19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

‘भताभुङ्गे दरबारको गाडधन’ बालउपन्यासमा एक दृष्टि

कृति/समीक्षा डा. अपर्णा पोखरेल April 4, 2026, 1:52 pm
डा. अपर्णा पोखरेल
डा. अपर्णा पोखरेल

लेखक कृष्ण बजगाईंको ’भताभुङ्गे दरबारको गाडधन’ (२०८२) नेपाली बाल उपन्यासको एउटा महत्त्वपूर्ण र उल्लेखनीय कृति हो । यस उपन्यासमा ऐतिहासिक सन्दर्भ, रहस्य र साहसिक यात्रालाई बाल मैत्री शैलीमा प्रस्तुत गरिएको छ । डायस्पोरिक साहित्यकार बजगाईं लामो समयदेखि विदेशमा बसेर पनि नेपाली भाषा र साहित्यको सेवामा निरन्तरता दिएका छन् ।

बजगाईंको जन्म थलो धरान भएकाले उनी आफू विद्यार्थी हुँदा पहिले विजयपुर पटक पटक पुगेका र पछि धरान विजयपुरको विकास र उत्थानका दृष्टिले अनेक आयोजनामा संलग्न रहेर विभिन्न कार्यहरुमा सहभागी पनि भएकाले गर्दा लेखकलाई धरान विजयपुरका उत्थानका बारेमा अझ बढी चासो हुनु स्वभाविक नै हो । लेखकलाई आफ्नो ठाउँ घरानको प्रत्यक्ष प्रभाव परेका कारण यति सुन्दर उपन्यासको जन्म भएको हो भन्ने कुरा अनुमान लगाउन सकिन्छ ।

सेनवंशी राजाको भत्किएको दरबारको अवशेष र त्यस दरबार सम्बन्धी लोकमा प्रचलित अनेक कथाहरु यस उपन्यासमा बालबालिकाहरुले पढ्न पाउने छन् । ती प्राय लोप हुन लागेका लोक कथा, दन्त्य कथा वा किंवदन्तीलाई पुनर्लेखन गरेर आफ्नो कल्पनाशक्तिले नौलोपन र मौलिकता पनि थप्दै रोचक ढङ्गले लेखकले यो उपन्यास बाल पाठक समक्ष पस्किएका छन् । त्यस्ता अनेक कथाहरुले यस उपन्यासलाई स्थानीय मौलिक परम्परासँग जोड्ने काम गरेको छ ।

यो उपन्यासमा बाल केन्द्रित कथावस्तु रहेको छ । उपन्यासको कथावस्तु धरानको ऐतिहासिक स्थल विजयपुको पञ्चकन्याको जङ्गलमा अवस्थित भताभुङ्गे दरबारमा आधारित छ । विजयपुर क्षेत्रमा रहेको दरबारको इतिहास केलाउने हो भने त्यो सेनवंशी राजाहरुको भग्न दरबार हो । विजयपुरका राजा मुकुन्द सेनका छोरा नाति (वंशज) लाई पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्दा हराए पछि त्यो दरबार वास्तविक रूपमा भग्न भएको थियो होला । त्यस दरबारलाई स्थानीयहरुले भताभुङ्गे राजाको दरबार भनेर चिन्छन् । त्यो भताभुङ्गे दरबार नै यस उपन्यासको केन्द्रीय, भौगोलिक र प्रतीकात्मक परिवेश हो ।

’भताभुङ्गे दरबारको गाडधन’ शीर्षकले नै एउटा संस्थागत रूपमा ध्वस्त शक्ति केन्द्रलाई सङ्केत गरेको छ । धरानको लोक कथामा उल्लेखित भताभुङ्गे राजा, लथालिङ्गे काजी र सत्यनासी विचारी जस्ता विचित्र शासकीय चरित्रहरु यस उपन्यासको प्रतीकात्मक आधार बनेको अनुमान गर्न सकिन्छ । गाडधन भनेको शक्तिको प्रतीक हो । त्यो शक्ति (गाडधन) यस उपन्यासका बाल पात्रहरुले फेला पार्छन् कि पार्दैनन् होला, फेला नै पारे भने पनि तिनले के गर्लान् भन्ने प्रश्न पाठकका मनमा उब्जिन्छ । उपन्यासको केन्द्रमा रहेको ’गाडधन’ भन्ने वस्तुले कथामा रहस्य, भेद (सस्पेन्स) र रोमाञ्च थपेको छ । भग्न दरबारको परिसरमा गाडधन खोज्न निस्किएका तीन जना साहसी बालकहरुले यात्राका क्रममा भोग्नु परेका अप्रत्यासित घटनाहरु नै यस कथाका मेरुदण्ड हुन् ।

