चरम दुःखबाट सुख
एक यहुदी रबाईसित एकजना गरीब मानिस आएर भन्यो कि मैले धेरै दुःख पाइसकेँ अब मलाई मृत्युको आशिरवाद दिनुहोस् । अब मलाई सम्झाउने काम नगर्नुस् । म धेरैचोटि पहिले पनि आँए, तपाईले पटक–पटक सम्झाइ–बुझाइ गरेर फिर्ता पठाउनु भयो । अब त्यसरी हुँदैन । अब मलाई बाँच्न मन छैन । यसरी जिउनु नरकतुल्य छ ।
यसो सोच्नुस्त, उसले भन्यो– “एउटा सानो कोठो छ दसबाई दसको । पानी पनि चुहुन्छ त्यसमा । त्यसमै बस्छु म, मेरी पत्नी पनि त्यहीँ रहन्छिन् । मेरा बालबच्चा पनि त्यहीँ रहन्छन् । त्यसैमा मेरी सासु बस्छिन् । त्यसैमा मेरा ससुरा बस्छन् । त्यसैमा मेरी आमा, त्यसैमा मेरा बा । हँुदैन अब यसरी हुँदैन । जीवनमा बहुत काष्टी काटिँसकेँ । यो त हद भयो । यो जीवन महानरकतुल्य छ । हिँड्न डुल्न पनि ठाउँ छैन । सबैजना एक अर्कामा क्रोध र चिड्चिडाहटले भरिएका छन् । मानिसलाई थोरै एकान्त पनि चाहिने हो । अब मेरो कुनै सामथ्र्य छैन कि कुनै फराकिलो नयाँ घर किन्नको लागि, या यो ठाउँ छोडेर काहीँ जान सकियोस् । त्यसैले मलाई मर्नको लागि आज्ञा दिनुहोस् ।”
त्यस बूढो रबाईले भन्यो–“एउटा कुरा योचोटि तिमीलाई रोक्दिन । खाली सातदिन अरु पर्खिदेऊ । तिम्रो साथमा कति जनावरहरू छन् ?” उसले भन्यो –“एउटा कुकुर छ । छ ओटा बाख्राहरू छन् । बाह्रओटा भेडा छन् । एउटा गार्ई छ । एउटा बाछो छ ।”
रबाईले भन्यो –“त्यसो भए तिमी यसो गर । यी सबै जनावरलाई कोठा भित्रै हुल ।”
उसले प्रतिवाद जनायो–“तपाई पागल हुनु भएको छ । दिमाग खराब भएको छ । हामी त्यसै त मरिरहेका छौँ, यी जनावरलाई पनि त्यही चेपारो कोठाभित्र हुल्नु ? उभिने ठाउँ पनि हुँदैन त ?”
त्यस रबाईले भन्यो–“सिर्फ सात दिनको मामला न हो । फेरि त तिमी मर्न पाइहाल्छौ । यति कुरा त मानिदेऊ । म बूढो मानिस । सधैँभरि मैले भनेको मान्यौ । मर्ने बखतमा अस्वीकार नगर ।” उसले भन्यो–“यो त हद भयो । तपाई फेरि सोच्नुहोस्, के भनिरहनु भएको छ ? म यो कुरा कल्पना गर्दा पनि हड्बडाउँछु । सात दिनसम्म जीवित रहिँदैन, मर्नुको कुरा त अलग्गै छ । मर्ने को ? सबैजना त मरि नै जान्छन् । केही फिकर छैन, जब मर्ने नै हो भने यसको पनि के फिकर ?”
रबाईले जिद्दी ग¥यो । गरीब यहुदीले केही सोच्न सकेन । घर फक्र्याे । घरका मानिसहरूसित भन्यो –“रबाईले भने पछि त्यो कुरा मान्नैप¥यो ।”
घरका मानिसहरूले कराउँदै भने–“यो त हद भयो । त्यसै त यो चेपारो कोठामा मर्न लागेका छौँ, अनि यहीँ भेडा, बाख्रा, कुकुर, गाई । तिम्रो दिमाग त ठीक छ ?” उनीहरू दौडेर रबाई भए ठाउँमा गए र उसलाई सोधे ।
रबाईले भन्यो–“हो मैले त्यसै भनेको हुँ । यो काम गर्न दिनुस् ।” रबाईले यति भनेपछि उनीहरू त्यो कुरा मान्नै प¥यो ।
सबै जनावरहरूलाई भित्रै हुलियो । ती सात दिन महानर्कका दिन थिए । नर्क पनि फिक्का फिक्का बन्यो । सात दिनपछि त्यो मानिस रबाई सामु आयो ।
रबाईले भन्यो–“अब मर्नुभन्दा अगाडि ती सबै जनावरलाई घरदेखि बाहिर निकाल ।”
ऊ घर गएर जनावरहरूलाई कोठाबाट बाहिर निकाल्यो । रबाईले दुईतीन दिन प्रतिक्षा ग¥यो । ऊ फर्केर आएन । रबाई आफैँ उसको घर गयो र सोध्यो–“कुरा के भयो ? अब मर्ने होइन ?”
