आफ्नो जीवनलाई साहित्यमय बनाउने, साहित्यमा डुब्ने साहित्यमा रमाउने साहित्य सर्जक हुन्छन्। यस्ता साहित्यसर्जकमा एकजना हुन् मुक्ति उपाध्याय बराल। नेपाली साहित्यमा उनी एक आदरणीय बहुप्रतिभाशाली साहित्यकार हुन्। उनी नेपाली साहित्यको समृद्धिमा दिनरात लागिपरेका छन्। वर्षेपिच्छे विभिन्न विधाका पुस्तक प्रकाशित गर्छन्, साहित्यिक गोष्ठी, पुस्तक विमोचन, वार्ता आदिमा सक्रिय रूपमा उपस्थित हुन्छन्। उनी दिनरात साहित्य अध्ययन, मनन लेखन आदिमा सक्रिय छन्। उनी आफ्नो शिक्षकको नोकरीमा छँदा आफ्नो सिर्जनालाई अघि बढाएका हुन्। उनी विद्यार्थीहरूलाई पनि साहित्यिक बनाएका थिए। सेवानिवृत्त भएपछि उनी अझ सक्रिय भएर साहित्य सेवामा लागिपरेका छन्। उनी एक लेखक, सिनेमा कलाकार, नाटककार, नाट्यनिर्देशक भएर काम गरेका छन्। उनले आफ्नो जीवनलाई विभिन्न सिर्जनात्मक काम गरेर सार्थक तुल्याएका छन्।
मुक्ति उपाध्याय बराल कायेन वाचेन साहित्यमा नै संलग्न छन्। उनी मूल रूपमा साहित्यिक लेखक सर्जक हुन्। उनी लेखकबाहेक एक नाटयभिनेता, सिने कलाकार, निर्देशक, सङ्गीतकार, साहित्यिक संस्थापक, सम्पादक सबै हुन्। उनको जन्म २७ गते फाल्गुन, २००८ मा गुवाहाटीको उत्तर शरणीयामा भएको हो। उनका मातापिताको नाम स्व पद्मादेवी र स्व. टिकाराम उपाध्याय हो। उनको बाल्यकाल र युवावस्था गौहाटीमा नै बितेको हो। उनी गुवाहाटी छँदा जीवनका सुख, दुःख, सङ्घर्ष झेलेका हुन्। गुवाहाटीका खेतीपाती, ब्रह्मपुत्र नदीका विभिन्न अवस्था सबै देखेका, झेलेका, भोगेका छन्। औपचारिक शिक्षा लिने क्रममा उनले विशुद्ध विज्ञान लिएर गुवाहाटीबाट स्नातक गरेका हुन् भने पछिबाट निजी तवरबाट नेपाली विषय लिएर स्नातकोत्तरसम्म अध्ययन गरेका छन्। आफ्नो जीवन धान्न क्रममा उनी सिलगढीको कृष्णमाया मेमेरियल नेपाली उच्चतर विद्यालयमा विज्ञान शिक्षक रही २०१४ मा अवकाश ग्रहण गरेका हुन्। अवकाश ग्रहणपछि भने उनी सिर्जनामा अझ सक्रिय रूपमा लागेका छन्, उनका निम्ति प्रत्येक दिन मूल्यवान छन्, विना लेखन अध्ययन लेखन उनको दिन बित्दैन। गत दस वर्षदेखि यता उनका धेरै पुस्तक प्रकाशित भएका छन्।
सन् १९७१ मा ‘आखिर मेरै दिमाग न हो’ भन्ने कविता लिएर साहित्यमा उत्रेका मुक्ति उपाध्याय बरालका युवावस्थादेखि नै नाट्याभिनयमा संलग्न थिए। उनी विद्यालय र कलेज पढ्दा नाटकतिर सक्रिय रूपमा भाग लिन्थे। बेलैदेखि उनी साहित्यक बन्धुहरूसँग संगत थियो। उनी गुवाहाटीलगायत असमका अन्य ठाउँका साहित्यिक कार्यक्रमतिर भाग लिन जानेगर्थे। अविनाश श्रेष्ठको नेतृत्वमा गठन भएको कोलाज कविता आन्दोलनमा उनी पनि सक्रिय रूपमा परोक्ष रूपमा संलग्न थिए। उनी गुवाहाटी छोडेर सिलगड़ीमा बस्न थालेदेखि पनि अझ सक्रिय रूपमा साहित्य लेखन, नाट्यअभिनय आदिमा संलग्न छन्। उनी साहित्यका निम्ति सदैव मरिमेट्ने, जोसिला, हँसिला, उर्जावान् व्यक्तित्व हुन् ।
