19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

महायुगः सामाजिक संरचनाको आलोचनात्मक अध्ययन

कृति/समीक्षा तोमनाथ उप्रेती April 17, 2026, 11:54 pm
तोमनाथ उप्रेती
तोमनाथ उप्रेती

१. बिषय प्रवेश
सीमा आभास समकालीन नेपाली साहित्यकी प्रभावशाली उपन्यासकार, कवि र विचारशील लेखिका हुन्, जसको लेखनले नारी चेतना, अस्तित्वगत प्रश्न र सामाजिक संरचनाको गहन विश्लेषणलाई केन्द्रमा राख्छ। उनी नेपाली साहित्यमा नारीवादी विमर्शलाई सामाजिक अधिकारको मागसम्म सीमित नराखी चेतना, आत्मअन्वेषण र दार्शनिक पुनर्परिभाषासम्म विस्तार गर्ने लेखिकाका रूपमा चिनिन्छिन्। उनका कृतिहरूमा नारी अनुभवलाई पीडा र सहनशीलताको परम्परागत ढाँचाबाट बाहिर निकालेर शक्ति, सृजनशीलता र आत्मबोधको ऊर्जाशील केन्द्रका रूपमा प्रस्तुत गर्ने प्रयास देखिन्छ।

उनको लेखन शैली प्रतीकात्मक, बहुस्तरीय र दार्शनिक छ जसले पाठकलाई आत्मचिन्तनको यात्रामा लैजान्छ। ‘महायुग’ जस्ता कृतिहरूले उनलाई समकालीन नेपाली उपन्यास परम्परामा एक विशिष्ट स्थान दिलाएका छन्, जहाँ उनले मिथकीय बिम्ब, सामाजिक यथार्थ र चेतनात्मक विमर्शलाई एकैसाथ जोड्ने क्षमता देखाएकी छन्।नेपाली साहित्यमा उनको योगदान विशेषतः नारीवादलाई नयाँ वैचारिक उचाइमा पुर्‍याउनुमा देखिन्छ जहाँ नारी संघर्षको पात्र मात्र होइन चेतनाको स्रोत र अस्तित्वको पुनःनिर्माणकर्ता हुन्।
आभासद्वारा रचित उपन्यास ‘महायुग’लाई बुझ्न समकालीन नेपाली साहित्यमा विकसित हुँदै गएको नारीवादी लेखनको पृष्ठभूमिलाई संक्षेपमा स्मरण गर्नु आवश्यक हुन्छ। पछिल्ला दशकहरूमा नेपाली साहित्यमा नारीको आवाज क्रमशः सशक्त बन्दै गएको छ, जहाँ परम्परागत पितृसत्तात्मक संरचनाभित्र दबिएका अनुभूतिहरू, असमानता र संघर्षहरूलाई केन्द्रमा राखेर धेरै कृतिहरू लेखिएका छन्। यस प्रवृत्तिले नारीलाई सहनशील पीडित पात्रका रूपमा होइन, प्रतिरोधी चेतनायुक्त व्यक्तित्वका रूपमा प्रस्तुत गर्ने प्रयास गरेको छ। तथापि, यस्तो लेखन धेरैजसो सामाजिक आलोचना, अधिकारको माग र संरचनागत असमानताको उजागरमै सीमित रहँदै आएको देखिन्छ। यसै सन्दर्भमा ‘महायुग’ एउटा फरक वैचारिक प्रयोगका रूपमा अघि आउँछ, जसले नारीवादी विमर्शलाई सामाजिक-राजनीतिक प्रतिवादको सीमाबाट माथि उठाएर दार्शनिक र आत्मचिन्तनात्मक तहमा विस्तार गर्ने प्रयास गर्छ।
यस उपन्यासको आधारभूमि आन्तरिक चेतनाको जटिल संरचना पनि हो। यहाँ नारी अनुभवलाई इतिहास, मिथक, प्रतीक र आत्मबोधसँग जोडेर प्रस्तुत गरिएको छ, जसले समकालीन साहित्यिक अभ्यासमा नयाँ दृष्टिकोण थप्छ। यसैले ‘महायुग’लाई परम्परागत नारीवादी लेखनको निरन्तरता मात्र नभई त्यसको पुनर्परिभाषा गर्ने प्रयत्नका रूपमा हेर्न सकिन्छ। यसले साहित्यलाई सामाजिक यथार्थको प्रतिबिम्ब मात्र नभई चेतनाको रूपान्तरण गर्ने माध्यमका रूपमा स्थापित गर्ने आकांक्षा बोकेको छ।

२. संरचना
महायुगको संरचना परम्परागत रेखीय कथनमा सीमित छैन। उपन्यासको कथावस्तु बहुस्तरीय, प्रतीकात्मक तथा अन्तरसम्बन्धित संरचनामा विस्तारित छ, जसले पाठकीय अनुभवलाई एकै तहमा होइन, विभिन्न चेतनात्मक तहहरूमा विभाजित गर्छ। ‘कथा अघि’, ‘मुख्य कथा’ र ‘कथा पछि’ भन्ने स्पष्ट विभाजन चेतनाका विभिन्न आयामहरूतर्फ संकेत गर्ने दार्शनिक फ्रेमवर्क हो।

