छापाखानाको एउटा एकतला घरैजत्रो ठुलो आकारको यन्त्रका चार पाँचवटा घानमा ‘रविलाल अधिकारी स्मृतिग्रन्थ’को आवरण पृष्ठ छाप्नका लागि तयार थियो । उक्त यन्त्रका धातुका पातामा टाँसिएका बाका तस्बिर बिस्तारै घुमेको देख्दा म भावुक भएँ । भौतिकवादी मान्यता राख्ने भएपनि यसरी भावुक बन्नुमा बासँगका भावनात्मक सम्बन्धले भूमिका खेले होलान् । उक्त समय बाको मृत्युपछि उहाँका सन्दर्भमा लेखिएका संस्मरण र उहाँका प्रकाशित कृतिका समीक्षाहरू प्रकाशनका लागि गरिएको करिब दुई वर्षको अथक प्रयत्नको अन्तिम स्वरूप निस्कने बेला थियो त्यो । भौतिक रूपमा यस संसारमा र मेरो समीपमा बा नरहे पनि उहाँको कीर्ति र योगदानलाई जोगाउने एउटा काम भएपनि गर्न सकिएको हो कि भनेर त्यसबखत मैले बालाई सम्झिएँ । २०७९ फागुन १६ गते बाको निधनपछि उहाँको अभिभावकत्व र वात्सल्यको अनुभूति गर्न नपाएपनि अहिले उक्त स्मृतिग्रन्थको आवरण पृष्ठमा राखेको उहाँको ठुलो आकारको तस्बिर हेरेर नै बाको सम्झनाको तिर्सना मेटाउन पर्ने वास्तविकता मसँग छ ।
जीवनमा असल काम गरेर सार्वजनिक वृत्तमा परिचित भएको, धेरै मानिसबीच चर्चित व्यक्तित्वको निधन भएका अवस्थामा उक्त व्यक्तिको जीवन र जीवनका सङ्घर्षका क्षणहरू र उसले समाजलाई गरेका योगदानको समष्टिगत दस्तावेजीकरण गर्ने हिसाबले स्मृतिग्रन्थ वा अन्य कुनै नाममा पुस्तक वा अन्य प्रकारका प्रकाशन सार्वजनिक गर्ने गरिन्छ । तर बिडम्बना के पनि छ भने, यहाँ सीमित व्यक्तिबीच परिचित, गाउँसहरभित्रै पनि राम्ररी नचिनिने, सार्वजनिक व्यक्तित्व निर्माण भई नसकेका केही व्यक्ति आफ्नाबारे प्रशंसाका रास बनाउन चिनेजानेकालाई हारगुहार गरेर आफ्नैबारे ग्रन्थ निकाल्छन् । वर्तमानभन्दा पनि भविष्यमा म कतै हराएर, बिलाएर जाने हुँ कि भनेर अहिले नै मृत्युपछिको अनिश्चिततासँग डराएर आफूलाई अमर बनाउनतिर लाग्छन् । आफैँलाई देवत्वकरण गर्न कस्सिन्छन् । सार्वजनिक जीवनमा कसैले आदरणीय, सम्माननीय, अनुकरणीय, असल व्यक्तित्वका रूपमा उक्त व्यक्तिलाई लिन्छ कि लिँदैन भन्ने हेक्का नराखी आफू जीवित छँदै सम्मान पाउन उद्यत हुने प्रवृत्ति पनि हाम्रा समाजमा व्याप्त छ । तथापि आत्मप्रशंसक प्रवृत्ति भएका व्यक्तिले बाह्य वृत्तले के भन्छ भन्ने हेक्का राख्न आवश्यक पनि ठान्दैन होला । अभिनन्दन ग्रन्थ, स्वजनका दृष्टिमा म, अनुकरणीय व्यक्तित्व ‘...’ आदि भनेर धेरै आत्मश्लाघीका पुस्तक निस्किएका हामीले देखेका पनि छौँ । प्रशस्त पैसा खर्चिएर बन्ने यस्ता पुस्तकका पाठक अवश्य पनि त्यस प्रक्रियामा सहभागी भएका व्यक्ति, रचना पठाएका लेखक र देवत्वकरण गर्न खोजिएका व्यक्तिका परिवारका सदस्यमात्र हुने होलान् भन्ने लाग्छ ।
