19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

साहित्यकार राजु प्रधान हिमांशुसँग कुराकानी

वार्ता बैद्यनाथ उपाध्याय May 10, 2026, 4:09 am
बैद्यनाथ उपाध्याय
बैद्यनाथ उपाध्याय

राजु प्रधान हिमांशु भारतीय नेपाली साहित्य जगतका एकजना बहुमुखी प्रतिभा सम्पन्न लेखक हुन्। हालसम्म उहाँका विभिन्न विधाका सत्ताइसवटा पुस्तकहरू प्रकाशित भै सकेका छन्। हाल डाउहिल, खरसाङ निवासी राजु प्रधान सरकारी सेवाबाट सेवानिवृत्त भएपछि लगातार साहित्य सृजनमा रत छन्। १९६० सनमा जन्मिएका राजु प्रधानकी आमा हुनुहुन्थ्यो स्वर्गीय कृष्णमाया प्रधान र पिता स्वर्गीय बुद्धिमान प्रधान हुनुहुन्थ्यो। उत्तर बंग विश्वविद्यालयबाट स्नातक तह सम्म अध्ययन गर्नु भएका राजु प्रधानको विशेष अभिरूची नाटक लेखन, निर्देशन र अभिनयमा रहेको छ। १९७८ सनदेखि लेखन कार्यमा रत राजु प्रधानले परिशीलन (सामयिक संकलन), कञ्चनजङ्घा (विभागीय हिन्दी पत्रिका) को सम्पादन गर्नुका साथै मन्तव्य (सामयिक संकलन) को सह सम्पादन पनि गरेका छन्। अनुवाद कार्यमा पनि उनि उत्तिकै सक्रिय रहेका छन्। प्रस्तुत छ उनीसँग गरिएको साहित्यिक कुराकानीको सम्पादित अंश ।

वैद्यनाथ उपाध्यायः हजुरले लेखनको सुरुवाट कसरी गर्नुभयो? पहिलो रचना कुन थियो ?
राजु प्रधान हिमांशुः ई० सन् १९७० को दशकमा मेरा साहिँला दाजुले हिन्द पाकेट बुक्सको घरेलू लाइब्रेरी योजना अन्तर्गत सदस्यता लिएका थिए। उक्त योजना अन्तर्गत महिनैपिच्छे हिन्दी भाषाका पुस्तकहरू उनीकहाँ आउँथे। म सातौं श्रेणीमा अध्ययनरत छँदा ती पुस्तकहरू लुकीलुकी पढ्ने गर्थेँ। हिन्दी साहित्यका नामी लेखकहरूका पुस्तकहरू खोजी खोजी पढ़ने लत नै बस्यो र पाठ्यपुस्तकभन्दा धेर म हिन्दी भाषामा लिखित पुस्तकहरू पढ्ने गर्थेँ ।कृष्ण चन्दर,यसपाल,विष्णु प्रभाकर, आचार्य चतुरसेन,शरदचन्द्र च्याटर्जी,गुलसन नन्दा,रानु,राजहंस ,कर्नल रञ्जीत,प्रेमचन्द,ईस्मत चुक्ताई,अमृता प्रीतम आदि आदि लेखकहरूका पुस्तकहरूको पठनले धेरै प्रभावित बनायो। उनीहरूले कसरी त्यसरी लेख्न सकेका?उनीहरू पनि मजस्तै मान्छे हुन्। म पनि उनीहरूजस्तै किन लेख्न सक्दिनँ? जस्ता प्रश्नहरूले मलाई झकझकाई रहन्थे र म पनि जानी नजानी अनुभवहीन थोकहरू लेख्ने प्रयास गर्थेँ । हिन्दी भाषामा प्रकाशित उपन्यासहरूको पठनपछिको प्रभावले होला, सन् १९७८ मा माध्यमिक परीक्षा दिएपछि परीक्षाफल नआइञ्जेलसम्म एउटा लघु उपन्यास लेखिटोपलेँ। त्यसरी सर्वप्रथम मबाट जानी नजानी लघु उपन्यास लेखियो। कलेज पुगेपछि कथा,कविता,समीक्षा,नाटकप्रति रुचि बढ्यो र त्यतातिर पनि कलम चल्न थाल्यो। त्यसरी मेरो लेखन शुरू भयो । पहिलो रचना लघु उपन्यास ‘बिछोड़’ हो। त्यसपछि ‘अधूरो मिलन’, ‘अभिशप्त जीवन’ र ‘मृगतृष्णा’ उपन्यासहरू । किशोर अवस्थाका अनुभवहीन थोकहरूले भरिएका प्रणय-प्रीति विषयक यी लघु उपन्यासहरू प्रकाशित नभए पनि मेरो लेखनको शुरुआत उपन्यासलेखनबाटै भएको हो । पहिलो प्रकाशित रचनाचाहिँ “धिप्रीको प्रकाश उज्यालिन्छ” कविता नै हो, जुन ‘बिन्दु’- को अप्रेल-जून १९८०को अङ्कमा प्रकाशित भएको छ ।