उपन्यासको फ्रेमवर्कले पाठकलाई आन्तरिक मनोवैज्ञानिक र आध्यात्मिक यात्रामा समेत प्रवेश गराउँछ। यथार्थ र कल्पनाबीचको सीमारेखा जानाजानी धुमिल पारिएको छ, जसले कथालाई स्थिर होइन, गतिशील अनुभूतिको रूपमा प्रस्तुत गर्छ। कथाको प्रत्येक मोडले नयाँ अर्थ-तह खोल्छ, जसले पाठकलाई पुनःअवलोकन, पुनर्विचार र पुनःपठनतर्फ उन्मुख गराउँछ। संरचनात्मक जटिलता आफैंमा अर्थनिर्माणको माध्यम बन्छ। यही बहुस्तरीयता र प्रतीकात्मक गहिराइका कारण ‘महायुग’ साधारण आख्यानभन्दा माथि उठेर एक दार्शनिक, चेतनात्मक र अनुभवात्मक साहित्यिक संरचना बन्न पुग्छ।

३. पात्र विश्लेषण
३.१. नीलाञ्जना :
नीलाञ्जना उपन्यासकी केन्द्रीय नायिका हुन्, जसको जीवन निरन्तर संघर्ष, पीडा र आत्मसंघर्षको लामो यात्रा हो। समाजबाट बारम्बार बहिष्कृत भए पनि उनी आफ्नो अस्तित्वको अडानमा अडिग रहन्छिन्। उनी समाजको त्यस्तो वर्गकी प्रतिनिधि हुन्, जसलाई समाजले पूर्ण रूपमा मानिस भनेर स्वीकार गर्न सकेको छैन, तर जसले नै समाजलाई गतिशील र परिवर्तनशील बनाइरहेको छ। यही वर्गको प्रतिनिधित्व गर्दै नीलाञ्जनाले जीवनका हरेक कठिनाइसँग निरन्तर जुधिरहेकी छिन्, तर उनले कहिल्यै हार स्वीकार गरेकी छैनन्।
उच्चवर्गीय समाजले उनलाई निरन्तर हेप्ने, तिरस्कार गर्ने र उपेक्षा गर्ने प्रवृत्तिबीच पनि उनी आफ्नो पहिचान खोजिरहेकी छिन्। सीमित अवसरबीच पनि जसोतसो अध्ययन पूरा गरेकी नीलाञ्जना अध्ययनकै क्रममा आफूलाई आख्यप्रतिको प्रेममा समर्पित गर्छिन्। तर, सम्पन्न र उच्चवर्गको प्रतिनिधि आख्य भने सामाजिक परम्परा, वर्गीय सोच र आफ्नै अस्थिरताका कारण प्रेमप्रति गम्भीर बन्न सक्दैन। परिणामस्वरूप, नीलाञ्जना एकातिर समाजसँग र अर्कोतिर आफ्नै प्रेमसँग पनि एक्लिएकी पात्र बन्न पुग्छिन्।

आख्यलाई सही बाटो देखाउने प्रयास गर्दा पनि उनी स्वयं असहाय र एक्लो अवस्थामा परेकी देखिन्छिन्। प्रेम, समाज र अस्तित्व तीनै मोर्चामा उनी संघर्षरत रहन्छिन्, तर पूर्ण विजय प्राप्त गर्न सक्दिनन्। उपन्यासले उनको विगत, वर्तमान र भविष्यलाई जोड्दै देखाउँछ कि विगतले उनलाई निरन्तर पीडा दिन्छ, वर्तमानले एक्लोपनको अनुभव गराउँछ र भविष्य अनिश्चितताले ढाकिएको छ। यही त्रिकोणात्मक पीडामा नीलाञ्जनाको अस्तित्व झन् संवेदनशील रूपमा प्रस्तुत हुन्छ।

नीलाञ्जना चेतनाको निरन्तर रूपान्तरणशील प्रतीक हुन्, जसले मानव अस्तित्वको गहन दार्शनिक प्रश्नहरूलाई मूर्त रूप दिन्छिन्। उनको जीवनयात्रा सामाजिक संरचनाभित्रको जन्म, संघर्ष र सीमितताबाट सुरु भएर आत्मबोध र चेतनाको उच्चतम अवस्थातर्फ विस्तार हुन्छ। उनीभित्रको मौनता अनुत्तरित प्रश्नहरूको घना गर्भ हो, जहाँबाट विचार, पीडा र जागरण क्रमशः अंकुरित हुन्छन्।

उनको यात्रा विष्णुमती किनारको धूलो, सुकुम्बासी बस्तीको असुरक्षा, रत्नपार्कको भीड, ठमेलको कृत्रिम चमक हुँदै पहाडी समाजको मौन गहिराइसम्म चेतनाको बहुस्तरीय उत्खनन हो। प्रत्येक स्थान उनका लागि बाह्य संसार मात्र नभई आन्तरिक अवस्थाको दर्पण बन्छ। उनी जहाँ पुग्छिन्, त्यहाँ समाज मात्र होइन, आफ्नै अस्तित्वको टुक्रा-टुक्रा रूपसँग पनि सामना गर्छिन्।

