कसैको मृत्युको समाचारलाई सहज रूपमा ग्रहण गर्ने वा नगर्ने भन्ने कुरो प्रत्येक मान्छेका लागि मृतकसँग उसको सम्बन्धले निर्धारण गर्छ । रगतको नाता, भावनाको नाता, साथीको नाता, सहधर्मीका नाता, सहकार्यका नाता, छिमेकीको नाता, आफन्तको नाता, सामान्य चिनजानको नाता आदिले कसको मरण भयो र उक्त मरणले कुनै जीवित व्यक्तिलाई कुन तहको चोट, पीडा, दुःख र शोक दिलायो भन्ने कुराको आकलन गर्न मद्दत गर्छ । मरेर जाने व्यक्तिको जीवित व्यक्तिसँग कस्तो सम्बन्ध थियो, उनीहरू कति घनिष्ठ थिए, उनीहरूबीच कति मायामोह थियो, कति आशाभरोसा थियो, कति गाढा मित्रता थियो अथवा सँगै भएर पनि उनीहरू कति टाढा थिए, उनीहरूमा कति वैमनष्य थियो, कति भिन्न विचार र दर्शनका थिए भन्ने कुराले गुमाउनुको पीडालाई मापन गर्न भूमिका खेल्ने रहेछ । त्यसैगरी प्रत्यक्ष नभेटेको, कहिलेकाहीँ देखेको तर मरेर जाने व्यक्ति सार्वजनिक व्यक्तित्व रहेको खण्डमा पनि कत्तिको सम्मान र श्रद्धा उक्त व्यक्तिप्रति छ भन्ने कुरा पनि शोकको तह निर्धारणमा महत्त्वपूर्ण हुन आउने रहेछ । उदाहरणका लागि साहित्यका क्षेत्रमा कुनै पाठकले धेरै पढेको, रुचाएको र सम्मान गर्ने लेखक मर्छ भने उसको मरणको समाचारले एक किसिमको पीडा र शोकको भावना मनमा उब्जन्छ; जुन अपरिचित व्यक्तिका मरणका सूचनामा भावहीन बन्न पनि सक्छ र उसका लागि मृत्युको सत्य सहज स्वीकृतिको विषय पनि बन्छ । साथै उक्त घटना उसका लागि फगत एउटा प्राकृतिक प्रक्रिया मात्रै पनि बन्न सक्छ ।
मेरो परिवारमा म जन्मँदा बाका अभिभावकको निधन भइसकेको थियो । आमाका अभिभावक जीवितै थिए । मामाघरमा बाल्यकालमा वर्षमा एकदुईचोटि जसो आउजाउ हुने भए पनि वयस्क अवस्थाको सुरुवातसँगै त्यो क्रममा क्रमशः कमी आउन थाल्यो । दुईतीन वर्षमा यदाकदा मामाघर गएका बेला हजुरबा–हजुरआमासँग भेट हुन्थ्यो । उनीहरूको निधन हुँदा सन्तानका नाताले आमालाई जति पीडा, दुःख र शोकको अनुभूति भयो तुलनात्मक रूपले त्यो मलाई कम भएको महसुस भयो । तथापि आमाबामध्ये एक वा दुवै नभएका टुहुरा अवस्थाका नातिनातिनालाई हुर्काउने हजुरबा–हजुरआमाको निधनले उनीहरूका नातिनातिनालाई पर्ने पीडा, शोक र कष्टको तह उच्च हुने कुरामा दुईमत नहोला । मेरा सन्दर्भमा यो कस्तो स्वार्थी मान्छे रहेछ, मानवीय संवेदनाहीन रहेछ भनेर पनि भन्न सकिएला तर हजुरबा र हजुरआमाको मृत्युको त्यो पीडा र दुःखको घनत्व मेरी आमामाभन्दा ममा कमै हुन्छ । यस्ता सन्दर्भमा तुलनात्मक रूपले हेर्दा पीडा र दुःखको तहमा पनि भिन्नता हुने रहेछ । हजुरबा–हजुरआमाको निधनमा म दुःखी