भारतीय नेपाली साहित्य जगतका एक दिग्गज व्यक्तित्व, बहुआयामिक प्रतिभायुक्त स्रष्टा एवं लोकप्रिय आख्यानकारका रुपमा परिचित लीलबहादुर क्षत्रीको जन्म पिता प्रेमबहादुर छेत्री र माता पवित्रादेवी छेत्रीको एउटा मध्यम वर्ग परिवारमा दिनाङ्क 1 मार्च सन् 1933 मा गुवाहाटी, आसामको टकौबारी पुलिस रिजर्भ लाइनमा भएकों थियो। उनका पिता असम रिजर्भ पुलिस विभागका एक साधारण सिपाहीबाट पदोन्नति हुँदै सेवा निवृत हुनअघि एक राजपत्रित अधिकारी (डी.एस.पी.)-को पदसम्म पुगेका थिए। सन् 1937-38 तिर पिताको विभागीय स्थान्तरण गुवाहाटीबाट शिलाङमा भएको कारण उनको बाल्यकाल तथा किशोर अवस्था शिलाङमा बित्यो। सन् 1938 मा पाँच वर्षको उमेरदेखि उनको प्राथमिक शिक्षा शिलाङ पुलिस लाइनको निकट स्थित बङ्गला माध्यमको स्कुलबाट शुरु भएको थियो। त्यहाँ दोस्रो श्रेणीसम्म पढ़ेर तेस्रो श्रेणीदेखि माध्यमिक तहसम्मको शिक्षा क्रमश: गोर्खा पाठशाला र सरकारी हाई स्कुल, शिलाङबाट प्राप्त गरेपश्चात् सन् 1952 मा उनले गुवाहाटीको कटन कलेजमा भर्ना लिए अनि त्यहाँबाट आई.ए. पास गरेपश्चात् सन् 1956 मा अर्थशास्त्रमा सम्मानसहित स्नातक र सन् 1958 मा गुवाहाटी विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर उतीर्ण गरे। पछि उनले हिन्दी साहित्यमा विशारद पनि गरेका थिए। त्यसबेलासम्म नेपाली मातृभाषा सहित असमीया, बङ्गला, हिन्दी र अंग्रेजी भाषामा पनि उनी पारङ्गत भइसकेका थिए।
नेपाली साहित्य र आफ्नो मातृभाषाप्रति बाल्यकालदेखि नै उनको अगाध प्रेम रहेको थियो। शिलाङको परिवेश र त्यहाँको गोर्खा स्कुल पढ्दा नेपाली भाषी गुरुजनहरूको उनीमाथि राम्रो प्रभाव परेको थियो। उनले 10/11 वर्षको उमेरदेखि नै कविता, गीत, भजन आदि लेख्ने अभ्यास गर्न थालेको जानकारी पाइन्छ। सन् 1948 तिर सातौँ श्रेणीमा पढ्दा उनले एउटा उपन्यास नै लेखिसकेका रहेछन्। तर त्योबेला सिकारु कलमद्व्रारा लेखिएको कृति अपरिपक्व सम्झेर प्रकाशमा ल्याइएन। सन् 1948 मै लेखेको उनको पहिलो रचना ‘शिव स्तुति’ (स्तुति कविता) पुस्तिकाको रुपमा 1 जनवरी सन् 1949 मा वाणी प्रिन्टिङ प्रेस, शिलाङबाट प्रकाशित भएको थियो। यो कविता हिन्दी भाषामा लेखिएको आरती ‘ऊँ जय जगदीश हरे‘ को शैलीमा रचिएको नेपाली आरती हो। शिलाङबाट उनले प्रवेशिका पास गर्नभन्दा एक-डेढ़ वर्षअघि नै पिताको पदोन्नति भएर इन्स्पेक्टरको पद सम्हाल्न पुन; गुवाहाटी स्थान्तरित भइसकेका थिए। पिता गुवाहाटी आए तापनि छोराको पढ़ाईको निम्ति परिवार शिलाङमै छोड़ेर आउनु परेको थियो। लगभग चार महिनापछि पिताले शिलाङमा छोराको रहने खाने व्यवस्था मिलाएर परिवार गुवाहाटी ल्याए। त्यसपछि उनले आफ्नो परिवारलाई गुवाहाटीमै स्थायी रुपले स्थापित गराएका थिए।
