"योगेनको रिपोर्ट कार्ड दिनुस् न सर ।"
योगेनकी आमाले रिपोर्ट कार्ड तुरुन्तै पाउनुहुन्छ । एकैछिनमा त्यहाँको माहोल खराब भएर आउँछ; त्यसको कारण योगेनको प्रथम त्रैमासिक परीक्षाको नतिजा हो । कक्षा सातमा पढ्ने योगेन आमाको छेउमा उभिएर सुँक्कसुँक्क रुँदै हुन्छन् । योगेनकी आमाले सान्त्वना दिँदै नरुन भन्दै हुनुहुन्छ ।
"मेरो छोरो फेल भयो । यसको कारण के होला, हिमाल सर ?"
योगेनलाई सम्झाउन खोज्दै हिमाल सरले भन्नुहुन्छ, "योगेन बाबु, पहिले रुन्न भनेर दृढ सङ्कल्प गर्नुस् । र रुन छोड्नुहोला । त्यसपछि म सबै कुरा भन्ने छु ।"
"म चाहेर रुन खोजेको होइन, सर । आफ्सेआफ आँसु झर्दै छन् । म के गरूँ, सर ।" यस्तो भन्दै योगेन हिक्कहिक्क रून्छन् ।
"तिमी त छोरो मान्छे हौ, योगेन बाबु । यस्तो कुरामा रुन सुहाउँदैन ।" योगेनकी आमाले योगेनलाई हिम्मत दिन कोसिस गर्नुहुन्छ ।
हिमाल सरले भन्नुहुन्छ, "दुःख दर्दमा जो कोही पनि रुन मिल्छ, मेडम । छोरो मान्छे सबको सामुन्ने रुनु हुदैन भन्ने सोचले योगेन जस्ता कोमल मन भएका विद्यार्थीलाई मनोवैज्ञानिक असर पर्नसक्छ ।"
"रुनबाट रोक्नु पनि हुँदैन होला, सर । मन लागुन्जेल रुयो भने मन हलुका हुन्छ भन्ने सुनेकी थिएँ ।" योगेनकी आमाले जिज्ञासा राख्नुहुन्छ ।
"ठिकै भन्नुभयो मेडम । तर गह्रुङ्गो मनलाई हलुका बनाउने अनि हलुका मनलाई गह्रुङ् बनाउने काममा हामी सधैँ लागिपर्छौं । बरू मनलाई नै अ-मन बनाउने काम गर्यो भने दुःख कम लाग्न सक्छ ।" हिमाल सरले मन्द मुस्कानकासाथ अलिकति दार्शनिक कुरा गर्नुहुन्छ ।
"सरले के भन्नुभएको हो, मैले बुझिनँ । यो सात कक्षाको केटाले के बुझ्ला र खै !"
"म पनि बुझ्छु आमा । एक्जाममा फेल हुँदैमा केही नबुझ्ने ठान्नुभएको होला, मैले सबै बुझेको छु त्यसैले रुँदै छु । मेरो पनि मन हो, दुख्छ नि, फेल हुँदाखेरि ।" योगेन रुन्चे स्वरमा गुनासोयुक्त भावले बोल्छन्।
"एउटा विषयमा मात्र हुनुहुन्छ योगेन, मन नदुखाउनु होला । अर्को परीक्षामा राम्रो गर्नुहोला; पास भइहाल्नुहुन्छ नि ।"
"हुन्छ सर ।" योगेनले चित्त बुझाउने पाराले जवाफ दिन्छन् ।
"मनको दुखाइबाट कसरी मुक्त हुने, मनलाई कसरी व्यालेन्समा राख्ने र पीडाबोध कसरी कम गर्ने भन्ने कुराहरू पनि म योगेनलाई सिकाउने छु । सिक्ने हो योगेन ?"