उनका मौलिक सृजनात्मक, अनुवाद र सम्पादन गरी धेरै पुस्तक प्रकाशित छन्। उनका प्रकाशित मौलिक पुस्तकहरूमा अनन्त यात्रा (नाटकसंकलन), हिमाली (बालउपन्यास), अन्तर्प्रेरणा (नाटक), मालती (विज्ञान उपन्यास), घर (नाटकसंकलन), झ्याउरे पार्टीले गर्नुगर्यो (निबन्ध), भारतेली नेपाली बालसाहित्य (समीक्षा), रहर (नाटकसंकलन), यस्तै उस्तै मनका विचारहरू (निबन्धसंकलन), गोर्खाको मोडेल (नाटक), महिमा (नाटक), कान्छी (विज्ञानउपन्यास), स्वच्छ डोनाउको किनारतिर (यात्रासंस्मरण), पर्थ हुँदै सिडनी (यात्रासंकलन), बुच्के छपडी (संस्मरण), शरद पूर्णिमा रम्य रमिता (नाटक), समीक्षा गुच्छ (समीक्षासंकलन), पदचिन्ह पहिल्याउँदै (उपन्यास), संस्मरण गुच्छ (संस्मरण)। उनले केही ग्रन्थको सम्पादन कार्य पनि गरेका छन्।
यसैगरी उनका अनूदित पुस्तकहरूमा शिवकुमार राईको खहरे कथासङ्ग्रहको बङ्ला अनुवाद, भारतीय नेपाली कविताहरू (बाङ्लाबाट नेपालीमा सामूहिक अनुवाद), जोसमणि सन्त साहित्य (सामूहिक अनुवाद), अग्निवीणा आदि। उनी केही अनुवाद, बालसाहित्य, भाषिक कार्यशाला आदिमा पनि सक्रिय रूपमा उपस्थित हुन्छन्। उनी साहित्य अकादमी, भारतीय पुस्तक न्यास, भारतीय भाषा संस्थान- मैसूर, सिलगढी देवकोटा सङ्घ, बालकृष्ण समिति- शास्त्रीनगर, समाजसेवा समिति, शास्त्रीनगरतिर धेरै सामाजिक, साङ्गीतिक, नाट्य आदिमा सक्रिय रूपमा कार्य गरेका थिए। उनी असममा छँदा ‘असम गोर्खा सम्मेलन’, सांस्कृतिक सचिव रही त्यसमा नाटक मञ्चन गरेका थिए। ‘अल गुवाहाटी नेपाली विद्यार्थी सङ्गठन’का कोषाध्याक्ष थिए। त्यसका माध्यमबाट पनि नाट्य मञ्चन गरेका थिए। प्रेमसिंह सुवेदी, गोपाल नेवार आदि मिलेर गठन गरेको ‘नेपाली कला परिषद’ मा पनि उनी नाट्य मञ्चन गरेका थिए। अविनाश श्रेष्ठ गुवाहाटी छँदा उनीसित पनि केही नाट्य र साहित्यिक कार्यमा सक्रिय भूमिका खेलेका थिए। सिलगडीमा उनीहरू मिलेर ‘एसोसियसन अव नेपाली ड्रामाटिस्ट’ खोलेका थिए। त्यसमा कृष्ण प्रधान, मुक्ति उपाध्याय, गणेश छेत्री आदिले केही नाटक मञ्चन गरेका छन्।
यसरी हेर्दा उनी एक नाटककार नाट्यकलाकार, नाट्यनिर्देशक, नियात्राकार, निबन्धकार, गीतकार, समीक्षक, कथाकार अनुवादक आदि हुन्। उनी चलचित्रका अभिनेता, निर्देशक र पटकथा लेखक, संवाद लेखक पनि हुन्। उनी प्राज्ञिक रूपमा अघि देखिन्छन्। उनले आफ्नो जीवनको शिक्षणकालमा पनि आफ्नो धेरै विद्यार्थीलाई पनि नाट्य अभिनयको प्रशिक्षण दिएका छन्। उनको प्रतिभा एक प्रकारले भन्नु हो भने विभिन्न विधामा छरिएको छ। यद्यपि सबैभन्दा माथि उनको प्रतिभा नाट्यविधामा केन्द्रित देखिन्छ। सबैभन्दा बढी उनी नाटक विधामा रमेका र जमेका छन् ।