परिवारमा आफ्ना मात-पिताका ज्येष्ठ पुत्र लीलबहादुरपछि उनका चार बहिनी अनि सबैभन्दा कान्छो एउटा भाई थिए। गुवाहाटी आएर कलेज पढ़्न थालेपछि उनको लेखनकार्य उत्तरोत्तर अघि बढ़्दै गयो। सन् 1952 मा उनका प्रथम दुई कथाहरू ‘सानीकी आमा’ र ‘कर्तव्य’ लक्ष्मीप्रसाद देवकोटाको सम्पादनमा वाराणसीबाट निस्कने पत्रिका ‘युगवाणी’-मा प्रकाशित भएको जानकारी पाइन्छ। त्यसपछि सन् 1954 तिर उनका तीन-चारवटा कथाहरू अनि एउटा निबन्ध ‘आसाममा गोर्खालीग’ कालिम्पोङबाट निस्कने ‘गोर्खा’ पत्रिकामा प्रकाशित भएका थिए। त्यसपछि उनका कथा, कविता, एकाङ्की नाटक र निबन्धहरू नेपाल र भारतका विभिन्न पत्र-पत्रिकाहरूमा प्रकाशित हुँदै गए। यसरी गुवाहाटी आएपश्चात् साहित्यिक एवं सांस्कृतिक कार्यकलापहरूमा उनको सक्रियता अझ बढ्दै गयो।
सन् 1949-50 तिर शिलाङमा छँदा हेरेको एउटा हिन्दी चलचित्र ‘शैव्या हरिश्चन्द्र’-बाट प्रभावित भएर त्यसैमा आधार गरी उनले हिन्दी भाषामा एउटा नाटक ‘हरिश्चन्द्र’ लेखेर मञ्चन पनि गराएका रहेछन्, पछि त्यसलाई गुवाहाटीमा पनि मञ्चन गराइएको थियो भन्ने सुनियो। त्यसपछि सन् 1954 मा उनले एउटा हास्य व्यङ्ग्य नाटक ‘साइँला दाई’ लेखेर गुवाहाटी पल्टन बजारको गोर्खा स्कुलको प्राङ्गणमा मञ्चन गराएका थिए। सन् 1956 मा बी.ए.को परिक्षा दिएपश्चात् उनले नाटक ‘लक्ष्य’ लेखेका थिए। त्योबेला यस नाटकलाई गुवाहाटी उजनबजारको आर्य मन्दिर प्राङ्गणमा धुमधामसँग मञ्चन गराइएको थियो। त्यहीबेला लेखिएको उनको पहिलो उपन्यास ‘बसाईं’ पुस्तकाकारमा सन् 1957 मा मदनमणि दिक्षितको सहयोगमा मदन पुरस्कार पुस्तकालय, काठमाड़ौँ, नेपालबाट प्रकाशित भयो। प्रकाशनमा आएको डेढ़-दुई वर्षपछि नै यस उपन्यासलाई नेपालको आई.ए.स्तरको पाठ्यक्रममा समावेश गरियो। उपन्यासकारको निम्ति यो एउटा ठूलो उपलब्धि थियो। नेपाली भाषामा देवकोटाको ‘मुनामदन’-पछि सबैभन्दा अधिक बिक्री हुने कृति लीलबहादुर क्षत्रीको ‘बसाईं’ उपन्यास नै हो। नेपालमा अहिलेसम्म यसका चालिसौँ संस्करण भन्दा अधिक प्रकाशनमा आइसकेको र पाठकहरू माझ एउटा कीर्तिमान स्थापित गरिसकेको छ। यसलाई सामाजिक यथार्थवादी उपन्यास मानिएको छ। यस कृतिको अन्य भाषाहरूमा पनि अनुवाद भएर प्रकाशनमा आइसकेका छन्। अङ्ग्रेजीमा मात्रै दुईवटा छुट्टाछुट्टै अनुवाद निस्किए। पहिलो अनुवाद अमेरिकाको लारी हर्सेलले गरेका छन्, जुन “टुवार्डस् अन्नोन होराइजन” शीर्षकमा सिक्किमका तुलसीराम शर्मा कश्यपको सहयोगले आँकुरा प्रकाशनबाट छापिएको थियो। दोस्रो, डा. माइकल हटले ‘माउन्टेन्स् पेइन्टेड विथ टर्मरिक” भन्ने शीर्षकमा अनुवाद गरेका छन्। असमीया भाषामा डी.