म इतिहासको त्यो देउरालीमा उभिएकी छु,
जहाँबाट मैले कैयौँ पटक ऋतुहरू फेरिएको देखेकी छु,
तर मेरा सन्तानका अनुहारमा उही 'अभावको हिउँद' मात्र देखिरहेँ ।
आज फेरि समयले नयाँ कोल्टे फेरेको छ,
र म एउटी नारी, एउटी जननी-
आफ्नो पछ्यौरीले पुछिएका सपनाहरूलाई
नयाँ सरकारको दैलोमा बिस्कुन सुकाउन आइपुगेकी छु ।
नयाँ सारथिहरूलाई शुभकामना !
तिमीहरूले सिंहदरबारको उकालो चढ्दै गर्दा
बिर्सन त हुने छैन- ती आमाहरूलाई ?
जसले डोकोभरि दुःख बोकेर पनि राष्ट्रको नाममा गीत गाइरहे,
बिर्सन त हुने छैन- ती दिदीबहिनीहरूलाई ?
जसका आँसुले यो देशको भूगोल भिजेको छ, तर अधिकारको घाम अझै आधा छ ।
म चाहन्छु-
अब बन्ने स्वर्णिम नेपाल केवल तथ्याङ्कको थुप्रो नबनोस्,
त्यो त मेरो भान्साको सुगन्ध बनोस्,
जहाँ कसैले भोकै सुत्न नपरोस् ।
त्यो त मेरो छोरीको आँखाको आत्मविश्वास बनोस्,
जहाँ ऊ निर्धक्क भएर मध्यरातमा पनि हिँड्न सकोस् ।
रुपनगर, सप्तरी ।