"सिक्छु सर ।" योगेनको आँखामा एक किसिमको चमक आउँछ ।
"तपाईँले इङ्लिस पढाउनुहुन्छ भनेर योगेनले भन्ने गर्छ । तर मनको दुःख हटाउने विषय पनि हुन्छ र, सर ?" योगेनकी आमाले चासो राख्नुहुन्छ ।
"आज संसारमा मनले नै दुःख दिइरहेको छ, मेडम । अभाव, असुबिधा र अशिक्षाबाट मानिसहरू मुक्त भइसके तर मनको पिरलोबाट मुक्त हुनसकेका छैनन् ।"
"मन त सधैँ यस्तै होला नि सर ।"
"मनको जड नै दुःखमय छ तर मनलाई अ-मन गराएर दुःख कम गर्न सकिन्छ ।" हिमाल सरले केही गम्भीर भावमा भन्नुहुन्छ ।
"कसरी ?" योगेन र योगेनकी आमा दुवैले सोध्नुहुन्छ ।
"मार्ग । मार्ग छ । त्यस मार्गमा लाग्नुपर्छ । योगेन तपाईँ त्यस मार्गको अभ्यास गर्न इच्छुक हुनुहुन्छ ?"
"छु सर ।" योगेनले दृढतापूर्वक आफ्नो स्वीकारोक्ति राख्छन् ।
⃰
हरियो चौरमा घाँसहरूले आफ्ना पातलो पातहरू फैलाएका छन् । एउटा समीको रूख चौरको बिचमा छ । चौरको पछाडि, केही फूलहरू त्यहाँ सहभागी विद्यार्थीहरूलाई हेरेर मुस्कुराउँदै छन् । चौरमा २९ जना आत्माहरू दायाँ र बायाँ खुट्टाहरू क्रस-पोजिसनमा राखेर आसन लिएका छन्; सुखासन । उनीहरूले आ-आफ्नो आँखा बन्द र ढाड सिधा राखेका छन् । घुँडाको छेउमा रहेका हातहरूले ज्ञानमुद्रा (ज्ञान उत्पन्न गर्ने हातको मुद्रा) बनाएका छन् । ज्ञानमुद्रामा तर्जनीका औँलाहरूले अरू तीनवटा औँलाहरू फैलाएर औँलाको टुप्पोलाई बिस्तारै थिच्नु वा छुनुपर्छ ।
म, प्रशिक्षक हिमाल, चेलाहरूको अगाडि उभिएर सकारात्मक स्वरमा बोल्छु:
"चार गणनाको लागि आफ्नो नाक मार्फत सास लिनुहोस् ।
पाँचको गणनाको लागि आफ्नो सास रोक्नुहोस् ।
६ को गणनाको लागि आफ्नो नाक/मुखबाट पूरै श्वास छोड्नुहोस् ।
पूर्ण चक्रमा धैर्यपूर्वक ४-५-६को गतिमा होसपूर्वक सास लिनुहोस् ।
तीन थप चक्रहरूको लागि दोहोर्याउनुहोस् ।"
आठ कक्षाका चेलाहरूले सकेसम्म राम्रोसँग निर्देशनहरू पालना गर्नुहुन्छ । मैले अरू सबैको ध्यानविधि हेर्न एउटा चेला छानेको छु । आज उहाँ योगेन हुनुहुन्छ । उहाँले मलाई 'मार्ग ध्यान' (The way of meditation) सञ्चालन गर्न मद्दत गर्नुहुन्छ । ध्यान गर्दा उहाँले हामीलाई साक्षी बनाउनुहुन्छ । कहिलेकाहीँ उहाँ आफैले आफ्ना साथीहरूलाई ध्यान गर्न निर्देशन दिनुहुन्छ ।
गहिरो श्वास प्रणायाम ६-४-६ पछि, मार्ग ध्यान आत्मसति वा सजगता (Mindfulness)को चरणमा प्रवेश गर्दछ । म मेरा विद्यार्थीहरूलाई मसँगै भन्नका लागि आग्रह गर्दछु :
