19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

जीवनी पुस्तकको अनुपम नमुना सुश्री पारिजात

कृति/समीक्षा नवीन पौड्याल April 2, 2026, 10:50 pm
नवीन पौड्याल
नवीन पौड्याल

१. जीवनी साहित्य
साहित्यमा जीवनी, जीवन चरित्र, जीवन चरित, जीवनवृत्त, जीवनवृतान्त आदि शब्दावलीले मूलतः कुनै विशिष्ट व्यक्तित्व जीवनका बारेमा इतिवृत्त वर्णन भएको मानिन्छ। जीवनी साहित्यको सिद्धान्त कुनै व्यक्तिको जीवनकथालाई साहित्यिक माध्यमद्वारा अभिव्यक्त गर्न विविध सिद्धान्तहरू र दृष्टिकोणहरूको प्रयोगमा आधारित हुन्छ। यसमा ऐतिहासिक प्रमाणहरू, व्यक्तिको व्यक्तिगत अनुभवहरू तथा लेखकको दृष्टिकोणको सन्तुलित संयोजन समावेश हुन्छ। जीवनी साहित्यका प्रमुख आधारहरूमा कालानुक्रमिक वा विषयगत संरचना (जस्तै बाल्यकाल, शिक्षा, पेशागत जीवन, महत्वपूर्ण घटनाहरू), ऐतिहासिक र सामाजिक परिवेशको सन्दर्भमा केन्द्रित विश्लेषण, तथा लेखकको व्यक्तिगत जीवन र उनका साहित्यिक कृतिहरू बीचको अन्तर्सम्बन्धको अन्वेषण समावेश हुन्छ। साथै, यस प्रकारको साहित्यले समालोचनात्मक दृष्टिकोणमार्फत लेखकको जीवनानुभव र बाह्य प्रभावहरूले उनको साहित्यिक सृजनामा पारेको प्रभावको विश्लेषण गर्दछ।

जीवनीकै समकक्षी उपविधाका रूपमा आत्मजीवनी वा आत्मकथा पनि पाइन्छ। जीवनी र आत्मजीवनी प्रायः जीवनी लेखन नै हुन्। यद्यपि जीवनीमा लेखकले अरूको जीवनीलाई आधार बनाएको हुन्छ भने आत्मजीवनी लेखकले आफ्नै जीवनीलाई प्रस्तुत गरेको हुन्छ। जीवनीभन्दा आत्मजीवनी अझ संवेदनशील हुन्छ किनकि आफ्नो गहन अनुभूतिलाई अभिव्यक्त गर्न सकिन्छ। अर्काको जीवनीमा संवेदना र अनुभूति हाल्नु असम्भवप्राय हुन्छ।

२. जीवनी साहित्यका प्रमुख सिद्धान्तहरू-
जीवनी साहित्यका केही प्रमुख सिद्धान्त रहेका छन्। यसमध्ये १.ऐतिहासिक–जीवनीसम्बन्धी दृष्टिकोण हो जसमा कुनै पनि साहित्यिक कृतिलाई त्यसका लेखकको जीवन, ऐतिहासिक कालखण्ड तथा सामाजिक–सांस्कृतिक पृष्ठभूमिको प्रतिबिम्बका रूपमा ग्रहण गरिन्छ। त्यसैगरी व्यक्तिको जीवनका घटनाहरूलाई समयानुसार क्रमबद्ध रूपमा प्रस्तुत गरिन्छ, जसले जीवनयात्राको स्पष्ट समयरेखा प्रदान गर्ने २. कालानुक्रमिक र घटनाहरूलाई विषयगत आधारमा वर्गीकृत गरिन्छ, जस्तै बाल्यकाल, शिक्षा, पेशागत विकास, पारिवारिक जीवन, वा सांस्कृतिक प्रभावहरू हुनेविषयगत संरचना सिद्धान्त रहेको हुन्छ।जीवनी साहित्यले सम्बन्धित व्यक्तित्वको सामाजिक परिवेश, भौगोलिक परिवेशदेखि लिएर तत्कालीन राजनिती, आर्थिक अवस्था, सामाजिक चेतना आदिसबै कुराको जानकारी पाइन्छ।