बी. क्षत्रीद्वारा अनुदित ‘बसाइँ” शीर्षकमा नै प्रकाशित छ। यसबाहेक हिन्दी, चिनियाँ, थारु जस्ता भाषाहरूमा पनि यसको अनुवाद प्रकाशित भइसकेको छ। नेपालबाट यस उपन्यासको कथानकमाथि आधार गरी निर्माण गरिएको चलचित्रले अमेरिकाको ओस्कार जस्तो अन्तर्राष्ट्रिय पुरस्कारको निम्ति मनोनयन पनि गरिएको थियो। यसबाट उपन्यासकार लीलबहादुर क्षत्रीको शुभनाम अन्तर्राष्ट्रिय स्तरसम्म फैलिन सकेको कुरा बुझ्न सकिन्छ। उनका अनुजका रुपमा निकट सम्पर्कमा रहेका वर्तमान सिलगढ़ी निवासी साहित्यकार मुक्ति उपाध्याय बरालको कथन अनुसार ‘लीलबहादुर क्षत्रीको उपन्यास ‘बसाईं’-ले पहाड़ी गाउँले जीवनको यथार्थता बोकेको छ, जसमा स्वार्थ, धोका र सामाजिक व्यवस्थाले शोषित, पछौटेपनको कुसंस्कारले अवहेलित, पीड़ित जीवनको पिल्साईले गाउँ-घर नै छोड़ेर बसाईं सर्नु पर्ने वाध्यता पाइन्छ। सामाजिक यथार्थवादको इतिहास बोकेको इतिहास हो उपन्यास ‘बसाईं’।’ (झ्याउरे पार्टीले गर्नु गर्यो - पृष्ठ 18)
सन् 1954 मा उनले प्रथमपल्ट आकाशवाणी, गुवाहाटीमा एउटा बाल कार्यक्रम प्रस्तुत गर्ने अवसर पाएका थिए। त्यसबेला उनले एउटा बाल नाटक ‘बनभात’ लेखेर गुवाहाटी गोर्खा स्कुलका विध्यार्थीहरूलाई तालिम दिई बाल कार्यक्रमको प्रसारण गरेका थिए। त्यसपछि सन् 1957 र 1958 मा दुईपल्ट नेपाली कार्यक्रम प्रसारण गर्ने क्रममा उनले आफुले रचना गरेका गीतहरू प्रस्तुत गर्ने अवसर पाएका थिए अनि पछि एम.ए.को अध्ययन समाप्त भएपश्चात् सन् 1959 देखि उनी आकाशवाणी गुवाहाटीमा नेपाली कार्यक्रम परिचालकका रुपमा कार्य गर्न थालेका थिए। यसरी रेडियो स्टेशनमा काम गर्दा उनले अनेकौं नेपाली भजन, गीत, रेडियो नाटक, रेडियो फिचर, रुपक, गीति नाटक, एकाङ्की नाटक, पूर्णाङ्की नाटक, बाल नाटक आदि लेखे अनि तीमध्ये धेरै रेडियो स्टेशनबाट प्रसारित पनि भए। त्यस अवधि नाटक लेखन, निर्देशन, अभिनय कला तथा मञ्चन क्षेत्रमा उनले पुर्याएको योगदान उल्लेखनीय रहेको छ।
आकाशवाणी, गुवाहाटीबाट प्रसारित परिवर्तन (बाल मनोविज्ञानमाथि आधारित एकाङ्की), म्याउ भन्ने को त? (बाल कथिका), कन्यार्थी, विघ्नमय जीवनमा नेपाली बालाको आदर्श, तीज, धामी सुधार (व्यङ्ग्य नाटिका), नारीको जन्म हारेको कर्म, पागल, आन्तरिक वेदना, आशा, बिहान, चिम चिम नानी चिम चिम लै (परिवार नियोजनमाथि आधारित व्यङ्ग्य), पचास वर्षको अवधिभित्र एक जोर परेवा (हास्य व्यङ्ग्य नाटिका), महत्वपूर्ण वैज्ञानिक साँचो, (व्यङ्ग्य नाटक), निभेको आगो, शान्तनुको शोक, मिलन, हिमालयको पुकार, विजय दशमी, महिषासुर वध, भाई टीका, वगरमा छिरल्लिएका ढुङ्गा, रहस्योद्घाटन, कर्म, भानु र घाँसी आदि उनका कलमबाट निसृत चर्चित नाट्य रचनाहरू हुन्। यसबहेक सन् 1960 मा उनले पूर्णाङ्की नाटक ‘दोबाटो’ लेखेका थिए जो उजानबजारको आर्य नाट्य मन्दिरमा मञ्चन गरिएको थियो। पछि सन् 1967 मा यो नाटक साझा प्रकाशन काठमाडौं, नेपालबाट