“मेरा कथा र उपन्यासका केही पात्रहरुले खुब मस्ती गर्थे । देश र विदेशको यात्रामा जान्थे । महँगा होटलमा बस्थे । महँगा कारमा चढ्थे । धेरै युवतीहरुसँग प्रेम गर्थे । अलिपछि मलाई ती पात्रहरुसँग ईर्ष्या हुनथाल्यो । त्यसपछि मैले अरु कथा र उपन्यासमा त्यस्ता खालका पात्रहरुको दुर्दिन सुरु गराइदिएँ । कुनै घटना सिर्जना गराए पात्रहरुलाई गरिव र दुःखी बनाएँ । तिनका प्रेम टुटाएर झगडा सुरु गराउन थालेँ । त्यसले मलाई अलिक सन्तोष भयो ।” उनले लामो सास तानेर भने ।
“त्यसपछि के भयो ?” मैले सोधेँ ।
“सारा पात्रहरुको मुखमा सँधैको लागि बुझो लगाई दिएँ । त्यसपश्चात ती पात्रले उपयोग गरे भन्दा पनि बढी मजा लिन थालेँ ।” उनले भने ।
“अहो, गजब भएछ । त्यस्तो कसरी सम्भव भयो ?” मैले सोधेँ ।
“मेरा पुस्तकको सम्पूर्ण कपी राइट प्रकाशकलाई बेचिदिएँ । त्यसबाट आएको अलिकति पैसा, केही सापटी र अलिक धेरै ऋण लिएर अमेरिका आएँ । मेरा पात्रहरुले जस्तै कहिले समुद्र तटमा जान्छु । कहिले महँगा होटलमा हुग्छु । कहिले पार्क, कहिले सपिङ मल त कहिले डिस्कोमा पुग्छु । राम्रा राम्रा युवतीहरुलाई कारमा राखेर दौडाउँछु । तिनीहरुले मलाई माया गरेर थ्याङ्क्यू डार्लिङ भन्छन् ।” उनले लामो कहानी छोटकरीमा सुनाए ।
उनको कुराले मेरो मन भतभती पोल्न थाल्यो । उनीप्रति एकदम ईर्ष्या उत्पन्न भयो । त्यसपछि मैले सोधेँ, ‘अमेरिकामा अहिले के काम गर्नु हुन्छ ?’
“ट्याक्सी चलाउँछु ।” उनले नढाँटी भने ।
बेलायत