मदन पुरस्कार , पद्मश्री पुरस्कार लगायत साहित्यका विभिन्न राष्ट्रिय एवं अन्तरास्ट्रिय पुरस्कारहरू बाट पुरस्कृत एवं सम्मानित लेखक, निलम कार्की निहारिकाको पछिल्लो ऐतिहासिक आख्यान `राजमाता´ पढ्ने हुटहुटी जाग्नु त्यति अनौठो त थिएन , तर सरसर्ती पढ्न चाहने म जस्तो पाठकलाई, हुरूरू पढाईले नपुग्ने उहाँका कृतिमा रुमलिन केहि समय अवश्य लाग्यो । आख्यानको `आरम्भ´ले नै नेपाली प्राचीन देखि आधुनिक इतिहास , र इतिहासकारहरुको सारंश खिचेको यो पुस्तक आख्यान भन्दा बढी दस्तावेजको रुपमा आएकोछ । उपलब्ध तथ्यांकले समेट्न नसकेका ऐतिहासिक कालखण्डमा घटेका वास्तविक घटनाहरूको गहिरो अध्ययन , अनुसन्धान , संश्लेषण र विश्लेषवादी लेखकीय परिचय बनाउन सफल लेखक कार्कीले, पुरूष माहात्म्यले साशित हाम्रो इतिहासलाई पछि पारिएका , वा भनौं लेख्न नै आवश्यक नठानिएका, तर राजकाजमा अहम भुमिका खेलेका राजमाताहरूको भुमिकालाई मिहिन रूपमा पाठकको हातमा पुर्याएको देखिन्छ ।
नारी प्रधान लेखनको शुरूवातमा नै हार वा अस्तित्व बिहिनता स्वीकार्न नसक्ने पुरूष मानसिकता र सत्ताच्युत भएपनि सत्तास्व्वादको धङधङीले छोड्न सक्दैन भन्ने प्रसंग समेटेको भेटिन्छ । (शत्रुबाट राज्य लुटिएपछि अघिको ओहदा नरहे तापनि , समयले शरणार्थी बनाए तापनि मर्दानाको शिरमा मानसम्मानको पगरी यथावत थियो । अनि संस्कार मानिने घुम्टो थिए जनानाका निधारसम्म - पृ. ४ ।)
देवलदेवीको बालविवाहको प्रसंग आफैंमा इतिहासमा कसरी अबोध बालिकाहरू साशकको कुदृष्टीमा पर्थे भन्ने उदाहरण हो । अर्कोतिर , आफुसंग सामर्थ्य हुँदाहुँदै पनि माइतीलाइ सहयोग गर्न नसक्ने बनाइनु र संस्कारको नामले नमिल्ने भनिनु , प्राचिनकालमा , सामान्य समाजमा मात्र नभै राजकाजी समाजमा समेत नारी शोषण जकडिएको थियो भन्ने स्पष्टता देखिन्छ , जसमा उनीहरू जन्मनुको नै के अर्थ र भन्ने समेतको मानसिक यातनामा रहन्थे । (``ग्व जिगु जन्मयाछु ज्या वल, अजि?´´-पृ. ३४)
नहुनेहरूलाई नहुँदा खासै असर नपर्ला , तर राजाकाज र वैभवमा बाँचिरहेकाहरु जब लुटिन्छन , तव उनीहरूमा मानसिक बिचलन चरम सिमाम पुग्छ र अन्ततः मृत्युमा परिणत हुन्छ भन्ने चेत , गया सुद्दिनको आक्रमणबाट रित्तिएका तिरहुत/सिम्रौनगढका राजा , हरिसिंहदेवको मृत्युको कथामा भेटिन्छ । अर्कोतर्फ , सन्तान र जिम्मेवारीप्रति पुरुष भन्दा महिला अझ जिम्मेवार हुन्छन् भन्ने कुरा रानी देवलदेवीले सती नजाने निर्णय गरेको र राजकुमारको रेखेदेखका लागि जुनसुकै मुल्य चुकाउन तयार भएको घटनाले प्रष्ट पार्छ । `उनको काँधमा पिताविहीन भूमिविहीन बालक छोराको अभिभारा बाँकी रह्यो । त्यसैले … संगै जल्ने अग्निको बाटो रोज्न सकिनन - पृ. ४८ ।´