प्रकाशित भयो। त्यसपछि उनको एकाङ्की सङ्ग्रह ‘माग’ सन् 1978 मा र नाटक ‘शुरुको शुरु’ सन् 1987 मा प्रकाशित भएका थिए। उनका केही नाटक र धेरै एकाङ्की र रेडियो रुपकहरू अप्रकाशित नै रहेका थिए। पछि सन् 2022 मा उनका केही प्रकाशित र अप्रकाशित नाटक, एकाङ्की र रेडियो रुपकहरूको सङ्कलन नेपालका डा. गोविन्दराज भट्टराईको सम्पादनमा ‘लीलबहादुर क्षत्री : चर्चित नाटकहरू’ शीर्षकमा काठमाड़ौँबाट प्रकाशित हुन सक्यो। उनले गीत र कविताहरू पनि निकै लेखेका छन्। नेपालको मधुपर्क लगाएत विभिन्न पत्र-पत्रिकाहरूमा उनका कविताहरू प्रकाशित भएका छन्। गुवाहाटीबाट निस्कने “हाम्रो ध्वनि” पत्रिकाका सम्पादक उत्तम प्रधानले उनको डायरीहरूबाट गीत र कविता आफैं खोजेर करीब पचासवटा जति गीत र कविताहरूको सङ्कलन गरी सन् 2001 मा उनका कविताहरूको एउटा विशेषाङ्क पनि निकालेका थिए। पछि सन् 2021 मा उनको कविता सङ्ग्रह ‘पद्ध्यात्मक रचानाभित्र लीलबहादुर’ प्रकाशित भयो।
सन् 1961 मा पुस्तकाकारमा प्रकाशित उनको निबन्ध सङ्ग्रह ‘असममा नेपाली भाषाको साह्रो-गाह्रो’-लाई पूर्वोत्तर भारतको नेपाली भाषाको पहिलो निबन्ध सङ्ग्रहको पुस्तक मानिएको छ। लगभग तीन वर्ष रेडियो स्टेशनमा कार्य गरेपश्चात् उनले सन् 1962 मा गुवाहाटीकै आर्य विद्यापीठ महाविद्यालयमा अर्थशास्त्र विषयका प्राध्यापकको नियुक्ति पाए अनि शिक्षा क्षेत्रमा सेवा पुर्याउँदै समाजको उन्नति तथा सत्कर्मको बाटोमा लागेर नेपाली साहित्यप्रति निरन्तर सेवा प्रदान गरे। उनले रेडियो स्टेशनको नेपाली कार्यक्रम प्रसारण गर्ने कार्यभार पनि अस्थायी रुपमा सन् 1967 सम्म निभाउँदै आएका थिए। अन्तत: प्राध्यापन कार्य नै उनको साहित्यिक जीवनको निम्ति अनुकुल बन्न सक्यो। यसरी उनले कलेजमा स्थायी रुपमा 32 वर्षसम्म सेवा प्रदान गरी अर्थशास्त्र विभागका प्रमुखको पदसम्म पुगेर सन् 1994 मा अवकाश ग्रहण गरेका थिए। यस अवधिमा उनले नेपाली साहित्यका विविध विधामा निरन्तर रुपले कलम चलाइरहे। सन् 1968 मा उनको दोस्रो उपन्यास ‘अतृप्त’ साझा प्रकाशन, काठमाडौंबाट प्रकाशमा आयो। यस उपन्यासलाई उनले मनोविज्ञानमाथि आधार गरी लेखेका छन्। सन् 1983 मा उनको पहिलो कथा सङ्ग्रह ‘तीन दशक : बीस अभिव्यक्ति’ पङ्कज-पल्लव प्रकाशन, गुवाहाटीबाट प्रकाशित भयो। आफ्ना दुई छोराहरूको नाममा स्थापना गरिएको यो उनको घरेलु प्रकाशनको पहिलो पुस्तक थियो। त्यसपछि सन् 1986 मा उनको तेस्रो उपन्यास ‘ब्रह्मपुत्रको छेउछाउ’ श्यामब्रदर्स प्रकाशन, दार्जीलिङबाट प्रकाशित भयो। यस उपन्यासको निम्ति सन् 1987 मा उनलाई साहित्य अकादेमी, दिल्लीबाट अकादेमी पुस्कारले सम्मानित गरियो। आसामको ब्रह्मपुत्र नदीको छेउछाउ बसोबासो गरी जीवन धान्ने नेपाली भाषी जनजीवनको दु:ख, कष्ट तथा