वि अल विल गो होम वन डे
डोन्ट यु वरी एण्ड डोन्ट एवः फिल लोन्ली, ओ मनिप्लान्ट। एकदिन सबै राष्टफरियनहरू अफ्रिका फर्किनेछन एण्ड वि अल विल गो होम वन डे।
लगभग एक महिनाअघिको कुरा हो। सूर्यले मधुर कान्ति फिँजाइनसकेको एक चिसो बिहान यस मनुवाको मस्तिष्कमा एउटा मध्यमवर्गीय, अभिजातवर्गको आँखामा मिडियोकर (औसत, सामान्य) विचार फुर्दाे भयो।
कस्ताकस्ता निरकुशतन्त्रमा त सरकारहरूले विचार नियोजन त के, परिवार नियोजन कार्यक्रमसम्म त लागु गर्न सकिरहेका छैनन्, तपाइँको बञ्जर मस्तिष्कमा विचार जन्मिनु कुन आश्चर्य भो र?
विचार नियोजन? राज्यको कार्यकारी अङ्गले विचार नियोजन गर्न गाउँ, शहर, हिमाल, पहाड, तराइ, अनलाइन÷अफलाइन विचार नियोजन गर्न विशेष प्रशिक्षणप्राप्त दस्ताहरू परिचालन गर्ने कल्पना त नगरूँ होला।
तर भोलि कसले देख्या छ र?
अर्काथरीले म्लेच्छ भाषामा झटारो हान्नुहोलाः याज इफ योर थट्स म्याट.......। हाउ डेयर यु इवन थिंक, ओ लेसः मोर्टल?
वा यसरी जङ्गिनुहोलाः आखिर हो कौन तुम? किसने कहा तुमको सोचनेको?
आठौँ आश्चर्य घटित भएछ नि त तपाइँको जीवनमा, सोच्न पो थाल्नुभएछ लौ। जीवनमा पहिलो पटक हो? त्यस्तो दिव्य क्षणमा विचार चाहिँ के फुरेको थियो नि?
यस्तो छेपक पनि प्रहार हुन सक्ला।
जितनी मुँह उतनी बात! क्योँ, ठिक कहा ना भाइसाहब?
केही दिनदेखि राशिफल हेरिरहेको थिएँ जहाँ कुनै धुरन्धर ज्योतिषले फलानो राशिका जातकले शयनकक्षमा बिरूवा हुर्काउँदा शुभ हुन्छ भनिदिएका थिए। त्यसो त बाल्यकालमा कल्पना प्रधानज्यूको ‘रूपैयाँ फल्ने रूख’ पढेलगत्तै कोठाको एक कुनामा एक थान मनिप्लान्ट रोपिएकै हो, स्याहारसुसार गरी ‘आफ्नो ठाउँबाट’ गार्हस्थ अर्थतन्त्र सुधार्न खोजिएकै हो, चमत्कारी बिरूवामा रूपियाँ फलेन त गर्ने के?
सत्तुर लागे कि? ग्रह, दशा, नक्षत्र प्रतिकूल भइदिए कि त? घाम, पानी, पोषक तत्वहरूको कमी पो भयो कि त्यति बेला?
अब त जुग फेरियो, हिजोका भोकाहरू घोँडे भाग दाबी गर्ने भइसके, अस्तिका भोकाहरू सातपुस्तालाई पुग्ने गरी खाइवरी इतिहासको गर्तमा गइसके, अब त हाम्रा पनि दिन आउन लागे कि? अहिलेसम्म केही भएन त के गर्ने? बौद्धिक श्रम गरेकै हो, सत्ययुगमा गरेको श्रमको मूल्य कलिकाल लागिसक्दा पनि प्राप्त नभएपछि गर्ने के? खाइनखाइ जम्मा गरेको रकम ‘भकारी’ले उदरस्थ गरिदिएपछि गर्ने के? फट्याइँ चल्ने लोकमा इमान रोपेर गल्ती गरेँ कसरी भनूँ?
मनिप्लान्ट रोपी हेरूँ, केही भइहाल्छ कि, दीर्घकालदेखिको खल्तिको घाउ पुरिँदै जान्छ कि?
