19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

तान्छुहाङको हात

कथा विमल लामिछाने April 25, 2026, 11:29 pm
विमल लामिछाने
विमल लामिछाने

बिहान घामको टकसँगै धुलोका कणहरु उडिरहेका थिए । सडक किनारका पोथ्राहरु डाँठ र पात पुरै छोपिनेगरी धुलोको भारी बोकेर सुक्खा र थकित देखिन्थे । अनिदो बसेको आँखा झैँ बोझिला र उराठिला थिए सहरका गल्लीहरु ।

रंग बदल्दै चौँबिस घण्टादेखि बलिरहेका थकित ट्राफिक लाइटहरू अघिल्लो रातको निद्राले झुलेझैँ धिपधिपाइरहेका, खल्तीमा बौरिएको थकान, आँखाको डिलमा अडिएका अधुरो स्वप्नका धर्सा र मनभरिको भार लिएर त्यही सडकको बायाँ किनारमा हिँडिरहेका थिए तान्छुहाङ ।

उनका हिँडाइमा थकानसँगै बेचैनी मिसिएको थियो, मानौँ कदम– कदममा उनका पैतालाले बाटो छुनु भन्दा पहिले मनले नै जमिनको स्पन्दन सुन्न खोजिरहेको आभाष हुन्छ । उनको जीवन अचेल अनौठो मोडमा आइपुगेको छ, न त पूर्ण तिक्तता छ, न त पूर्ण मधुरता नै । दुवैको मिश्रणले बनेको एक गाढा स्वाद, जो जिब्रोमा होइन, चेतनामा प्रभाव पारिरहेको आभाष हुन्छ ।

तान्छुहाङलाई लाग्छ, मानिस दुई भागमा बाँच्दोरहेछ । एक भाग हेर्दा संसारलाई सम्हालिएको र सजिएको देखिन्छ । अर्को भाग भने च्यातिएको, भत्किएको, रुँदै, हाँस्दै बाँच्नुपर्ने कठोर जिन्दगी जस्तो ।

उनले आफैँलाई पनि यिनै दुई भागमा महसुश गरेका छन् । दिनको उज्यालोमा आफैँलाई व्यवस्थित देखाउन सक्थे, ‘सब ठीक छ’ भन्ने संवाद हरेक भेटघाटमा सरल र सहज उच्चारण गर्थे, तर रातको गहिराइमा, जब सहरका बत्तीहरू आफैँमा चर्किए झैँ उनका मनका फाटाहरूपनि स्पष्ट देखिन्थे । कतिपछक धिपभिपाउँथे र कति पटक निभ्थेपनि ।

कहिलेकाहीँ उनी ऐनामा आफ्नो मुख हेर्दै आफैसँग घिनाउँथे । मनोविज्ञानका किताबले उनलाई धेरै कुरा सिकाएका थिए । ट्रमा, अत्यास, बचपन, दबिएको आवाज, चेतनाका तहहरू आदि, तर तान्छुहाङको मन भने ती किताबका परिभाषामा कहिल्यै राम्ररी फिट भएन । न स्थिर रहन नै सक्यो । उसको पीडा कुनै नाममा अडिन चाहँदैन थियो । आत्माको बेचैनी, मन क्षितिजमा लर्वराएको चंगा झै कुनै सिद्धान्तमा सीमित हुन मानेन जस्तो आभाष हुन्थ्यो । यी सबैको एकमात्रै कारण थियो सोममाया सँगको विछोडिनुको पिडा ।

तान्छुहाङ गाउँको पर्खाल छिचोल्दै आउने झरी जस्तो शान्त, सरल र अचम्मै मृदु स्वभावका युवा थिए । गाउँभरि उनको नम्रता र कामको इमानदारीताको चर्चा हुन्थ्यो । तर उनको मन कहिल्यै कसैसँग गहिरो सम्बन्ध गाँस्न तयार भएको थिएन । एकान्त मन पराउँथे, एकान्तमा नै गुन्गुनाउँथे, आफैभित्र खुशी खोज्दै रमाउन खोज्थे पनि तर, नाम्लो चुँडिएर खकनको भरमा बोकेको ढाकर जस्तै वल्लो कुम र पल्लो कुम गरेझै उफ्रिरहन्थ्यो उनको धड्कन ।

