‘आज बाटो खन्न जाने उर्दी छ माथ्लागाउँमा! जाउँ हौ अलिअलि सघाइदिउँ’ ! भोली हाम्रा खेत सम्म पानी आइपुग्ने पैनी बनाउने अरे, श्रमदान गर्न जाअौ न ! अर्को हप्ता सामुदायिक वनमा स्वँयसेवक काम गर्न पर्यो रे, जानु पर्छ है ! भनेर कहिले बुवा, ठूलोबुवाले त कहिले दाजुहरूले कुरा गरेको सुन्थेँ। वहाँहरू जानुहुन्थ्योपनि । कहाँ गएर, के गरेर आउनुहुन्थ्यो त्यो चाहिँ म थाहा पाउदिनथेँ । कहिलेकाहि खेताला खोजेर लाउन नसक्दा गाउँघरमा एक अर्काकामा पर्म गरेर खेतीपाती गरेको बाक्लै देखेकी थिएँ तर आमा, ठुलिआमाहरू कसैकहाँ पर्म गर्न जानुभएको थाहा पाएकी थिइन । विद्यालयको पढाई सकेर विश्वविद्यालयको ढोका चिहाउँन घरबाट निस्केपछि पर्म, श्रमदान तथा स्वयंसेवक जस्ता घरमा सुनिराखेका शब्दहरू मेरो दिमागमा कतै थिए तर सधै नझिकिने ठाउँमा। तिनका सट्टामा कलेजको पढाई, डेरा, होस्टल, लोडसेडिङ, बिग्रिएको पाराबाहान सन्धी, दालभातकालागि दौडेका बाटाहरू, साहित्यमा बामे सर्दै गरेका पाटाहरूसँग बारम्बार ठोकिरहन थाले। त्यसमाथि टाढा बसेको आफ्नो मान्छेको सँझना थपियो, अरू कुरा सम्झने फूर्सद नै भएन ।
कहिलेकाहिँ ब्यस्तताबाट भाग्न मन भएरपनि भाग्न मिल्दैन्थ्यो। बल्लबल्ल समय मिल्यो र म सन् २००१ को सेप्टेम्बरमा अमेरिका हानिएँ। आयोवा राज्यको युनिभर्सिटी टाउन फेयरफिल्डले पहिलोपल्ट स्वागत गर्यो मलाई । सफा, हरियाली तथा ब्यबस्थित घरहरू भएको आकारका हिसाबले सानो ठाउँले नजानिदोगरी लोभ्यायो मलाई । वतासजस्तै उडेको समयको वास्ता नगरी त्यही सुन्दर ठाउँमा हामीले हाम्रो मायाको डोरी बाटिरहयौ । बुढाले एउटा क्लास बाँकी छ सिध्याउनलाई तर कलेज जानु पर्दैन, घरबाटै पढदा हुन्छ भनेका थिए। कस्तो होला त घरबाट पढन मिल्ने क्लास ? म सोचिरहेकी थिएँ। एकदिन कम्पूटरमा कसैले पढाईरहेको देखेँ जसलाई डिस्टेन्स एजुकेसन भन्दारहेछन्। त्यहीँ बसेर बुढाले सुनिरहेका र हेरिरहका थिए । ओ हो ……यसरी नि पढिन्छ ? नयाँ ठाउँको बिद्दुतिय माध्यामबाट नयाँ पढने तरिकाले मेरो मन हुडल्न थाल्यो। पछि जाँचपनि कम्प्यूटरबाटै दिएको देखेपछि यो इन्टरनेट भन्ने विद्दुतिय जन्तुले कसरी काम गरेको होला, आफू कस्तो धरातलमा उभिएर अहिलेसम्मको शिक्षा लिएर आँए र कस्तो देखिरहेकी छु घर छोडनेबित्तिकै, त्यहीँबाट तुलना गर्न शुरू गरेँ ।
पढाइ सँगसँगै बुढाको जागिर खोज्ने कामपनि भइरहेको थियो। धेरै प्रयासपछि जागिर हुने त भयो तर बसेको ठाउँबाट टाढा रहेछ । जागिर शुरू गर्ने दिन तोकेर पत्र आएपछि भएका सामान बोकेर हामी आयोवा राज्यको डिमोइन शहरमा सर्यौँ । त्यहाँ सरेको पर्सीपल्टैबाट जागिर शुरू भयो । कस्तो हुदोरहेछ अम्रिकाको जागिर ? बेलुका आएपछि बुढालाई सोधेँ। ‘आज त बिभिन्न खाले फाराम भर्न लाए, काम त खासै गरिन, मीठै भयो !’ बुढाको जवाफ आयो । मिठै मात्र ? बल्लबल्ल पाको छ, ‘मीठो’ भन्नुनी ! मनमनै भनेँ ।
दिनभरी दुबैजना सँगै हुँदा त यता गयो उता गयो समय बिताउन सोच्नै परेको थिएन तर एकजना जागिरमा जान थालेपछि भने दिनभरी एक्लै बस्न पट्यार लाग्न थाल्यो। एक त काम गर्ने पाउने कानूनी कागज थिएन, अर्को के काम गर्ने जानेकोपनि थिएन। म कुहिराको कागजस्तै भएकी थिएँ । डिमोइनमा बस्ने नेपालीहरू धेरैजसो त्यही युनिभर्सिटीमा पढाइ सकेर आएकाले सबै सहयोगी र मिलनसार थिए तर चिनजान भएको धेरै नभएकाले गइरहन अफ्यारो लाग्थ्यो।
