कसैले भन्छन्— समयको प्रवाहसँगै बग्न सक्नुपर्छ । कोही भन्छन्— वास्तविक साहसी त्यो हो, जो समयको उल्टो धारमा पौडन सक्छ। खोलाको सुसाइ र पानीको बहावसँगै बग्न त सजिलो होला, तर प्रवाहको विपरीत पौडिनु निकै कठिन छ । यो त केवल ती कुशल पौडीबाजहरूले मात्र सक्छन्, जसमा अदम्य साहस र संकल्प हुन्छ । तर, कहिलेकाहीँ म सोच्छु— नबग्दा के हुन्छ? अनि बग्दा के हुन्छ? पानीको स्वभाव नै बहने हो, ऊ सधैँ ओरालोतिरै लाग्छ। मान्छे बग्ने भनेको सायद समयको गतिसँगै अघि बढ्नु हो ।
मेरो स्मृतिमा पानीसँगका यस्ता केही यादहरू छन्, जसले मलाई मृत्युको मुखबाट फर्काए र जीवनको परिभाषा सिकाए।
हाम्रो गाउँ 'लाम्सु' दुबैतर्फ खोला भएको एउटा सानो थुम्कोमा छ । गाउँको पुछारमा दुईवटा खोलाहरू आपसमा मिसिन्छन्। उत्तरतर्फ सपाउदे खोला र दक्षिण पश्चिम ठूलो खोला । हिउँदमा ती खोला साना हुने भएपनि वर्षाको समयमा खोलाहरूले रौद्र रूप धारण गर्छन् । तिनीहरुले निकालेको गड्गडाहट आवजले हामी लाम्सु गाउँमा बस्नेहरुको बोली समेत चर्को हुन्थ्यो । म करिब चार वर्षको हुँदाको कुरा हो। आमा घाँस काट्न ठूलो खोला पारि जान लाग्नुभएको थियो । म पनि आमाको पछि लागे छु । आमाले मलाई एक दुई पटक घरमा फर्काउनु भएछ , त्यसपछि उहाँले ठान्नु भएहोला उ घरमा नै बस्छ । तर बालकको मन आमाको सामीप्य छाड्न कहाँ मान्थ्यो र ! म भने आमा भन्दा केहि पछाडि टुकुटुकु खोलाको किनारसम्म पुगेछु।
आमा हतारमा खोला तरेर पारि पुग्नुभयो, म पनि आमाकै पदचाप पछ्याउँदै पानीमा पसेँ। वर्षाको त्यो उन्मत्त भेलले मलाई एकै निमेषमा तान्दै करिब पचास मिटर तल एउटा भुमरीमा पुर्यायो। मृत्यु मेरो निकै नजिक थियो। तर, त्यही बेला मेरो हातले एउटा विशाल र चिल्लो ढुङ्गा समात्न पुग्यो। त्यो ढुङ्गा मेरो लागि केवल ढुङ्गा थिएन, साक्षात् सहारा थियो। पानीमा डुबिरहेको मेरो हातले ढुङ्गा छुन सक्यो । त्यसपछि अर्को हात र शरीर पनि ढुङ्गा तिरै लगें । शरीरले त्यसैको आडमा प्राण पायो। आज सोच्छु, यदि त्यो 'पहेंलो अखेटो' परेको ढुङ्गा त्यहाँ नभएको भए, मेरो जीवनको कथा त्यहीँ पूर्णविराम लाग्ने थियो।
१४-१५ वर्षको उमेरमा अर्को पटक फेरि खोलाले मलाई परीक्षा लियो। पारीको खेतबाट बोकेर ल्याएको मकैको भारी खोलाको किनारमा अढ्याए । नुवाइ धुवाइ गर्न खोलामा पुगें । खोलाको तिरको एक ढुङ्गोमा बसेर मुख धुँदै गर्दा खुट्टा चिप्लियो र म फेरि भेलको चपेटामा परेँ। तीस मिटर तल पुगेपछि एउटा ओडार जस्तो ढुङ्गाले मलाई फेरि काख दियो। खोला जति कठोर छ, त्यति नै दयालु पनि रहेछ। उसले कहिले बगायो त कहिले ढुङ्गाको सहारा दिएर बचायो पनि।
