कसरी भन्नु कि यस ठाउँमा
मानिसहरू थिएनन्
कि त रुख, जीव-जन्तु अथवा नदी
एउटा भयङ्कर विष्फोटपछि
टुक्रा टुक्रा भएर झरे माटो र मानिस
सन्त्रस्त थियो समय
जहाँ अचानक अस्तव्यस्त भएका थिए
पैतालाहरू डरले
नदीहरू रोकिएका थिए
किनकी त्यहाँ जीवन थिएन
रोइरहेका थिए माछाहरू
किनकी त्यहाँ भाषा थिएन
एक्लै झुण्डिरहेको थियो आकाश
किनकी त्यहाँ नीलोपन थिएन
निहुरिएका थिए रुखहरू
किनकी त्यहाँ हरियाली थिएन
प्रकृतिले गुमाइसकेको थियो
आफ्नो रङ्गीन चित्ररुप
लोभ र क्षमताको बटनमा
अहङ्कारको एउटा हल्का स्पर्शले
खरानी भयो मानवीय सभ्यता
यसरी आत्महत्या गर्न बाध्य भयो
सृष्टिको सुदीर्घ इतिहासले
खरानीमाथि उभिएको त्यो मौनताभित्र
सुनिएन कुनै विजयको हर्षोल्लास
न त पराजयको अनन्त विलाप
फगत भित्रभित्रै हुर्किएको
मात्र गहिरो शून्यताको हाहाकार
त्यसरी फेरि अनुवाद भए ध्वंशमा
अस्तित्वका सुकिला सपनाहरू
यसबेला राखमाथि बजिरहेको छ
मृत्युको शोकगीत।
तेजपुर, असम (भारत)