जीवनी लेखनका केही विशेषताहरूमा प्रमाणहरूको प्रयोग, साहित्यिक समालोचनाको प्रयोग, निजी र सार्वजनिक जीवनबीचको सम्बन्ध, मानवीय र भावनात्मक पक्ष आदि पाइन्छ।भिक्टर प्रधानले नेपाली जीवनी र आत्मकथाको सैद्धान्तिक तथा ऐतिहासिक विवेचना नामक पुस्तक लेखेर वि. सं. २०४४ मा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले प्रकाशित गरेपछि नेपाली जीवनी साहित्यबारे सैद्धान्तिक अध्ययन शुरूआत भएको मान्न सकिन्छ। लेखन शिल्प नाम पुस्तकमा डा. डा रमेश शुभेच्छु पनि रत्न बृहत नेपाली समालोचना नाम ग्रन्थमा जीवनीको सैद्धान्तिक स्वरूप शीर्षकको एउटा आलेखमा जीवनीको सैदाऩ्तिक स्वरूपका विभिन्न पक्षबारे प्रकाश पारेका छन्।डा.देवी नेपालले पनि आफ्नो लेखन शैली नामक पुस्तकको एउटा अध्ययामा जीवनी साहित्यबारे संक्षिप्तमा भए पनि सैद्धान्तिक रूपरेखा केलाएका छन्।

३. जीवनीको संरचनाका सिद्धान्तहरू–
जीवनी साहित्यलाई आख्यानेतर गद्यविधा अन्तर्गत निबन्धविधाको एउटा उपविधाका रूपमा मानिन्छ। जीवनी साहित्यले विशिष्ट व्यक्तित्व वा विभूतिहरूको जीवनवृत्त, उसको सामाजिक साहित्यिक ऐतिहासिक कार्यहरू, कृतित्व व्यक्तित्व, स्वभाव आदिको लेखाजोखा गरिएको हुन्छ। जीवनी साहित्यमाएउटा सफल जीवनीमा आकर्षक प्रारम्भ (परिचय), तार्किक संरचना र खण्डविन्यास, विषयको गहिरो विकासजस्तासंरचनाका सिद्धान्तहरू पाइन्छ।(साभार-www.wikipaedia.com)

जीवनी लेखनलाई पनि निर्देशित र अनिर्देशित गरी दुईवटा वर्गीकरण गरिएको छ। यदि कुनै प्रयोजनका निम्ति कुनै महापुरूषको जीवनी लेखन निर्देशित हो। कुनै महापुरूष वा कुनै स्रष्टाको बारेमा स्वतन्त्र र साहित्यिक लेखन जीवनी हो। जीवनी लेखनमा इतिहास, जीवनीको आख्यानिकरण, कल्पना र यथार्थको मिश्रण आदि कुराहरू पाइन्छन्। यसमा लेखकीय इमानदारी, संयम तटस्थता र वस्तुगतता जस्ता लेखकीय गुणहरू हुन पनि आवश्यक हुन्छ। (देवी नेपाल, लेखन शिल्प, पृष्ठ २५१)

४. नेपाली साहित्यमा जीवनी-
नेपाली साहित्यमा धेरै जीवनीमूलक पुस्तकहरू प्रकाशित छन्। तीमध्ये कोही सामान्य परिचयपरक छन् भने कुनै गहन अध्ययनबाट सिर्जित केही थोर पुस्तकहरू छन्। जीवनीमूलक पुस्तकले नै सामाजिक आर्थिक राजनैतिक आदि सबै कुराको ऐतिहासित तथ्य प्रस्तुत गर्दछ, इतिहास लेखनको स्रोत बन्न सक्दछ। जीवनी पुस्तकले धेरै इतिहास बताउँदछन्, ज्ञानको स्रोत खुलाउँदछन्। प्रत्येक सफल व्यक्तिको जीवनमा धेरै उतार-चढाउ, अनुभव, समयको एउटा लामो अन्तराल र त्यसभित्रका घटनाक्रम, जीवनचक्र, राजनैतिक-सामाजिक परिस्थिति, परिवेश आदि समेटिएको हुन्छ।

