नेपाली साहित्यमा मनप्रसाद सुब्बा एक गहिरो दार्शनिक चेतनाका कवि हुन्। उनका काव्यकृतिहरूमा प्रकृति, अस्तित्व र मानवीय संवेदनाको सूक्ष्म विश्लेषण पाइन्छ। ‘पञ्चतत्वको पालाम’ यसै परम्परामा उभिएको एक महत्वपूर्ण काव्य–रचना हो, जसले मान्छेको अस्तित्वलाई पञ्चतत्व (पृथ्वी, जल, अग्नि, वायु र आकाश) सँग गाँसेर हेर्ने प्रयास गर्छ। नेपाली काव्यधारामा मन प्रसाद सुब्बाको पञ्चतत्वको पालाम केवल एक काव्यरचना मात्र होइन, अस्तित्ववादी चिन्तन, प्रकृतिसँगको मानवीय सम्बन्ध र आत्मबोधको यात्रालाई समेट्ने दार्शनिक कृति हो।
विषयवस्तु र अवधारणा
‘पञ्चतत्वको पालाम’ मूलतः जीवन र प्रकृतिको अद्वैत सम्बन्धलाई उजागर गर्ने काव्य हो। ‘पालाम’ भन्ने शब्दले परम्परागत रूपमा लयात्मक, संवादात्मक र लोकधुनसँग जोडिएको शैलीलाई जनाउँछ। यस कृतिमा कविले मानव जीवनलाई पञ्चतत्वको संयोजनको रूपमा चित्रण गर्दै जन्म, जीवन र मृत्युको चक्रलाई दार्शनिक दृष्टिले व्याख्या गरेका छन्। पालाम मूलत किराँती मौखिक परम्परासँग सम्बन्धित गेय शैली हो, जसमा संवाद, प्रश्न-उत्तर, र लयात्मकता पाइन्छ। सुब्बाले यस परम्परागत शैलीलाई आधुनिक चेतनासँग जोडेर प्रयोग गरेका छन्। कविता केवल भावनात्मक अभिव्यक्ति नभई एक प्रकारको आध्यात्मिक खोज जस्तो देखिन्छ, जहाँ मानिस आफूलाई प्रकृतिको अंशका रूपमा पुनः चिन्ने प्रयास गर्छ। कविले पञ्चतत्वलाई केवल भौतिक तत्वका रूपमा होइन, मानव जीवनका गहिरा मनोवैज्ञानिक र आध्यात्मिक पक्षका रूपमा प्रस्तुत गरेका छन्।
शिल्प र भाषा
मनप्रसाद सुब्बाको भाषा सरल तर प्रतीकात्मक छ। पञ्चतत्वहरूलाई रूपकका रूपमा प्रयोग गर्दै उनले गहिरा दार्शनिक भावहरू व्यक्त गरेका छन्।
पृथ्वीलाई अस्तित्वको आधारको रूपमा प्रस्तुत गरेका छन् काव्यात्मक अभिव्यक्तिमा-
धरती भन्नु-
भार थाम्नु, थामिरहनु,
पर्वतहरू थाम्नु, महासागरहरू थाम्नु
तर सबभन्दा गाह्रो कुरा चाहिँ
मान्छेहरूको मनमानीलाई थाम्नु
मान्छेले लगातार गरिरहेको प्रकृतिको दोहनलाई लिएर कवि धेरै चिन्तित छन् र त्यसैको भावनात्मक प्रतिवाद हो उनको यो कविता।
जललाई प्रवाह र संवेदनशीलताको माध्यमको रूपमा हेरेका छन् कविले।
मेरो यो पातलो तरलताले पनि
थोरैलाई मात्रै भिजाउन सकेछ नि
बाहिर बाहिर लछेप्रै भिजेको देखिने ती
भित्र चाहिँ सुक्खा र चाम्रो कति हो कत्ति
अग्निलाई ऊर्जा र रूपान्तरणका रूपमा वर्णन गरेका छन्। वायुलाई स्वतन्त्रता र गतिका रूपमा अभिव्यक्त गर्दै उनले आकाशलाई अनन्तता र चेतनाका रूपमा अत्यन्त प्रभावकारी ढंगले प्रस्तुत गरेका छन्। ‘पालाम’ शैलीको प्रयोगले कृतिलाई एक प्रकारको लोकधुन र सांगीतिक लय प्रदान गरेको छ, जसले पाठकलाई केवल पढ्ने होइन, अनुभव गर्ने अवस्थासम्म पुर्याउँछ।
मेरो आकाश शिर्षकको कवितामा कवि लेख्दछन्-
म जन्मँदा
मेरा दुई चिम्म आँखामा चेपेर ल्याएको आकाश
मैले आँखा उघार्न थालेपछि
टाँगिदै गयो मास्तिर
त्यहाँदेखि पनि धेरै पर्तिर क्षितिजसम्म...