सोममाया त्यही गाउँको मुस्कान माइलाकी छोरी थिइन् । उनीहरु सँगैका दौतरे छिमेकी साथी हुन् । उनका आँखामा सपनाको झिल्को र हाँसोमा जीवनको उज्यालो थियो । पहिलो भेटमा तान्छुहाङको मुटु अनायासै सोममायातर्फ तानियो । सोममायाको सरलता र आत्मीयताले उसको जीवनमा नयाँ रंग भर्दै गयो ।

केही महिनाको अन्तरंग र सामिप्यताभित्र प्रेमको मिठासले दुवैलाई बाँध्यो । गाउँका छेउको चियाबगानमा बादलसँग लुकामारी गर्दै आएको घाम–छाँयाको खेल जस्तो । प्रेम न हो, विस्तारै उनीहरूले एक अर्कालाई बुझ्न थालेका थिए । उनीहरुको हार्दिकता र प्रेमको स्वाद पस्किने तरिका पनि उदाहरणीय थियो ।

अहा ! कति मिलेका । उनीहरुको स्कूल पनि एउटै थियो । एउटै कक्षामा पढ्थे, विदा भएका दिन पनि सँगैसँगै खेतबारीमा घासदाउरा र मेलापातमा समय वित्थ्यो, घर अलि वरपर भएपनि छिमेकमा हुने अर्मपर्म र हातसारा कामहरु आलोपालोमा हुन्थयो । उनीहरुका बाआमाको पनि असारे र मंसिरे काममा अर्मपर्म चल्थ्यो । दुवैतर्फका रोपाईँ, धान गोड्ने परेली, बिटा लगाउने, परालको दाईँ गर्नेजस्ता काममा पनि प्राय मिलेरै गर्ने आत्मियता थियो । सँगै घाँसदाउरा बोक्दा, परालका भारी खेप लगाउँदा बडो मज्जा आउँथ्यो । एउटा परिवारमा बनाएको अचार, मोही अर्को परिवारमा बाँडेर खाने चलन थियो उनीहरुको ।

तान्छुहाङ सोममायाको सामिप्यता बढ्दै गयो । तान्छुहाङ सोममायाको फरर.. उडेको कपालका केस्रा सुम्सुम्याउँथे, उस्तै मौका परे चिमोटा–चिमोट सम्मचाहीँ प्रायः भइरहन्थ्यो । सोममाया पछाडी फर्किन नपाउँदै फुत्त हात लुकाउँथे । कहिले कानको लोतीमा आंैलाले प्याट्ट हान्ने, कहिले चप्पलको छेउ टेकेर लडाउन खोज्दै जिस्क्याइरहन्थे । सोममाया पनि नदेखेझै गरेर पछाडी फर्केर को हो.. ? भन्थिन् । दुवै खित्का छोडेर हाँस्थे । (यस्तो धेरैका स्कूले जीवनमा पनि हुने गर्दथ्यो, यो कथा पढ्ने जो कसैलाई विगत स्मरण हुन सक्ला पनि ।) सानो सानो खानेकुरा बाँडेर खान्थे । एकपल पनि छुट्न नसक्ने सामिप्यता थियो । तान्छुहाङ र सोममायालाई सबैले ढुक्कुरे जोडी भन्थे । (नेपाली समाजमा ढुकुरलाई प्रेमको प्रतिक मानिन्छ ।)

भनिन्छ, ‘जीवन कहिले पनि सरल रेखामा हुँदैन’ । यो प्रेमिल जोडीलाई पनि समयले बक्र रेखामा डोहोर्यायो । दुवैको सपना र चाहना, परिवारको अपेक्षा र परिस्थितिले उनीहरूलाई अलग दिशामा धकेल्यो ।

सोममायाकी दिदीले भुटानी शरणर्थी केटासँग विवाह गरेकी थिइन् । उनीहरु तेस्रो पूर्नवासकै क्रममा अमेरिका छिरेको तीनवर्ष भएको थियो । सोममायालाई पनि दिदीले च्यानल मिलाएर अमेरिका तानेको तान्छुहाङले पत्तै पाएनन् । सोममायाले पनि समय गुज्रिएपछि मात्रै तान्छुहाङलाई थाहा दिन भ्याइन् ।

