा जीवनको पहिलो पाठशाला मानिन्छिन् । आमाको काखको न्यानोपनमा आमाले सिकाएका जीवनका पाठहरू नै आफ्नो सफलताको आधार भएको शर्माको स्वीकारोक्ति छ । आमाको शिक्षा अनि आमाप्रतिको यो अगाध श्रद्धाले ‘अन्जुली’ लाई थप मर्यादित बनाएको पनि देखिन्छ ।
“बाटामा भेटिन् उनले काख लिने आमालाई
भाग्यले भिटिन् उनले कर्म दिने आमालाई
जन्माइ छाड्नेलाई कसरी आमाबुबा भन्नु
भेटिन् उनले पुज्यरूप मानिने आमालाई ।”
आमा, यो शब्दलाई आफ्ना मुक्तकहरूमा उनले जन्म दिने नारीमा मात्र सीमित नगरी आमाका अनेक रूपमा परिभाषित गरेकी छिन् ।
३. शिल्प र शैली
मुक्तकको परिभाषाका लागि नै ‘लघु आयामिक’ शब्द रोजिएको छ, अर्थात् मुक्तक लेख्नु भनेको थोरै शब्दमा धेरै अर्थ अटाउनु हो किनभने मुक्तकबाट थोरै शब्दमा धेरै कुरा भन्न सकिने हुन्छ । दोस्रो र चौथो हरफमा अनुप्रासयुक्त व्यञ्जन वा स्वर ध्वनि संयोजन अनि तेस्रो हरफ स्वतन्त्र रहनु नै मुक्तकको प्रमुख गुण हो । यस्तै प्रक्रिया कविताको अर्को विधा गजलमा पनि हुन्छ । त्यहाँ ‘काफिया’ र ‘रदिफ’ भनेर गजलका शेरहरूलाई मिठास प्रदान गर्दै वाचनका लागि सजिलो बनाइन्छ । ‘काफिया’ र ‘रदिफ’ मिलेर गजललाई नियमबद्ध स्वतन्त्रता दिन्छन् अनि शेरहरूलाई माला जस्तै गाँसेर एकबद्ध गर्ने काम गर्दै अर्थ र लयको सन्तुलन कायम गर्छन् । त्यही प्रवृत्ति मुक्तकमा पनि रहेका हुन्छन् । शर्माले यस सङ्ग्रहमा ‘काफिया’ र ‘रदिफ’ को राम्रो सन्तुलन मिलाएकी छन्, तिनले मुक्तकमा मिठास ल्याउने काम गरेका छन् ।
क) सरलता
मुक्तक छोटो काव्य हो । यसलाई उखान वा कथनका रूपमा प्रयोग गरेर समाजका उस्तै उदाहरणहरूमा प्रस्तुत गर्न सकिन्छ । तसर्थ, मुक्तकमा सरलता हुनु यसको अर्को गुण हो । शर्माका मुक्तकहरू सरल र सर्वसाधारणले बुझ्न सक्ने खालका छन् । नेपाली जनजिब्रामा बसेका सजिला शब्दहरू अन्जुलीमा प्रयुक्त छन् । क्लिष्ट शब्दहरूको कतै प्रयोग नगरी गहिरो भाव व्यक्त गरिएका अन्जुलीका सबै मुक्तकहरूका अर्थ निकाल्न पाठकले धेरै दिमागी कसरत गर्नु पर्दैन ।
“नेपालीलाई नेपालमा काम छैन
मिठामिठा खान गोजीमा दाम छैन
नेता र मन्त्रीलाई त मोजमस्ती छ
सोझासिदालाई त कहीँ ठाम छैन ।”
यस सङ्ग्रहभित्रकी अञ्जु शर्मा सरल शब्दको प्रयोग गरेर मनका भावनालाई जस्ताको तस्तै उतार्ने काममा निकै निपूर्ण रहेकी छिन् ।
ख) लयात्मकता
मुक्तकहरू पढ्नका लागि जति रोचक हुन्छन्, सश्वरवाचन गर्नका लागि पनि उत्तिकै उपयुक्त छन् । जसमा प्रयुक्त लय वा छन्दको मधुरताले शर्माका मुक्तकले पाठकका मनमा सजिलै बास पाउँछन् । उनका मुक्तकहरूमा ‘काफिया’ र ‘रदिफ’ को अनुशासित रूपमा प्रयोग भएको छ, जसले वाचन प्रक्रियालाई सहज बनाएको छ ।
“बिर्सुंभन्दा सम्झनाले छुन्छ, मैले के गर्नु
पिरतीमा यस्तैयस्तै हुन्छ, मैले के गर्नु
माया लाउनुभन्दा छोड्नु झन् गाह्रो रहेछ
बिछोडले गर्दा मन रुन्छ, मैले के गर्नु !”