"सास बिस्तारै लिनुस् । {तपाईँ प्राकृतिक सास फेर्नमा ध्यान दिनुहोस् ।}
"रिल्याक्स महसुस गर्नुहोस् । {आफ्नो शरीरलाई फूल जस्तै हल्का महसुस गर्नुहोस् ।}
"सास, स्वर र शरीरमा ध्यान दिनुहोस् ।"
योगेन चौरको वरिपरि घुम्छन् । उनी अधीर देखिने साधकको कानमा गएर बोल्छन् । त्यसपछि म सबै विद्यार्थीहरूलाई निधारको बीचमा रहेको तेस्रो नेत्र 'आज्ञाचक्र' मा ध्यान केन्द्रित गर्न भन्छु । म उनीहरूलाई मेरो पछि केही Autosuggestion (आत्म-सुझाब) दोहोर्याउन आग्रह गर्छुः
"म स्वस्थ छु । म साँच्चै नै स्वस्थ छु ।
म असल छु । म सधैँ असल रहन्छु ।
म खुसी छु । म निसर्त खुसी हुन्छु ।"
Autosuggestion मार्फत ज्ञान केन्द्रको सक्रियताले मिडब्रेनमा पिनियल ग्रन्थीको क्षमतालाई सक्षम बनाउँछ । म योगेनलाई Autosuggestion दोहोर्याउँदै आफ्ना साथीहरूको मन्त्रको जप जस्तै भुनभुन आवाज सुन्न निर्देशन दिन्छु । ध्यानमा संलग्न सबै विद्यार्थीहरूले मनलाई एक प्रकारको पुष्टिको रूपमा आफैँलाई सुझाव दिन्छन् । बायाँ कुनामा बसिरहेको छात्र मसिनो स्वरमा बोल्छन्, "ओहो, मेरो पेट दुखाइ राम्रो हुँदै छ ।" योगेन उनको छेउमा जान्छन् । कानमा खुसुक्क भन्छन्, "नबोल्नुस् न उमेश । तपाईँले Autosuggestion को चरण पार गरिसक्नुभयो ।"
त्यसपछि म विद्यार्थीहरूलाई अर्को चरणका लागि तयारी गराउने चेष्टा गर्छु ।
"आज्ञाचक्रमा ध्यान दिनुस् । एउटा ज्योतिर्विन्दुको कल्पना गर्नुस् । त्यो प्रज्वलित ज्योतिर्विन्दु बिस्तारै शिरको सिउँदो हुँदै केन्द्रको सहस्रर चक्र(Crown Chakra)तर्फ सरेको कल्पना गर्नुस् । त्यहाँबाट त्यो ज्योतिर्विन्दु गर्दनको खोल्सी हुँदै पछाडि मेरुदण्डको चुरोबाट मुन्तिर झरेको कल्पना गर्नुस् । मेरुदण्डको तल्लो भागमा नाभिको सिधापछिल्तिर पुगेपछि त्यो ज्योतिर्विन्दु टक्क अडिएको मानिलिनुस् । मेरुदण्डबाट त्यो ज्योतिर्विन्दुले ड्रिलिङ गरे जसरी पेनिट्रेट गर्दै नाभिकेन्द्रमा आएको भिजुअलाइज गर्नुस् । नाभिकेन्द्रमा 'आज्ञाचक्र'बाट आएको ज्योतिर्विन्दुले ज्योति छरेपछि सङ्कल्पशक्ति (Resolution) एक्टिभेट हुन सुरु हुन्छ । त्यसपछि म जे भन्छु त्यही भन्नुहोलाः
"म यो प्रण गर्दछु कि आज म नयाँ कुरा सिक्छु ।"
सबै विद्यार्थीहरूले पनि मसँगै भन्नुहुन्छ । म फेरि अर्को सङ्कल्प वाचन गर्छु ।