अवश्य भएँ तर अझ बढी आमाले उहाँका आमाबा गुमाउनु पर्दाको पीडा र आँसु देखेर दुःखी हुन पुगेँ । परिवारको सदस्य भएर एकै छानामुनि बसेका, एउटै भान्सामा खाएका, दुःखसुख साटेका बाआमा र सन्तानको सामीप्यताको तह उच्चतहकै हुनेमा दुईमत नहोला । अर्कातर्फ सामाजिक विकृति तथा पारिवारिक विचलनका कारण यसप्रकारका सम्बन्धमा पनि दुरी, तिक्तता र गैरजिम्मेवारी बढ्दै गएको सन्दर्भ वर्तमान अवस्थामा सञ्चारमा आइरहेका पनि छन् ।
आफ्नै परिवारका सदस्यको मृत्युको खबरको सामना मैले २०७९ फागुन १६ गतेका दिन गर्नुप¥यो । बिहान दुई बजे मेरा बा (रविलाल अधिकारी) को मृत्युको अकल्पनीय खबरले दिमाग शून्य भएको अवस्थामा पुगेको अनुभव भयो । अब के गर्ने, कसो गर्ने भनेर सोच्न नसक्ने अवस्थाबाट बाको मृत्युको सत्यलाई सामना गर्ने चरणको सुरुवात भयो । संयोगवश बाआमाका तीनवटै सन्तान हामी त्यसबेला काठमाडौँमा भएकाले पोखरा घरमा आमा निकै व्याकुल अवस्थामा हुनुहोला भन्ने पीर परेको थियो । हतारहतार हामीहरू बिहान साढे चार बज्दा दाइ, दिदी र मेरा जहान–केटाकेटी गाडी भाडामा लिएर काठमाडौँबाट पोखराका लागि हिँडेका थियौँ । बाटाभरि बासँगका विविध स्मृति मस्तिष्कमा चलचित्र जसरी लगातार आउन थालेका थिए । अब ती अविष्मरणीय क्षणहरू स्मृतिमै मात्र रहने यथार्थलाई स्वीकार गर्न मानसिक रूपमा म तयार नभएका कारण शोकमग्न हुँदै रोएर नै घरसम्मको यात्राको अधिकांश समय बित्यो । मेरी दिदीले सम्हालिएर मलाई नरुन र धैर्य गर्नका लागि सान्त्वना दिइरहनुभयो । घरमा पुग्दा बाको मृत्युको खबर थाहा पाएका छिमेकी, आफन्त, शुभचिन्तक तथा बाका साथीहरूको उपस्थिति थियो । बाको मृत शरीर देखेपछि त्यसलाई स्पर्श गरेर मैले अन्तिमपटक उहाँको भौतिक उपस्थितिलाई महसुस गरेँ । आफ्नो बाको मृत्यु छोराछोरीका लागि अवश्य पनि अकल्पनीय र पीडादायी हुन्छ । घरको अभिभावक, सन्तानको सल्लाहकार, मार्गदर्शक गुमाउँदा सदस्यहरूलाई सम्हालिन गाह्रो हुने रहेछ भन्ने कुरा मैले आफ्नो अनुभवबाट थाहा पाएँ । २०६३ सालतिर पोखरा राखिडाँडाका मेरा साथी वीरेन्द्र दाहालकी आमाको असामयिक निधन हुँदा मेरा साथीलाई समवेदना प्रकट गर्ने र सान्त्वना दिने क्रममा मैले मृत्यु प्राकृतिक नियम रहेको, संसारमा कसैले जन्मेपछि एकदिन मरेर जानैपर्ने सन्दर्भ व्यक्त गरेको थिएँ । तथापि त्यो सान्त्वनाले पीडामा परेको मान्छेलाई तत्काल मृत्युको सत्यलाई स्वीकार गर्नसक्ने बनाउँदो रहेनछ । यो बिस्तारै पुरिँदै जाने घाउजस्तो हुने रहेछ । शोकका पाँच चरणहरू (फाइभ स्टेजेज अफ ग्रिफ) पनि मृत्युको