नेपाली जीवनी साहित्यको शुरूआत सम्भवतः रामशाहको जीवनीबाट भएको मानिन्छ। यसपछि नेपाली साहित्यको लामो परम्परा रहेको छ।यसपछि धेरैका जीवनीका पुस्तकहरू प्रकाशित भए। यस लेखमा यी जम्मैका नामोल्लेख गरिएन। केही जीवनीकारहरूमा मोतीराम भट्ट, नरदेव पाण्डे, पारसमणि प्रधान, सूर्यविक्रम ज्ञवाली, इन्द्र सुन्दास, लैनसिंह बाङ्देल, राजनारायण प्रधान, जगत छेत्री, नरेन्द्रराज प्रसाईँ, जीवन लाबर, बासु रिमाल यात्री, तारानाथ शर्मा, शारदाप्रसाद घिमिरे, लोकेशचन्दर प्रधान, जी छिरिङ, घटराज भट्टराई, रामशरण दर्नाल, कुमारधर शर्मा, महानन्द पौड्याल आदि मुख्य जीवनीकार हुन्।

५. गोविन्द गिरी प्रेरणाको सुश्री पारिजात- पुस्तकको समीक्षा -
यसै क्रममा गोबिन्द गिरी प्रेरणाले सुश्री पारिजात पुस्तक प्रकाशित गरेर नेपाली जीवनी साहित्यको एउटा माइलखुट्टी स्थापना गरेका छन्। यतिको गहकिलो जीवनी पुस्तक नेपाली साहित्यमा विरलै पाइन्छ। यस पुस्तकको कलेवर, आवरण, आयाम र यसको छपाइको गुणवत्ता हेर्दा यो पुस्तकको महत्त्व बुझ्न सकिन्छ। यसमा जम्मा चारसय अट्ठाइस पृष्ठहरू रहेका छन्। यस पुस्तकमा पारिजातको विस्तृत जीवनी, उनको कृतित्वको विस्तृत अध्ययन, पारिजातका फोटो अल्बम, परिशिष्ट, अनुक्रमणिका आदि सबै छन्। यस पुस्तक तयार पार्दा लेखकले ५३ वटा सन्दर्भ पुस्तक, ७ वटा पारिजातसम्बन्धित स्मृति ग्रन्थ र पत्रिका विशेषाङ्क, विभिन्न साहित्यक पत्रिकाहरूमा प्रकाशित पारिजातसम्बन्धित ३२ वटा, दैनिक अखबारहरूमा प्रकाशित पारिजातका ७० वटा लेखहरू तथा पारिजात विषयक ५४ जना साहित्यकार र अन्य व्यक्तिहरूसित अन्तर्वार्ता लिएको सूची पाइन्छ। यसर्थ, यस पुस्तक सामान्य जीवनी पुस्तक मात्र नभई एउटा लामो परिश्रम, मेहनत र गहन अध्ययनबाट सिर्जिएको सिर्जनात्मक अनुपम जीवनी पुस्तक हो।

पुस्तकको विषयसूची र अध्याय विभाजन र शीर्षक हेर्दा मात्र पनि पारिजातको व्यक्तित्व र कृतित्वबारे साङ्केतिक रूपमा केही जानकारी पाइन्छ। यसमा प्रयुक्त विषयसूची र अध्याय विभाजन गर्दा राखिएका शीर्षक र उपशीर्षक यस प्रकारको छ-