"म यो प्रण गर्दछु कि आज म तन, मन वा धनले सहयोग गर्छु ।"
सबै विद्यार्थीहरूले पनि मसँगै सङ्कल्प गर्छन् । म फेरि अर्को सङ्कल्पका शब्दहरू प्रकट गर्दछु ।
"म यो प्रण गर्दछु कि आज म साहित्य सृजना गर्छु ।"
सबै विद्यार्थीहरूले पनि मेरो मन्त्र जस्तै उच्चारणसँगै दृढ सङ्कल्पको उच्चारण गर्छन् । यसरी मैले सङ्कल्पका 'त्रि स'हरू प्रण गर्नका लागि मेरा विद्यार्थीहरूलाई उद्वेलित गराउँदछु । भगवान बुद्धका त्रिरत्नहरू 'बुद्धम् शरणम् गच्छामी, धम्मम् शरणम् गच्छामी र सङ्घम् शरणम् गच्छामी' जस्तै सांसारिक व्यावहारमा 'त्रि स'हरूको छुट्टै महिमा छ । 'त्रिस' भनेका 'सिकाइ, सहयोग र सृजना' हरू हुन् जसले जीवनलाई हरपल अघि बढ्न उत्प्रेरकको भूमिका खेल्दछन् ।
सङ्कल्पशक्ति (Resolution) को अभ्यासपश्चात मेरा विद्यार्थीहरूलाई अन्तिम चरणमा लानकालागि म पुनः निर्देशन दिन सुरू गर्दछु । नाभिकेन्द्रमा एकीकृत ज्योतिर्विन्दुले निसृत सङ्कल्पशक्तिलाई मजबुत बनाएको कल्पना गर्न म सबै विद्यार्थीहरूलाई भन्दछु ।
"चार चरणको यो मार्ग ध्यानमा आँखाहरू पूर्णरूपले बन्द राख्नुहोला ।"
"अब बिस्तारै ज्योतिर्विन्दु नाभिकेन्द्रबाट मास्तिर ह्रदयचक्रतर्फ सरेको आभास गर्नुस् ।"
सबैजना कल्पना ध्यानमा चुर्लुम्म डुबेको देखिन्छ । कल्पनामा सयर गर्न रमाउने उमेरका साधकहरू कल्पना ध्यान गर्दा शान्त र निशब्द हुन्छन् । त्यसपछि मैले कृतज्ञता Gratefulness का लागि मसँगै वाक्यहरू दोहोर्याउन विद्यार्थीहरूलाई भन्छु ।
"मेरा आमाबुबालाई धन्यवाद छ ।" सबै भाइबैनीहरूले पनि सानो स्वरमा म जसरी नै भन्दछन् ।
"यो धर्ती, पृथ्वी, प्रकृति र सारा सृष्टिलाई धन्यवाद छ ।"
त्यहाँ सहभागी सबैले कृतज्ञताका यो वाक्य ह्रदयकेन्द्रमा सम्झेर वाचन गर्दछन् । मेरो आसनको छेउमा बसेर योगेनले पनि मार्गका चार चरणहरू इमान्दारिताका साथ फलो गरिरहेका हुन्छन् । म फेरि अर्को कृतज्ञता Gratefulness भन्छुः
"आकाशीय पिण्डहरू सारा ग्रह, नक्षत्र-ताराहरूलाई धन्यवाद छ ।"
"सबै चर अचर प्राणीहरूलाई धन्यवाद छ ।"
"सबै मित्रहरू अमित्रहरू सबैलाई धन्यवाद छ ।"
"सबै देवीदेउताहरू, सदगुरू, गुरूहरूलाई धन्यवाद छ ।"
"आफैँलाई धन्यवाद छ । मेरो जीवनलाई धन्यवाद छ ।"