प्राचीन नेपालको कलाकृति र तत्कालीन राजदरबारहरूको सौन्दर्यात्मक बर्णनको (.. पौवा थाङकाले सजिएको , काठ र काँसका गणेश , शिव , बिष्णुलक्ष्मी , सूर्य , बुद्ध मातृका आदिका सानाठूला मुर्तिले सजिएको बिशाल कक्ष … पृ. ६४) बर्णमाला समेत हो - राजामाता ।
पूरुष जडित मानसिकतामा `उत्तराधिकारी´ शब्दको अर्थ नै `पुरुष´ थियो भन्ने कुरा (एक त नाबालिका अनि स्त्री जाती … अघिका दिनमा कहिल्यै नभएको घटना , नबसेको थितिलाई स्वीकार्न सहज नहुनु अस्वभाविक थिएन - पृ. ७०) , नाबालिका नायकदेवीलाई युथुनिममको उपराज अधिकारिणी घोषणा गर्दा तत्कालीन भारदारहरूले सहजै स्वीकार्न नसकेको परिघटनाले दर्शाउँछ । उनीहरू स्त्री शासित राज्यमा जिउन बाध्य त थिए तर आत्मिक स्वीकार थिएन । राज्यमा हुने मानवीय एवं प्राकृतिक बिपत्ति समेतमा `आइमाईले चलाएको राज्य´ को उपमा दिएर पन्छिने पुरुष मानसिकताले नै नेपाली इतिहासमा `देवलदेवी´ र `पदुमलदेवी´हरु नलेखिएका हुन ।
प्राचीन समाजमा मात्र होइन , आजसम्म पनि आफ्नो स्वार्थ हेतु `कन्यादान´ गर्ने समाजले त्यही स्वार्थको लागि `डोलाजी´ चाहिँ सहजै किन स्वीकार्दैन ? (कन्यालाई बाहिर राज्य पठाउन मिल्ने तर उपराजको अधिकरिणीको स्वामी बन्ने कुमार बाहिरिया हुन नमिल्ने हठमा … पृ. ८२)
एक विवाहित नारी, चाहे राज होस या रैती कुल , जसमा भएपनि आफुले गरेको काम निस्वार्थ हो भन्ने प्रमाणित गर्न ठुलो संघर्ष गर्नुपर्ने सामाजिक यथार्थको गहिरो चित्रण पनि हो - राजमाता । (रैती दुनियाँले अब देवलदेवीलाई हिजोको वैरी राज्य तिरहुतकी रानी होइन , नेपालम्ण्डलकै छोरीकै रुपमा स्वीकारेका थिए - पृ. १४४)
पहिलो खण्डको अन्त्यमा आइपुग्दा , ऐतिहासिक उपन्यासले यक्ष मल्लसम्मको अखण्ड नेपालमण्डलको अलिखित इतिहास लेखेको भेटिन्छ । देवलदेवीको राज्य सञ्चालनको सुक्ष्म विश्लेषणात्मक बर्णनको वरिपरि घुमेर बि. स. १४०० को आधाआधिमा सकिएको पहिलो अध्यायको अध्ययनले नेपालको प्राचीन इतिहासको एउटा दर्विलो पाटो उजेलेकोछ ।
लगभग मध्यकालीन नेपालको गोर्खा राज्यमा नरभूपाल शाहको उदयपूर्वको , `हालसम्म अलिखित´ इतिहास लेखेर शुरु गरिएको दोश्रो अध्याय , अर्कि राजमाता(मल्लिकावती)को उदयबाट अगाडि बढेको देखिन्छ । राज्य सञ्चालनमा आफ्नो अधिपत्य कायम गर्न , छोरा नरभूपाललाई उत्तराधिकारी बनाउने प्रयासमा उनको समय सान्दर्भिक र मनोबैज्ञानिक संघर्षको लामो फेहरिस्त छिचोल्दै जाँदा , तत्कालीन सेन र गोर्खालीहरूको जुँगाको लडाइँमा , राजकुमारीहरू `डोली´ स्वरुपमा `महारानीहरू´ बनाइएर कसरी पिसिएका थिए भन्ने प्रष्ट हुन्छ । ( म बुहारी उनका चित्त नपर्याकी भया पनि नाति उनका हुन … ह्याँ नाति जन्मियाको खबर खबर पुग्न्यासाथ हडबड गर्दै लिन आउनुपरन्या । … क्यान ढिलासुस्ती हुनगयओ ? पृ. २०२)
