19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

“लेख्न नपर्ने कुराहरू" मा लेख्न पर्ने कुराहरू

कृति/समीक्षा चिरञ्जीवी दाहाल April 25, 2026, 11:27 pm
चिरञ्जीवी दाहाल
चिरञ्जीवी दाहाल

वि. सं. २०११ सालमा चितवनमा जन्मिएका रामबाबु घिमिरे लामो समयसम्म प्राध्यापन पेशामा सङ्लग्न रहेर हाल साहित्य र समाजसेवाको क्षेत्रमा सक्रिय रहँदै आएका सम्मानित व्यक्तित्व हुन् । हाल रत्ननगर नगरपालिका वार्ड नं २ लाई आफ्नो स्थायी बासस्थान बनाएका घिमिरे रत्ननगर वाङ्मय प्रतिष्ठानका वर्तमान एवं संस्थापक अध्यक्ष हुन् भने वाल्मीकि साहित्य सदनका सभापति समेत हुन् । निबन्ध लेखनको क्षेत्रमा विशिष्ट उचाइ बनाइ सकेका घिमिरेका “म हरेस खान थालेको छु - २०४७ (निबन्ध सङ्ग्रह), “ लेख्न नपर्ने कुराहरू - २०५६, २०६६, ( निबन्ध सङ्ग्रह) , अनर्गल प्रलाप - २०६६ ( निबन्ध सङ्ग्रह) जस्ता उत्कृष्ट निबन्ध सङ्ग्रहहरू प्रकाशित भइसकेका छन् भने रित्तो आकास २०३२ ( उपन्यास), मुक्तक सङ्ग्रह (२०५६) प्रकाशित भइसकेका र साहित्यिक बजारमा लोकप्रियताको शिखर चुमिसकेका कृतिहरू हुन् ।

लामो समयदेखि हालसम्म वाल्मीकि साहित्य सदनको मुखपत्र सम्प्रेषणका प्रधानसम्पादक समेत रहेका घिमिरे सादा जीवन र उच्च विचारलाई आत्मसात् गर्ने व्यक्तित्व हुन् । अत्यन्त मितभाषी, सरल, शान्त स्वभाव र बौद्धिक व्यक्तित्वका धनी घिमिरेद्वारा सिर्जित निबन्ध सङ्ग्रह “ लेख्न नपर्ने कुराहरू" अध्ययन गरिरहेको छु । यो कृति आकारमा त्यति ठूलो छैन तर यसले समस्त पाठकहरूलाई भने ठूलो पाठ सिकाएको छ । विशाल आकारका ग्रन्थहरूमा अटाउन नसक्ने कुरा, साना पुस्तकहरूमा सहजै अटाउन सक्छन् । यस कृतिमा निजात्मक निबन्धमा हुनुपर्ने सबै गुणहरू छन् र यो निजात्मक निबन्धहरूको नमूना निबन्धसङ्ग्रह हो भन्न सकिन्छ ।

कृतिमा जम्मा ६१ +२० गरी कूल ८१ पेजमा १८ थान सुन्दर निजात्मक निबन्धहरू छन् । राष्ट्रियता र मनस्ताप, अमर बनेका मृत क्षणहरू, सम्पादकीय भित्र प्रधानसम्पादक, लेख्न नपर्ने कुराहरू, अप्रासङ्गिक कुराहरू, टिकटको लागि साझाको टिकट, समाजवाद र रक्सी, आसन्न आपत्ती र विमा, सम्झौता, रातारात प्रख्यात, मदिरा र नारी स्वतन्त्रता, अपदस्त हुँदा, भवितव्य पर्यो भने, एउटा कुकुर र घर तीन शहरमा, नारी देह मूल्याङ्कन, गुन्द्रुकको झोल, नरीखुट्टाको हाड र डिस्कोमा एक रात तथा गुरु शीर्षकका निबन्धहरू यस सङ्ग्रहमा समावेश गरिएका छन्। यी निबन्धहरू एकसेएक सुन्दर छन् ।

निबन्ध लेखन कार्य उपन्यास, कथा र नाटक लेखनभन्दा कठिन विषय हो । आलोचकहरू भन्छन्, निबन्ध गद्य विधाको कसी हो । उच्चकोटीको निबन्ध लेखनमा सबैभन्दा महत्वपूर्ण भूमिका भाषाको हुन्छ । घिमिरेको प्रस्तुत निबन्ध सङ्ग्रहमा गुणस्तरीय भाषाको प्रयोग भएकोले उनका निबन्धहरू त्यति नै विकसित र उन्नत देखिन्छन् । यस अर्थमा प्रस्तुत कृति ‘लेख्न नपर्ने कुराहरू ' मा भाषा, शैली, विचार र लेखन सीप पूर्ण रूपमा निबन्धकारको नियन्त्रणमा देखिएकाले निबन्धसङ्ग्रह उत्कृष्ट बनेको छ । यसबाहेक, विषयवस्तु बारे विशेष ज्ञान, प्रसस्त अध्ययनका कारण यति सुन्दर र सरल कृति जन्मिएको निर्क्यौल निकाल्न सकिन्छ ।