मैले भनेका यी कृतज्ञताका वाक्यहरू अक्षरशः मनन गर्दै ह्रदयकेन्द्रमा सबै सहभागी विद्यार्थीहरूले ध्यान दिइरहेका छन् । ह्रदयमा ज्योतिर्विन्दुको प्रकाश फैलिएर शुद्धीकरण भएको भान हुन्छ । अँध्यारो मन्दिरमा दियो बलेपछि प्रकाश आएर मन्दिर थोरै भए पनि उज्यालो भएसरि मनमा ज्योतिर्विन्दुको ज्योतिले उज्वल बनाएको छ ।
सबैजनाले आ-आफ्ना हातहरू एकआपसमा रगडेर हल्का तातो बनाउँछन् । त्यसपछि तातो हत्केलाहरू दुवै आँखाहरूमाथि राखेर सेक्ने कार्य गरिन्छ । हत्केलाहरू आँखाहरूबाट हटाउँदै परपर लगिन्छ र ती हत्केलाहरू हेर्दै आँखाहरू सुस्तरी खोलिन्छन् । "अब आ-आफ्ना हत्केलाहरूलाई ओठमा टाँसेर म्वाइँ खानुस् ।" मैले यो अनुरोध गरेपछि सबैले त्यसै गर्छन् । त्यसबखत सबैको मुहारमा केही हाँसो, केही लाजको समिश्रण झल्किन्छ । फेरि म सम्झाउँदै भन्छु, "यी हातहरूप्रति हाम्रो कृतज्ञता हो ।" मैले यसो भन्दै गर्दा सबै विद्यार्थीहरूले यो पलको आनन्द लिइरहेका हुन्छन् । मलाई अझ खुसी लाग्छ । "अब दुवै हातहरू क्रस गरी आ-आफ्नो छातीमा राख्नुस् ।" सबै विद्यार्थीहरूले दाहिने हातमाथि देब्रे हात राखी छातीमा स्पर्श गर्छन् । "आफैँले आफैँलाई अङ्कमाल गर्नुस् । जसले आफूलाई माया गर्छ उसले अरूलाई पनि माया गर्दछ; यदि त्यो माया उज्वल ह्रदयबाट निसृत हो भने ।"
सबै विद्यार्थीहरू आफ्नै हातहरूले आफूलाई अँगाली आत्मविभोर भएको पल देखिन्छ । यसपछि उनीहरू साथीहरूसँग खुसी साटासाट गर्दछन् । यसरी मार्ग (MARG: Mindfulness, Autosuggestion, Resolution and Gratefulness) ध्यानका चार चरणहरू समाप्त हुन्छन् । त्यस दिनको ध्यान सकिएपछि सबै विद्यार्थीहरू कक्षाकोठातिर प्रस्थान गर्दछन् ।
⃰
दोस्रो त्रैमासिक परीक्षाको नतिजा प्रकाशित हुने दिन थियो । विद्यार्थीहरू आ-आफ्ना अभिभावकसँग रिजल्ट लिन आएका छन् । रिपोर्टकार्ड पाएपछि विद्यार्थी र अभिभावकहरूले प्रतिक्रिया व्यक्त गर्दै छन् । शिक्षकहरू भने रिजल्ट घोषणा गर्दै वियार्थीहरूलाई रिजल्टका बारेमा उठेका सवालका जवाफ दिँदै हुनुहुन्छ । कोही विद्यार्थीहरू खुसी छन् कोही दुखी छन्; पास वा फेलको कारणले । यस पटक पनि आमालाई लिएर परीक्षाफल हेर्न योगेन आएका छन् । उनले रिपोर्टकार्ड हेरिसकेका छन्; उनी न खुसी न बेखुसी भएका छन् । उनको भावभङ्गिमा सामान्य देखिन्छ तर योगेनकी आमाले रिपोर्ट कार्ड लिएपछि सोझैँ हिमाल सरकहाँ जानुहुन्छ । वहाँ रिजल्टमा सन्तुष्ट देखिनुहुन्न । वहाँ आक्रोशमा हुनुहुन्छ ।
"हिमाल सर, यो के रिजल्ट हो, भन्नुस् त ?"