वैद्यनाथ उपाध्यायः दार्जिलिङ भेगमा नेपाली साहित्य लेखनको स्थिति कस्तो छ भन्ने ठान्नुहुन्छ?
राजु प्रधान हिमांशुः सरकारी सहूलियतहीन परिवेशमा साहित्यकारहरूकै निजी सत्प्रयास र प्रकाशनमा नेपाली साहित्यलेखन सकारात्मक नै भइरहेको छ लाग्छ ।

वैद्यनाथ उपाध्यायः साहित्यकारको रूपमा आफैँलाई कस्तो स्थितिमा पाउनुहुन्छ?
राजु प्रधान हिमांशुः सिर्जनात्मक कला हो साहित्यलेखन जसले आत्मसन्तुष्टि र महाशान्ति दिँदछ-मलाई लाग्छ । यस्तो महत्त्वपूर्ण,सम्मानजनक र अमर कलासित जोड़िनु पाएकोमा आफूलाई सौभाग्यशाली ठान्छु।

वैद्यनाथ उपाध्यायः जीवन के हो? आफ्नो जीवनप्रति सन्तुष्ट हुनुहुन्छ?
राजु प्रधान हिमांशुः भन्ने गरेको छु – जीवन सङ्घर्षहरूको भीड़ हो। यस भीड़लाई पार गरेपछि पाइएको सन्तुष्टि क्षणिक नै भए पनि त्यसले जीवनलाई नजिकबाट चिनाउने गर्छ । एकपल्ट मात्र पाइने सुन्दर जीवनलाई राम्ररी चिन्ने प्रयास गरेर संयम र सकारात्मक बनी जिउने गर्नुपर्छ भन्छु । तलवितलहरूलाई सामना गर्दै भए पनि आफूसित जे छ र जसरी जे पनि आउँछ त्यसलाई सहर्ष स्वीकार्ने गर्छु । आफ्नो जीवनसित सन्तुष्ट छु । यति सुन्दर जीवन एकदिन छाड़ेर जानुपर्ने बाध्यता सम्झेर भने बेरमाइलो लाग्छ ।

वैद्यनाथ उपाध्यायः साहित्यकारहरूमा चरित्रको कस्तो महत्व हुन्छ?
राजु प्रधान हिमांशुः साहित्यकारहरूमा मात्र होइन मानव भएपछि सबैमा चरित्रको विशेष महत्त्व र मूल्य छ । चरित्रले व्यक्तिको नैतिक मूल्य,व्यवहार,व्यक्तित्व आदिलाई निर्धारित गर्ने हुनाले चरित्रले जीवनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ । साहित्यकारहरूमा सच्चरित्रता रह्यो भने उनीहरू विश्वसनीय र समाजलाई मार्गदर्शन गर्न सक्षम हुन सक्छन् जस्तो लाग्छ मलाई र साहित्यकारहरू असल चरित्रवान् बन्नु अपरिहार्य नै लाग्छ ।

वैद्यनाथ उपाध्यायः जीवनमा दिनचर्याको कस्तो स्थान हुनुपर्ने हो जस्तो लाग्छ?
राजु प्रधान हिमांशुः जीवनमा समयानुकूल पाइला चाल्नलाई पनि दिनचर्या महत्त्वपूर्ण लाग्छ। सही दिनचर्याअनुसार कर्मरत हुनसक्यो भने सफलता पाइन्छ जस्तो लाग्छ। चिताएर मात्र हुन्न। छिनछिनमा अद्यतन हुँदैजाने प्रौद्योगिक वर्तमान समयमा दिनचर्याअनुसार हिँड्नुपर्ने हुन्छ। म दिनचर्याअनुसार कर्मरत भएर आफ्नो प्रतिबद्धता पूरा गर्ने प्रयास गर्छु।