तर जति नै माथि र पर...पर...टाँगिएर बसे पनि
यो आकाश
मेरो आँखाभन्दा टाढा कहिल्यै गएन
यो कविताले मानव जीवनको प्रारम्भिक चेतना र त्यसको विस्तारलाई आकाशको माध्यमबाट अत्यन्त प्रभावकारी ढंगले प्रस्तुत गरेको छ। कविले यहाँ व्यक्तिको भित्री संसार र बाहरी ब्रह्माण्डबीचको सम्बन्धलाई रूपकात्मक तर स्पष्ट संरचनामा उभ्याएका छन्।
दार्शनिक पक्ष
यस कृतिमा पूर्वीय दर्शन—विशेषतः वैदिक तथा बौद्ध चिन्तनको प्रभाव स्पष्ट देखिन्छ। जीवनलाई पञ्चतत्वको संयोजन र विघटनको प्रक्रिया मान्दै कविले ‘अहं’ को विघटन र समष्टिमा विलय हुने विचार प्रस्तुत गरेका छन्। यसले पाठकलाई जीवनको क्षणभङ्गुरताको अनुभव गराउँछ, प्रकृतिसँगको सम्बन्ध र आत्मबोधतर्फ उन्मुख गराउँछ। यस कृतिका विशेषताहरू हुन्- प्रकृति र मानव जीवनको गहिरो सम्बन्धको प्रस्तुति, लोकशैली (‘पालाम’) को आधुनिक प्रयोग, दार्शनिक सोचको गहिराइ र आध्यात्मिक संवेदना र प्रतीकात्मकता र रूपकहरूको सशक्त प्रयोग।
निष्कर्ष
‘पञ्चतत्वको पालाम’ नेपाली काव्यमा एक विशिष्ट कृति हो, जसले परम्परा र आधुनिक चेतनालाई जोड्ने काम गरेको छ। मनप्रसाद सुब्बाले यस कृतिमार्फत् मानव अस्तित्वको मूल प्रश्नलाई प्रकृतिको आधारमा पुनः परिभाषित गरेका छन्। यो काव्य केवल साहित्यिक आनन्दका लागि मात्र होइन, आत्मचिन्तन र दार्शनिक अनुभूतिको यात्राका लागि पनि अत्यन्त महत्त्वपूर्ण कृति हो।
अन्ततः पञ्चतत्वको पालाम केवल शब्दहरूको बुनाइ होइन, अस्तित्व र प्रकृतिबीचको अदृश्य संवाद हो, जहाँ मानिस आफ्नै जरा खोज्न बाध्य हुन्छ। यस कृतिले सम्झाउँछ- हामी पृथक छैनौं, बरु माटो, पानी, हावा, आगो र आकाशकै निरन्तर रूपान्तरण हौं। लेखकले जीवनलाई तत्वहरूको संगीतमा रूपान्तरण गर्दै, पाठकलाई आत्मबोधको गहिराइसम्म पुऱ्याएको छन्। यहाँ प्रत्येक शब्दले प्रकृतिको नाडी छोएको छ, र प्रत्येक भावले मानव अस्तित्वलाई नयाँ अर्थ दिएको छ। अन्त्यमा, पञ्चतत्वको पालाम पढिसकेपछि पाठक केवल पाठक रहँदैन- ऊ स्वयं प्रकृतिको एउटा धडकन् बन्न पुग्छ।