नेपालीका हृदय–तलमा मर्म छन् वेदना छन्
दुख्छन्,पिर्छन् प्रतिदिन उनै निष्ठुरी सम्झना छन्
जान्छन् दुःखी मदन पिरले भोटमा काम खोज्न
छाडी आफ्नी मुटु प्रिय मुना साहुको व्याज तिर्न
छाडीआफ्ना प्रियजन रुदै जानु तड्पी सुडेन
कालापानी अरव अथवा भोट बर्मा युक्रेन
नेपालीले नियति सब यो भोग्नुपर्ने रहेछ
सानो केटो जुन लमजुङे इन्डियामा पसेछ
पढ्ने धोको अति छ टुहुरो बाबुको प्यार छैन
आमा गर्थिन् जिउन श्रम ती हारको नाम छैन
भन्थे हेपी धनिक कसरी छोटु राखेर नाम
चर्खा जस्तै फनफन घुमी काम गथ्र्याे तमाम
पढ्ने धोकोे अझ छ मनमा प्यास लागेसमान
हेप्दा धेरै हृदय चिरिने छोटुको गल्छ ज्यान
भोग्यो धेरै कठिन दिन ती माथमा छन् पहाड
गर्दा गर्दा कठिन श्रम ती जिन्दगी भो उजाड
फर्की आयो घर हृदयको प्यास मेट्नै हतार
केही गर्ने मन छ तर ऊ लड्दथ्यो बारबार
आमा–आशीर्वचन छ सदा माथमा हात राख्थिन्
छोरालाई दिन दिन उनी “उड् उँभो“ यै पुकार्थिन्
धेरै धरै विकट चुचुरा सामना गर्न थाल्यो
जागे इच्छा कठिनतम ती भेल नै तर्न थाल्यो
उम्रे आशा मन कुसुमझैँ फक्रिदै मुस्कुरायो
शिक्षाले नै पछि सफलता छोटुले त्राण पायो
पढ्दा मेरा नजर भरिए लाग्छ मेरै कथाझैँ
भोग्यो मैल्यैसरि विपद ती लाग्छ मेरै व्यथाझैँ
पायो ऐले प्रतिफल कडा नित्य सङ्घर्ष गर्दा
साथी पायो सुझ र बुजकी दुःखको नाउ तर्दा
लेख्यो झाँकी अनि विगतका छोटु भो काव्य नाम
नेपालीका सुगठित कथा जोडिए ती तमाम
तिम्रो चर्चा सबतिर यही छोटुले चल्छ आज
हाल्यौ साहित्यिक जग ठुलो धन्य सञ्जीव–त्याग
भरतपुर ९,चितवन