आर्थिक अभाव र सामाजिक स्थितिको चित्रण गरिएको यो एउटा आञ्चलिक एवं यथार्थवादी उपन्यास हो। यस उपन्यासलाई असमका अग्निबहादुर छत्रीले असमीया भाषामा अनुवाद गरे जसलाई साहित्य अकादमी, दिल्लीबाट नै प्रकाशित गरियो। यसबाहेक भागलपुर कलेजका प्रिन्सिल डा. सुरेन्द्र शाहले हिन्दी भाषामा र डा. कामेश्वर बोडोले बोडो भाषामा यस कृतिको अनुवाद गरी प्रकाशनमा ल्याएका छन्। अङ्ग्रेजीमा उत्पला सिवाले अनुवाद गरिसकेको भए तापनि पुस्तक रुपमा प्रकाशनमा आएको थाह लागेको छैन। यसबाहेक मैथिली, उड़िया र राजस्थानी भाषामा पनि यसको अनुवाद प्रकाशमा आएको छ। सन् 1993 मा उनको दोस्रो कथा सङ्ग्रह ‘लीलबहादुर क्षत्रीका कथाहरू’ राजकीय प्रज्ञा प्रतिष्ठान, काठमाड़ौँ, नेपालबाट प्रकाशित भयो। उनका चयनित कथाहरूको सङ्कलन असमिया भाषामा पनि प्रकाशित छ। यसबाहेक उनका अनेकौं फुटकर कथाहरू असमिया, हिन्दी, बङ्गला, मलायलम, गुरुमुखी आदि विभिन्न भारतीय भाषाहरूमा पनि अनुवाद भइ प्रकाशित भएका छन्।
सन् 1994 मा प्राध्यापनको सरकारी सेवाबाट अवकाश ग्रहण गरेपश्चात् उनी साहित्य सेवामा नै पूर्ण रुपले समर्पित भए। उनको आफ्नै पङ्कज-पल्लव प्रकाशनबाट सन् 1997 मा “पूर्वाञ्चन भारतीय नेपाली कथा साहित्य र पत्रकारिताको इतिवृत्त” खोजमूलक निबन्ध सङ्ग्रह, सन् 1999 मा “झ्याउरे पार्टीमा लाग्दा” संस्मरणात्मक निबम्ध सङ्ग्रह र सन् 2000 मा ‘पूर्वोत्तर भारतीय नेपाली साहित्य र समाजको ऐतिहासिक दिग्दर्शन’ जस्ता महत्वपूर्ण पुस्तकहरू प्रकाशमा आए।, उनी विभिन्न सामाजिक तथा साहित्यिक संस्थाहरूसित पनि सक्रिय रुपमा संलग्न रहेका थिए।, यसै क्रममा उनले अन्य लेखकहरूका विभिन्न पुस्तकहरूमा भूमिकाहरू पनि लेख्ने गर्थे।,सन् 2001 मा ती भूमिकाहरूको सङ्कलन पुस्तक रुपमा ‘लीलबहादुर क्षत्रीका ऐतिहासिक भूमिका’ शीर्षकमा डी.आर.पोखरेलको सम्पादनमा हाम्रो सृजना, चितवनबाट प्रकाशित भयो। सन् 2004 मा उनको चौथो उपन्यास “प्रतिध्वनिहरू विस्मृतिका” अनुराग प्रकाशन, गुवाहाटीबाट प्रकाशमा आयो। यो उनका आफ्नै बुवाको जीवन चरित्रलाई आधारविन्दु बनाएर लेखिएको जीवनीपरक उपन्यास हो। यस उपन्यासले तत्कालीन युगको एउटा इतिहास पनि बोकेको छ। सन् 2011 मा उनको निबन्ध सङ्कलन ‘सिमलको भुवा’ पवित्र-प्रेम प्रकाशन, गुवाहाटीबाट प्रकाशित भयो। उनका माता-पिताको नाममा स्थापना गरिएको यो पनि उनको घरेलु प्रकाशन थियो। यसरी नै सन् 2013 मा यसै प्रकाशनबाट उनको कहिल्यै नफुक्ने गाँठो (कथा सङ्ग्रह) अनि सन् 2016 मा छरिएको बिस्कुन (लोक-कथाका आधारमा रचिएका कथाहरू) आसाम नेपाली साहित्य सभाले प्रकाशमा ल्यायो। सन् 2023 मा रुद्र बरालको सम्पादनमा लीलबहादुर क्षत्रीको काया-कैरन (अन्तर्वार्ता सङ्गालो) इन्द्रेणी प्रकाशन, शोणितपुर्, आसामबाट प्रकाशित भएको पाइन्छ।