नीलाञ्जनाको संघर्ष बाह्य परिस्थितिसँग मात्र होइन, आन्तरिक द्वन्द्वसँग पनि जोडिएको छ। उनीभित्रको प्रश्न—“म को हुँ?”—समयसँगै व्यक्तिगत जिज्ञासाबाट अस्तित्वगत अन्वेषणमा रूपान्तरण हुन्छ। “मेरो उद्देश्य के हो?” भन्ने प्रश्नले उनलाई सामाजिक भूमिकाबाट माथि उठाएर दार्शनिक आत्मअन्वेषणतर्फ धकेल्छ।

नीलाञ्जना उपन्यास ‘महायुग’की त्यस्तो प्रतिनिधि पात्र हुन्, जसले नेपाली समाजको सबैभन्दा तलसम्म दबाइएको, हेपिएको र अदृश्य बनाइएका वर्गको अनुभवलाई आफ्नो जीवनमार्फत मूर्त रूप दिन्छिन्। उनी समाजको कठोर सामाजिक मान्यता, वर्गीय विभाजन र नैतिक दोहोरोपनबाट निरन्तर प्रताडित पात्र हुन्। सडकमा हुर्किएकी, असुरक्षित वातावरणमा जीवन सुरु गरेकी नीलाञ्जना वास्तवमा समाजको उच्चवर्गीय संरचनाले जन्माएको पीडा र असमानताको जीवित प्रतीक हुन्।

उनीलाई उच्चवर्गको अवैध सन्तान भनेर चिनिने सामाजिक पृष्ठभूमिले उनको अस्तित्वलाई सुरुदेखि नै प्रश्नचिन्हमा राख्छ। यही कारणले उनी सम्पूर्ण उपेक्षित वर्गको प्रतिनिधि बन्छिन्त्यो वर्ग जसलाई समाजले कहिल्यै पूर्ण रूपमा मानिस भनेर स्वीकार गर्न सकेन, तर जसको श्रम, पीडा र अस्तित्वले नै समाजलाई चलायमान बनाइरहेको हुन्छ।

उपन्यासमा नीलाञ्जनाको जीवन यात्रा आत्मसम्मान र अस्तित्वको पुनःस्थापनाको संघर्ष हो। उनी अनेक कठिन मोडहरू पार गर्दै अन्ततः आफ्नो जीवनमा केही स्तरको सफल अवतरण प्राप्त गर्छिन्, जुन भौतिक सफलता मात्र होइन आत्मिक दृढताको परिणाम हो। उपन्यासकारले उनलाई पीडित पात्रका रूपमा सीमित नगरी, संघर्षबाट उठेर आत्मबोधसम्म पुग्ने यात्रामा उचाल्छिन्।

तर यो यात्रामा नीलाञ्जना पूर्ण रूपमा समाज वा सम्बन्धहरूबाट मुक्त हुन सक्दिनन्। उनको प्रेम, सम्बन्ध र सामाजिक अवस्थाहरू निरन्तर द्वन्द्वमा रहन्छन्। यसैले उनी एकातिर उठ्दै गरेकी पात्र हुन् भने अर्कोतिर समाज र प्रेमबीचको तनावमा बाँधिएकी मानवीय आकृति पनि हुन्।

नीलाञ्जनाको अभिव्यक्तिमा देखिने गहिराइ उनको विगत, वर्तमान र अनिश्चित भविष्यको त्रिकोणात्मक पीडाबाट जन्मिएको हो ।विगतले ऐँठन दिन्छ, वर्तमानले एक्ल्याउँछ, र भविष्यले अनिश्चितता बोकेको हुन्छ। यही मनोवैज्ञानिक अवस्थाले उनलाई उपन्यासको सबैभन्दा संवेदनशील र अर्थपूर्ण पात्र बनाउँछ।

३.२. छायादेवी :
छायादेवी उपन्यास ‘महायुग’की अर्को अत्यन्त महत्वपूर्ण पात्र हुन्, जसले नेपाली समाजमा नारीले भोग्दै आएको ऐतिहासिक यथार्थलाई संवेदनासहित प्रतिनिधित्व गर्छिन्। उनको जीवन बालविवाह, सामाजिक दबाब, वैवाहिक असमानता र मातृत्वको कठोर संघर्षले निर्मित भएको छ। यी अनुभवहरू व्यक्तिगत पीडा होइनन्, बरु समग्र सामाजिक संरचनाभित्र गहिरो जरा गाडेका समस्याहरूको प्रतिविम्ब हुन्।