स्मृतिग्रन्थ प्रकाशनका सन्दर्भमा यस किसिमका बहस र धारणाको अध्ययन गरेरमात्र प्रकाशनका प्रक्रियामा अघि बढ्ने वा नबढ्ने निर्णय गर्दा उपयुक्त हुने देखिन्छ । प्रा. डा. रविलाल अधिकारीको परिवारका सदस्यका नाताले हामीले पनि यो विषयमा छलफल मन्थन ग¥यौँ । बालाई गुमाएको पीडा र नेपाली साहित्यका क्षेत्रमा उहाँका योगदान तथा प्रकाशमा नआएका अथवा उहाँले ल्याउन योजना बनाएका काम अघि बढाउने हुटहुटीले गर्दा पनि स्मृतिग्रन्थ प्रकाशनका लागि अघि बढ्नुपर्ने हाम्रो सोच प्रबल बन्यो । एउटा मानिस भएर सरदर जिउने जीवनभन्दा नेपालमा शिक्षा र साहित्यका क्षेत्रमा बाले गर्नुभएको योगदानका कारण उहाँको जीवन सरदर मानिसको भन्दा साहित्यका क्षेत्रमा उल्लेखनीय नै रहेको मेरो बुझाइ छ । नेपाली भाषा र साहित्यको अध्ययन तथा अध्यापन र साहित्यमा कविता, निबन्ध, नियात्रा र समालोचनाका क्षेत्रमा उहाँले गरेका कामले ती क्षेत्रको श्रीवृद्धिमा अवश्य नै सकारात्मक योगदान गरेको मेरो ठहर पनि छ । साथै शोकका समयमा सान्त्वना दिन आउने व्यक्तित्वहरूले पनि यसतर्फ अघि बढ्न सुझाव दिएका र आवश्यक परेका खण्डमा सहयोग गर्ने प्रतिबद्धता पनि जनाएका कारण हामीलाई स्मृतिग्रन्थ प्रकाशन गर्न अघि बढ्ने बल मिलेको थियो । यसैको फलस्वरूप स्मृतिग्रन्थ निकाल्ने निर्णयसहित संस्मरण, समीक्षा, कविता आदि रचना बालाई चिन्ने, उहाँका समकालीन, पाठक, उहाँका गुरु, विद्यार्थी, आफन्तलगायतसँग माग्ने निर्णय ग¥यौँ ।
स्मृतिग्रन्थ प्रकाशनका सन्दर्भमा करीब अढाई सयजति व्यक्तित्वहरूसँग संस्मरण वा समीक्षा लेखनका लागि आग्रह गरेका थियौँ । बाका साथी, समकालीन, पाठकलगायत चिनेजानेका सबैसँग रचनाका लागि सुरुमा सहयोग माग्यौँ । त्यस क्रमसँगै सम्बन्धित व्यक्तिलाई भेट्ने, फोन सम्पर्क गर्ने र संस्मरण, कविता, समीक्षा आदिका लागि अनुरोध गर्ने क्रम अघि बढ्यो । आफ्ना रचना दिने सन्दर्भमा लेखकका आफ्ना आफ्ना धारणा हुनु स्वाभाविक पनि हो । यस प्रक्रियामा रचना दिन स्वीकृति प्राप्तिका लागि केही व्यक्तिसँग धेरै कुराकानी गर्नु परेको थियो । सम्पादन मण्डलमा को को छन् भन्ने पनि उनीहरूका लागि महत्त्वको विषय बन्ने नै भयो । कसैले रचना दिने सन्दर्भमा महिनौँ झुलाएर राख्ने काम गरेका थिए र अन्त्यमा रचना दिन असफल पनि रहे । अथवा उनीहरूले रचना