, सन् 2025 मा डा. खगेन शर्माको सम्पादनमा अतीतको ऐनाभित्र विविध झाँकीहरू (निबन्ध सङ्कलन) लीलबहादुर क्षत्री फाउण्डेसनको तर्फबाट प्रकाशित गरियो अनि रुद्र बराल र ढाकाराम काफ्लेका सम्पादनमा उनका चारैवटा उपन्यासहरूको सङ्कलन ‘उपन्यास समग्र’ इन्द्रेणी प्रकाशनबाट प्रकाशित भएको छ।,यसरी उनले नेपाली साहित्यका सबै विधामा निरन्तर रुपमा सत्तर वर्षभन्दा अधिक समय कलम चलाएर भारतीय नेपाली साहित्यको स्तर उन्नत तुल्याउन सफल बनेका छन्। विशेष गरी आख्यानकारको रुपमा उनले धेरै ख्याति प्राप्त गरे तापनि कविता, निबन्ध, नाटक आदि क्षेत्रमा पनि उनको योगदान प्रयाप्त रहेको छ। अर्थशास्त्रका प्राध्यापकका रुपमा लगभग बत्तीस वर्ष सेवा पुर्याएर अवकाश ग्रहण गरेपश्चात् पनि अझै लगभग 32 वर्ष बाँचेर समाज र साहित्यको निरन्तर सेवा गरिरहे।
उनको सामाजिक संलग्नता र विभिन्न क्रियाकलापहरूलाई पछि फर्केर हेर्दा सन् 1954 मा उनी आसाम प्रादेशिक गोर्खालीग अनि आसाम गोर्खा सम्मेलनका सक्रिय सदस्य रहेको देखिन्छ। सन् 1970 मा उनी अखिल भारतीय नेपाली भाषा समिति, गुवाहाटी शाखाका संस्थापक अध्यक्ष रहेका थिए। सन् 1971 मा नेपाली साहित्य सम्मेलन, आसाम (उदलगुड़ी)-का पनि संस्थापक अध्यक्ष रहेका थिए। सन् 1989 देखि सन् 1994 सम्म नेपाली साहित्य परिषद, आसामका अध्यक्ष अनि साहित्य अकादेमी (दिल्ली)-का नेपाली परामर्श समितिका सदस्य रहे। सन् 1996 देखि 2000 सम्म नेशनल बुक ट्रस्ट, दिल्लीका नेपाली परामर्श समुहका सदस्य रहेका थिए। गुवाहाटीमा नेपाली भाषी समाजसित उनको गहिरो सम्बन्ध रहेको थियो। प्राय: सबै क्षत्रिय सङ्घ-संस्थाहरूसित पनि उनी निकट सम्पर्कमा थिए। गुवाहाटी शहरमा सन् 1955 देखि उनैले प्रत्येक वर्ष आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती मनाउने परम्परा बसालेका हुन् जो आजसम्म प्रत्येक वर्ष धुमधामसँग मनाइन्छ।
आफ्नो साहित्यिक लेखनको दीर्घ यात्रामा उनी अनेकौं सम्मान र पुरस्कारहरू पनि प्राप्त गर्न सफल भएको देखिन्छ। यस क्रममा सबैभन्दा पहिले सन् 1983 मा उनले नेपाली साहित्य सम्मेलन, दार्जीलिङबाट दियालो दुलिचन्द स्वर्ण पदक प्राप्त गरे। त्यसपछि सन् 1985 मा भानु पुरस्कार (पश्चिम बङ्गाल सरकारको तर्फबाट), सन् 1987 मा साहित्य अकादेमी पुरस्कार (साहित्य अकादेमी, दिल्लीबाट), सन् 2001 मा मदन स्मारक व्याख्यानमाला सम्मान (वाराणसीबाट), सन् 2003 मा वेधनिधि पुरस्कार (काठमाडौं, नेपालबाट), सन् 2004 मा सिक्किम सरकारद्वारा स्टेट एप्रिसिएसन पेन्सन र सिक्किम सम्मान सम्मेलन, गान्तोकद्वारा सम्मानित भए। सन् 2005 मा अगम स्मृति पुरस्कार (सिक्किमबाट), र त्यही वर्ष असम सरकारबाट पनि साहित्यिक पेन्सन प्रदान