शोकको सन्दर्भमा चर्चा गर्ने गरिन्छ । मृत्यु भएको कुरालाई स्वीकार गर्नै नसक्ने अवस्था, कसैलाई गुमाउनुको पीडाले बढाउने क्रोधको भावना बढ्ने अवस्था, आफैँलाई चित्त बुझाउन गरिने प्रयास, चिन्ता र स्वीकृति गरी यी पाँच चरणबाट शोकको अवस्थामा रहेको मानिस गुज्रने कुरा यस धारणाकी प्रस्तुतकर्ता लेखक एलिजावेथ कुब्लर् रोस्ले गरेकी रहिछन् । एक हिसाबले बाको मृत्युलाई स्वीकार गर्न नै नसकेको अवस्था पहिलो चरणका रूपमा मेरो पनि रहन गयो ।
हामी घर पुगेपछि त्यसैदिन बाको भौतिक शरीरको अन्त्येष्टिका लागि तयारी आरम्भ गरिसकेका थिए छिमेकी र आफन्तहरूले । हाम्रो पोखरास्थित घरबाट करीब दस मिनेटमा पुगिने सेती नदी किनारको रामघाटमा मृत शरीरलाई जलाउने काम सम्पन्न भयो । सँगै बसेको, हाँसेको, बाँचेको मानिस निष्प्राण भइसकेपछि उक्त शरीरको अन्त्येष्टि गर्ने क्रममा शरीर कतै चलिहाल्ने हो कि, जीवन अझै बाँकी छ कि भन्ने तर्कना केहीबेर जलिरहेको चिता हेर्दा आइरहने रहेछ ।
कतिपय मानिसहरूले जीवित छँदै आफ्नो अन्तिम इच्छा, मृत्युपछिका चाहनाबारे पहिले नै कतै लेखेर वा कसैलाई भनेर जानकारी दिएका हुन्छन् । मृत शरीरलाई के गर्ने, मृत्युसंस्कार कसरी गर्ने भन्नेबारे आफ्नो धारणा जाहेर गरेका हुन्छन् । हाम्रा सन्दर्भमा बाले यस विषयमा कुनै जानकारी या हामीसँग उहाँका इच्छाको सम्प्रेषण गर्नुभएको थिएन । हामी पनि हिन्दु परम्पराअन्तर्गतको मृत्युसंस्कारका राम्रा नराम्रा पक्षबारे जानकार नै थियौँ । मृत व्यक्तिका लागि जीवित व्यक्ति १३ दिनसम्म कष्टपूर्ण दैनिकीमा चल्नुपर्ने, लगाउने र खाने कुरा बार्नुपर्ने, गरुड पूराणजस्ता पीडामा परेका मृतकका परिवारका सदस्यलाई परलोकको लोभ देखाएर धुत्ने कुरा हामीलाई पनि सामान्य अवस्थामा जँचेको थिएन ।
मानिस गहिरो पीडा र शोकमा भएका बेलामा वातावरण नै त्यस्तो बन्दो रहेछ कि माथि उल्लेख गरिएका मृत्युसंस्कारका नकारात्मक पक्ष अस्वीकार गर्न दृढ हुने कुरा शोकमा रहेका व्यक्तिका लागि प्राथमिक विषय नबन्ने रहेछ । छिमेकी, आफन्तले जे जे गर भन्छन् त्यसै गरेर अगाडि बढ्दा पनि मैले के गर्दैछु, समाज परिवर्तन त आफैँबाट सुरु गर्नुपर्छ भन्ने सोच पनि त्यसबेला आउने रहेनछ । मानसिक अवस्था नै असामान्य अवस्थामा रहेका बेला सामान्य अवस्थामा रहँदाका बेलाको जस्तो दिमागले काम गर्दो रहेनछ । तसर्थ प्रगतिवादी दृष्टिमा मृत्युसंस्कारमा सुधार गर्न गर्नुपर्ने व्यक्तिगत प्रयास कार्यान्वयन गर्न नसकेको कुरामा म आफूलाई पूर्ण रूपमा दोषी देख्दिन । बाको मृत्यु भएको केही दिनपछि पोखरामा