आजका बालबालिकालाई ऐतिहासिक र पुरातात्विक सम्पत्ति भनेको राष्ट्रको धरोहर हो, त्यसलाई जथाभावी जसले पायो त्यसले निजी स्वार्थमा मात्र चलाउन मिल्दैन, यदि कसैले खोज अनुसन्धान गरेर त्यही ठाउँको विकास गर्छ र भताभुङ्गे दरबारलाई संरक्षण गरेर न्याय गर्छ, त्यहाँको प्रचारप्रसार गर्छ भने मात्र त्यो गाडधन उसले उपभोग गर्न पाउँछ भन्ने जानकारी दिइएको छ । कथाको अन्त्यमा यो उपन्यासको दोस्रो भाग पनि आउँछ भन्ने सुइँको पाइन्छ ।

गाडधन खोज्ने क्रममा पात्रहरुले अनेक किसिमका चुनौतीहरुको सामना गर्नु परेको छ । सबै भन्दा पहिले वनपालेहरु, त्यस पछि बिच्छीले दुख दिएको, बाँदरहरुले बाटो छेकेको र अन्त्यमा सफलताका साथसाथै चुनौतीहरु पार गरेर अगाडि बढेको घटनाले कथालाई रोचक बनाएको छ । जब बालबालिकाले गाडधन भेट्छन् तब उनीहरुका मनमा खुसी उब्जिनु स्वाभाविक नै हो । जङ्गलमा निशा लागेर घुमिरहनु, त्यस गाडधनको सुरक्षाका लागि जङ्गल र जनावरहरु नै खटिएका, अनेक मायावीहरुले छल गरेको घटनाहरूका उल्लेखले कथामा कतै स्वयम् बुढासुब्बाले नै विजयपुरको सुरक्षा गरिरहेका त छैनन् नि भन्ने पाठकलाई लाग्छ ।

यस उपन्यासका नायक भनेका सात कक्षामा पढ्ने तीन जना बालकहरु हुन् । ती तीन जनाहरु मध्ये पनि मुख्य पात्र चाहिँ अनुप नै हुन् । यस उपन्यासका पात्रहरु बाल मनोविज्ञानलाई ध्यानमा राखेर निर्माण गरिएको छ । उनीहरुको जिज्ञासा, साहस र समस्या समाधान गर्ने क्षमता र आँटिलो स्वभावले बाल पाठकले पात्रलाई आफूसँग जोड्न सक्छ । तीन जना स्कुलका मिल्ने साथीहरु अनुपले राति देखेको सपनाको विश्वासका भरमा गाडधन खोज्न हिँडेका छन् । अनुप साहसी, उत्साहित, आँटिला, जोश र जाँगरले भरिएका बालक हुन् । उनका साथीहरु गगन र हिमालले पनि अनुपले देखेको सपना साकार पार्नका लागि उनलाई साथ दिएका छन् । उपन्यास पढिरहेका वेलामा अनुप नामको चरित्रमा कतै लेखकले आफ्नै छवि त पस्किरहेका त छैनन् भन्ने भाव पाठकलाई लाग्न सक्छ । ती बाल पात्रहरुका बाल मनोविज्ञानमा आधारित कथा रहस्यले भरिएको, रोचक, ज्ञानवद्र्धक, प्रेरणादायी र शिक्षाप्रद छ ।
गाडधन भेटिएला कि नभेटिएला ? कतै उनीहरुको मिहिनेत त खेर जाँदैन नि ? भन्ने खुल्दुली पाठकका मनमा पलाउँछ । पात्रहरुका मनमा उत्पन्न हुने डर र त्रासले पाठकलाई पनि सोच्न बाध्य बनाएको छ । गाडधन भेटिए पछि जब बालकहरुमा अनेक समस्याहरु उत्पन्न हुन्छन्, ती समस्याहरुले कथामा द्वन्द्व थपेको छ । त्यस वेलाको त्यो अप्रत्यासिक घटनाले पाठकका मनमा सहानुभूति पलाउँछ । कथाको अन्तिम चरणको घटनाले पाठकका मनमा कुतुहलता थपेको छ । बालकहरुका साथै बाँदर र चराचुरुङ्गीले पनि कथामा ठाउँ पाएका छन् ।