फुर्सद निकै भएकाले दिमागका कुनामा बसेका धेरै कुरा सम्झनामा आउन थाले। ति मध्ये स्वयँसेवक शब्द निकै आउन थाल्यो। कतै एक दुइ घण्टा अल्मलिने ठाउँमात्र पाएपनि हुने नि! भन्ने लागेर अपार्टमेन्टमा आउने पत्रिकाहरू सबै हेर्ने गर्थेँ । हेर्ने क्रममा एकदिन अलि ठूला अक्षरमा Volunteer Job Opening at Human Service विज्ञापन राखेको देखेँ। गाडी नहुने मान्छेलाई काम गर्ने ठाउँबाट गाडी पठाइदिन्छ रे भन्नेपनि लेखेको रहेछ तलपटि । बेलुका खुशी हुँदै बुढालाई सुनाएँ । हुन्छ, जाउ न त एकपटक, मन नलागे नगए भयो नि ! उत्तर पाएपछि अब घरबाट बाहिर निस्कन पाइने भयो भनेर म दँङ्ग परे।
भोलिपल्ट फोन गरेर हप्ताको दुइदिन सोमबार र बुधबार ४,४ घण्टा स्वयँसेवक काम गर्ने पक्का गरिदिएँ । अफिसकी कर्मचारीले अरूलाई लिन आउँदा ड्राइभर तेरो अपार्टमेन्टमापनि छिर्छ, दिउसो १ बजे बाटोमा निस्केर बस्नु भनिन्।
मैले सोमबार त्यसै गरेँ , नभन्दै ह्युमन सर्भिस लेखेको एउटा मिनिभ्यान म उभिएको ठाउँमा आएर रोकियो । ड्राइभरले झ्याल खोलेर ‘आर यू गोइङ फर भोलेन्टियर जब ?’ मैले सोध्नै परेन मात्र उत्तरमा ‘यस’ भने । उसले ‘कमन इन’ भन्दै गाडीको ढोका खोलिदियो।म खुरूक्क चढेँ।पहिलो पटक नचिनेको मान्छेको गाडीमा चढ्दा कता कता मन मन चिसो भयो। अरू मान्छेपनि रहेछन् भ्यानभित्र । एकैछिनमा हामी ह्युमन सर्भिसको अफिसमा पुग्यौँ । विल्डिङभित्र पस्नेबित्तिकै परोपकारका लागि खोलिएको ब्यबस्थित सँस्था देखेर गज्जब लाग्यो मलाई । भित्र खानेकुरा, लत्ताकपडा, भाडाकुँडालाई पसलमा देखेजस्तै मिलाएर राखेको बाहिरैबाट देखिएको थियो।डिरेक्टर सु पेटरसनले आफ्नो परिचय दिएपछि हाम्रो परिचय मागीन । सबैले आ-आफनो परिचय दिएपछि मजस्ता नयाँ मान्छेलाई त्यही मिलाएको देखाउँदै उनले कामको छोटो ब्रिफिङ गरिन।
उमेरले निकै पाका मान्छेहरू पनि भोलेन्टियर गर्न आएको देखेर अचम्म लाग्यो। मेरो पो काम गर्ने कागज छैन र टाइम पास गर्न आएकी त! घरमा आराम गर्न छोडेर यिनिहरू चाहिँ किन आएका होलान, मेरो मनले भनिरहेथ्यो तर कसैलाई सोधिन।
भोलेन्टियरहरू दान आएका कार्टुन खोलेर धमाधम सामान झिक्न थाले । मैलेपनि हातमा हात मिलाएँ । एकछिनमा २,३ परिवार आफना बच्चासहित आए । लान मिल्नेजति खानेकुरा र लाउनेकुरा लिएर गए । लवाईखवाई हेर्दा गरिवजस्ता लाग्दैनथे किन आएका होलान माग्न? मेरा मनमा कुरा खेले । उनिहरू गएपछि मेरो कौतुहलता मार्न मजस्तै अर्की स्वयँसेबक आइरिनलाई सोधेँ ।’यहीबाट लगेका लुगा लगाएर आएका हुन् यिनिहरूले। उनिहरू यहाँ आउँछन्, सामान लिएर खुशी भएर जान्छन्, भनिन् । उनि भन्दै गइन-