शायद यस्तै विचारहरू आए होलान् त्यो बिहान। हतारहतार एक सिसी अनि बडो जुक्ति लगाइ एक रूपियाँ पनि नखर्ची ‘रूपियाँ फल्ने बिरूवा’ को एक त्यान्द्रोको जोहो गरी त्यसमा पानी भरी रोप्ने काम सुसम्पन्न गरेँ।
नियमित रूपमा पानी फेर्नेे, बिहान पारिलो कुनामा राख्ने, घाम डुबेपछि कोठामा राख्ने क्रम कुम्हालेको चक्रजस्तै चलिरहेको छ, लेखन÷संपादनकर्मसँग तालमेल मिलाउँदै।
यसबिचमा एउटा दुर्घटना घटित भयो। सिसीमा पानी फेर्ने क्रममा सन्तुलन बिग्रँदा लहरो ‘जखमी’ भयो, झण्डै भाँचियो बिचरो। आकाश धुम्म थियो, अनिष्टको आशंकाले मनको आकाश गजधुम्म भयो। विश्वास गर्नुस्÷नगर्नुस् पाठकवृन्द तर व्यक्तिगत अनुभवका आधारमा यति भनूँः ब्याड लक खराब भएको बेला धेरै कुरा बिगँ्रदो रहेछ। यसै गरी सडकमा दुई पटक सन्तुलन बिग्रँदा समको “यो कुनै बास हो मेरो नित्य जीवनमार्गको। कतैतिर म हिँडनेछु स्वप्न पूरा भएपछि।” सस्वर वाचन गर्न समेत नपाउने अवस्थाको असाध्यै नगिच पुगेको संझना भयो। त्यतिखेर मनिप्लान्टको जस्तै यस लेखकको पनि खुट्टो जखमी भएकै हो।
दायाँबाट पनि, वायाँबाट पनि सवारी साधनहरू बतासिने सडकहरूमा खाइने ससाना ठक्करहरूको त के कुरा गर्नु हौ वीरहरूले?
बडेबडे शहरोँमें ऐसी छोटी छोटी बातेँ होती रहती है। ठिक कहा ना, भाइसाहब?
लहरातिरै लहरिन्छु है त जोखिमयुक्त सडकहरू छाडेर। प्रकृतिको चमत्कार हेर्नुस् त! लहरो तग्रिँदो छ, पूर्वतिर लम्किँदो छ पानीबाट पोषक तत्वहरू सोस्दै, सूर्यका सहस्र किरणहरूबाट प्राप्त हुने ऊर्जा खिँच्दै यौवनकालमा प्रवेश गर्दैछ। यसबिचमा उसको घाउ निको भएको छ, पानीभित्रको भागमा र बाहिर पातहरू पलाएका छन्, ती पातहरूमा पानीमा घोलिएर रहेका पोषक तत्वहरू र सूर्यका किरणहरूको सहयोगले पातमा खाना बनाउँदै, खाँदै एउटा स्वस्थ बिरूवाको रूपमा हुर्किँदै गर्दा म राष्ट्रकवि माधव प्रसाद घिमिरेका यी अमर पंक्ति संझिरहेछुः
ढुङ्गाको काप फोरेर पनि उम्रन्छ पिपल
सिर्जना शक्ति संसारमा कहिल्यै हुँदैन विफल।
सिर्जनाशक्ति त कणकणमा हुँदो रहेछ है! आणविक शक्तिले समेत समाप्त गर्न नसकेको सिर्जनाशक्ति कुन चाहिँ ’माइका लाल’ ले समाप्त पार्न सक्ला त?
महाकवि लक्ष्मीप्रसाद देवकोटाले गुलाबमा हेलेन देख्नुभयो, पद्मिनी देख्नुभयो, यस लहरोमा पनि अप्रतीम सौन्दर्य देख्नु हुँदो हो। अज्ञानको जालोले टालिएका यी आँखाले उहाँले जस्तो देख्न कसरी सकून्?
पूर्वतिर हान्निइरहेको देखेपछि घर फर्किन पो लागेको हो कि भन्ने ठानेर त्यस लहरोको नाम, थर, गोत्र, ठेगाना सबै सोध्न मन लाग्यो। नेपालका अन्य भूभागहरूमा केकस्तो चलन छ थाहा छैन तर बटुवालाई कहाँबाट आउनुभयो, कहाँ जाने हो, नाम, थर, गोत्र के हो, बाउबाजेबराजु को हुन् जस्ता प्रश्नहरू सोध्ने गरिन्थ्यो ‘ऊ बेला’ हाम्रा गामबेसीतिर लामालामा पैदल यात्राहरूमा। ‘बाइरोडका बाटाहरू’ खुलेपछि यात्रा छोट्टिन गइ त्यो चलन हराउँदै पो गयो कि?