मूल शीर्षक दार्जिलिङ : छेकुडोल्मादेखि विष्णुकुमारी वाइबा- पुर्ख्यौली र बाल्यकाल, पढाइको शुरूवात, पहिलो कविता, स्कुलमै विद्रोह, पुस्तकमा मन, चुरोटको लत, पहिलो प्रेम, रोगको शुरूवात्, शिवकुमारको मृत्यु, केएस सुब्बाको नेपाल प्रस्थान। काठमाडौंका सुरूआती दिन भन्ने शीर्षकका उपशीर्षकहरू हुन्- आगमन, कवितामय पारिजात, आकांक्षा प्रकाशन, साहित्यिक समारोह र जमघट, रोदीमा मन, प्रेमीको बिहे निम्तो प्रसङ्ग बिहेको। जीवन सङ्घर्ष र पराश्रयबाट स्वआश्रयतिर शीर्षकमा रहेका उपशीर्षकहरू हुन्- आर्थिक सङ्कटका दिन, मदन मेमोरियलकी वाइबा मिस, शिरीषको फूल, शङ्कर लामिछाने र मदन पुरस्कार, उपन्यास लेखन र अभ्यासकालीन असफल उपन्यास, शिरीषको फूल, शिरीषको फूलको दुर्भाग्य स्रष्टाद्वारै बहिष्कार, ब्लू मिमोसा अर्थात् शिरीषको फूल, शिरीषको फूलको विश्वयात्रा, पारिजात-शङ्कर सम्बन्ध। राल्फा युग र पारिजात मूलशीर्षकअन्तर्गत रहेका उपशीर्षकहरू हुन्- राल्फाको जन्म, अन्तर्वार्ता काण्ड, भूपीसँग सम्बन्ध, छेकुडोल्माको जन्मकथा र पारिजात, पारिजात र विमल राल्फा, महत्ताहीन राल्फाली उपन्यास, क्रुसिफिकेसन नछापिएको र विमृत पुस्तक, डेरा एउटा साहित्यिक चौतारी।

कथायात्रा शीर्षकभित्र रहेका उपशीर्षकहरू- निरन्तर कथालेखन, पारिजातका थप उपन्यास, अस्वीकारको ठक्कर र बैंसको मान्छे, विद्वतवृत्ति, तोरीबारी बाटा र सपनाहरू तथा अन्तर्मुखी। आरोप शीर्षकभित्र रहेका उपशीर्षकहरू हुन- जीवन २०२९ साल, आरोप, पारिजातको स्पष्टीकरण, चारीको आरोप, उपचार। प्रगतिवादी लेखन शीर्षकभित्रका उपशीर्षकहरू- उसले रोजेको बाटोको जन्मकथा, पर्खालभित्र र बाहिर, अनिदो पहाड़सँगै, बोनी विधागत अलमलमा परेको कथोपन्यास, परिभाषित आँखाहरूबारे पनि चर्चा गरिएको छ।

पारिजात र राजनीति शीर्षकभित्र रहेका उपशीर्षकहरू राजनीतिमा प्रवेश, राजनीतुक पूर्वाग्रह र पारिजात, राजनीतिक पार्टीप्रति वितृष्णा, सुकन्याको बिहे, डेराहरूको यात्रा, पुरस्कार र सम्मान। सम्पादन, अनुवाद र स्तम्भलेखन शीर्षकभित्र- स्तम्भलेखन, उत्साहको सम्पादक मण्डलमा, चिठीपत्र, अनुवाद कर्म। आनीबानी शीर्षकभित्र रहेका उपशीर्षकहरू हुन्- चुरोट रक्सी प्रेम यौन र पारिजात, अध्ययन शैली, महिलाका पक्षमा, दशैंतिहारका बेला, हिरो वर्सिप परिकल्पना, छद्मनामहरू, गालीगलौच तथा बदनामीको भुमरी, धार्मिक आस्था, स्वाभिमानमा अडिग, जीवनका सुख-दुःख, पारिजात पनि रून्थिन्, रूचि गीत-सङ्गीतमा पनि, रङ्गमञ्च र नाट्यलेखन, लोकप्रियता र हठ, चलचित्र निर्माणमा, अधुरो सपना, पारिजात, महाकवि देवकोटा र गोपालप्रसाद रिमाल।