आफ्नो सन्तानको लागि सती जानबाट समेत रोकिएर हुर्काएको छोराको ब्रतबन्ध र बिबाह जस्ता महत्त्वपूर्ण संस्कारमा समेत बिधवा भएकै कारणले उपस्थित हुन नपाउनुको गहिरो पिडा र तत्कालीन तथाकथित सामाजिक नियममा रैती मात्र होइन राज खानदान समेत ग्रसित थियो । अझ भनौं , यस्ता कुसंस्कारको थालनी र निरन्तरता नै कुलीन बर्ग (राज खानदान)बाट हुन्थ्यो भन्ने कुरा राजमाता मल्लिकावतीले , छोरा , नरभूपाललाई बेहुला बनाएर अन्माउँदा पाएको मानसिक यातनाको सविस्तार वर्णनले स्पष्ट पार्छ । (शुभकर्म वैधव्य आँखाले हेर्न अपशकुन हुन्छ भन्ने भयंकर त्रासको भ्रम उनका मस्तिष्कमा रोपिइरहेका थिए - पृ. ३११)
तत्कालीन गोर्खा राज्यमा नरभूपाल राजा भएपनि उनकी रानी चन्द्रप्रभावतीबाट जयजन्म नभएकोले उनको दरबारमा गुम्दै गएको हैसियतले बिट मारिएको दोश्रो खण्डले `त्यसपछि के भएको थियो होला ?´ भन्ने हुटहुटी मार्फत तेस्रो खण्डमा लैजान्छ ।
राजा नरभूपाल शाहको राज्योत्तराधिकारी जन्म हुन नसकेको र लगातार चारवटा विवाह भएको लामो फेहरिस्त भित्र शुरु भएको तेस्रो खण्डले पटरानी चन्द्रप्रभावतीले आफुले आफैंलाई सौता हालेको प्रसंगको मसिनो विश्लेषणमा यौनिता कम राज्य निरंतरताको आवश्यकता बढी देखिन्छ । मामा चेली- फुपू चेला वैवाहिक संस्कार तत्कालीन राज खानदानमा सहर्ष स्वीकार गरिन्थ्यो भन्ने कुरा राजा नरभूपाल शाहको चौथो बिबाह मावली राजकन्यासँग भएको प्रसंगले प्रष्ट पार्छ ।
अन्य ऐतिहासिक दस्तावेज र लेखहरुमा दरबारभित्रका नाजायज यौन परिघटनाहरूको फेहरिस्त नै भेटिएता पनि तत्कालीन राजदरबारमा हुने यौन विकृतिमा कमै स्थान दिइएको `राजमाता´मा राजा नरभूपालको चार रानी इतरको संबन्धलाई मात्र अलि बढी छोइएकोछ । (हजुरका चार महारानीमा नभाया त्यस्तो के छ त्यसमा ? पृ. ४१७) अर्कोतर्फ , राजाहरूबाट दरबारमा काम गर्ने महिलाहरू माथि हुने खुलमखुला यौन हिंसाको (राजा रनबन डुलिबक्सिन्छ भन्न मात्र । महारानीहरू मात्रै होइन , काली धाईका भुँडी पनि डम्मै - पृ. ५१२ ।) सपाट चित्रण पनि भेटिन्छ । साथै दरबारका केहि केही सुरारे र सेवक बिचको अनैतिक लसपसले वास्तविक अनैतिकताको हैसियत पाउँदा- नपाउँदा सजायको भागिदार बनेका घटना बिशेषले पनि `आफुले गरे पुरुषार्थ , अरुले गरे सजाय´ को मुखबोली कानुनी राजका यस्ता परिघटनाले यसलाई पुष्टि गर्छ ।
उदेश्य सही राखेर गरिए पनि गैरकानुनी काम भएमा सजायको भागिदार बन्नुपर्छ भन्ने कुरा मझुवालीले पाएको सिस्न्या दण्डले प्रष्ट पार्छ ।