उपलब्ध गराउन नचाहेर परिवारसँग किन नराम्रो हुनु भनेर झुलाएका पनि हुन सक्छन् भन्ने अनुमान पनि गर्न सकिएला । विशेष गरी कृति समीक्षाका सन्दर्भमा केही गन्यमान्य, सक्रिय साहित्यिक व्यक्तित्वलाई कृतिसमीक्षाका लागि अनुरोध गर्दै बाका कृति उपलब्ध गरायौँ । दुईतीन महिना पछि सोध्दा सकिन लागेको बताउने, एक दुई महिना फोन पनि नउठाउने, आफूले पनि फोन नगर्ने गरेर केही व्यक्तित्वहरूले झुलाउने काम गरे । ग्रन्थ निकाल्न ढिला हुन लागिसकेको अवस्थामा ती झुलाउने व्यक्तित्वलाई उसले नलेख्ने हो र अर्कोलाई दिन प¥यो भन्दा पनि पठाइहाल्छु भनेर फेरि झुलाउने काम गरे । त्यसले गर्दा न नयाँ उपयुक्त व्यक्तित्वलाई सोही कृतिको समीक्षाका लागि अनुरोध गर्न पाइयो, न कृतिसमीक्षा स्मृतिग्रन्थमा समाविष्ट नै गर्न सकियो । यस किसिमको अकर्मण्यताले ग्रन्थको पूर्णतामा नकारात्मक असर परेको पनि महसुस भयो । त्यसैगरी कुनै लेखकले सम्पादन मण्डलका सदस्यले आफ्ना रचना सम्पादन गरेर बिगारिदिने डर पनि जाहेर गरे र रचना पनि दिएनन् । कतिपय लेखकसँग एकपटक रचना माग्न र अर्को पटक स्वयं लेखकले रचना पठाएको खबर गर्नबाहेक अरू ताकेता आवश्यक परेन ।
ग्रन्थ प्रकाशनका लागि सुरुवातका चरणमा लेख–रचना माग्न गरिएका कुराकानीबाट निकै उत्साहित भइँदो रहेछ । सबैले सकारात्मक कामको सुरुवात भएको र आफ्नातर्फबाट भरपूर सहयोग गर्ने कुरा बताउने पनि गर्दा रहेछन् । कुरा गर्नभन्दा काम गर्न अवश्य कठिन हुन्छ; त्यसैले पनि होला यस किसिमका औपचारिकतामा बोलिएका कुरा बोलीमा नै सीमित हुने रहेछन् । कसैले “आदरणीय गुरुका लागि हामीले गर्नुपर्ने काम तपार्इँले गर्न थाल्नुभएछ, म रचना पठाइहाल्छु नि” जस्ता आश्वासन पनि दिए । यस्ता सन्देशले निकै उत्साहित भएर अब धेरै मानिसलाई लेखरचनाका लागि ताकेता गर्नतिर लागियो भने ग्रन्थ ठुलो हुनसक्ने अनुमान गर्न बाध्य भइँदो रहेछ । तसर्थ ग्रन्थमा रचना छुटाउन नहुने व्यक्तित्वलाई मात्र पहिचान गरेर सम्पर्क गर्ने र संस्मरण वा समीक्षा स्मृतिग्रन्थका लागि पठाउन अनुरोध गर्नुपर्ने महसुस भएको थियो । सबैले रचना पठाएका खण्डमा किताब निकै ठुलो हुने, कसैका रचना समाविष्ट नहुँदा गुनासो आउन सक्ने कारणले पनि यस किसिमले अघि बढ्न उपयुक्त हुने रहेछ भन्ने महसुस भयो । स्मृतिग्रन्थमा धेरै संस्मरणलाई स्थान दिनु उपयुक्त नहुने रहेछ भन्ने पनि लाग्यो । स्मरण गर्न खोजिएका व्यक्तिको जीवनका महत्त्वपूर्ण पाटा, घटना र प्रवृत्तिलाई उजागर गर्ने, अभिलेखिकरण गर्ने सन्दर्भमा सबैका संस्मरण महत्त्वपूर्ण भए पनि दोहोरिने तथ्य र घटना तथा कतिपय ठाउँमा उल्लेख हुने फरक तथ्यले स्मृतिग्रन्थ सम्पादन तथा प्रकाशनको समय र स्रोतका हिसाबले खर्चिलो बनाउने रहेछ ।
