कास्की जिल्ला साविक धिताल गा.वि.स. हाल माछापुच्छ्रे गाँउपालिका वडा नं. ६ मा जन्मिएर पोखरा महानगर पालिका वडा नं.– ९ लाई कर्मथलो बनाएका डिल्लीप्रसाद ढुङ्गाना अवकाश प्राप्त राष्ट्रसेवक कर्मचारी हुन् । ३८ वर्षे सेवाबाट अवकाश भएपछि साहित्य लेखन तथा समाजसेवामा लागेका छन् । उनी विभिन्न सामाजिक, पेशागत तथा राजनैतिक संगठनमा समेत आवद्ध छन । यो सक्रियताले ढुङ्गानालाई अझ विज्ञ बनाएको महसुस गर्न सकिन्छ । डिल्लीप्रसाद ढुङ्गाना संलग्न भएका केही संस्थाहरू यस प्रकार छन् । १. केन्द्रीय सदस्य, नेपाल राष्ट्रिय कर्मचारी संगठन २. केन्द्रीय सदस्य,नेपाल बुद्धिजीवी संगठन ३. आजीवन सदस्य, कस्केली अधिकृत समाज ४. आजीवन सदस्य, ढुङ्गाना विकास प्रतिष्ठान ५. आजीवन सदस्य, धिताल पोखरा सेवा समाज ६. आजीवन सदस्य, पूर्व कर्मचारी सेवा परिषद, गण्डकी आदि ।
त्रिभुवन विश्वविद्यालय पृथ्वीनारायण क्याम्प पोखराबाट राजनीति शास्त्र र अर्थशास्त्रमा कलाचार्य गरेका ढुङ्गानाले सरकारी कर्मचारी भएपनि बेलाबखतमा राष्ट्रिय सम्पदा र समसामयिक विषयमा कलम चलाउँदै आइरहेको कुरा घामझैँ छर्लङ्ग छ । उनका लेख निबन्धमा नेपाली भाषा,संस्कृति,इतिहास र सभ्यताको बारेमा गहन विषयको उठान भएको पाइन्छ । कर्मचारी हुँदा फट्टफुट्ट लेखहरु लेखेपनि सिङ्गो पुस्तक बनाएका थिएनन् । हाल डिल्लीप्रसाद ढुङ्गानाले केही पुराना र नयाँ निबन्धहरुलाई जम्मा पारेर मुठो बाधेर “प्रकृति र अनुभुति“ नामको निबन्ध संग्रह प्रकाशन गरेर साहित्य फाँटमा ल्याएका छन् । पूर्व कर्मचारी सेवा परिषद नेपालले प्रकाशन गरेको यो कृतिमा दशवटा निबन्ध प्रकृति सम्बन्धी छन् भने चौधवटा निबन्ध अनुभूतिसंग सम्बन्धित छन् । १ सय ७६ पृष्ठमा फैलिएका २४ वटा निबन्धहरुले नेपालको प्रकृति, संस्कृति, सामाजिक व्यवस्था, अर्थ व्यवस्था, राजनैतिक व्यवस्था, धार्मिक व्यवस्था र भौतिक उन्नतिका बारेमा गहिरो कुरा बोलेका छन । पुस्तकको भूमिका “प्रकृति र अनुभूति भित्र डिल्ली ढुङ्गाना” शीर्षकमा प्राज्ञ डा. कृष्णराज अधिकारीको गहिरो चिरफार छ । प्रकृतिमा रहेका सम्पदा,मान्छेमा रहेका व्यक्तिगत स्वभाव, वातावरण, जैविक विविधता, विभिन्न जीवजन्तु, मानिसका प्रगति उन्नती विकास र मानवको इतिहासका बारेमा शिर्षक बनाएर चर्चा परिचर्चा गरिएको छ । सरल भाषा, उखानटुक्का लोकगीतका फाँकाले पनि निबन्धलाई रुचिकर बनाएका छन् । निबन्धको शैली नयाँ र अनुकरणीय छ । वाक पटुता निबन्धको अर्को विशेषता हो ।
