19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

संघर्ष, कर्म र स्वपहिचानको जीवनदर्शन : ‘डुक्से-ताप्लेजुङदेखि फक्ल्याण्डसम्म’

कृति/समीक्षा डा. रमेश इजम लिम्बू April 18, 2026, 5:08 pm

आत्मवृतान्त केवल व्यक्तिगत स्मृतिको अभिलेख मात्र हुँदैन; त्यो समय, समाज र जीवनदर्शनको साक्ष्य पनि हो। नेपाली आत्मवृतान्त परम्परामा जीवनका यथार्थ अनुभूति, भोगाइ र दर्शनलाई सजीव रूपमा अभिव्यक्त गर्ने कृतिहरू सधैँ अर्थपूर्ण मानिन्छन्। यसै शृङ्खलामा प्रकाशित डुक्से (आत्मवृतान्त) : ताप्लेजुङदेखि फक्ल्याण्डसम्म नेपाली समाज, इतिहास र मानवीय संघर्षको एउटा महत्वपूर्ण दस्तावेजका रूपमा देखापर्छ। मेजर डीबी बाली साम्पाङ राईद्वारा लिखित यो कृति ३४४ पृष्ठको हार्डकभरमा प्रकाशित छ। लेखन–प्रकाशन संयोजन शङ्कर के. राईले गरेका छन् भने घोष्ट राइटिङ नेपाल यसको प्रकाशक संस्था हो। डा. तारामणि राईद्वारा लेखिएको भूमिका— “डुक्सेः पहरामा फुलेको रिची बुङ”—ले नै यस आत्मवृतान्तको प्रतीकात्मक र दार्शनिक आयाम उद्घाटित गर्छ।

यो पुस्तक पढ्दा पाठकको मस्तिष्कमा दृश्यहरू चलचित्र वा वृत्तचित्रझैँ सजीव रूपमा उभिन्छन्। भारतको स्यालडाहा स्टेशन र कलकत्तादेखि मलायाको शुङ्गैपटनी र कुलुवाङ, इन्डोनेसियाको सरवक, हङकङको क्विन्स हिल्स क्याम्प र सेकोङ, बेलायतको बकिङ्घम प्यालेस र विन्जर क्यासल हुँदै फक्ल्याण्डका कठोर रणभूमिसम्म फैलिएको भूगोल केवल यात्राको सूची होइन; त्यो जीवनले मानिसलाई कहाँ–कहाँ पुर्‍याउन सक्छ भन्ने सम्भावनाको नक्सा हो। यी स्थानहरूमा देखिएका समाज, मानिसका व्यवहार, रहनसहन, भाषा–संस्कृति, भेषभूषा, मौसम, भूगोल, सैनिक अभ्यास, हातहतियार र युद्धका दृश्यहरू यथार्थपरक ढंगले प्रस्तुत हुँदा पाठक स्वयं त्यही परिवेशमा प्रवेश गरेझैँ अनुभव गर्छ।

यस आत्मवृतान्तको केन्द्रीय विशेषता यसको दर्शनात्मक गहिराइ हो। लेखकले जीवनलाई निरन्तर चुनौती र अवसरको शृङ्खलाका रूपमा बुझ्छन्—जहाँ प्रत्येक चुनौती स्वयंमा शिक्षा हो। सँगै भर्ती भएका साथी विष्णु बाङ्गा पदोन्नतिमा पछि पर्दा उत्पन्न भएको निराशाको प्रसङ्गमार्फत लेखक कर्म, ईख र निष्काम भावनाको दर्शन प्रस्तुत गर्छन्। प्राप्त उपलब्धिमै सन्तुष्ट रहँदै सफलता–असफलतामा स्थिर चित्त राख्ने व्यक्ति कर्म गर्दै पनि कर्मफलमा नबाँधिने निष्कर्ष आत्मवृतान्तभित्र सहजै प्रवाहित छ।

लेखकको जीवनकथा लिम्बुवान क्षेत्रको तत्कालीन लिम्बुदेन (हाल सिदिङ्बा गाउँपालिका) अन्तर्गतको विकट गाउँ लामिडाँडाको दुधिलबोटेबाट सुरु हुन्छ। फर्समान साम्पाङ राई र हर्कुमाया थुलुङ राईका साहिँला छोरा, जसलाई फोपा मणिराम बाली साम्पाङ राईले ‘डुक्से’ नाम दिएका थिए, आज सफल नेतृत्वकर्ता, समाजसेवी र प्रेरक व्यक्तित्वका रूपमा स्थापित छन्। आत्मवृतान्तले केवल व्यक्तिको उन्नति होइन, सामाजिक दृष्टिकोणको रूपान्तरण पनि देखाउँछ—जहाँ ‘फर्से’ भनेर हेपिएका बुबा ‘फर्समान’को सम्मानित नाममा रूपान्तरित हुन्छन्। यो परिवर्तन असल कर्म, निरन्तर परिश्रम र आत्मसम्मानको पुनर्निर्माणको कथा हो।

पुस्तकमा प्रस्तुत अनुभवहरू कतै मिठा छन्, कतै तीता; कतै नबोलेका मौनताहरू पनि छन्, जसले पाठकलाई थप सोच्न बाध्य बनाउँछ। आद्योपान्त अध्ययन गर्दा यो कृति आत्मकथा भन्दा बढी आत्मवृतान्त हो—जहाँ जीवनका निर्णायक मोड, अविरल संघर्ष, सेवाभावका कर्मठ हात र सफलताका फराकिला राजमार्गहरू एकसाथ चित्रित छन्। लेखकले दुःखका पहाड चढ्न साहस, दृढ संकल्प र जुनून आवश्यक हुने तथ्यलाई रूपकात्मक भाषामा स्पष्ट गर्छन्। अक्करेभीरबाट भीरमौरीको मह निकाल्ने, मरुभूमिमा रिचीबुङ फुलाउने जस्ता प्रतीकहरूले असम्भव देखिने परिस्थितिमा पनि सम्भावना सृजना गर्न सकिने सन्देश दिन्छन्।

बाल्यकालका अभाव र बाध्यताका दृश्यहरू—गोठमा बस्दा जलेको सुँगरको मासु पानी हालेर खाँदा पनि मिठो लाग्नु, भुटेको मकै नै भए पनि सन्तोषको अनुभूति—नेपाली समाजका साझा यथार्थ हुन्। यस्ता अनुभवले जीवनमा न त अभावमा आत्तिनु पर्ने न त सफलतामा मात्तिनु पर्ने गहिरो शिक्षा दिन्छन्। औपचारिक विद्यालयीय शिक्षा सीमित भए पनि परिस्थितिजन्य ‘विश्वविद्यालय’बाट प्राप्त विवेक र ज्ञानले लेखकलाई जीवनका कठिन परीक्षाहरूमा सफल बनाएको देखिन्छ।

दुई दाजुभाइहरू ब्रिटिश आर्मीमा भर्ती भएपछि परिवारले भोग्नुपरेको सामाजिक–आर्थिक संक्रमण, उधारो मासु र सापटी पैसाका प्रसङ्गहरूले तत्कालीन ग्रामीण नेपाली जीवनको संवेदनशील चित्र कोर्छन्। यिनै अनुभवहरूबाट लेखकको जीवनदृष्टि विकसित हुन्छ—जहाँ जीवनदर्शन स्थिर होइन, निरन्तर परिस्कृत हुने प्रक्रिया हो।

मेहनत र भाग्यको बहस यस आत्मवृतान्तको अर्को महत्वपूर्ण विमर्श हो। “भाग्यमा लेखिएको मात्र पाइन्छ” भन्ने धारणा र “प्रयास गर्नेका लागि असम्भव केही छैन” भन्ने विश्वासबीच लेखक कर्मपथलाई रोज्छन्। अलेक्जेन्डर, नेल्सन मण्डेला, नेपोलियन बोनापार्ट र पाउलो कोएल्होका भनाइहरू जस्तै कर्मकेन्द्रित जीवनदर्शनलाई पुष्टि गर्छन्। डुक्से नामले चिनिने बेनामे जवान क्रमशः स्वपहिचान निर्माण गर्दै मेजर डीबी साम्पाङ राई बन्नु यही कर्मपथको परिणाम हो।