बाको स्मृतिमा आयोजना गरिएका केही कार्यक्रममा उहाँका नामका अगाडि ‘स्वर्गीय’ शब्दको प्रयोगले उहाँका परिवारका सदस्यले नै रविलाललाई बदनाम गरेको, उनको प्रगतिवादी मान्यतालाई बिर्सेको जस्ता टिप्पणी पनि सार्वजनिक भए । यसरी सार्वजनिक टिप्पणी गर्ने व्यक्तिहरूले हामीलाई बेलैमा सचेत गराउन पनि सक्थे । परिवारका सदस्यको सचेतता शिथिल भएका बेला सम्पूर्ण चेतना सक्रिय नहुनसक्ने वास्तविकतालाई हृदयङ्गम गर्दै हामीलाई सङ्केत मात्र गरिदिएका भए पनि हामी त्यसबारेमा सोच्न बाध्य हुन्थ्यौँ होला । शोकको चरण त त्यसरी अभिव्यक्ति दिने व्यक्तित्वहरूले पनि भोगेका वा पार गरेका होलान् भन्ने लाग्छ ।
मृत्युलाई कसरी ग्रहण गर्ने र कसरी अन्त्येष्टि गर्ने भन्नेबारेको प्रगतिवादी दृष्टिकोणलाई एकछिन थाती राखेर समाजमा विद्यमान विशेषगरी हिन्दु धर्मावलम्बीका मृत्यु संस्कारको वैज्ञानिक पक्ष हेर्ने हो भने यसमा शोकाकुल मानिसको मानसिक अवस्थाको सुरक्षित अवतरण गर्ने सन्दर्भमा पछ्याइने प्रक्रिया र त्यसको अवधारणाबाट केही सिक्न सकिने किसिमको नै रहेको महसुस भयो । मृत्युसंस्कारका बेला परिवारका सदस्यहरूको स्वास्थ्यको समग्र अवस्था सामान्य नै छ भने १३ दिन सम्ममा माथि उल्लेख गरिएको जस्तो मृत्युको सत्यलाई अस्वीकार गर्ने चरणबाट मृत्युको सत्यलाई स्वीकार गर्ने र जीवन अगाडि बढाउन मानसिक रूपमा तयार हुने अवस्था बन्दो रहेछ । १३ दिनसम्म निरन्तर बिहान उठ्ने, नित्यकर्म गर्ने, थलोमा जाने, नुहाउने, कपडा फेर्ने, हिजो लगाएका कपडा धुने, सुकाउने, भात पकाउने, खाने, भाँडा माझ्ने, समवेदना प्रकट गर्न आएका साथी, आफन्त आदिसँग कुराकानी गर्ने, सुकेका कपडा उठाउने, घरतिर लाग्नेजस्ता कामले किरियामा बसेकालाई व्यस्त राख्ने रहेछ । यसले गर्दा मृतकबारे मात्र सम्झिरहने, मनमा कुरा खेल्ने वातावरण बन्दोरहेनछ । जसले शोकको अवस्थामा क्रमशः सुधार ल्याउँदो रहेछ र जीवनमा गर्नुपर्ने कामबारे सचेत गराउने र जीवन अघि बढाउनपर्ने मानसिकतालाई सकारात्मक बल पुर्याउँदो रहेछ ।
नुन नखाँदा आलस्य हुने, रक्तचाप कम हुने, नुनको तलतल लाग्ने, सामान्य मसला हालेको खानेकुरा खान मन लाग्ने पनि हुँदो रहेछ । दैनिक अलिनो खानेकुरा ग्रहण गर्दा हप्ता दिन जतिमा यो प्रक्रिया सकिए पनि हुने, मृत्यु भइसकेका मानिसले हामीले गरेको यो कष्टबाट केही प्राप्त गर्ने पनि होइनन् भन्ने थाहा भएको र यसमा विश्वास पनि नलिनेका लागि यो किरियाको प्रक्रिया अवश्य नै बिस्तारै झर्को लाग्दो हुँदै जाने रहेछ । १३ दिनसम्म लगातार एकै ठाउँ सँगै बस्ने र खानपान गर्ने विधिका कारण परिवारका सबै सदस्य सँगै हुने, कुराकानी छलफल हुने, विभिन्न कारणले भौतिक र व्यावहारिक रूपमा टाढा भएका भए परिवारका सदस्य नजिकिएको आभाष हुने पनि यस विधिको सकारात्मक पक्ष रहेछ ।