उनको कथासङ्ग्रह भने प्रकाशित भएको थिएन। यो अपूर्णता पनि पूर्ण हुन लागेको छ। उनको प्रकाशोन्मुख लौ त बरू भन्ने कथासङ्ग्रह पनि प्रकाशित हुने तरखरमा छ। यसमा रहेका बाह्रवटा कथाले दसै किसिमका भाव, कथ्य, विषयवस्तु र सामाजिक यथार्थलाई समातेका छन्। कथाहरू पाठकप्रिय रोचक बान्कीमय छन्। प्राय छोटा छोटा कथाहरूहरूमा पाठकलाई मन पर्ने विषयवस्तु पाउन सकिन्छ। धूर्तता, भ्रष्टाचार, यौनचाहना, स्वार्थता, दुराचार, आदि विषयलाई समातिएको छ।
लौ त बरू कथा सङ्ग्रहमा जम्मा बाह्रवटा कथाहरू समावेश छन्। यसमा रहेका एकेक कथाले विविध कथ्यकथन, परिवेश चित्रण, चरित्राङ्कन, भाषिक सिप आदि प्रस्तुत गरेका छन्।
क. कथ्य कथन-
मुक्ति बराल उपाध्यायको लौ त बरू कथासङ्ग्रहमा जम्मा दसवटा कथाहरू रहेका छन्। यी दस कथाहरूमा दसै विषयवस्तु रहेका छन्। पहिलो कथा ‘लौ त बरू’ मा मानिसको स्वार्थी प्रवृत्तिमाथि व्यङ्ग्य कसिएको छ। चारजना मायाहरूले कसरी आफ्नो घरअघिको मरेको गोरूका समस्याको युक्तिपूर्वक समाजान गर्दछन्। आफुले भोट हालेर जिताएकी नगरअध्यक्षा र अन्य सरकारी निकायहरूले कुनै सहयोग नगरेपछि यो चलाख र धूर्त समाजका निम्ति आफु पनि उस्तै धूर्तता गरेर नै आफ्नो काम बनाउन सकिन्छ नत्र कसैले हेर्दैन। मान्छे नै सबैभन्दा दुष्ठ जाति हो। समाज र युग जतिसुकै विकसित भए पनि मान्छेभित्रको कल्मष र स्वार्थपन कैल्यै मेटिदैन। कार्यालयको ढिला-सुस्ति, अकर्मण्यता, चाप्लुसीपन, राजनैतिक आडम्बर, गलत मान्छेहरू राजनितीमा लाग्दा समाजले बेहोर्नुपरेको कठिनाइ आदिलाई यथार्थ रूप देखाइएको छ। मानिस कसरी आफ्नो काम बनाउन विभिन्न युक्ति लगाउँछन्, कतिसम्म गिर्छन्, नैतिकता हराउँछन् भन्ने देखाइएको छ। हाम्रो समाज नै यस्तै स्वार्थप्रेरित बनेको कुरालाई कथामा समेटिएको पाइन्छ। प्रत्येक कथामा एकेकवटा कथ्यलाई विभिन्न उपकरण, उपकथ्य, घटना-उपघटना आदिलाई संयोजन गरिएको छ।
म अनि कर्म कथामा भने दाम्पत्य जीवनको उतारचड़ावलाई देखाइएको छ । धर्म र कर्मको सही तालमेल संयोजन हुनुपर्छ। धर्म गर्ने नाममा घरका कर्म र कर्तव्य निभाउन पनि अनिवार्य छ। बसन्तले घरमा पूजा गर्ने बहाना र बसन्तीले बुढाको रिसले नानी नहेर्दा नानी लडेको अवस्था छ।