साहित्यिक तत्वको अभाव भएका निबन्धहरू निष्प्रभावी मानिन्छन् तर वरिष्ठ निबन्धकार रामबाबु घिमिरेले आफ्ना प्रायः सबै निबन्धहरूमा साहित्यिक तत्त्वहरूको भरपुर प्रयोग गर्ने गरेका छन्, जसरी यस निबन्धसङ्ग्रहमा गरिएको छ । यसै कारण उनका निबन्धहरू सुन्दर,आकर्षक र मनछुने खालका हुन्छन् । प्रस्तुत कृति ‘ लेख्न नपर्ने कुराहरू ' मा उनले निकै सावधानीपूर्वक र वैज्ञानिक रूपमा विषयवस्तुको विश्लेषण गरेका छन् र तर्कको माध्यमबाट, प्राकृतिक नियमहरू पत्ता लगाएर निश्चित मानवीय सिद्धान्तहरू स्थापित गरेका छन् । यसमा समावेश गरिएका सबै निबन्धहरू त्यही आधारभूत तत्वहरूमा निर्भर छन् । जसले गर्दा उनका निबन्धहरूले पाठकको ध्यान आकर्षित गर्न सक्षम भएका छन् । सतहबाट अवलोकन गर्दा गफको शैलीमा देखिने उनका निबन्धहरू वास्तवमा अत्यन्त गहन छन् भने निबन्धहरूमा यथेष्ट मात्रामा बिम्बको प्रयोग भएको पाइन्छ ।

निबन्धकार घिमिरेको कलमलाई कलात्मक रूपमा उत्तेजित गर्ने एउटा तत्व देखिन्छ, त्यो हो शृङ्गारिक प्रसङ्ग । जब उनले निबन्ध लेखनमा शृङ्गारिक रङ पोत्छन् र निबन्धहरू साँच्चै उच्चकोटीका बन्ने गर्छन् । उनी जीवनका भोगाइहरूलाई बिम्बमा उतार्न माहिर छन् । निजात्मक निबन्ध लेखनमा घिमिरेले एउटा मात्र होइन धेरै शिखरको सफल आरोहण गरिसकेको प्रतीत हुन्छ । त्यसैले उनका निबन्धहरू निकै उचाइमा देखिन्छन् ।

वास्तवमा, उनका निबन्धहरूमा विषयवस्तुको उठानदेखि समाप्तिसम्म विषयको मुख्य धागोलाई पछ्याइरहने क्षमता देख्न सकिन्छ र उनले यस शैलीलाई पूर्ण रूपमा अङ्गिकार गरेको पाइन्छ । यदि उनका निबन्धमा पनि विषयवस्तुको धागो चुँडिएको भए निबन्धहरू विषयबाट टाढा पुग्ने थिए र निरस प्रकृतिका हुने थिए । एउटा विषयको आरम्भदेखि अन्त्यसम्म विषयको धागोलाई पछ्याउँदै र लेख्दै जाने क्षमतालाई लेखन कलाको मुख्य विशेषता मान्न सकिन्छ । त्यसैले उनका निबन्धहरू सुन्दर हुन्छन् र प्रस्तुत कृति निकै शानदार साहित्य सामाग्री बन्न पुगेको हो । यति मात्र होइन, निबन्ध लेखनमा उनको शैली आकर्षक र भावनात्मक छ, यसमा उनको व्यक्तित्वको समेत अमिट छाप देख्न सकिन्छ ।

संसारमा सबै कुरा एकअर्कासँग जोडिएका हुन्छन् । आफ्नै मानसिक संरचना अनुसार, केही मान्छेहरूको दिमागले एउटा सम्बन्धलाई पछ्याइरहेका हुन्छन् । यहाँ निबन्धकारले पनि यसरी नै सम्बन्धहरूलाई पछ्याइरहेका छन् । यिनै सम्बन्धहरू एकअर्कासँग गाँसिएका, पात भित्रका नसाहरू जस्तै चारैतिर फैलिएका छन् । उनी त्यसैलाई निबन्धको शीर्षक दिन्छन् र बिम्बका माध्यमबाट आत्मपरक शैलीमा‌ अक्षरको बिस्कुन फिँजाए जसरी फिँजाउँछन् र पाठका सामु राखिदिन्छन् । उनका पाठकहरू त्यबाट तृप्त हुन्छन् ।