यहाँ डिल्लीप्रसाद ढुङ्गानाद्वारा लिखित “प्रकृति र अनुभूति” निबन्ध सङ्ग्रहका बारेमा छोटो विश्लेषण गर्ने जमर्को गरेको छु । यो पुस्तकमा प्रकृति तिरका दशवटा निबन्ध छन् । पहिलो निबन्ध “सन्दर्भ कान्छी वराहको ठूलाखर्कमा मान्छे हराएको” हो । यसमा सरकारी अनुदानमा मन्दिरको जीर्णोदार गरिएको विषय छ । त्यसैको सदुपयोगीता जाँच्न लेखक प्राविधिक र केही सहयोगीहरुका साथ सानी छोरी समेत लिएर लुम्ले र धम्पुसको सीमानामा रहेको लेकमा पुगेका छन । बाटाको अवस्था, प्राकृतिक सौन्दर्य, भोक तिर्खा, पर्यटनको सम्भावना र हाम्रो कामगर्ने शैलीका बारेमा चर्चा गरिएको छ भने घना जङ्गलमा हराएको र जुकाले दिएको सास्तीका कुराहरु सरल रुपमा अभिव्यक्त भएका छन् । दोश्रो निबन्ध हो “वातावरण मौसम परिवर्तन र नेपाल” । यसमा वातावरण के हो ? यसको कति महत्त्व छ । हिमाल पहाड नदीनाला ताल तलैयाले हामीलाई के दिन्छ ? स्वच्छ वातावरण जैविक विविधताका बरेमा गहिरो छलफल छ।तेस्रो शिर्षक “पोखरा र पर्यटन” ले धेरै विषय उठाइएको छ । हाम्रो देशलाई प्रकृतिले सिँगारेको छ । सरसफाइको आवश्यकता छ भन्ने कुरा कोट्याईएको छ । “पानी खानेपानी र हाम्रो बानी” नामको सिर्जनामा हामी माल पाएर पनि चाल नपाउने मान्छे हाँै भन्दै प्राकृतिक सम्पदाको महत्त्व बारे गाँठीकुरो बुझाएका छन । पानी जीवन हो यसको संरक्षण गर्नु पर्ने कुरा उठाएका छन् ।
सरकारी कामको सिलसिलामा कास्कीको पर्यटकीय गाउँ ल्वाङघलेल पुग्दाको अनुभव “चियाबारीमा पुगेपछि” निबन्धमा उल्लेख छ । गाउँको वातावरण, समाजको एकता, प्रकृतिको सौन्दर्य, सांस्कृतिक सम्पदा र सरकारी नीतिका बारेमा यो निबन्ध उत्कृष्ट छ । किसानको लगनशीलता नगदे बालीमा चिया खेतीको महत्व दर्शाइएको छ ।
डिल्ली ढुङ्गाना राष्ट्र सेवक कर्मचारी हुन् । किसान परिवारमा हुर्केका हुन् । राजनीतिशास्त्र र समाज शास्त्रका विद्यार्थी पनि हुन् । असल प्रशासक भएकाले बेथितिका बिरोधि छन् । सरकार नागरिकको अभिभावक हो त्यसैले जनजिबिकाका सवालमा संवेदनशील हुपर्छ भन्ने मान्यता उनका सबै निबन्धमा पाइन्छ । “पन्चासे एकःअनुभव अनेक” निबन्धले नेपालका पर्बतमाला, लेकबेंसी, भञ्ज्याङ् ,देउराली र हिमशृखलाका बारेमा विचारविमर्श गरेको छ । जैविक विविधता के हो ? यो किन चाहिन्छ ? यसले हामीलाई कसरी सहयोग गर्छ ? आदि विषयमा पढाएको छ । अर्को “ धिताल जयकोट र फिल्म नगरी मुडुलो टाउको कम्मरमा पगरी” यस पुस्तकको