शिक्षा आर्जन गर्ने बाटो हाम्रा लागि कहिल्यै सहज रहेन। कक्षा ८ मा पढ्न जनता माध्यमिक विद्यालय, सर्कुवा जानु हाम्रा लागि केवल दूरी पार गर्नु मात्र थिएन, 'ठेउले खोला' सँगको दैनिक पौठेजोरी पनि थियो। हिउँदमा शान्त देखिने त्यो खोला वर्षा सुरु भएसँगै हाम्रो जीवनकै एउटा कठोर परीक्षा बनिदिन्थ्यो। असार र साउनको बिदा त घरमै बित्थ्यो, तर जेठको सुरुवातमै बादल गर्जन थाल्दा र भदौको झरीले खोला सुसाउँदा हाम्रो मनमा एउटा अज्ञात भयले डेरा जमाउँथ्यो।
एउ वर्षको एक दिनको घटना अझै मानसपटलमा ताजा छ। असारको पहिलो हप्ता, दिनरातको अविरल वर्षाले खोलानाला बौलाएका थिए। तर, हाम्रो अर्धवार्षिक परीक्षा थियो— जसरी पनि पुग्नै पर्ने! राङ्खानी र पैञ्यूको हाम्रो ठूलै टोली झोलुङ्गे पुलको बाटो छाडेर छोटो बाटोबाटै खोला तर्ने जोखिम मोल्न तयार भयौँ। किनकि, पुलको बाटो जाँदा थप एक घण्टा लाग्थ्यो । खोला तरेपछि पनि हामी मादीको उकालोमा दौडेदा पनि एकघण्टा भन्दा कम समयमा पुग्न सम्भव थिएन । परीक्षा छुट्ने पक्का थियो।
खोलामा अलि फैलिएको जगार जस्तो परेको स्थानको नजिक पुग्यौं र हामीले आफ्ना जुत्ता, पाइन्ट र कमिज फुकालेर झोलाभित्र कोचेौँ। ती झोलाहरूलाई टाउकोमा बाँधेर एकअर्काको हात दह्रो गरी समात्दै हामी धमिलो र उर्लिएको पानीमा होमियौँ। खोलाको बीचतिर पुग्दा पानीको बहाव यति तीव्र थियो कि हेर्दाहेर्दै देवलधारका एक साथी पल्टिए, उनको झोला पानीले निल्यो। तर, झोला समात्ने होस कसलाई हुनु? सबैको ध्यान ज्यान जोगाउनमै थियो। त्यही मुस्लोको बीचमा मेरो ठूलोबाको छोरा दयाराम अचानक चिप्लियो। पानीको वेगले उसलाई क्षणभरमै गुटमुटायो। उसले पानीमा हातपाउ छटपटाउँदै गर्दा देखिएका ती 'पहेंला पैतला' को दृश्य सम्झँदा अहिले पनि मुटु काँप्छ।
तत्कालै, किनार नजिकै पुगिसकेका लेखनाथले आफ्नो झोला हुत्याएर दयारामको खुट्टा समात्न सफल भए। दुवैजना केही मिटरसम्म बगे, तर मौकाले दुबै किनार लाग्न सफल भए। हामी सबै मिलेर उनीहरूलाई पानीबाट बाहिर तान्यौं। दयारामको ज्यान बच्यो । देवालधारे साथीको सबैथोक खोलाले लग्यो। लाहुरे बुवाले ल्याइदिएको घडी र कपडा भएको झोला अब खोलाको भेलसँगै कता पुग्यो, पत्तो भएन। शरीरमा एउटा कट्टु मात्र बाँकी रहेका उनलाई हामीले आफूसँग भएका थप कपडा दिएर लाज ढाक्न मद्दत गर्यौँ। कपडा र घडी हराएकोमा भन्दा पनि एउटा साथीलाई मृत्युको मुखबाट फर्काउन सकेकोमा हामी सबैको मनमा एउटा अनौठो खुसी र सन्तोष थियो।
जीवनको अर्को एउटा अविस्मरणीय मोड 'विराउनीको दह' मा आइपुग्यो। कक्षा ९ मा पढ्दा साथीहरूसँग कुश्मीसेरा घुम्न जाँदा निलो र गहिरो दहमा हामफाल्ने हिम्मत गरेँ। तर, पौडीमा उति अभ्यस्त नभएको म पानीको भुमरीमा फसेँ। जति हात पाउ चलाए पनि म भित्र-भित्रै भासिँदै गएँ। श्वास रोकिएर निलो भइसकेको मलाई मेरा मामा झलक शर्माले साहसी बनेर बचाउनुभयो। उहाँको त्यो सहयोगले मलाई एउटा ठूलो पाठ सिकायो— "सहारा तब मात्र काम लाग्छ, जब मान्छे आफैँले पनि बाँच्ने प्रयास गर्छ।"