उपन्यासले विजयपुरको धार्मिक र ऐतिहासिक महत्त्वलाई उजागर गर्दै बालबालिकामा इतिहास र संस्कृतिप्रति चासो जगाउने काम गरेको छ । विजयपुर क्षेत्रको ऐतिहासिक महत्व, त्यहाँका रहस्य र प्रसङ्गहरुलाई कथामा बाल पाठकले आनन्दका साथ इतिहास बुझ्न सक्ने तरिकाले बुनिएको छ । देवी देउताको आआफ्नो शिव तत्व र शक्ति तत्वको महत्व र त्यहाँ मनोकामना र भाकल गरे सोचेको कुरा पुग्छ भन्ने जनविश्वासलाई बाल पाठकका छेउमा पात्रका माध्यमद्वारा पुर्याइएको छ ।

उपन्यासले प्रत्यक्ष रूपमा उपदेश नदिई बालबालिकालाई जीवन उपयोगी पाठ सिकाउने काम गरेको छ । एकताको भावना, इमान्दारी, जिम्मेवारी जस्ता मूल्यहरु कथामा घटनाक्रमहरु मार्फत स्वाभाविक रूपमा प्रवाहित हुन्छन् । नैतिक शिक्षाका रूपमा लगातार परिश्रम गर्यो र कहिले पनि हार मानेन भने सफलता निश्चित रूपमा हासिल हुन्छ । केही गरी सफलता हासिल भएन भने पनि परिश्रम गर्न छोड्नु हुँदैन, त्यस परिश्रमले हामीलाई जीवनमा नयाँ कुरा सिकाउँछ भनिएको छ । त्यस्तै बालबालिकालाई जे काम गर्नु पर्दा पनि योजना बनाएर काम गर्नु पर्छ भन्ने कुरा बालबालिकाले यो उपन्यास पढेर सिक्ने छन् ।

लेखक कृष्ण बजगाईंको भाषा सरल अथवा बालबालिकाले सजिलै बुझ्न सक्ने, प्रवाहमय र बाल मनोविज्ञानमा आधारित छ । संवादहरु जीवन्त छन् । पूर्वी नेपालको स्थानीय बोलीको प्रयोग गरिएको छ । किताबमा लेखिएको उपन्यासको शीर्षक ’भताभुङ्गे दरबारको गाडधन’ले नै बालबालिकाको ध्यान आकर्षण गर्छ । जस्तो बाहिरको आवरण छ, उपन्यास पनि त्यस्तै आकर्षक छ । मोटो गाता र रङ्गिन चित्रहरुको प्रयोग भएका कारणले नै बालबालिकालाई यो किताब पढ्न लालायित गर्छ । शैलीगत रूपमा यस उपन्यासले रहस्य र रोमाञ्च जस्ता तत्वलाई प्रभावकारी रूपमा प्रयोग गरेको छ ।

यो उपन्यास विद्यार्थी, शिक्षक, र अभिभावक, तीन वटै वर्गका लागि उपयोगी छ । यसले बालबालिकाको भाषिक क्षमता अभिवृद्धि गर्न मद्दत गर्ने, ऐतिहासिक र सांस्कृतिक ज्ञान वृद्धि गर्ने, विश्लेषणात्मक सोच र समस्या समाधानको क्षमता विकास गर्नुका साथै पढाइप्रति रुचि जगाउने माध्यमको रूपमा काम गर्दछ ।