सातौ निबन्ध हो । ढुङ्गानाले आफ्नो जन्मभूमि धिताललाई उखानको रुपमा प्रस्तुत गरेका छन् । धितल जयकोट आफैमा रमणीय स्थल हो । यहाँको वातावरण वन सम्पदा यो ठाँउबाट देखिने हिमाल र पहाडी दृष्यहरु मनोरम छन् । चलचित्र बनाउन उपयुक्त खालको स्थान छ । प्रकृतिको अनुपम छटाका बारेमा निबन्धकारले विभिन्न धर्मशास्त्रसंग जोडेर आफ्ना कल्पनामा सुनौलो जलप घसेका छन । आफ्नो जन्मस्थललाई हदैसम्मको माया गरेका छन् । त्यसैले कम्मरमा पगरी बाध्ने होइन मुडुलो भएपनि पगरी टाउकामै सुहाउँछ भन्छन ढुङ्गाना । आठौ निबन्ध “गिरान र विकास” मा पोखराको हवाईजहाज ग्राउन्ड र यसको विकासका बारेमा नालीबेली व्याख्या छ । त्यस्तै अर्को निबन्ध “पोखरा र ढुङ्गेसाँघु पुल” ले पनि पोखरा हिजो कस्तो थियो आज कस्तो भयो भन्ने कुराको वेलिविस्तार वर्णन गरेको छ । यहाँ एउटै ढुङ्गाले पुलको काम गरेको छ । सायद यस्तो बिचित्रको स्थान अन्त कतै छैन होला । यसमा पनि विकास र पर्यटनकै कुरा आएको छ । प्रकृति तर्फको अन्तिम निबन्ध “पोखरा पातले छाँगो र स्थानीय सरकार“ हो । यसमा हाम्रा प्राकृतिक सम्पदाहरुका बारेमा गहिरो विश्लेषण छ । नेपालमा विदेशी पर्यटकको आगमनसगै स्थानीय नामहरु अंग्रेजीमा उच्चारण हुनथाले भन्ने प्रसंङ्गको उठान गर्दै पातले छाँगोको इतिहास र स्वामित्वका बारेमा चर्चा छ । यसरी पहिलो खण्डमा प्रकृतिका बारेमा विभिन्न विषयको उठान गरि फराकिलो छलफल गरिएको छ । हमीसँग भएका प्रकृतिक सम्पदालाई सिँगार पटार गरेर पर्यटकलाई आकर्षण गर्नसके देशको विकास र समृद्धि हासिल हुनेकुरा वताइएको छ ।
पुस्तकको दोश्रो खण्डमा चौधवटा निबन्ध छन । यसको नाम अनुभूति रखिएको छ । निबन्धहरुमा लेखकका विचार र अनुभवहरु पोखिएका छन् । बाल्यकाल, अभिभावक, नातागोता, धर्मसंस्कार, चाडपर्व समाज र संस्कृति, शिक्षा स्वास्थ रोजगारी आदिका बारेमा गहिरो अनुभूति उतारेका छन् । यहाँ छोटो चर्चा परिचर्चा गर्ने प्रयास गरिएको छ ।
“याम्दीको याद“ पहिलो निबन्धमा आमाको गर्भैमा हुँदा याम्दीखोला तरेको बच्चामा बोकिएर तरेको युवा हुँदा आफै तरेको पटक पटक यो खोलामा नुहाएको सम्झना गरेका छन । अहिले याम्दीमा पक्की पुल बनेर मोटर वारपार गर्छ । याम्दीले हमीलाई धेरैकुरा दिएको छ भन्दै आफ्ना पुराना सम्झनाको पेटारो खोलेका छन लेखकले । “महिला र हरिया चुराको खोजी सत्य तथ्य कुराको“ नामको निबन्धमा उपभोक्तावादी जालको सग्लो चित्र खिचिएको छ । हाम्रा संस्कार र संस्कृति कति राम्रा छन् अति उदार छन् तर नाफाखोरहरु घुसेर बिकृत पारेका छन भन्ने सन्देश छ । भारतीयहरु आफू हरियो चुरा लाउँदैनन् हामीलाई बेचेर नाफा कमाउँछन् कस्तो अचम्म ? निबन्धकार चिन्तित बनेका छन् ।
