19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

सिंहदरबारको ऐना र सडकको धूलो

कविता नन्दलाल आचार्य March 27, 2026, 1:43 am
नन्दलाल आचार्य
नन्दलाल आचार्य

​बिहानै झुल्किएको घामको लालीमा
हामीले तिम्रो सत्तारोहणको मङ्गल धून सुन्यौं,
तर बिर्सनु हुँदैन-
त्यो धूनमा अझै पनि झुप्राहरूको सुस्केरा मिसिएको छ ।
तिमी जुन कुर्सीमा बसेर इतिहास लेख्ने सपना बुन्दैछौ,
त्यो कुर्सीका खुट्टाहरू
वर्षौंदेखि न्यायको पर्खाइमा सुकेका हड्डीहरूले बनेका हुन् ।
​खबरदार !
अबका तिम्रा भाषणहरूमा शब्दको विलास होइन,
पसिनाको सुगन्ध हुनुपर्छ ।
सिंहदरबारका झ्यालहरूबाट केवल काठमाडौँको रमिता नहेर,
ती सिसाका पर्दाहरू च्यातेर
कर्णालीका भोका पेट र तराईका चिरा परेका खेतहरू नियाल ।
​सत्ताको न्यानोमा मख्ख परेर
आफ्नै छायाँलाई विशाल ठान्ने गल्ती नगर्नू,
किनकि तिमीलाई त्यहाँ पुर्‍याउने ती हातहरूले
भोलि प्रश्नको औँला ठड्याउन पनि जानेका छन् ।
शिरमा राखेको श्रीपेच जस्तो जिम्मेवारीलाई
स्वार्थको जुवा नबनाउनू,
रगतले लेखिएको संविधानका पानाहरूलाई
सहमति र भागबण्डाको रद्दी टोकरीमा नफाल्नू ।
​याद राख,
जनताका सपनाहरू सिसा जस्तै हुन्छन्-
जतन गरे सुन्दर ऐना बन्छन्,
तर फुटाइदियौ भने तिखा सियो बनेर पैतालामा बिझ्छन् ।
तिम्रो सफलताको मापन
दौडिरहेका चिल्ला गाडीहरूले होइन,
गाउँ छोडेर मुग्लान पस्ने लस्कर रोकिएको दिन हुनेछ ।
​समयको यो कडा कसीमा
तिमी एउटा शासक मात्र होइन, एउटा परीक्षार्थी हौ ।
इतिहासको कलम तिम्रो हातमा छ-
स्वर्ण अक्षरले लेख्छौ कि दागैदागको मसीले ?
फैसला भोलिको सडकले गर्नेछ ।

बेलका-२, सिद्धार्थटोल, गल्फडिया, उदयपुर

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।