सार्वजनिक वृत्तमा परिचित, समाजका लागि योगदान गरेका कारण असल व्यक्तित्वका रूपमा सर्वसाधारणले ग्रहण गरेका व्यक्तिको समग्र जीवनी, योगदान, जीवन दर्शन आदिको एकै ठाउँमा सूचना सङ्ग्रह गरी सम्बन्धित व्यक्तिको फेहरिस्त राख्ने काम महत्त्वपूर्ण नै ठहरिएला । मानिसले जीवित छँदा गरेका सबै कामको समष्टिगत प्रस्तुति, त्यसको लेखाजोखा र त्यस व्यक्तिप्रति विविध मानिसका अन्तिम र सारपूर्ण दृष्टिकोणको लेखोट स्मृतिग्रन्थ हुनसक्ने भएकाले स्मृतिग्रन्थका नायकको छवि प्रक्षेपण गर्ने सन्दर्भ स्मृतिग्रन्थ प्रकाशनको मूल उद्देश्य बनेको देखिन्छ । कुनै पनि क्षेत्रमा सरदर योगदान गरेको मानिसलाई उच्चकोटीको र बृहत् योगदान गरेकालाई ठिकठिकै खालको बनाउन पनि स्मृतिग्रन्थका सम्पादकको भूमिका रहन्छ । तथापि स्मृतिग्रन्थले प्रक्षेपण गरेको वा स्थापित गर्न खोजेको व्यक्तित्व नै अन्तिम भने हुने होइन । अन्य स्रोत र अनुसन्धान तथा स्वयम् लेखकका कृति र रचनाको अध्ययनले पनि फरक अवस्थातर्फ सङ्केत गर्न सक्छन् । त्यसैले स्मृतिग्रन्थ कुनै व्यक्तिको व्यक्तित्वको मूल्याङ्कन गर्ने अन्तिम अवसर भने होइन । यो निरन्तर चलिनै रहन्छ । नेपाली साहित्यको इतिहास लेखनका क्रममा पनि सम्बन्धित स्रष्टाले गरेका योगदानको चर्चा उल्लेख भएको हुन्छ ।
अन्य क्षेत्रमा जस्तै साहित्यिक वृत्तमा पनि व्यक्तिको राजनीतिक दृष्टिकोण, विचार पक्षधरताका आधारमा आफ्नालाई प्रबद्र्धन गर्ने र फरक विचारका व्यक्तिलाई वास्ता नगर्ने, अवसरबाट बञ्चित गर्ने, योगदानको पहिचान र अभिलेखीकरण गर्न कञ्जुस्याइँ गर्ने अवथा समग्रमा भित्तैसम्म पु¥याउन प्रयत्न गर्ने प्रवृत्ति छ । साहित्यको क्षेत्रमा काम गर्न राज्यले स्थापना गरेका र समान व्यवहार गर्ने भनेर कल्पना गरिएका संस्थाहरूको भूमिका पनि नेपाली साहित्यका क्षेत्रमा योगदान गरेका साहित्यकारहरूको पहिचान, प्रोत्साहन, सम्मान र संरक्षणका सबालमा निष्पक्ष छैनन् । एउटा साहित्यकारका बारे निधन भएको साहित्यकारले के लेखेको थियो र के भनेर आलोचना वा टिप्पणी गरेको थियो भन्ने आधारमा जीवनभरी यस पृथ्वीबाट बिदा भइसकेका व्यक्तिसँग प्रतिशोध र तिक्तता राख्ने व्यक्तिलाई कसरी प्रगतिवादी साहित्यकार ठह¥याउन सकिन्छ? यस किसिमको प्रवृत्तिसँग पनि स्मृतिग्रन्थ प्रकाशनका क्रममा हात जोड्दै दुईतीनपटक रचना माग्दा पनि नदिने वरिष्ठ साहित्यकारहरूसँगको कुराकानीबाट साक्षात्कार गर्ने अवसर मिल्यो । स्मृतिग्रन्थ प्रकाशनपूर्व बासँग निकट सम्बन्ध रहेका साहित्यकारहरूको वृत्तबारे परिवारलाई सम्पूर्ण जानकारी नहुन सक्छ । आफूले भनेका वा स्वयम् आफू नै ग्रन्थ सम्पादन, प्रकाशनको भूमिकामा नरहँदा कतिपय साहित्यकारले संस्मरण वा समीक्षा उपलब्ध गराउन पनि चाहेनन् । यो एउटा श्रद्धाको विषयलाई व्यक्तिगत सम्बन्ध र रुचिका आधारमा ग्रहण गर्ने प्रवृत्तिले स्मृतिग्रन्थलाई कुनै घाटा पु¥याएको मैले ठानेको छैन । सम्पादनका हिसाबले स्मृतिग्रन्थ तटस्थ बनेको मैले पाएको छु । यहाँ बाका बारे चाहिने नचाहिने कुरा भए, यो राख्न हुँदैन, हटाउन पर्छ भनेर हामीले मत राखिएन । कुनै पनि व्यक्ति सर्वगुणसम्पन्न हुँदैन र उसका कमीकमजोरी पनि हुनसक्छन् र ती ग्रन्थमा आउँदा फरक पर्दैन भन्ने हाम्रो मान्यता रह्यो । बाका फुटकर निबन्धहरूको अध्ययन गर्ने क्रमसँगै कतिपय व्यक्तित्वका प्रवृत्ति र उहाँहरूबीचको वैचारिक भिन्नताले रचना नआएको हुनसक्ने पनि मैले आकलन गर्ने मौका मिल्यो । जसले गर्दा दुईतीन पटक संस्मरण या समीक्षाका लागि बिन्ती बिसाँउदा पनि नदिने वरिष्ठ साहित्यकारहरूलाई पुनः अनुरोध नगर्दा समयको बचत हुने पनि लागेको थियो । मलाई यी र यस्तै प्रकारका प्रवृत्तिसँग साक्षात्कार गर्ने अवसर ‘रविलाल अधिकारी स्मृतिग्रन्थ’ प्रकाशनका सन्दर्भले दियो ।
बाका अप्रकाशित पुस्तक तथा रचना र उहाँका फुटकर निबन्ध, नियात्रा, लेखहरूको सङ्कलन क्रमशः गर्दै जाने सन्दर्भमा मलाई ‘ज्याग्दीखोलाको तरङ्ग’ त्रैमासिकमा प्रकाशित उहाँको एउटा निबन्ध पढ्ने मौका मिल्यो । “स्मृतिग्रन्थको गाँड सक्सकाउँदा” शीर्षकको निबन्धमा स्मृतिग्रन्थ र अभिनन्दन ग्रन्थका बारे बाका स्पष्ट धारणा पढ्ने अवसर मिल्यो । संयोगवश मैले यो निबन्ध ‘रविलाल अधिकारी स्मृतिग्रन्थ’ प्रकाशनपछि उहाँका निबन्धको खोजबिनका क्रममा भेटेको थिएँ । बा पुस्तक विमोचन र भूमिका लेखन संस्कृतिको विरोधी रहनुभएको कुरो त उहाँसँगको सङ्गत र उहाँका पहिलेका निबन्ध पढेका आधारमा मलाई ज्ञात नै थियो । स्मृतिग्रन्थसम्बन्धी यस निबन्धमा उहाँले गाँडले शरीरको प्राकृतिक स्वरूपमा विकार आएको जनाएजस्तै अभिनन्दन ग्रन्थ र स्मृतिग्रन्थरूपी गाँडले नेपाली साहित्यलाई साह्रै कुरूप बनाएको बताउनुभएको छ । उहाँले भन्नुभएको छ, “हाम्रा नेपाली साहित्यमा भने रचनासचना केही नभएका खैरातीलाई