महाकवि लक्ष्मीप्रसाद देवकोटाको “उद्देश्य के लिनु? उडी छुनु चन्द्र एक” भन्ने प्रश्नोत्तर कविताको सन्दर्भले आत्मवृतान्तको दार्शनिक आयामलाई अझ उचाइ दिन्छ। उच्च लक्ष्यले जीवनलाई गतिमय बनाउँछ भन्ने विचार लेखकको जीवनयात्रासँग घनिष्ठ रूपमा मेल खान्छ। नेपालदेखि कलकत्ता, मलेसिया, हङकङ, ब्रुनाई, न्युजिल्याण्ड, थाइल्यान्ड, इन्डोनेसिया, पपुवा न्यूगिनी, अस्ट्रेलिया, बेलायत, युरोप, अमेरिका र फक्ल्याण्डसम्म फैलिएको यात्रा वास्तवमै साहसिक छ।

लेखक भन्नुहुन्छ — “जीवनको परिभाषा के हुन्छ भनेर यदि कसैले मलाई सोधे भने सायद एउटै उत्तर दिन्छु होला — संघर्ष । किनभने मैले जीवनको अर्थ विद्यालयमा पढिँन । नपढेका हुनाले उत्तर आफ्नो अनुभव र भोगाइका आधारमा दिनुपर्ने हुन्छ । र मैले जीवनमा सबैभन्दा धेरै सङ्घर्ष नै गरेको थिएँ ।” –(पेज ११२)

विशेषगरी फक्ल्याण्ड युद्ध (सन् १९८२) सम्बन्धी वर्णन आत्मवृतान्तको सबैभन्दा ज्वलन्त खण्ड हो। दुई महिना तेह्र दिनसम्म चलेको यस युद्धमा सयौँ सैनिकले ज्यान गुमाए। लेखकले युद्धको त्रास, साहस र मानवीय मूल्यलाई संवेदनशील ढंगले प्रस्तुत गरेका छन्। बृटिश फिल्ड मार्शल साम मानेक्शाको प्रसिद्ध भनाइ —“ यदि कुनै मानिसले म मर्नदेखि डराउँदिन भन्छ भने कि ऊ झुट बोलिरहेको हुन्छ, कि ऊ गोर्खा हो”—ले समेत गोर्खाली सैनिकको अदम्य साहसलाई पुनः स्मरण गराउँछ।

अक्षरज्ञान सीमित भए पनि निरन्तर परिश्रम, कठोर तालिमपछि पनि अध्ययनमा लगनशीलता, र व्यवहारिक–शैक्षिक ज्ञानको संयोजनले सफलता सम्भव हुन्छ भन्ने दृष्टान्त पुस्तकभरि छरिएको छ। लेखकको भनाइ—“जीवनको परिभाषा यदि एक शब्दमा दिनुपरे संघर्ष नै हो”—ले सम्पूर्ण आत्मवृतान्तको सार समेट्छ।

“केमा केमा अधुरो छु म” भन्ने आत्मस्वीकार लेखकको जिजीविषा र भविष्यप्रतिको आकाङ्क्षाको संकेत हो। २७ वर्ष ब्रिटिश आर्मीमा सेवा गरेर सेवानिवृत्त भएपछि पनि ‘रिटायर्ड बट नट टायर्ड’को भावनासाथ वेलफेयर अफिसर, एआरओ, डिआरओजस्ता जिम्मेवारी वहन गर्दै सामाजिक–कल्याणकारी कार्यमा सक्रिय रहनु यही अधुरोपनको सकारात्मक रूप हो। दुई पटक मुटुको एन्जियोग्राफीपछि पनि समाजसेवामा निरन्तरता दिनु अदम्य इच्छाशक्तिको प्रमाण हो।

समग्रमा, डुक्से : ताप्लेजुङदेखि फक्ल्याण्डसम्म भाग्य र कर्मबीचको भेदक हो, समयको मूल्यबोध गराउने चेतक हो र प्रेरणाको अनुपम स्रोत हो। डा. तारामणि राईले भनेझैँ, डुक्से केवल पहरामा फुलेको रिची बुङ मात्र होइन; चट्टान फोरेर उम्रीएको विशाल कल्पवृक्ष हो, जसले समाजलाई शीतल छायाँ दिन सफल भएको छ। यो आत्मवृतान्त निरन्तर परिश्रम, संघर्ष, दृढ संकल्प, निष्ठा, इमान्दारिता र त्यागको योगफलका रूपमा सफलता सम्भव हुन्छ भन्ने जीवनदर्शनको सशक्त प्रस्तुति हो—एक व्यक्ति मात्र होइन, समग्र समाजका लागि प्रेरणादायी दस्तावेज। ‘डुक्से’ नेपाली समाजका लागि केवल पुस्तक होइन—एक चेतना हो।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।