“रेन्बो ट्राभल्स, लेकसाइटमा गएर एउटा किताब लिनु न ! मैले काठमाडौंबाट पठाइसकेको छु ।” नियात्राकार राजेन्द्रमान डङ्गोलले फोन गर्नुभयो ।
“म आज नवलपुर जाँदैछु, फर्कनासाथ लिन्छु । कुन पुस्तक होला ?” मेरो उत्सुकता चौगुना बढ्यो । उहाँले यसअघि पनि कैलाश कोरा, बादलडाँडा लगायतका आफ्ना पुस्तकहरू यसरी नै पठाउनुभएको थियो ।
“कृष्ण बजगाईंको नियात्रासङ्ग्रह लन्डिनियम ।” राजेन्द्रमानको सङ्क्षिप्त जवाफ पाएँ ।
“हुन्छ, पाएपछि म खबर गर्छु ।” मैले फोन राखेँ ।
यस्ता साहित्यिक भलाकुसारी, माया र सम्झनाबाट असीम आनन्द अनुभूत हुन्छ । मनपर्ने साहित्यकारको पुस्तक हात पर्दा कुनै रमाइलो यात्रामा नयाँ पाइलो टेकिएजस्तो लाग्छ मलाई ।
डायस्पोराका वरिष्ठ साहित्यकार कृष्ण बजगाईंको पच्चिसौँ साहित्यिक एवं छैठौँ नियात्रासङ्ग्रह कृति लन्डिनियम हात प¥यो । भुँडिपुराण प्रकाशनबाट प्रकाशित वैजनी, सुनौला आवरणमा चिटिक्क लन्डिनियममा १८ वटा नियात्रा समाविष्ट रहेछन् ।
मैले लन्डिनियम यसरी पढ्ने योजना बनाएँ । हरेक दिन सुत्नुअघि एउटा नियात्राका दरले पुस्तक पढिसक्छु । एकै बसाइँमा हतार गर्नुभन्दा विस्तारै पढी बजगाईं सरको मोहक लेखनीमा डुब्छु । पश्चिमी साहित्य, कला, संस्कृति र इतिहासप्रति उत्तिकै आकर्षित हुन्छु म ।
स्वस्थानी कथा पढेझैँ लन्डिनियम पढिसकेँ मैले । लन्डिनियमका नियात्राले मनमा गहिरो प्रभाव पार्न सफल भए । नियात्राका विषयवस्तु, प्रस्तुतिकला, शब्द संयोजनशिल्प, बौद्धिक सोच र विश्लेषण अद्वितीय र अद्भूत लाग्यो । विभिन्न कोणबाट हेर्ने र सर्वस्वीकार्य दृष्टिकोण प्रस्तुत गर्नसक्ने विशेषताकै कारण साहित्यकार बजगाईंका युरेशियाको स्पर्श, भाक्रा साया, दाइबुचु, उमिहोतारू, युङफ्राउ आदि नियात्रा लगायतका साहित्यिक कृतिहरू पाठकको रोजाइमा परेका छन् ।
मनमा थपक्क बसेका लन्डिनियमका केही चित्रहरू उधिन्ने प्रयासमा छु यतिखेर म ।
३६७ वर्ष शासन गरेका रोमनहरूको ब्रिटिश राजधानी लन्डिनियमको आधुनिक नाम लन्डन रहेछ । पुस्तकको शीर्षकमा सजिएको लन्डिनियमका सम्बन्धमा नियात्राकार बजगाईं भन्नुहुन्छ– “बेलायतीहरूले प्राचीन नाम बिगारेर लन्डन बनाएका रहेछन् । मलाई त लन्डिनियम नै मीठो लाग्छ । महिलाको नाम जस्तो कस्तो मधुर, सुन्दर र प्रीतिकर छ लन्डिनियम नाम ।” (लन्डिनियममा कामुक सुन्दरी, पृष्ठ ९५) लन्डिनियमदेखि लन्डनसम्म मात्र होइन, सिङ्गो बेलायत, जर्मनी र नेदरल्यान्डका विभिन्न शहर पुगेर युरोपेली कला, साहित्य, सभ्यताका सुन्दर पृष्ठ पल्टाउन सफल हुनुभएको छ नियात्राकार ।