“गाउँको रैथाने शहरको चारआने कोही रमाउने कोही छाडी जाने“ नामको तेश्रो सिर्जनामा गाउँको सफा सुग्घर फराकिलो दसौँ रोपनी जमीन बेचेर धुवाँ धुलो कोलाहलले अस्तव्यस्त शहरमा चारआना जग्गामा फुर्ती देखाइरहेको हाम्रो मनस्थितिको वृतचित्र यसमा देखिएको छ । विदेशी आवासीय अनुमति पत्र (ग्रीन्कार्ड भिसा) पाएकाहरुले जन्मभूमितिर फर्काएका कर्के नजरको पनि वेलिविस्तार गर्न भ्याएका छन् । “कास्की, कास्कीकोट र मेरो कलम” मा नेपालको एकीकरण सन्दर्भ चौबिसे राज्यहरु मध्ये त्रिशक्तिको महत्त्व उल्लेख गर्दै ऋषिमुनीहरुको ईतिहास कोट्याउदै हामीले नजिकको तीर्थलाई हेला भन्ने उखानलाई आत्मसाथ गरेको पनि देखाएका छन निबन्धकारले । पाँचौँ “बाटो,चोक र चौतारो” नामको लेखमा बाटाका प्रकार शहरका चोकहरु र पूर्खाले बनाएका चौतारीहरुको महत्त्वलाई दर्शाइएको छ । विकास निर्माणले पुराना स्थानका नाम परिवर्तन गर्ने विषय उठाउँदै हिजोको जिल्ला पन्चायत चौतारालाई समयले बदलेर सहिद चोक बनाइदिएको छ । समय परिवर्तनशील छ भन्ने भाव यसबाट पुष्टि हुन्छ।यो चोकले सबै प्रशाशक कर्मचारी व्यापारी विचौलिया शोषित पीडितहरुको रेकी गरेको छ । सबैको हिसाब किताब सहिद चोकले राखेको कुरा निबन्धकार सुनाउँछन् ।“वार्ता, कौशलता र परिणाम” तल्लो तहका कर्मचारीमा पनि कामगर्ने क्षमता हुन्छ । उनिहरुलाई विश्वास गरेर काम दिएमा सकारात्मक परिणाम आउने कुराको चर्चा यसमा छ। जिम्मेवारी कसरी बहन गर्न सकिन्छ भन्ने तरिका सिकाइएको छ । यो पुस्तकको सबैभन्दा लामो निबन्ध “गोरखपत्र बाजे,श्लोक र सम्झना “हो जसमा पोखराका सडक–पत्रकार चन्द्रकान्त पौडेलसँग लेखकले बिताएका महत्त्वपूर्ण क्षणका बारेमा चर्चा गरिएको छ । जब एफ एम रेडियोले गोरखापत्र बाजेले आत्महत्याको समाचार पढ्यो तव निबन्धकार झस्किन्छन।लामो समयको सङ्गत छ डिल्लीराम ढुङ्गानाको बाजेसँग । चन्द्रकान्त बाजे भेट भएपछि श्लोक सुनाइहाल्छन।