बिरूवा बोले पो! उसको छेउमा बसेर म उसकै बारेमा लेखिरहेको छु भन्ने त थाहा छैन होला उसलाई?
खोजिल्याउँदा थाहा पाइयो, असाध्यै चल्तिमा रहेका मनिप्लान्टको वैज्ञानिक नाम रहेछ एपिप्रेम्नम अरियम। अंग्रेजी नाम चाहिँ गोल्डन पोथोज, डेवल्स आइवी र आइवी एरम। फ्रेंच पोलिनेशियामा पर्ने सोसाइटी आइल्याण्डको मुरिया यिनीहरूको मूलभूमि रहेछ तर संसारभरि नै यी प्रजातिहरू गमलामा लगाइँदा रहेछन् घर सजाउन, हावा सफा पार्न अनि ‘सौभाग्य’ निम्त्याउन।
त्यसो त रूखबिरूवाहरूको विश्वव्यापी व्यापार अरबौँ रूपियाँको उद्योगमा रूपान्तरित भएको छ। यसका कानूनी र गैरकानूनी दुवै पाटा छन्। चोरीशिकारीका क्रममा मूलथलोमा विभिन्न रैथाने प्रजातिहरू लोप हुने र तस्करी गरी लगिएका स्थानमा कयौँ वनस्पतिका प्रजातिहरू लोप हुने, खाद्य श्रृंखलामा प्रतिकूल असर परी धेरै प्रजातिका जनावरहरूको अस्तित्व संकटमा पर्ने देखिएको छ। अमेजन बेसिन (खास गरी ब्रजिल), वेनेजुएला, सुरिनाम, गायना मूलथलो भएको जलकुम्भीले नेपालमा केकस्तो उत्पात मच्चाइरहेको छ, माइल–ए–मिनेटले कसरी ‘नेपालको धन’ निलिरहेको छ, छर्लङ्गै छ नि, होइन र?
यो सानो सिसीमा कष्टसँग उभिएर तिमीले कति संझिरहेछौ होला हगि तिम्रो मूलथलो? तिमी शब्द त बुझ्दैनौ होला तर सङ्गीत त प्रिय लाग्छ होला नि है तिमीलाई!
हाम्रा वनजङ्गल, नदीनाला, पाखापर्वत, भीरपहरा, आकाश–धर्ति, तालतलैया पनि सङ्गीतमय छन्, कतिसम्म भने हाम्रा नेताहरू समेत् सङ्गीत बुझ्छन् भलै अधिकांशका बोलीमा कटुताबाहेक अन्य रस र व्यवहारमा छल बाहेक अरू कुरा बिरलै भेटिन्छ। यति धेरै तिक्तता किन हजुर एक बारको जुनिमा? कसरी संंभव हुन्छ करेलोभन्दा बढी तितो हुन? जीवन विसङ्गत छ भन्ने के निदा फाजली र जगजित सिंहलाई मात्रै थाहा भएको हो र?
सिंह गाउँछन् फाजली यसरीः
अपनी मर्जी से कहाँ अपने सफर के हम हें
रूख हवाओँ का जिधर का है उधर के हम हें
तिम्रो आदिभूमि पोलिनेशिया पनि कम्ता सुन्दर छैन, ओ लहरा। त्यहाँको निलो पानी पिएर थाक्दैनन् मेरा आँखा।
सिसीमा समेटिएकी तिमीले आदिभूमि ‘मिस’ गरेजस्तै मेरो टोलको एक पसलमा पिँजडामा थुनिएका एक जोडी सुगा प्रत्येक सपनामा खुला आकाश देख्छन्, हरियो जङ्गल देख्छन्। मेरो टोलमा प्रत्येक झिसमिसेमा भाले बास्दै नयाँ बिहानी बोलाउँछ अनि अर्को बिहान देख्न नपाउँदै रातो रङ्गमा समाहित हुन्छ वीरभूमिमा। भोलि जानू छ भन्ने थाहा छैन र त एक किसिमको उत्साह छ नयाँ बिहानीको, होइन र?