तर उपन्यासकारले छायादेवीलाई पीडित पात्रका रूपमा प्रस्तुत गरेर सीमित राखेकी छैनन्। उनी समयको एक यस्तो साक्षी हुन् जसले विगतका अन्यायहरूलाई बोकेर वर्तमानमा पनि ती अन्यायहरूको निरन्तरता देखाइरहेकी छिन्। उनी परिवर्तनको पूर्वसंकेत पनि हुन्, किनकि उनको मौन पीडा र सहनशीलता स्वयंमा प्रश्नहरू उठाउने शक्ति बोकेको छ।
छायादेवीको जीवनकथा सामाजिक संरचनाको आलोचनात्मक अध्ययनजस्तै देखिन्छ। उनको अनुभवमार्फत उपन्यासले देखाउँछ कि नारीमाथि हुने दमन कुनै एक घटनाको परिणाम होइन, बरु दीर्घकालीन सामाजिक परम्परा, संस्कार र शक्ति सम्बन्धहरूको परिणाम हो। उनीभित्रको सहनशीलता समयसँगै विकसित भएको जीवित रहन सक्ने शक्ति हो।
उनको कथा आज पनि समाजका धेरै कुनामा दोहोरिइरहेको यथार्थ हो। बालविवाह, असमान सम्बन्ध र सामाजिक दबाब अझै पनि अनेक छायादेवीहरूको जीवनमा उपस्थित छन्।छायादेवी उपन्यासमा नारी पीडाको प्रतिनिधि मात्र नभई, सामाजिक चेतनाको प्रतिबिम्ब र परिवर्तनको सम्भावनाको संकेतका रूपमा स्थापित हुन्छिन्। उनका जीवनका अनुभूतिहरूले पाठकलाई सहानुभूति होइन, गहिरो आत्मचिन्तन र सामाजिक पुनर्विचारतर्फ उन्मुख गराउँछन्।

३.३. यक्षिणी : तिलस्मी चेतनाको रूपान्तरणशील शक्ति
महायुगमा नीलाञ्जनाको असफल प्रेम र जीवनको पीडाबाट रूपान्तरण हुँदै उपन्यासकारले उनलाई यक्षिणीको प्रतीकात्मक स्वरूपमा प्रस्तुत गरेकी छिन्। यक्षिणी चेतनाको उच्च अवस्था हो, जसले जीवनको मोह र वासनामाथि विजय प्राप्त गरिसकेकी छ। नीलाञ्जनाले भोगेको सामाजिक अपमान, वर्गीय विभाजन र पीडाभन्दा पर यक्षिणीको यात्रा सहज, सहयोगपूर्ण र शान्त देखिन्छ, जहाँ उनले नेपालका पहाड, कन्दराहरू र प्राकृतिक सौन्दर्यमा स्वतन्त्र रूपमा विचरण गर्छिन्।

जब मानिसले आफ्ना इन्द्रिय र वासनामाथि नियन्त्रण गर्छ, तब जीवनमा सफलता र शान्ति स्वतः प्राप्त हुन्छ यहीँ कुरो यक्षिणीको चरित्रले देखाउँछ। उपन्यासले बाघ र घोडाको प्रतीकमार्फत मानवभित्रको आन्तरिक संघर्षलाई देखाउँदै आत्मविजयलाई जीवनको मूल साधना बताउँछ। बाघमाथि सवार हुनु भनेको आफ्नै भित्रको क्रोध, वासना र अहंकारमाथि नियन्त्रण गर्नु हो।

महायुगले जीवनलाई भोग होइन, योग र साधनाका रूपमा प्रस्तुत गर्छ। यक्षिणीको यात्रा समाजको वर्गीय संरचनाभन्दा माथि उठेर मानवीयता, सहयोग र शुद्ध चेतनाको प्रतीक बन्छ। उनले भेट्ने समाज सहयोगी, निष्कलुष र वर्गविहीन छ, जुन आजको अहंकार र पैसामुखी समाजको विपरीत छ।
धन वा भौतिक वस्तुमा होइन, त्याग र साधनामा नै वास्तविक जीवन ऊर्जा लुकेको हुन्छ। यसरी नीलाञ्जनाबाट यक्षिणीमा भएको रूपान्तरणले उपन्यासलाई आध्यात्मिक चेतनाको यात्रा बनाउँछ, जसले ‘महायुग’लाई मानवता र चेतनाको नयाँ परिभाषा दिन्छ।

उपन्यासको अत्यन्त प्रतीकात्मक मोडमा यक्षिणीको प्रवेश हुन्छ, जसले कथालाई यथार्थबाट तिलस्मी चेतनातर्फ रूपान्तरण गर्छ। यक्षिणी नारी चेतनाको उच्चतम रूप हो जहाँ शरीर, आत्मा र चेतना एकीकृत हुन्छन्। उनको यात्रा पशुपतिनाथ, बेत्रावती हुँदै हिमालसम्म फैलिन्छ, जसले आध्यात्मिक उचाइको संकेत गर्छ। यक्षिणीको प्रतीकले नारीलाई सामाजिक संरचनाभित्र होइन, ब्रह्माण्डीय ऊर्जा र आत्मिक शक्तिको रूपमा प्रस्तुत गर्छ। यस चरणमा उपन्यास यथार्थवादी सीमाबाट बाहिर निस्केर मिथकीय र दार्शनिक संसारमा प्रवेश गर्छ।

३.४ आख्य
महायुग’मा आख्य एक जटिल, द्वन्द्वग्रस्त र वर्गीय चेतनाको प्रतिनिधि पात्रका रूपमा उभिन्छ। उनी नेपाली समाजको उच्चवर्गीय मानसिकताको प्रतिरूप हुन्। उनी सम्पन्न, शिक्षित र प्रभावशाली देखिए पनि आन्तरिक रूपमा अस्थिर, डरग्रस्त र सामाजिक मान्यताहरूको कैदी हुन्। आख्यको चरित्रले देखाउँछ कि बाह्य शक्ति र प्रतिष्ठा भए पनि आत्मिक साहस र सत्यप्रति प्रतिबद्धता नभए मानिस अधुरो रहन्छ।