घटना र परिवेश अनुसार मिलाएर श्लोक भन्न बाजे पोख्त छन् । पत्रिका बोकेर टोलटोल डुल्दै रोचक तरिकाले समाचार भट्याउनु उनको विशेषता नै थियो । बाजे स्वाभिमानी परिश्रमी र इमान्दार थिए । उनका कविता सत्यकली सम्वादका जस्ता छन। कविताका फाँकीले निबन्धकार प्रभावित हुन्छन् । समाजमा हरेक किसिमका मान्छेहरु छन् । जिउँदो छँदै तिनको प्रतिभालाई चिन्नसके समाजलाई हित हुन्थ्यो तर त्यसो हुन सकेको छैन । निबन्धकारले बाजेको सम्झनामा मार्मिक कविता पनि पस्किएका छन् । “मैले गाउँ छाडेँ बा” आठौं निबन्ध हो । यसमा अछामबाट बसाइँ सराइ भएर आएका आफ्नै पूर्खाको बारेमा खोज मूलक विषय छ । यो निबन्धमा बसाइँसराइ निरन्तर चलिरहने प्रकृया हो भन्दै आफु पनि धिताल वाट पोखरा झरेर बालाई जानकारी गराएका छन् । गाउँको पैतृक जग्गा बेचेर शहरमा चाराअना लिएको कुरा बासँग संबाद गरेका छन।डि.भि.नामको बिन्तिपत्र हालेर म्लेच्छको देशमा जान नचाहेको कुरा बालाई जाहेर गर्दै निबन्धकारले गाउँको रैथाने हुन नसकेकोमा पश्चताप गरेका छन् । “खेलकुदमा फुटबल र राजनीतिमा नेपाल“नामको निबन्धले फुटबलसंग नेपाली राजनीतिलाई तुलना गरेर विश्लेषण गरेको छ । वि.स.१८२५ मा पृथ्वीनारायण शाहले पहिलो गोल हाने एकीकरणको भने २०१७ सालमा महेन्द्रले अर्को गोल हाने । २०४६ सालमा बीरेन्द्रले आत्मघाती गोल गरे अझ २०५८ साल जेठ १९ गते नारायणहिटीमा खेलाडी बिनाको आत्मघाती गोल भयो भने २०६५ साल जेठ १५ गते क.प्रचण्डको अगुवाईमा ऐतिहासिक सानदार गोल भयो । यसरी निबन्धकारले “तुलना गरौँ राजनीति र खेल÷खेलमा अनुशासन रजनीतिमा जालझेल÷फाइनल हुन्छ रोमियो कप÷कल छाडी शान्तिको नाम जप“भन्ने कविताले टुङ्याएका छन् । “साइकल यात्रा” निबन्धमा मानिसको यात्राका बारेमा छलफल चलाइएको छ । घोडा साइकल , मोटरसाइकल,बस कार,रेल,जहाज सबै साधनको बखान गर्दै साइकल यात्राका फाइदा र बेफाइदा केलाइएको छ । कहिले साइकल थाक्यो कहिले म थाकें जस्ता कुरा अगाडि सार्दै साइकलसँग लामो संम्वाद गरेको बताएका छन।साइकलले मलाई सासफेर्न बेलाबेला हवा हालिदिनु कहिलेकाहिं धुलैधुलो हुन्छ पोखरीकै पानीले भएपनि नुहाई दिनु है भनेको कुरा महशुस गर्दै निबन्धकार सम्वेदनशील बन्छन् ।“निमन्त्रणा” शिर्षकमा आधुनिक समाज र संस्कृतिमा भित्रिएको विकृतिको फेहरिस्त छ । आफूलाई प्रतिष्ठित देखाउन भेटे जतिकालाई छोरा छोरीको बिहेमा बोलाउने चलनको सशक्त व्यङ्ग्य गरिएको छ । मोबाइलको मेसेजबाट निम्ता पठाउन सजिलो भएकाले सबैकहाँ निम्ता बाडिएको प्रसंग छ । निम्ता मान्न आउनेले पालन गर्नुपर्ने नौवटा नियमको उल्लेख गरेका छन् निबन्धकार ढुङ्गानाले । छोटो र मीठो पनि छ यो निबन्ध ।