उसले भन्यो–“अरे, छोड्दिनुस् मर्ने कुरो । म जीवनको यस्तो आनन्द भोगिरहेको छु । यस्तो आनन्द कहिल्यै जानेकै थिइन । अनि घरमा यस्तो प्रेमभाव पैदा भएको छ । हामी सबै एक अर्कामा यति घनिष्ट बनेका छाँै । चेपारो कोठा पनि फराक फराक लागेको छ । कोठा त्यही हो तर पनि जग्गा फराकिलो बनेको छ । जीवनप्रति बडा रस पैदा भएको छ । अब को मर्ने कुरा गर्छ ? तपाईको ठूलो कृपा । यदि फेरि कहिल्यै मर्ने विचार आयो भने यही नै ईलाज फेरि पनि बताइ दिनु होला ।
जिन्दगी यस्तै छ । यहाँ विपरितबाट जीवनको सच्चा अनूभूति मिल्छ । यहाँ चरम दुःखले पनि जीवनलाई एउटा दिशा दिन्छ । यहाँ नर्कले पनि स्वर्गतर्फको बाटो देखाउँछ ।
(समष्टि से आलिङ्गन है धर्मबाट )
फलेषु कदाचन
मैले सुनेको छु कि चीनमा एकजना सम्राटले आफ्नो मुख्यमन्त्रीलाई फाँसीको सजाय दिए । ऊदेखि राजा कुनै कुरामा नाराज बनेका थिए । तर राज्यको नियम थियो कि फाँसी हुनु एकदिन अगाडि राजा फाँसीमा लट्किने कैदीसित भेट गर्थे र उसको आखिरी आकाँक्षा पूरा गरिदिन्थे । आखिरी आकाँक्षा जीवन बचाँउने चाहिँ हुन्नथ्यो । जीवनको भिक्षा माग्ने कुरामा चाहिँ बन्देज गरिएको थियो ।
सम्राट जेलमा पुग्यो । त्यस मन्त्रीको बिहान सबेरै फाँसी हुनेवाला थियो । साँझमा गएर सम्राटले सोध्यो–“तिम्रो ईच्छा के छ ? पूरा गरिदिन्छु । किनकि भोलि तिम्रो आखिरी दिन हो ।”
मन्त्री एकसुरले ढोकाबाट बाहिर हेर्दै रुन थाल्यो ।
सम्राटले भने–“तिमी पनि रुने ? यो कुरा म कहिल्यै पनि कल्पना गर्न सक्तिन । तिम्रा आँखा पनि यसरी आँसुले भरिन्छन् ?”
बहुत बहादुर मानिस थियो । ऊदेखि सम्राट जति नै किन बेखुसी होस् । उसको बहादुरीप्रति उसलाई रत्तिभर शङ्का थिएन । तिमी पनि रुने हो । के मृत्यु देखि डर लाग्यो ?
मन्त्रीले भन्यो–“मृत्यु ! मृत्युदेखि रोएको होइन । रोएको हुँ अर्कै कुराबाट ।”
सम्राटले सोध्यो–“भन, म तिम्रो ईच्छा पूरा गरिदिन्छु ।”
मन्त्रीले भन्यो–“हुदैन । त्यो पूरा हुन सक्तैन । त्यसैले जानदिनुस् ।” सम्राटले जिद्दी गर्न थाल्यो–“किन हुन सक्तैन ? तिम्रो आखिरी ईच्छा मैले पूरा गर्नु नै छ ।”
त्यसपछि त्यस मन्त्रीले भन्यो –“मान्नु हुन्न भने सुन्नुस्, कि तपाई जुन घोडामा चढेर आउनु भयो, त्यसलाई देखेर म रोएको हुँ ।”
सम्राटले भन्यो–“पागल भएका छौ ? यस घोडालाई देखेर रुनुपर्ने कारण के छ ?”