डर कथामा मान्छेका स्वार्थी स्वभावलाई दर्साइएको छ। मान्छेलाई कतै जान हतार भए पनि आपतविपतका बेलामा त्यो हतार सबै विलुप्त हुन्छ। रातको समयमा एउटा अभर परेको बसगाडीका यात्रुहरूमा देखिएको उद्विनता, मानिसहरूको वास्तविक परिचय देखाइएको छ। जवान र हेर्दा बलवान हुनेको मनभित्र डर बढी हुने देखाइएको छ। मनको डर नै मानवीय कमजोरी हो।
ब्याँसो कथामा पनि मानवीय लोभ, लुच्चापन, चोरी कामुक्तता आदिजस्ता कमजोरी बढी रहेका छन्। अहिले मान्छे ब्वाँसो र जङ्गली जनावरभन्दा हिंस्रक कुटिल, असंवेदनशी बनेको छ भन्ने दर्साइएको छ। गाउँको कुखुरा चोर्न अब जङ्गलबाट स्याल र ब्वाँसाहरू आउन पर्दैन बरू गाउँकै मान्छेलाई केहीले नपुगेर अर्काको कुखुरो चोर्छन्, धन लुट्छन्, धुत्छन्, खोस्छन्। मान्छेले नै जङ्गल सखाप पारे, वन्यप्राणी मासे, रूख काटेर ध्वस्त बनाए। मान्छेभित्रको लोभ, चोरी-चकारी, हिंसा, कामुकता आदि रहेकाले मान्छे जङ्गली पशुभन्दा निच बन्नपुगेको छ।
हरिबहादुर कथामा समाजका कुतत्त्वहरू कसरी दुई नम्बरी धन्धा गरेर रातारात धनी हुन्छन्। जमिनको दलाली गरेर धेरै सम्पत्ति कमाइहाल्छन् अनि वेतन थोरै हुने इमानदार शिक्षकलाई पनि कहिलेकाँही निराश भएर म पनि यस्तै चाँडै धन कमाउने धन्धा समात्नुपर्ला भन्ने भावना उब्जिने गर्दछ। यद्यपि शिक्षकले यस्तो कुरामा वनिचलित हुनुहुँदैन। शिक्षक भनेपछि समाजले जुन आदर्श र सत्कारका रूपमा हेर्छ त्यो नै अमूल्य छ जुन स्थायी हो। छोटो बाटोबाट धन कमाउनेको धन अडिँदैन र पछि त्यो समस्यामा पर्न सक्दछ। दुई नम्बरी धन्धा गर्ने कामको घुसको सहयोगले पुलिसले पनि ढाकछोप गरिदिने व्यवस्थाप्रति ठुङ मारिएको छ। अर्को कथा अतृप्त को मूल विषयवस्तु यौन हो। मान्छेलाई भोक तिर्खा जस्तै आधारभूत आवश्यकता हो। मान्छेले यौनतृप्तिका लागि जुनै नैतिक अनैतिक जे काम गर्न पनि सक्छन्। कथामा गीता भन्ने युवती बिहा भएर पनि लोग्नेबाट यौन असन्तुष्टि भएर त्यसलाई पूर्ति गर्न विभिन्न युक्ति लगाउँछे। गीताले राती नुहाउनु, बाल उमेरको अमरलाई आफुसित सुताउनु, आफु नाङ्गै सुत्नु, अमरलाई खोलामा नाङुन लानु र उसको लुगा खोलिदिनु, नजानिदो गरी गुप्ताङ्ग छोइदिनु आदि क्रियाकलाप गर्छे। अन्तमा मनिष भन्ने आफ्नो पहिलेको सहपाठी युवकसित पोइल जान्छे। उसको यौन अक्षम लोग्ने माधवबाट उसको यौन चाहना पूरा नहुँदा अन्तमा उ अर्कोसित पोइला गएर पूरा गर्छे। रामकुमार कथामा रामकुमार र पवनलालका बिचमा मानसिक, चारित्रिक, सांस्कारिक भिन्नता देखाइएको छ। रामकुमार आडम्बरी, धूर्त, चलाख दुर्जन स्वभावको छ तर यता पवनलाल भने सोझो, सज्जन शिक्षित सुसंस्कारको छ। रामकुमारको व्यक्तिगत जीवन भने राम्रो भएन। उसकी स्वास्नी पोइल गई, उ पनि कुटपीटको शिकार भयो। उनी कथालाई विभिन्न तरिकाले कथ्यको सिर्जना गरेका छन्।