गजलमा ‘रदिफ’ भनेर हरेक शेरको अन्त्यमा जस्ताको तस्तै दोहोरिने शब्द वा पदावलीलाई भनिन्छ । माथिको मुक्तकमा ‘मैले के गर्नु’ पदावलीले प्रस्तुत मुक्तकलाई मिठास भर्ने काम गरेको छ । त्यस्तै ‘काफिया’ भनेर रदिफभन्दा ठिक अगाडिको अनुप्रासयुक्त पद वा पदावलीलाई भनिन्छ । माथिको मुक्तकमा आएका ‘छुन्छ’, ‘हुन्छ’ अनि ‘रुन्छ’ काफिया हुन् जसले रदिफसँग मिलेर मुक्तकमा लयात्मकता र श्रुतिमधुरता दिने काम गरेका छन् । यस्ता शब्दहरू गजल र मुक्तकका उपकरणहरू हुन् जसको प्रयोगले मुक्तकलाई काव्यात्मक बनाउने काम गरेको देखिन्छ ।
ग) व्यङ्ग्यात्मकता
‘अन्जुली’का सामाजिक र राजनीतिक मुक्तकहरूमा प्रयोग गरिएको व्यङ्ग्य निकै प्रहारक छन् । शर्माले समाजमा भएका अनेक किसिमका विसङ्गतिलाई सिधै प्रहार गरेकी छन्, जसले पाठकलाई सोच्न बाध्य बनाउछन् । उनका व्यङ्ग्यहरूलाई पनि विषयगत रूपमा विभाजन गरेर राख्न सकिन्छ ।
राजनीतिक व्यङ्ग्य यो सङ्ग्रहको सबैभन्दा सबल पक्ष हो । प्रजातात्रिक मुलुकमा फस्टाएको भ्रष्टाचारी, दोहोरो चरित्र, गैर जिम्मेवारी र जनताप्रति उदासीनता नेपाली राजनीतिमा परिचायक बनिसकेको छ । मुक्तककार शर्माले यस सङ्ग्रहका मुक्तकमा त्यस्ता प्रवृत्तिप्रति औँल्याउँदै चोटिलो व्यङ्ग्य प्रस्तुत गरेकी छिन् ।
“दुःखको बादल मडारिएको छ
झुटको जाल फिँजारिएको छ
जनताका प्यारा ‘हिरो’ हुन् उनी
त्यसैले त ‘भिलेन’ पछारिएको छ ।”
माथिको मुक्तकलाई शैलीगत रूपमा हेर्दा यो विरोधाभास र कटाक्ष व्यङ्ग्यमा आधारित छ । जसमा बाहिरी रूपमा देखिने ‘जनताका प्यारा हिरो हुन् उनी’ भित्री रूपमा भएको ‘दुःखको बादल मडारिएको छ, झुटको जाल फिँजारिएको छ’ भनेर उठाइएको समस्याको मूल कारक भएर ‘हिरो’ शब्दले चिनाइएको पात्र आएको छ । अर्थात् समस्याको जरो नै उही छ भन्ने बुझिन्छ । यहाँ आएको ‘त्यसैले त भिलेन पछारिएको छ’ ले अगि उठेको समस्याको समाधानमा ‘हिरो’ को उल्टो ‘भिलेन’ शब्द लिएर आएको छ । शक्ति, प्रचार र भाष्यले ‘हिरो’ भनिएको पात्रलाई ‘भिलेन’ का रूपमा उल्ट्याउने काम यहाँ भएको छ । साथमा विरोधाभासपूर्ण शब्दको प्रयोग गर्दै नेपालको सत्ता अनि लोकप्रियताको राजनीति गर्ने नेताको दोहोरो चरित्रमाथिको व्यङ्ग्य जस्ता पक्षहरूले नै अन्जुलीलाई गहन र रोचक बनाएका छन् ।
राजनीतिक भ्रष्टाचारलाई शर्माको व्यङ्ग्य शान्त तर घातक छन् ।
“भ्रष्टहरू सत्तामा, निर्दोष जेलमा छन्
गठबन्धन नामको फोहोरी भेलमा छन् ... ”
नेपाली राजनीतिमा पछिल्लो समय जसरी भए पनि सत्तामा पुग्ने बाटाको रूपमा आएको “गठबन्धन” लाई “फोहोरी भेल” भन्दै शर्माले देशको फोहोरी राजनीतिप्रति सशक्त व्यङ्ग्य गरेकी छिन् ।
समाजमा बढ्दो देखावटी पन र स्वार्थजस्ता प्रवृत्तिप्रति पनि मुक्तकहरूले व्यङ्ग्य गरेका छन् ।
“समाजसेवी जस्तो देखाउँछ आफूलाई
टिभीमा उसकै अनुहार टल्किएको छ...”
