19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

नीरा सुब्बा नेचालीसँग साहित्यिक कुराकानी

वार्ता बैद्यनाथ उपाध्याय May 5, 2026, 12:01 am
बैद्यनाथ उपाध्याय
बैद्यनाथ उपाध्याय

नीरा सुब्बा नेचाली नेपाली साहित्य जगतमा आफ्नो सृजनशीलताको आधारमा अघि बढदै गर्ने लेखिका हुन्। उन्ले 2022 सनमा हाइकु यात्रा शिर्षकमा हाइकु संग्रह प्रकाशमा ल्याएर परिचित भएकी छन्। उनि निरंतर साहित्य साधनामा लागि परेकी छन् र निकट भविष्यमा अरू कृतिहरू पनि प्रकाशित हुनेछन्। उनको शैक्षिक योग्यता वाणिज्य स्नातक हो र अहिले कुशल गृहिणीका रूपमा कार्यरत छन्। 1971 सनमा स्वर्गीय पी. बी. सुब्बा र स्वर्गीय सावित्री सुब्बा की छोरीका रूपमा तीनधारे, दार्जिलिङमा जन्मिएकी नेचाली हाल अम्बाधुरा, सालबारी की निवासी हुन्। उनका पतिको नाम हो त्रिलोक नेचाली। प्रस्तुत छ उनिसँग गरिएको साहित्यिक कुराकानी-

वैद्यनाथ उपाध्यायः हजुरको लेखनको शुरूवात कहिले कसरी गर्नु भयो?
नीरा सुब्बा नेचालीः मेरो लेखनयात्राको शुरूवात आफ्नो विद्धार्थी जीवनदेखि नै भएको हो । 1985 सालतिर सर्वप्रथम मेरो "कोपिला " नामक बालकविता हिमालचुली नेपाली दैनिक पत्रिकामा प्रकाशित भएको हो । म नवौं श्रेणीको छात्रा थिए त्यसबेला । त्यसपछि नारी नामक कविता अनि फूटकर कविताहरू छापिए । नेपाली साहित्यप्रतिको रूचिले मलाई कविता लेख्न प्रेरित गरायो ।

वैद्यनाथ उपाध्यायः अहिलेसम्मको लेखकीय उपलब्धि भन्नपर्दा के भन्नुहुन्छ?
नीरा सुब्बा नेचालीः अहिलेसम्मको लेखकीय उपलब्धिबारे भन्नपर्दा हालसम्म नेपाली साहित्यिक समाजलाई एउटै मात्र कृति दिन सकेको छु "हाइकुयात्रा " । जुन कृति 2022 सालमा विमोचन भएको थियो । हाइकुमा सर्वप्रथम कृति निकाल्ने प्रसंग आउँदा मेरो नाम साहित्यिक जमातमा लिने गरिएकोले यसलाई ठूलो उपलब्धि मानेको छु अहिलेसम्मकै । विशेष हाइकुहरू मैले 2016 सालको मध्यतिर सामाजिक सञ्जालमा लेख्न शुरू गरेको हो। निरन्तरता दिइरहँदा हाइकुकारको रूपमा चिनिन थाले ।वर्तमान हाइकु विधा बारे लेखन अनि अध्ययनको निम्ति आफ्नो समय लगानी गर्दै छु ।कविता ,कथाहरूमा कलम चलाउने प्रयास जारी छ ।

वैद्यनाथ उपाध्यायः दैनिक लेख्ने समय कसरी छुट्याउनु हुन्छ ?
नीरा सुब्बा नेचालीः बिहान चाँडै उठेर आफ्नो दैनिक काम सकेपछि दुई घण्टाको समय आफ्नो लेखनको निम्ति भाग लगाउने गरेको छु ।पढनको निम्ति बेलुकीको समय नै उपयुक्त लाग्छ मलाई ।

वैद्यनाथ उपाध्यायः नारीवादी लेखनको विषयमा हजुरको के मत छ ? के आफैलाई नारीवादी मान्नुहुन्छ?
नीरा सुब्बा नेचालीः नारी लेखन सशक्त हुनपर्छ । विशेष गरि समाजमा भईरहेको शोषण , भेदभाव ,असमानता अनि बलात्कार जस्ता जल्दोबल्दो समस्याप्रति नारी स्रष्टाहरुले खुलेर लेख्नसक्नुपर्छ । समय सँगसगै परिवर्तनशील समयको मांगलाई बुझेर सही दिशातर्फ अग्रसर हुनसके नारी सशक्तिकरणले अवश्य समाजको हितार्थ धेरै भलाईहरू गर्न सक्ने क्षमता राख्दछ । म आफैलाई एक सशक्त नारीवादी मान्दछु ।