इष्ट ईन्डिया कम्पनी , प्रथम र दोस्रो विश्वयुद्ध अघि नै `गोर्खाली´ फौज युद्धकलाका निपुण थिए भन्ने कुरा तत्कालीन गोर्खाका राजा नरभूपाल शाहले तत्कालीन नेपाल मण्डलमा पठाएका सहयोगी/भाडाका सिपाहीको वृतान्तले दर्शाउँछ ।
गोर्खा दरबारमा जेठा महारानीले परिचीत पृथ्वीनारायणकी जेठी आमाले नुवाकोट आक्रमणको समयमा पति, नरभूपाललाई गरेको बुद्धिमताको सहयोगले चन्द्रप्रभावतीलाई अर्की `राजमाता´रुपमा नेपाली इतिहासमा चिनाएकोछ ।
गुमीसकेको गोर्खा राज्यमा उत्तराधिकारी दिलाउन अहम् भुमिका खेलेको मात्र नभै , नरभूपालको नायवी स्वरुपमा राजकाजमा सरिक रहेकी मुमा महारानी मल्लिकावती , दरबार त्यागको निर्णय सम्मको अवस्थामा पुग्नु , आमाप्रतिको अपमान हो या होइन , नरभूपाल महाराज ?
एकातिर पुर्विय दर्शनको हिमायती भन्ने , अर्कोतिर पश्चिमा दर्शनको संस्कारमा चुर्लुम्म डुबेको वर्तमानको हरेक समारोह र उत्सवमा ``केक काट्ने´´ चलनप्रती अप्रत्यक्ष रूपले असहमति जनाउन समेत कार्की पछि परेकी छैनन् । `युवराजले गुरूले दिएको तिल र सखर राखिएको गाइको दुध अंजुलीमा राखेर तीन पटक पिए - पृ. ५३५ ।´ पृथ्वीनारायणको जन्मोत्सवको प्रसंगमा उल्लेखित यो हरफ आफैंमा काफी छैन र ?
नेपाल त के विश्व भरी नै नारी शिक्षामा निर्दयी तत्कालीन समाजमा पनि उबेलाको गोर्खा दरबारका राजकुमारीहरुमा चाहिँ केहिहदसम्मको शैक्षिक चेतना बढाइएको थियो । `सबैलाई पढ्न रूचि नभए पनि , निरंतरता नपाए पनि राजकुमारीहरूलाई अक्षर चिनाउने परिपाटी बसाइएको थियो - पृ. ५३६ ।´ यसलाई महिला सशक्तीकरणको जगको रुपमा ब्याख्या गर्न सकिन्छ । शारीरिक कदका कारण अविवाहित रहनुपरे पनि यथेष्ट लेखपढ मार्फत आफ्ना दाजु पृथ्वीनारायणलाई खजान्ची बनी पुरापुर सहयोग गर्ने अर्की राजकुमारी पद्मकुमारी मध्यकालीन नेपाली इतिहासमा ओझेल पारिएकी अविवाहित तर कर्मले पराक्रमी `राजमाता´ हुन , जसका शब्द कडा भएपनि राजा पृथ्वीनारायण शाहका लागि मार्गदर्शक हुन्थे । त्यतिमात्र नभै नेपाल एकीकरणको इतिहासमा कहिल्यै नलेखिने वास्तविक `राजमाता´हरू ती हुन जसले गोर्खा राज्यको बिस्तार , बिकास र फैलावटका खातिर वीर छोराहरू जन्माएर पुस्तौंदेखि सेवा गरिरहे ।