वैद्यनाथ उपाध्यायः अहिलेसम्मको आफ्नो साहित्यिक उपलब्धि भन्नुपर्दा के भन्नुहुन्छ?
राजु प्रधान हिमांशुः आफ्नो साहित्यिक उपलब्धिहरूबारे आफैले बखान्दा आत्मश्लाघा जस्तो हुन्छ । मेरो कर्तव्य लेख्नु र विविध साहित्यिक परिकारहरू पस्किँदै जानु हो र मेरा उपलब्धिहरूबारे पाठक,दर्शक,समीक्षक ,गवेषक नै बोले उचित होला। आफैले यस्तो गरेँ,उस्तो गरेँ र यी मेरा उपलब्धिहरू हुन् भनिरहनु अनुचित होला । आफ्ना कृतिहरूद्वारा चिनिइनु पर्छ मौखिक बखानले भन्दा भन्ने समूहमा म पनि पर्छु ।

वैद्यनाथ उपाध्यायः आफुले पढेका महत्वपूर्ण पुस्तकहरूको विषयमा बताउनुहोस्। ती पुस्तकहरूले लेखनमा कुनै प्रभाव पारेको छ कि?
राजु प्रधान हिमांशुः हिन्दी,अङ्ग्रेज़ी,नेपाली भाषाका पुस्तकहरू पढ़ने गर्छु । पढ़ेर अभिप्रेरित हुन्छु। कुनै पनि पुस्तक नराम्रो हुँदैन । सत्तरी-असीको दशकदेखि धेरै पुस्तकहरू पढ़ियो । विविध भाषाका पुस्तकहरूले लेखनमा धेरै उत्प्रेरणा दिए ।मन-मस्तिष्कलाई द्रवीभूत पार्नसक्ने पुस्तकहरूले प्रभावित त पार्छन् नै । आफूले पढ़ेका विशेष हिन्दी,अङ्ग्रेज़ी र नेपाली भाषाका पुस्तकहरू नै मेरा गुरु बने,प्रेरणाका स्रोत बने ।

वैद्यनाथ उपाध्यायः साहित्यको उन्नतिमा संस्थाहरूको भूमिकाबारे के भन्नुहुन्छ?
राजु प्रधान हिमांशुः साहित्य र सर्जकलाई टेवा-सुरक्षा पुऱ्याउने उद्देश्यले गठित संस्थाहरूको भूमिका महत्त्वपूर्ण नै हुन्छ भन्छु। साहित्यकारहरूलाई अभिप्रेरित र सम्मान गर्न सस्थाहरुले धेरै काम र कार्यक्रमहरू गर्न सक्छन्। पुरस्कारहरू प्रदान गर्न सक्छन्। साहित्यकारहरू द्वारा प्रकाशित पुस्तकहरूको बिक्री-वितरण,चर्चा,परिचर्चा,गोष्ठी-संगोष्ठी,पुस्तक-पत्रिकाको निरन्तर प्रकाशन,पुस्तक मेलाहरूको वर्षेनि आयोजन,प्रायोजन गर्न सक्छन्। यसैले पनि साहित्यको उन्नतिमा साहित्यकारलगायत साहित्यिक संस्थाहरूको भूमिका महत्त्वपूर्ण हुन्छ। तर जन्म जयन्ती पालनमा मात्र सीमित हुनु भने भएन।

वैद्यनाथ उपाध्यायः जीवनमा के हुन्छु भन्ने सोच्नुभएको थियो? अहिलेको पारिवारिक जीवनसँग कसरी तालमेल बसाउनु हुन्छ?
राजु प्रधान हिमांशुः प्राध्यापक । तर बन्नुपऱ्यो सरकारी कर्मचारी ।
परिवारमा आ-आफ्ना रुचिअनुसार काम गर्ने स्वतन्त्रता कायम छ। पारिवारिक जीवनसँग राम्रो तालमेल छ। साथ र माया अटूट छ र नै लेख्नुकै लागि लेख्न सकिरहेको छु।