मन्त्रीले भन्यो–“मैले एक कला सिकेको थिएँ कि घोडालाई आकाशमा उड्न सिकाउन कला । तर एक विशेष जातिको घोडालाई मात्र । त्यस खालको घोडा खोजी रहेँ तर भेटिएन । र भोलि बिहानै म मर्न गैरहेको छु । अहिले सामुन्नेमा जुन घोडा खडा छ, यो त्यसै जातको घोडा हो जसलाई म उडाउन सक्छु । जसमा तपाई सवारी भएर आउनु भो ।”
सम्राटको मन लोभियो । आकाशमा घोडा उड्न सक्यो भने ती सम्राटको र्कीिर्तको कुनै अन्त छैन पृथ्वीभरिमा ।
उसले भन्यो–“मृत्युको फिक्री छोडिदेऊ । कति दिन लाग्छ घोडालाई आकाशमा उड्ने बनाउन ?”
मन्त्रीले जवाफ दियो –“एक वर्ष ।”
सम्राटले भन्यो–“धेरै ज्यादा समय होइन त्यो । यदि घोडा उड्न सक्यो भने त ठीक छ । अन्यथा मृत्यु एकसाल पछि हुन्छ । एक वर्षपछि पनि फाँसी हुन्छ यदि घोडा उडेन भने । यदि घोडा उड्यो भने फाँसी पनि हुन्न तिनीलाई आधाराज्य पुरस्कार पनि दिन्छु ।”
मन्त्री घोडा चढेर घर फक्र्याे । स्वास्नी छोराछोरी रोइरहेका थिए । विलाप गरिरहेका थिए । आखिरी रात थियो । मन्त्रीलाई घर फर्केको देखेर सब चकित भए ।
सोधे–“कसरी आउनु भो ?” मन्त्रीले सबै कुरा बतायो । स्वास्नी अरु जोड जोडले रुन थाली ।
उसले भनी–“तपाई पागल त भएको होइन ? किनकि मलाई राम्रो थाहा छ, तपाईसित त्यस्तो कला छँदैछैन, जसले घोडालाई उड्न सिकाओस् । व्यर्थै झुठो बोल्ने ! यदि समय माग्नै लगाइएको थियो भने माग्नलाई किन कन्जुसी गर्नुभयो ? बीस, पच्चीस तीस, बर्ष माग्न सक्नु हुन्थ्यो । एक वर्ष त त्यसै बितिहाल्छ ।
आज भन्यो भोलि भन्यो रुदाँरुँदै बित्छ ।
त्यस मन्त्रीले भन्यो–“फिक्री नगर । एक वर्ष बहुत लामो समय हो ।” सायद बुद्धिमान मान्छेको आधारभूत सूत्र उसलाई थाहा थियो । अनि भयो त्यस्तै ।
पत्नीले भनी –“ कसरी लामो हुन्छ वर्ष ? अहिले नै बितिहाल्छ ।”
मन्त्रीले सम्झायो–“जीवनको के भरोसा छ कि म यो वर्षभरि बाँच्छु भन्ने कुरा ? के भरोसा छ घोडा वर्ष दिनभरि बाँच्छ भन्ने कुरामा । के भरोसा छ राजा बाँची रहन्छन् भन्ने कुरामा ? धेरै कन्डिसन्स पूरा भएपछि वर्ष बित्छ ।” अनि भयो पनि त्यस्तै, न मन्त्री बाँच्यो, न घोडा बाँच्यो, न राजा बाँचे । त्यो वर्ष बित्नु पहिले नै तीनै चिज मरे ।
भोलिसित कुनै अपेक्षा गर्न सकिँदैन । फल सदा भोलिमै रहन्छ । फल सदा भविष्य मै रहन्छ । कर्म सदा अहिले यहीँ हुन्छ । कर्म गर्न सकिन्छ । कर्म वर्तमान हो । फल भविष्य हो । त्यसैले भविष्यको लागि आशा बाँध्नु निराशा बाँध्नु हो ।
(गीतादर्शन भाग १बाट)
(अनुवादः पुण्य कार्की)