`चुगली हाली घर फोर्न्या, भाँड्न्यालाई चिनेर राख्नुपर्न्या हुन्छ । पिताको कुभलो सोच्न्याले पुत्रको पनि भलो सोच्या हुन्याछैनन -पृ. ५४६ ।´ पिता नरभूपालले मन बरालेको संक्रमणकालको फाइदामा दरबरका केहि भारदारहरूको उक्साहटमा राजमुकुट परिहिने सुरसारमा रहेका पृथ्वीनारायणलाई , उक्साउनेको भर नहुने प्रष्ट पार्दै अरुको लहलहैमा नलाग्न दिएको उपदेश , नेपाली इतिहासकी अर्की परिपक्व `राजमाता चन्द्रप्रभावती´ को योगदानको उजागर हो । यसैगरी , उकसाहट र चौताराको जोडबलमा राजा नरभूपाल मानसिक बिचलनताको अवस्थामा पुगेर गोर्खा राज्यकै अस्तित्व धरापमा परेको अवस्थाबाट राजालाई आस्वस्त पारी आफूले `चौतारा महारानी´ पदवी लिएर राजकार्यमा सकृयता लिएको घटनाले समेत चन्द्रप्रभावतीको `राजमातृत्व´ पुष्टि हुन्छ ।
राजमातामा राजनीति मात्र होईन , तत्कालीन समयमा जकडिएको अन्धविश्वास र कुसंस्कार चरम रुप पनि देखाइएकोछ । `खटिरा आएर हातखुट्टाका औंला झर्ने महारोगमा राजा नरभूपालको जुठोपुरो खाँदा निको हुने धारणा थियो , रैतीमा - पृ. ५७० ।´ राजाको खुट्टा धोएको पानी खाँदा बोली नफुटेका बच्चाको बोली फुट्ने जस्तो अन्धविश्वास अरु कुनै हुन्छ ?
`धरतीबाट बिदा हुने तयारी स्वरूप अह्राइसिकाइ गरिरहँदा चौतारा महारानीको हृदय जति रोइरहेको भए तापनि आँखा बिल्कुल मरुभूमि थियो - पृ. ५८२।´आफू सती जाने अन्तिम अवस्थामा समेत राजकार्य र सन्तान हेतु बुहारी नरेन्द्रलक्ष्मीलाई नरभूपालका रानीहरूले झन्डै पाँच पेज भन्दा लामो बर्णनमा दिएको अन्तिम सल्लाह मात्री स्नेहको उत्कृष्ट बर्णन हो, जो पढिरहँदा गला अवरुद्ध हुँदै ऐठन भएन भने त के नै पो भावनात्मक पाठक भैएला र ?!? यतिमात्र होइन , नरभूपालकी कान्छी रानीको `सती बिदाइ´ बर्णनमा कार्कीले पटक-पटक गला अवरुद्ध गराएकीछन ।
आफ्ना चार आमाहरू मध्ये कान्छी आमा बाहेकलाई सती जानबाट रोक्ने पृथ्वीनारायण तत्कालीन समयका बिद्रोही या समाजसुधारक ? एक अनुसन्धानात्मक प्रश्न ।
तेसो अध्यायको समापनले भने मलाई पनि झल्याँस्स बनायो । वर्तमान नेपाल बनाउन के `राजा´हरूको मात्र योगदान छ त ? के इतिहास जित्नेको बखान मात्र हो त ? जित्नेले त जितौरी पाउलान् , तर हार्नेहरुको शारीरिक , मानसिक , आर्थिक लगायतका क्षतिको लेखन कसले गर्ने ? सिमित ब्यक्ति (राजाहरूमा) आउने सनकीले कति आमाका काखहरू रित्तिए होलान् ? अनकौं अनेक थुप्रै प्रश्नले घेरिएर सकियो - राजमाता । अनि फेरि निहारिकाको अर्को-अर्को यस्तै खोजमूलक ऐतिहासिक उपन्यासको प्रतीक्षा भने जीवितै छ ।
समग्रमा हेर्दा ,
कतिपय परिघटनाहरूको वर्णनमा झन्डैझन्डै सरोबरी प्रयोग गरिएको नेपाल भाषा र मैथिली भाषाले , यी भाषाको ज्ञान नभएका पाठकले पढाईको रफ्तारमा शाब्दिक आनन्द पाउन सकैनन , तथापि पारिस्थिक बुझाइमा भने खास अप्ठ्यारो पार्दैन । मुख्य पात्रहरूको हरेक उपस्तिथिमा पद सहितको प्रस्तुति (जस्तै मुमा महारानी मल्लीकावती, जेठा रानी चन्द्रप्रभावती, युवराज पृथ्वीनारायण आदि)ले उपन्यासलाई