समाजसेवाको आवरणभित्र लुकेको स्वार्थलाई यहाँ व्यङ्ग्यले पर्दाफास गरेको छ । त्यस्तै राज्यको न्यायप्रणालीमा पनि राजनीतीकरण गरी बेचिने वस्तु जस्तै बनेको अवस्थाप्रतिको गम्भीर व्यङ्ग्य “चोरलाई चौतारो, साधुलाई सुली देखेँ” भन्ने यहाँ आएको छ ।
४. निष्कर्ष
मुक्तककार अञ्जु शर्माको ‘अन्जुली’ भावनाहरूको माला सजिएको एउटा सुन्दर सँगालो हो । यसमा आँसु छ, हाँसो छ, आक्रोश छ, आशा छ, अनि मनमा बस्ने सबै किसिमका भावना उनिएर आएका छन् । शर्माका मुक्तकहरूले ‘मान्छे भएर जन्मेर मात्र हुँदैन, मान्छे जस्तो व्यवहार र सोच पनि राख्नुपर्छ’ जस्ता समाजलाई मानवताको सन्देश दिने काम पनि गरेका छन् । बेलायतमा बसेर नर्स पेसाका साथमा मातृत्वसमेत सम्हाल्दै आफ्नो व्यस्त जीवनबाट नेपाली भाषा, साहित्य र कलाको सेवामा समर्पित हुने अञ्जु शर्माको यो प्रयास अनमोल छ । उनले आफ्नो व्यक्तिगत जीवनका भोगाइलाई सार्वजनिक भोगाइसँग जोडेर एउटा पुस्तककार सम्झना तयार पारेकी छिन् ।
‘अन्जुली’ भित्रका कतिपय मुक्तकहरूले पाठकलाई रुवाउने खुबी राख्छन्, कतिपयले समाजको ऐना देखाउने काम गरेका छन् र कतिपयले भोलिको सुन्दर नेपालको सपना बोकेका छन् । पाठकका मनमा प्रश्न उठाउनु र समाधानको बाटो देखाउनु एउटा सफल स्रष्टाको पहिचान हो, शर्माले ‘अन्जुली’मा त्यही काम गरेकी छिन् । ‘अन्जुली’ मुक्तकसङ्ग्रह समकालीन नेपाली मुक्तक यात्रामा भाव, चेतना र अनुभूतिको सशक्त काव्यका रूपमा देखिएको छ । यस कृतिमा मुक्तककार अञ्जु शर्माले आफ्ना व्यक्तिगत अनुभूति र सामाजिक यथार्थलाई एकै शूत्रमा बाँधेर प्रस्तुत गरेकी छन् । प्रेम–धोका, पीडा, नारी चेतना, सामाजिक विसङ्गति, राजनीतिक विकृति अनि मानव जीवनका सूक्ष्म अनुभूतिहरू यस सङ्ग्रहभित्र बनावटी रूपमा भन्दा फरक अनुभव र अनुभूतिको भित्री सत्यताबाट निस्किएका छन् । त्यसैले ‘अन्जुली’ले पाठकको मन सहजै छुन सक्छ ।
‘अन्जुली’को अर्को उल्लेखनीय पक्ष नारी अनुभूतिहरूको निर्भीक प्रस्तुति हो । शर्माले नारीको पीडा, सहनशीलता, विद्रोह र आत्मसम्मानलाई करुणा वा रोदनका स्वरमा नभई चेतनाको स्वरमा प्रकट गरेकी छिन् । साथमा सामाजिक र राजनीतिक मुक्तकहरूले सत्तासीनहरूको विकृति, अन्याय र जनताको मनमा रहेका पीडालाई सटिक व्यञ्जनात्मक अभिव्यक्तिका साथ उजागर गरेकी छन् । मुक्त लयको प्रयोग, अन्त्यानुप्रासयुक्त पुनरोक्ति तथा भावहरूको विविधताले मुक्तकका लयलाई आफ्नोपनले सजाएकी छन्, वाचनका लागि सहजता प्रदान गरेर मुक्तकलाई कर्णप्रिय तथा बोलचालमा प्रयोग हुने सरल, सहज र संवेदनशील भाषाले मुक्तकका भावलाई कृत्रिम नबनाई स्वाभाविक र सभ्य बनाएकी छन् । आत्मानुभूति र सामाजिक यथार्थको सन्तुलित प्रस्तुतिले मुक्तक विधाको सौन्दर्यलाई भावको गहिराइ, भाषाको सहजता र लयको स्वाभाविकतासँग जोडेको छ । यहाँ पाठकहरूले आफ्नै जीवनका बाटा, पाटा र सोचलाई भेट्छन् । त्यसैले अञ्जु शर्माको ‘अन्जुली’ समकालीन नेपाली मुक्तकमा आफ्नो अलग पहिचानका साथ स्थापित हुन्छ भन्ने विश्वास गर्न सकिन्छ ।
समग्रमा, यो कृति भावनात्मक गहिराइ र चेतनाको सन्तुलित संयोजनका रूपमा प्रस्तुत भएको छ । शर्माका विश्वासिला, संवेदनशील, जिम्मेवार र सिर्जनात्मक स्वरले पाठकलाई स्पर्श गर्ने मात्र होइन, दीर्घकालीन सोच र अनुभूतिको तहमा समेत पुर्याउँछन् ।
मुक्तककार अञ्जु शर्मालाई यो भव्य र सभ्य कृतिका लागि हार्दिक बधाई तथा शुभकामना !
बुढानिलकण्ठ, काठमाडौँ