‘यिनिहरूले पहिले नै आफनो आय आर्जन कति हुन्छ खुलाएर फाराम भर्नु पर्छ। न्यूनतम आयमा पर्नेहरूलाई यस्ता सँस्थाले सहयोग गर्छन् । हामीजस्ता रिटायर्डहरू यस्तै सँस्थालाई सहयोग गर्न आउँछौँ । आफूलाई नचाहिने सामान घरमा छन् भने यहि ल्याएर दान दिन्छौँ। अँ… ठूला दाताहरूपनि टाढाका होइनन्। हामीले सामान किन्न जाने पसलहरू नै हुन् नि! केही खोट भएर बजारमा बेच्न नमिल्ने तर खान र लाउन मिल्ने सामानहरू उनिहरूले यस्ता सँस्थालाई दिन्छन।’ आइरिनले मेरा सबै कौतुहलताहरूको विट मारिदिइन् । हुनपनि उनिहरूले उठाएका केही केही सामानहरू त आफूले सामान किन्न जाने पसल वालमार्टमा देखेजस्ता लाग्थे।
ह्यूमन सर्भिसमा सघाउँन जाँदा सामान लिन आउने धेरै मान्छेलाई देख्ने मौका पाएँ मैले । तिनिहरूलाई देख्दा हाम्रा गाउँका गरिवहरू सम्झन्थैँ। यस्ता सँस्थाहरू त्यहाँपनि भइदिए पेटभरी खान र न्यानो लुगामा रमाउन पाउँथे होला, भनिरहन्थ्यो मनले। मन उडेर उतै गइरहन्थ्यो। त्यहाँ जाँदा आउँदा आइरिनका बुढाबुढीसँग धेरैजसो म सँगै हुन्थेँ । उनिहरूले निकै मायाँ गर्थे मलाई । कहिलेकाहिँ हिड जाउँ हामी घर पुर्याइदिन्छौँ भन्थे। त्यहाँ काम गर्न आउनेहरूमा उमेरले म सबैभन्दा सानी भएकीले होला, मपनि उनिहरूलाई खोज्थेँ ।
घरमा एक्लै दिनभरी बस्नुभन्दा फरक सँस्कृतिका मान्छेसँग भएको पहिलो स्वयँसेवक काम रमाइलै लाग्यो मलाई। साथै काम नभएकाले मात्र आउने ठाउँ नभएर फुर्सद निकालेर सबैले गर्न पर्ने काम स्वयँसेवक रहेछ भन्ने कुरा त्यहाँ सिकेँ मैले । २,३ महिना काम गरेपछि श्रीमानजीको जागीर क्यान्सस राज्यमा हुने भएकोले सर्यौँ। क्यान्ससमा कहाँ के छ भनेर खोज्दाखोज्दै अर्को नयाँ राज्य पेन्सिलभानियामा सर्नपर्ने भयो । नयाँ ठाउँमा सरेको केही समयपछि काखमा सानिछोरी भइ। जागिरकै सिलसिलामा त्यहाँबाटपनि सर्न पर्ने भयो । छोरी चेपेर नेबारास्का सर्यौ । त्यहाँ छोरो थपियो । त्यसपछि त समय कसरी कटाउने भन्नुको साटो समय पो कसरी निकाल्ने भयो मलाई ।
धेरै वर्ष मेरो समय गएको पत्तै भएन । फेरीपनि सर्नै थियो। यो पटकचाहि खोजेको ठाउँ र रोजेको जागिर लिएर सर्न लागेका थियौँ तर बसिरहेको सिडनी नेबारास्काबाट १६०० माइल टाढा नर्थ क्यारोलाइना । मनमा धेरै आशाहरू बोकेर उड्यौँ। छोरीलाई एक कक्षा पढ्दापढ्दै झिकेर ल्याएकोले स्कूल खोजी गरेर उसलाई बाँकी पढाइका लागि भर्ना गर्यौँ । छोरालाई अलिपछि । छोराछोरी दुबैलाई स्कूल हालेपछि उनिहरूका स्कूलमा हुने अतिरिक्त क्रियाकलापहरू खेलकुद, प्रोजेक्ट, करेसाबारी तथा विभिन्न खाले एक्जिविसनमा भोलिन्टेयर गर्न अबिभाबकहरूलाई बोलाएको थाहा पाएँ र सोधेँ। उनिहरूले एउटा फाराम भर्न लाएर मलाईपनि भोलेन्टियर गर्न बोलाउन थाले। म खुशीसाथ जान थालेँ। आफूले करेसाबारीभन्दा अरू केही गरेकि थिइन स्कूलमा। छोराछोरीलाई स्कूलमा पढाउने तरिका हेर्नकालागि भएपनि फुर्सद भएसम्म म गइरहन्थेँ ।
छोराछोरीका स्कूलमा हुने कार्यक्रममा सघाउँन जान्थे नै । यही क्रममा स्थानिय कम्यूनिटि कलेजमा आँफूपनि पढन थालेँ । पछि नर्थ क्यारोलाईना स्टेट युनिभरसिटीमा भौगोलिक सूचना प्रणाली(Geographic Information System) पढनकालागि भर्ना भएँ । एक वर्षको पढाई सकेको केही समयपछि त्यही विषयमा काम गर्न थालेँ।