नीलाञ्जनासँगको उनको सम्बन्ध प्रेमको सम्भावना बोकेको भए पनि त्यो प्रेम सामाजिक संरचना, वर्गीय अहंकार र परम्परागत मूल्यहरूको बोझले थिचिन्छ। आख्य प्रेम गर्न त सक्छ, तर त्यसलाई जोगाउन सक्दैन। उनीभित्रको द्वन्द्व—व्यक्तिगत चाहना र सामाजिक स्वीकृतिबीचको उपन्यासको एक महत्वपूर्ण मनोवैज्ञानिक तह हो। यही कारण उनी निर्णायक क्षणमा कमजोर देखिन्छन् र आफ्नो प्रेमप्रति इमानदार रहन असफल हुन्छन्।

आख्य एक व्यक्तिको असफल प्रेमकथा होइन उनी त्यो वर्गको प्रतिनिधि हुन्, जसले आफूलाई समाजको “मार्गनिर्देशक” ठान्छ, तर आफ्नै जीवनका नैतिक निर्णयहरूमा चुक्छ। उनीभित्रको अनिर्णय, डर र सामाजिक दबाबप्रतिको समर्पणले देखाउँछ कि उच्चवर्गीय चेतना प्रायः स्वतन्त्र नभई संरचनागत सीमाभित्र बाँधिएको हुन्छ।
आख्य उपन्यासमा अधूरोपनको प्रतीक हुन्। उनी चेतनाको त्यो अवस्था हुन्, जहाँ ज्ञान छ तर साहस छैन, प्रेम छ तर प्रतिबद्धता छैन। नीलाञ्जनाको उन्नत चेतनाको विपरीत, आख्य स्थिर, अल्झिएको र परम्परामा अड्किएको चेतनाको प्रतिनिधित्व गर्छन्।

४. नारीवादको पुनर्परिभाषा :
‘महायुग’ले परम्परागत नारीवादको सीमित व्याख्यालाई चुनौती दिँदै यसको एक नवीन, बहुआयामिक र दार्शनिक स्वरूप प्रस्तुत गर्छ। यहाँ नारीवाद कुनै चर्को राजनीतिक नारामा, आक्रोशपूर्ण प्रतिरोधमा वा सामाजिक संरचनामाथिको बाह्य विरोधमा सीमित रहँदैन। बरु यो आत्मअन्वेषण, चेतना जागरण र आन्तरिक रूपान्तरणको प्रक्रियाका रूपमा विकसित हुन्छ, जहाँ संघर्ष बाहिरभन्दा भित्र बढी केन्द्रित हुन्छ।

उपन्यासमा नारी पात्रहरूलाई पीडित वा दमनको प्रतीकका रूपमा होइन, आफ्नो अस्तित्वको सक्रिय निर्माता र व्याख्याकारका रूपमा प्रस्तुत गरिएको छ। उनीहरू आफ्नै जीवनका निर्णयकर्ता मात्र होइनन्, आफ्नै चेतनाका पुनर्निर्माता पनि हुन्। यस दृष्टिले नारीवाद यहाँ बाह्य संघर्षको राजनीति होइन, बरु आन्तरिक साधना र आत्मिक अभ्यासको रूप लिन्छ।
नीलाञ्जनाजस्ता पात्रमार्फत उपन्यासले नारी मुक्ति सामाजिक संरचनाको परिवर्तनले मात्र सम्भव हुँदैन, बरु चेतनाको रूपान्तरण बिना त्यो अपूर्ण रहन्छ भन्ने देखाउँछ । जब व्यक्ति आफ्नै भित्रका डर, मौनता, दमन र अस्वीकारहरूलाई बुझ्न थाल्छ, त्यही क्षणबाट वास्तविक मुक्ति प्रक्रिया सुरु हुन्छ। नारीवाद यहाँ आत्मबोधको यात्रासँग जोडिन्छ।
कृतिको दार्शनिक शक्ति यही हो कि यसले नारीलाई अस्तित्वगत प्रश्नका रूपमा पुनर्परिभाषित गर्छ। नारीत्व यहाँ लिङ्गीय सीमाभन्दा माथि उठेर चेतनाको प्रतीक बन्छ, जसले सम्पूर्ण मानव अस्तित्वलाई नै पुनर्विचार गर्न बाध्य बनाउँछ।

