“नमस्कार हजुर ! म स्कुलबाट रमा मिस बोलेकी । आज अरुन्धती किन स्कुल आइनन् भनेर सोध्न फोन गरेकी मैले !”
“नमस्कार मिस ! हो र ? ऊ त स्कुल जान्छु भनेर सधैँको समयमा हिँडेकी त । आज शैक्षिक भ्रमणमा लाने रे भन्दै स्कुल ड्रेस नलगाई गएकी थिई त मिस । आइन र ? ”
अरुन्धती स्कुल नआएको तीन दिन भइसकेको थियो । उसका साथीलाई म मामाघर जान्छु भनेकी रहिछ । घरमा चाहिँ केही कुरा गरेको रहेनछ जस्तो लाग्यो । कक्षामा मिसले सोध्दा उसका साथीले मामाघर गएकी छे भनेका थिए । रजतले चाहिँ मामाघर होइन, उसको साथीसँग डुल्न जान्छे भनेको थियो । यही कुरा बुझ्न रमा मिसले फोन गरेकी थिइन् । केही कुरा बुझेर उनले फोन राखिन् ।
अरुन्धती कक्षा ९ मा पढ्छे । हलक्क बढेकी छे । हेर्दा उसको उमेर सोह्र सत्र देखिन्छ तर ऊ तेह्र वर्षकी मात्र छे । अलिक बोलक्कड छे अनि स्वाभाविक रूपमा छिटो साथी बनाउँछे । उसका धेरै जसो साथी केटा छन् । कक्षा १० मा पढ्ने बैकुण्ठसिरी चाहिँ उसको सबैभन्दा मिल्ने साथी हो । व्यापारीको छोरो भएकाले उसले कहिलेकाहीँ विद्यालयमा खाजा खुवाउँछ । अस्तिको महिना उसले अरुन्धतीलाई एउटा टीसर्ट र पेन्ट पनि किनिदिएको रहेछ । विद्यालय आउँदा स्कुल पोसाक लाउने भए पनि घुम्न जाँदा अरुन्धती शरीरमा टिमिक्क मिल्ने लुगा लाएर हिँड्न रुचाउँदी रहिछ । यस्ता लुगामा त तिमी फिल्मकै हिरोइन जस्ती लाग्छ्यौ भनेर बैकुण्ठसिरीले धाप मार्दा अरुन्धती मसक्क मस्केकी थिई रे । उसका साथीले रमा मिसलाई यो कुरा पनि सुनाएका थिए । उनीहरूले बाहिर निकिँदा अरुन्धतीले लिपस्टिक र कालो चस्मा लाएर हिँड्ने गरेको पनि सुनाएका थिए ।
रमा मिस स्कुलकी मनोपरामर्शदाता र गुनासो सुन्ने शिक्षक पनि हुन् । स्कुलमा बुझ्दा बैकुण्ठसिरी पनि तीन दिनदेखि विद्यालय नआएको बुझियो । उनलाई अरुन्धती र बैकुण्ठसिरीको चालामाला ठिक लागेन । विद्यार्थीलाई परामर्श नदिएमा सानै उमेरमा प्रेममा फसेर जीवन बर्बाद होला भन्ने चिन्ता उनमा थपियो । उनले यो कुरा प्रधानाध्यापकलाई पनि सुनाइन् । प्रधानाध्यापकले अभिभावक बोलाएर सल्लाह गर्ने सुझाव दिए ।
भोलिपल्ट अरुन्धती विद्यालय आई । उसलाई रमा मिसले सोधिन्, “अरुन्धती ! तिमी तीन दिनदेखि स्कुल आइनौ । के भयो ? के काम थियो ?”
अरुन्धतीले अकमकाउँदै भनी, “मिस, म मामाघर गएकी थिएँ । मामाघरमा पूजा थियो । आउनै पाइएन ।”
“अनि आमाबा पनि जानुभएको कि तिमी एक्लै गएको ? स्कुलमा कसैले खबर पनि गरेन !”
ऊ फेरि अकमकाई र भनी, “आमा र म गएको !”