पछि म आफैँ खोला तार्ने 'सहयोगी' बनेँ। लेकबाट झर्ने वृद्धवृद्धा र महिलाहरूलाई हात समातेर खोला तार्दा मैले एउटा कुरा महसुस गरेँ— जसले आफ्ना खुट्टा दरिलो गरी टेक्छन्, उनीहरू सजिलै पार हुन्छन्। तर, जो डरले बीचमै खुट्टा लल्याकलुलुक पार्छन्, उनीहरू आफैँ पनि पल्टिन्छन् र तार्नेलाई पनि सँगै लैजान्छन्।
खोला र बाढीको यो भयावह शृङ्खला मेरो विद्यार्थी जीवनको उत्तरार्धसम्म पनि जारी नै रह्यो। पृथ्वीनारायण क्याम्पस, पोखरामा प्रमाणपत्रा तह पढ्दै गर्दा एकपटक साउनको झरीमा खल्ती रित्तियो। सहरमा खर्च सकिएपछि गाउँबाट रासन र पैसा ल्याउनुको विकल्प थिएन। आखिर, त्यो जोखिमपूर्ण यात्राको भारी मेरो काँधमा आइपर्यो।
पोखराबाट नागडाँडा हुँदै ओरालो झरेपछि सेतीदोभानदेखि कार्किनेटा फेदीसम्मको यात्रामा 'आँधिखोला' सँग पटक-पटक सामाना गर्नुपर्थ्यो। धार्मिक मिथक अनुसार श्रवणकुमारले आफ्ना दृष्टिविहीन आमाबाबुलाई तीर्थ गराउन बोकेर हिँड्दा, उनका आँसुबाट यो खोला जन्मिएको हो भनिन्छ। तर, साउनको त्यो झरीमा आँधिखोला 'आँसु' जस्तो कोमल थिएन, बरु एउटा भयानक गर्जनसहित उर्लिरहेको थियो।
सेतीदोभानमा केही चिनी, चियापत्ती र आवश्यक सामग्री झोलामा कोचेर म अघि बढेँ। आकाशबाट अविरल वर्षा बर्सिरहेको थियो। बीच बाटोमा बास बस्न खल्तीमा दाम थिएन, र नहिँडी भोलिपल्ट घर पुग्ने सामर्थ्य पनि थिएन। एउटा सामान्य प्लास्टिक किनेर टाउकोदेखि कम्मरसम्म ओढेँ र आँधिखोलाको जंघार खोज्दै पानीमा पसेँ।
आँधिखोला, हाम्रो गाउँको 'ठूलो खोला' वा 'ठेउले खोला' जस्तो ठाडो र भिरालो त थिएन, तर यसको गहिराइ र चौडाइले मुटु कमाउँथ्यो। एउटा मोडमा खुट्टा चिप्लियो, म पानीमा पछारिएँ। धन्यै, खोला समथर बग्ने भएकाले म त बगिनँ, तर मेरो झोला र आङका लुगा लुछुप्पै भिजे। मसँग फेर्ने अर्को जोर लुगा थिएन। साउनको त्यो चिसो झरी, भिजेका लुगा र रित्तो पेट— कष्टको त्यो यात्रा वर्णन गर्न शब्दहरू कम पर्छन्।
त्यही भिजेकै कपडामा दिनभरि हिँडिरहेँ। शरीरको तातोले बिस्तारै कपडा सुक्दै गए। कष्टका साथ कार्किनेटको उकालो, शंकरपोखरी र कालिगण्डकीको ओरालो छिचोल्दै जब भोलिपल्ट बिहान घर पुगेर तातो भातको गाँस मुखमा हालेँ, तब मलाई महसुस भयो— जीवन केवल बग्नु मात्र होइन, बरु विपरीत धारसँग लड्दै आफ्नो गन्तव्यसम्म पुग्ने साहस पनि रहेछ।
आज फर्केर हेर्दा लाग्छ, म पानीसँग बग्न त जानेँ, तर समुद्रसम्म पुग्न सकिनँ। न त समुद्रको गहिराइमा पुगेर मोती नै टिप्न सकेँ। मेरो जीवन कहिले खहरेजस्तो उर्लियो त कहिले शान्त दहजस्तो मौन रह्यो। खोलाले मलाई सिकाएको सबैभन्दा ठूलो सत्य यही हो— जीवन बग्नुको नाम हो, र हरेक बहावमा एउटा नयाँ सङ्घर्ष लुकेको हुन्छ।
रमाकान्त शर्मा, चितवन