गरियो। तत्पश्चात्. सन् 2006 मा असम नेपाली साहित्य सभा पुरस्कार (गुवाहाटी, असमबाट), सन् 2008 मा अभिजमान ट्रस्ट पुरस्कार (कुवैतबाट), सन् 2012 मा नई देरूनिख अन्तर्राष्ट्रिय पुरस्कार (नेपालबाट), पूर्वाञ्चल साहित्य शिरोमणि पुरस्कार (अभिजमान ट्रस्टबाट) र हरिभक्त कटुवाल स्मृति पुरस्कार (नेपाली साहित्य परिषद, आसामबाट), सन् 2013 मा आदि कवि भानुभक्त आचार्यको 200 औं जन्मजयन्तिको उपलक्ष्यमा भानु प्रतिष्ठान, काठमाडौं, नेपालद्वारा उनलाई रथ आरोहण गराइ सम्मान गरियो। सन् 2014 मा असमको सोनापुर कलेजमा डा. भुपेन हजरिकाको 88 औं जन्मजयन्तिको उपलक्ष्यमा भुपेन हजरिका सांस्कृतिक ट्रस्टको तर्फबाट उनलाई अभिनन्दन गरेर सम्मान गरिएको थियो। सन् 2016 जगदम्बाश्री अन्तर्राष्ट्रिय पुरस्कार र वसुन्धराश्री पुरस्कारले (काठमाडौं, नेपालबाट) सम्मानित भए। सन् 2019 मा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, अमेरिकाको तर्फबाट उनलाई वासुदेव मालति स्मृति अन्तर्राष्ट्रिय पुरस्कार प्रदान गरियो। सन् 2020 मा भारतको चौथो सर्वोच्च नागरिक सम्मान पद्मश्री पुरस्कारले समानित गरिने घोषणा गरेपश्चात् 8 नोभेम्बर 2021 मा राजधानी नयाँ दिल्लीको राष्ट्रपति भवनमा आयोजित भव्य समारोहमा राष्ट्रपति रामनाथ कोविन्दको बाहुलीबाट यस पुरस्कारद्वारा सम्मानित गरिएको थियो। यही वर्ष नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडौंबाट पनि उनलाई भानु प्रज्ञा अन्तर्राष्ट्रिय नेपाली साहित्य पुरस्कारले सम्मानित गरियो। अगस्त 2022 मा हाम्रो स्वाभिमान ट्रस्ट, पतञ्जली योगपीठको तर्फबाट ‘हाम्रो गौरव पुरस्कार’ प्रदान गरियो। सन् 2022 मै स्वीकारोक्ति फाउन्डेसनले अमेरिकाको पेन्सिलभेनिया राज्यको ह्यारिसवर्ग सहरमा सम्पन्न जिविएलओको अन्तर्राष्ट्रिय सम्मेलनका अवसरमा घोषित “स्वीकारोक्ति आजीवन सिद्धि पुरस्कार” पनि उनलाई प्रदान गरिएको थियो। ने.रु. 6 लाख अर्थात् भा.रु. 3 लाख 75 हजार नगद राशि रहेको यो पुरस्कार प्राप्त गर्ने सम्भवत: उनी प्रथम भारतीय नेपाली साहित्यकार हुन्। यसरी नै सन् 2023 मा इटहरी, नेपालबाट धरणीधर दाहाल स्मृति पुरस्कार र शालीग्राम-सरोज स्मृति पुरस्कार प्रदान गरियो। त्यही वर्ष भारतीय गोर्खा परिसङ्घले उनलाई आजीवन उपलब्धिका निम्ति सम्मान जनायो अनि असम गोर्खा छात्र सङ्घले पनि आजीवन उपलब्धि पुरस्कारद्वारा सम्मानित गरेको थियो। यसरी शिक्षा, साहित्य र समाजको निम्ति पुर्याएको योगदानको उचित मूल्याङ्कन र कदर गर्दै उनको जीवनको उत्तरार्धमा उनी धेरै पुरस्कारहरूले अलङ्कृत भए, अभिनन्दित एवं सम्मानित भए। सन् 2016 मा आसामका साहित्यकार खगेन शर्माको सम्पादनमा ‘लीलबहादुर क्षत्री व्यक्तित्व र कृतित्व’ अभिनन्दन ग्रन्थ प्रकाशमा आयो। यो उनको व्यक्तित्व र कृतित्वबारे अध्ययन गर्न चाहने पाठकहरूका निम्ति एउटा उपयोगी ग्रन्थ हो।