मैले तिमीसँग भन्दा पनि आमासँग कुरा गर्न खोजेको । तिमीहरूलाई शैक्षिक भ्रमणमा लाने कुरा हुँदै छ । आमाबासँग सल्लाह गर्नु थियो । पठाउनु हुन्छ कि हुन्न ? फेरि केही पैसा पनि चाहिन्छ । भोलि आमालाई पनि स्कुल लिएर आउनू ल । बा त काममा जानुहुन्छ होला ।
रमा मिसले यति भन्नासाथ अरुन्धतीको अनुहार कालोनिलो भयो । उसमा एकप्रकारको आशङ्का देखियो । रमा मिसले थाहा नपाएजस्तो गरी कक्षामा जान अनुरोध गरिन् । अरुन्धती कक्षातिर लागी ।
अर्को कक्षामा रमा मिसले बैकुण्ठसिरीलाई पनि स्कुल नआउनको कारण सोधिन् । उसले बा घरमा नभएकाले पसलमा बस्नुपरेको जवाफ दियो । दिउँसो खाजा खाने बेलामा अरुन्धती र बैकुण्ठसिरीले एकान्तमा कुरा गरिरहेको रमा मिसले स्टाफ रुमबाट देखिन् । यसै बिचमा बैकुण्ठसिरीका बाबुलाई फोन गरेर उनले छोराको पढाइ, स्कुलमा नियमितता बारेमा कुरा गरिन् । बाबुले छोरा समयमै स्कुल गइरहेको बताए । उनका बाबुले ऊ हिजो त स्कुलमा प्रयोगात्मक कार्य छ भनेर ड्रेस नलाई हिँडेको र केही पैसा मागेको कुरा पनि चुहाए । अब भने दुवै घुम्न गएकामा उनी यकिन भइन् ।
भोलिपल्ट अरुन्धती र आमा विद्यालयमा आए । दुवैलाई सँगै राखेर रमा मिस कुरा गर्न लागिन्, कक्षा ९ का विद्यार्थीलाई शैक्षिक भ्रमणमा लाने कुरा भएको छ । तपाईँसँग कुरा गर्नुपर्ने थियो । माइतीघरमा पूजामा जानुभएको रहेछ । अरुन्धतीले हिजो भनेर पो थाहा भयो । अरुन्धती पनि तीन दिन स्कुल आइनन् । पढाइ छुटिसक्यो । फेरि स्कुल नआउनेबारे केही कुरा पनि गर्नुभएन ! यति सुन्नासाथ पिसाब लाग्यो भन्दै अरुन्धती शौचालयतिर लागिन् ।
हैन कहाँ पूजा हुनु नि ? अनि नानी त शैक्षिक भ्रमण छ भनेर ड्रेस नलगाई हिँडेकी थिई । बेलुका त घरमै थिई त । दुई दिन त मेरो धेरै काम छ, म एकान्तमा बसेर काम गर्छु भनेर ढोका थुनेर पढ्दै थिई । फोनमा कुरा गरेको पनि सुनेकी थिएँ । स्कुलमा ढाँटी कि क्या हो यसले ?
फोनमा के कुरा गरे, ढोका किन थुनेका हो बुझ्नुभएन । बढेका छोराछोरीको केही ख्याल त गर्नुपर्छ ! फेरि फोन किनेर दिनुभएको छ ! उमेरभन्दा छिटो प्रेम हुन्छ मअचेल !
के गर्नु मिस, आजकलका केटाकेटीलाई सम्झाउनै सकिँदैन । केही गरिछ र ?
त्यही शङ्का लागेर त फोन गरेको अनि तपाईँलाई यहाँ बोलाएको ? नानी आजभोलि अलिक फरक पनि भएकी छ । यो उमेर पनि त्यस्तै हो । फेरि हलक्क बढेकी छे । कतै कुनै केटा साथी त बनाएकी छैन ? कतै घरमा नभनी साथीसँग डुल्न गएको पो हो कि ?
खै मिस । काम गरेर गलेर आइन्छ । पढाइका बारेमा त हामीले के पो जान्दछौँ र ? सम्झायो वा केही भन्यो भने झनक्क रिसाइहाल्छे । आमाले स्वाभाविक अनभिज्ञता प्रकट गरिन् ।
हामीले बुझ्दा नानीले यही स्कुलमा पढ्ने चोकको पसले साहुको छोरालाई साथी बनाएकी छ रे । साथी बनाउनु त नराम्रो कुरा होइन तर साथीभन्दा अघि बढे भने चाहिँ उमेरै नपुगी, परिपक्व नभई जोडी बाँधिन्छन् नि । विचार गर्नुहोला ।
त्यही बेला अरुन्धती आइपुगी । रमा मिसले कुरा मोडिन् र भनिन्, “तिमी त पूजामा गएकी मान्छे, भोलि पूजा कस्तो भयो, कुनै कुरा नछुटाई लेखेर ल्याउनू है । तिमीलाई गृहकार्य नि, बुझ्यौ ?”
मिसले यसो भन्दा अरुन्धतीले मुन्टो निहुर्याई । आमाले दाह्रा किटिन् । आमा घरतिर लागिन् । दुवै कक्षातिर गए । यही बिचमा रमा मिसले बेकुण्ठसिरीका बालाई फोन गरेर घुम्न गएको सबै कुरा बताएर स्कुलमा आउन भनिन् । उनले स्कुल आउन नभ्याउने तर छोरालाई आफैँ सम्झाउने र गल्ती दोहोरिन नदिने प्रतिबद्धता जनाए ।
खाजा खाने बेलामा विद्यार्थी माझ अरुन्धती डुल्न गएकाले स्कुलले अभिभावक बालाएको रे भन्ने गाइँगुइँ सुनियो ।
बेलुका आमाबाले अरुन्धतीलाई राम्ररी सम्झाए । उता बैकुण्ठसिरीका बाआमाले पनि सम्झाए । विद्यालयमा साथीहरूले समेत कुरा थाहा पाएर सम्झाए ।
एक हप्तापछि दुवैको पढाइ र अन्य व्यवहारमा सुधार देखियो ।