पुस्तकको दोश्रो खण्डको बाह्रौं निबन्ध हो “बस्ती विकासको नमुना नयाँ सडक” । पोखराको चिप्लेढुङ्गा देखि सभागृह चोकसम्मको १.५ किलोमिटर बाटो बस्ती विकासको योजनामा बनेको चर्चा गर्दै जग्गाको मुआब्जा मोहिको कथाब्यथा र प्रशासनको हैकम आदिका बारेमा गहिरो विश्लेषण छ । हाम्रा शहरहरु बस्ती विकासको अभावमा अस्तव्यस्त छन् । एकीकृत बस्ती बसाउन नसक्दा धेरै समस्या आइलागेका छन् । यस्ता विषय यो निबन्धमा उठाइएको छ । अर्को सिर्जना “सर ! बोल्ने हो ?” मा अखिल नेपाल ट्रेड युनियन महासंघको जिल्ला अधिवेशनको कार्यक्रममा अतिथिको आसनमा रहेका बेला उद्घोषकले निबन्धकारलाई सर!बोल्ने हो ? भनेर सोध्दा म किन नबोल्ने ? भनेर जवाफ दिएको र सो कार्यक्रममा श्रमिकका हितमा गहिरो कुरा उठाएर बोल्दा प्रमुख अतिथि र सांसद समेतले प्रसंसा गरेको विषयको वर्णन गरिइएको छ । पुस्तकको चौविसौं र दोश्रो खण्डको चौधौं अर्थात् अन्तिम निबन्ध हो “प्रगतिशील कि कन्जरभेटिभ” यसमा निबन्धकार डिल्लीप्रसाद ढुङ्गानाले खरिदारको जागिरमा, नियुक्ति देखि शिफारिस सम्म पुग्दा भोगेका भोगाइ ठाउँ ठाउँमा भेटिएका थरीथरीका सोचाइ भएका मान्छेहरुका बारेमा चिरफार गरेका छन् । प्रगतिशील र कन्जरभेटिभ के हो ?भन्ने बारेमा आफ्नो धरणा स्पष्ट रुपमा राखिदिएका छन् । हामीकहँ स्वतन्त्रता समानता प्रजातन्त्र लोकतन्त्र गणतन्त्र बहुदल र समाजवाद पूँजीवादका कुरा निक्कै उठ्छन् तर तिनको अर्थ र महत्त्व बुझ्नेहरु निक्कै कम छन् । त्यसैले हामी पिछडिएका छाँै सभ्य हुन नसकेका हौँ भन्ने विचार सम्प्रेषण गरेका छन् ।
निष्कर्ष ः डिल्लीप्रसाद ढुङ्गानाद्वारा रचिएको “प्रकृति र अनुभूति” नामक निबन्ध सङ्ग्रहमा दुई खण्ड छन् । पहिलो खण्डमा दशवटा प्रकृति सम्बधित निबन्धहरु ७६ पृष्ठमा फैलिएका छन् भने दोश्रो खण्डमा चौधवटा आत्मपरक निबन्धहरुले ९८ पृष्ठ ओगटेका छन् । खोला नाला, नदी, ताल तलैया, झरना, वनजङ्गल, पाखापखेरा, टार, पाटन, चउर, पहाड, हिमाल, लेक बेंसी, भञ्ज्याङ्, देउराली, तराई, मधेस, उपत्यका वन्यजन्तु र चरा चुरुङ्गी आदि लगायका विषयमा लेखिएका निबन्धहरुलाई डिल्लीप्रसाद ढुङ्गानाले प्रकृति खण्डमा राखेका छन् भने जन्मथलो बसाइँ सराइ गाउँघर कार्यालय खेलकुद जागीर भ्रमण सरुवा बढुवा यातायतका साधन चौतारी चोक बाटो सडक ईतिहास समाज संस्कार संस्कृति रितिरिवाज गीत सङ्गीत बाजागाजा चाडपर्व आदिका बारेमा पनि निबन्ध लेखेका छन् । यी निबन्धलाई अनुभुति खण्डमा राखेका छन् ।