५. दार्शनिक विमर्श :
‘महायुग’को सबैभन्दा शक्तिशाली पक्ष यसको दार्शनिक तह हो, जसले सम्पूर्ण कथानकलाई अस्तित्वगत प्रश्नहरूको केन्द्रमा स्थापित गर्छ। यहाँ प्रत्येक पात्र चेतनाको कुनै न कुनै तहको प्रतिनिधि स्वरूप हो। प्रत्येक घटना बाह्य रूपमा जे देखिन्छ, त्यसको भित्री तहमा अर्थ, द्वन्द्व र आत्मचिन्तनको बहुआयामिक संरचना लुकेको हुन्छ।
उपन्यासमा संवादहरू पनि साधारण आदान–प्रदान मात्र होइनन्; ती अस्तित्वलाई झक्झक्याउने दार्शनिक संकेत हुन्। “म को हुँ?”, “मेरो उद्देश्य के हो?”, “के म आफैँ आफ्नो बाधक हुँ?” जस्ता प्रश्नहरू यहाँ सम्पूर्ण मानव चेतनाको साझा प्रतिध्वनि बनेका छन्। यी प्रश्नहरूले पाठकलाई पनि त्यही अस्तित्वगत द्वन्द्वमा प्रवेश गराउँछन्, जहाँ उत्तरभन्दा बढी प्रश्नहरूको महत्त्व हुन्छ।

कृतिको मूल सार जीवनको उद्देश्य, चेतनाको विकास र आत्मिक यात्राको खोजमा केन्द्रित छ। यहाँ जीवन भोगाइ होइन, बुझाइ हो। चेतना अवस्था होइन, निरन्तर विकसित हुने प्रक्रिया हो। आत्मा यहाँ स्थिर तत्व होइन, निरन्तर यात्रा हो।

६. प्रतीकात्मकता र बिम्बशक्ति :
‘महायुग’को भाषा बाह्य रूपमा सरल, सहज र प्रवाहपूर्ण देखिए पनि यसको आन्तरिक तह अत्यन्त प्रतीकात्मक र बिम्बात्मक संरचनाले भरिएको छ। यही द्वैधता सरलता र गहिराइको सहअस्तित्व यस उपन्यासको सौन्दर्यात्मक शक्ति हो। प्रत्येक शब्द अर्थको विस्तार हो। प्रत्येक बिम्ब चेतनाको संकेत हो।

उपन्यासमा प्रयोग गरिएका बाघ, घोडा, माटो, यात्रा, दलदल जस्ता प्रतीकहरूले मानवीय मनोविज्ञान र सामाजिक संरचनाको गहन अध्ययन प्रस्तुत गर्छन्। बाघ यहाँ आन्तरिक आत्मसंघर्ष, भय र दमनसँगको निरन्तर टकरावको प्रतीक हो। यसले मानवभित्र लुकेको शक्ति र हिंसाको द्वन्द्वलाई उजागर गर्छ, जहाँ व्यक्ति आफ्नै अस्तित्वसँग लडिरहेको हुन्छ।
घोडा जीवनको गतिशीलता, आकांक्षा र नियन्त्रणको सूचक बनेको छ। यो मानव इच्छाशक्ति र सामाजिक निर्देशनबीचको सन्तुलनको प्रतीक हो, जसले जीवन सधैं गति र नियन्त्रणको द्वन्द्वमा चलिरहेको हुन्छ भन्ने देखाउँछ। त्यस्तै, माटो अस्तित्वको आधार हो।जन्म, मृत्यु र पुनर्जन्मको चक्रसँग जोडिएको मूल तत्व, जसले मानवलाई आफ्नो जरा र वास्तविकतासँग जोडेर राख्छ।

दलदल भने सामाजिक जटिलता, नैतिक अस्पष्टता र संरचनागत जटिलताको रूपक हो, जहाँ व्यक्ति सजिलै प्रवेश गर्छ तर सहजै बाहिर निस्कन सक्दैन। यसले आधुनिक समाजको जटिल संरचना र त्यसभित्रको मानवीय असहजतालाई चित्रित गर्छ।

यी सबै प्रतीकहरूको संयुक्त प्रभावले ‘महायुग’लाई अर्थहरूको बहुस्तरीय जालमा रूपान्तरण गर्छ, जहाँ प्रत्येक बिम्बले नयाँ व्याख्या, नयाँ चेतना र नयाँ दार्शनिक सम्भावना जन्माइरहन्छ।

७. सामाजिक यथार्थ :
महायुगले नेपाली समाजको बहुपक्षीय यथार्थलाई अत्यन्त सूक्ष्म, गहन र बहुआयामिक रूपमा चित्रण गरेको छ। यसले समाजलाई ऐतिहासिक, सांस्कृतिक, आर्थिक र मानसिक तहहरूमा विस्तारित एक जीवित संरचनाका रूपमा प्रस्तुत गर्छ। सुकुम्बासी बस्तीको असुरक्षा र अभाव, शहरी जीवनको कृत्रिमता र प्रतिस्पर्धा, पहाडी संस्कारको परम्परा र मौन अनुशासन, धर्मको दोहोरो प्रयोग र यसको सामाजिक–राजनीतिक प्रभाव, तथा पारिवारिक संरचनाभित्रका शक्ति सम्बन्धहरू यी सबै पक्षहरू उपन्यासमा स्पष्ट रूपमा उपस्थित छन्।
तर ‘महायुग’को विशेषता यथार्थको चित्रणमा सीमित छैन। यसको सबैभन्दा महत्वपूर्ण दार्शनिक दृष्टि भनेको समाजलाई दोषपूर्ण संरचनाका रूपमा मात्र नहेरी, चेतना नजागेको प्रणालीका रूपमा बुझ्ने प्रयास हो। यहाँ सामाजिक समस्या आन्तरिक चेतनाको अपूर्ण विकासको परिणामका रूपमा व्याख्या गरिन्छ। यस दृष्टिकोणले समाजलाई स्थायी रूपमा दोषी ठहर गर्दैन, बरु रूपान्तरण सम्भव भएको गतिशील क्षेत्रका रूपमा प्रस्तुत गर्छ।