सोममायाका घरछेउको खोल्सीमा भएको पुरानो पुलको आडमा उभिएर तान्छुहाङले घण्टौं सम्झायो । ‘तिमी मेरो जीवनको उज्यालो हौ, तर हामीले अलग बाटो रोज्नु पर्छ ।’ सोममायाले आँसु चुहाउँदै भनिन् ‘साँचो प्रेम कहिल्यै हराउँदैन, तान्छुहाङ । हामीले अलग भए पनि यो याद सधैंसँगै रहनेछ ।’ अन्ततः तान्छुहाङ र सोममायाको प्रेमको मिठास बरफलाई घाममा राख्दा टुक्रिएजस्तै गरी टुक्रियो । सोममाया सम्पर्कविहिन भइन् । बर्षौ बिते, तर सोममाया तान्छुहाङको यादमा मात्रै सिमित भइन् ।

दिनहरु वित्तै गए, महिना विते एकदुइ गर्दै धेरै वर्ष वित्यो, दुवैले आफ्नो जीवनलाई नयाँ दिशा दिनुपर्ने बाद्ययताको विच उनीहरुको केही नलाग्ने भयो तर, मनको कुनामा, ती प्रेमिल दिनहरुको याद आइरहन्थ्यो । सोममायाका मनमा माया अझै सजीव थियो तर समयले पाउलो फेरिसकेको थियो । उनी अमेरिकाको रहन सहनमा भुलिसकेकी छन् ।

वर्षौ पर्खिदा पनि तान्छुहाङले सोममायाको कल, म्यासेज, खवर केही पाउँदैनन् । एकाएक सम्पर्कविहिन भएकी थिइन् सोममाया । तान्छुहाङ एक्लै गाउँमा सोममायाको दपर्ण खोजिरहेका छन् । आज तान्छुहाङ त्यही पुराना याद मनभरी लिएर सडक किनारामा जीवन जीउने पाइला चालिरहेका छन् । उनका आँखा बाटाको छेउ चिया कटेजमा पर्छन् । टेबलमा राखिएको चियाकपको बाफसँगै खिड्कीबाट बाहिर पुग्छन् उनका नयन । उनको दृष्टी बाटामा हीलवाला चप्पल लगाएकी एउटी एक्लै आफ्नै गतिमा हिँडिरहेकी केटीमा पुगेर थुरिन्छन् । टक्टक् .. टक्टक् आवाजसँगै तालमा ताल मिलाएर अघिपछि लागेझैँ देखिन्थे उनका अवयवहरु । मानौ क्याटवकको प्रतियोगिता हुँदैछ । टोलाए झै भएर हेरिरहन्छन् पर.. बाटोको कुइनेटोसम्म । तान्छुहाङको माथिंगलमा सोममाया कुदिरहीन् । जसरी एकजना दर्शक जीवनको नाटक चुपचाप नियाल्छ, पात्रहरुको परिकल्पना गर्छ र कल्पनाको सिंहासन चढ्छ ।

उनले बाँचिरहेको र भोगिरहेको जीवन केवल बाहिरी कथा थिएन, भित्र आफ्नै कथा तर एकदमै फरक शैलीमा चलिरहेको । तान्छुहाङले चियाको सुरुपसँगै मनभरी सम्झिरहे सोममाया र विगतको प्रेमपल । चियाकटेजको झ्यालमा हावाले पर्दा हल्का उठायो । अनायसै उनले बालापन सम्झिए, बालपन कठोर थिएन, तर कोमल पनि थिएन । उदाहरणका लागि, उनका सपनामाथि कसैले प्रतिबन्ध लगाएन, तर समर्थन पनि दिएन । के के कुद्दैथियो मनमा । अनेक तर्कनाहरु किनारा नलाग्दै पर्दाभित्रबाटै चिया पसले ‘मोटी दिदी’को टर्रो स्वर कानमा ठोकिन्छ, ‘भाइ..., एकोहोरीनु भयो नि ! के भयो ? चिया सेलाइसको....’ ।