पारिजातको साहित्यिक दृष्टि शीर्षक अन्तर्गतका उपशीर्षकहरू हुन्- आलोचकीय दृष्टि, पारिजात र आयामेली त्रिमूर्ति, पारिजात र भूमिका लेखन, कवितामा विश्राम र पुनरागमन, विविध परिवेश, जहाँ पारिजात त्यहाँ साहित्यिक जमघट, २०४६ जनान्दोलन र पारिजात, सहभागिता, पारिजात नेतृत्वमा प्राज्ञिक सङ्घर्ष समिति, सातीसँगाती संसार। विविध संलग्नता शीर्षकभित्र रहेका उपशीर्षकहरू हुन्- प्रथम महिला पुस्तक प्रदर्शनी, प्रलेसमा साइलक काण्ड, साहित्य सन्ध्यामा संलग्नता, प्रतिभा प्रवाहमा, संस्थागत संलग्नता र लेखनबाट विमुख, प्रकाशकहरू, दृश्य-अदृश्य सहयोगीहरू, कसरी अपराजिता ? पारिजात, सुकन्या र चूड़ामणि। अन्तिम शीर्षक रहेको चिरनिन्द्रामा–भित्र ती अन्तिम दिन, पासपोर्टमा हस्ताक्षर होइन ल्याप्चे, मृत्युशय्यामा आनन्ददेवको भाषण, विश्राममा, अन्तिम इच्छाहरू, मृत्युपछि। ग्रन्थको अन्तमा सन्दर्भसूची, आभार, अनुक्रमणिका र तस्वीर पनि राखिएका छन्।

६. सुश्री पारिजात पुस्तकको विशेषताको रेखाङ्कन -
माथिका शीर्षक र उपशीर्षक हेरे मात्र पनि पुस्तकको गरिमा, महत्त्व, क्षेत्र, विषयवस्तु, जीवनगत क्रमिकता, पुस्तककीय व्यापकता, आलोचनाकीयता आदि परिलक्षित हुन्छ। यस पुस्तकलाई मूलतः दुईवटा पक्षबाट अध्ययन गर्न सकिन्छ- क. पारिजातको विस्तृत जीवनी र व्यक्तित्वको विस्तृत विवरण, ख. पारिजातको कृतित्वको समीक्षा।

क. पारिजातको विस्तृत जीवनी र व्यक्तित्वको विस्तृत विवरण-
नेपाली जीवनी साहित्य र व्यक्तित्वका बारेमा धेरै विस्तृत अध्ययन, मनन गरेर बडो लगनशील दीर्घ साधनाबाट तयार पारिएको छ। धेरै पुस्तक र लेखादिबाट अध्ययन गरेर यो ग्रन्थ तयार पारिएको छ। एकेक चोयाबाट बुन्दै बुन्दै एउटा सुन्दर थुन्से तयार पारेजस्तै विभिन्न लेखादिका आधार र आफ्नो सिर्जनात्मक शिल्पले खिपेर यो विशालकाय ग्रन्थ तयार पारेका छन्। यस पुस्तकमा गहन अनुसन्धान,सर्वेक्षण, सिर्जनशीलता र समीक्षकीय दृष्टिकोण सबै पाइन्छन्। यसमा उपर्युल्लिख तेह्रवटा मूल शीर्षक र तिनका पनि जम्मा अन्ठानब्बेवटा उपशीर्षक दिएर जीवनीकथा प्रस्तुत गरिएको छ। यसका शीर्षक र उपशीर्षकहरू हेरे मात्र पनि जीवनीमा आख्यानगत क्रमविस्तार र तथ्यात्मक पक्षहरू बुझ्न सकिन्छ।जीवनीको पुस्तक पढ्दा पाठकलाई रोचक लाग्छ नै, त्यसमा पनि पारिजातको तिलस्मी जीवनीलाई जादूमय शैलीमा गहन अध्ययन अनुसन्धान गरेर तयार पार्दा पाठकका निम्ति औधी रोचक र सुपाठ्य बनेको छ।