यता भालेको डाकसँगै दुस्वप्नहरूको नयाँ श्रृंखलाबाट त्राण पाएर दङ्ग पर्छु म।
अँ साँच्चै, तिमी आफ्ना सपनाहरूमा के देख्छौ नि? सपना त देख्छौ तिमी, कि सधैँ ध्यानमग्न रहन्छौ हँ?
म मेरा सपनाहरूमा मेरो भूकम्पमा परि भत्किएको घर देख्छु। सपनाहरूमा म ग्रह, दशा, नक्षत्रहरूको प्रकोपबाट मुक्त एक टुक्रा आकाश धुइँपत्ताल खोजिरहेको हुन्छु, दुष्ट, अति बलवान ग्रहदशानक्षत्रादिलाई मेरो एक टुक्रा आकाशबाट लखेट्न खोजिरहेको हुन्छु। सपनामा समेत मृत्यु मलाइ लखेटिरहेको हुन्छ, म ‘रौँ परान’ले बाँचिरहेको हुन्छु, मृत्यु डोरबेल बजाउन घरको प्रवेशद्वारतिर लम्किँदै गरेको हुन्छ, ठिक त्यसै बेला भाले बासे पनि नबासे पनि कसो कसो मेरो निद्रा खुल्छ अनि म थप एक दिन बाँच्छु।
विपनामा दुष्ट, जाली, फटाहाहरूको चंगुलबाट फुत्किएर घर फर्किन खोजिरहेको हुन्छु जहाँ धेरै सुखसुविधा नभए पनि सापेक्षिक शान्ति चाहिँ छ, दुष्टहरूको हालीमुहाली त कहाँ छैन र भला?
विपनामा दीर्घरोग अर्थात् खल्तीको घाउ निको पार्न नानाथरी उपाय गरिरहेको हुन्छु। श्रमको शोषण गर्नेहरू बलिया भएको राज्यमा जिन्दगी आफ्नै हातले लेख्न खोज्नेहरूको के हालत हुन्छ, मलाइ थाहा छ।
साँघुरो गल्लीका साँघुरा कोठाहरूमा हुर्केका चारआनेहरूका संघर्षहरू, सपनाहरू यस्तै हुन्छन् भन्छन् यहाँका वणिकहरू।
सङ्गीत मन पर्दैन, पैसाको खनक बाहेक केही मन पर्दैन उनीहरूलाई। त्यही खनकले उनीहरूलाई दिन्छ कालजयी सङ्कीतको आनन्द।
भो छाडिदेऊ यी सबै कुराहरू।
तिमीलाई सोसाइटी द्विपसमूहको मुरिया पर्खिरहेछ, हामी नेपालीहरूलाई पर्खिरहेछन् मृत्युपछि सिधै जान पाइने बैकुण्ठ, गोलोक, साकेतलोक, सुखावती भुवन, स्वर्ग, कैलाश लगायतका दिव्यलोकहरू।
जबतलक जीवन रहेगा, तबतलक थोडी बहुत कठिनाइयाँ झेलना त बनता है। ठिक कहा ना भाइसाहब?
तिम्रो बसाइलाई थोरै भए पनि सुखदायी बनाउन म तिमीलाई बिथोवन, मोजार्ट, चाइकोब्स्की, मेहदी हसन, गुलाम अली, जगजित सिंह, नारायणगोपाल, दिप श्रेष्ठ, फत्यमान, अरूणा लामा, भक्तराज आचार्य, केनी रोजर्स आदि सुनाउनेछु, गाउने धृष्टता भने गर्ने छैन।
बाँचुञ्जेलमात्रै दुःख हो ओ लाहुरे लहरा, मृत्युपछि त ‘इट्स वन बिग फार्डी टाइम’ इन दोज डिवाइन रेल्म्स आइ जस्ट मेन्सन्ड।
अनि नबिर्स, जीवन दुई दिनको मात्र हो ती दुई दिन जति नै लामा भए पनि।
एनिवे, यु विल सी, दिन महिने, साल युुँ ही कट जाएँगे।
डोन्ट यु वरी एण्ड डोन्ट एवः फिल लोन्ली, ओ मनिप्लान्ट। एकदिन सबै राष्टफरियनहरू अफ्रिका फर्किनेछन एण्ड वि अल विल गो होम वन डे।