सङ्ग्रहको पहिलो नियात्रा हो– पानीमाथि तैरिरहेका शब्द । लन्डनको किङ्गसक्रस ट्रेन स्टेशन, पानक्रस टे«न स्टेशन, रिजेन्ट नहरतिर डुल्दाका अनुभूतिहरू समेटिएका छन् नियात्रामा । कनालबोट अर्थात् नहरमाथि तैरिरहेका डुङ्गामा स्थापित पुस्तक पसलमा हुने अनौठो चहलपहलको चर्चा छ । हाउसबोटमा तैरिरहेका शब्द पढ्दा र स्पर्श गर्दा कोरिएका छन् अद्भूत अनुभूति । लन्डनको कला, साहित्य र विचार प्रवाहको सङ्गमस्थल छ त्यहाँ । नियात्रामा अङ्कित छन्, हृदयस्पर्शी कविताका पङ्तिहरू पनि–
थेम्स नदीको पानीमा
जब ठोक्किन्छ फुर्सदको एकटुक्रा समय
... उम्रिन्छन् आँखामा सपनाहरू हरेक पल
परदेशमा समयको पल भन्नु
घरदेशमा एकटुक्रा सपना पनि हो । (पानीमाथि तैरिरहेका शब्द, पृष्ठ ८)
एलोपेथिक फार्मेसीको चक्कर काट्टै औषधिको आत्मबलले जसोतसो उभिएका मनुवाले भरिएको छ यो पृथ्वीलोक । लन्डनमा भने पोएट्री फार्मेसी पनि रहेछ । त्यो फार्मेसीमा औषधिको जस्तै र उत्रै आकारका क्याप्सुल पाइँदोरहेछ । फार्मेसीकी सुन्दरीले पोएट्री क्याप्सुल लिने तरिका सुझाउँछिन्– खोलेर पढ्नुस् । नियात्राकार त्यसै गर्नुहुन्छ र भन्नुहुन्छ– “अचानक मलाई महसुस भयो, यदि म आफ्नो शरीरबाट बाहिर निस्केँ भने फूल भएर फुल्नेछु ।” फेरि भन्नुहुन्छ– “कविता औषधि हो । कविता एक्लोपनको साथी हो । कविता जीवनको उज्यालो हो । कविता दर्शन हो । कविता ज्ञानको भण्डार हो ।” र, सदीक्षा राख्नुहुन्छ– “नेपालमा औषधि जस्ता कविता लेख्ने कविहरू जन्मिउन् ।” (लण्डनको पोएट्री फार्मेसीमा चक्कर, पृष्ठ २१)
कवि रोबर्ट ब्राउनिङ र कवि लर्ड वायरनको सम्झनामा तरल–तरल छ लिटल भेनिस । इटालीको भेनिससँग नामै सापटी लिएको भए पनि लेखक, कलाकारको सिर्जना भूमि हुनाले सुधारिएको चोला पाएर उल्फुल्ल र उन्मुक्त छ । स्वच्छन्द यात्रामा निस्केका यायावर नियात्राकार भन्नुहुन्छ– “मेरो थुप्रै समय बगेर गइसकेको छ लिटल भेनिसको यही पानीमा । आँखा र मनभरि पानी नै पानी भरिएको छ ।” (लिटल भेनिसमा रोमान्टिक मन, पृष्ठ ३८) खुसी हुन सङ्लो पानीमाथिका केही थान बोट र हाउसबोट मात्र पनि पर्याप्त हुन्छ भन्ने सुखद सन्देश प्रसारित छ ।
जन्मभूमि जर्मनीबाट देश निकाला भएपछि बेल्जियम र फ्रान्स पुग्छन् कार्ल माक्र्स । त्यहाँबाट पनि देश निकाला भएपछि सन् १८४९ मा शरणार्थीको रूपमा बेलायत आइपुग्छन् । दर्शन, साहित्य, अर्थशास्त्र, राजनीति, इतिहास आदि विषयमा थुप्रै पुस्तकहरू लेख्दै जीवनको अन्तिम अवस्था लन्डनमै बिताउँछन् । माक्र्सको लण्डन बसाइँसँग जोडिएका स्थान र इतिहासको राम्ररी उत्खनन भएको छ शरणार्थी कार्ल माक्र्सका पाइला पच्छ्याउँदा नियात्रामा । कार्ल माक्र्स वाकिङ टुरमा टुरगाइड डा.