यसमा परिजातको पुर्ख्यौली नेपालको संखुवासभाको चैनपुरअन्तर्गत उखुवा गाउँबाट धनमान लामा दार्जिलिङ गएको र यहाँ आएर सिङ्ताम भन्ने ठाउँमा बसेको तथा छोरा कालूसिंह पढाएर डाक्टर बनाएको रोचक प्रसङ्ग उल्लेख छ। दार्जिलिङछेउको सिङताममा अहिले पनि धनमानधुरा छ भन्ने जानकारी दिइएको छ। कालूसिंहले डाक्टर भएर दार्जिलिङदेखि केही तल लिङ्गिया चियाकमानमा डाक्टरी काम गरेका बेला त्यहीँ आमा अमृतको कोखबाट पारिजातको जन्म भएको देखि लिएर पारिजातको जीवनका विभिन्न उतार-चड़ाव, साहित्यिक संलग्नता, लेखन, साथी संगाती, आनीबानी सबैको र मृत्युसम्म विस्तृत विवरण गरिएको छ।पारिजातमा सामान्य मानवीय गुण थिए। उनीभित्र विद्रोह चेतना, तार्किक मनोभाव, हक्कीपन, निर्भीकता, सम्झौता नगर्ने स्वभाव आदिले युक्त नै थिइन्। उनी पनि कहिलेकाँही विवादमा मुछिने चर्को बोली भएकी, चुरोट र मद्यपान गर्ने सामान्य महिला थिइन्। यद्यपि उनको लेखनको शक्ति, अभिव्यक्तिगत कौशलता आदिले सबै कमजोरी उछिनेर एक सशक्त लेखक पारिजात बनाएको हो भन्न सकिन्छ।

ख. पारिजातको कृतित्वको समीक्षा¬¬
यस ग्रन्थमा पारिजातका कृतित्व पक्षबारे पनि समीक्षकीय अध्ययन गरिएको छ। त्यसममा पनि उनका दसैवटा उपन्यासमाथि एक झलक दृष्टि दिइएको छ। उनको शिरीषको फूल उपन्यासको भने सिर्जनाको पृष्ठभूमि, भूमिका लेखन, प्रकाशनदेखि लिएर त्यसभित्रका पात्र-पात्रा र कथाका बारेमा अरू समालोचकहरू टिप्पणीसहित समीक्षा गरिएको छ। यसपछि बैंशको मान्छे, तोरीबारी बाटा र सपनाहरू, परिभाषित आँखाहरू आदि जस्ता उपन्यासहरूको सामान्य समीक्षा गरिएको छ। पारिजातकोकथाकारितामाथि पनि चर्चा गरिएको छ।
यो पुस्तक पारिजातको जीवनीमूलक हुनाले यसमा केही सीमा रहेका छन्। यस पुस्तकमा यता दार्जिलिङ-सिक्किमतिर पारिजातबारे अध्ययन भएको उल्लेख पाइन्न। यद्यपि थप जानकारी के गराइन्छ भने यता दार्जिलिङतिर पनि पारिजातसम्बन्धि केही प्राज्ञिक काम भएका छन्। पुस्तकमा विन्द्या सुब्बा र माया ठटालको उल्लेख पाइन्छ। भारतको सिलगड़ीमा पारिजातको प्रतिमा र पारिजात पब्लिक स्कुल, दार्जिलिङको लिङ्गिया कमानछेउ मारेबुङमा पारिजात स्मृति भवनलगायत अन्य काम पनि भएका छन्। सिलगड़ीका जितेन पालले पारिजातको ‘वधशाला आउँदा जाँदा’ कथासङ्ग्रहको बाङ्ला अनुवाद पनि प्रकाशित गरेका छन्। धेरै पत्रिकाहरूमा फुटकर रूपमा भए पनि पारिजातबारे समीक्षा गरिएका लेखादि पाइन्छन्। उनका कृतिहरू यहाँको उच्च अध्ययनका पाठ्यक्रममा समावेश छन्।