जागिर खान थालेपछि थाहा भयो धेरै कार्यालयहरुले आफना कर्मचारीहरुलाई केही समय अन्त गएर स्वयंसेवक काम गर्न प्रोत्साहन गर्छन भन्ने कुरा । यसका लागी वर्षको २०,२२ घण्टा समय नै छुट्याईदिएका हुँदारहेछन् । यसरी छुट्याएको समयलाई कम्युनिटी सर्भिस भन्दारहेछन् र अफिसमा गएर काम गरे सरह नै मान्दारहेछन् । यस्तो कामले एक आफना कर्मचारीमा नयाँ उत्साह थपिने विश्वास गर्दारहेछन् भने अर्को गएको ठाउँलाईपनि केही सहयोग पुग्छ भनेर उनिहरूले जान प्रोत्साहन गर्दा रहेछन्।
स्वयँसेवक काममा मान्छेहरूलाई कसरी प्रेरणा जाग्यो होला अमेरिकामा भनेर गुगललाई सोधेँ, अन्यत्रपनि खोतल्दै गएँ । यस्तो कामको शुरूवात अमेरिकाका राष्ट्रपिता तथा राष्ट्रपति बेन्जामिन फ्रेङलिनले सन् १७३६ तिर शुरू गरेक रहेछन् । शुरू शुरूमा मान्छेहरूले समुदायमा एक अर्कालाई चिन्न, समुदायको हेरविचार गर्न, चाहिएको सहयोग पुरा गरी सामाजिक नाता बलियो बनाउन शुरू गरिएको स्वयँसेवक कामले पछिपछि कानुनी मान्यता पाएको रहेछ । पहिलाको एक अर्कालाई सघाउँने चलनमा पछिपछि समय फेरिदै जाँदा अलि ब्यबस्थित बनाएको मात्र रहेछ ।
मैले काम गर्ने अफिस नर्थ क्यारोलाइना राज्यको यातायात बिभाग (Department of Transportation) ले पनि वर्षको २४ घण्टा अर्थात ३ दिनको समय स्वयंसेवक कामकोलागि छुट्याएको रहेछ । मलाई अफिसको काम बाहेक अलि फरक ठाउँमा गएर आफूले सहयोग गर्न मन लाग्ने भएकोले एकदिन मैले हाकिमलाई सुनाएँ । उसले खुशीसाथ हुन्छ भन्यो । जान मिल्ने भएपछि घरबाट नजिकैका ठाउँहरू खोज्न गुगललाई सोधेँ। उसले र्याली नजिकैको फूडबैकको नालीबेली देखाईदियो । पैसा राख्ने ठाउँलाई मात्र बैँक भन्छन् भन्ने सुनिरहेकी मैले अमेरिकामा आएपछि जे कुरापनि धेरै जम्मा गर्ने गोदामको पछाडि बैँक लेखिने कुरा थाहा पाएकि थिएँ। फूडको पछाडि जोडिएको बैँकपनि त्यस्तै होला भन्ने अनुमान गरेँ र फूडबैँकको वेबसाइटमा पसेर एकदिनको दिउसोको समयको टुँङ्गो गरेर फाराम भरेँ।
पहिलाे दिनः
जुलाइ महिना, बाहिर निस्किए घामले निलिहाल्लाजस्तै थियो। म गाडीभित्रको जिपियसमा फूडबैँकको ठेगाना राखेर हिडेँ । १५ माइलको बाटो २५ मिनेटजति लाग्ने भनिरहेथ्यो उसले । के सामान प्याक गर्न देलान? मजस्ता अरू कति होलान् ? मनमा कुरा खेलाउदै जाँदा बाटो कटेको पत्तै भएन । म नजिकै पुगिसकेँछु । र्यालीको डाउनटाउन काटेपछि फराकिलो ठाउँमा ठूलै एरिया ओगटेर बसेको फूडबैँकको एक्जिट देखाइ हाल्यो, म त्यतैलागेँ । एकैछिनमा पुगिपनि हालेँ।
नजिकैको पार्किङ लटमा गाडी पार्क गरेर म सरासर अफिसभित्र गएँ ।पस्नेबित्तिकै एकजना बुढि आमा एउटा कुर्सीमा बसिरहेकी देख्दा झुक्किएँ कि क्या हो भयो । कस्लाई सोध्ने, अरू कोही नजिकै थिएनन् । हराएकीपनि होइन, फूडबैक लेखेकै घरमा पसेकी हुँ, एकछिन अलमल्ल परेर उभिएँ । उमेरले ९० को हाराहारीमा पुगेकी बुढिआमा थर्थराउँदै मसँग बोल्न खोजिन्। उनले बोलेको धेरै बुझिन । खानेकुरा लिन आएकी हुन कि अनुमान गरेँ। हेर्दा कमजोर लाग्ने बुढिआमाका अनुहारमा अनगिन्ती उमेरका रेखाहरू देखिन्थे। एकछिन उनलाई हेरिरहेँ। यो उमेरमा घरमा खानेकुरा नहुनु, हात समाएर हिडाउँने मान्छे नहुन कस्तो बिडम्बना ! कहाँ होलान यिनका आफन्त? छोराछोरी ? मनले भन्यो। भन्न त भनेँ तर अमेरिकामा सँस्कारै फरक छ, छोराछोरी भए नि सँगै बस्दैनन्। न आमाबाबु छोराछोरीसँग बस्न खोज्छन्, न छोराछोरी आमाबाबुसँग नै ।