सुकुम्बासी बस्ती गरिबीको परिणाम होइन, संरचनात्मक असमानता र चेतनात्मक उपेक्षाको प्रतीक पनि हो। शहरी जीवन आधुनिकताको संकेत होइन, बरु विच्छिन्नता र आत्मविस्मृतिको अवस्था पनि हो। पहाडी संस्कार परम्परा होइन, अनुशासन र मौनताको जटिल मनोवैज्ञानिक संरचना हो। धर्मको दोहोरो प्रयोग आस्था होइन, शक्ति र नियन्त्रणको सूक्ष्म माध्यम पनि हो।यसरी महायुगले समाजलाई नैतिक आरोपको कठघरामा होइन, आत्मचिन्तनको दर्पणमा राख्छ। यसले पाठकलाई प्रश्न गर्न प्रेरित गर्छ—समस्या बाहिर छ कि भित्र? दोष संरचनामा छ कि चेतनामा? यही प्रश्नमार्फत उपन्यासले सामाजिक यथार्थलाई दार्शनिक पुनर्व्याख्या बनाउँछ।

८. भाषा, शैली र कथन प्रविधि
महायुगको भाषा संयमित, प्रवाहपूर्ण र गहन दार्शनिक चेतनाले भरिएको छ, जसले प्रत्येक वाक्यलाई अनुभूतिको तहमा रूपान्तरण गर्छ। यसको शैलीगत संरचना एकै स्वरमा सीमित छैन; बरु यो निरन्तर रूपान्तरणशील छ, जहाँ यथार्थवाद, काव्यात्मकता र मिथकीय चेतना एकअर्कामा घुलमिल भएर नयाँ अर्थ-क्षेत्र निर्माण गर्छन्। यही बहुरूपी शैलीले उपन्यासलाई एकरेखीय कथनबाट मुक्त गर्दै बहुआयामिक अनुभवमा विस्तार गर्छ।

कहिले कथन अत्यन्त यथार्थवादी भएर सामाजिक जीवनका कठोर यथार्थहरूलाई उजागर गर्छ, कहिले काव्यात्मक भएर भावनाको सूक्ष्म तरंगहरूलाई स्पर्श गर्छ, र कहिले मिथकीय तहमा प्रवेश गरेर मानव अस्तित्वलाई प्रतीकात्मक ब्रह्माण्डसँग जोड्छ। यी तीनै तहहरूबीचको निरन्तर आवागमनले पाठकलाई स्थिर अर्थमा रोक्दैन, बरु अर्थको अनन्त सम्भावनातर्फ धकेल्छ।

उपन्यासको कथन प्रविधि पनि प्रयोगात्मक छ, जसले परम्परागत कथावाचनको संरचनालाई चुनौती दिन्छ। घटनाहरू अनुभव गराइन्छन्, प्रश्न गराइन्छन् र पुनःव्याख्या गर्न प्रेरित गरिन्छन्। यस प्रक्रियामा पाठक निष्क्रिय ग्रहणकर्ताको भूमिकाबाट बाहिर निस्केर सक्रिय सहभागीमा रूपान्तरण हुन्छ।पाठक स्वयं कथाभित्र प्रवेश गरेर अर्थ निर्माण प्रक्रियामा सहभागी हुन्छ। यही सहभागितात्मक संरचनाले उपन्यासलाई जीवित अनुभवात्मक यात्रा बनाउँछ, जहाँ भाषा स्वयं चेतनाको गतिशील रूप बन्छ।

९. कमजोरीहरू
महायुग जस्तो बहुस्तरीय र दार्शनिक उपन्यासमा शक्ति जति गहन छ, केही संरचनात्मक र शैलीगत कमजोरीहरू पनि देखिन्छन्, जसले यसको समग्र प्रभावमा असन्तुलन सिर्जना गर्न सक्छ।

