19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

जन्मन नपाएकी छोरीको विद्रोह

कथा रमाकान्त शर्मा April 17, 2026, 11:59 pm
रमाकान्त शर्मा
रमाकान्त शर्मा

घरमा हामी दुई बुढाबुढी मात्र छौँ । घर यति सुनसान छ कि कहिलेकाहीँ आफ्नै सासको आवाज पनि ठूलो लाग्छ । यही घर बीस वर्षअघि कति गुल्जार थियो, कति जीवन्त र रमाइलो ! अहिले भने घर, बाटो, घाटो, वनपाखा सबै सुनसान लाग्छन् । बाटोमा हिँड्दा दुई छोरालाई अघिपछि लगाएर टुकुटुकु हिँडाएको दिन सम्झना आउँछ । त्यतिबेला गाउँका वनपाखा पनि रमाइला लाग्थे । अहिले भने सबै उराठिलो । मन रमाइलो भए संसार रमाइलो लाग्दो रहेछ, मन उदास भयो भने सबै कुरा सुनसान लाग्दो रहेछ।
हाम्रो लाम्सु गाउँ पनि पहिले जस्तो कहाँ रह्यो र ! तेह्र परिवार बस्ने गाउँ अहिले घटेर आठ परिवारमा झरेको छ । पाँचवटा घरमा मुसाको राज्य चलेको छ । एक समय त्यस्ता खाली घरहरूमा डम्फु र मादल बज्थे, झ्याउरेका भाका गुञ्जन्थे । अहिले त युवा युवती सबै विदेशिएका छन् । कसले गाओस् झ्याउरे, कसले बजाओस् मादल र डम्फु? बलको काम गर्ने कोही छैन गाउँमा । बिरामी पर्दा पानी खुवाउने र अस्पताल लैजाने मान्छे पनि पाइँदैन । खेतबारी जंगलले ढाकिसकेको छ । पहिला बाँदर देख्न टाढाका गाउँ बिरौनी र टुनिवेट जानुपर्थ्यो, अहिले त घरभित्रै पसेर मकैका झोतेला लिएर हिँड्छन् । बारीका फलफूल पनि मानिसले खान पाउँदैन, बाँदरकै भागजस्तो भएको छ।
दुई छोरा मध्ये जेठो अमेरिका गएको अठार वर्ष भइसकेछ । श्रीमती र छोराछोरीलाई पनि उतै लगेर बसोबास गरेको छ । घर बनाएको छु भन्छ, तर त्यो घर कस्तो होला—मैले त देख्न पाएकै छैन, केवल कल्पनामा मात्र । नाती–नातिनाले पनि हामीलाई राम्ररी चिन्दैनन् । कहिलेकाहीँ इन्टरनेट लागेको बेला भिडियो कल हुन्छ । तर उ ‘म व्यस्त छु’ भन्दै मोबाइल श्रीमती वा छोराछोरीलाई थमाइदिन्छ । मनभरि थुप्रिएका कुरा सुनाउने रहर हुन्छ, तर सुनाउन पाइँदैन । नाती–नातिनासँग कुरा गर्न खोज्दा उनीहरूले मेरा कुरा बुझ्दैनन्, मैले उनीहरूको भाषा बुझ्दिनँ । नेपाली शब्द खोज्दा खोज्दै उनीहरूले बोल्न खोजेको कुरा नै बिर्सिन्छन् ।
कान्छो छोरा अस्ट्रेलिया गएको पनि पन्ध्र वर्ष भयो । उतै नर्सिङ् पढेकी केटीसँग विवाह गरेको रे । बुहारीले बुढाबुढीको हेरचाह गर्ने जागिर पाएकी छे, भन्छ । उता बुहारीले विदेशी बुढाबुढीको सेवा गर्छे, यता हामी बिरामी पर्दा पानी दिने मान्छे पनि छैन । कहिलेकाहीँ भिडियो कल उठाएर यत सञ्चै छौं भन्यो र त्यता सञ्चै छ ?’ भनेर सोधिदियो भने पनि मन खुसी हुन्छ । ऊ गाउँ नफर्केको पनि पाँच वर्ष हुन लाग्यो ।
त्यतिबेला त सबैले कति भाग्यमानी भनिरहेका थिए—“दुई दुई वटा छोरा छन् ।” अरूका छोरीहरूले बाबुआमालाई गर्ने स्याहार–सुसार देख्दा मनभित्र कताकता चसक्क दुख्छ । घिउर दिदीको छोरी अमेरिका छे । उसले दिदीभिनाजुलाई अमेरिका बोलाएर तीन महिना राखेर घुमाएर पठाई । हामीलाई भने अहिलेसम्म कुनै छोराले बोलाएको छैन । बरु बुहारीहरू सुत्केरी हुँदा बुहारीका आमाबाबुहरुलाई बोलाइए, महिनौँ उतै राखेर घुमाएर पठाइए । धुल्लुकी फुपूलाई छोरी मात्र हुँदा गाउँलेहरूले ‘भाग्य नभएकी’ भन्दै दया देखाउँथे। तर आज हेर्दा त उनी नै सबैभन्दा भाग्यमानी देखिन्छिन् । छोरी–ज्वाइँहरू आलोपालो गरेर घरमा आउँछन्, सेवा गर्छन् । कहिले काठमाडौँ, कहिले पोखरा, कहिले भारतका तीर्थ—छोरीहरूले उनलाई धेरै ठाउँ घुमाइसके ।
