बरन्डामा आज पनि
सूर्यले हाजिरी लगायो
कर्मचारीले होइन।
कुर्सीहरू चुपचाप छन्
तर फाइलहरू कराइरहेका छन्
“हामीलाई चलाऊ!”
तर कलमहरू त
राजनीतिक हावामा उडिरहेका पतंगजस्ता
डोरी कसैको हातमा छैन।
यो कस्तो राज्य हो?
जहाँ काम होइन,
सरुवा नै कर्म हो।
जहाँ पदस्थापन
भाग्यरेखाजस्तै पढिन्छ
हात होइन
नेताको अनुहारमा।
एक कर्मचारी
फाइलको पाना जस्तै पहेँलो
बरन्डामा बस्दै भन्छ
“म राष्ट्रको सेवा गर्दैछु।”
राष्ट्र?
वा घाम ताप्ने प्रतियोगिता?
यहाँ ‘जिम्मेवारी’
सबैभन्दा ठूलो बोझ हो
त्यसैले सबैजना
यसलाई टार्न दौडिरहेका छन्।
मन्त्रालयहरू
मानौँ चेसबोर्ड,
जहाँ मान्छेहरू मोहरा हुन्
तर राजा कहिल्यै चेकमेट हुँदैन।
केवल प्यादाहरू
सरुवा–सरुवा खेल्दै
थाकेर ढल्छन्।
फाइलहरू
धुलोको कफन ओढेर
समयको शवयात्रामा हिँड्छन्
ढिलो
अत्यन्त ढिलो
जसरी निर्णयहरू जन्मन डराउँछन्।
एकदिन
एक फाइलले आत्महत्या गर्यो
उसले लेख्यो,
“मलाई कहिल्यै खोलिएन।”
कर्मचारी हाँसे
“यो त प्रोटोकल हो।”
ओहो!
कस्तो विडम्बना!
जहाँ काम नगर्नु
सबैभन्दा सुरक्षित काम हो
र काम गर्नु
सबैभन्दा ठूलो जोखिम।
राजनीति
एक जादूगर
जो कर्मचारीलाई
टोपीभित्र लुकाउँछ
र भन्छ
“अब हेर्नुहोस्, पारदर्शिता!”
तर टोपीभित्र
अँध्यारो मात्र छ
जहाँ प्रतिभा सड्छ,
र आशा कुहिन्छ।
ए कर्मचारीयन्त्र!
तिमी त नदी हुनुपर्ने
बग्ने
जीवन दिने
तर किन
तिमी पोखरी बन्यौ?
जहाँ पानी छ
तर गति छैन।
म हाँस्छु
किनकि रोएँ भने
यो प्रणाली नै बग्ला।
म लेख्छु
किनकि बोल्न डर लाग्छ।
र
एउटा प्रश्न
यदि राष्ट्र
बरन्डामा बसिरहेको छ भने
प्रगति
कहाँ हिँडिरहेको छ?