"रिजल्ट के भयो र मेडम ?" हिमाल सरले शान्त स्वरमा भन्नुहुन्छ ।
"यो पटक पनि एउटा विषयमा फेल भयो मेरो छोरा । सरमिसले पढाउन नजानेर हो कि मेरै छोराको दिमाग नभएर हो ? मलाई आज कारण बुझ्नु छ !" योगेनकी आमा केही ठुलो स्वरमा बोल्नुहुन्छ ।
"धैर्य गर्नुस् न मेडम, नरिसाउनुहोला । योगेन जस्तो विद्यार्थी फेल हुँदा हामीलाई पनि दुःख लाग्छ । खास कारण के हो, बुझ्नुपर्छ ।" हिमाल सरले सम्झाउने हेतुले भन्नुहुन्छ ।
"किन चुप लागेर बसेको योगेन ? ल आफैँ भन फेल हुनाका कारण के हो ?" आमाले योगेनलाई सोध्नुहुन्छ ।
"विज्ञान विषयको परीक्षाको दिन म बिरामी थिएँ, आमा ।" योगेनले सामान्य प्रकारले जवाफ दिन्छ ।
"अँ साँचि ! तिमीलाई ज्वरो आको थियो है त्यो परीक्षाको दिन ।" योगेनकी आमाले सम्झिन खोज्दै भन्नुहुन्छ । "तर एक्जाम त दिएकै हो तिमीले ज्वरोको कारणले फेल भएँ भन्न पाइँदैन ।"
योगेनले वाचा गरे जसरी आमालाई वचन दिन्छ, "चित्त नदुखाउनुस् आमा, अब राम्रो पढेर अर्कोपल्ट पास हुन्छु ।"
योगेनको कुरा सुनेर उनकी आमाले सन्देहपूर्ण नजरले हेर्नुहुन्छ । "यो सालको पहिलो परीक्षाको रिजल्टमा पनि यसै भनेका थियौ, योगेन तर -"
हिमाल सरले आमा छोराको वार्तालाप सुन्दै हुनुहुन्छ । योगेन दोस्रोपटक पनि फेल भएकामा उनकी आमालाई निकै दुःख लागेको छ तर योगेनलाई फेल भएकोमा उति धेरै मन दुःखेको जस्तो लाग्दैन । यसैबिचमा हिमाल सरले भन्नुहुन्छ, "सुन्नुस् मेडम, बाबु यसपल्ट पास भएकै हो ।"
योगेनकी आमा अचम्म मिसाएर अलिकति कठोर बोल्नुहुन्छ, "के भन्नुभएको सर ? यो रिपोर्टकार्ड फर्जी फेक हो त ?"
हिमाल सर थोरै हाँस्दै भन्नुहुन्छ, "तीन घन्टा लेखेर कसैको वास्तविक परीक्षा हुन सक्दैन, मेडम ।" योगेनकी आमा थप रिसाउनुहुन्छ । हिमाल सरले कुरा थप्दै भन्नुहुन्छ, "योगेनलाई ध्यान दिएर हेर्नुस् । व्यावहारमा केही परिवर्तन देख्नुभएको छ ?"