मृतकका परिवारलाई भेट्न आउने, समवेदना प्रकट गर्ने प्रक्रियाले पनि शोकमा रहेको परिवारलाई शोकाकुल अवस्थाबाट बाहिर ल्याउन सहयोगी भूमिका खेल्ने रहेछ । भेट्न आउन नपाएपनि सन्देश पठाएर, फोन गरेर सान्त्वना दिने क्रियाकलाप पनि शोकाकुल परिवारका लागि ढाडसको रूपमा रहने रहेछ । मैले बाको मृत्युपछि यो कुरा महसुस गरेकाले, मेरा आफन्त, साथी कसैकोमा पनि परिवारका सदस्यको मृत्यु हुँदा सके अन्त्येष्टीमै पुगेर, नसके शोक मनाएका ठाउँमा पुगेर अथवा फोन गरेर, सन्देश पठाएर भएपनि समवेदना प्रकट गर्न कोसिस गर्छु । यसको महत्त्व अब मैले बुझेको छु । सामाजिक र मनोवैज्ञानिक दृष्टिकोणले पनि यस किसिमको संलग्नता शोकमा रहेका व्यक्तिलाई मानसिक रूपमा बलियो बनाउन र सफलतापूर्वक पूर्ववत अवस्थामा ल्याउन आवश्यक हुँदो रहेछ ।
जन्मपछि मृत्यु अवश्यम्भावी छ । यो ध्रुवसत्य हो । तथापि यो सत्य कमैलाई प्रिय लाग्छ अथवा स्वीकार्य छ । म पनि यसलाई सहज रूपमा लिन सक्दिन अहिले । कसरी हुन्छ यो जीवनरूपी त्यान्द्रोको आयु बढाउनमै हाम्रो प्रयत्न निरन्तर चलिरहन्छ । यो प्रयत्नले मृत्युसँगको भय झन् बढाउँदै लैजाने रहेछ सायद । मरण भएको व्यक्तिले मानिस मरणशील भएको यथार्थलाई सहर्ष स्वीकारेको छ, मोहको प्रदर्शन कतै गरेको छैन भने त्यस किसिमका मानिस परिवार, आफन्त, साथी आदिको स्मृतिमा रहने भए पनि उक्त व्यक्तिको मृत्युको पीडालाई चाँडो भुल्न सकिने बनाउने रहेछ । माया र आसक्ति नदेखाएको, व्यक्त नगरेको सम्बन्ध छ भने पनि बाँचिरहेका व्यक्तिका जीवनमा मरेर जाने व्यक्तिले सम्मान, श्रद्धा कम पाउने भन्ने हुने रहेनछ । मेरा बाका सन्दर्भमा कुरा गर्ने हो भने पनि हाम्राबीच भएका थोरै तर ओझिला सम्वाद र याद अझै पनि मस्तिष्कमा ताजै छन् । अत्यावश्यक सूचनाको आदानप्रदान र सम्वाद मात्र गर्ने, खासै कुराकानी नहुने, नगफिने प्रवृत्तिका कारण अझै पनि मलाई बा मेरो वरपर नै हुनुहुन्छ भन्ने आभाष हुन्छ । ठिक्क बोल्ने, आफ्नो काममा दत्तचित्त भएर लाग्ने, समय र पैसाको फजुल खर्च नगर्ने, आसक्ति, मोह र मायाको अनावश्यक प्रदर्शन नगर्ने हो भने कसैको मृत्युपछि पनि सम्बन्धित व्यक्तिको परिवारका सदस्यले मरण भएका व्यक्तिको भौतिक अस्तित्व नभएको स्वीकार्न सहज हुन जाने रहेछ । यो मेरो पहिलो शोकको अनुभूति पनि हो ।
रामघाट, पोखरा ।