ख. चरित्राङ्कन-
समाजमा थरी थरीका मान्छे हुन्छन्। यसमा रहेका कथाहरूमा पनि विभिन्न प्रकार र प्रवृत्तिका पात्रहरू रहेका छन्। कोही यौन पीडित छन्, कोही धन पीडित छन्, कोही भ्रष्टाचारी छन्, कोही अनैतिक चरित्रका छन्। पवनलाल, रामकुमारहरू आफ्नो आफ्नो चरित्र लिएर जिउँछन्। पवनलाल, रामकुमार, पद्मलाल, कृष्ण, हरिबहादुर, ढुण्डीराज, पवन आदि हाम्रै वरिपरिका चरित्र हुन्। यसमा रहेका जम्मै कथाका पात्र-पात्राहरू हाम्रै समाजका विभिन्न चरित्रको प्रतिनिधि हुन्। प्रत्येक पात्र पात्राले हाम्रै चरित्रलाई उदाङ्गो पारिदिएका छन्। मानवीय स्वभावका रूपमा रहेका स्वार्थता, लोभ, अपराध, कामुकता, भावुकता, अनुदारता आदिलाई नै कथाका पात्र-पात्राका प्रवृत्तिका रूपमा देखाइएको छ। यसमा रहेका अधिकाँश कथाहरू चरित्रप्रधान बनेका छन्। घटनाभन्दा चरित्राङ्कनमा जोड़ दिइएको छ। रत्नमाया, योगमाया, चन्द्रमाया र फूलमायाहरू व्यवस्था र प्रणालीले सिकाएको चलाकी अनुसारले चलाक र धूर्त बनेका छन्।
ग. प्रवृत्ति कथन-
मुक्ति बरालका यी कथाहरूलाई समग्रमा अध्ययन गर्दा यसमा यथार्थवाद नै प्रबल रूपमा देखिन्छ। यथार्थवादका पनि विभिन्न अवस्थामा देखिएका छन्। घर-परिवार, व्यक्ति चरित्रचित्रण, सामाजिक, आर्थिक, भौगोलिक, सांस्कृतिक अवस्थालाई यथार्थवादका रूपमा प्रस्तुत गरिएको छ। अतृप्त कथामा गीताको गतिविधिलाई यौनमनोवैज्ञानिक कथाका रूपमा मान्न सकिन्छ। मानिसलाई यौन पनि एउटा अति आवश्यक कुरा हो। यसको अभावमा मान्छे कुण्ठित हुन्छ। यो एक प्रकारको उर्लँदो भेल जस्तै हो जसलाई ठिकसित तह लाएन भने यो पोखिएर अनैतिक पनि बन्न सक्छ। हाम्रै देश र समाजको राजनैतिक, नैतिक आदिमा आएको ह्रासलाई राम्ररी केलाइएको छ। उनका यी कथाहरू पढ्दा अचेल दिनानुदिन मान्छे चलाक, धूर्त, स्वार्थी, स्वकेन्द्रीत, धन लम्पट, चरित्रहीन, संवेदनहीन बन्दै गएको अवस्था देखाइएको लाग्छ। सामाजिक यथार्थभित्रका विभिन्न सकारात्मक र नकारात्मक पक्षहरूलाई कथाका विषयवस्तु बनाइएको छ। समाज र व्यक्तिबिचको सम्बन्धलाई विभिन्न कोण-प्रतिकोणबाट हेरिएको छ।
घ. परिवेश अङ्कन-
यसमा रहेका कथाहरू प्रायः ग्रामीण परिवेशको रहेका छन्। यसले सिलगड़ी, दार्जिलिङ, डुवर्स, असमका विभिन्न स्थलहरूलाई समेटेको पाइन्छ। लेखकको किशोरावस्थासम्म गुवाहाटीतिर जीवन बितेको थियो । उनको कृतित्व र व्यक्तित्वमा समेत असमीय प्रभाव पाइन्छ। यसमा रहेका उनका केही कथामा असमेली परिवेश पनि प्रतिविम्बित भएको छ। असमको ब्रह्मपुत्र नदी त्यहाँको जनजीवनको आधार बनेको छ। असमेली कृषि, संस्कृति र सभ्यताको आधार बनेको छ। यसमा रहेका केही कथामा ब्रह्मपुत्र नदीको प्रभाव झल्किएको छ। यसमा भौगोलिक र मानसिक परिवेशलाई राम्रोसँग उतारेका छन्। पात्रका मनभित्र भएका करूणा, उद्वेग, क्रोध, हास्य, उद्विग्न आदिलाई मानसिक परिवेशका रूपमा मान्न सकिन्छ।