केहि लम्ब्याउने काम गरेकोछ । यसरी हरेक संबोधनमा , `मुमा महारानी´ जेठा रानी´ आदि जस्ता मात्र पदाबली प्रयोग भएको भए महाकथा केहि छोटो हुन्थ्यो कि ? सायद , ऐतिहासिक कथा भएकोले पाठकहरूको पठन रफ्तारमा ब्रेक नलागोस भन्ने हेतुले पूरापूर पद र नाम प्रयोग भएको हुनसक्छ । अर्कोतर्फ मध्यकालीन नेपाली भाषाको यथेष्ट प्रयोगले भने उपन्यासलाई वास्तविक ``इतिहासको पुस्तक´´ बनाएकोछ । यसैगरी , नुवाकोट बिजय अघिसम्म दरबारको नायवी स्वरूपमा क्रमशः आएका राजमाताहरू कथान्ततिर भने अन्य ऐतिहासिक दस्तावेजमा झैं अलि ओझेलमा परेको आभास हुन्छ । खासगरी रणमैदानको ब्याख्यामा केन्द्रित हुँदा अपेक्षित राजमाताहरू भेटिन्नन ।
अर्कोतिर , कुर्नेस, पटरानी, खोत्तर , ददा , सइस ,रङक , कपरदार , डहर , झारा , पुरश्चरण , नक्यानी रानी , स्याहा , तगेको भोटो , कलियो , आदि जस्ता कैयन शब्दहरू अबको पुस्ताले प्रयोग त पक्कै गर्दैन-गर्दैन , पढ्न चाहिँ कति प्रतिशतले पढ्लान ? प्रश्न , प्रश्न नै बाँकी छ ।
विश्वप्रसिद्ध महान लेखकहरू विलियम शेक्सपियर र एन्थन चेकोवका कृतिहरूमा झैँ कुलीन बर्ग र राजखानदानका कथामा , उनीहरूका राजनीतिक दाउपेचको शिलशिलेवार बर्णमालाको शैलीमा लेखिएको `राजमाता´ , वास्तविक राजमाताहरूको महाकथा हो जसले नामेटको अवस्थामा पटक-पटक पुगेको तत्कालीन नेपाल मण्डल बचाउन बिना पदवी अमुल्य योगदान गरे । `अधिकार बाहिरबाट खोजेर हुँदैन , ठाउँमै आसन जमाएर मन जित्दै वातावरण बनाउनुपर्नेछ - पृ २३८।´, `गुरु विद्वान भएर मात्र हुन्या छैन । चेलाका खातिर हित सोच्न्या पनि हुनुपर्न्या हुन्छ - पृ. ४३८ ।´, `परिरहेको पानी रोक्न सकिन्न , आफू नरूझ्न घुम ओढ्न्या हो - पृ. ५०० ।´ , `पोल्या पनि घामै, पिट्या पनि आमै प्यारो - पृ. ५४९ । ´ , आदि जस्ता सामाजिक चेतनाका कयौं वाक्यहरू र सयौं वाक्यमा बिम्ब र अलंकारले शृङ्खलाबद्ध बुनिएको महाकथा पढिरहहँदा कहिलेकाहीँ गद्य नभै पद्यमा पौडीरहेको आभास हुन्छ । खासगरी हिन्दु शासन प्रणालीमा `ब्राह्मण वाक्य´को महत्त्वमा आधारित राज्य शासन प्रणाली थियो भन्ने कुरा त लगभग ७०० पेजको यात्रा गर्दा , झन्डै झन्डै हरेक पृष्ठमा आउने राजगुरू , राजपुरोहित र राजपण्डितहरूको दृष्टिकोण, अवधारणा र बिचारको बर्चस्वले नै प्रष्ट्याउँछ ।
प्रथम पढाइमा नारी नायकत्वको दृष्टिकोणबाट सरसर्ती पढिए पनि राजमाता , तत्कालीन नेपालको राजनीतिक , सामाजिक , सास्कृतिक , बैचारिक , पारिवारिक कलह , न्याय प्रणाली आदि विषयका शोधपत्रको लागि भरपर्दो स्रोत सामाग्री हो , जसलाई अनुसन्धानका विद्यार्थीले अझ मिहिन रुपमा पर्गेल्न सक्छन् ।