७. सुश्री पारिजात पुस्तकको जीवनीको विशेषता-
जीवनी साहित्यको सैद्धान्तिक अध्ययन गर्ने केही नेपाली समालोचकहरू जस्ता भिक्टर प्रधान, डा रमेश शुभेच्छु, डा देवी नेपाल तथा अङ्ग्रेजी साहित्यकोशहरूमा चर्चा गरिएका छन्। यी सबैका अध्ययनका आधारबाट सुश्री पारिजात पुस्तकलाई जीवनीपरक विशेषताहरू निर्क्योल गर्न सकिन्छ।

७.१. इतिहास र साहित्यको मिश्रण-
यस ग्रन्थमा साहित्य र इतिहालसको सफल मिश्रण भएको छ। पारिजातको बाल्यकालदेखि मृत्युकालसम्मको अवधिमा दार्जिलिङ, नेपाल र विश्वकै सामाजिक, राजनैतिक परिवेशको अङ्कन गरी साहित्यिक रसाश्रित इतिहासको पनि रेखाङ्कन गरिएको छ। पारिजातको बाल्यकाल र किशोरीकालसम्मको अवधिमा दार्जिलिङकोको सामाजिक भौगोलिक पारिवारिक वातावरणको वर्णन गरिएको पाइन्छ। त्यसपछि काठमाडौं गएपछि त्यहाँका विभिन्न पक्षहरूको वर्णन गर्दा परोक्ष र प्रत्यक्ष नेपालको इतिहास पनि स्वतः झल्किएको छ। नेपालमा राजनैतिक परिवेश कस्तो थियो, पञ्चायती व्यवस्था कस्तो थियो, त्यहाँ कसरी बामपन्थी चिन्तन र चिन्तकहरूको राजनैतिक गतिविधिहरूको वृद्धि हुँदैथियो भन्ने कुराहरूको लेखाजोखा पाइन्छ।

७.२. जीवनीमा आख्यानीकरण-
सुश्री पारिजात जीवनी पुस्तक पढ्दा पाठकलाई रोचक कथानक भएको उपन्यास पढेजस्तो लाग्छ। यसमा विभिन्न लिखित सामाग्रीको स्रोतहरूलाई आधार लिएर एउटी नारीलाई चरित्रनायिकाका रूपमा उतारेर तिनको जीवनकालको सूक्ष्म आख्यानीकर गरिएको छ। पारिजातको जन्म, बाल्यकाल, किशोरकाल, प्रेमप्रसङ्ग, साथीसंगाती, स्वभाव, राजनैतिक गतिविधि, सामाजिक साहित्यिक यात्रा हुँदै जागिरको क्रम, जीवनको उत्तरार्द्धका विभिन्न वस्तु, उनको परिवार आदि सबैलाई क्रमशः घटनाक्रममा रूपमा जोड्दै लगेर कथावस्तु बुनिएको छ। यसो हुँदा पाठकले जीवनीको आख्यानीकरण गरिएको आभास पाउँछन्।

७.३. वास्तविक जीवन र घटनाको समानुपातिक प्रस्तुतिकरण-
पारिजातको यस जीवनी पुस्तकमा उनको जन्म र मृत्युका बीच जे जति घटनाक्रम वर्णित छन् तिनमा वर्णनगत सन्तुलित छ। पारिजातको बाल्यकाल युवाकाल र पछिल्लो बुढेसकालसम्मको विवरणमा कतै पनि कम्ती बेसीको वर्णन छैन।

७.४. लेखकीय इमानदारी, संयम, तटस्थता, वस्तुगतता र निष्पक्षता
गोविन्द गिरी प्रेरणाको सुश्री पारिजात जीवनी पुस्तकमा लेखकीय इमानदारी अपनाएका छन्। यसमा लेखक पारिजातबारे कुनै पूर्वाग्रह नराखी पूर्णरूपले तटस्थता, निष्पक्षता, वस्तुनिष्ठता, लेखकीय संयम लिएका छन्। उनका हरेक पक्षहरूको खोजी निकाल्न धेरैवटा पुस्तक र लेखादि, पारिजातका घनिष्ठहरूसित लिएको अन्तर्वार्ता आधिका आधारमा पारिजातका सबल र दुर्बल पक्ष सबैको उल्लेख गरेका छन्। उनको चुरोट पिउने बानी, व्यक्तिगत स्वभाव, व्यक्ति र व्यक्तित्व, विवाद पक्ष सबैबारे तटस्थ भएर सत्यता, तथ्यात्कता, आभ्यान्तरिक कुराहरूको अध्ययन गरिएको छ।