पहिलो, अत्यधिक दार्शनिकता कहिलेकाहीँ कथानकको स्वाभाविक प्रवाहलाई ढाक्ने खतरा हुन्छ। पात्रहरूको भावनात्मक र घटनात्मक विकासभन्दा विचारप्रधान अभिव्यक्ति हावी हुँदा कथा “अनुभव” भन्दा बढी “व्याख्या” जस्तो लाग्न सक्छ। यसले केही पाठकका लागि भावनात्मक जोड घटाउन सक्छ। दोस्रो, प्रतीकात्मकता र मिथकीय तहहरूको अत्यधिक प्रयोगले कथालाई कहिलेकाहीँ अस्पष्ट बनाउँछ। सबै पाठकले एउटै प्रतीकलाई एउटै अर्थमा ग्रहण गर्न नसक्दा अर्थ-बहुलता कहिलेकाहीँ अर्थ-अनिश्चिततामा रूपान्तरण हुन सक्छ। तेस्रो, कथाको बहुस्तरीय संरचना (कथा अघि, मुख्य कथा, कथा पछि) प्रयोगात्मक भए पनि, केही ठाउँमा ती तहहरूबीचको संक्रमण अझ सहज हुन सक्थ्यो। कहिलेकाहीँ संरचना कथा भन्दा बढी “ढाँचा प्रदर्शन” जस्तो अनुभूत हुन्छ। चौथो, पात्र नीलाञ्जनाको प्रतीकात्मक महत्त्व अत्यधिक भएकाले उनको व्यक्तिगत मनोवैज्ञानिक यथार्थ कहिलेकाहीँ छायामा पर्न सक्छ। पाठकलाई “मानव पात्र” भन्दा बढी “दार्शनिक प्रतीक” भेटिएको अनुभूति हुन सक्छ।

१०. पाठकीय अनुभव :
महायुग पढ्नु आत्मिक यात्रामा प्रवेश गर्नु हो, जहाँ पाठक शब्दहरूको सतही अर्थमा सीमित रहँदैन, बरु आफ्नै चेतनाको गहिराइमा डुब्न बाध्य हुन्छ। उपन्यासको कथानकभित्र प्रवेश गरेसँगै पाठक आफैँलाई प्रश्न गर्न थाल्छ मेरो जीवन के हो? मेरो पहिचान के हो? र म जुन समाजमा बाँचिरहेको छु, त्यो कति वास्तविक वा निर्मित हो?

यस कृतिको विशेषता यही हो कि कथा पढ्दै गर्दा मात्र होइन, कथा सकिएपछि पनि कथा समाप्त हुँदैन। पाना बन्द भए पनि चेतनाभित्र यसको गुञ्जन जारी रहन्छ। पात्रहरू, प्रतीकहरू र घटनाहरू पाठकको मनभित्र पुनःसंरचित भएर निरन्तर संवाद गरिरहन्छन्। यही निरन्तरता महायुगको गहन प्रभाव हो, जसले यसलाई साधारण आख्यानभन्दा फरक बनाउँछ।
उपन्यासको सबैभन्दा ठूलो सफलता नै पाठकको दृष्टिकोण रूपान्तरण गर्नु हो। यसले कथा सुनाउँदैन, बरु हेर्ने तरिका नै बदलिदिन्छ। समाजलाई हेर्ने दृष्टि, आत्मालाई बुझ्ने दृष्टि र अस्तित्वलाई अर्थ्याउने दृष्टि क्रमशः परिवर्तन हुँदै जान्छ। पाठक बाह्य संसारको निष्क्रिय अवलोकनकर्ताबाट भित्रैदेखि प्रश्न गर्ने, विश्लेषण गर्ने र अनुभूति गर्ने चेतनशील अस्तित्वमा रूपान्तरण हुन्छ। यसले पाठकलाई स्थिर उत्तर दिँदैन, बरु अनन्त प्रश्नहरू उपहार दिन्छ। यही कारणले यो उपन्यास पढेर समाप्त हुँदैन, बरु बाँचेर निरन्तर बुझिँदै जाने अनुभवमा रूपान्तरण हुन्छ, जहाँ प्रत्येक सम्झना र विचारले नयाँ अर्थ जन्माइरहन्छ।

११. निष्कर्ष :
‘महायुग’ चेतनाको बहुस्तरीय दस्तावेज हो, जसले साहित्यलाई परम्परागत कथनको सीमाबाट मुक्त गर्दै अस्तित्वको गहिराइतर्फ विस्तार गर्छ। यो कृति नारीवादी साहित्यको साँघुरो परिभाषाभन्दा माथि उठेर मानव अस्तित्व, सामाजिक संरचना र आत्मचेतनाबीचको जटिल सम्बन्धलाई दार्शनिक रूपमा पुनर्परिभाषित गर्ने प्रयास हो।

यसले समाजलाई स्थापित मूल्य, शक्ति संरचना र पहिचानका बनावटहरू कति वास्तविक छन्? भनी निरन्तर प्रश्न गर्छ। त्यही प्रश्नमार्फत यसले आत्मालाई झक्झक्याउँछ र चेतनालाई नयाँ तहमा विस्तार गर्ने अवसर दिन्छ। महायुगभित्र नारी, पुरुष र समाज सबै एउटै चेतनात्मक यात्राका भिन्न अभिव्यक्ति हुन्, जसले अन्ततः एकीकृत मानव अनुभूतितर्फ संकेत गर्छ।
यस अर्थमा महायुग कुनै बन्द कथा होइन, बरु खुला अनुभव हो, जसले पाठकलाई निष्क्रिय ग्रहणकर्ताबाट सक्रिय अनुभूतिकर्तामा रूपान्तरण गर्छ। यो कृति समयको कुनै एक खण्डको प्रतिनिधित्व होइन, बरु चेतनाको निरन्तर प्रवाह हो, जहाँ प्रत्येक पठनले नयाँ अर्थ जन्माउँछ। लेखिकाको लेखन यात्रा निरन्तर अघि बढोस्। शुभकामना ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।