वैद्यनाथ उपाध्यायः लेखकहरूको दिनचर्या र चरित्रको कस्तो स्थान हुनपर्ने हो ?
नीरा सुब्बा नेचालीः लेखक, साहित्यकारहरूको दिनचर्यामा असल कृतिहरू पठन गर्ने अनि ती बारे चर्चा, बहसहरु हुन सके धेरै उपयोगी हुने कुरो हो ।हाल सबै सेलफोनमा नै आधा दिन बिताउने गरेको देखिन्छ । यी बहुमूल्य समयलाई लेखन ,पठन जस्तो सृजनशिलतामा लगाए समाजलाइ नै फायदा पुग्नेछ । लेखकहरूमा दोहोरी चरित्र हुन भएन । सत्य कुरोलाई अघिल्तिर राख्न हिच्किचाउने व्यक्तिहरूले नै साहित्यलाई फ्यातुलो पार्दै लगेको सर्वविदितै कुरा हो । कर्तव्यपरायणता, अनुशासन, समयको सदुपयोग ,अनि इमान्दारितामा नै एक सफल लेखकको सफलताको मापदण्ड अडेको हुन्छ ।

वैद्यनाथ उपाध्यायः भारतमा नेपाली साहित्यको स्थिति कस्तो छ भन्ने ठान्नुहुन्छ?
नीरा सुब्बा नेचालीः समग्र भारतीय नेपाली साहित्यको परिप्रेक्ष्यमा भन्नपर्दा ,दार्जिलिङ, आसाम ,सिक्किम, देहरादुन अन्य भारतीय नेपाली बहुल क्षेत्रतिर नेपाली साहित्यलाई उकास्ने कार्य भई नै रहेछ। अग्रज,अनुजहरूले आफनो श्रम,मन ,मस्तिष्क, समय र जीवननै साहित्यको निम्ति खर्चिरहेका छन् ।तर कतिपय कुरोमा भने धेरैको मतभेद पनि रहि आएको देखिन्छ । गुटबाजीको प्रतिस्पर्धाले गुणवत्ता भएका लेखक, कविहरू असमय ओझेलमा परेको देखिन्छ । भारतीय नेपाली साहित्यिक समाजलाई अझ धेर जागरूक अनि क्रियाशील हुन आवश्यक छ ।आफ्नै देशभित्र लाग्ने गरेको विदेशीको गम्भीर लाञ्छनालाई साहित्यको माध्यमद्वारा सशक्त रूपले सबैको सामु राख्ने समय आईसकेको छ जस्तो लाग्छ । भारतमा नेपाली भाषालाई बारम्बार अतिक्रमण गरिने कार्य भईरहेको देख्दा स्थिति अझ पनि स्थिर र सन्तोषजनक छ जस्तो लाग्दैन मलाई ।

वैद्यनाथ उपाध्यायः साहित्य सृजनालाई कुन रूपमा लिनु भएको छ ?
नीरा सुब्बा नेचालीः साहित्य सृजनालाई आफ्नो समयको सदुपयोगको माध्यम अनि साधना कै रूपमा लिएको छु । समाजमा भईरहेको अनैतिक क्रियाकलाप, श्रमिक विरूद्धको शोषण ,राजनैतिक अराजकता, विभेद अनि कुप्रवृति ,नशाको लत ,पलायनवाद अनि बेचबिखन यी संवेदनशील विषयलाई लिएर साहित्य सृजनाको माध्यमबाट सशक्त एवम् सकरात्मक संदेश दिन सकिन्छ जस्तो लाग्छ । साथै आफ्नो जाति,भाषा ,संस्कृतिलाई उकास्नको निम्ति सही जागरुकता अप्नाउन साहित्यलाई धारिलो हतियारको रूपमा प्रयोग गर्न सकिन्छ भन्ने निजी विचार छ मेरो ।

वैद्यनाथ उपाध्यायः तपाई किन लेख्नुहुन्छ?
नीरा सुब्बा नेचालीः मेरो लेखक ,कवि हुनुको मुख्य उदेश्य हो ,निमुखा ,दलित अनि पीड़ितहरूको पक्षमा उभिएर उनीहरूको भोगाई ,दुखाई अनि जीवन बचाईका गुनासोहरूलाई समाज अघिल्तिर राखिदिनु । आजसम्म भारतीय नेपाली जातिले नेपाली (गोर्खा)भाषामा मान्यता पाइसकेपछि पनि अतिक्रमण सहिरहनु पर्ने स्थितिको घोर विरोधमा कहिले कविता ,लेखहरू लेखेर प्रस्तुत गरिरहने । जातिको अस्मिताको निम्ति निरन्तर कलम चलाई रहने ।