18 वर्ष पुरा भएपछि अर्थात हाइस्कूल सकेपछि तिमीहरू आफ्ना खुट्टामा उभिनुपर्छ भनेर सानैदेखि सिकाएकोले कलेजमा पढदा पढ्दै सानोतिनु जागिर समाएका हुन्छन् । पढिसकेपछि आफनै जीवन शुरू गर्छन् । सायद यिनका छोराछोरीलेपनि त्यसै गरेकि! उनका अगाडि उभिइरहदा मेरा मनमा कुरा खेलिरहे। एकछिनमा फूडबैँकको लोगो भएको लुगा लगाएका दुईजना मान्छे हातमा झोला बोकेर आए । खानेकुराले भरिएका झोला उनका छेउमा राखिदिए। बुढिआमा निकै खुशी भइन। हेर्दा निकै गह्रौजस्ता लाग्थे, कसरी लैजालिन तिनले मैले छक्क परेर कर्मचारीलाई सोधेँ ।’ बुढाबुढी र अशक्तहरूलाई लैजाने गाडीहरूले त्यहाँ ल्याइदिएका हुन्, पछि फेरी घरसम्म पुर्याइदिन्छन्,’ उनिहरूले भने।
बुढिआमाको काम सकिएपछि कर्मचारीलाई मैले आफू भोलिन्टेयर गर्न आएको कुरा सुनाएँ । यो चाहि खानेकुरा राख्ने ठाउँ हो अफिस उ त्यता छेउमा छ, हामी पुर्याइदिउँला भने । तुरून्तै एकजना भाइ मेरो अघि लाग्यो। ठुल्ठूला गोदाम भएको त्यो ठूलो हल छिचोलेर हामी मुख्य अफिसमा पुग्यौँ। उसले अबदेखि आउँदा यताबाट आउनु भनेर बाटोपनि देखाइदियो। धन्यबाद दिएर म रिसेप्सनमा पुगेँ । स्टाफहरूलाई आँफू नयाँ र अफिसबाट पहिलो पल्ट भोलिन्टेयर गर्न आएको जानकारी गराएँ । एकजनाले लिस्टमा मेरो नाम हेरे, अर्कोले प्रिन्ट भएका नेमट्यागहरूमा मेरो नाम खोजेर मलाई दिए ।
एकछिनमा ति स्टाफहरूले आउनेजति सबैलाई बाथरूममा गएर हात सफा गरेर आउन र नेमट्याग भएका थुप्राबाट आफनो नाम खोजेर कुर्सीमा गएर बस्न अनुरोध गरे। म जस्ता अरू धेरै जम्मा भइसकेका रहेछन् । थपिने क्रम जारी नै थियो। म खुरूक्क बाथरूम पसेँ र हात धोएर निस्किएँ।आउनेजति सबैले त्यसै गरे ।अगाडिपट्टि नर्थ क्यारोलाईनाको नक्शामा फूडबैकका शाखाहरू कताकता छन् देखाईएको थियो। म त्यही नक्शा पढन थालेँ। काम गर्नु पर्ने समय थियो १ बजेदेखि ४ बजेसम्म ।
आउनु पर्ने मान्छेहरू आइसकेका रहेछन् । ठ्याक्क एक बजेपछि अफिसको एक कर्मचारी टोनीले आफना टीमका मान्छे चिनाउँदै, फुडबैँकको परिचय दियो । टोनीले त्यो नक्शा देखाउँदै सन १९६७ मा अमेरिकामा स्थापना भएको फूडबैँक, दान दिने दाताहरू, दाताहरूले दिएको खानेकुरा कस्ता र कहाँका मान्छेका घरमा पुर्याइन्छ, छोटो जानकारी दियो । भित्र जाँदा स्वयँसेवकले पालन गर्नुपर्ने नियमहरू मीठो पाराले सुनायो ।नियमहरू थिए -
हात धोएरमात्र खानेकुरा प्याक गर्न जाने,
काम गर्ने समय अबधीभर आफनो खानेकुरा भित्र लान नपाइने,
सामान प्याक गर्दा त्यहाँ भएका पञ्जा लगाउनु पर्ने,
सजिला जुत्ता लगाउनु पर्ने,
काम गरून्जेल अत्याबस्यक नभएसम्म फोन नचलाउने
नियमहरू सुनाइसकेपछि हाम्रो अघि लागेर हामीलाई भित्र लिएर गयो । अरूले दिएको खानेकुरा जम्मा गरेर गरिवहरूलाई बाडन बनेको भण्डार गर्ने ब्यबस्थित बिल्डिङ आफूले काम गर्ने अफिसभन्दा फरक लागेन मलाई ।स्वयँसेबकहरूले के काम गराउने पहिला नै तयार पारेर बसेका रहेछन् उनिहरू। टोनीले खानेकुरा छान्दा हातमा लाउने पन्जा र सामान प्याक गर्ने प्लास्टिकका झोला देखाउदै हामीलाई ठूलाठूला कार्टुनमा भएका प्याजका थुप्रामा लिएर गयो।