"यो रिपोर्टकार्डमा व्यावहार देखिँदैन सर, पास फेल देखिँदोरहेछ ।"
"मैले त्यही भन्न खोजेको हो । परीक्षा, परिणाम र प्रगति कागजको अङ्कले मात्र निर्धारित गर्दैन ।" योगेनकी आमाले फेरि प्रश्नात्मक कुरा गर्नुहुन्छ, "तपाईँले मेडिटेसन गराउनुहुन्छ भन्ने कुरा मैले सुनेकी छु सर । त्यसकै कारणले होला योगेन पहिलाको भन्दा कम चुलबुले भएको छ ।"
"त्यसो हो मेडम ? व्यावहार परिवर्तनको राम्रो उदाहरण सुनाउनुभयो ।" योगेनलाई नजिक बोलाएर उसको काँधमा हात राख्दै हिमाल सर भन्नुहुन्छ, "प्रथम परीक्षामा फेल हुँदा तपाईँ रुनुभएको थियो, योगेन । यो पल्ट किन रुनु भएन ?"
"त्यसबेला त्यतिकै रुन मन लागेको थियो सर । यो पल्ट फेल भएर दुख त लागेको छ तर रुन भक्कानो छुटेको छैन ।"
"फेल हुने बानी लागेर असर पर्न छोडेको त होइन, छोरा ?" आमाले योगेनलाई प्रश्न गर्नुहुन्छ । योगेन मुस्कुराउँदै भन्छन्, "त्यत्रो मेहेनेत गरेको तीन घन्टा लेखेको एक्जाममा फेल हुँदा मलाई कहाँ असर परेको छैन र आमा ! तर यो पटक आँसु चाहिँ झरेन, क्या ।"
हिमाल सरले भन्नुहुन्छ, "यही हो माइक्रो मेडिटेसनको मार्गले देखाएको परिवर्तन, योगेन । म यहाँ विद्यार्थी र गार्जेनहरूलाई विचार गरिरहेको छु, मेडम । मार्गको अभ्यास गर्ने विद्यार्थीहरूमा पास हुँदाको खुसी र फेल हुँदाको बेखुसीको अतिवेदना देखापरेको छैन । तर मार्ग अभ्यास नगर्नेहरूमा संवेदना धेरै प्रकट भएको छ । कोही दुखी छन्, कोही क्रुद्ध छन् भने कोही अतिखुसी छन् । यी दुवै आदतहरू असन्तुलन हुन् । मेडिटेसनले आदत र व्यावहारमा सन्तुलन कायम गराउँदछ ।"
"म पनि छोरो फेल हुँदा अलि धेरै नेगेटिव सोचेँ छु; अनि रिस उठ्यो, मनको ब्यालेन्स मिलेन । मैले पनि मार्गको अभ्यास गर्नुपर्ला जस्तो छ सर । " योगेनकी आमाले उत्साहले भरिएको स्वरमा भन्नुभयो ।
"सङ्कल्प, समताभाव र सहयोगका लागि मार्ग । यो माइक्रो मेडिटेसनले देखाएको मार्गमा हिँड्ने कोसिस गर्नुस् मेडम । अवश्य शुभलाभ हुने छ ।"
त्यतिनै खेर कार्यालय सहयोगी ठुलो डस्टबिन काँधमा बोकेर अफिस बाहिर निस्कन्छन् । हिमाल सर र योगेनको छेउमा आइपुगेपछि अचानक वहाँको शरीरको सन्तुलन विग्रन्छ । उनको हातबाट डस्टविन भुइँमा खस्छ । त्यसभित्र फ्याँकिएका कागज, प्लास्टिक, कार्टुन, मसीका बट्टा, र्यापरहरू सबै छरपस्ट हुन्छन् । योगेन स्वयम् गएर छरिएका फोहोरमैलाहरू बटुल्न सहयोग गर्न थाल्छन् । ती कार्यालय सहयोगीले योगेनलाई धन्यवाद बाबु भन्दै डस्टविन रिफिल गर्न थाल्छन् । योगेनकी आमा मार्कसिट हातमा लिएर छोराको स्वतःस्फुर्त कार्य हेर्नुहुन्छ । वहाँ मनमनै प्रसन्न हुनुहुन्छ । छोराको त्यो सहयोगी व्यावहार देखेर लिखित परीक्षाको परिणाम गौण लाग्छ वहाँलाई ।
***