हेइकोसँग सहयात्रा गरिएको छ । माक्र्स र एङ्गेल्स मिली कम्युनिष्ट घोषणापत्र लेखेको वि एट वन पब, माक्र्स बसेको होटल, एङ्गेल्स लन्डन आउँदा बस्ने रासा सायाङ रेस्टुरेन्ट र माक्र्स भाडामा बसेको घरका विषयमा परिचर्चा छ । अन्तर्राष्ट्रिय श्रमिक संघको बैठक बस्ने स्थान, माक्र्सले केटाकेटीलाई भाषा सिकाएको ह्वाइट हार्ट पब, माक्र्स ब्रिटिश म्युजियम आवतजावत गर्ने गल्ली र सडकसम्म पुगेर इतिहास सम्झँदै वर्तमानको जीवन्त वर्णन गरिएको छ । माक्र्स भाडामा बसेको क्षेत्र अनेक रोग फैलिइरहने गरिबहरूको बस्ती थियो । अस्वस्थ्यकर स्थान र गरिबीकै कारण माक्र्सका तीन सन्तानको मृत्यु भएको थियो । कहिले श्रीमती जेनीका गरगहना त कहिले आफ्नै पेन्ट समेत धरौटीमा राखेर बाँचेको माक्र्सको कहालीलाग्दो गरिबी र सङ्घर्षपूर्ण जीवनको चर्चा छ यसमा । माक्र्ससँग नाम जोड्न चाहे पनि भ्रष्टाचार गरी राष्ट्रलाई कङ्गाल बनाउने नवधनाढ्यप्रति तीक्ष्ण व्यङ्ग्य समेत छ नियात्रामा ।
लन्डनमा पोएट्री वाक र बुकबार नियात्रामा पनि विख्यात साहित्यकारकै प्रतिच्छाया पहिल्याउन खोजिएको छ । उना मार्सन लाइब्रेरीबाट शुरू भएको कविता पदयात्रा चार्ली च्याप्लिनको घरसम्म पुग्दा भेटिन्छन् हिटलरका अत्याचारी छायाहरू पनि । त्यहीँ थिए जेफ्री चौसर, शेक्सपियर, टी एस एलियट, हर्वट रीड आदि साहित्यकारहरू । जहाँ सिस्नो हुन्छ, त्यहीँ पाती हुन्छ भनेझैँ नराम्रोलाई राम्रोले विस्थापित नगरे दुनियाँ कहाँ रहन्छ र ? रक्सीको चुस्की लिँदै पुस्तक पढ्ने बुकबारलाई ‘पुस्तक भट्टी पसल’ नाम राख्दै बैँसालु साँझ, बैसालु लन्डन र बैँसालुहरूलाई छोडेर घर फर्कनुहुन्छ नियात्राकार । आफू बाँचेको समाजका हरेक पत्र केलाउनुपर्छ भन्ने मान्यताले नाङ्गानाङ्गीका गाउँमा पनि पुग्नुहुन्छ । खराब मौसम बाहेक नग्न भएर दिनचर्या सञ्चालन गर्ने ती प्रकृतिवादीका बीचमा पुग्दा लाग्छ, रूप, सौन्दर्य र जवानी गौण कुरा हुन् । कपडाबाट नाङ्गिँदा मानिसबीच विभाजन ल्याउने जात, धर्म, पद, धनी, गरिब आदि पर्खाल स्वतः ढल्दा रहेछन् । पक्ष विपक्ष र विवादबाट अलग्गै बसी लेन्सले झैँ छर्लङ्ग देखाइदिने नियात्राकारको शिल्पशैली प्रसंशनीय छ ।
नर्वे, स्वीडेन, फिनल्यान्ड आदि उत्तर ध्रुवीय देशबाट देखिने नर्दन लाइट्स बेलायत, जर्मनी, आयरल्यान्ड आदि देशमा पनि यदाकदा देखिन्छ । त्यो रङ्गिन आभा हेर्न लिभरपुलको कोस्र्बी समुद्री तटमा सपरिवार पुगी आधा रातसम्म चिसो बगरमा प्रतीक्षा गर्दा आँखामा त्यसको छायासम्म पर्दैन । बादल र चन्द्रमा मात्र हेरेर फर्के पनि पाठकको मनमा भने नर्दन लाइट्सको मादक सौन्दर्य र चहकिलो प्रतिबिम्ब उतार्न सफल हुनुभएको छ नियात्राकार ।