टोनीले प्याजका थुप्रामा लगेर कस्ता खाले र कतिसम्म प्याज अट्ने झोला बनाउँन सिकायो । साथै कस्ता फाल्ने र कहाँ फाल्नेपनि देखाउदै आँफूलाई खान मिल्ने प्याजमात्र प्याक गर्नु भन्यो । हामीले एउटा ब्यागमा ५ पाउण्ड राख्नु पर्ने रहेछ। टोनीले यति कुरा भनिसकेपछि हामी ३०, ३५ जना स्वयँसेवकहरू टोनीले भने अनुसार प्याज प्याक गर्न थाल्यौँ । कसैले पर्तिर विटामा रहेको प्लाष्टिकलाई काटदै पाँच पाउण्ड अट्ने झोला बनायौँ, कसैले वर्तिर तिनै झोलामा प्याज प्याक गर्न थाल्यौँ । प्याजका थुप्रामा हात हालेदेखि नै टोनीले भनेको कुरा ‘आफूलाई खान मिल्ने मात्र प्याक गर्नु’, आँखामा आएर ठोकिरहेकोले राम्रा प्याजका दानाले झोला भरिन थाले।
न हातलाई फुर्सद थियो न मुखलाई। एक्लै आएकाहरू अरूसँग चिनजान गरेर गफ गर्दै थिए भने ग्रूपमा आएकाहरू आफनै साथीहरूसँग गफिदै काम गर्दै थिए। बिभिन्न खाले मान्छेको जमघट थियो त्यो जसको एउटै उदेश्य ति असरल्ल प्याजका दानालाई झोलामा कस्नु थियो । कोही जागिरबाट अवकासप्राप्त समय दिन आएका थिए, कोही आफूले काम गरिरहेको कम्पनिबाट आएका, कोहि आफूले पढेको कलेजबाट त कोही आफूले पढेको विद्यालयबाट स्वयँसेवक काम गर्न आएका थिए। कलेजकालागि फाराम भर्ने बेलामा विद्यार्थिको पढाइको ग्रेड मात्र राम्रो नभएर अतिरिक्त क्रियाकलापहरूमा सहयोग गरेको प्रमाणहरूपनि चाहिन्छ अरे भनेर १० कक्षादेखि भोलेन्टियर गर्न गएका थिइ छोरी । पछि छोरोपनि गयो। के गरेर आयौ भन्दा कहिले आज खाना प्याक गरेर आयौँ भन्थे, कहिले विरूवा गोडेर आयौ भन्थे त कहिले चित्र बनाएर आयौ भन्थे । कसरी गर्यौ तिमीहरूले जानेको थिएन त भन्दा सिकाउने मान्छे थिए नि ! भन्थे।
यसैपनि प्याज चाँडौ सडने त्यसमथि गर्मीको समय भएकोले किसानहरूले फूडबैकमा ल्याउँदा ल्याउँदै ढिलो भयो कि ! धेरै बिग्रिसकेका रहेछन् । बिग्रेका प्याजको गन्धले एकछिनपछि टाउको दुख्न थाल्यो । हामीले राम्रा राम्रा छानेर झोलामा हालेर पोका बनाउदै गयौँ । हरेकले हातमा हात साथमा साथ मिलाएर छान्न राखिएका प्याजका दानाले भरिभराउ कार्टुनहरू केही घण्टामा खाली पार्यौ । केहीले भरिएका झोलाका ठूलाठूला कार्टुनहरू गुडाउने ल्याएर तानेर अन्तै लगे । केहीले बिग्रेका प्याजहरू जम्मा भएको अर्को कार्टुनलाई बाहिर लगे । बिग्रिएका प्याज बाहिर लगेपछि मात्र टाउको अलि हल्का भयो।
प्याक गरिसकेपछि भुइमा भएको फोहोर बडारकुडार गरेर जस्ताकोतस्तै बनायौ। सबै काम सकिएपछि टोनीले एउटा कार्डबोर्ड लिएर आयो र आज कति प्याज प्याक भयो थाहा छ? ठूलो प्रश्न भोलेन्टियरहरूको भीडमा फाल्यो । सबैले आ-आफ्नो अनुमान सुनाए। कसैले ५००० पाउण्ड भने कसैले १०,०००, कसैले १५००० । तिमीहरूले भनेको अलिक पुगेन भनेर उसले कार्डबोडमा लेखेको नम्बर देखायो ३०,००० पाउण्ड ! ३ घण्टामा ३०००० पाउण्ड प्याक ? वरिपरी हेर्दा सहयोग गर्न आएकापनि धेरै लाग्थे।