समालोचकहरू यस तथ्यमा एकमत छन् कि लेखकको व्यक्तित्व उसको कृतिमा व्यक्त भएको हुन्छ । जसरी साहित्य र समयलाई अविभाज्य मानिन्छ, त्यसरी नै समय र स्थानको प्रतिबिम्ब नभएको साहित्यलाई साहित्यिक प्रगतिको लागि उपयुक्त मानिँदैन । अझै निबन्ध विधामा त साहित्य र व्यक्तित्व बीचको अन्तरक्रिया अपरिहार्य मानिन्छ । त्यसैले कुनै पनि लेखकको व्यक्तित्वलाई उनीहरूको कृतिबाट अलग गरेर हेर्न सकिँदैन । यहाँ, व्यक्तित्वबाट, लेखकको रुचि, अध्ययन, चिन्तन र उनको जीवित प्रकृतिलाई बुझाउँछ । अतः निबन्धकार रामबाबु घिमिरेका निबन्धहरूमा उनको अलग्गै र विशिष्ट प्रकारको पहिचान र प्रभाव देख्न सकिन्छ ।

प्रस्तुत कृतिमा निबन्धकारको कल्पनाशक्ति बेजोडको देखिन्छ भने विशेष गरेर उनको यो निबन्धमा बौद्धिक तत्व हावी भएको पाइन्छ भने कुनै निबन्धमा भावनात्मक तत्वहरू हावी भएका छन् । उनका हरेक निबन्धहरूको शैली एकनासको पाइन्छ । उनका कुनै निबन्धमा विचार प्रमुख रूपमा छन् भने कुनैमा भावनात्मक स्वरूप देख्न सकिन्छ । समग्रमा उनका निबन्धहरू विचार र भावना दुवै तत्वको समिश्रणले बुनिएको छ , त्यसैले उनका निबन्धहरू लोकप्रियताको शिखरमा छन् ।
“ लेख्न नपर्ने कुराहरू" निबन्धसङ्ग्रह सिद्धान्ततः गद्य रचना हो जसमा निबन्धकार घिमिरेले कुनै विषयका क्रमिक विचारहरू आकर्षक , रोचक र व्यङ्ग्यात्मक शैलीमा व्यक्त गरेका छन् तर मेरो पाठक मनले भने यस निबन्धसङ्ग्रहलाई गद्य रचना मात्र मान्न बिलकुल तयार छैन, किनकि निबन्ध पढ्दै जाँदा त्यहाँ एक प्रकारको भाव, लय र सङ्गितको जादुमय ध्वनि गुन्जिएको अनुभूति हुन्छ, जसरी अत्यन्त मन परेको श्याम श्वेत सिनेमा हेरिरहँदा दृष्टि भ्रम भएर रङ्गिन चित्र देखिने गर्छ । कताकता निबन्धले छन्द कविताको लय समाते झैँ लाग्छ, नाटकका सम्वादहरूमा हराएको अनुभूति हुन्छ । त्यसैले एकपटक हातमा समाएको कृति अन्तिम पातोमा नपुगी थन्क्याउन मनले मान्दैन ।

निबन्धका आकारको सन्दर्भलाई दृष्टिगत गर्दा उनका निबन्धहरू केही छोटा र केही मध्यम आकारका छन् । लामो निबन्धभन्दा छोटा निबन्धहरू हरेक दृष्टिले उत्कृष्ट र उपयुक्त मानिन्छन् । किनभने लामा निबन्धमा नैबन्धिक सुन्दरता कायम राख्न सकिँदैन । यसैगरी निबन्ध लेखनको सफलता धेरै हदसम्म सुन्दर शैलीमा निर्भर हुने भए पनि, प्रयोग भएका सामग्रीको उपयोगितालाई पनि स्वीकार गर्नुपर्छ । शरीर जतिसुकै सजाइए पनि, जीवन बिना यो सुन्दर देखिँदैन । उनले छनौट गरेका विषयहरू अत्यन्त सुक्ष्म छन् तर मानवीय जनजीवनमा अपरिहार्य छन् । यति मात्र होइन, उनका निबन्धहरू गतिशील र स्पष्ट छन् । यहाँ लेखकले कुनै विषयमा लेख्नुअघि त्यसमा गहिरो अध्ययन मनन गरेर मनमा आएका विचारहरू लेखिएको छ । विषयको परिधि भन्दा बाहिरका कुराहरू यसमा लेखिएको छैन ।
भनि सकिएको छ, निबन्ध लेखनको कार्यमा सबैभन्दा महत्त्वपूर्ण तत्व भाषालाई मानिन्छ । निबन्ध लेखनमा सरल भाषाको प्रयोग गरिएको निबन्ध पठनीय हुन्छन् , सोही अनुरुप ‘ लेख्न नपर्ने कुराहरू'मा पनि सरल र बोधगम्य भाषाको प्रयोग गरिएको पाइन्छ । भाषामा तरल प्रवाह भएकोले, निबन्ध अध्ययनका क्रममा पाठकले कुनै पनि प्रकारको अवरोध महसुस गर्नु पर्दैन । जटिल भाषाले निबन्धलाई कुरूप बनाउँछ भन्ने कुरामा लेखक सचेत देखिन्छन् । उनले निबन्धलाई तरल प्रवाहमा बगाउन, वाक्यहरूमा प्राकृतिक सम्बन्ध कायम गरेका छन् । हरेक शब्दहरू एकअर्कासँग श्रृंखलाबद्ध रूपमा जोडिएका छन् । श्रमशील भाषाले पाठको प्रवाहलाई कमजोर बनाउँछ । निबन्धमा प्रयुक्त वाक्यहरू छोटा छन् । लामो वाक्यहरूले कहिलेकाहीं आफ्नो अर्थ गुमाउँछन् र औसत पाठकले तिनीहरूलाई राम्ररी पछ्याउन सक्दैनन् । यी सबै कुरा लेखकले राम्रोसँग बुझेका छन् । त्यसैले निबन्धकारले निबन्धका प्रमुख सिद्धान्तलाई आत्मसात गरेका छन् ।