गुवाहाटीमा भारतीय नेपाली भाषा-साहित्यको संवर्द्धन र संरक्षणका निम्ति उनको नाममा उनी जीवित छँदै सन् 2022 मा ‘लीलबहादुर क्षत्री फाउण्डेसन’ नामको ट्रस्टको स्थापना गरिएको थियो। यस संस्थाको तर्फबाट सन् 2023 देखि आख्यान विधाको निम्ति वर्षेनी ‘लीलबहादुर क्षत्री साहित्यिक पुरस्कार’ प्रदान गरिन थालिएको छ। सन् 2023 को पहिलो पटकको पुरस्कार आसामका कथाकार खड्गबहादुर कौशिकलाई प्रदान गरियो। सन् 2024 को दोस्रो पटकको पुरस्कार डुवर्सका कथाकार अबिर खालिङ अनि सन् 2025 को तेस्रो पटकको पुरस्कार सिक्किमका कथाकार थिरुप्रसाद नेपाललाई प्रदान गरिएको छ।
पिता डी.एस.पी. मा पदोन्नति भएपश्चात् केही वर्ष नोकरी गरी सन् 1960 मा सेवा निवृत भइसकेका थिए। अवकाश ग्रहण पश्चात् पनि निकै वर्ष बाँचेर परिवारमा आफुले गर्नु पर्ने बाँकी रहेका कर्तव्यहरू सबै निभाएर स्वभाविक रुपमै वार्धक्य अवस्थामा पुगेर माता-पिता दुवैको स्वर्गवास भयो। त्यसपछिको उनको पारिवारिक जीवन पनि सुखद नै रहेको ज्ञात हुँदछ। परिवारमा उनका दुई पत्नि, एक छोरी अनि दुई छोरा छन्। छोरा-छोरी सबैको बिहे भइसकेर नाता-नातिनाहरूको धनी भइसकेका उनी धेरै वर्ष बाँचे। उनको उमेरले निकै डाँड़ा काटिसकेको थियो। यस्तैमा गुवाहाटीमा 1 मार्च 2025 को दिन उनको 93 औं जन्मजयन्ती परिवार अनि इष्ट-मित्रहरूमाझ धुमधामसँग मनाइयो। 92 वर्ष पुगेर 93 वर्ष टेकेका पद्मश्री लीलबहादुर क्षत्रीको त्यो वर्षको जन्मजयन्ती नै अन्तिम रहेछ। वार्ध्यक्य र थोरै शारिरिक अस्वस्थताको कारण 13 मार्च 2025 को दिन उनको इहलीला समाप्त भयो। यस संसारबाट उनी बिदा भए।
उनको देहावशानपछि सन् 2025 मा झापा, नेपालको त्रिफला राष्ट्रिय पुस्तकालयले गोविन्दराज भट्टराईको सम्पादनमा ‘त्रिफला दर्पण’-को 35 औं अङ्क ‘लीलबहादुर क्षत्री स्मृति ग्रन्थ-का रुपमा प्रकाशित गरेको छ। त्यसपछि मार्च, 2026 मा पङ्कज-पल्लव प्रकाशन, गुवाहाटीबाट डा. खगेन शर्मा र पल्लव छेत्रीको सम्पादनमा ‘लीलबहादुर क्षत्री व्यक्ति एक स्मृति अनेक’ स्मृति ग्रन्थ प्रकाशित भएको छ। मानिसले यस धरतिमा जन्म लिएपछि एक दिन निश्चय बितेर जाने नै हो। तर यस्ता महान व्यक्तिहरू बितेर गए तापनि आफ्ना कर्म-कृतिहरूमा सदैव अमर रहनेछन्, लाखौँ पाठक एवं शुभचिन्तकहरूका स्मृतिमा बाँचिरहनेछन्।
सन्दर्भ :-
1) लीलबहादुर क्षत्री – उपन्यास समग्र (सन् 2025) सम्पादक : रुद्र बराल र ढाकाराम काफ्ले
2) झ्याउरे पार्टीले गर्नुगऱ्यो (लेख सङ्कलन), – मुक्तिप्रसाद उपाध्याय
3) लीलबहादुर क्षत्री व्यक्ति एक, स्मृति अनेक (सन् 2026) - सम्पादक : डा. खगेन शर्मा र पल्लव छेत्री
बाग्राकोट, डुवर्स