सबैलाई धन्यबाद दिएर टोनीले हामीलाई बिदा गर्यो । ३०,००० पाउण्ड प्याक गर्न सघाएको सम्झिएर भित्र एक खाले सन्तुष्टी मिल्यो मलाइ। शुरूमा भेटिएकी बुढिआमा फेरी मेरा आँखा अगाडि आइन । उनलाई दिइएको खानेकुरापनि त कसैले प्याक गरेको नै थियो होला। मेरो सहयोग यस्तै अशक्त र असाहयहरूको घरमा पुगोस भनिरहयो मनले । मेरो दुखेको टाउको केही हलुङ भयो।
दोस्रो दिन:
दुई महिनापछि फेरी म फूडबैँकमा स्वयँसेवक कामको लागि गएँ । समय बिहान ९ देखि १२ बजेसम्म थियो । तातो अलि मथ्थर भएको थियो तर पूर्वको वाटो समात्नु पर्ने भएकोले बिहानको घामले मेरा आँखामा ठोकिइरहेको थियो । मैलेचाहिँ सकेसम्म उसलाई नदेखेझै गरिरहेकि थिएँ । कसरी र कहाँ जाने थाहा पाइसकेकीले सिधै रिसेप्सनमा गएँ । भित्र गएपछि हात सफा गर्नु र नेमट्याग लिनु पर्ने उही अस्तिकै काम दोहोर्याएर कुर्सिमा गएर बसेँ । कोही आइसकेका कोही आउँदै गरेका, हामी धमाधम जम्मा हुँदै थियौ । ठ्याक्क ९ बजे अर्को कर्मचारी जेफ्रीले आफना स्टाफहरूको परिचय गराएर हामीलाई स्वागत गर्यो । नयाँ पुराना दुबै खाले भोलेन्टयरहरू भएकाले टोलीलेझै उसलेपनि फूडबैकको परिचय, पालन गर्नुपर्ने नियमहरू भन्यो र हाम्रो अघि लाग्यो।
योपल्ट त पहिलाभन्दा धेरै स्वयँसेबकहरू आएका रहेछन् । प्याक गर्नुपर्ने सामानपनि धेरै होला! मनमनै भनेँ । उनिहरू आ-आफनो अफिसको लोगो भएका लुगा लाएर आएका थिए। मपनि आफनै अफिसको प्रतिनिधित्व गरिहेकी थिएँ तर चिनेका कोही थिएनन् । कामका थुप्रामा हात हालेपछि नचिनेकैहरू बोल्न आए, म फलानो कम्पनीबाट, म चिलानो कम्पनीबाट भन्दै ।
ठूलाठूला कार्टुनमा गर्मीमा खाने जुसका प्रकारहरू थिए। साना केटाकेटीलाई देखि लिएर ठूला उमेरकासम्मले मन पराउने जुसहरूका प्याकेट- क्याप्रिसन, अरेन्ज जुस, एपल जुस, लेमोनेड, गेटरेड, ग्रेप जुस, कुलेड आदि आादि ।
जेफ्रीलेपनि अस्तिको पटक टोनीले भनेको कुरा दोहोर्यायो । उसले जुसका सबै थुप्राबाट एक एकवटा डेट नगएका तथा नच्यातिएका प्याकेटहरू झिकेर सेम्पलको रूपमा करिब करिब १० पाउण्डको एउटा झोला बनाएर देखायो र त्यस्तै झोला बनाउन हामीलाई लाईनबद्द गरायो ।
हाम्रो एकातिर ठूला कार्टुनभित्र भएका साना जुसहरूका कार्टुन झिकेर भुईमा राख्ने, भुइबाट उठाएर टेवलमाथि राख्ने काम भयो भने अर्कातिर प्लास्टिकका झोला काट्ने, काटेका झोला ल्याएर लामबद्दहरूको हात हातमा दिने काम भयो।लाइनमा उभिएका सबैले झोलामा एउटा जुस राख्दै झोला अरूलाई पास गर्ने काम भए हाम्रा, उहिले घरको तलो छाप्ने दिन गाउँभरीका छिमेकी भेला भएर मुछेको हिलोको डल्लो एकले अर्कोलाई दिएर तला छापेको जस्तो । २,३ घण्टा हातमा हात मिलाएर काम गर्दा घरको तलो छापिन्थ्यो । अहिले सम्झदा त्योपनि त स्वयँसेवक काम नै त रहेछ ! मात्र कामको प्रकृति फरक तर स्वयँसेवक काममा जुटेका मान्छे उस्तै लागे मलाई। ३ घण्टा काम गर्दा ठूलाठूला कार्टूनमा भएका जुसहरू सबै झोलामा प्याक भए । २ दिनपछि कसैमा घरमा जान ठीक्क परेका झोलाहरू तयार भएपछि हामी सबै भोलेन्टियरको आजको काम सकियो । कामको अन्त्यमा जेफ्रिलेपनि सबैलाई कति प्याक भए अनुमान गर्न लगायो। सबैका अनुमान थोरै नै भए। जेफ्रीले ४१९०४ पाउण्ड प्याक भएछ भन्यो। सुन्दापनि अचम्म लागेर आयो,यति छिटै कसरी यति धेरै प्याक भयो भनेर । ३ घण्टा स्वयँसेवक गरेको कामले धेरै सन्तुष्टी दियो मलाई।