वैद्यनाथ उपाध्यायः दार्जिलिङमा नेपाली नारीहरूको साहित्यिक गतिविधिबारे तपाईको के मत छ ?
नीरा सुब्बा नेचालीः दार्जिलिङ भेगमा नेपाली नारी स्रष्टाहरूको साहित्यिक गतिविधि वर्तमान उत्साहजनक नै मान्न सकिन्छ । प्राय जसो सबै साहित्यिक विधामा वरिष्ठ नारी स्रष्टाहरू ,अग्रजहरूबाट कलम चलिरहेकै छ ।पुरूषको हाराहारीमा कम भएपनि स्थिति सन्तोषजनक मान्न सकिन्छ ।अहिलेका युवा जमातमा पनि प्रयोगवादी निकायहरूले राम्रो मञ्च पाईरहेको देखिन्छ ।तर कतिपय संघ ,संस्थाहरूमा प्रतिस्पर्धा पनि चलेको देखिन्छ ।साहित्यको गुणवत्तालाई भीड थुपारेर मात्र होइन तर भित्री तहबाट नै सबैको कल्याण होस् भन्न खातिर भनेर रूपरेखा तयार भएको हुनपर्छ ।
सबैतिर भव्य कार्यक्रमहरू भईरहेको देख्दा सबैमा जागरुकता आएको देखिन्छ तर साहित्य जस्तो जातिलाई इंगित गर्ने विषयलाई आफ्नो निजी स्वार्थको निम्ति प्रयोग निश्चय नै घातक कुरो हो समाजको निम्ति । यसबारे सबै स्रष्टाहरुले घोत्लिनु पर्ने कुरो हो ।

वैद्यनाथ उपाध्यायः वर्तमान समयमा पुस्तक पढ्नेहरूको संख्या एकदमै नगण्य हुँदै आएको छ ।यो स्थितिमा आफ्नो लेखाईको सार्थकता कतिसम्म छ जस्तो लाग्छ ?
नीरा सुब्बा नेचालीः युक्तिसंगत प्रश्न गर्नुभयो । आज इन्टरनेटको आधुनिक समयमा पुस्तक पढनेहरूको संख्या दिनौंदिन न्यून बन्दै गईरहेको छ ।जुन चिन्ताजनक कुरो हो । छिटोमिठो सबै कुरो कम मूल्यमा नेटमा अनलाईन उपलब्ध हुने गरेकोले सबै त्यतैतिर झुत्तिने गरेको देखिन्छ । यसले गर्दा पुस्तक पढ्ने सभ्यता मासिदै गइरहेको देखिन्छ जुन साहित्यिक संसारको निम्ति निराशाजनक कुरा हो ।रिल बनाउने अनि झरी च्याँउहरू जत्तिकै युट्युबरहरूको जमातले गर्दा पुस्तक पढ्ने बौद्धिक जमातहरु क्रमश घट्दै गएको देखिन्छ ।अहिले उत्तर आधुनिक कहलाईने युगमा लेखिरहनु पनि एउटा चुनौती नै मान्नुपर्छ । तर पनि समयको फेरबदललाई आत्मसात गरेर सामाजिक सञ्जाल, पत्रपत्रिकामा आफनो रचना निरन्तर पस्किरहेको छु । निरन्तर लेखनलाई नै आफ्नो साहित्यप्रतिको धर्म निर्वहन ठानेको छु । समयको सदुपयोग गर्दै साहित्य सेवाले सार्थकता प्रदान गर्दछ भन्ने कुरामा विश्वस्त छु ।

वैद्यनाथ उपाध्यायः साहित्य विकासको निम्ति हामीले के गर्नुपर्ला भन्ने ठान्नुहुन्छ?
नीरा सुब्बा नेचालीः पश्चिम जगतमा ' साहित्य ' भन्नाले कल्पनाको प्रयोग गरी विशिष्ट शैलीमा लेखिएको रचना ,कृति भनेर बुझ्ने गरिन्छ। सर्वप्रथम साहित्य विकासको निम्ति हामीले सबैले एकमुष्ठप्रयासरत रहनु आवश्यक छ । आफ्नो साहित्यिक परिधिलाई नियाल्दा कतिले औपचारिक रूपमा मात्र अध्ययन गरेर गहनतालाई पन्छाएको देखिन्छ ।अनि साहित्य सिर्जनालाई हल्का रूपमा लिएको पाईन्छ । साहित्यमा शैलीले महत्वपूर्ण भूमिका निभाएको हुन्छ ।साहित्य विकासको निम्ति सबै वर्गहरू माझ परस्पर तालमेल अनि सम्मान हुन जरूरी छ । नेपाली साहित्यको हरेक विधाबारे बहस ,समालोचना ,विमर्श उत्तिकै जरूरी छ । पुरस्कार र सम्मानको होडलाई पन्छाएर समाज उपयोगी ज्ञान प्रसार, नैतिकताको विकास ,लोकमंगलको भावना बाँडदै, अन्य जातिको पनि साहित्य अध्ययन गर्ने क्रमलाई अघि बडाउने साथै आफ्नै नेपाली साहित्यको अनुवाद गरेर राम्रा कृतिहरू अन्य भाषीहरू समक्ष पुराउने कार्यले पनि हाम्रो भाषा साहित्य कति समृद्ध छ भनेर अरूलाई संदेश दिन सक्छौ। यसरी साहित्यको विकासको निम्ति हरेक लेखकले आफ्नो लेखनको धर्म निष्ठापूर्वक, लगनशील रहेर निरन्तर सही पक्षमा सृजनरत रहनु पर्छ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।