पनि महान् भनेर अभिनन्दन गर्ने र अभिनन्दनग्रन्थ छपाउने तथा मरिसकेको भए स्मृतिग्रन्थ निकालेर सहृदयी देखिने रोग गलगाँड बनेर झुँडिएको छ र स्तरहीनताको सङ्केत दिएको छ ।” यसरी स्मृतिग्रन्थ वा अभिनन्दन ग्रन्थ निकालेर व्यक्तिका गुणगान छपाउन र ठुला साहित्यकार र गुणी व्यक्तिका सन्तानका रूपमा चिनिन गरिने प्रयत्नलाई उहाँले उचित देख्नुभएको छैन । “बरू ठुला र राम्रा साहित्यकारहरूका समग्र रचनालाई एकत्रित गरी रचनावली वा ग्रन्थावली प्रकाशित गरेर पाठकहरूलाई लाभान्वित गराउन” तर्फ उहाँले सुझाव दिनुभएको छ ।
समग्रमा स्मृतिग्रन्थका सन्दर्भको माथि उल्लिखित बाको विचारमा मेरो पनि सहमति छ । बाको निधनपछि स्मृतिग्रन्थ प्रकाशन हुँदासम्मको मेरो अनुभवका आधारमा पनि के उपयुक्त देख्छु भने समाज विकासमा महत्त्वपूर्ण योगदान पु¥याएका व्यक्तिको जीवनी, व्यक्तित्व, कृतित्व आदिको अध्ययन गर्ने, स्रष्टालाई चिनेजानेका व्यक्ति, संघसंस्थाहरूबाट सूचना लिने र त्यसका आधारमा पाठक, अध्येता, साहित्येतिहासविद्हरूलाई उपयोगी हुने प्रकाशन निकाल्ने काम उपयुक्त हुने देखिन्छ । स्रष्टाले गरेका योगदान, उसका सबल पक्ष र सुधार गर्न सकिने कुरा समाविष्ट गर्दा उक्त प्रकाशनको सन्तुलन पनि कायम हुन जान्छ । त्यसैगरी प्रकाशित, अप्रकाशित, फुटकर आदि रचनाको अध्ययनले समग्र परिचयात्मक पुस्तक प्रकाशनपछि विधागत प्रवृत्ति र स्रष्टाका रचनाको रचनावली प्रकाशन गर्ने आधार पनि तय गर्दछ । बिहे भनेको त्यस्तो फल हो जुन कुरा खाए पनि पछुताइन्छ र नखाएपनि भनेजस्तो निष्कर्ष यसले निकाल्यो भन्न पनि सक्नुहुन्छ पाठकवर्गले । स्मृतिग्रन्थ, अभिनन्दन ग्रन्थ आदि भन्दा स्रष्टासँग सम्बन्धित भएर कस्ता प्रकाशनमा ध्यान दिन जरुरी हुने रहेछ भन्ने ज्ञान मैले पनि बाको स्मृतिग्रन्थ प्रकाशनबाट लिन पाएँ । यो अनुभव अबका दिनमा अभिनन्दन ग्रन्थ तथा स्मृतिग्रन्थ प्रकाशन गर्ने योजना बनाएका समूहका लागि उपयोगी पनि हुनसक्ला भनेर मैले आफ्ना कुरा यहाँ राखेको हुँ । प्रा. डा. रविलाल अधिकारीका सन्दर्भमा २०८२ असार १३ गते पोखरामा सार्वजनिकीकरण गरिएको स्मृतिग्रन्थले उहाँसँग सम्बन्धित महत्त्वपूर्ण सूचना, सन्दर्भ र जानकारी बाहिर ल्याएको छ । त्यसले नेपाली साहित्यका क्षेत्रमा उहाँले गरेका योगदान र अब उहाँको रचनावली प्रकाशनका सन्दर्भमा मार्गदर्शन पनि दिएको मैले ठानेको छु । उहाँको सम्मानका लागि हामीले गर्नुपर्ने काममा अबको खुड्किलो यही हुनेछ भन्ने मेरो विचार छ ।
रामघाट, पोखरा