तेस्रो दिन:
म फूडबैकमा भोलेन्टियर गर्न जान अभ्यस्त भइसकेकी थिएँ ।जाडो महिना भएकोले त्यहाँ जानलाई दिउसोको समय लिएकी थिएँ। बिहानभरी अफिसको सक्नुपर्ने कामहरू सकेर पठाइदिएँ र फूडबैकमा भोलेन्टियरका लागि निस्किएँ ।बाटोमा भिडभाड नभएकोले छिटै पुगेँ। कोही आउदै गरेका कोही आइसकेका थिए। फूडबैकमा सामान प्याक गर्नु अघिका नियमहरू पालना गर्दै हामी सबै तयार भएर बस्यौँ । हरेक पल्ट केही नयाँ भोलेन्टियरहरू आउने भएकाले कर्मचारी टोनीले फूडबैकको परिचय र पालन गर्नुपर्ने नियमहरू एकपटक दोहोर्याएर हामीलाई भित्र लिएर गयो। प्याक गर्नु पर्ने कुरा थाहा नभएकोले के देला सबैका आ-आफना अडकलबाजी थिए।
भित्र पस्ने बित्तिकै सुठुनी(सखरखण्ड)ले भरिएका ठूलाठूला कार्टुन देखिए । हामी सबै हातमा पन्जा लाएर प्याक गर्न तयार भयौँ । पहिलाजस्तै टोनीले आफूलाई खान मिल्नेमात्र प्याक गर्नु! छेउमा भएका पाँच, छ पाउण्ड अट्ने प्लाटिकका नेट झोला देखाउँदै भन्यो। तिनै झोलाहरू सहयोगी हातहरू मिलेर भर्न शुरू गर्यौँ । पहिलो पल्टकै बिग्रिएका प्याजको गन्ध सम्झिरहेथ्यो नाकले तर सुठुनी त्यति धेरै विग्रिएका थिएनन्, सायद जाडो मौसम परेर होला ।
धेरै थरीका मान्छेमा आफूलाई मिसाउँदै काम गर्न रमाइलो लाग्ने भएकाले छेउमा को हुन्छ त्यहीसँग बोल्दै सुठुनी प्याक गरेँ मैले। कसैकसैले छोराछोरीलाईपनि सँगै लिएर आएका थिए। घरमा विद्दुतिय सामानमामात्र झुण्डिरहने केटाकेटीलाई एकछिन भएनि आफूले काम गर्ने तरिका सिकाइरहेथे तिनिहरू।
३ घण्टा लामो काम गरिसकेपछि पाँच छ वटा ठूला कार्टुनका खुल्ला सुठुनी पाँच पाँच पाउण्डका झोलामा कसिए । आँफूले पारेको फोहोर आँफै सफा गर्नु पर्ने नियममा बाधिएपछि हरेक मान्छेले त्यसलाई आफ्नो दाइत्व सम्झदोरहेछ। हामी सबैले सुठुनी प्याक गर्दा झरेको माटो सफा गर्यो र विदा हुन तयार भयौँ।
टोनी सधैझै एउटा कार्डबोर्ड लिएर आयो । सबैलाई सुठुनीको वजन अनुमान गर्न लगायो । सबैका आ-आफना अनुमान १०,००० , १,५०००, २०,००० पाउण्ड सुनाए। उसले हामीले अनुमान गरेभन्दा धेरै माथि प्याक गरेको ३,५००० पाउण्ड लेखेर देखायो । त्यो देखेपछि झन् धेरै खुशी लाग्यो ।
पटक पटक सामान प्याक गर्न गएर फर्कदा तिनै पहिलो दिन देखेकी बुढिआमा आँखामा आउछिन । ४६ वर्ष अगाडि परोपकारका लागि खुलेको फूडबैकले उनिजस्ता अशक्त,रोगले, अथवा आफनो शारिरिक बनोटले नै काम गर्न नसक्ने कति आमाबाहरूलाई खुवायो होला ! अनि मजस्ता अरू कति स्वयँसेवकले त्यहा काम गरिसके होला! खान नपाएकालाई खाना खुवाउने उद्वेश्य राखेर खुलेको यो सस्थाले मैले भरेका सुठुनी अथवा प्याजका झोला वा खानेकुराका प्याकेट भएर कतिका घरमा पुगे होला !! मनले भनिरहन्छ।
सधैँ एउटै काम गरिरहन मन लाग्दैन मान्छेलाई । अफिसको काम गर्न मन नलागेको बेला फरक प्रकृतिको काम गर्न जाँदा मान्छेलाई रमाइलो लाग्नु त एक ठाउँमा छ तर त्योभन्दा बढि त्यहा काम गरिरहदा आफूले आफू उभिएको धरातल सम्झिने समय हुन्छ कि! अनि मनको फेदैबाट सकेसम्म सेवाको भाबना राखौँ भन्ने हुन्छ कि !
अमेरिका