तान्छुहाङ झस्किन्छन्, अँ..अँ..होइन..होइन.. केही होइन दिदी । चिया सेलाइसकेको थियो, एकपटक सुरुप्प.. पारेर आधाकप छोडेर उठ्छन् । जीवन भनेको समाधानको सूची होइन, प्रश्नसँगको संगालो हो । त्यो दिन पनि उनले मनमनै साचे, मान्छे किन आफैँबाट टाढिँदै बाँच्छ ? किन आफैँसँग बाँच्न कठिन लाग्छ ? उत्तरविनाका प्रश्नै प्रश्न लिएर चिया कटेजबाट बाहिरिए ।

उनलाई कहिलेकाहीँ लाग्थ्यो, मसँग इतिहास छ, तर त्यो इतिहासमा म छेउमा उभिएको पात्रजस्तो मात्रै । अक्सर हामी बालापनको चोटलाई ‘ए, त्यस्तो त हुन्थ्यो नि’ भन्दै बेवास्ता गर्छौँ । अनि पछि सम्झिँदा पछुतो लाग्छ र आफैलाई धिकार्न मन लाग्छ । यस्तै तान्छुहाङलाई पनि महसुस भयो कि ‘बैशमा सुकेको आँसु प्रौढतामा गहिरो नदी भएर बग्दोरहेछ ।’ त्यही नदी आज पनि उनको चेतनामा बगेको थियो । थोरै भासिएको, थोरै उथलपुथल । कतै हाँसो तर आँखामा आँशु टिल्पिलाएको ओठकामेको रुन्चे हाँसो ।

तान्छुहाङ सम्झिन्छन्, जीवनमा प्रेमको अनुभव थियो, तर त्यो प्रेम कुनै चलचित्रको गीतजस्तै कथाकै विचमा श्रृंगारिक बनेर आउँदोरहेछ । प्रेम एक सुन्दर तर चङ्गामा उल्झिएको धागो जस्तै बन्दोरहेछ, जसले मुटुलाई पनि बाँध्थ्यो, दुख्थ्यो र कहिलेकाहीँ क्षणिक मुक्त पनि गराउँथ्यो निष्कर्षहिन थकान भरिएको उकालोको हिँडाइ र एकान्तको रुवाई जस्तै ।

उनलाई फेरि लाग्थ्यो– हुन त ‘प्रेम भनेको दुई जनाको अमिट मिलन पनि त होइन, दुईटा पूर्ण ब्रह्माण्ड एकअर्कामै मिसिन खोज्ने संघर्ष जस्तो लाग्छ ।’ तर, त्यो संघर्षमा पनि थकान हुन्छ होला नि, बिर्षन मन नलाग्ने चिन्ताले भरिएको असिनासँगको हुरी र झरि परेको निसपट्ट कालो रात जस्तो देख्न र बुझ्न नसकिने महशुस हुँदोरहेछ प्रेम ।

उता सोममाया पनि प्रेमकै कारण कहिलेकाहीँ फेरि नयाँ भएर उठ्थिन्, जसरी रातभरि वर्षाको बेला रुखको हाँगामा बसेको चरा बिहान शरिरको सबै पानी झारेर उढे झैँ । सोममायालाई उनका परिवारले तान्छुहाङबाट टाढै राख्न चाहन्थे । नकि सोममायाको परिवारले तान्छुहाङलाई गाउँले, पाखे, र आभारा सम्झिन्थे । न कि सोममायाको परिवारलाई गरिबीभित्र पनि प्रेमको फूल फक्रिन सक्छ भन्ने लाग्दैनथ्यो ।

सोममायाकोलागि भने यही प्रेम उनको लागि पाठशाला बन्यो । धेरै कुरा बुझिन्, सहने कला, स्वीकार्ने शक्ति, र प्रेम सौन्दर्यको परिभाषा । एक साँझ, जब सहरका बत्तीहरू एक–एक गर्दै झिल्मिलाउन थाले, फूलमाया छतमा गइन् । माथि आकाश छ अनन्त, तर मौन । त्यही मौनताले उनको गुम्सिएको आवाज सुनेजस्तै उनलाई फर्केर प्रश्न सोध्यो, ‘तिमी आफैँसँग किन डराउँछ्यौ ?’