ङ. भाषाकथन पद्धति-
मुक्ति उपाध्याय बराल एक भाषा र शिल्प सचेत साहित्यकार हुन्। उनी आफ्ना कृतिमा ठेट नेपाली शब्दलाई बढी प्राथमिकता दिन्छन्। जतिसक्दो चलनचल्तीको भाषा र शब्दलाई प्रयोग गरिएको पाइन्छ। पाठकलाई कथाको बारेमा सुनाउँदा पाठकले बोल्ने आम भाषामा अभिव्यक्ति गरिएको छ। यसमा व्याख्यापरक शैली अपनाइएको छ। कथाहरू सरल, सुललित र साधारण ढङ्गबाट अघि बढाइएको छ। कुनै कथामा मुख्य घटना घटना कहाँनेर घटाउने भन्ने कुरामा उनी सचेत छन्। अधिकांश कथामा अन्तमा मुख्य घटना घटाइएको छ। यसमा सरल भाषामा प्रभावकारी प्रस्तुति गरिएको छ। सरलतामा सरसताले गर्दा पाठकलाई उनका कथाहरू रूचिकर लाग्छन्। यसमा मूलतः दुई किसिमको भाषाको प्रयोग भएको छ- लेखकीय र पात्रगत। यसमा लेखकले जतिसक्दो मानक र स्तरीय नेपाली भाषाको प्रयोग भएको छ। अर्को पात्रगत भाषा हेर्दा पात्रको मानसिकता, शैक्षिक स्तर, संस्कारस्तर, सामाजिक परिवेश आदिका आधारमा प्रयोग भएको छ। लौ त बरू, डर आदि जस्ता कथाहरूमा संवाद योजना राखिएको छ।
च. मूल्याङ्कन र उपसंहार-
नेपाली साहित्यमा एक बहुप्रतिभाशाली सर्जक मुक्ति उपाध्याय बराल अब कथा साहित्यमा पनि देखा परेका छन्। परम्परागत कथागत प्रवृत्ति र पद्धतिभन्दा केही भिन्न खालका कथाहरू रहेकी लौ त बरू कथासङ्ग्रह देखा परेका छन्। यसमा रहेका बाह्रवटा कथाहरूमा भिन्नाभिन्दै स्वाद र बान्कीका छन्। यसमा रहेका प्रत्येक कथाहरूले केही न केही सन्देश दिएका छन्, समाजभित्र दिनदिने घटिरहने साना ठुला घटना र प्रसङ्गलाई राम्रोसँग बुनेर राम्रा राम्रा कथा सिर्जना गरिएको छ। समग्रमा हेर्दा मुक्ति उपाध्याय बरालको कथासङ्ग्रह ‘लौ त बरू’ नयाँ ढाँचा, शैली, विषयवस्तु, सन्देश बोकेर पाठक सामु आएको छ। यसलाई पाठक समाजले अवश्य नै रूचि लिएर पढ्नेछन्, रसास्वादन गर्नेछन्, आफ्नो समाजभित्रका कुरालाई नियाल्ने छन्, रमाउने छन् कतै गम्भीर हुनेछन्।
मुक्ति उपाध्याय साहित्यिक सिर्जनामा सक्रिय छन्। उनको प्रस्तुत कथासङ्ग्रहका जम्मा बाह्रवटा कथाहरूमा जीवनका विभिन्न पक्षहरूलाई केलाएको छ। कथाका कथावस्तु, पात्रविधान, संवाद योजना, परिवेशविधान, भाषा र शैली आदि सबै पक्षमा कथाकार सचेत छन्। पाठकका निम्ति यसमा भएका सबै कथा रोचक र नौला लाग्छन्। कथाको रसास्वादन गरेर पाठकले जे जे अनुभूत गर्छन्, त्यही नै यस सङ्ग्रहको प्राप्ति हो।
बरबोटे गाउँ,कालिम्पोङ।