वैद्यनाथ उपाध्यायः पुस्तक पढ्नेहरूको संख्या एकदमै नगन्य भएर गएको छ। यो स्थितिमा साहित्य लेखनको औचित्य के छ?
राजु प्रधान हिमांशुः पुस्तक पढ्नेहरूको सङ्ख्या एकदमै नगन्य चाहिँ होइन। पढ़्नेहरू छन्। प्रतिशत कम छ ।तर पढ़्नेहरू पुस्तक किनी किनी पढ्दै छन्। डिजिटल र मोबाइलको युगमा लेख्नेहरू धेरै छन्। पाठक र समीक्षकहरूको सङ्ख्या न्यून भए तापनि कृति प्रकाशन उर्वर नै देखिन्छ। तर बेला बेलामा भाषिक विवादले भने टोक्ने गर्छ र बेरमाइलो लाग्छ। रणभुल्लमा पनि परिन्छ। भाषा साहित्यको विकासमा लागिपर्नलाई व्यावहारिक त बन्नैपर्छ। सामाजिक सञ्जाले बहसमा मात्र अमूल्य समय खेरो फ्याँक्नु भएन। एक करोड़भन्दा अधिक नेपालीभाषी भारतीयहरूमाझ ५०० प्रति पनि पुस्तक बिक्री नहुनुमा कहाँ कमी र कमजोरी भइरहेछ सो विचार्नुपर्ने हुन्छ। जातित्व र आफ्नोत्वका ठूला कुरा गर्छौँ भने आफ्नो भाषा-साहित्यलई साथ दिन र माया गर्न सक्नुपर्छ। Sense of belongingness को महत्त्व बुझेर पनि आफ्नो मातृभाषामा प्रकाशित पुस्तकहरू किनेर पढ्ने गर्नुपर्छ ।लेखकले लेख्नु र पाठकले पढ्नु छोड्नु भएन। निराशावादी भयौँ भने सम्पन्न नै भए पनि केही उन्नति गर्न सक्ने छैनौँ । वर्तमान स्थिति निराशाजनक जे नै भए पनि उज्यालोतर्फ नै हेरेर अग्रसर हुनुपर्छ । यस्तो स्थितिमा समयानुकूल भएर अग्रसर भयौँ भने साहित्य लेखनको औचित्य प्रबल हुनेछ लाग्छ। पाठक त छैन भनेर लेख्न र आफ्नी आमाको भाषामा लिखित पुस्तक पढ्न नै छाड्यौँ भने उत्तराधुनिक भनिने समयको अति सभ्य र विवेकशील श्रेष्ठ प्राणीको स्तरदेखि तल झर्ने छौँ। साहित्य मरेको दिन त्यो जाति जतिको जङ्गली जाति यस संसारमा अरू हुने छैन। यसैले आफ्नोत्वको महत्त्व बुझौँ। जातित्वको मूल्य बुझौँ। साहित्यलाई माया र सुरक्षा गर्न मातृभाषाका पुस्तकहरू भक्कु पढौँ ।मातृभाषाको कुशल प्रयोक्ता बनौँ।

वैद्यनाथ उपाध्यायः साहित्यलाई कुन रूपमा लिनु भएको छ र साहित्यको भविष्य कस्तो देख्नुहुन्छ?
राजु प्रधान हिमांशुः साहित्यलाई जातिको चिन्हारी र सभ्यताका रूपमा लिएको छु । साहित्यविनाको जातिको यस संसारमा कुनै मूल्य र महत्त्व रहँदैन। जातिको चिन्हारी भनेकै त्यस जातिका भाषा,साहित्य,संस्कृति,कला सङ्गीत,वेशभूषा आदि हुन्। साहित्यले त झन सबै थोक समेटेको हुन्छ र साहित्य महत्त्वपूर्ण सिर्जनात्मक कला हो । यस कलाको जगेरा गर्नलाई सर्जकले सिर्जना र पाठकले पठन गर्ने काम गरिरहनुपर्छ। डिजिटल युगमा नेपाली साहित्यको भविष्य त्यति उज्ज्वल छैन चाहिँ भन्दिनँ। उज्ज्वल नै देख्छु र त्यही उज्ज्वलताका लागि कर्मरत हुनुपर्छ पनि भन्छु । आशावादी नै छु र लेखनरत छु।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।