19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

मधुमास

कविता डीग बहादुर तामाङ्ग April 4, 2026, 1:42 pm
डीग बहादुर तामाङ्ग
डीग बहादुर तामाङ्ग

वसन्तको प्रथम श्वास

वसन्ते सुगन्धित हावा बगिरहँदा,
फूलैले सजिएको भूधर सबै छ।
बिहानै चरीको मधुर चिरबिरले,
सङ्गीतै भरिएको वातावरणै छ।
युवायुवती हृदयमा प्रेम उम्लँदा,
मधुमासै फुलिरहे मनको बगैँचा।
हावाले स्पर्श गर्दा कोमल तानै,
भावनाले लेखिरहे मधुरै कथा।
डालै–डाल फुलिरहे रंगिन छायाले,
पातै–पात चम्किरहे घामका किरण।
नदीको छालमा झल्के वसन्तको रंग,
आकाशै हाँसिरहे शान्ति छरिरै।

प्रकृतिको नृत्य
वन–उपवन गन्धले भरिएको बेला,
मखमली स्पर्शले छुँदै गगनै छ।
भमरा गुन्गुनाउँदै फूल चुमिरहँदा,
प्रकृतिले प्रेमको रहस्य सुनाउँछ।
युवाको आँखामा चम्के सपनाहरू,
युवतीको ओठमा फुल्यो लजालु हासो।
हावाले ल्याइदियो कोमल सन्देशै,
हृदयमा फुलिरहे मायाका छायाहरू।
बगैँचामा नाचिरहे रंगिन पातहरू,
पथभरि छरिरहे सुगन्धका धुनै।
धरतीले ओढिरहे वसन्तको ओढनी,
आकाशले छोपिरहे उज्यालो छायाँ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।