प्रकृति सम्पदाका बारेमा लेखिएका निबन्धहरु सुन्दर शान्त विशाल छन् । प्रकृतिले दिएको उपहारलाई गोडमेल गरेर अझ सुन्दर बनाउने हाम्रो कर्तव्य हो । त्यसलाई जोगाएर पुस्ता हस्तान्तरण गर्नु महत्वपूर्ण काम हो भन्ने कुरा यी सिर्जनामा उठइएका छन् । सफा पानी, स्वच्छ वातावरण, हराभरा वनजङ्गल, नदी, खोला, ताल र छहरा छाँगा आदिको संरक्षण गर्नु गोडमेल सिंगारपटार गरेर राम्रो बनाएर प्रकृतिका उपहारलाई जोगाउनु महत्त्वपूर्ण कार्य हो । यी प्राकृतिक सम्पलाले हामीलाई समृद्धि दिन्छन् भन्ने सन्देश निबन्धले बोलेका छन् । सरल भाषा, सुन्दर शैली र सरस तरिकाले पस्किएका छन् निबन्धकारले ।
आफ्ना अनुभव र अनुभूति सँगालिएका निबन्धमा जन्मभूमि, बाल्यकाल, पारिवारिक पृष्ठभूमि, रोजिरोटी, बसाइँसराइ, यात्रा नियात्रा, समाज र संस्कृति, चाडपर्व आदिका बारेमा आफ्ना मनमा उब्जिएजका भावना विचार संवेग आवेगलाई सरस पारामा लिपिवद्ध गरेका छन ढुङ्गानाले । विषय वस्तुको अध्यायन अनुसन्धान विश्लेषण र मुल्याङ्कन गरिएका यी निबन्धहरु उच्च कोटिका छन् । विषयको लम्बाई चौडाई मात्र होइन गहिराई पनि भेट्न सकिन्छ अनुभूति खण्डका निबन्धमा । अनुकरणीय शैलीमा लेखिएका चौधवटा सिर्जनामा पूर्व राष्ट्रसेवक कर्मचारी डिल्लीप्रसाद ढुङ्गानाले समाजमा घटेका घटना , राजनीतिमा देखापरेका उथलपुथल, इतिहासको वृत्तचित्र, सांस्कृतिक विकृति, विकास र विनास , भौगोलिक परिस्थितिका विषयमा आफ्ना सहमति र असहमति उजागर गरेका छन् । निबन्धहरु सरल र सरस छन भने विचारको घनत्व सघन छ । उखान टुक्काको उचित प्रयोग, लोकगीत सङ्गीतको महत्वलाई दर्शाइएको छ । भूमिपुत्रको अवस्था, श्रम पसिनाको मूल्य, नैतिकता , इमानजमान र स्वाभिमानका कुरा छोइने भएर आएका छन् । यस पुस्तकमा सबै कुरा राम्रामात्र छैनन् केही कमिकमजोरीहरु पनि छन् । कुनै कुनैकुनै निबन्धका शीर्षक लामा छन् । ठाउँ ठाउँमा शव्दको अपकर्ष हुन गएको छ । कतै कतै वाक्य गठन मिलेको छैन । ओकार इकार छुटेका छन् । ठाउँठाउँमा अक्षर छुटेर अर्थको अनर्थ भएको छ । जे होस् डिल्लीप्रसाद ढुङ्गाना पहिलो निबन्ध संग्रह बाट उत्कृष्ट निबन्धकारको रुपमा चिनिएका छन् । आगामी साहित्यिक यत्रा सफल बनोस र अझ राम्रा निबन्ध लेख्न प्रेरणा मिलोस् । सबै भन्दा ठूलो विषय संघर्ष हो यसैले समाज देश र विश्वलाई परिवर्तन र अग्रगामी बनाउँछ भन्ने कुरा डिल्लीप्रसाद ढुङ्गानाले आफ्ना निबन्धमा सविस्तार बताएका छन् । उनको निबन्ध लेखन शैली विशिष्ट खालको छ । प्रभावकारी र अनुकरणीय पनि छ ।