एकमुखे रुद्राक्ष, मट्याङ्ग्रा, सिमाला, स्यालको सिङ र बुढासुब्बाको टुप्पो नहुने बाँस, आदि जस्ता धरान विजयपुरमा पाइने महत्त्वपूर्ण र दुर्लभ वस्तुहरुका बारेमा जानकारी दिइएको छ । यो उपन्यासले धरान विजयपुर अनि त्यहाँ अवस्थित दन्तकाली, पिण्डेश्वर, बुढासुब्बा र पञ्चकन्या मन्दिरको जानकारी दिने र आन्तरिक पर्यटनलाई जोड दिँदै बालबालिकामा सो स्थानहरुका बारेमा जानकारी दिनेछ । कथामा जतिसुकै दुखद् र समस्या आएको किन नहोस्, अन्त्यमा आशाको सञ्चार जगाउन यो उपन्यास सफल छ ।

‘भताभुङ्गे दरबारको गाडधन’ केवल एउटा बाल उपन्यास मात्र नभई नेपाली इतिहास, संस्कृति र बाल मनोविज्ञानको सुन्दर सम्मिश्रण हो । कृष्ण बजगाईंले यस उपन्यास मार्फत जटिल विषयहरुलाई सरल, रोचक र जीवन उपयोगी ढङ्गले प्रस्तुत गरेका छन् । यस कृतिले बालबालिकालाई ऐतिहासिक चेतना, सांस्कृतिक पहिचान, ऐतिहासिक मूल्य र विश्लेषणात्मक सोच प्रदान गर्न सफल भएको छ । संसारभरि नै बालकथा लेख्नुको मुख्य विशेषता भनेको बालबालिकालाई मनोरञ्जन दिनुका साथै नैतिक शिक्षा पनि प्रदान गर्नु हो । यस उपन्यासले पनि त्यसै गरेको छ । आजका बालबालिकाले नसुनेका दन्त्य कथा वा किंवदन्तीलाई पुस्तान्तरण गर्ने उद्देश्यले यो उपन्यास लेखिएको छ ।

विश्व साहित्यका पहिलो समालोचक मानिने एरिस्टोटलले विरेचन सिद्धान्तको प्रतिपादन गरेका छन् । उनले उत्कृष्ट कथा साहित्यले पाठकका मनमा पहिले पात्रलाई लिएर एउटा सहानुभूति उब्जन्छ । त्यस पछि पात्रप्रति करुणा जाग्छ अनि कथामा भएको द्वन्द्वले पाठकका मनमा डर वा त्रास पलाउने अनि कथाले अन्त्यमा विरेचन गर्छ भनेका छन् । एरिस्टोटलकै सिद्धान्त अनुसार पाठकका मनमा त्रास र करुणाको भाव जगाएर कथाले विरेचन गरेको छ ।

उपन्यासमा आजको आधुनिक युगमा मोबाइललाई प्राथमिकता नदिएर धार्मिक, ऐतिहासिक, स्थलहरुको भ्रमण गर्ने अनि प्रकृतिको नजिक हुन रमाउने र पाठ्यपुस्तक बाहेकका किताबहरु पढ्नमा रुचि लिने बालकहरुको चित्रण गरिएको छ । पढाइका साथै विभिन्न गतिविधिमा पनि रुचि राख्नु पर्छ भन्ने सन्देश यहाँ दिइएको छ । आफ्नै मौलिक शैलीको प्रयोग गरेर लेखिएको यस उपन्यासमा नेपाली संस्कृति र सम्पदाको संरक्षणको सन्देश दिइएको छ । यहाँ मेरो आफ्नै जन्म स्थानको माटोको सुगन्ध मिसिएको, आफैँले केटाकेटीमा सधैँ सुनेको भताभुङ्गे राजाको दरबारलाई नै कथाको केन्द्र बनाएर लेखिएको बाल मनोविज्ञानमा आधारित यो उपन्यास उत्कृष्ट छ ।
(ब्लाष्ट टाइम्स दैनिकबाट)

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।