८. मूल्याङ्कन र उपसंहार-
यस पुस्तकको ध्येय पारिजातको जीवनी, व्यक्तित्व, कृतित्त्वको सम्यक् मूल्याङ्कन गर्नु हो। यो पुस्तक पढेपछि पारिजातबारे जानकारी भएकालाई अझ धेरै रोचक बन्न सक्छ भने पारिजातबारेनसुनेका नबुझेका पाठकका निम्ति भने झन रोचक, आश्चर्यजनक लाग्दछ। यसमा तथ्यहरूको भण्डार छ, पारिजातको इतिवृत्त छ, उनका सबल र दुर्बल पक्ष दुवै केलाइएको छ। पारिजातका वाद विवाद, उग्रता, हठधर्मिता आदिका कारण उनी कहिले विवादको कारण पनि बनिएको उल्लेख पाइन्छ। यसै गरी पारिजातका घनिष्ठ साथीसँगातीहरूको बारेमा पनि चर्चा गरिएको छ। जसमा माया ठटाल, दया सिंह, बार्बरा निम्री अजिज, विन्द्या सुब्बा, सत्यभामा, कुन्द टण्डन र ललिजन रावलका पारिजातसित मित्रता र घनिष्ठताबारे उपशीर्षक दिए लेखिएको छ। यसमा यी सातजनाको संस्मरण र अन्तर्वार्ता आदिको आधार लिएर सामाग्री तयार पारिएको छ।

सिक्किमको निर्माण प्रकाशनले पारिजातका सम्पूर्ण कृतिहरूको चार शृङ्खलामा प्रकाशित गरेर नेपाली साहित्य जगत र पारिजातप्रेमीहरूलाई ठुलो गुन लाएको छ। ठिक यस्तै पारिजातका बारेमा यति इतिवृत्त र मिहिन रूपमा जीवनी लेखिदिएर गोविन्द गिरी प्रेरणाले नेपाली साहित्यप्रेमी र पारिजातप्रेमी नेपाली पाठकहरूले ठुलो गुण लाएका छन्। धेरै पुस्तक, पत्र-पत्रिका र सम्बन्धित व्यक्तिहरूबाट तथ्य सङ्कलन गरेर यत्रो विशालकायको पुस्तक प्रकाशित गर्नु भनेको नेपाली जीवनी साहित्यको सबैभन्दा ठुलो उपलब्धि मान्न सकिन्छ। अतः गोविन्द गिरी प्रेरणाको सुश्री पारिजात नेपाली जीवनी साहित्यको एउटा अनुपम कृति हो, यो प्रत्येक नेपालीको घरका निम्ति सङ्ग्रहनीय छ।
सन्दर्भ पुस्तक-
१. गोविन्द गिरी प्रेरणा,सुश्री पारिजात, काठमाडौं, फाइनप्रिन्ट, २०७९।
२. भिक्टर प्रधान, नेपाली जीवनी र आत्मकथाको सैद्धान्तिक तथा ऐतिहासिक विवेचना, काठ. नेराप्रप्र, २०४४।
३. सम्पा. राजेन्द्र सुवेदी र डा लक्ष्मणप्रसाद गौतम, रत्न वृहत नेपाली समालोचना (भाग ३), काठमाडौ, रत्न पुस्तक भण्डार, वि. सं. २०७९)
४. डा देवी नेपाल, लेखन शिल्प, काठमाडौं, ऐरावती प्रकाशन, २०७८।
५. www.wikipaedia.com

कालिम्पोङ, भारत

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।