यस सङ्ग्रहमा निबन्धकारले मनका अति सूक्ष्मतम भावना र कल्पनासँगको सहकार्यमा आफ्नै मनभित्र उब्जिएका विचारहरूको गहिरो विश्लेषण गरेका छन् । निबन्धमा कतै शृङ्गार रसको प्रयोग गरिएको छ, कतै व्यङ्ग्यको झटारो प्रहार गरिएको छ । गाँजा, मदिरा र नारीका प्रसङ्गहरू पटकपटक उठाइएका छन् । जीवन र मृत्युका विषयमा गहिरो चिन्तन छ । निबन्धमा आफ्ना अग्रणी र समकालीन साथीभाइहरू समेत समेटिएका छन् । निबन्धमा घर परिवार, साहित्य र समाजका विविध पक्षहरूलाई विस्तृत रूपमा केलाइएको छ । निबन्धकार यहाँ , केही सुन्दर कविताका हरफहरू र नारायण गोपालका गीतहरूमा पोखिन्छन् । यसैगरी निबन्धकार यहाँ, गुन्द्रुकको झोललाई सहानुभूति दिन पुग्छन् , शारीरिक रोगसँग सम्झौता गर्न पुग्छन् । लेखकले यस सङ्ग्रहको शीर्षक ‘ लेख्न नपर्ने कुराहरू ' दिएका छन् मेरो विचारमा निबन्ध लेखनमा लेख्न पर्ने कुराहरू नै यिनै हुन् । स्थूल विषयमा लेखिएका भन्दा सूक्ष्म विषयमा लेखिएका निबन्धहरू झनै सुन्दर र अनमोल हुन्छन् । प्रस्तुत कृति “लेख्न नपर्ने कुराहरू" यसको बलियो प्रमाण हो ।

निबन्धकारले “लेख्न नपर्ने कुराहरू" मा चुनाव, राजनीति र समाजसेवाका प्रसङ्गहरू समेटेका छन् । निजात्मक निबन्धको सौन्दर्य नै यही हो , जहाँ लेखक स्वयं पात्र बन्छन् र समाजमा विद्यमान विकृति र विसङ्गति प्रति प्रहार गर्छन् । मान्छेको मनभित्र अनेको कल्पना र विचारहरू जन्मन्छन् , जन्मिएका विचारहरू कति सकारात्मक हुन्छन् भने कति नकारात्मक पनि हुन्छन् । यहाँ आम मान्छेहरूको मनमा उब्जने तिनै विचार र कल्पना हरूको मजासँग चिरफार गरिएको छ । उनी हरेक मान्छेका मनभित्रका खुशी, रहर, पीडा र व्यथाहरू छताछुल्ल बनाएर पोखिदिन्छन् । प्रस्तुत निबन्धसङ्ग्रह त्यसैको दस्तावेज हो । निबन्धकारले प्रस्तुत गरेका विषयलाई पाठकले आफ्नै कथा ठान्छन् र आफ्नै मनका भावनाहरू कृतिमा लिपिवद्ध भएको ठहर गर्छन् । यसैलाई सफल र उत्कृष्ट निबन्ध लेखन मानिन्छ । भाषा, शैली, बिम्ब र प्रस्तुतिका हिसाबले निबन्ध सङ्ग्रह उत्कृष्ट , पठनीय र सङ्ग्रहणीय छ ‌। वरिष्ठ निबन्धकार रामबाबु घिमिरेलाई हार्दिक बधाई ।

कालिका ६ चितवन ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।