उमेर पनि सत्तरी नाघिसक्यो । पोखरा पुगेर डाक्टरलाई देखाउँदा बुढालाई रक्तचाप, सुगर र प्रोस्टेटको समस्या छ भने । बिहान हिँड्नुस्, औषधि नियमित खानुस् भनेर धेरै औषधि लेखिदिएका छन् । तर बुढा कतिबेला बाटोमै लड्ने हुन् भन्ने डर लाग्छ । एकदिन हिँड्दै गर्दा बाटोमै पल्टिएछन् । पल्लाघरे जेठीले देखेर उठाइन् । उनले नदेखेको भए के हुन्थ्यो, सोच्न पनि डर लाग्छ ।
कहिलेकाहीँ मनमा एउटै प्रश्न गुञ्जिरहन्छ—“त्यो छोरी जन्मन पाएकी भए आज हाम्रो जीवन कस्तो हुन्थ्यो होला?” अरूका छोरीहरू ‘आमा’ भन्दै पटक पटक आउँदा गर्भमै मारिएकी मेरी छोरीको यादले मन चिरिन्छ । पहिलो पटक गर्भवती हुँदा डाक्टरकहाँ जाँच गराउँन गएका थियौं । गर्भमा छोरी रहेको थाहा भयो । बुढाले गम्भीर स्वरमा भने—‘पहिलो सन्तान छोरा हुनुपर्छ, छोरी त पछि पनि हुन्छे ।’ पढेलेखेका उनका कुरा कसरी नमानूँ ? अन्ततः त्यो नजन्मिएकी छोरीलाई गर्भमै विदा गरियो।
एक दिन बेलुकी काम सकेर ओछ्यानमा के पल्टिएँ । बुढा निदाइसकेका थिए । म पनि दोलाइ ओढेर सुत्न खोजेँ । आँखा लागेछ कि लागेन, म एक अनौठो सपनामा हराएँ छु ।
पोखराको क्लिनिकमा भ्रूणमै मारिएकी छोरी जन्मिएकी देखेँ । उसको नाम क्रान्ति राखिएको रहेछ । उसलाई हात समाएर हिँड्न सिकाएको, ऊ आफै टुकुटुकु हिँडेको, विद्यालयमा भर्ना गरिदिएको सबै देखेँ । पढाइ, खेल, नाच, गीत—जहाँ गए पनि ऊ सधैं अगाडि । पुरस्कार ल्याएर हामीलाई खुसी बनाउने ।
हेर्दाहेर्दै एसएलसी पास गरेर क्याम्पस पढ्न पोखरा गएकी । हामी बिरामी पर्दा अस्पताल लैजाने, औषधि ल्याइदिने, सबै काम सम्हाल्ने ।
ऊ पढाइमा झनै अब्बल भइछे । पछि सामाजिक कार्यकर्ता बनेर गाउँ–गाउँ महिलाको हक अधिकारका लागि काम गर्न थालीछे । गएको चुनावमा संसद जितेकी रहेछे । त्यो खबर सुन्दा मेरो छाती गर्वले फुलेको देखेँ ।
विजय समारोहमा सबैले उसलाई अबिर लगाइदिएका थिए । क्रान्तिले मञ्चबाट जोडदार भाषण गरिरहेकी थिई—
“म आज समाजसँग मात्र होइन, आफ्नै बाबुआमासँग पनि प्रश्न गर्न चाहन्छु । म जन्मन नपाएकी छोरी हुँ । गर्भमै छोरी मार्ने अपराध गर्नेहरूलाई कानुनले कठोर सजाय दिनुपर्छ, जेलमा कोच्नु पर्छ ।”
यति भन्दै गर्दा म झल्यास्स ब्युँझिएँ । मन डरले थरथर काँपिरहेको थियो । शरीर पसिनाले भिजेको थियो । आफैलाई ठूलो अपराधी जस्तो लाग्यो । बुढा खोकेर फेरि निदाइसकेका थिए । उठाएर सुनाउँ कि जस्तो लाग्यो, तर उठाउन सकिनँ ।
जगको पानी गिलासमा खन्याएर एकै सासमा पिएँ । त्यस रात निद्रा भागेको मात्र होइन, पुराना सम्झनाहरू पनि मनमा बिस्तारै जाग्न थाले ।
चितवन

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।