थेम्स नदी किनारको शेक्सपियरको मन्दिरमा पुगी शेक्सपियर र समकालीन साहित्यकारको सम्झना गरिएको छ । डेविट ग्यारिकले आफ्नो देवतुल्य साहित्यकार शेक्सपियरको सम्मानस्वरूप मन्दिर बनाउन लगाएका रहेछन् । शेक्सपियरबारे जानकारी दिँदै स्मरण गरिँदो रहेछ त्यहाँ । भगवान मात्र राखेर पुजिने मन्दिरमा साहित्यकारहरूको पनि पुजाआजा गरियो भने ? कविका मानसपटलमा नयाँ क्षितिज र नयाँ सूर्य उदाएको छ । बिहानीको झुल्केघाममा शितले नुहाएका शेक्सपियर कविता वाचन गरिरहेछन्, नाटकका सम्वाद फलाकिरहेछन्– “जसरी अँध्यारोमा एउटा सानो मैनबत्तीको प्रकाश परसम्म फैलिन्छ, त्यसरी नै खराब संसारमा एउटा असल काम पनि परसम्म चम्किन्छ । महान काम गर्न चाहनुहुन्छ भने गल्ती गर्न नडराउनुस् ।” (शेक्सपियरको मन्दिरमा नेपाली भक्त, पृष्ठ ८९ र ९०)
इतिकास, कला र संस्कृतिका खजाना खोज्न निस्कँदा गिल्डहल आर्ट ग्यालरीमा भेटिन्छिन् कामुक सुन्दरी । सबै सामु साक्षात्कार हुँदा लज्जित र मोहित पार्छिन् तिनले । ति त राजकुमारीका बाबुको कोपभाजनमा परी गाडिएकी क्लाइटी पो रहिछिन् । जलपरी क्लाइटीले सूर्य देवता हिलियोस्लाई प्रेम गर्दिरहिछिन् । हिलियोसले भने उनलाई छोडी राजकुमारी ल्यूकोथलाई प्रेम गर्न थालेछन् । क्लाइटीले सत्य कुरा बताउँदा राजाले उनलाई जमिनमा गाडिदिएका रहेछन् । गाडिएकी क्लाइटीले सूर्यमुखी बनेर सूर्य देव हिलियोस्प्रति आफ्नो प्रेम दर्शाउन लागिन् । ग्रीक मिथककी कारुणीक पात्र क्लाइटीको कथाले धेरैबेर झनन्न पार्दछ हरेक पाठकको मस्तिष्क ।
बाथ शहरमा भेटिएका सडक कवि टोम आदम्स हुन् वा बर्सात्ले भिजेकी युवती हुन्, आफ्नो कान काटी प्रेमिकालाई उपहार दिने भान गोग हुन् वा हिटलरी अत्याचारबाट मारिनुभन्दा युद्धभूमिमा मर्न उचित सम्झी युद्ध फोटोपत्रकारितामा लाग्ने रोवर्ट क्यापा हुन्, ती सबै पाठकको हृदयमा बसेका सजीव पात्रहरू हुन् । चित्रकार भान गोगले कोरिदिएको एउटा शब्दचित्र मनमस्तिष्कमा घुमिरहेको छ– “म आफ्नो चित्रलाई सपनामा देख्छु र आफ्नो सपनाको चित्र बनाउँछु ।” (भान गोगलाई खोज्दै आम्सटर्डाममा, पृष्ठ १३२)
भिनस म्युजियम, क्रेन होटल होस् वा एल्वे नदी, समुद्री यात्रा होस्, कोस्र्बी समुद्री तट होस् वा थेम्स नदीको प्रवाह होस्, त्यहाँ गतिशील र आधुनिक जीवन छ । पात्रहरूको आत्मीय सम्वादले मन जितेको छ । लन्डिनियम नियात्रासङ्ग्रहमा युरोपेली समृद्धि, वैभव, उच्च चेतना र चिन्तन छ । यस पुस्तकमा समाज, संस्कृति, कला, साहित्य र इतिहासको जति गहिराइ छ, यथार्थ र मन छुने लेखनी प्रवाह पनि छ । नियात्राहरूले पाठकलाई उत्तिकै मोहनी लगाइरहन्छन् ।
मानवीय जीवनको विविधताउपर चिन्तन गर्न, विगत र वर्तमानसँग साक्षात्कार गर्न यात्रामा निस्कन्छु भन्ने नियात्राकारले टेक्नुभएको युरोपेली परिवेश, देख्नुभएको दृश्य दुनियाँ र अनुभूत गर्नुभएको सुक्ष्म सत्य उत्तिकै धारिलोरूपमा पाठकले पनि अनुभूत गर्न सक्दछन् । पाठकको मन जित्ने वरिष्ठ साहित्यकार कृष्ण बजगाईंको लेखन शिल्पजादू नै लन्डिनियम नियात्रासङ्ग्रहमा स्थापित साहित्यिक उचाइ र सफलता पनि हो ।