सोममाया झस्किन् । तर उत्तर स्पष्ट थियो, उनी बाद्यताको बन्धनमा छिन् । त्यो बन्धनको डोरी चुँडाउन उनलाई निक्कै कठिन छ । अझ उनी धेरै टाढाको देश पुगेकी छन् । आफैँलाई बुझ्न चाहन्थिन् । किनकि आफूलाई बुझ्नु भनेको आफ्नै अँध्यारोलाई अङ्गाल्नु पनि हो । तान्छुहाङ र सोममायाको प्रेम छोटो मिठो तर अधुरो । पहाडको बीचमा बग्ने खहरे जस्तो, ती प्रेमिल भावनाहरू छिट्टै जन्मिएर, छिट्टै हराए ।

विहानको झिसमिसेमा तान्छुहाङ घरबाट अलिपरको विख्रे डाँडामा बाँधेका हल गोरुलाई घाँस हालेर फर्किदै थिए, कुइनेटामा जम्काभेट भएकी चन्द्रमुखीले तान्छुहाङलाई झट्ट सुनाइन्–‘सोममायालाई त उनका परिवारले अमेरिका पठाएछन् नि, हिजो नै काठमाण्डौंबाट उडिन रे ।’ यो खवरले तान्छुहाङलाई झस्कायो, तर पत्यार लागेन । त्यहाँबाट सिधै तान्छुहाङ सोममायाकातिर हानिए । तर सँधाझै उज्यालो थिएन सोममायाको घर । सुनसान थियो ।

गाउँको सामाजिक प्रतिबन्ध, नव धनाढ्य र गरिबीको अन्तरविरोधमा फसेको चेतनाले उनीहरुलाई अलग बनायो । उनीहरू अलग भए, तर मनको कोरामा सधैं एकअर्काको याद बाँचिरह्यो ।

समय बित्दै गयो । सोममाया अमेरिकी शहरको व्यस्त जीवनमा हराएपनि मनमा तान्छुहाङको सम्झना कहिल्यै मेटिएन । तान्छुहाङ पनि गाउँमा आफ्नो जीवनमा व्यस्त थिए्, तर हरपहल सोममायाको मुस्कान, प्रेमको न्यानोपन, आवाजको मधुरता, कहिल्यै बिर्सिन सकेनन् ।

दशकौंपछिको एकदिन पहाडको शीरमा लाग्ने हटिया भर्न उकालो चढ्दै गर्दा चौतारी भन्ज्याङमा तान्छुहाङले सोममायालाई भेट्यो । समयले अनुहारलाई परिमार्जन गरेको थियो, तर आँखाको चमक र हाँसोको मिठास भने उस्तै थियो ।

‘तान्छुहाङ !’ सोममायाले पनि झट्ट देखिन् र उच्च आवाजमा बोलाइन् । आवाजमा अचम्मको थोरै डर, कौतुहलता र आश्चर्य मिसिएको थियो ।

सोममाया... यतिका वर्षवितिसक्दापनि मैले तिमीलाई कहिल्यै बिर्सिन सकिनँ । तान्छुहाङले डराउँदै भने । सोममायाले बुढ्यौली पनले छोएको तान्छुहाङलाई अगालो मारिन् र छात्तीमा मुढ्कीले हान्दै रुँन थालिन् । तान्छुहाङ पनि भक्कानिए ।

दुबैजनाको माथिंगलमा विगत फनफनी घुमिरयो । उनीहरू नजिकिए, पुराना यादहरू फेरि ताजा जस्तै भएभएर रिल घुमेझै फनफनी घुमिरहे । मनको बाँध खुलेझैँ भयो । विछोडले ल्याएको वेदना अब स्मृतिका मिठासमा परिणत भएको थियो । ‘म तिमीबाट हराए पनि, कहिल्यै माया हराएको थिएन ।’ सोममायाले उसको हात समात्दै भनिन् । दुबैले एक अर्कालाई पर्खिदै दशकौं विताएका थिए ।

त्यो दिन, तान्छुहाङ र सोममायाले आफ्नो अमिट प्रेमलाई फेरि जीवनमा बिउँझाए । विछोडले दूरी ल्यायो, तर प्रेमले पुनर्मिलनको मिठास दियो । उनीहरूका आँखामा अतीत र भविष्यको संगम झल्कियो । सोममायाले ‘तान्छुहाङको हात’ समातिरहिन् ।

दमक झापा ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।